संक्षेपमा राष्ट्रकवि : अहिलेसम्म - Aksharang
  • २०७७ असोज ३ शनिवार

संक्षेपमा राष्ट्रकवि : अहिलेसम्म

रमण घिमिरे

‘निकै बेर अभ्यास गरेपछि मात्र मेरो आवाज खुल्छ, प्रस्ट हुन्छ । उमेर र घाँटीको खराबीका कारण यस्तो भएको हो । उच्च आवाजमा बोलूँ भने त प्रस्ट हुन्छ तर यसो गर्दा रिसाएर गाली गरे जस्तो हुन्छ । म त्यो गर्दिनँ ।’
त्यस बिहान राष्ट्रकवि माधव घिमिरे आफ्नो लयमा थिए । कुनै झिँजो नमारी बोलिरहे । उनले पहिलापहिला जस्तो समयको सीमा पनि तोकेनन् । मैले जे सोधेँ, त्यसको उत्तर फटाफट दिइरहे । यसरी मैले त्यस दिन उनको जीवनवृत्तिलाई संक्षेपमा रेकर्ड गर्ने अवर पाएँ । यो करिब तीन वर्षअघिको कुरा हो । त्यसअघि र त्यसपछि पनि उनीसँग पटकपटक कुरा भइरहे । विनाप्रयोजन खालि भेट्न मात्र जाँजा पनि म उनीसँग केही न केही नयाँ प्रसङ्गमा कुरा गरिहाल्थे । र सोधेका कुनै पनि विषयमा उनी धाराप्रवाह प्रवचन दिन्थे ।
माधव घिमिरेको जन्म १९७६ साल असार ७ गते मङ्गलबार बित्दो चतुर्दशी र लाग्दो औँसीको बेलुका भएको हो । ग्रह नक्षत्र मिलाएर जुराउँदा उनको नाम टोपप्रसाद राखियो । लमजुङ बाहुनडाँडाको पुस्तुन गाउँमा लाहुरेको बाक्लो बसोवास थियो । त्यसैले त्यतिखेरै त्यहाँ उनीहरूले फौजमा जाँदा लाउने टोप (छत्रेटोपी) पुगिसेको हुँदो हो । उनी अड्कल काट्छन्, त्यही टोपको नाममा उनको चिनामा टोपप्रसाद लेखियो । नत्र त तोयनाथ राखेको भए पनि त हुन्थ्यो । किनभने त्यस वेलाटोपप्रसाद नाम अनौठो सुनिन्थो ।
गाउँघरमा मानिसको रङ, रूप, उचाइअनुसार कसैलाई काले, कसैलाई पुड्के, कसैलाई मसिने,कसैलाई बुङ्चेआदि बोलाउने छुट्टै नाम राख्ने चलन पछिसम्म पनि थियो । उनी सानोमा गोरो वर्णका थिए । त्यसैले उनलाई सेते भनेर बोलाइन्थ्यो । गाउँलेले माया गरेर बोलाउँदा उच्चारण गर्न नजानेर कसैलेटोपे र कसैले माधौ पनि भन्थे । अलि पछि पुस्तुनमा एकजना संस्कृतका ज्ञाता तर पण्डितचाहिँ भइनसकेका पुण्यशील घिमिरे भन्ने व्यक्ति आइपुगे । एकदिन उनले सेतेले पढिरहेको एउटा किताब मागे र त्यसको गातामासुन्दर अक्षरले नाम लेखिदिए– माधवप्रसाद । त्यसपछि उनको औपचारिक न्वारान भयो माधवप्रसाद घिमिरे ।
यसरी उच्चारणसम्म शुद्ध गर्न नसक्ने गाउँमा शिक्षाको स्थिति के थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । त्यसमाथि त्यस गाउँमा घिमिरेले पढ्यो भने फाल्दैन, अनर्थ हुन्छ भन्ने अन्धविश्वासले जरा गाडेको थियो । तैपनि घरमा बिहानबिहान वेद, चण्डी, रुद्री पाठ गर्ने र पूजाआजा गर्ने चलन थियो । वेलावेलामा पुराणहरूको पनि आयोजना हुन्थ्यो ।
