राष्ट्रकविका केही कवितांश - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

राष्ट्रकविका केही कवितांश

 

यी रोए पनि दुःख लाग्छ यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन यिनले बिर्से नि आमा भनी
को हेर्ला अब हर्षसाथ यिनले हुर्केर खेले पनि
फाटी मर्नु छ, पीर लाग्छ यिनले फुर्की नखेले पनि

सानीलाइ फुल्याउँला कति यहाँ औँलो चुसाइकन
ठूलीलाइ भुलाउँला कति यहाँ आँसु लुकाइकन
आफैँ यो सब वज्रपात यिनले बुझ्लान् जसै आखिर
रोऔंला अनि एकरात संगमा हेरेर तारातिर
(माधव घिमिरेको ‘गौरी’खण्डकाव्यबाट)

पारिन्छ सत्ता जब खण्ड खण्ड
रहन्छ के राष्ट्र त्यहाँ अखण्ड
थुतिन्छ पत्ता जब खात खात
सिद्धिन्छ शोभा अनि फूलबाट

भासिन्छ सुस्तै जब यो जिमी नै
कहाँ उभिन्छौ भन हे तिमी नै
काटेर डाली रुखबाट भाई !
के नीड रच्छौ कुन गीत गाई ?
(माधव घिमिरेको ‘राष्ट्र निर्माता’ खण्डकाव्यबाट)

नेपाली जनको शृङ्गार म गरुँ सिन्दुर मेरो पुछी
फुस्केको यस केशसाथ शिरका चिन्ता जुरामा कसी
साँच्चै बाँच्न सकूँ मरेर अरुको अव्यर्थ उद्देश्यमा
केही साँच्न सकुँ विराट् मनुजको अक्षय्य यै कोशमा

रच्छन् वीर जुटेर आज वलिया किल्ला कलङ्गामहाँ
पुर्खाका पदचिन्ह छन् अमिट रे प्रत्येक ढुङ्गामहाँ
हाम्रो हृदय हिल्छ मूल, छहरा, छाँगा र गङ्गामहाँ
हाम्रो जीवन खिल्छ ज्योतिवनका अम्लान थुङ्गामहाँ
(माधव घिमिरेको ‘राजेश्वरी’ खण्डकाव्यबाट)