देवकुमार - Aksharang
  • २०७७ कातिर्क १३ बिहीबार

देवकुमार

माधव घिमिरे

माधव घिमिरे

सबै केटाकेटी सुकुमार हुन्छन् किनभने तिनीहरू भर्खरै द्यौताको घरबाट आएका देवकुमार हुन् । धर्तीमा आएपछि नअसलसँग तीनबाजी भेट हुन्छ । नअसलले केटाकेटीहरूलाई भन्छन्– तिमीहरू पनि मजस्तो बन । नअसल बन्न कति मजा हुन्छ ! तर नअसल बन्न खोज्यो कि, केटाकटीको मनमा नरमाइलो लाग्छ ।
पैलोपालि । वल्लो घर र पल्लो घरका केटाकेटी आँगनमा खेलिरहेका हुन्छन् । एक्कासि दुवै घरका आमाहरू बाझ्न थाल्छन् र आफ्नाआफ्ना छोराछोरीलाई खेल्दाखेल्दै छुट्ट्याएर लैजान्छन् । केटाकेटीलाई नरमाइलो लाग्छ । एकैछिनपछि घरबाट भाग्छन् र घरको पछाडि खेल्न थाल्छन् ।
दोस्रोपालि । घरमा नयाँ मानिस आउँछ । केटाकेटीका बाबुआमा त्यो नयाँ मानिसको प्रशंसा गर्छन् । केटाकेटीलाई त्यो मानिस असल रहेछ भन्ने लाग्छ । केहीबेरपछि त्यो मानिस फर्केर जान्छ । अनि केटाकेटीका बाबुआमा त्यसको कुरा काट्न थाल्छन् । एकैछिनअघि केटाकेटीलाई त्यो मान्छे जाती लागेको थियो, एकैछिनपछि त्यही मान्छे नजाती भएको सुन्दा तिनीहरूलाई नरमाइलो लाग्छ ।
तेस्रोपालि । केटाकेटीहरू पसलबाट किनमेल गरेर फर्कन्छन् । घरमा आएर हिसाव गर्दा के थाह हुन्छ भने– पसलेले झुक्किएर बढी पैसा दिएछ । केटाकेटीहरू त्यो बढी पैसा फर्काउन खोज्छन् । अनि बाबुआमा पसलेले हामीलाई सधैँ ठगेको थियो, आज ऊ आफैँ ठगियो भनेर रमाउँछन् । तर केटाकेटीलाई भने, पसले रोइरहेको होला भनेर औधी नै नरमाइलो लाग्छ ।
…………………………………………………………………
(राष्ट्रकवि माधव घिमिरेको निबन्ध–सँगालो ‘चारु–चर्चा’ बाट साभार)