घर–घरमा कला: सम्भव छैन र ! - Aksharang
  • २०७७ फागुन १७ सोमबार

घर–घरमा कला: सम्भव छैन र !

अशेष मल्ल

अशेष मल्ल

तीसको अन्तिम दशकतिर सडकनाटक लिएर हामी उपत्यकाका सडक, चोकदेखि मुलुकका गाउँ, सहर र बस्ती–बस्तीका चउर, खेत खलिहान, चौतारी, सडक जताततै पुगिसकेका थियौँ । सडकनाटक शब्द नै नयाँ थियो । क्रमशः जनजनमा पुग्न थालिसकेको थियो । राजधानीमा सीमित नाट्य मञ्चन यसरी व्यापकरूपमा देशैभरि पुगेको इतिहासमै पहिलोपटक होला । हामीलाई लाग्थ्यो नाटकको व्याप्तिका लागि एउटा आन्दोलन, एउटा अभियानको आवश्यकता छ  । राजधानीका केही हलमा सीमित नाट्य अभियानलाई व्यापकरूपमा देशैभरि पुर्याउनुपर्छ । नत्र केही दर्शकहरूलाई देखाएर केही पत्रपत्रिकामा तिनको समाचार प्रकाशित गर्नुमै सीमित हुनेछ नेपाली नाटक । हामीलाई त्यस्तै लाग्थ्यो । हामी रङ्गकर्मको व्याप्ति चाहन्छौँ भने तिनको प्रयास जबसम्म हामी रङ्गकर्मी स्वयम् आफैँ लाग्दैनौँ तबसम्म सम्भव छैन  । सरकारले गरिदेला वा अरू कसैले गरिदेला अनि उन्नति होला हाम्रो रङ्गकर्म, यस्ता मान्यतामा हामीलाई पटक्कै विश्वाश थिएन । आफ्नो विधाको उन्नतिमा सम्बन्धित सर्जक स्वयम् नलाग्ने हो भने सम्भव छैन । हाम्रो यही मान्यताले हामी नाटक लिएर देशैभरि पुग्यौँ । त्यसको परिणाम आज सबैसामु छ ।
यो प्रसङ्ग किन उठाउँदैछु भने जतिवेला हाम्रो यो अभियानको प्रारम्भिक चरणमै थियो, त्यो समय पञ्चायती राजको उत्कर्षको समय थियो । कला, साहित्य, रङ्गकर्म आदि आ–आफ्नै ढङ्गले विकसित हुँदैथिए । काठमाडौँ आजजस्तो भीडभाडका सहर थिएन । साँच्चि भन्ने हो भने सबै कवि, कलाकार, रङ्ककर्मीहरूबीच एकअर्कामा राम्रो सम्बन्ध थियो । सङ्ख्यामा थोरै भएका कारण पनि हुनसक्छ एकले अर्कालाई नचिन्ने भन्ने थिँदै थिएन । त्यो वेला चित्रकलाका विधामा  ।
सिर्जना आर्ट ग्यालरी विश्वज्योति हलछेउमा थियो । प्रायः साँझ कलाकारहरूको भेट गर्ने उपयुक्त थलो थियो त्यो । चित्रकलाका सर्जकहरू मात्र होइन गायक, कवि, रङ्गकर्मी आदि प्रायः सबै प्रतिष्ठितदेखि नयाँ कलाकर्मीहरू समेतको भेट गर्ने थलो बनेको थियो । भित्तामा टाँगिएका लोभलाग्दा चित्रकलाहरू अमूर्तदेखि यथार्थवादीसम्मले नेपाली कलाको समकालीन प्रवृतिलाई परिचय दिइरहेको पाइन्थ्यो । तर त्यहाँ प्रदर्शनीका कला अवलोकन गर्ने दर्शकको उपस्थिति भने ज्यादै न्यून । मलाई लागिरहन्थ्यो यति राम्रा कला हेर्न, किन्न र बहस गर्न किन दर्शकहरू आउँदैनन् ? कलाकार आफैँ चित्र सिर्जना गर्ने, आफैँ हेर्ने अनि आफै दङ्ग पर्ने । कदाचित बिक्री भइहाल्यो भने कलाकारका परिचित वा कसैको सोर्सले ।
एकातिर हामीले मञ्चन गर्ने नाटकमा दर्शकको ओइरोलाग्ने स्थिति अनि अर्कातिर कला प्रदर्शनीमा भने किन दर्शक आउँदैनन् । मभित्र अनेक प्रश्नहरूको द्वन्द्व चलिरहन्थ्यो ।
