धरान पुगियो - Aksharang
  • २०७७ असोज ३ शनिवार

धरान पुगियो

कृष्ण धरावासी

कृष्ण धरावासी

धरान जान भनी हामी बसमा चढ्यौँ ।
बस !
बस भन्नुको अर्थ बस भित्रको दृश्य ।
बस आफ्नो रफ्तारमा कुदिरहेको थियो,
बसभित्र भीड थियो ।
भीड हुन्छ नै सधैँ ।
भीड हुने नै भयो ।

तर यात्रीहरूको लक्ष्य साझा थिएन । प्रत्येक स्टेन्डमा कोही चढ्थे । कोही झर्थे । हामी सातजना चढ्यौँ युवकहरू । कोही विवाहित, कोही अविवाहित- साराँशमा सबै पच्चीसेहरू ।
बसभित्रका प्रत्येक सिट टनाटन थिए । बस्ने ठाउँ पाउने सम्भावनै थिएन तैपनि मानिसहरू खचाखच चढिरहेका थिए । चढेका सबै मान्छेहरूको विवरण उतारिरहने जरूरी छैन । यत्ति बुझे हुन्छ, हामी सातजना चढ्यौँ र केही अरू यात्रीहरूमध्ये एउटी उनी पनि चढिन् ।
उनी भन्नाले तिनी, जो बीस एक्काइसकी हुनुपर्छ । कपाल घुुम्रिलो थियो । धेरै अग्ली नभएपनि धेरै होची थिइनन् । चौडा अनुहार । माथिल्ला ओठमा जुँगा त होइन, केही रौँहरू थिए । आँखा ठूला र आकर्षक, शरीर राम्रै सुहाउँदिलो । शालीनता र व्यक्तित्त्वले बुझाउँथ्यो उनी शिक्षित नै हुनुपर्छ- अध्ययनरत वा छोडिसकेकी ।
र हामी सातजना केटाहरू, जो एउटै उद्देश्यका निम्ति एकै ठाउँबाट कुनै अर्काे एउटै ठाउँको लागि जाँदैथियौँ कमसेकम सातदिनको लागि । बस आफ्नो रफ्तारमा थियो । कहिले बे्रक लगाउँछ, कहिले गति बढाउँछ । कहीँ एकक्षणको लागि रोकिन्छ, कोही उत्रन्छन् र कोही चढ्छन् इत्यादि ।
सुरुमा त सबैजना ठिङ्गापुरबाटै हिँडेकोझैँ खडेखडे नै थियौँ । उनले चाहिँ दुःखसुख बस्ने ठाउँ पाइन् अर्थात् एउटी सानी बच्चीलाई उठाएर काखमा राखी त्यस बच्चाकी आमासँग टाँसिएर बसिन् ।
क्रमशः गाडी ठाउँठाउँमा रोकिँदै जाँदा फटाकफुटुक सिटहरू खाली हुँदैगए र खाली सिटहरूमा मौकाबाजी लिँदै हामी बस्दैगयौँ । यस्तै सिलसिलामा निकै बेरपछि छरिएको स्थितिमा हामी सबै बसिसकेका थियौँ ।
हामीमध्ये उमेरमा सबभन्दा जेठो र व्यवहारको परिपक्व साथी झनक दक्षिणपट्टिको निकै पछिल्लो सिटमा थिए । म उनीभन्दा निकै अघिको उत्तरपट्टिको एउटा सिटमा एउटी बूढी आमैसँग बसेको थिएँ । आमै वेलावेला चुर सल्काएर तान्न थाल्थिन् । (त्यसवेला सार्वजनिक स्थलमा घुम्रपान निषेधको सामाजिक कानुन आजजस्तो कडा भइसकेको थिएन) त्यसले मलाई निकै असर गरिरहेको थियो तर बसभित्रका यात्रुहरूको गतिविधि अध्ययन गर्नेमा मैले विशेष प्रकारले आफ्नो रूचिलाई केन्द्रित गरेको हुँदा आमैको चुरको धूुवाँ पनि पचाउँदै थिएँ ।
ठीक मभन्दा अघिल्लो सिटमा अमुकअमुक दुईजना साथीहरू बसेका थिए । त्योभन्दा अघिल्लो सिटमा एउटा अर्को साथी बसेका थिए । जसको बसाइ निकै असजिलो थियो अर्थात् उनले बस्नुको अर्थमा शरीरको अति थोरै भागमात्र सिटमा टेकाएका थिए र शरीरको बोझलाई थाम्न उनको बायाँ हात दक्षिणपट्टिको सिटमा राम्ररी अडेसिएको थियो ।
जुन सिटमा उनको हात अडेसिएको थियो ठीक त्यही सिटमा एउटा अर्काे साथी आनन्दविभोर भएर यात्राको मजा लिइरहेका थिए । अनि त्यही सिटकै ठीक पछिल्लो सिटमा उनी थिइन् । उनी बसेको पछिल्लो सिटमा हाम्रै अर्का महान् साथी हुनुहुन्थ्यो, जसका दुवैै हातले अघिल्लो सिटलाई यसरी समातेका थिए, मानौँ उनी त्यो सिटलाई अलिकति पनि हल्लिन दिनेवाला छैनन् । अरू केही मान्छेहरू टाउकामाथिको फलामे डन्डीलाई समातेर उभिएका थिए ।
