कोरोनाले सिकाएको शिक्षा - Aksharang
  • २०७७ मंसिर १९ शुक्रबार

कोरोनाले सिकाएको शिक्षा

लक्ष्मण सिटौला

लक्ष्मण सिटौला

फूलको देहमा सुवास कसले भरिदियो ?
हिमालमा आभा कसले छर्किदियो ?
आँखाको नानीमा माया कसले रोपिदियो ?
जूनमा शीतलता कसले छरिदियो ?
देह जसलार्ई तिमी घृणा गर्छौ
देह जसलार्ई तिमी मरणशील छ भन्छौ
देह जसलार्ई तिमी नश्वर छ भन्छौ
देह जसलार्ई तिमी बल्ने त हो नि भन्छौ
तर नभुल तिमी यो देह भित्रै त छौ नि !
नभुल यो देह छ र त तिमी छौ
तिम्रो कर्म छ, धर्म छ, धर्ती छ
देह छ र त देवता छन् अनि
तिम्ले हेर्ने आँखा देहकै एक स्थुल अंश हो
तिम्ले फेर्ने सास देहकै एक अनुच्छेद हो
तिम्ले बोल्ने शब्द देहकै उत्पादन हो
तिम्ले गर्ने माया देहकै दौलत हो नि
फेरि किन भन्छौ नाशवान् छ यो देह ?
र घृणा गर्छौ यस देहलार्ई ।
यो देह भित्र नै छन् देवता पनि !!
देह एक्लै छ देवता एक्लै छन्
अरू त के कुरा एकान्त पनि एक्लो छ !
आज रामको देह कहाँ जन्मिएको हो भन्ने विवाद छ
देहधारी जीवन एक्लो एउटा सत्य हो
एक देहदेखि अर्को देहलार्ई घृणा गर्ने समय होइन यो
तर खै समय किन यसरी उल्टो बगिरहेको छ ?
त्यसैले म एकान्तमा छु
चुपचाप छु, मौन छु, सबैदेखि पर छु
सबैबाट पर हुँदा आफूलार्ई बुझ्ने समय मिल्दोरहेछ

हिजोआज आफैँलार्ई माया गर्छु म । मैले आफूलाई बुझँे । धेरै बुझेँ । म देहभित्रको एउटा सलिल आत्मा हुँ । म देह पनि हुँ । म आत्मा पनि हुँ । देह एउटा आवरण हो । त्यो देहभित्र एउटा हीरा छ । त्यो हीरा आत्मा हो । म आत्मा पनि हँु, देह पनि हुँ । मेरो आत्मा बस्ने घर हो मेरो देह । मलार्ई देख्नेले आत्मा भनेर बोलाउँदैनन् । मेरो देहलाई बोलाउछन् । आत्मालार्ई कसैले देख्दैनन् । न यो जन्मेको देखे कसैले, न यो मरेको देखे कसैले । मेरो देहलाई लुगाले ढाकेजस्तै मेरो आत्मालार्ई मेरो देहले ढाकेको छ । देहलाई दुख्छ । आत्मालाई दुख्दैन । देह गल्छ । देह ढल्छ । देह परिवर्तन हुन्छ । देह घामपानी र अन्य ऋतुजस्तै परिवर्तनशील छ । देहलाई रोग भोक, शोकले विचलित पार्छ । तर यही देहभित्रको मेरो आत्मालाई कुनै रोगभोक र शोकले गलाउन ढलाउन सक्तैन ।
मैले म बुझ्नु भनेको म आत्मा हुनु हो । आत्मा निर्विकल्प सत्य हो । मेरो देह त अस्थायी हो । मेरो आत्मा मात्रै नित्य निरन्तर एउटा ॐ कारको आवाज हो, जो ब्रह्माण्डमा सदा ध्वनित, प्रध्वनित भैरहन्छ । मैले मेरो आत्मा र मैले मेरो देहबारेमा योभन्दा अगाडि कहिले सोच्न भ्याइन छु । आज कोरोना आयो । म एकान्त भए । अरू एकान्त भए । यस एकान्तले मलार्ई ‘म’ बारेमा चिन्तन गर्ने अवसर दिलाई ।
एकान्त नै ध्यान हो । एकान्त नै योग हो । एक्लो हुनु नै आत्मासँगको संवार्ता हो । मैले बोलाएँ आफँैलाई । मैले आफैँसँग कुरा गरँे । एक्लो हुनु नितान्त आफू हुनु पो रहेछ । मेरो उज्यालोको इन्द्रेणी म आफैँभित्र पो रहेछ । योभन्दा अगाडि मैले आफूलाई बाहिर खोज्थेँ । आजकल आफूलाई आफैँभित्र खोज्छु । आनन्द त आफूले आफैभित्र खोज्नुमै रहेछ । एक्लै–एक्लै आफै नदी भएर बहनुमा कति मजा ! । आफ्नै भँगालो आफ्नै झर्ना । आफ्नै शान्ति, आफ्नै शीतलता । आफ्नै लहर । आफ्नै किनारा । आफ्नै भुमरी आफ्नै सुसाइ । आफ्नै बगाइ । आफ्नै उत्फुल्लता । एक्लै–एक्लै एउटा शान्त नदी भएर बग्न थालेको छु म आजकाल । यो एक्लोमा अर्कै मजा, अर्कै शान्ति, अर्कै खोजी, अर्कै उज्यालो, अर्कै लहर, अर्कै प्रमोदिता, अर्कै आनन्द । मानिस आखिर एक्लै त हो नि । ऊ जतिसुकै फूर्ति गरोस् । ऊ जतिसुकै कुर्लियोस्, जतिसुकै उर्लियोस् । ऊ खुसीमा संसारको होला । ऊ हाँसोमा सबैमा बाँडिएला तर दुःखमा, आँसुमा, भोकमा र शोकमा शून्यमा एक्लो छ, निरीह छ । ऊ दुःखमा एक्लै–एक्लै त हो नि । एक्लो केवल, एक्लो त्यही निरीहिता हो मान्छेको सत्य भन्नू पनि । कति मजा छ एक्लोमा ।