सेतुको घरमा अर्का एकजना विद्वान् आएका थिए । उनी सम्झिन्छन् ती अलि टाठाबाठा व्यक्ति थिए । एक सन्ध्या सेतुले तिनको मुखारविन्दबाट पहिलोचोटि रामायणको कथा सुने । ती विद्वान्ले भने– ‘रामचन्द्रले हनुमानलाई साथ लिएर समुद्र नाघे र लङ्कादहन गरे…।’ यो सुनेर उनलाई लाग्यो–बाफ रे बाफ, यो त हुनै नसक्ने कुरा, काल्पनिक कथाजस्तो । गाउँमा पनि लामालामा पुच्छर भएका लङ्गुरे बादरहरू रुखका हाँगाहाँगामा सुरेली खेलिरहन्थे, घरका धुरीमा चढेर उपद्रोमच्चाइरहन्थे । सेतुको बालमनले भन्यो-मस्र्याङ्दी त तर्न नसक्ने यति सानो बाँदरले कसरी नाघ्यो होला त त्यति विशाल समुद्र ? उनलाई ती विद्वान्का कुरामा विश्वासै लागेन । उनले भनेका थिए-‘म यति अज्ञानी समाजमा हुर्केको मानिस थिएँ ।’
उनको बाल्यकाल गाउँका अरू आमबालकको जस्तो रमाइलोसँग बितेन । आमा द्रौपदीको निधन उनी दुई वर्षका पनि नहुँदै विसं १९७९ मा भयो ।सगोल परिवार थियो । बडाबाको खुब हैकम चल्थ्यो । उनी जिम्मावाल भएकाले गाउँमै प्रभावशाली व्यक्ति थिए । बडाबाको हापदाप चलेपछि स्वभावत: बढीआमाको पनि त्यतिकै कडा शासन चल्थ्यो । उनीभन्दा एक महिनाले जेठा बडाबाका छोरा थिए, बोलाउने नाम कालु । बडाबा, बडीआमा आफ्नो छोरालाई माया गरेर कालु भनेर बढो लय हालेर बोलाउँथे तर उनलाई दुत्कारेर ‘ए सेते’भन्थे । पिताजी टाढा जगराको लेकमा गोठमा बस्थे । त्यसैले उनलाई माया गर्ने पिताजीसँग पनि उनी टाढिएका थिए । उनले भनेका थिए–‘बाली राम्रो अर्काको बालो (सन्तान) राम्रो आफ्नो’ भन्ने भनाइ मेरो बाल्यकालमा लागू भएको थियो ।’ बडाबा, बडीआमाको बोली-व्यवहार अनि उनीहरूको हेराइमा पनि उनी करुणाको साटो क्रोध मात्र देख्थे । उनको बालमन भक्कानिन्थ्यो । ‘मलाई पनि आफ्नै छोरालाई जस्तै स्नेहगरिदिए हुन्थ्यो नि’ भन्ने आशा टुसाउँथ्यो । उनलाई त बडीआमा नै आफ्नी आमा हुन् भन्ने लाग्थ्यो । तर बडीआमाले उनलाई कहिल्यैछोराको व्यवहार गरिनन् । अलिपछि उनलाई तिनी आफ्नी आमा होइन रहिछन्भन्ने थाहा पाएपछि उनी झन् आत्तिए । ‘अहिले सम्झिँदा मैले त्यो व्यवहार मेरी आमा नभएका कारणले भोग्नुपरेको रहेछ’ उनले भनेका थिए्-‘त्यसैले आफ्ना छोरालाई बोलाउँदा बढो स्नेहिल बोलीमा सङ्गीत घोलेर ‘बाबु कालु’ भन्थे र मलाई बोलाउँदा हकारेर ‘ए सेते’ भन्थे ।’
