कहिले उत्तर पाऊला ? - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

कहिले उत्तर पाऊला ?

डा. बिष्णुविभु घिमिरे

डा. बिष्णुविभु घिमिरे

समय बित्ने कुरा हो बित्छ, कसैका लागि केही भएर, कसैका लागि मनग्य भएर र कसैका लागि रित्तोरित्तो, केही नभएर पनि बित्छ । समय भन्नु नै अर्को अर्थमा जीवन हो । हाम्रो जीवनको आरोह- अवरोह हो । हाम्रो बचाइक्रमको सिलसिलाबार दस्ताबेज पनि हो । समय चेतना हो, चेतनासँगसँगै हाम्रो जन्म र मृत्युबीचको नितान्त अनुभव- यात्रा पनि हो ।
जन्मनेहरू सबै एकदिन मर्छन् । यो त सबैलाई थाहा छ । तर मर्नेहरू सबै फेरि जन्मन्छन्, जन्मँदैनन् यो भने अहिलेसम्म रहस्यकै विषय छ । भन्न त भनिन्छ- आत्मा अजर र अमर छ, आत्मा चिरञ्जीवी छ, शरीर मात्रै मर्छ । अहिलेसम्म्म हामीले शरीर मात्रै देखेका छौँ । शारीरिक इन्द्रियहरूको तुष्टिलाई जीवनको सर्वोत्तम उपलब्धि ठानेका छौँ । बाहिर यति सुन्दर, राम्रो देखिने भित्रभित्रै हामी कति कुहिसकेका र दुर्गन्धित भइसकेका छौँ ? भित्रको कुरा त आत्मा साक्षात्कार नगरी कसरी थाहा पाउने ? आत्मा साक्षात्कार-गहिरो संवेदना, एकनिष्ठ भावना, पवित्र विचारविना सम्भव छैन । आत्माको पहिचान पाउन सन्तुलित विवेक, निर्मोह र अटल एकाग्रताविना सम्भव छैन । ढोँगी जो पनि हुनसक्छ तर जोगी हुन बडो गाह्रो छ । प्रकृति त्यत्तिकै सिर्जित छैन । बोल्ने भाषाको जन्मदेखि र लेख्ने कलाको आरम्भदेखि- मानिस निरन्तर बोलिरहेछ, निरन्तर लेखिरहेछ तैपनि प्रकृति रहस्यको पत्रपत्र छिचोलेर बोल्न बोली अपुग छ, लेख्न शब्दहरू अपर्याप्त छन् ।
प्रकृति नै ईश्वर हो, प्रत्येक जीवमा प्राण सञ्चार गर्ने ईश्वर अथवा प्रकृतिको सत्तानै आत्मा हो । आत्मा नै मन हो, मन भन्नु नै हृदय हो र यी सबै समग्रमा भन्नु, बुझ्नु नै साधारण अर्थमा सायद आत्मा हो ।
यही आत्माको पवित्रता, स्पष्टता र भावना नै सङ्गीत, कला र साहित्य हो । शरीरजस्तो साबुनले दलिदली सफा गर्नसकेजस्तो आत्मा सफा गर्न सजिलो छैन । अन्तर्रात्मादेखि तरङ्गहरू झङ्कृत हुँदैनन् भने- न उत्तम सङ्गीत, न कला, न साहित्यको सिर्जना हुनसक्छ । मानिस हुँ भन्ने तीव्र संवेदना एवं निःस्वार्थ, निष्पाप भावनाले नै आत्मा चोखो र सफा राख्न सकिन्छ । मानिस, मानिसहरूको मात्र नभएर सम्पूर्ण प्रकृति- वातावरणको संरक्षक पनि हो । प्रकृतिमा भएका यावत सिर्जनाजस्तै मानिस पनि एउटा सिर्जना हो । प्रकृति र मानिसबीच त्यसैले पनि अभिन्न तादम्य छ । त्यो तादम्य बिथोलियो भने मानिस साँचो अर्थमा मानिस भएर बाँच्न सक्दैन ।
बगिरहेको कलकलाउँदो नदी, उडिरहेका चराहरू, अनेक आकृतिमा विभाजित र संयोजित बादलका खेलहरू; जून, घाम र ताराहरू- हरियाहरिया वनपाखा र चउरहरू–प्रकृतिका यस्तै यावत सौन्दर्य सृष्टिमाथि मानिस भावुक बन्न सकेन भने उसले बाहिर जति सिँगारिए पनि भित्रबाट क्षण- प्रतिक्षण छटपटाउँदै बाँच्नुपर्ने हुन्छ । त्यतिवेला बाँच्नु एउटा उत्सव अथवा उत्साह नभएर एउटा यान्त्रिक बाध्यता बन्दैजान्छ । घरिघरि कहालीलाग्दो भीरमा उभिएर झस्किएझैँ ऊ निरन्तर चोटैचोटमाथि बाँच्न बाध्य हुन्छ ।
विज्ञानको उन्नतिसँगै मानिसले धेरै थोक पायो र त्यस प्राप्तिसँगै भौतिकवादी भएर सँगसँगै धेरै कुरा पनि गुमायो । अनुहार, शरीर र रूपरङ्गले स्पष्ट मानिस देखिए पनि भित्रभित्रै अहिलेको मानिस अस्पष्ट र अमूर्त बन्दै गइरहेको अनुभूुति हुन्छ । प्रकृतिमा भएका यावत प्राणी र वनस्पतिहरूले आफ्नो स्वभाव छोडेका छैनन् र त्यही स्वभावबाट उनीहरूलाई चिन्न सजिलो भएको छ । जस्तो आगोले पोलिरहेकै छ, बाघले गाईलाई खाइरहेकै छ। गाईले घाँस खाइरहेकै छ । पानी एक ठाउँबाट बगिरहेकै छ । सर्प, बिच्छी, हात्ती, घोडा, कुकुर, मौरी, कमिला, भुसुना, बाज, परेवा, काग आदि जुनसुकै प्राणीको आफ्नै शारीरिक बनौट र एउटा निश्चित स्वभाव छ । अहिलेसम्म आँपको रूखमा आँपै फलेको छ, केराकोमा केरै फलेको छ, अँगुरका लहरामा अँगुरै, काँक्राका लहरामा काँक्रै फलेको छ । यसरी प्रकृतिका अरू यावत सृष्टिमा एकप्रकार निश्चितता छ । मानिसको स्वभाव र मानिस मात्रै अनिश्चित छ । अहिलेसम्म बाहिरबाट त्यही साधु मान्छे- भित्रभित्रै चोर, बाहिरबाट भलाद्मी सभ्य मान्छे- भित्रभित्रै बर्बर डाका । बाहिरबाहिर मानव-भित्रभित्रै दानव । बाहिरबाहिर देवता-भित्रभित्रै पिशाच । सृष्टिको आदिकालदेखि अहिलेसम्म- मानिसले निरन्तर एउटा प्रयास गर्यो, मानिस र उसको स्वभावलाई चिन्ने ! मानिसलाई चिन्नकै लागि त हो विश्वमा यति ठूल्ठूला विश्वविद्यालयहरू खुलेका- तैपनि मानिसकै परिचय अहिलेसम्म अपुरो । अब कुन स्वभावले मानिसलाई चिन्ने ? युगयुगदेखिको यस प्रश्नले कहिले उत्तर पाऊला ? अथवा उत्तरविहीन अवस्थामै कुन महाप्रलय होला । कसले भन्न सक्छ र ?