एक दिन कवि मोहन कोइरालाले भनेको सम्झन्छु–‘खै मैले त केही बुझिनँ ।’ उनको सङ्केत अमूर्त कलातिर थियो । मैले झट्ट भनिहालेँ–‘दाइ, तपाईंलाई पनि त मानिसहरू आरोप लगाउँछन् नि मोहन कोइरालाको कविता बुझिँदैन भनेर । आफू भने अमूर्त कविता लेख्ने अनि अमूर्त कला बुझिँदैन भन्ने ?’ वास्तवमा यो एउटा निकै बहसयोग्य विषय हुनसक्थ्यो । तर यस्ताबहस नेपाली कला र साहित्यबीच कहिल्यै चलेन । एउटा वरिष्ठ कवि कला बुझ्दिनँ भन्छ भने साधारण मानिसको प्रतिक्रिया के होला ! हुनत यो स्थिति अहिले पनि अर्थात् झन्डै ४०–४५ वर्षपछि पनि ज्यूँका त्यूँ छ । जेहोस् त्यो वेला दर्शकको उपस्थिति न्यून हुनुको कारण यो नबुझिने प्रसङ्ग पनि एउटा कारक तत्त्व भने अवश्य थियो । अर्काे कारक भनेको हामी नाट्यकर्मीहरू जसरी दर्शकसामु पुगेर नाटकलाई जनजनमा पुर्याउने जुन सशरीर प्रयत्न गरिरहेका थियौँ, त्यस्तो स्थिति कला विधामा हुन नसकेर त होइन ? मेरो मनमा यस्ता प्रश्नहरू उठिरहन्थे । हुन त कला मेरो विधा होइन । तथापि मलाई लाग्थ्यो– कला,साहित्यका सबै विधा एउटै हुन् । सबै सिर्जनाकै विधा हुन् । त्यही वेला मलाई लागिरहन्थ्यो हरेक सर्जक चाहे साहित्य, कला जुनसुकै विधासँग संलग्न किन नहोस् एकअर्काका कलासाधनाको सम्मान गर्नुपर्छ । तर स्थिति ठीक उल्टो थियो । एउटा चित्रकार कहिल्यै कविता गोष्ठी नजाने । एउटा कवि कहिल्यै कला प्रदर्शनी नजाने, एउटा गायक नाटक हेर्न नजाने, नाट्यकलाकार नृत्य हेर्न नजाने । अर्थात् आफ्नो विधाबाहेक अन्य विधाको चासो नै नराख्ने प्रवृत्ति थियो । आज पनि स्थिति सुध्रिएको देखिँदैन ।
जे होस् त्यो वेलाको प्रसङ्गका सन्दर्भमा कुरा गर्ने हो भने कलाको स्थिति लगभग त्यस्तै थियो । प्रसङ्ग नेपाली कलाको दर्शक किन न्यून ? मेरो मन मस्तिष्कमा रातोदिन उठिरहने प्रश्न थियो यो । लाग्थ्यो त्यति राम्रा, सुन्दर र उत्कृष्ट कलाहरू त हरेक घरका भित्ताभित्तामा टाङ्नुपर्ने । करोडौँ खर्च गरेर बनाएको घरको भित्तामा केही हजार खर्च गरेर किन कला टाङ्न सक्दैन । यो कसको कमजोरी हो ? के यस विषयमा चर्चा र बहस हुनपर्दैन ? यही कुरा मैले त्यो ग्यालरीमा भेटघाटका क्रममा पटकपटक उठाउँथेँ । तर मैले निराश हुनुपथ्र्यो । जब म भन्थेँ– हाम्रो नाटकझैँ तपाईंहरूको कलाको व्यापकताका लागि तपाईंहरू लाग्नु पर्दैन ? जवाफमा कलाकारहरू भन्थे–‘हामी त्यति सस्तो बन्दैनौँ । कलाको आफ्नै अस्तित्व हुन्छ, सस्तो लोकप्रियता चाहिएन हामीलाई ।’ उनीहरू गर्व साथ भन्थे– ‘हाम्रा कला युरोप, अमेरिकादेखि एसियाका कैयौँ मुलुकका प्रतिष्ठित प्रदर्शनीमा पुगेका छन् ।’ यस्तो जवाफले मलाई ननिको लाग्थ्यो । यस्को अर्थ हाम्रा नाटक गाउँगाउँ, बस्तीबस्ती पुग्नु भनेको के सस्तो लोकप्रियता हो । कलाको तुलनामा हाम्रोे नाटकको अस्तित्व कम हो त ?
