आमा र आमाहरू - Aksharang
  • २०७८ कातिर्क १० बुधबार

आमा र आमाहरू

लक्ष्मी उप्रेती

लक्ष्मी उप्रेती

संसारमा सौन्दर्यको ताज खोज्ने गर्छु सधैँ म
स्वर्ग बनी आउने आमा त्यहीँ देख्ने गर्छु म।

आमा हरेक व्यक्तिका लागि एक सुखद अनुभूतिको तलतल हो । शीतल छायाँमा सन्तानलाई सुरक्षित राख्न पाउँदा खुसी हुने सुरक्षा कवज वा जीवनका हरेर लडाइँ लड्नसक्ने शक्तिकी सौरभ किरण भनूँ आमालाई । आमा शब्दलाई बाँध्न सक्ने सीमा र उपमा नै केही छैन । पृथकतामा आयतन नै नहुने निकै बढी आमाको परिभाषा कसले गर्ला र ? आमा शब्दको उचाइ, गहिराइ र व्यापकता यति छ- यस सम्पूर्ण सृष्टिको लय नै समेटिन्छ । ब्राह्मणको ज्ञान नै आमामा समहित भएर होला सायद । कोही पनि मातृ ऋणबाट मुक्त हुन नसक्ने सौन्दर्यको ताज र ओजनदार मानक आमा नै हो ।
आमालाई सेवारत स्पर्श गर्नु, आमाका कुरा सुन्नु भनेको जोकोहीको भाग्यमा कहाँ हुन्छ र ? भाग्यमानीलाई मात्र प्राप्त हुने यो आमासँगको साथको परम् आनन्द अवर्णनीय हुन्छ। सन्तानहरूका निम्ति आमाको स्नेहमय भूमिका महान् छ र आमाहरू महान् हुन्छन्। मानव मात्र नभई हरेक प्राणीहरूले पनि आमाको ममत्त्वमा निर्बाध सुरक्षित र सहज भएको अनुभव गर्छन्। पशुजगत्मा भने आमा र सन्तानबीचको प्रेमिल भाव प्रजननदेखि खास अवधिसम्म मात्र रहने गरेको पाइन्छ । एउटा निश्चित उमेरमा पुगेपछि सन्तान पनि पोथी वा भाले मात्र रहन्छन् अनि आमा र सन्तानबीचको सम्बन्धको अन्त्य हुन्छ । मानिस चेतनशील प्राणी भएर नै यो फरक प्रकट भएको हो । यो मैले तथ्यपरकरूपमा सही भन्दैछु कि भावनामा बहकिएर गलत भन्दैछु समयमा पाठकले निर्णय गर्नु होला । तर किनकिन ममा यही चिन्तन भइरहेको हुन्छ।
जुन व्यक्तिले आमालाई सेवा गर्नु आफ्नो कर्तव्य हो भन्ने ठान्छ, उसलाई ममत्त्वको धाराले सद्गुणी बनाउँछ । उसले आफ्नो जीवनमा सुख र सफलताको शिखर आरोहण गर्ने सौभाग्य पाउँछ ।
मातृशक्तिको आशार्वादले उसमा सकारात्मक बन्न अभिप्रेरित गर्छ । जुन आशीर्वाद कहिलेकाहीँ दैविक शक्तिबाट मात्र प्राप्त हुनसक्छ । आमा त्यस्तो सम्बन्धको मिठास हो, जहिले आफूलाई बिर्सिएर पनि सन्तानको कामनामा रमाएर सन्तुष्ट हुन्छन्। आमाका अनेक रूप हुन्छन् । आफ्ना सारा सुखलाई त्यागेर छोराछोरीको सुखका लागि दिन पनि नभनी, रात पनि नभनी भोक सहन्छिन्, रोग पनि खप्छिन्। हरेक कठिनाइसँग जुध्ने शक्ति आमाले दिने नैसर्गिक स्वरूप हो । त्यसैले आमा शब्दको अर्थ बयान गर्नु सम्भव हुँदैन ।