म को हँु भनेर बुझ्ने अवसर मिलाइदिने कोरोनालार्ई मैले धन्य भनेको छु । सायद अरूलाई त चित्त नबुझ्ला । आज कति मान्छेलार्ई भीड केहो भन्ने कुरा पनि राम्ररी बुझाउन सफल भएको छ कोरोना । योभन्दा अगाडि कहिले फुर्सद मिलेन मलार्ई म के हुँ भनेर बुझ्न । मान्छे सधैँ भीडभाडमा छ । ऊ सधैँ हत्पतमा र बेफुर्सदीमा छ । ऊ एक्लो भएर कहिले सोचेन । सधैँ परतन्त्र भएर बाँचिरह्यो । त्यसैले कहिलेकाहीँ ऊ एकान्त खोज्छ ।
आज बिश्व कोरोना महामारीमा छ । एकान्तमा बस । आफूलाई खोज । आफूलाई बुझ । एकछिन शान्ति अनुभूति गर । अपलक मौनतामा हेर आफूभित्रको त्यो निर्मल नदी बगिरहेको छ भनेजस्तो लागिरहेको छ कसैले परबाट ।
आफूलाई सुन । अरूलाई त सदियौँदेखि सुन्दै आइरह्यौँ हामीले । अब केही दिन, केही महिना, केही समय निकालेर आफूभित्रको त्यो आफ्नो सरगमलाई सुन । आफैँभित्रको त्यो रामलाई सुन । आफूभित्रको त्यो बुद्धलार्ई सुन । आफूभित्रको त्यो महान् आत्माको सङ्गीतलाई सुन भनेको हो कसैले परबाट । नदी भएर बग्दाबग्दै ताल भएर थुनिनु जिन्दगी हो । फूल भएर रमाउँदारमाउँदै कुनै दिन चटक्क चुँडिनु हो जिन्दगी । आफ्नो गुञ्जन सुन्न नपाउँदानपाउँदै कतिखेर त्यो कोमल तार चँुडिन्छ । यो मौका हो आफूले आफैँलाई सुनिरहने । यो मौका हो आफूले आफैँलाई सम्झिरहने । यो मौका हो आफूले आफैँलाई पुजिरहने । यो कोरोनाको त्रासद समय हो, आफूभित्रको सुन्दर संसार फर्किएर हेर्ने । एक्लो सिर्फ एक्लोमा रमाएर त हेर झिलिमिली त त्यहीँ छ नि । भीडभाडमा रोग छ । भीडमा, हुलमा त हल्ला छ । हल्लामा तिमी आफू रहन्नौ । भीडमा त भिजिलान्ते मात्रै रमाउछ्न् ।

