बाल्यप्रेममा कोरोनाको खलनायकी - Aksharang
  • २०७७ मंसिर १९ शुक्रबार

बाल्यप्रेममा कोरोनाको खलनायकी

विष्णु पगेनी सिग्देल

विष्णु पगेनी सिग्देल

अत्यासलाग्दो वन्दाबन्दीले जीवनलाई कैदी बनाएको पनि दुई महिना भइसकेको थियो । हाम्रो बसाइ तीनतले भवनको तल्लो तलाको ढोकैनेरको अपार्टमेन्टमा थियो, जहाँबाट भवनका सारा मान्छेका आवतजावत सहजै देख्न सकिन्थ्यो । यहीबीचमा एकदिन झल्याँस्स देखेँ उसलाई मेरै अपार्टमेन्टकै अगाडि । आफ्नी आमासँग आएकी थिई ऊ उत्सुकता भरिएका तेजिला आँखा, गहिरो चञ्चल हेराइ बोकेर । गुलाबी फ्रकमा सजिएकी उसलाई दुई चुल्ठी पारेर चिटिक्क बाटिएको कपालले झनै राम्री देखाएको थियो । जब हाम्रा आँखा चार भए केही खोजेकोजस्तो पारामा पुलुक्क हेरी मलाई, अनि फिस्स हाँसी, सदाझैँ । मलाई पनि उसको न्यास्रो लागिराखेको थियो सायद, उसलाई देख्नासाथ अनायसै बेस्सरी चिच्याउनपुगेछु, समर !
कान्छी छोरी काव्या उसकै कोठामा छुनुमुनु गर्दै के खेल्दैथिई कुन्नि ? हुत्तिँदै आइपुगी म भएतिर । उत्सुकता भरिएको आँखाले मलाई हेर्दै सोधी- ‘होयर?’ सन्जोग नै त्यस्तो पर्यो उसले हेर्दा नहेर्दै समरको साइकल एकैछिनमा ओझेल पर्यो हामीबाट । अनुहारमा निरासाका रेसाहरू दौडाउँदै छोरी दगुर्दै अर्को कोठातिर कुदी, जहाँबाट ऊ आफ्नी प्यारी सखा समरलाई देख्न सक्थी । जब उसले समरलाई देखी सिसाको झ्याल खोलेर जालीभित्रैबाट खुसी हुँदै चिच्याई- ‘हाइ समर !’ समरका आँखाले पनि काव्यालाई नै खोजिरहेका थिए, उत्तिनैखेर सेता दाँत देखाएर मुस्सुक्क हाँस्दै हावाको गतिमा जबाफ फर्काइहाली, ‘हाइ काव्या !’ जब आफ्नी प्यारी साथीलाई घरबाहिर देखी काव्या झ्यालै फुटालेर बाहिर जान्छु कि जस्तो गर्न थाली । उता समरको पनि हाल बेहाल थियो । ऊ बाहिरबाट चिच्याउँदै थिई- ‘काव्या कम आउट साइट’, कम टु प्ले ।’ काव्या बाहिर जानका लागि भरसक प्रयास गर्दैथिई अनि समर काव्यासँग गल्र्याम्म अँगालोमा नबेरिएसम्म नहिँड्ने अडानमा । साढे दुई महिनादेखि महामारीका कारण स्कुल बन्द भएर कोठामै थुनिन विवश यी दुई बालसखाको एकआपसको बेचैनी, छटपटाहट देख्दा लाग्थ्यो, यिनीहरू धेरै पहिलेदेखि छिोडिएका प्रेमिल जोडीहरू हुन्, जो मिलनका लागि हामीसँग याचना गरिरहेछन् । तर उनीहरूको बालप्रेममा खलनायक बन्दै थियौँ हामी दुवैका अभिभावक ।
के गर्ने वेलै त्यस्तो । हामीले चाहेर त्यसो गरेको हो र ? तर कस्तो अप्ठ्यारो? कस्तो विवशता ? भर्खर साढे पाँच वर्ष पुगेका यी अबोध बालिकाहरूलाई के थाहा, उनीहरूकै सहरमा महामारीले गर्दा दिनहुँ सयौँ मान्छेका लासका चाङ्ग लागेका कुरा, मान्छेसँग मान्छे डराएर भागेका कुरा । सूक्ष्म कीटाणुको त्रासका कारण मान्छेका खुसी, हाँसो अनुहारबाटै हराएका कुरा अनि विनादाम्लो पाल्तु जनावरजस्तै मान्छे घरभित्रै बाँधिएका कुरा ।