उनी आफ्नो धुनमा मग्न हुने प्रयत्न गरिरहेकी थिइन् तर अरू आँखाहरू जो उनमा केन्द्रित थिए, तिनले गर्दा वेलावेला निकै अप्ठ्यारो मानिरहेकीजस्ती देखिन्थिन् । खास गरी ती साथीका आँखाले उनका निधार, गाला र आँखाहरूमा घोचिरहेका थिए, जो अत्यन्त अप्ठ्यारो स्थितिमा बसेका थिए र वास्तवमा उनको निकै नजिक थिए । जब उनी बाध्य भएर साथीतिर साँच्चै हेरिदिन्थिन् तब साथीका आँखाहरू सुकराती एकाग्रतामा बाहिरी दृश्यमा कवितामय भएर डुबेझैँ देखिन्थे । जब उनी पुनः अर्कोतिर हेर्थिन्, उनी पुनः भावनामय एकाग्रतामा केन्द्रिभूत भइहाल्थे ।
तिनीभन्दा अघिल्लो सिटमा बसेका साथी दुनियाँबाटै बेखबर छन् झैँ लाग्थे तर केही समयपछि के थाहा भयो भने उनका कानहरू तिनको श्वासको आवाज समेत सुनूँलाझैँ पाश्र्वमुखी भएका रहेछन् । बिचरालाई अलिकति के कठिनाइरहेछ भने पछि फर्केर उनका आँखामा हेर्नु निकै अशिष्टता हुने हुनाले कानकै भरमा ती सुश्रीको रखवारी गर्न बाध्य रहेछन् ।
मभन्दा अघिल्लो सिटमा बसेका दुईजना महान् मित्रहरूमध्ये एकजना झ्याल बाहिरकै दुनियाँमा मग्न देखिन्थे र अर्कोजना पत्रिका पढ्न व्यस्त देखिन्थे । मेरो के अनुमान थियो भने ती दुईजना श्रीहरू त्यस मामलाबाट विल्कुल अलग छन् । तर मेरो भ्रमको पर्दा एकैक्षणमा कसरी च्यात्चुत् भयो भने झ्यालबाहिर मग्न देखिने साथीले बिस्तारै धार्नीको टाउको घुमाएर सुश्रीतिर दुवैै आँखा मिल्काइहाले ।
तर त्यसो गर्दैगर्दा पनि उनी कत्तिको चलाख र सावधान हुने प्रयत्नमा थिए भने उनले त्यसो गरेको कुरो कमसेकम हामी छजनामध्ये कसैले थाहा नपाऊन् भन्ने चाहन्थे । तर बिचरा उनले के थाहा पाएनन् भने मेरा आँखाहरू बसभित्रको सिङ्गै दुनियाँलाई नापिरहेछ । अनि पत्रिकामा व्यस्त बौद्धिक साथीलाई पनि वास्तवमा पत्रिकामा उल्लिखित संसद्को छलफल वा फलानाको महत्त्वपूर्ण अन्तर्वार्तासँग केही मतलब रहेनछ । आँखाका सबैभन्दा देब्रेकुनापट्टिबाट उनी पनि सुश्रीको नाकको टुप्पो वा ओठमास्तिर जुँगा भन्न नमिल्ने पातला रौँहरू गन्नमै व्यस्त रहेछन् । वेलावेला उनको टाउको अलिअलि घुमेको देखिन्थ्यो । उनीचाहिँ टाउकाको त्यत्तिकै गतिले नै काम चलाउनमा व्यस्त थिए ।
बिचरी सुश्री निकै फसादमा परेकी थिइन । ती जम्मै आँखाहरूको उनलाई बोध भइसकेको थियो र सबभन्दा बढी बोध ती अप्ठयारो बसाइका मित्रबाट उनलाई भएको थियो । तर उनको सिटलाई पछाडिबाट च्पाप्प अँठ्याएर बसेका साथीबारे चाहिँ उनले याद गरेकी थिइनन् क्यारे । त्यसैले उनको तर्फबाट ती साथीका आँखालाई मैले नै पढिदिनपर्यो । बिचरा ती साथीलाई परेको अप्ठ्यारो पनि मायालाग्दो प्रकारकै थियो । किनभने उनी जुनप्रकारले आफ्ना हृदयको लगानी गर्न चाहन्थे, त्यति नै असफल पनि हुँदैथिए । किनभने सुश्रीले उनलाई एकपल्ट पनि राम्ररी देखेकी थिइनन् । ऊ भने कोण बनाइबनाईकन कहिले दाहिने कानतिरबाट छड्किएर दाहिने