अब एकछिन आमा- उत्सवबारे चिन्तन गरौँजस्तो लाग्यो । अत यस्तो महानतम् आमाको एक दिनका लागि मात्र उत्सव होइन, हरेक दिन उत्सवको भाव प्रस्फुटन हुनपर्छ जस्तो लाग्छ मलाई त। यो सृष्टि- सिर्जनाकी मूलयन्त्र आमालाई एकदिन मात्रै सम्झँदा आफैँलाई हीनताबोध हुनपर्ने हो । सबभन्दा प्रिय र सुन्दर मानिने आमा नहुनु हो त यो सृष्टिको सुरू कसरी हुन्थ्यो होला । अनि सुरू नै भएन भने अन्त्यको अर्थ नै के हुन्थ्यो जस्तो लाग्छ मलाई त । अनि मानवजातिको आविष्कार पनि त हुने थिएन । आफूलाई बिर्सिंदै सन्तानलाई सम्झने मीठो तृष्णा आमालाई मातृदिवस भनेर वर्षमा एक दिन मान्ने परम्परा मातातीर्थे औँसीका दिन भयो । वैशाख कृष्णपक्षको औँसी- मातातीर्थ औँसी जन्म दिने आमालाई ससम्मान पूजा गर्ने परम्परा पौराणिक कालदेखि मनाउदै आएको पर्व भनेर आमाको त्याग र बलिदानको त्यही एक दिनलाई मात्र सम्झना गर्नु ठीक हो त !
यो कहिलेदेखि र कोबाट सुरु भयो। आमा त सधैँसधैँपूजनीयतीर्थ होइनन् र ! बारम्बार यो कुरा सम्झेर म खै कस्तोकस्तो आश्चर्यमा पर्छु । त्यसमा पनि आमा शब्दको पवित्रतामा आफूले गर्ने कत्र्तव्यको चिन्तन गरेर सम्बन्धलाई बाँड्ने कुकर्म गरेर नरूवाउनेलाई मात्र आमा- दिवसको अर्थ हुन्छ ।
मातृदेवो भव । यो संस्कृतको श्लोकले पनि आमा शब्दको महिमा विशाल बोकेको छ । शास्त्रहरूमा पनि पिताभन्दा उच्च स्थानमा आमालाई मानिने उल्लेख पाइन्छ। विश्वका विभिन्न सभ्यताहरूमा सिर्जित ग्रन्थहरूमा आमाको विम्बलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको पाइन्छ । अझ हाम्रो समाजमा त आमालाई व्यापक आयाममा प्रतिपादित गरेको छ । धर्ती, जन्मभूमि, मातृभूमि अझ वृक्षलाई समेत आमा सम्बोधन गर्ने संस्कृति छ । त्यसैले सुपात्रले आमा जति उमेर बाँचे पनि अझै लामो आयु बाँचून् भन्ने चाहन्छ। अपवादका रूपमा खराब आमाहरूको पनि चर्चा सुनिन्छ । हुन त सन्तानलाई त्याग्ने कति आमाहरू खराब पनि नहुने हैनन् । तर कति आमाहरू अन्य मानिसका निम्ति खराब भए नि आफ्ना सन्तानको नजरमा पूजनीय स्थानमा रहेको स्पष्टै अनुभूत गर्न सकिने आमाको महिमाको बृहत् इतिहास छ ।
आमालाई संसारको सबैभन्दा सुन्दर पाठ मानिन्छ । जसले गर्भदेखि नै पढाउने र सुसंस्कृत बनाउने प्रयत्न गर्छिन् र पहिलो गुरु भएर मनको तहबाट माथि उठेर प्रज्ञावोध गराउँछिन् । आमाको पवित्र प्रेममा नै एउटा बालकले संसार विचरण गरेर असल बन्न सक्छ । आमा सम्बोधन संसारमा यति पवित्र हुन्छ, जसलाई न कुनै शब्दमा उतार्न सकिन्छ, न अनुमोदन नै गर्न सकिन्छ । र त विश्वका शक्तिशाली सेनापति फ्रान्सका सम्राट् नेपोलियन बोनापार्टले भने त- ‘मलाई असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु ।’ त्यस्तै बीपी कोइरालाले आमा र राष्ट्रलाई बराबार माने । जर्ज फ्रेडरिक सिलर भन्छन्- ‘संसारभरि भौतारिँदै हिँडे, आमाको जस्तो विशाल हृदय कहीँ पाइनँ ।’ त्यस्तै जर्ज वासिङ्टनले आफूले सम्पूर्ण सफलता आफ्नी आमाबाट पाएको नैतिक र आध्यात्मिक शिक्षाको उपज हो भन्ने ठाने । त्यस्तै वासिङ्टन् एभिट भन्छन्- ‘सुख, शान्ति ल्याउन प्रयत्न गर्ने आमा संसारभरमा एक मात्र हुन्छिन् ।’ अनि अब्राहम लिङ्कनले आमाबारे ‘म जे जस्तो छु वा बन्ने आशा राख्दछु, मेरी ममतामयी आमाको कारणले छु’भनेका छन् । यसरी विश्वका विशिष्ट व्यक्तिको अभिव्यक्तिमा आमाबारे महिमाको इतिहास छ।
आमा हुनुमा स्वर्गीय सुख भएपनि निर्धक्क सजिलो हुने अवस्था हुन्न। नौमहिना आफ्नो गर्भमा राखेर विनासर्त मृत्युसँग पौँठेजोरी खेल्दै जन्म दिने आमाको जीवनयात्रालाई कवि तीर्थ श्रेष्ठको कविताभन्दा निकै जटिल छ। यसवेला म उनले सिर्जना गरेका कवितामा तरङ्गित भएको छु-

आमा हुन साह्रै असजिलो छ
पहाडजस्तो
उचाइमा पुगेर मैदान भैदिनुपर्ने
मैदानमा पुगेर उकालो भैदिनुपर्ने
………….

आमालाई सर्वोच्च स्थानमा राख्ने सन्तान सुपात्र हुन्छन् । विश्वप्रसिद्ध व्यक्तिहरू, शासकहरू, वैज्ञानिकहरू दार्शनिकहरू, परिवर्तनका अभियन्ताहरू, गौतम बुद्धदेखि कार्ल माक्र्स, न्युटनदेखि आइन्सटाइन र लियो तोल्सतोयदेखि चार्ली च्याप्लिन,बेनजिर भुट्टो, इन्दिरा गान्धी, मदर टेरेसा, सीता, थेचर, नाइटिङ्गेल, हेलेन किलर, म्याडम क्युरीलगायतका प्रतिभाहरू सर्वस्वीकार्य आमाको नै आशीर्वादका प्रतिफल हुन् भन्दा फरक नपर्ला। यसैले पनि आमाबारे कुरा गर्दा मेरो मस्तिष्कभरि आफ्नो त्यस एकपल अतीतको झझल्को आउँछ । आमाको महानताबारे हरेकले व्यक्त गरेका आफ्ना आमासम्बन्धी संवेदनाका चोट न्यून गर्न म आफ्नै आमाको जीवनलाई अगाडि राखेर उनी साँच्चैकी महान् हुन् भनेर एकाकार हुन्छु । के आमाको माहनता परम्परागत महानताको कसीमा शुद्ध निस्कन्छ होला त ? आमाप्रतिको जुन भाव सन्तानहरूको हृदयमा बन्नेगर्छ, त्यो भाव कुनै ‘महान्’ पराक्रमले निर्माण भएको होइन बरु आमआमाहरूको सद्गुणी कर्मद्वारा सिर्जित हुन पुगेको उदार मनोविज्ञान हो सायद  ।