आफ्नै छुट्टै दुनियाँमा मस्तसँग रमाइरहेका ती अबोध, अन्जान केटाकेटीलाई बाहिरी दुनियाँसँग केको सरोकार ? आखिर केटाकेटीका जात न परे, उनीहरूलाई त बस् रोइदिए पुगिहाल्यो, कराइदिए भइहाल्यो । अझ जिद्धी गर्नु त उनीहरूको नैसर्गिक अधिकार नै भइहाल्यो । तर हामी ठूलाहरूलाई भने कस्तो आपत् ! एक मन सोचेँ, बरु यी केटाकेटीलाई कत्ति सुख छ हगि ? उनीहरूको अबोध बालापन, चञ्चलता र खुसी देखेर कताकता डाह पैदा भएर आयो त्यतिबेला । लाग्यो, बरु कहिलेकाहीँ त केटाकेटी नै बन्न पाएको भए हुनि नि ? तर भनेर कहाँहुन सकिँदोरहेछ र ? सोचेजस्तो सबै कुरा जीवनमा कहाँ पाइँदोरहेछ र ? धेरै समयसम्म समर वाहिरबाट साइकल चलाउँदै काव्यालाई बोलाइरही । काव्या पनि भित्रबाट समर, समर भन्दै जुन कोठाबाट उसलाई देखिन्छ त्यही कोठाका झ्यालतिर कुदिरही । दुवै एकअर्कालाई भेट्ने, पहिलेपहिलेजस्तो पार्कमा धेरै बेरसम्म खेल्ने, आफ्ना खेलौना एकअर्कालाई देखाउने चाह अत्यन्त उत्कट देखिन्थ्यो । सायद त्यसैका लागि दुवै जोडबल गर्दैथिए हामी अभिभावकहरूसँग, आन्दोलन मच्चाइरहेका थिए, आफूले सक्नेजति । बिन्तीभाउ गर्दैथिए हामीसँग रोएर, चिच्याएर, खुट्टा बजारेर । हामी केवल दर्शक बनेर हेरिरह्यौँ धेरै बेरसम्म, ढुङ्गाजस्तो कठोर हृदय बनाएर । ती सब कुरा देखेको नदेखेझैँ गर्नु हाम्रो बाध्यता थियो ।
अलिपछि कसो गरेर हो कुन्नि, समरकी आमा जसो तसो समरको ढिपीलाई साम्य पार्न सफल देखिई । फकाइफुल्याइ गरेर समरलाई माथि आफ्नो अपार्टमेन्टतिर लिएर गई । म भने अवाक् छोरीको ढिपी सुनिरहेँ, धेरैबेर बेखबर बनेर।
पछि बल्ल धेरै प्रयासमा उसलाई सम्झाउन सफल बनेँ । लामो सन्तोषको सास फेरेँ । ठूलै युद्ध जितेजस्तो आभास भयो मनमा। हुनत कति नै ठूलो थियो र उनीहरूको माग ? तर अफसोच ! परिस्थितिको अजङ्गको पर्खाल व्यवधान बनेर उभिएको थियो हामीबीच । समयले निम्छरो प्राणी बनाएको थियो हामीलाई । सानातिना कुराले पनि ठूलै ग्लानि अनुभूत गराउने रहेछ कहिलेकाहीँ जीवनमा भन्नेजस्तो पनि लाग्यो त्यतिखेर।
महामारीले अझ बढी विध्वंश मच्चाइरहेको थियो अमेरिकामा । त्रासको पारो अझै बढेको थियो, दिनहुँ मानवजीवन लासमा परिणत हुने क्रम बढ्दो थियो । टेलिभिजनका दारुण दृश्य र दुखद समचारले मन अझ व्याकुल बनाइरहेको थियो । नेपालतिरबाट आउने फोनको क्रम झनै बढेको थियो । फोनमा आमाहरूका रुवाइका क्रन्दन र बुबाहरूका सान्त्वना भरिएका आवाज सुनिन्थ्यो । कहिल्यै फोन नगर्ने आफन्तहरू पनि फोन गर्थे, महामारी र हाम्रा हालखबर बुझ्दथे, मानौँ हामी बसेको ठाउँमा ठूलै पुच्छ्रेतारा खसेको थियो या भनौँ विनाशकारी बम खसालिएको थियो ।