उनलाई सधैँ आमाको धमिलो झझल्को आउँथ्यो । यद्यपि उनी आमाको ठ्याक्कै अनुहार त सम्झिन सक्तैनथे । तर गोरो अनुहारकी, घाँटीमा नीलो माला लगाएकी रबिरामी भएर ओछ्यानमा सुतेकी, ‘बाबु आइज मेरो छेउमा बस् !’ भनेर बोलाएजस्तो लाग्थ्यो । ‘आफ्नै आमालाई सम्झेको हुँ कि अरूकै आमाको झझल्को मिसिएको हो म भन्न सक्तिनँ तर आमालाई सम्झिँदा यो स्वरूप मेरो कल्पनामा आउँछ,’ उनले भनेका थिए ।
माधवका पिताजीले यो कुरा थाहा पाएछन् । यो सुनेर पितजीलाई नरमाइलो लाग्नु स्वाभाविक थियो । टुहुरो सन्तान । आफ्नै दाजुभाउजूले हेलाँ गर्ने । अनि पिताजीले जगराको लेकबाट गाउँमा आएर बडाबासँग झगडै गरेछन् । भनेछन्–‘तिम्रो छोरोभन्दा बढ्ता मेरो छोरोले पढ्छ, मेरो छोरो तिम्रो छोरोभन्दा राम्रो छ, तिमीहरू किन दपेट्छौ सेतुलाई ?’ दाजुभाइको यो इखाइखले गर्दा पिताजीले माधव १२ वर्षको हुँदा हिँडाउँदै र पिठ्यूमा बोक्दै घरभन्दा १०–१२ कोस तलको दुराडाँडामा लगेर एउटा सामान्य पाठशालामा भर्ना गरिदिए । ठूलीआमाकोघर थियो त्यहाँ । आमाको वियोगमा बडीआमाबाट नपाएको माया र स्नेह उनले त्यहाँ ठूलीआमाबाट पाए र पढ्न थाले । त्यसवेलाको गाउँको पढाइ नै के हुन्थ्यो ? ज्योतिष र गणित सिक्नुपर्ने । पात्रो पल्टाएर हिसाब निकाल्नुपर्ने, संस्कृतको पाठहरू घोक्नुपर्ने । दुराडाँडामा उनको खासै शिक्षा भएन । अक्षर त घरमै सिकेका थिए, त्यहाँ अलिअलि शब्दविन्यासहरू सिक्ने मौका पाए, यत्ति ।
उनी १४ वर्षका थिए खुदीबेनीकी गौरी पोखरेलसँग विवाह हुँदा, १९९० सालमा । गौरीको माइती निकै सम्पन्न थियो । विवाहपश्चात् सुसुरालीमै बसेर त्यहीँको भाषा पाठशालामा उनले औपचारिक शिक्षा हासिल गर्नथाले । त्यहाँउनले संस्कृतका लघुसिद्धान्तकौमुदी, रघुवंश, हितोपदेश आदि शास्त्रहरूको अध्ययन गरे ।
तर त्यहाँको शिक्षा पनि पर्याप्त थिएन । अनि १७ वर्षको किशोरवस्थामा १९९३ साल जेठ महिनामा शिक्षाको भोकले आकुल भएर तीन रुपियाँ ५० पैसा चोरर सुटुक्क काठमाडौँ आए र रानीपोखरीको संस्कृत पाठशालामा अध्ययन गर्नथाले । यहाँ पनि अपूर्ण शिक्षार्जनकका कारणउनी बनासर पुगे र त्यहाँको क्विन्स कजेजबाट अध्ययनबाट सर्वदर्शनमा शास्त्रीको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरे । आर्थिक अभाव र अन्य घरायसी झमेलाका कारण त्यसपछि उनको औपचारिक शिक्षाको निरन्तरमा पूर्ण विराम लाग्यो । उनी काठमाडौँ फर्के ।

काव्यसिर्जना