आज झन्डै ४५ वर्षपछि फर्केर हेर्छु स्थिति त्यस्तै छ । नेपाली कला खोई त हर नेपालीका घरघर पुग्न सकेको ? काठमाडौँ र अन्य केही सहरकै कुरा गर्ने हो भने करोड माथिका हजारौँ भवन बनेका छन्, तर २०–२५ हजारका कला कुनै घरको भित्तामा टाँगिएको देखिदैन । ती भवन मालिकहरूलाई दोष मात्र दिएर पन्छिन मिल्दैन । वास्तवमा आफ्नो सुन्दर घरमा कुनै सुन्दर समकालीन वा कुनै परम्परागत कला राख्नुपर्छ भन्ने चेतना कतिमा छ त ? घरको सुन्दरता कलाले दिन्छ भन्ने चेतना कतिलाई छ, यो गम्भीर चिन्तन र बहसको विषय हो, तर हामी कलाकर्मीले यसतर्फ ध्यान दिन कहिल्यै चासो देखाएनौँ । आफ्ना सम्पर्कका केही उद्योगपतिले केही थान कला किनेर लगेकै भरमा मख्ख परेर के समग्र नेपाली कलाको उत्थान हुन्छ र ! हो, तुलनात्मकरूपमा पहिलेका तुलनामा कलाको बिक्री बढेको छ । तर यहाँ मैले उठाउन खाजेको प्रसङ्ग केहो भने एक दुई कलाकारका कलाको बिक्री हुनु र समग्र कलाप्रति जनचासो हुनु अलग–अलग कुरा हुन् । कलाकार एवम् कलासमीक्षक मुकेश मल्लको विचारमा कलाप्रति यसरी व्याप्ति नहुनुमा शिक्षामा कला विषय नराखिनु हो । उनी भन्छन्– ‘भानुभक्त, देवकोटा वा कुनै पनि कवि चर्चित कवि जनमानसमा लोकप्रिय हुनुको कारण यिनका बारे प्राथमिक कक्षादेखि उच्च शिक्षासम्म पढाइन्छ । कलाका विषय न स्कुलमा पढाइन्छ, न कला विषयकै उच्च शिक्षामा । अचम्म त के छ भने कला विषय पढ्ने विद्यार्थीहरूलाई नै नेपाली अग्रज कलाकारहरूका नामसमेत थाहा हुन्न । कारण उनीहरूले विदेशीकलाकारका बारे त कक्षामा पढ्छन् तर नेपाली कलाका विषय पाठ्यक्रममा नै छैन । अनि कुनै कलाकार यस विषयमा चर्चा, गुनासोपनि गर्दैनन् ।
एक जना अनुज कलाकार आफ्नै अग्रज कलकारका बारेमा अनभिज्ञ हुन्छ भने सर्वसाधारण जनतालाई कला र कलाकारका बारेमा जानकारी नहुनुमा के अचम्म भयो र ! हामीमा जे–जति कमी–कमजोरी छन् ती सबैको दोष केवल सरकारलाई दिन्छौँ र आफू पन्छिन्छौँ । तर आफ्नो विधाको कमजोरी होस् वा उन्नतिका प्रसङ्गमा होस् स्वयम् कलाकर्मी आफैँ अग्रसर नभएसम्म सम्भव छैन भन्ने तथ्यबोध हुनु जरुरी छ । केही कलाकारहरू आफ्ना व्यक्तिगत प्रयासमा अग्रसर छन् । तर यो पर्याप्त छैन । मूल प्रश्न भनेको जबसम्म मुलुक भित्रै व्यापकरूपमा जनजनमा नेपाली कलाको लोकप्रियता बढ्न सक्दैन, तबसम्म हामीले गौरव मान्ने ठाउँ रहने छैन ।फ्रान्सेलीहरू पिकासो पाउनुमा गौरव गर्छन् । त्यस्तै हामीले उत्तम नेपाली पाएकोमा गौरव किन नगर्ने !