यस्तो महामारीले सबैलाई आक्रान्त पारेकै वेलामा फेरि अर्कोपल्ट त्यस्तै दिउँसोको एक बजेको हुँदो हो, आमाका अघिपछि फुरफुर गर्दै हिँडेकी समर देखापरी, गाडीको पार्किङ्ग लटनेर । हाम्रो आपार्टमेन्टको अघिल्तिरबाट जादैँ थिई ऊ आमाका पाइला पछ्याउँदै । उसलाई देख्न अत्यासिएका मेरा आँखाहरूले अघाउन्जेल सुटुक्कै हेरेँ उसलाई परैबाट । भन्छन् नि- ‘अगुल्टाले हानेको कुकुर बिजुली देखे चम्किन्छ ।’ त्यसैले पनि होला, यसपालि खासै हल्लीखल्ली पनि गर्न मन लागेन । देखेको नदेखेँझैँ गरिदिएँ । फेरि त्यही कथा, त्यही व्यथा किन दोहोर्याउनुजस्तो लाग्यो मनमा ।
दिन, हप्ता हुँदै समय आफ्नै गतिमा दौडिरहेको थियो। अब त झन्डै तीन महिना भइसकेछ समरलाई नभेटेको पनि । बन्दाबन्दीका दुई महिना त हामीले पनि घरमै थुनिएरै उकुसमुकुमै दिनहरू बितायौँ तर त्यसपछि अलिअलि निस्कन थालेका थियौँ घरबाट । तर यसबीचमा मैले उसलाई कहिल्यै देखिनँ । यसो आँखाहरूले उसलाई खोज्नपुग्थे तर मेरा आँखाहरू निरास बनेर फर्कन्थे । सोच्थेँ कहाँ गए होलान् यी आमाछोरी ? ठ्याम्मै निक्ल्दैनन त बाहिर ? कसरी बिताए होलान् कठिनाइका यी घडीहरू।
एक दिन साँझतिर हो क्यार, म कम्प्युटरमा बसेर एउटा लेख लेख्दैथिएँ, काव्या दगुर्दै आई, म भएतिर । मेराछेउ आएर माया लाग्दो अनुहार पार्दै भनी- ‘ममी, सी, समर गेभ इट टु मी ।’ उतिर मुन्टो फर्काएर हेरेँ, उसको हातमा त्यही खेलौना थियो, जुन चार महिनापहिला समरले उसलाई खुबै मायाले दिएकी थिई । काव्या घरीघरी त्यस खेलौनालाई सुमसुम्याइरहन्थी, खेलाइरहन्थी आफ्नै काखमै राखेर, नघाउञ्जेल्सम्म । अनि घरीघरी त्यो खेलौना मेरो काखमा पनि राखिदिन्थी । त्यो खेलौनासँगको उसको लगाव, आत्मीयता हेर्दा लाग्थ्यो, यसलाई खुबै याद आएजस्तो छ आफ्नी साथीको ।
वास्तवमा भन्ने हो भने काव्यालाई मात्र होइन, मलाई पनि बिछ्ट्टै याद आइरहेको थियो उसको । ऊ थिई नै त्यस्तै, मायालु, सम्मोही । छिट्टै अरूसँग घुलमिल नहुने तर घुलमिल भएपछि निकै झ्याम्मिने स्वभाव निहित थियो उसमा । उसले मलाई मेरो नामले कहिल्यै बोलाइन । हामीलाई अमेरिकनहरूको नाम उच्चारण गर्न गाह्रो भएजस्तै अमेरिकनहरूलाई पनि हाम्रो नाम उच्चारण गर्न साह्रो पर्दोरहेछ भन्ने कुरो घरीघरी प्रमाणित गरिदिन्थी ऊ। जब म बारम्बार उसलाई मेरो नाम सही उच्चारण लगाउँथे, जहिले विष्णु नभनेर कहिले