भीडमा नै हो महाभारत युद्ध भएको । भीडमा सत्य धर्मराउँछ । भीडमा शान्ति डगमगाउँछ । भीडमा भ्रम मात्रै जगजगाउँछ । भीडको चक्रव्यूहमा नै हो अभिमन्यूले हारेका । कृष्णले अपराधीहरूको भीडको अन्त्य गर्नलार्ई हो महाभारत रचेको । आफूलाई खोज्ने हो भने भीडमा होइन एकलासमा हो । आफूलाई भेट्ने हो भने एकान्तमा हो । आफूलाई बुझ्ने हो भने शान्तिमा हो । शान्ति र आरोग्यता एकान्तमा छ । एक्लो छ चाँदनी तर उज्यालो छ । एक्लो छ त्यो विराटस्वरूप श्रीसूर्य पनि । राम वनवास कुनै भीड खोज्न गएका थिएनन् । बुद्ध वनमा कुनै क्रान्ति गर्न गएका थिएनन् । उनी सिर्फ एकान्त खोज्न शान्ति, खोज्न गएका थिए । आज भीडको कोलाहलमय भ्रान्तिमा बाँचेको छ मनुष्य । त्यसैले निम्त्याएको छ कोरोना कहर । एक्लोमा आरोग्यता छ । एक्लोमा निर्मलता छ । एक्लोमा एकालाप छ । कुरा गर आफँैसित । कुरा गर एकान्तसित । एकान्तलार्ई नजिकबाट अनुभूत गरेर त हेर ।
हेर त तिमी हिँडिरहेको त्यो बाटो पनि त एक्लै त छ । उसले कहिले खोजेन अर्को बाटो आफूभित्र । हरू त अरु हुन् । हामी आफूलाई जब अरूमा मिसाउँछौ अनि आफ्नो निजत्वको त्यो निर्मलता पनि धमिलिन्छ । हिमालयबाट बहँदै आएको एउटा सङ्लो नदी जब सहर प्रवेश गर्छ, त्यहीँबाट सखाप हुन्छ उसको असीम अस्मिता । यही हो भीडमा मिसिनुको पीडा । यदि तिमी आफैँ आफ्नो सर्वश्व थियौ भने एक्लोमा थियौ । एक्लो यात्रा गर्नुछ तिमीले आफ्नै पृथ्वी मनको । त्यो मीठो यात्रा तिमीले एक्लैले तय गर्नुछ । भीडको यात्रा त एउटा भ्रम हो । कहीँ पनि पुगिँदैन । त्यत्रो सगरमाथाको यात्रामा सयौँ हुन्छन् तर व्यक्ति सगरमाथाको शिरमा जब पुग्छ नि त्यहाँ व्यक्ति एक्लो हुनुमा प्रमोदित महसुस गर्छ । त्यही प्रशान्ति हो एक्लो प्रशान्ति मनुष्यले खोज्ने पनि । यस कोरोनाले हामीलार्ई एक्लो हुन सिकायो । सम्भावना नहोला सधैँ एक्लो रहन । कुनै दिन समाज अनि ती आफ्ना पनि चाहिएलान् । तर यति वेलाको समयले तिमी एक्लो रहनुमा नै तिम्रो आरोग्यताको अचुक ओखती हो भन्ने सङ्केत गरिरहेको छ ।

तिमी एक्लो हुनुलाई निरासताको सङ्केत भन्छ्यौ तर म भन्छु एक्लो हुनु स्वयम् जलेर अरूलाई उज्यालो देखाउने दियो हुनु हो ।
दियोसँग अरू को जल्यो र खै आजसम्म ? फूलसँग कहिले झर्यो र काडा खै ? एक्लै झर्छ फूल गलेपछि भैँमा तर फूल कहिले भौँतारिएन । एक्लो फूल । एक्लो जून । एक्लो चाँदनी । एक्लो आकाश । एक्लो क्षितिज । एक्लो सूर्य । एक्लै छ हिमाल । नदीहरू एक्लाएक्लै छन् । एक्लै बगिरहेको देख्छु अनन्तदेखि ।
समय पनि त एक्लै छ नि ! परपर बाटोमुनि उभिएर एउटा पीपलको बोट बर्षौंदेखि मलार्ई गाउँ जाँदा स्वागत् गरिरहेको छ । त्यसको एकान्त देख्दा मलार्ई खुसी लाग्छ किनभने मजस्तै त्यो पीपल पनि एक्लैमा रमाइरहेछ । रमाइलोको लागि यदि भीड नै चाहिने भए नदी उहिले नै सुकिसक्थ्यो होला । बारीमा उभिएका बोटहरू सबै ढलिसक्थे होलान् । बाटोहरू हराइसक्थे होलान् । म अगाडिको एउटा लाटो पहाड सधैँ एक्लै देख्छु । त्यसले गाएको गीत एकान्तमा सुनेको छु मैले । म त्यो पहाड हेरेर निदाउँछु । उसको एकान्त मलार्ई मनपर्छ । चकमन्न जङ्गलको बीचबाट उठेको एकान्त सुसेली कहिलेकाहीँ बाटो हिँड्दा सुन्न पाइन्छ । मौनता पनि स्वयंमै आवाज हो ।

