उपहार - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

उपहार

लोक लामा

लोक लामा

तिमी टाढा छौ
आँखाभन्दा टाढा
सपनाभन्दा पनि टाढा
केवल तिम्रो न्यानो स्पर्श
मेरो साथमा छ ।

बादलभित्र लुक्दै गरेको जून
बगैँचामा फुलेको फूलको महक बोकेर
बताससँग लुकामारी खेल्ने
तिम्रो मखमली सम्झनालाई
जुनीभरको कोसेली सम्झेर
म भीडहरूमा पनि
एक्लो बाँचिरहेछु
केवल एक्लो हाँसिरहेको छु

तिमी टाढा छौ
मेरो क्षितिज भन्दा टाढा
केवल तिम्रो सम्झना मेरो साथमा छ
म त्यही सम्झना आँखाभरि बोकेर
युद्धमा हारेको पराजित बस्तीजस्तो
एक्लो जिन्दगी घिसारिरहेछु ।

म एक्लो बाँचिरहेछु
म एक्लो हाँसिरहेछु
तर, दुनियाँलाई के थाहा
मलाई हरेकपल साथ दिने
मेरो दुखाइमा मलम लगाउने
तिम्रो चोट मसँगै छ
म त्यही चोटलाई कोसेली सम्झेर
नदीकिनारामा फ्याँकेको
माझीविनाको ढुङ्गाजस्तो जिन्दगी
एक्लै बाँचिरहेछु ।

मलाई डर लाग्छ कहिलेकाहीँ
म आत्तिन्छु कहिलेकाहीँ
तिमीले कोसेली दिएका चोटहरू
भञ्ज्याङमा बसी रोइरहँदा
त्यहीँ छुट्यो भने !
साँझ कुनै भट्टीपसलमा
तिम्रा यादहरू छरपस्ट फिँजाएर
सँगाल्न बिर्सेंं भने
म आत्तिन्छु
म डराउँछु ।
तिमी टाढा छौ
आँखाभन्दा टाढा
सपनाभन्दा पनि टाढा
केवल तिम्रो न्यानो स्पर्श
मेरो साथमा छ ।
………………………….
काभ्रेपलाञ्चोक

lamalok1029@gmail.com