पिता गौरीशङ्कर सामान्य पुस्तक पढ्नसम्म जान्दथे तर लेख्न जान्दैनथे । पढ्न जानेकाले पिताजी तीर्थराज पाण्डेको ‘उपदेशमञ्जरी’ का श्लोकहरू पाठ गर्थे ।पिताजी यति मीठो स्वरमा लय हालेर श्लोकहरू पाठ गर्थे–माधव सुन्दासुन्दै भुसुक्क निदाउँथे । उनी भन्थे-पिताजीको ‘उपदेशमञ्जरी’ को भाका नै उनको कविता–सिर्जनाको पहिलो प्रेरणा हुनपुग्यो । पिताजीले भाका हालेर कविता भट्याएको सुन्दा उनलाई पनि यसरी नै भाका हालेर भन्ने उत्सुकता मनभित्र पहिलोचोटि जाग्यो । उनले भनेका थिए- ‘त्यसैको विस्तार हो मेरो कविता सिर्जना ।’
गाउँको पूर्व-पश्चिमका अग्ला डाँडाका बीचबाट मस्र्याङ्दी छङछङाउदै बग्थ्यो । बिहान उठ्नेबित्तिकै पूर्वको डाँडामा सातो सूर्य झुल्किन्थ्यो र त्यसको सिँदुरे रेखाहरू तलतल झर्दै पश्चिमको डाँडामा फैलिन्थे । त्यो रेखा पछिसम्म पनि उनको कवितामा छुटेन भन्थे उनी । त्यसैले उनी आफ्ना कविता र गीतको थालनी गर्दा हिमालबाट थाल्थे । उनलाई ईश्वरले त्यस ठाउँमा जन्म दिएर त्यही सुनौलो रेखालाई लेख्न सुरु गर भनेजस्तो लाग्थ्यो । उनले भनेका थिए– ‘अहिले अन्तिम अन्तिम पुर्‍याएको मेरो महाकाव्य ‘ऋतम्भरा’ पनि त्यही रेखाहरूको भावबाट सुरु भएको छ । यो किन हुन्छ, मलाई अनौठो लाग्छ ।’
खुदीबेनीमा अध्ययन थालेपछि उनलाई संस्कृत पढ्दा कताकता आनन्द लाग्थ्यो । यही वेला नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित नेपाली शिक्षा भाग-२, ३ र ४ उनको विद्यालयमा पुग्यो । सायद ती पुस्तकहरू मेधावी विद्यार्थीलाई पुरस्कार दिनका लागि झिकाइएका हुँदाहुन् । त्यहाँ लेखनाथ पौड्यालका कविता पनि थिए । तिनमा वसन्त ऋतुको वर्णन बढो रोचक शैलीमा गरिएको थियो । तीकविता पढेपछि पहिलोपटक उनलाई कविता भनेको लेखिने कुरा रहेछ भन्ने थाहा भयो । अनि उनले त्यहीँ बसेर एउटा कविता लेखे तर त्यसको छन्द मिलेको थिएन । अनि उनले आफ्ना शिक्षक पण्डित नारायणप्रसाद घिमिरेलाई त्यो कविता देखाए । घिमिरे सम्झिन्थे-‘मेरो त्यो कविता पढेपछि तिनले भने, ‘ए बाबु ! तिमी कविता राम्रै लेख्दा रहेछौ तर यसको दोस्रो पङ्क्तिमा अलि मात्रा मिलेको छैन । यसको नियम यो हो’ भनेर उनले पहिलोपटक मलाई वसन्ततिलका छन्दको नियम सिकाइदिए । अनि मैले फेरि लेखेँ, फेरिफेरि लेखेँ । रामायणको एउटा श्लोक पक्डेर त्यसैको भाकामा लेख्नथालेँ । यसरी मेरो काव्यसिर्जना आरम्भ भयो ।’