नाकको भित्तोसम्म त कहिले घिच्चुक वा चुल्ठो मात्र हेरिरहन्थे । त्यस असफलताले बिचरा साथी निकै ठूलो ट्रेजडीमा परेको बोध हुन्थ्यो । त्यो सबै दृश्यको अवलोकनमा आनन्दविभोर भइरहेका मेरा आँखाहरू पालैसँग सबै साथीहरूबाट सर्दैसर्दै सुश्रीमाथि पुग्थे र फेरि फन्को मार्न थाल्थे । तर बिचरा म पनि अपर्झट एकपल्ट फत्रक्कै कसरी गलेँ भने सबैतिर चक्कर काटेर जब मेरा आँखा उनका अनुहारमा ठोक्किन पुगेका थिए- ठीक त्यही वेला पहिलोपल्ट उनले मलाई पुलुक्क हेरिन् । ‘ओहो ! कति गाह्रो ? म त केवल पर्यवेक्षक मात्र हुन खोज्दाखोज्दै कथाकै पात्र हुनपुगेँ । उनले मलाई जतिवेला हेरिन् ठीक त्यही वेला मभित्र एकप्रकारको चस्का ‘च्वास्स’ गड्यो । बस् के थियो म एउटा लेखक होइन उपनायक भइहालेँ ।’
गाडी आफ्नो गतिमा थियो । निरन्तर हामी लक्ष्यको समीपतिर बढ्दैथियौँ ।
गाडी एकठाउँमा रोकियो । बसभित्र सानो हलचल भयो । मान्छेहरू उत्रने तरखरमा देखिए । उनी पनि बसेको ठाउँबाट उठिन् । उनी उठेको देखेपछि मैले एकैक्षण सबै सहपाठीहरूलाई हेरेँ । त्यसवेला ती अप्ठ्यारो स्थितिमा बस्ने साथीका आँखाको आकारचाहिँ सबभन्दा ठूलो भएको थियो भने सिट अँठ्याएर बसेका साथीका हातहरू लुलिएर खत्रक्क आफ्ना घुँडामा खसेका थिए । झ्यालबाहिर हेर्ने साथीले आफ्नो जम्मै शरीरलाई झ्यालबाट बाहिरैतिर निकाल्न बल गर्दै गरेझैँ देखिन्थे भने पत्रिका पढ्ने साथी हतारहतार पत्रिकाका पानाहरू पल्टाउन व्यस्त थिए ।
तर एउटा रमाइलो भयो फेरि यसरी- उनीसँग बसेकी आइमाईले आफ्ना बच्चाहरू डोहोर्याएर गाडीबाट उत्रिन । उनको छेउमा खाली भयो । मैले तत्काल के अनुमान गरेँ भने अप्ठ्यारो स्थितिमा बसेका प्रिय मित्र त्यहाँ बस्लान् तर, साह्र्रै फूर्तिसँग अघिल्लो सिटमा बसेका साथी बुरूक्क उफ्रिएर त्यो खाली ठाउँ पूरा गरे । बिचरा अप्ठ्यारो स्थितिमा बसेका साथी झन् महाअप्ठ्यारोमा कसरी परे भने आफ्नै साथीले उनका आँखाहरू फुटाएजत्तिकै भयो । त्यो फूर्तिसाथ मौका जब हामीमध्येकै ती रोमान्टिक साथीले छोपे, त्यसलाई त्यत्तिकै फूर्तिसँग सबैले देखे । अनि के भो ? हुन्थ्यो के र ? सबै साथीहरूका आँखा खुम्चिएर हात्तीका जत्रा भए । पत्रिका पढ्ने साथी एउटै वाक्यलाई तीनपल्ट दोहोर्यउन थाले । सिट अँठ्याउने साथी उँघ्न थाले । अप्ठ्यारो गरी बसेका साथीको जिउ दुखेकाले उभिए र झ्यालबाहिर हेर्ने साथीले सडककिनारमा जम्मा ३६४ वटा रूख गनेँ ।
ती फूर्ति साथीचाहिँ उनीसँग परिचय गर्दैथिए । गाडी धरानको बसपार्कमा पुगेर रोकियोे । गाडी रोकिएपछि बाहिर निस्कनेमा सबभन्दा फूर्तिला ती उभिएका साथी थिए र अरू पनि ।साथीको फूर्ति कति घटेको थियो भने गाडीबाट उत्रन उनलाई कसैले बाटो छोडेन रे र सबभन्दा अन्त्यमा खुत्रुक्क उत्रे । तर उनी मुडअफ थिए । किनभने त्यो यात्राजति अल्छीलाग्दो यात्रा उनले कहिलै गरेका थिएनन् रे ।
जीवनमा पहिलोपल्ट म धरान पुगेँ । अनौठो र रमाइलो ठाउँ लाग्यो धरान । बिस्तारै पहाडतिर उकालिँदै गएको धरानको सहरीकरण बडा मनमोहक र सुन्दर थियो ।


(धरावासी स्थापित आख्यानकार हुन्)
dharabasi@gmail.com