कथाभित्रको व्यथा - Aksharang
  • २०७७ श्रावाण २७ मङ्गलबार

कथाभित्रको व्यथा

प्रेमप्रकाश मल्ल

प्रेमप्रकाश मल्ल

असार सकिँदै थियो । असार सकिए पनि किसानका दुःखहरू कहिले पो सकिन्छन् र ! गाउँभरिको रोपाइँ नसकिँदासम्म मेलामा हिँडिरहनुपर्ने । यसपालि भने कोरोना आतङ्कले अलि सानो–सानो समूहमा काम गर्दैथियौँ । जसले विगतका रोपाइँहरूभन्दा अझ आनन्द कम र सास्ती बेसी दिँदैथियो । एकातिर कामको चाप र अर्कोतिर फेसबुकको लत । मेलामा जानुपूर्व अलिकति समय चोरेरै भए पनि फेसबुक खोल्नैपर्ने । त्यस दिन पनि खोलेँ । सुरुमा मलाई जहिल्यै मेसेन्जरका राता सङ्केतहरू हेर्न मन लाग्छ । त्यस दिन पनि सबैभन्दा पहिले त्यहीँ हेरेँ । हेर्दाहेर्दै थपिएर एक जना अपरिचित व्यक्तिले भने–
‘हाइ ! के छ, सन्चै छौ ?’
मैले आश्चर्य मान्दै भनेँ– ‘ठीकै छु ।’
‘गाउँघरतिर नि ?’
‘ठिकै छ ।’
फेरि पनि उस्तै जवाफ दिएर भनेँ– ‘मैले त चिनिनँ नि ।’
‘मैले पनि शङ्काले मात्रै हो ।’
‘अनि नचिनेको मान्छेलाई किन सोधेको त ?’
‘गाउँघरको मायाले ।’
‘त्यसो भए गाउँघरलाई नै सोध्नु नि त ।’
‘गाउँघरले पनि त भुल्यो होला नि ।’
‘अहिले कहाँ हो र ?’
‘भारतको गुजरात ।’
‘कहिले हो र गएको ?’
‘औँला भाँच्नुपर्छ ।’
‘बाँकी केही भन्न मिल्दैन ?’
उनले तुरुन्तै लेखिहाले– ‘तिम्रो इमेल एड्रेस पठाऊ न ।’
मैले लेखिदिएँ‐’chandra30@gmail.com’
उनीसँगको यो संवादले मेरो मन ठेगानमा रहेन । उनले पनि त्योभन्दा बढी मरिगए ओकलेनन् । मनभरि छटपटी थियो तैपनि चुपचाप स्याखु बोकेर रोपाइँतिर झरेँ । बाटैमा भेटिनुभयो सिञ्जाली माल्दाइ– ‘ठूली मैयाँ ! जेठब्वा घरै हुनुहुन्छ ?’
‘अँ, हुनुहुन्छ । किन र माल्दाइ ?’
‘बोके पाठाको सल्लाह गर्न प-यो त ।’
‘गाउँ बिग्रिन त दिन भएन नि ।’
‘केका लागि ?’
‘कोरनाको लागि के ।’
गाउँले सबै मिलेर कालिका पुज्ने सल्लाह भएको कुरा हिजै सुनिसकेकी थिएँ । काममा पुग्नुको हतारले खासै प्रतिवाद पनि गरिनँ । रोप्दै गर्दा राधाले भनी– ‘फुपू हेर्नु न, कालिकालाई पाठा दिएपछि कोरोना हट्छ अरे ।’ उसको कुरामा हामी गलल्ल हाँस्यौँ । हामी हाँसेको देखेर केही बूढाबूढीहरू रिसाए । तैपनि मलाई छोएन । भित्री मनमा गएको भुइँचालोको परकम्पनले दिनभरिजसो नै अन्तरकुन्तरमा म हल्लिरहेँ । को होला त्यो मान्छे ! मनमा कुरा खेल्दैजाँदा बाल्यकालदेखिकै सम्झनाहरू मनभरि उभिन थाले । हुँदाहुँदै तीनवटा अनुहार त झन् आँखैमा आए । तिनीहरूमध्ये पनि सबैभन्दा अघि आयो सेते । ऊ माथि मुखिया बाजेको घरमा बस्थ्यो । विनाबाबुको छोरो । उसकी आमाले कुन्नि कसको नासो बोकेकी थिइन् रे । एकदिन त्यो सार्वजनिक भएछ । तर तत्कालीन पञ्चले पनि टुङ्गो लगाउन सकेनछ । सानामा सँगै खेल्दा उसलाई अरूले हेपेको देख्दा, मेरो मन कटक्क खान्थ्यो । अन्जानमै एकदिन उसबारे सोधेकी थिएँ– ‘मुमा ! विनाबाबुका पनि छोरा हुन्छन् र ?’