लेख्ने कुरा के थियो र ? उनीभित्र शोकैशोक थिए । आमा नहुनुको वेदना, पिताजीसँग छुट्टिनुको पीडा, आफू खेलीबढी हुर्केको गाउँ छोड्नुपर्दाको तिक्तता । यी सबै विरहहरू शब्द र छन्दमा साउने भेलजस्तो भएर पोखिए अनि उनको पहिलो काव्यसिर्जना जन्मियो- ‘ज्ञानपुष्प’ । त्यसपछि १९९४ मै ‘नवमञ्जरी’ उनको पहिलो काव्यसङ्ग्रह प्रकाशित भयो । पछि आफ्नी प्रिय अर्धाङ्गिनी गौरीको पनि २२ वर्षकै उमेर (२००४) मा निधन भएपछि यो वेदना र सन्ताप अझ गहिरो भएर उनको कवि मनलाई हल्लाउन पुग्यो । अनि सिर्जना भयो-‘गौरी’ शोककाव्य । र, माधव घिमिरेलाई एक सशक्त कविका रूपमा स्थापित गराउने सिर्जना यही ‘गौरी’ हुनपुग्यो । यस काव्यलाई झिकिदिने हो भने उनको काव्यकारिता अधुरो हुन्छ । यसको प्रकाशन पनि ‘शारदा’ पत्रिकामा खण्डखण्ड कविताको रूपमा छापिँदै पछि २०१५ सालमा ‘गौरी’ खण्डकाव्य पुस्तकका रूपमा देखापर्‍यो । त्यसपछि काव्यतर्फ राजेश्वरी, राष्ट्रनिर्माता, इन्द्रकुमारी, चैत–वैशाख, राहुल-यशोधरा, किन्नरकिन्नरी, पापिनी आमा, गीतिनाटकहरू-देउकी, शकुन्तला, मालती-मङ्गले, विषकन्या, अश्वस्थामा, हिमालपारि हिमालवारि, इन्द्रकुमारी, गौाथली र गजधम्मे, लेख-निबन्धसङ्ग्रहहरू आफ्नै बाँसुरी आफ्नै गीत र चारू चर्चा अनि कथासंग्रह-मनचिन्ते मुरली आदि उनका प्रकाशित कृति हुन् । उनको महाकालीसँग २००५ सालमा दोस्रो विवाह भएको हो । माधव घिमिरेलाई कविको रूपमा पहिलोपटक परिचित गराएको हो, एउटा कविताले । २००४ सालमा काठमाडौँको सरस्वतीसदनमा पहिलोपटक तीनदिने ऐतिहासिक कविगोष्ठीको आयोजना भएको थियो, महाकवि लक्ष्मीप्रसाद देवकोटाको सभापतित्वमा । त्यहाँ उनले पाठ गरेको कविता थियो-
नेपालीलाई डाक्ला विगुल धरहराबाट कुर्ली कमाल
प्यारीले बाँधिदेलिन् झटपट खुकुरीमाथि रातो रुमाल
यस कविताले उनलाई प्रथम बनायो । त्यसपछि कवि घिमिरे नेपाली काव्यजगत्मा नयाँनयाँ बान्की र शैलीहरू थप्दै स्थापित भए । यद्यपि उनले महाकवि देवकोटाभन्दा अघि १९९८-९९तिरै‘गोविन्द’ महाकाव्य लेख्न सुरु गरेका थिए तर यो महाकाव्य पूरा हुनसकेन । त्यसपछि महाकाव्य सिर्जनामा उनको यात्राले फेरि गति समात्न सकेन । र, अबप्रकाशित हुने ‘ऋतम्भरा’ लेउनको महाकाव्यको धोको पूरा गर्नेछ । महाकाव्य लेख्ने अतीव उत्कण्ठा भए पनि उनले आफ्नो जीवनको उत्तरार्धमा मात्र यो पूरा गरे तर पुस्तकका रूपमा यसका पाना पल्टाउनुअघि नै उनी यस लोकबाट विदा भइसकेका छन् ।
पिताजीको श्लोकगायनबाट उनी प्रभावित त भएकै थिए । अलिपछि जब कविता कोर्न थाले अनि उालाई लेखनाथका कविता र पाण्डेको ‘उपदेशमञ्जरी’ ले औधी प्रभाव परेको कताउँथे उनी । त्यसपछि उनलाई कवितामा प्रभाव पारे रवीन्दनाथ ठाकुरको ‘गीताञ्जली’ र कालीदासका महाकाव्यले ।