कलाको विशेष अस्तित्त्व हुन्छ, सस्तो लोकप्रियता चाहिँदैन भन्नुजत्तिको मूर्खता अरू के होला र ! त्यसो भन्नेहरू केही धनाढ्यहरूका घरघर गएर आफ्नो कला किनिदिन किन अनुनय विनय गर्ने ? प्रश्न– त्यस्ता हातको औँलामा गन्न सकिनेहरू कतिले कला किनेर लगे भन्ने होइन, हर घरघरमा नेपाली कला टाङिने लहर कहिले आऊला भन्ने हो ।
कलाकार, कला समीक्षक तथा कला–प्रतिष्ठानका सदस्य रमेश खनाल भन्छन्– नेपाली कला पाँच छ हजारदेखि दसौँ लाखसम्मका पनि छन् । नेपाली मध्यम वर्गका मानिसहरूले किन्नसक्ने मूल्यका कला छ्यापछ्याप्ती छन् । खनालले भने जस्तो कम मूल्यका कला पाइन्छन् भन्ने कतिलाई थाहा छ ? यहाँनेर के बुझ्नु जरुरी छ भने कम मूल्य राख्दैमा बिक्री हुन्छ भन्ने होइन । कलाको अस्तित्व बुझ्नेहरूका लागि मूल्यले त्यति अर्थ राख्दैन ।
अचेल एउटा सामान्य घरमा परिवारका हरेक सदस्यका हातहातमा हजारौँ मूल्यका मोबाइल हुनेगर्छ । एउटा मोबाइल किन्ने पैसाले एउटा कला किन्न सकिन्छ । मोबाइल जति आवश्यक छ, कला पनि त्यतिकै अनिवार्य छ भन्ने चेतना आउने स्थिति कहिले आउँछ ! यो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । हरेकले मेरो घरको एउटा भित्ता कलाका लागि हो भनेर छुट्याउने दिन आउनुपर्छ, कलाप्रतिको चासो हर व्यक्तिमा व्यापकरूपमा आउने स्थितिको सिर्जना हुनैपर्छ । यसका लागि कलाकार स्वयंको प्रयत्नमा व्यापक अभियान अब सुरु हुनैपर्छ । केहीलाई लाग्न सक्छ कला–सर्जकको काम सिर्जना गर्नु हो, प्रचारको काम हाम्रो होइन । सही हो सर्जकको काम सिर्जना गर्ने हो तर दुर्भाग्य नै भन्नुपर्छ, हाम्रो सन्दर्भमा यसो भनेर सर्जकले बसिदिँदा आफ्नो विधाको उन्नतिमा बाधा पुग्दोरहेछ भन्ने त हाम्रै उदाहरण पर्याप्त छ । युरोपको समृद्ध इतिहाससँग तुलना गर्न मिल्दैन । जहाँ पचासौँ वर्षदेखि राजनैतिक अस्थिरता छ । राजनैतिक आन्दोलनले थिलथिलो मुलुक, वर्षैपिच्छे बदलिरहने सरकार आदिका सन्दर्भमा कला–साहित्यको उन्नतिमा सरकार वा अरू कसैले गरिदेला म केवल सिर्जना गरेर बस्छु भन्ने हो भने व्यक्तिको उन्नति त होला तर समग्र कला विधाको स्थिति कसरी उँभो लाग्ला र ! गत वर्ष हल्यान्ड जाँदा रेम्ब्रान्टको कला सङ्ग्रहालय जाने अवसर मिलेको थियो । दर्शकको भीड देख्दा छक्कै परेको थिएँ । पेरिसको लुब्रमा दुई दिनपछि मात्र टिकट पायौँ । दर्शकको लाइन यति लामो थियो, के भन्ने ! त्यहाँको समृद्ध इतिहासमा सयौँ वर्षको सङ्घर्ष छ । हामीसँग तुलना हुन सक्दैन । बल्ल त राजनैतिक स्थिरतातिर मुलुक जान लागेको छ । हाम्रै आन्दोलन र सङ्घर्षले कला–प्रतिष्ठानको स्थापना भएको छ । कतिपय कमी कमी–कमजोरी हुँदाहुँदै पनि कमसेकम प्रतिष्ठानको स्थापना भएको त छ । भविष्य अँध्यारो छैन । तथापि सम्बन्धित विधाका कलाकार स्वयम्, कलाका सङ्घ–संस्था, कला–समूहदेखि कला प्रज्ञा–प्रतिष्ठानसमेत य प्रति सजग हुनु जरुरी छ । एउटा अभियानको थालनी हुनैपर्छ । त्यो अभियान भनेको घरघरमा कला ।
यसका लागि सबैभन्दा ठूलो योगदान भनेको कलाकारहरूकै हो ।
……………………………………..
(मल्ल प्रसिद्ध नाट्यकर्मी हुन् । झन्डै पाँच दशकदेखि नेपाली रङ्गमञ्चमा सक्रिय मल्ल सर्वनाम नाट्य समूहका संस्थापक लेखक–निर्देशक हुन)