प्रश्नहरूको जङ्गल - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

प्रश्नहरूको जङ्गल

नीरा शर्मा

नीरा शर्मा

उता अस्ताएपछि
आमाको आँखाबाट
यता मेरो शिरमाथि
उदाउँछ घाम
र, पोतेर जान्छ
एक मुठ्ठी उज्यालो,

लागिरह्यो सधैँ
यो घाम मेरो हो
यो आकाश
यो बतास
यो धर्ती
यो प्रकृति
सबै सबै मेरा नै हुन्
म सबैकी हुँ !

मलाई जन्माउने बा–आमा मेरा
मैले जन्माएका सन्तान मेरा
साथीसँगी आफन्ती मेरा,

एकदिन
छोडेर हिँडे पनि मेरै हो लाग्ने
म जन्मेहुर्केको ठाउँ पुगेँ
बाँझै रहेछ खेतबारी,
समयको लयसँगै
बुट्यान र झाडी बढेर
जङ्गलामुलुक भएछन्
चौपाया चराउने गौचरन
जङ्गली जनावरहरूले
बसाएछन् बस्ती,
झ्याउँकिरीको सङ्गीतमा
बाँसघारीका पातबाट
निस्कँदोरहेछ बाजाको धुन,
गीत गाउँदारहेछन् चराचुरुङ्गी
घाँसको हरियो पहिरनमा
नाच्दै रहेछन् खेतबारी
र, भन्दै रहेछन्
यो त सबै नै हाम्रो हो

आकाशबाट देखेजस्तै
चाइनाको ग्रेटवाल
कमिलाका लामालामा ताँतीहरू
देखिनेरहेछन् आँगनमा,

झुल हालेर छेकेझैं लामखुट्टे
जाल फिँजाएर छेकिरहेथ्यो
पिँढीमा माकुरो

कीरा, फट्याङ्ग्र्रा र मुसाहरूको
युद्धभूमि भइसकेको रहेछ
आमाले भाँडाबर्तन नचाउने आदिमट
मैले मेरा ठानेका
सबै
मेरा लाग्न छोडे
मैले आफ्ना मानेका
सबै
आफ्ना लाग्न छोडे

खुसी खोज्न परदेशिएकी म
सबका नजरमा परदेशी भएँ
डलरको हरियो रङले पनि
हरियो हुन नसकेको मेरो खुसी
नयाँ लुगाको ट्यागझैँ
तुन्द्रु्ङ झुन्डिरहन्छ

हेरेर आकाशतिर
पोखरीमा जून टिप्न हामफालेको म
छिरेपछि नाकमुखबाट पानी
ठूलो स्वरमा निस्केछ
एउटा प्रेमिल शब्द– आमा !

प्रश्नका लस्करहरूले
लखेटिरहेछन् मलाई
कहाँ छु म ?
को हुँ म ?
कसकी हुँ म ?
को हो मेरो ?
कोसित छु म ?
को छ मसित?

यता अस्ताएर
उता उदाउने
यो घाम कसको हो?
तिमीलाई छिट्याएर
मलाई भिजाउने
यो झरी कसको हो ?
कसको हो यो बतास
जो हरदम तिम्रै माया सुसेलिरहन्छ ?
समुद्र ताकेर बग्ने
यी खोलानाला कसका हुन् ?
तिम्रै अँगालोको आभास दिने
यो धरती र आकाश कसको हो ?

भ्रम र यथार्थको
मझधारमा छु म यो वेला
एउटा उदास क्षण
उभिइरहेछ मेरा अगाडि ठिङ्ग,
र, गरिरहेछ हजारौँ अनुत्तरित प्रश्नहरू

यतिखेर
तिनै भ्रामक प्रश्नहरूको
भयानक जङ्गलमा छु म !

————————————
(हाल : भर्जिनिया, अमेरिका । शर्मा विगत दुई दशकदेखि सिर्जना विधामा निरन्तर कलम चलाउँदै आएकी स्रष्टा हुन्)
kaliktm@gmail.com