हामी बाँच्ने कलामा उत्साहित छौँ ? - Aksharang
  • २०७७ श्रावाण २७ मङ्गलबार

हामी बाँच्ने कलामा उत्साहित छौँ ?

याम–आयाम

याम–आयाम

समयको सदुपयोग नै जीवनको सदुपयोग हो र सायद समयको बर्बादी नै जीवनको बर्बादी हो । मलाई लाग्छ बाँच्नु एउटा कला हो– जसरी हाँस्नु, नाच्नु, गाउनु, अभिनय गर्नु जस्तै । दुनियाँमा सार्थक र निरर्थक दुवै कुरा छन् । कतिले निरर्थकतामै सार्थकता प्राप्त गरेको भ्रम अनुभूति गर्छन् भने कतिले सार्थकतामा जहिले पनि निरर्थकता हात लागेको अनुभूति गर्छन् । दुनियाँ हामीले सोचेभन्दा व्यापक छ र यहाँनिर लाग्छ, यो ‘व्यापक’ भन्ने शब्दले पनि दुनियाँको सेरोफेरो र विशालतालाई पूरा बुझाउन सक्दैन । हामी जति व्यापक बन्न सक्छौँ, वास्तवमा जगत् त्यति नै व्यापक देखिने हो । एउटा साधारण व्यक्तिले घरबार र आफ्नो गाउँको सेरोफेरोलाई नै आफ्नो संसार सम्झन पुग्छ भने एउटा असाधारण व्यक्तिले सारा भूमण्डल र त्यसभन्दा टाढाको सिमानालाई दुनियाँ भन्न पुग्छ ।
जगत् उही हो, उस्तै हो– सूर्य उही हो, चन्द्र उही हो, ताराहरू, आकाश, धर्ती, बादल, पानी, पहाड, हिमाल, तराई, वनस्पति, नदीनाला, जीवजन्तु सबै उही हुन्, उस्तै हुन् । आगो हिजोकै हो, आज पनि उस्तै छ– उत्तिकै पोल्छ । बाघ पनि उस्तै हो, बाघ हिजोकै हो– आज पनि गाईलाई खान्छ । आकाश, धर्ती, घाम, जून, वनस्पति, नदीनाला, जीवजन्तु यावत् सबै हिजोकै हुन् । आज पनि उस्तै छन्– उत्तिकै जीवन सबैलाई दिइरहेछन्– बदलामा पनि केही लिदैनन् । सबैको एउटा आ–आफ्नो निश्चित स्वभाव छ । आगोको पोल्ने, पानीको बग्ने, बाघले गाई र गाईले घाँस खाने । सायद मानिस मात्रै सृष्टिको एउटा स्वभावहीन प्राणी हो– जुन डाका, चोर, हत्यारा, बदमास, शोषकका साथै महात्मा, ज्ञानी, गुरू आदि अनेकौँ स्वभावमा विभाजित छ । साँच्चि नै मानिस कति स्वभावहीन, स्वभाव बाँच्न बाध्य छ ।
अहिले पनि मानिस आफूजस्तै मानिसबाट आउने खतराबाट सन्त्रस्त छ । आफूजस्तै मानिसबाट असुरक्षित भएर वास र मनको खोजीमा छ । सृष्टिको सर्वोत्कृष्ट र निकृष्ट प्राणी पनि उहिलेदेखि अहिलेसम्म मानिस नै देखिँदैआएको छ । एउटा मानवभित्र मानवता र दानवता सँगसँगै हुर्किरहेछ । कतिवेला मानवताले जित्छ, कतिवेला दानवताले जित्छ– कति अमिल्दो र कस्तो अनौठो संयोग ! अमृतसँगै विष, फूलसँगै बिच्छी । उज्यालोसँगै अँध्यारो, सौन्दर्यसँगै विरूपाक्ष । सँगसँगै छन्– सुकर्म र कुकर्म । हामी आफैँले रोज्नुपर्छ अर्थात् हामी आफैँ रोज्छौँ– र जीवनको अन्तिमतिर हिसाबकिताब निकाल्छौँ– कति खुसी हुन्छौँ, कति पछुताउँछौँ– अनि भन्छौँ सायद मेरो नियति नै यस्तै थियो । मेरो कर्मै खोटो ।