मियो एक्लै उभिएको छ खेतमा दस गोरुको बीचमा तर ! हेर त ती गोरुहरू त्यही मियोवरिपरि घुमेका छन् र धानका गेडाहरू झारिरहेछन् । सूर्य पनि त एक्लै छ । तर हेर लाखौँ ग्रह त्यसकै वरिपरि घुमिरहेछन् । विशाल वृक्षको बीउ एक्लो उम्रनु पर्छ पृथ्वीमा । लहलहाउने फूलका कलेवर स्वयं एक्लै छन् । पातहरू पनि एक्लै छन् । खै कोसँग मागे र तिनले हरियो सापटी ?

सापट त भीडले माग्छ । उधारो त भीडले खान्छ किनभने भीड महाभारतको युद्ध हो । खै कसले जित्यो त्यो युद्ध ? कृष्णले पनि हारे, कौरवले पनि हारे, पाण्डवहरूले पनि हारे, सबैले हारे । केवल समयले जित्यो । भनिन्छ त्यो युद्धमा सत्यले जित्यो तर खै कहाँ छ र सत्य ? कसले देख्यो सत्य । सत्य पनि एक्लो छ ।

एक्लोहरूलाई देखिँदैन तर दिग्विजय एक्लोले गर्छ । सत्य सापेक्ष हुन्छ र आफूले खोजेको सत्य जहाँ पनि पाइन्छ । सत्यको स्वतन्त्र सत्ता हुँदैन । मानिसले सत्य आफैँ निर्माण गर्छन् । सत्य त सत्य हो तर जब सत्यलार्ई सबैले आ–आफ्नो निहित स्वार्थसँग जोडे अनि सत्य पनि रुन्छ मानिसको आँसुसँग पग्लिदिन्छ ।
सत्य पनि स्वयम् एक्लो छ । हिजोदेखि आजसम्म सत्यले भीड रोजेन । भीडमा असत् असत्य हुन्छ । मानिस भीडमा पशु बन्छ । भीडमा एउटा नाङ्गियो भने सबैलार्ई नाङ्गिन कुनै डर हुँदैन । तिमी एक्लो हुनुलार्ई बथानबाट छोडिएको चरी भन्छ्यौ तर म त्यसैलार्ई बुलबुल भन्छु । भीड दुखेको देखेको छु मैले तर एकान्त कहिले दुखेको देखिन । एक्लो उभिएको पहाडलार्ई हेर्छु कति शान्त बाँचिरहेछ त्यो । भीड नाच्छ पहाडको छातीमा तर पहाडले कहिले दुख्यो भनेन । अहिलेको कोरोना त्रासद भीडबाट उभिएको श्रापित समय हो, यसले मानिसहरूका सपनाहरू निलिरहेछ ।
म एक्लै छु । मलार्ई छोएर भाग्ने त्यो हावा एक्लै छ । भीरमा फुलेको गुराँस एक्लै छ । बाहिरको त्यो रात पनि एक्लै छ । मेरो हातमा थुनिएको कलम एक्लै छ । श्वास प्रश्वास एक्लै गरिरहेछ भित्रबाहिर । म जीवित छु । ज्युँदो हुनेहरू एक्लैले सङ्घर्ष गर्छन् । भीड त लासलार्ई मात्रै चाहिन्छ । हिजो धरहरा एक्लै बाँचेको थियो र एक्लै ढल्यो । ऊ ढल्दा ऊसँग ढले कैयौँ एक्लाहरू । म पनि हिजो ढलेको धरहराजस्तै हुँ एक्लो सत्य ।