जीवनवृत्ति
१९९३ को जेठमा राजधानी पसेपछि उनी ‘नेपाली भाषानुवाद परिषद्’ मा १९९८ देखि ‘लेखकको जागिर गर्नथाले । उनी २००१ देखि ००४ सम्म गोरखापत्र साप्ताहिकमा पनि लेखकका रूपमा जागिरे भए । त्यसपछि २००४ सालमै शिक्षकको तालिम लिएर २००५ देखि आफ्नै जिल्ला, लमजुङको ‘आधारस्कुल’ मा अध्यापन गर्नथाले । उनले त्यहाँ २००८ सालसम्म शिक्षण गरे । त्यसपछि फेरि काठमाडौँमै आई उनी ००९ देखि ०१४ सालसम्म शिक्षक प्रशिक्षण केन्द्र र कलेज अफ एजुकेसनमा कार्यरत रहे । यसबीचमा गोरखापत्र साप्ताहिक र नेपाली भाषा प्रकाशिनी समितिमा पण्डित (सम्पादक) को पदमा पनि केही समय काम गरे । २०१४ सालमा तत्कालीन रोयल नेपाल एकेडेमीको स्थापना भएपछि सदस्यका रूपमा आवद्ध हुनपुगे । उनले भनेका थिए-‘त्यसपछि मेरो जीवनबाट आर्थिक सङ्कट परपर हुँदैगयो र दसतिरको जागिरमा भौँतारिनुपर्ने अवस्थाबाट मुक्त हुनपुगेँ ।’ माधव घिमिरे मात्र यस्ता एक यस्ता प्राज्ञ हुनपुगे जसले रोयल नेपाल एकेडेमीबाट सदस्यको रूपमा सुरु गरेको प्राज्ञिक यात्रा समयक्रममा यसको नाम रूपान्तरित हुँदै नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान र पछि नेपाल प्रज्ञा–प्रतिष्ठान हुँदासम्म यिनी त्यहाँ निरन्तर आवद्ध भइ नै रहे र कुलपतिमा पुगेर बिट मार्न पुगे । यस क्रममा उनी ०२८ मा आजीवन सदस्य, ०३७-४५ सम्म उपकुलपति र २०४५-४७ सम्म प्रज्ञा–प्रतिष्ठानको सर्वोच्च पद कुलपतिसम्म भएर निवृत्त भए । यसअतिरिक्त २०१३ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अगुवाईमा स्थापित ‘काव्यप्रतिष्ठान’ द्वारा प्रकाशित ‘इन्द्रेणी’ पत्रिकामा पनि सम्पादक भए ।
गौरी खण्डकाव्यकै कारण राजा महेन्द्रले तपाईंलाई रोयल नेपाल एकेडेमीमा एकैचोटि सदस्य बनाए भन्ने चर्चा सुनिन्थ्यो, के यो सत्य हो ? त्यस भेटमा राष्ट्रकवि माधव घिमिरेसँग मैले यो जिज्ञासा राखेको थिएँ । उनले यसलाई स्वीकार गरेका थिए । उनको भनाइमा महेन्द्रले ‘गौरी’ पढेर समभाव राखेछन् । उनको हृदय करुणाले भरिएछ । ‘त्यसैले म एकेडेमी पुग्नुको कारण ‘गौरी’ पनि हो’, उनले भनेका थिए, ‘तर म चाकरी गरेर त्यहाँ पुगेको होइन । मप्रति नेपालका तत्कालीन दुई महान् व्यक्तिहरू महेन्द्र र विश्वेश्वरप्रसाद कोइरालामा समान प्रभाव परेको छ । तिनीहरूलाई यसरी एकै किसिमको प्रभाव पर्नुको कारण मेरो काव्यको कारुणिकता हो ।’

मालतीमङ्गले, नारायणगोपाल र अम्बर गुरुङ