लाखौँ छन् व्रmस भिर्नेहरू तर इसा अर्को आउन सकेन । गेरूवस्त्र पहिरिनेहरू लाखौँ छन् तर बुद्ध अर्को बन्न सकेन । सबै वनवास जाने र श्रीमतीहरू त्याग्ने राम भएनन् । हातमा मुरली बोकी हज्जारौँ सुन्दरीहरूसँग नाच्ने पनि भए– तर तीमध्येबाट कृष्ण कोही निस्केन । बेलाइतमा एउटै भए शेक्सपियर, एउटै भए बर्नाड शा । फ्रान्समा एउटै भए सात्र्र, भारतमा एउटै भए तुलसीदास, कालीदास, एउटै भए, रवीन्द्रनाथ । लाखौँ छन् कछाड मात्र बेरेर हिँडने नाङ्गा मानिसहरू– त्यसबाट एउटै गान्धी फेरि जन्मेन । नेपालमा एउटै भए भानुभक्त, एउटै भए मोतीराम, देवकोटा, सम, लेखनाथ, एउटै भए नारायणगोपाल, एउटै भए पृथ्वीनारायण, एउटै भए विश्वेश्वर कोइराला । अब सोचौँ– संसारमा धेरै राजाहरू भए, मन्त्रीहरू भए । अझ हुन्छन्, अझै हुनेछन्– तर ती जो स्वनिर्मित भए, तिनीहरू सधैँ एउटै हुन्छन्, ती कहिल्यै अर्को हुँदैनन् । अब हामीले चुन्नुप¥यो– हामी समूह भएर समूहमै हराउने कि, कठोर त्याग र अध्ययनबाट आफूलाई यो दुनियाँमा एउटै बनाउने ?
ठूलो मान्छे सायद एउटा नमीठो भ्रम हो । भ्रम आँखामा छारो हाल्ने एउटा यान्त्रिकता मात्र हो । अहिले हामी यसैका पछाडि अन्धधुन्ध दगुरिरहेछौँ । सम्पूर्ण विद्यालय, विश्वविद्यालय सम्पूर्ण उद्देश्य– यही ठूलो मान्छे बनाउने कुरामा केन्द्रित छ । यहाँनिर प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘मोदिआइन’ उपन्यासमा अङ्कित–‘बाबु असल मान्छे बन्नू, असल मानिस एउटै हुन्छ, ठूला मानिस थरीथरीका हुन्छन्’ अर्थात् ठूलो मान्छे नबन– यस्तै केही छ । हुबहु उस्तै हरफ यहाँ सम्झन सकिनँ । साँच्चि नै यति छोटो र संक्षेपमा कोइरालाले ठूलो मान्छे र असल मान्छेका बीचमा कत्रो सिमाना कोरेका छन् । मानवसभ्यताको यस युगसम्म आइपुग्न मानवइतिहासले खप्नुपरेको अनेकौँ प्रहारहरूको कति सूक्ष्म ज्ञानको कुरा कोइरालाले गरेका छन् । त्यसको टड्कारो विम्ब हो– ‘असल मानिस एउटै हुन्छ, ठूला मान्छे थरीथरीका…।’
जो सुखी छ, त्यो आनन्दित छैन । जो आनन्दित छ, त्यो सुखी छैन । सुख जोड्न सकिन्छ तर आनन्द बजारमा किन्न पाइँदैन । सुख वाह्य हो भने आनन्द आन्तरिक हुन्छ । सुख अथवा दुःख आ–आफ्नो अनुभूतिको यथार्थ हो । यो यथार्थमाथि उठेर समग्र विश्वकै सुख र दुःखको सन्दर्भ सोच्नु नै एउटा सिङगो मानवीय पूर्णता हो । तर अहिले हामी आफैँ, आफ्नै परिवार, आफ्नै नातागोताका सुखसुविधा सोच्नुभन्दा कति माथि उठेका छौँ, यो व्यापक दुनियाँमा आउने अवसर पाएका हामी, हामीभित्रै खुम्चेर कति आर्त स्थितिमा बाँचिरहेछौँ । एकपल्ट त सोच्नैपर्छ, वास्तवमा हामी कति प्रतिशत मान्छे बाँचेका छौँ, हामी साँचो अर्थमा कति मान्छे बाँचेका छौँ ? के हामी बाँच्ने कलामा साँच्चै उत्साहित छौँ ?