इतिहासमा सत्यहरू पुरिए पनि कालान्तरमा ती पिपलुजस्तै फेरिफेरि उम्रन्छन । तिमी एक्लो हुनुलार्ई नदीले छोडेर गएको बगर भन्छ्यौ तर म एक्लो हुनुलार्ई कालीगण्डकीले कुँदेको शालिग्राम भन्छु । म छु । एक्लो छु । मसित सिर्फ मै छु अनि मैले गाउने गीत छ र त्यसलाई मैले कहिले एक्लो हुन दिएको छैन । गीतहरू जुन दिन एक्ला हुन्छन् ती नारायणगोपालका ओठहरूबाट जूनकीरी भएर गुन्जिनेछन् मुटुका लयहरूबाट ।
तिमी एक्लो हुनुलाई अभिशाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु सिर्जनात्मक हुनु हो । तिमी एक्लो हुनुलार्ई एकलास भन्छ्यौ तर म भन्छु एक्लो हुनु ईश्वर नजिक पुग्नु हो । तिमी एक्लो हुनुलाई पूर्व जन्मको पाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु तपस्वी हुनु हो ।
एक्लो हुनु नदीजस्तै सफा हुनु हो । एक्लो हुनु हिमालझैँ स्निग्ध हुनु हो । एक्लो हुनु आफैँमा पारलौकिक परमानुभूति प्राप्त गर्नु हो । एक्लो हुनु सुनकोसी हुनु हो । एक्लो हुनु आकाश हुनु हो । एक्लो हुनु फूल हुनु हो । एक्लो हुनु एक उज्यालो हिमाल हुनु हो । एक्लो हुनु ऋषि हुनु हो । एक्लो हुनु इन्द्रेणी हुनु हो । एक्लो हुनु आकाशमार्गको पन्छी हुनु हो ।
एक्लै हुनु आफू हुनु हो । एक्लो हुनु त मनको आनन्दमा मिसिनु हो । आनन्द एक्लो हुनुमा फक्रिन्छ । एक्लो हुनु त किरण हुनु हो । जुन एक्लै त थियो नि । घाम पनि त एक्लै थियो नि । ती एक्लोमा विविध छन् । ती एक्लोमा विश्वास नजिकै छन् । ती एक्लोमा स्वाभिमानी छन् । एक्लै त डुब्छ घाम क्षितिजमा तर उसले सबको खुसी फर्काउने बाचा लिएर डुब्छ । र आजसम्म ऊ त्यही सतमार्गमा विनासर्त हिँडिरहेछ । हिँडिरहनु उसको कर्तव्य, खै मैले कहिलेदेखिन् घामले आजसम्म बाटो बिराएको । थाहा भएन उसले कसैमाथि विभेद गरेको । थाहा छैन उसले मेरो, तेरो भनेको । थाहा छैन उसले कसैलार्ई चिसो र कसैलार्ई तातो दिएको किनभने ऊ एक्लो छ । एक्लो हुनु निर्मल हुनु हो । एक्लो हुनु विवेकी बन्नु हो । हरेक शब्दका अक्षर एक्ला छन् । हरेक आवाज एक्लै ध्वनित हुन्छन् । जङ्गली रुख पनि त एक्लै छ । खै कहिले बिस्र्यो र उसले एकान्तमा हावासँग मिलेर गीत गाउनलार्ई । जङ्गलका चराहरू पनि एक्लै छन् । खै कहिले बिर्सेर तिनले वसन्तमा गीत गाउन ।
तिमी एक्लो हुनुलार्ई कोही नभएको सहाराहीन भन्छ्यौ तर म भन्छु एक्लो हुनु जीवनको लयसँग, जीवनको सुरसँग, जीवनको सङ्गीतसँग मिल्नु हो । जीवन त एक्लोमा कति मीठो छ । कसैले छोइदिएर बिटुल्याइदिएको फूल त भैँमा खस्न सक्छ नि कुनै दिन । एकै सुर, एकै स्वर, एकै ताल आहा ! यसको मेलोडी । आहा ! यसको कम्पन । आहा यसको मूच्र्छना । वैशाखमा कतै पर गाइरहेकी कोइली पनि एक्लै त छे नि ! तर परपरसम्म ऊ आफ्नो मृदुलित झन्कार फैलाइरहिछे ।