विसु कहिले भिसु भनिदिन्थी । म मरीमरी हाँस्थेँ । सधैँ मलाई ‘काव्याज मम’ भनेर बोलाउँथी ऊ । सु सुरुमा केही अप्ठ्यारो लागे पनि पछिपछि उसको बोलाइमा एक किसिमको मिठास लाग्नथालेको थियो । उसको त्यो बोलाइ नै निकै प्यारो लाग्नथालेको थियो । अझ भनौँ, बानी परिसकेकी थिएँ म उसको बोलाइसँग । सधैँ स्कूल जाने वेलामा बिहान हाम्रा ढोका ढकढक्याउन आइपुग्थी ऊ । बेलुका स्कुलबाट फर्किंदा पनि हाम्रामा नपसी धरै हुन्थेन उसलाई । स्कूलमा मेरै छोरीको कक्षामा पढ्ने भएकाले स्कूल बस पनि दुवैजनाको एउटै थियो । अझ संयोग नै भन्नुपर्छ उनीहरूको त जन्मदिन पनि एकै दिन, २१ डिसेम्बर २०१४। मैले पनि उसकी ममीलाई साथीको रूपमा पाएकी थिएँ । उनीहरूलाई पुर्याउन र लिन जानेक्रममा हामी पनि साथी बनेका थियौँ । एक्ली आमासँग हामीभन्दा माथिको अपार्टमेन्टमा बस्थी ऊ । बाबुको भने बाहिरै जागिर भएकाले अक्कलझुक्कल मात्रै देखापर्यो ।
घरमै थुनिएको पनि आज यत्रो दिन भयो । आखिर कहाँ गइहोली ऊ । अनेक प्रश्नहरूका जत्था सलहसरि आए मानसपटलमा । सोचेँ, साह्रै चकचके पाराकी ऊ, यत्रो समयसम्म कसरी बसी होली कोठाको चौघेराभित्र कैदीजस्तै बनेर । एकदिन उसकी आमासँगको कुराकानीकै क्रममा थाहा भएथ्यो, उसकी आमा पूर्णकालीन लेखक हो र कम्प्युटरमै बसेर ऊ घन्टौँसम्म लेख्नसक्छे । यदि त्यसो हो भने आमाले लेख्नबस्दा उसले के गर्दी हो?साथीहरू, दिदीदाइसँग चकचक गरेर खेल्नुपर्ने उमेरकी त्यस बालिकालाई घरमै एक्लै थुनिएर बस्नुपर्दा कस्तो मानसिक पीडा भयो होला ? ऊ कति छटपटी, निरासामा दिनहरू व्यतीत गर्दै होली । अनायासै उप्रति अगाध माया पलाएर आयो ।
काव्या आफ्नै दिदीसँग दिन–रात झगडा गर्थी। कहिलेकाहीँ दिदीबहिनीको झगडाको मुद्दा मिलाउन हामी श्रीमान्–श्रीमतीलाई हम्मेहम्मे पथ्र्याे । तर पनि सोच्थेँ काव्या त जे भए नि दिदीसँग भुलेकी छ, खेलेकी छ । तर समर त कोठामा एक्लै छ । कोसँग खेलोस् ऊ ? कोसँग बात मारोस् ? कोसँग लडाइँ-झगडा गरोस् ? लाग्यो सायद अब त उसले मीठो गरेर बात मार्न पो बिर्सी सकी कि ? पहिलेजस्तै हामीसँग झ्याम्मिन्छे होला त ऊ ? पहिलेजस्तै नजान नजानी हामीले नेपालीमा बोलेको नक्कल गर्न खोज्ली त उसले ? अनेकन अनुत्तरित प्रश्नहरूले डेरा जमाए मनमा । समरजस्ता लाखौँ बालबालिकाको हालत के भयो होला, यो महामारीको समयमा । कहाली लागेर आयो मनमा । त्यसमाथि स्कुलको त के कुरो गर्नु र ? कुनै अत्तोपत्तो नै थिएन कहिले खुल्ने ?जतिजति उसको अनुहार सम्झियो झन्झन् माया लागेर आउँथ्यो उसको । तर म पनि विवश थिएँ महामारीसँग । आखिर मैले पनि गर्न त के नै सक्थेँ र परिस्थितिको दास बन्नुबाहेक।
