धर्म र जीवन - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

धर्म र जीवन

विवश वस्ती

विवश वस्ती

१. हे राम, हे अल्लाह !
अहमदले नयाँ घर बनाउन चाहे ।
उनी गाउँपालिकामा गए र सिफारिस लिए ।
इन्जिनियरकहाँ पुगे र घरको नक्सा डिजाइन गर्न लगाए । त्यसपछि घर निर्माणका लागि चाहिने छड, बालुवा, सिमेन्ट र इँटा जुटाउनतिर लागे ।
‘ए, अहमद, कता जान लागेका हौ ?’ उनका एकजना छिमेकीले सोधे ।
‘घर बनाउने भएँ मैले । सामानहरू जुटाउन हिँडेको हुँ ।’ उनले भने ।
‘इँटाचाहिँ भट्टाबाटै किन है, सस्तो पर्छ !’ ती छिमेकीले सल्लाह दिँदै भने ।
अहमदको घरको इलाकावरिपरि थुप्रै इँटाभट्टाहरू थिए । सस्तो मूल्यमा इँटा पाइने आसमा उनी एउटा इँटाभट्टामा पुगे । तर एउटा इँटा उठाएर हेर्नेबित्तिकै उनको मन–मस्तिष्क पूरै खजमजिन पुग्यो । उनले जुन इँटा उठाएका थिए, त्यसमा लेखिएको थियो– ‘जय हनुमान !’
त्यो इँटाभट्टाबाट नजिकै थियो, अर्को इँटाभट्टा । उनी त्यही इँटाभट्टातिर लागे । उनले इँटाको मूल्य सोध्नुअगावै इँटातिर नियाले । त्यसमा लेखिएको थियो– ‘श्री राम !’
अहमद त्यही स्थानमा उभिए, केही क्षण । र, वरिपरिका अरू इँटाभट्टातिर हेरे र टाउकोमा हात राख्दै भने, ‘हे अल्लाह, अब म कुन इँटाभट्टामा जाऊँ ?’

२. घुँगी
‘मैले आज बेग्लै स्वाद पाइरहेको छु ।’ आमाले भनिन् ।
‘हो, मलाई पनि त्यस्तै लागिरहेको छ । आज मेरो जिब्रोले अरू दिनहरूका जस्ता ढुङ्गा, माटो र बालुवा होइन, मीठा कनिका र पीठो चाखिरहेको छ ।’ छोराले भने ।
‘अब हाम्रो आयु धेरै छैन ।’
‘किन र आमा ?’
‘हामी मान्छेको कब्जामा परिसकेका छौँ । उनीहरूले हामीलाई रातभरि पीठो र कनिका ख्वाउँछन् र भोलिपल्ट उनीहरूले हामीलाई मीठो मानिमानी खान्छन् ।’
आमाको कुरा सुनेर छोरा घुँगी उदास देखियो ।

…………………………………………..
(वस्ती प्रसिद्ध कथाकार हुन्)
bastibibash@gmail.com