संसार हेर्ने हाम्रा दुई आँखा पनि एक्लाएक्लै त छन् । के ती दुईको कहिले भेट भएको देखेकी छ्यौ र ? एक्लै त छ आँखा तर एक्लोमा उसले सदा नयाँनयाँ संसार देखायो । दुई किन हुनुपर्ने ? म जन्मिएको एक्लै हो । तिमी जन्मिएको एक्लै हो अनि आमा, जसले हामीलार्ई जन्माइन्, तिनी पनि त एक्ली थिइन् । एक्लै थिइन् तिनी, जतिबेला तिनलाई सुत्केरीव्यथा लागेको थियो । तिमी गर्भभित्र एक्लै त थियौ नि ! साथमा न तिम्रो दाइ थिए, न तिम्री बहिनी थिइन् । गर्भको खोलभित्र त तिमी एक्लै थियौ । सास लिँदा पनि एक्लै र सास छोडेर जाँदा पनि एक्लो त हो नि मनुष्य । यस चेतनाको चैतन्य चोलामा खोइ कसले पायो र साथ कालन्तरसम्म ।

भीड त मलार्ई यति घातक लाग्छ कि भीडमा मान्छे पशुजस्तै अवचेतनमा हुन्छ । भीडभित्र लाज छोपिँदैन । यस संसारको आविष्कार र प्रगति कुनै भीडले बनाएको होइन । यो प्रगति एकान्तले बनाएको हो । यो वैभवता एकान्तले जन्माएको हो । एक्लोले बनाएको हो यो दुनियाँ । किनभने एक्लोमा चिन्तनले चीर नवीनता पाएको हुन्छ । आइस्टाइन एक्लै त थिए नि । भारतकी रत्न लता मङ्गेशकर एक्ली त छिन् नि ! तिब्बत स्वतन्त्रताका गीतकार दलाई लामा एक्लो त छन् । बुद्ध एक्लैले त ल्याए शान्तिको धारा यो विश्वविभुमा र आजपर्यन्त त्यही शान्तिगीत गुन्जिरहेछ पृथ्वीको आधा पाटोमा ।

ग्राहमवेलले टेलिफोनको ध्वनि सिर्जना गर्दा एक्लै थिए । संसारलाई हसाउने चार्ली च्यापलिनसँग अर्को को गाँसिएको थियो र ? एक्लैले हँसाए यस दुनियाँलार्ई । म हेर्छु कहिलेकाहीँ आकाशमा अनि देख्छु चन्द्रमा एक्लो । खुसी लाग्छ यो एक्लैले यत्रो सन्सारलाई मीठो शान्ति र शीतलता बाँडिरहेछ । आज कोरोनाले मलार्ई एकान्त रोज्न बाध्य बनायो । मलार्ई म बुझ्न सिकायो । मलार्ई भीडदेखि पृथक रहेर बाँच्न सिकायो । कोरोना नआएको भए, म यो अनुभूति लेिख्थँनथेँ होला । कोरोनाले मलार्ई एकान्तमा रम्न सिकायो । यो दुनियाँमा लाखौँ मरे । भीडले मरे । भीडको छुवाइले मरे । कुनै वेला छुवाइ पनि यति पीडादायी हुदोरहेछ है ! । कुनै वेला स्पर्श पनि यति घातक हुदोरहेछ । जोडिनु त राम्रो हो भन्दै आएको हो हाम्रो पूर्वीय चिन्तनले तर यतिवेला जोडिनु आफैँमा घातक सिद्ध भएको छ । फरक भएर, एक्लिएर, बेजोडिएर बाँच भन्दैछ यो कोरोनाले । यो शताब्दीको त्रासदीमा मानिसको मन–मस्तिष्कलाई यसले यति धेरै घाइते बनाएको छ कि मानिसको आँखाबाट हत्पती यो हराउने छैन । भीडदेखि परपर भएकाहरू बाँचे । त्यसैले पनि एक्लो हुनु अभिशाप होइन । एक्लो हुनु आरोग्यताको चिन्ह पनि हो रहेछ भन्ने कुरा बुझ्दैछ, आज विश्वले पनि । मलार्ई म हुनु छ आज अनि मात्रै म भोलि अरूको हुनसक्छु । मलार्ई म हुनु छ आज त्यसपछि मात्रै म भोलि कसैको लागि काम लाग्न सक्ने हुनेछु । आजको यस भीडलाई मैले बिर्सिदिनुछ र भोलिको निर्विकल्प मनुष्यका लागि एउटा जितको कथा सुनाउनु छ मैले कि एक्लो हुनु स्वयं सत्य, शान्ति र स्वस्थ हुनु हो ।
………………………………………………………………………………….
(सिटौला विगत तीन दशकभन्दा अघिदेखि निरन्तर सिर्जना सक्रिय स्रष्टा हुन्)
laxmanrajsitaula@gmail .com