अहिलेको मानवीय प्रवृत्ति सम्बन्धको नापतौलको स्वार्थ हेरेर सन्तानको बाटोबाट हाम्रा आमा, अझ हजुरआमाहरू निकै भाग्यमानी हुन् भन्न मन लाग्छ। मैले नै वृद्धवृद्धा आमाबुबालाई सन्तानले साँच्चै भगवान् नै मानेका थिए भन्ने प्रसङ्ग प्रशस्त सुनेकी, देखेकी र केही अनुभव पनि गरेकी छु। आजको युग त हरे के भनौ र ! वृद्धवृद्धा भएर बाँच्नु नै एउटा अपराध गर्नुजस्तै भएको छ । त्यसैले आजभोलि कतिपय मानिसले अनेकौँ कारणबाट आमाबुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रममा लगेर राख्ने प्रवृत्ति बढ्दै गएको छ । यो प्रवृत्ति मानवताबीच देखिएको समझदारीको सङ्कट हो, संवेदनाको सङ्कट हो। अनि आफू पनि बूढो भइन्छ भन्ने चेतनाको विचलन हो । समय त बगिरहने खोला न हो, आफूले गरेका कुराहरू एकदिन आफैँतिर फर्किने समय पनि आँउछ भन्ने हेक्का नभएर हो कि के हो ! कोहीकोहीलाई छाडेर यस्तो आधुनिकताको लेपन भिरेर आमाबुबालाई त्याग्ने स्वार्थी र पाखण्डीपनको चरित्र जहीँतहीँ भएको छ। यसले कतिकति सम्बन्धहरू पनि धरापमा पर्दैछ । तर किन बुझ्दैनन् सन्तानलाई जिउन सिकाएर साहस दिने आमा नै सन्तानको भावनात्मक आयाम हो भन्ने कुरा। निःस्वार्थ माया र त्यागकी प्रतिमूर्ति आमाले आफ्ना सन्तानलाई हरदम माफ गरिरहेकी हुन्छिन् । समस्या पर्दा आमाले जसरी पनि सहयोग र साथ दिन्छन् । आमाको हृदय अनन्त द्रविभूत हुने विशाल सागर अनि सञ्जीवनी बुटी हो । आमा सन्तानसँग सधैँ हारि मात्रै दिन्छिन् । यो नचिन्नेहरूअन्धो हुन् । सन्तानका लागि आमाभित्र यो माया सधैँसधैँ बाँचिरहेको हुन्छ । हरेक यातना सहेर सन्तानका लागि सधैँ मार्गनिर्देशक भई कामना मात्र सोच्ने संसारमा कोही छ भने त्यो मात्र आमा हुन् ।
आमाहरू सन्तानको हितका लागि जे पनि हुनसक्छन्, जे पनि गर्न सक्छन्। आज आएर हामी बाध्यता अनि स्वार्थका कारण आफ्नी जननीलाई बोझ ठान्दछौँ । आमाको मुख हेर्ने दिन, किरिया याश्राद्धमा लोकाचारका लागि स्वाङ रच्दै सामाजिक सञ्जालका भित्ताहरूमा आमाको तस्बिर टाँस्न उद्वेलित हुन्छौँ । आमा कुनै मौलिकतासँग न त साटिने, न त तुलना नै गर्नसकने देखावटी बस्तु हुन् । आमालाई भौतिकतासँग साट्ने हिजोआजका मानिसहरूआफ्नै अस्तित्वसमाप्त गरी निर्जीव जीवन बाँच्न रहर गर्नुजस्तै भएका छन् ।
यही प्रसङ्मा आजका प्रायः छोराहरूले पनि निकै ठूलो चुनौतीको सामना गरिरहेका छन् । उनीहरू एकातिर आमाबुबाबाट प्रताडित छन् भने अर्कातिर श्रीमतीबाट। कोही बुद्धिले काम गरेर पनि ढलपल गरी अडेका छन्, कोही बुबाआमा त्यागेर श्रीमती र छोराछोरीलाई रोजेर गुजारा चलाउन वाध्य छन् । हो, यस्तैले आमाबुबालाई बढी स्वाङ गरेर सर्वस्व हात पार्छन् र कुनै उपायले आश्रमको बाटोदेखाउने नियत राख्छन् । यो दुर्भाग्यपूर्ण