अलि समयपछिको कुरा हो, घरभित्रको फोहोर फाल्न भनेर घरबाहिर गार्बेज कन्टेनरनिर गएकी थिएँ म, टुप्लुक एक्लै देखापरी समरकी आमा पनि त्यहीँ । धेरै दिनपछि देखेकाले होला अलि आत्तिएर हडबढाउँदै एकैचोटि धेरै प्रश्नहरू गर्न पुगेछु उसलाई- ‘इज देयर एभ्री थिङ्ग ओके ? ‘हाउ इस समर?’ यत्रो दिनसम्म नदेखिएको विषयमा पनि जिज्ञासा राखेँ । उसले सबै कुरा ठीकै भएको तर बन्दाबन्दीमा घर बस्नुपर्दा समर निकै आत्तिएकी कुरा बताई । कुरा सुन्दा थोरै सन्तुष्टि छायो मनमा तर एकप्रकारको बेचैनीले भने लखेटिरह्यो नजानिँदो पारामा ।
सायद त्यसको पर्सिपल्टहुनुपर्छ, हामी छोरीहरूलाई लिएर साँझातिर यसो डुलाउन घरबाहिर निस्किएका थियौँ । हाम्रै बिल्डिङ्को अगाडि अचानक देखापरी समर, आफ्नी आमासँगै । हाम्रो भेट नभएको पनि आज चार महिना पुगिसकेको रहेछ । निकै दुब्ली देखिन्थी ऊ । अनुहार मलिन थियो, केही नपुगेको, केही हराएको, चञ्चलता खोसिएकोजस्तो फिक्का। अलि डराएको स्वरमा बोल्न खोज्दैथिई ऊ । एक मनले त सोच्यो बिर्सिछ कि क्या हो यसले हामीलाई ? तर होइन रहेछ । एकैछिनमा सदाभन्दा अलि फरक डराएको भावमा फिस्स हाँसी ऊ, तिनै सेता दाँत देखाएर । जब उसका आँखाले काव्यालाई देख्यो, झ्याम्मै गएर अँगालो हाल्न दगुर्दैथिई ऊ । तर उत्तिनैखेर उसकी आमाले नजिक नजाऊ भनेर सचेत गराई । आमाको कडा निर्देशनसँगै टक्क अडिई ऊ । लाग्थ्यो समयको सुई चल्दाचल्दै अनायासै टक्क अडिएको थियो ।
उसले हातमा सेतो रङको डली बोकेकी थिई । काव्यालाई त्यो डली लिन आग्रह गरी । तर त्यसअघि पर्खाल बनेर उभिएँ म आफू हदैसम्मको निष्ठुर बनेर त्यो नलिनका लागि काव्यालाई उर्दी जारी गरेँ । उनीहरू हामीभन्दा पर भागेर खेल्न चाहन्थेँ । कसोकसो हाम्रा आँखा छलेर अलि पर जाँदै पनि थिए । मैले छोरीलाई आफूनजिकै बोलाएर पाखुरामा च्याप्प समाएँ, उसैगरी समरकी आमाले पनि समरको पाखुरा कसिलो गरी समाती । हामी कुनै हालतमा पनि उनीहरूलाई सँगै खेल्न नदिने पक्षमा थियौँ । समयले नै क्रूर बनाएको थियो हामीलाई । ढुङ्गाजस्तै कठोर बन्दै थियौँ हामी । उनीहरू साथी- साथी आपसमा मुखामुख गर्थे अनि हाम्रा अनुहारमा पालैपालो नजर घुमाउँथे । हामी दुवैतिरका अभिभावकलाई पनि एकप्रकारको धर्मसङ्कट पर्यो । जति सक्दो चाँडो त्यहाँबाट भाग्नु नै बुद्धिमानी सम्झियौँ । अनि कुराकानीलाई छोट्याएर छिटोछिटो आ- आफ्नो बाटोतर्फ लागियो । तर ती दुई बालसखा भने एकले अर्कालाई पछि फर्कीफर्की हेरिरहेका थिए आँखाले नभ्याउञ्जेलसम्म, पर परसम्म ।


मेरिल्यान्ड, अमेरिका
pagenibishnu@gmail.com