राष्ट्रकवि माधव घिमिरेलिखित गीतनाटक ‘मालती-मङ्गले’लेअघिल्लानाटक-मञ्चनका सबै कीर्तिमान भत्काएर राजादेखि रङ्कसम्म समानरूपले लोकप्रिय हुनपुग्यो । नाटकमा घिमिरेद्वारा करुण रसमा वर्णित दास–दासीको कथाले धेरैका आँखा रसाएका थिए । रानी ऐश्वर्यसमेत यो नाटक हेरेर सेतो रुमालले आफ्नो आँसु पुछिन् । मञ्चन हुनुअघिको प्रसङ्ग पनि यो गीतिनाटकजस्तै करुणिक र मार्मिक छ । यस गीतिनाटकलाई प्रदर्शनीको मेलोमा ल्याउनै वर्षौं लाग्यो । सुरुमा यसको गीत नारायणगोपाललाई गाउनका लागि राजी गराउनै नाटककार घिमिरेलाई धेरै कसरथ गर्नुपर्‍यो । उनले भनेका थिए–त्यसवेला अम्बर गुरुङ र नारायणगोपालबीच खटपट परेको थियो । धेरै समयदेखि उनीहरूबीच संवाद नै भएको थिएन । घिमिरेले नारायणगोपालको घरमै गएर विनम्र अनृुरोध गरेपछि मात्र नारायणगोपालले ‘मङ्गले’ को भूमिकामा गाउन स्वीकृतिमा शिर हल्लाएका थिए । तर त्यसपछि पनि अर्को व्यवधान बाँकी थियो-नारायणगोपाल र तारादेवीबीचको कटाक्ष सम्बन्ध । नाटककार घिमिरे र सङ्गीत-निर्देशक अम्बर गुरुङ र नाटक-निर्देशक वसन्त श्रेष्ठहरूले धेरै प्रयत्न गर्दा पनि यिनीहरूबीच मिलाप गराउन सकेनन् । नारायणगोपाल र तारादेवी आपसमा बोल्ने कुरा त परै जाओस्, सँगै उभिएर गाउन पनि तयार थिएनन् । त्यसैले नारायणगोपाल र तारादेवीका बीचमा एकअर्कालाई नदेख्ने गरी एउटा हरियो पर्दा टाँगेर प्रज्ञा–प्रतिष्ठानमा ‘मालती–मङ्गले’ का गीतको रेकर्ड गरियो ।
एक महिनाभित्रमा यसको ख्याति दरबारसम्म पुग्यो । २०४२ जेठमा सुरु भएको यो नाटक हेर्ने भनेर असारमै दरबारबाट सूचना आयो । दुई घन्टाको नाटकलाई छोट्याएर ८९ मिनेटमा झारियो।
अनि राजारानीको सवारी चल्यो नाटक हेर्न । नाटकको भावमा डुबेर रानी ऐश्वर्यले सेतो रुमालले आँसु पुछिन् । भोलिका अखबारमा राजारानीले ‘मालती–मङ्गले’ हरेर खुसी भई एक लाख रुपियाँ बक्सिस दिएको समाचार छापिएपछि फेरि त्यस गीतिनाटकको प्रदर्शनी निरन्तर भयो । राजधानी र मोफसलमा मात्र होइन विदेशमा पनि यसको भव्य प्रदर्शनी भयो । अनि ‘गौरी’ पछि माधव घिमिरेलाई लोकप्रिय बनाउने कृति यही मालती-मङ्गले हुनपुग्यो ।
आजीवन सिर्जनामा तल्लिन राष्ट्रकवि माधव घिमिरे लामो अस्वस्थतापछि हिजो अर्थात् ३ भदौ, २०७७ साँझ नेपाल र नेपालीबाट पार्थिवरूपमा सदाका लागि बिदा भए । तर उनी नेपाल र नेपाली रहँदासम्म उनको कविताझैँ जीवित रहने छन् ।
नेपाली हामी रहूँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।