नेपाली कोरोना, अमेरिकी कोभिड - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

नेपाली कोरोना, अमेरिकी कोभिड

शरद निरोला

शरद निरोला

कुरो एउटै हो : कोरोना र कोभिड- १९ एउटै रोगका दुई भिन्न नाम हुन् । नेपालमा यो रोग कोरोना नामले बढ़ी प्रसिद्ध छ भने अमेरिकामा कोभिड- १९ नामले । कोरोनाको कहर विश्वव्यापी भएको क्रममा नेपाल पनि अछुतो रहेन । रहनसक्ने अवस्था पनि भएन । अन्तर्राष्ट्रिय आवागमनको प्रक्रियाले गर्दा कोरोनाका भुराहरू अत्यन्त छोटो समयमै नेपालभित्र छिरे । आज नेपालमा यो आलेख लेख्दासम्म कोरोनाका भुराहरूले कुल एक सय २६ जनालाई मर्याङ्गमर्याङ्ग चबाइसकेका छन् भने २९ हजार छ सय ४५ जनालाई गाँजिसकेका छन् । यी कोरोनाका भुराहरूले आज नेपालका कुनाकन्दरासम्म पसेर मानिसहरूलाई डस्न थालेको क्रम दिनानुदिन बढ्दो छ ।
म यो आलेख आज संसारकै सबैभन्दा प्रबल कोरोना हटस्पट भनेर चिनिने अमेरिकामा बसेर लेख्दैछु । यहाँको कुरा गरेर न साध्ये, न नुहाएर उपाध्ये ! यो लेख लेख्दासम्म अमेरिकामा एक लाख ७४ हजार मानिसहरू सोत्तर भएका छन् भने ५० लाख ५९ हजार व्यक्तिहरू यस रोगसम्बन्धी समस्याबाट ग्रसित छन् । विशेषज्ञहरूका अनुसार आगामी दुई महिनाभित्रमा कोभिड- १९ का कारण गल्र्यामगुर्लुम हुनेहरूको सङ्ख्या २ लाख पुग्नेछ । धेरैले यो भयावह स्थिति उत्पन्न हुनाका कारणहरूमध्ये एक ट्रम्प प्रशासनको उदासीन प्रवृत्तिलाई पनि मान्दछन् । थालनीमा जब यो रोग एउटा दुइटा गरेर अमेरिका भित्रिन लागेको थियो, त्यसबेला राष्ट्रपति ट्रम्पले यो चिनियाँहरूको रोग हो र यो चिनियाँहरूलाई नै मात्र लाग्छ भन्ने खालको सोचाइ व्यक्त गरेका थिए र यसको रोकथामका लागि कुनै सबल कार्यक्रम प्रस्तुत गर्नसकेका थिएनन् । यही रनभुल्लमा अकस्मात सबैभन्दा पहिले कोरोनाले न्यूयोर्कजस्तो अन्तर्राष्ट्रिय नगरमा आफ्नो पन्जा गाड्यो र त्यहाँ उत्पातै मच्चायो । त्यसपछि त आवागमनको कारण एकपछि अर्को गर्दै सबै पचासै राज्यहरूमा यस महारोगका भुराहरू फैलिए।
नेपालमा यस रोगका कारण मर्नेहरूको सङ्ख्या एक सय २६ अनि अमेरिकामा चाहिँ एक लाख ७४ हजार ! स्थिति त ठीक यसको बिब्ल्याँटो हुनुपर्ने होइन ? नेपाल एक विकासोन्मुख गरिब राष्ट्र । अमेरिका विश्वकै सबैभन्दा शक्तिशाली र सर्वसुविधा–सम्पन्न देश। यो कसरी सम्भव छ ? नेपालको जनसङ्ख्या तीन करोड, अमेरिकाको ३० करोड ५० लाख । तर यहाँ जनसङ्ख्याले गर्दा मात्र कोरोनाको फैलावट व्यापक भएको होइन । उता नेपालमा हामी नेपालीहरू आफ्ना पृष्ठभागमा दनक परेपछि आँखा चिम्लेर नियम-कानुनको पालन गर्छौं तर यहाँ अमेरिकामा चाहिँ जनतालाई पछाडिबाट लात्तेभकुण्डो हान्नसक्ने ह्याउ सरकारमा छैन । यहाँका जनता आफ्नो संविधानप्रदत्त अधिकारप्रति अत्यन्तै सजग छन् र जहाँ आफ्नो वैयक्तिक स्वतन्त्रतामाथि आँच आएको देख्छन्, त्यहाँ उनीहरू अदालतमार्फत् डटेर सामना गर्छन् ।