भएको छ । हुन् त आजकाल कतिकति वृद्धआमाहरू पनि अफ्ठ्यारोमा फलेका फर्सीजस्ता हुन्छन्। छोराछोरीको कुरा बुझेर पनि नबुझ्ने हुन्छन्। बुहारी र छोरीलाई फरक दृष्टिकोण राख्ने सिलसिला त आदिमकालदेखिकै हो। तर पहिले बुहारीले यसलाई स्वाभाविक ठानेर सहन्थे । आज भने यससम्वन्धको तालमेलमा अस्तित्व हावी भएर होला बुहारीलाई सह्य हुँदैन र अनेक समस्या निम्तिन्छन् । जसले गर्दा लोग्नेलाई वाध्य पारेर आफूले जन्माएका सन्तानलाई मात्र च्याप्नु र अलग्गिएर बस्छन् । यो कतिसम्म ठीक हो । किन मानवता नै हराइरहेको छ नि यो समयको पदचापसँगै । के पढेलेखेपछि या क्षामतावान भएर कमाउने भएपछि यस्तै गर्नुपर्छ त छोराछोरीहरूले। सक्रिय नारी भएको अहङ्कारको बिल्ला भिरेर लोग्नेलाई अनेक उदेकका लीला देखाएर उकास्ने चलन बढदो छ। यसो हुनु उचित होइन, हुदैँहोइन । तर कति ठाउँमा यो कर्म भएर आमाहरू प्रताडित भइरहेका छन् ।
आमा भनेको त एउटा त्यागको विम्ब हो, तपस्याको सरगम हो नि ! किन बुझ्दैनन् अचेलका छोराछोरीहरू ? बुहारी पनि त कसैकी छोरी नै हो नि ! किन उनीहरू छोरी हुन सक्दैनन् अनि सासू आमा हुन सक्दैनन् । हिजोका पनि आमा आमा नै थिए, आजका पनि आमा आमा नै हुन् । तर यी सम्बन्धहरू हिजो र आजबीच यति बिघ्न फरक भए- यो समयको परिवर्तन नै हो कि के हो ?
आमाहरूको पहिरन परिवर्तन होला, संस्कार पनि परिवर्तन होला, रहनसहन र वातावरण परिवर्तन होला । बाहिरी तारतम्य फरक भएपनि सभ्यताको सौन्दर्य र ममताको मीठो स्पर्श भने कहिल्यै परिवर्तन हुँदैन । यसैले आमालाई भगवानको अर्को रूप मानेको होला। अनि त म आमा र यी सबै आमाहरूप्रति सम्मानका साथ नमन गर्दछु । यो कुरालाई सबैका छोराछोरीले हृदयगमन गर्ने र आमाहरूले स्वीकार्ने हो भने आहा यो संसारका हरेक सम्बन्धहरू कति सुन्दर हुन्थे होला । यही कामनासहित मलाई जन्मदिएर संसार देखाउने आमाप्रति आभारी छु । आमाको अभावमा छोरी भएर म आमालाई अगाधश्रद्धा गर्नुमा र आमाको सम्झनामा नै सौन्दर्य देख्नुमा अलौकिक सुखभोग गरिरहेकी छु । यसका साथै मैले जन्माएका तीनैजाना छोराछोरीबाट मैले सम्मानजनक व्यवहार प्राप्त गर्न पाउनु मेरो जीवनदर्शनको उज्यालो आयम हो भन्दा अतिशयोक्ति नहोला सायद ।
अन्त्यमा पुनः प्रिय कवि तीर्थश्रेष्ठको ‘आमा’ कविताको एउटा लाइन सम्झिरहेछु–
‘आमा हुन पहाड हुनजस्तै गाह्रो छ ….!’


(उप्रेती स्थापित साहित्यकार तथा साहित्यिक पत्रकार हुन् । उनका हालसम्म करिब तीन दर्जन ग्रन्थहरू प्रकाशित छन्)
lakshmiuprety@gmail.com