तर यही वैयक्तिक स्वतन्त्रताको उपभोग नै आज कोरोनाका काँडाहरू अतिरञ्जितरूपमा फैलाउन प्रमुख कारक तत्त्व बनेको छ । आमअमेरिकीहरू, विशेषतः युवाहरूको जमात, मा के विश्वास देखिन्छ भने कोरोना भनेको प्रत्येक वर्ष आउने फ्लु रोगजस्तै हो र यसले खास गरी पाका उमेरका व्यक्तिहरूलाई मात्र समात्छ । यही विश्वास वा ‘डिनायल’ को भावनाले गर्दा परहेज सम्बन्धी हजार चेतावनीका बावजुद उनीहरू सैकड़ौँको सङ्ख्यामा नाइटक्लब, समुद्रीतट, रेस्टुरेन्ट आदिजस्ता भीडभाड हुने स्थानमा गएर बिन्दास तरिकाले मोजमस्ती गर्छन् र जसको फलस्वरूप कोभिड- १९ को सङ्क्रमण कहालीलाग्दो तरिकाले फैलिरहेको छ । यस्ता जमघटमा सामाजिक दूरी त पटक्कै हुँदैहुँदैन त्यसमाथि कसैले पनि मास्कको प्रयोग गरेको देखिँदैन । उनीहरूको भनाइ छ- मास्क लगाउने वा नलगाउने भन्ने निर्णय हाम्रो व्यक्तिगत मामला हो । सरकारले यसमा दखल दिनु असंवैधानिक कार्य हो । यस्तै भावना राखी उनीहरू प्रदर्शन गर्ने, शान्तिसुरक्षाकर्मीहरूसँग मुठभेड गर्ने आदिजस्ता कार्य गर्दछन् । यही लापरवाहीले गर्दा आज अमेरिकामा कोरोना भाइरस फाड्दोल ठोकेर दगुरिरहेको छ । यो अतिरञ्जना कति तीब्र हुनपुग्यो भने अन्त्ततः राज्य सरकारले ती सबै स्थानहरू फेरि बन्द गर्न बाध्य हुनुपर्यो ।
हुनत नेपालमा पनि यस्तो छाड़ा जमात नभएको होइन । मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेहरू हजारौँको सङ्ख्यामा छन् तर हामी पर्यौं थेत्तरो जात ! खानुसम्म गोदाइको भात खाइसकेपछि मात्र डकार्ने हाम्रो बानी ! अहिले सरकारले दण्डजरिवाना गर्न थालेपछि बल्ल अलिक चेत आउन थालेको कुरा समाचारमा पढ्न पाइन्छ । त्यसको तुलनामा यहाँ अमेरिकामा त्यस्तो खास दण्डसजाय केही छैन। यहाँ यो निर्णय व्यक्तिको स्वविवेकमाथि छोडि़एको छ । यद्यपि वृहत्तर जनसमुदाय नियम-कानुनको पालना गर्छन्, एउटा स्यानो जमात भने यस्ता नियन्त्रणकारी कदमहरूको विरोध गर्दछन् । यस्तो जमातमा खास गरी युवाहरू नै बढ़ी देखिन्छन् । यही स्यानो जमातले नै कोरोनाको प्रकोप बढाउनमा मद्धत गरिरहेको छ।
वास्तवमा भन्ने हो भने कोरोना नियन्त्रणसम्बन्धी सरकारी प्रयास अमेरिकामाभन्दा नेपालमा कठोर छ । नेपालमा पूर्ण लकडाउन, निषेधाज्ञा आदि कठोर व्यवस्थाहरू एकपछि अर्को गर्दै लागू भइरहेका छन् र वृहत्तर जनसमुदायले तिनको पालना पनि गर्दै आइरहेका छन् । तर अमेरिकामा सङ्घीय सरकारका सबै आदेशलाई राज्य सरकारले मान्नैपर्छ भन्ने संवैधानिक बाध्यता छैन । त्यसैले कतिपय राज्य सरकारहरू यस्ता केन्द्रीय आदेशहरूको साटो आफ्नै नीति तथा कार्यक्रमहरू लागू गर्दछन् । यही भएर जर्जिया, फ्लोरिडा, नर्थ क्यारोलाइना, क्यालिफोर्निया, एरिजोना आदि राज्यहरूले आ–आफ्ना क्षेत्रहरूमा होटेल–रेस्टुरेन्ट, बार, समुद्रीतट, खेलकुद तथा बजार खुला गरिदिए जबकि देशका अधिकांश राज्यहरूमा यसको विपरीत अवस्था थियो । कहाँसम्म भने कतैकतै त स्कूल, कलेज अनि डे केयर सेन्टरहरू पनि खुले । परिणामस्वरूप सङ्क्रमण झनै चरम सीमामा पुग्यो र बाध्य भएर ती खुला गरिएका स्थानहरू फेरि बन्द गर्नुपर्यो ।
नेपालमा लकडाउन र निषेधाज्ञा पालन नगर्ने व्यक्तिहरूलाई समात्दै जरिवाना वा कैद गरेजस्तै यहाँ गरिँदैन । आफ्नो स्वविवेकको प्रयोग गर्नुपर्छ भन्ने अपेक्षा राखिन्छ । नेपालको तुलनामा अमेरिकाको युवा जमात बढी अविवेकी र गैरजिम्मेवार लाग्दछन् । हामी अमेरिकन हौँ, हामी हट्टाकट्टा छौँ, हाम्रो इम्युन सिस्टम बलियो छ, हामीलाई केही हुँदैन, यो त बूढाखाडालाई मात्र हुन्छ भन्ने सोचाइ उनीहरूमा देखिन्छ। यसै कारणले यहाँको स्थिति भयावह छ । नेपालमा भारत तथा अन्य मुलुकबाट आउने नेपालीहरूले सङ्क्रमण बढाइरहेका छन् भने अमेरिकामा यहीँकै युवा जमातले यसलाई चम्काइरहेका छन्।


(हाल मेरिल्यान्ड, अमेरिका निवासी निरौला स्थापित आख्यानकार, पत्रकार हुन् )
snirola7@gmail.com