‘किन र ? के सोधेकी ?’
‘होइन के, सेतेलाई सधैँ अरूहरूले किन त्यस्तो भन्छन् त ?’ त्यसपछि मुमाले सुटुक्क भन्नुभएको थियो,
‘माथि माइला दर्जीकी छोरी बिचरा सेतेकी आमा ! साइँला साइसित बिग्रिएपछि ठालुहरूले सुन खाएर उसलाई विनाबाबुको छोरो बनाइदिएका हुन् । मरिसकेका डाँडाका तिरुवालाई पोल्न लगाए तर त्यो कसैले पत्याएन ।’
त्यति वेला मुमाका ती रहस्यमयी कुराले म झनै झस्किएकी थिएँ । ठूलो हुँदैगएपछि सेतेले झन् लाज मान्न थाल्यो र मुग्लान् पस्यो । हामीले उसलाई यस ठाउँमा फेरि कहिल्यै देखेनौँ । कतै उही त होइन ? मेरो मनमा शङ्काले गुँड लगाउन थाल्यो ।
फेरि अर्को अनुहार आयो, धारापानी कालेको । कालेका बा–आमालाई हैजाले लगेपछि बिचरा उसले साह्रै दुःख पायो । ऊ गोठाला नबसेको घर पनि गाउँमा थोरै होलान् । लाज मान्ने भएपछि ऊ पनि इन्डियातिरै पस्यो, कतै उही त होइन ?
त्यसपछि अर्को अनुहार आयो आँखामा । उनै प्रमोदको ! जसको मायाको पासोमा परेर मैले जिन्दगी आधा बाँचेकी छु । कतै उनै त होइनन् ? मनमा यसरी नै अनेक तरङ्गहरू चल्दाचल्दै अर्नी खाने वेला भइसकेछ ।
हल्लाखल्लाकै बीचबाट माझघरे भाउजू कराउनुभयो । सबै जना गयौँ ।
‘लल, पैला उता दिनू त मैयाँ ।’
‘खै, खुर्सानी फाल्नू त दुईचारवटा यता । ह…ह ।’
‘ए, कान्छी गोरु हेर त एकछिन ।’
हल्ला अनेक भइरह्यो ।
कोइरालको पूmलमा आँप मिसाएको अचार, डौँठेको तरकारी, गहुँको रोटी र बर्केनो भैँसीको दही ।
बाँड्दाबाँड्दै मुखै रसायो । खाजा खाइसकेपछि रोपार्नीहरूले बालीअसारे गाए । हलीहरूले गोरु दौडाए । साँझपख परेको ठूलो पानीले रोपाइँलाई पनि रोपाइँजस्तै पारिदियो । भकारी घुम्दा तल्लाघरे दाइ हिलोमा दाँत मात्रै देखाएर चोपलिँदै हुनुहुन्थ्यो । तैपनि मेरो मन तानिएन । बरु कति वेला घर पुगेर फेसबुक खोलूँ भन्ने भइरह्यो ।
सधैँझैँ साँझ घर पुगेपछि हतपत मेल खोलँे । जसमा निकै लामो कथा आएर मलाई पर्खिरहेको रहेछ–
‘मैले त्यो गाउँमा पाइलो हालेदेखि नै मेरो सबैभन्दा मन मिल्ने साथी भएको हो कृष्ण । उस्तै–उस्तै पीडाले डामिएका ऊ र म दैवको कठोर लट्ठी लागेर विक्षिप्त जीवन भोगिरहेका थियौँ । ऊ सधैँको गोठालो, म सधैँको स्कुले । बिदाको दिनमा गोठाला जाँदा ऊ भन्ने गथ्र्यो, ‘प्रमोद ! तिमी बिदामा सधैँ गोठाला आऊ है । तिमीलाई देखेपछि मेरो मनको विरह घट्छ ।’ म ‘हुन्छ’ भन्थेँ । मान्छे सानो भए पनि ऊसँग धेरै कला थियो । गिठीको खुर्पेटोमा आरुफुले पाइन भएको आँसी र वनबाँसको बाँसुरी ऊ कहिल्यै छोड्दैनथ्यो । मीठामीठा भाका र बाँसुरीको धुनले उसले सधैँ वनै लट्ठ्याउँथ्यो । त्यसैले होला मलाई पनि प्रायः विद्यालयको पढाइले भन्दा कृष्णकै बाँसुरीले तानिरहन्थ्यो ।’
‘बर्खे बिदाको त्यो दिन गोठालाहरू कोही भातु थिच्दै थिए । कोही तिउरी लाउँदै थिए । कोहीचाहिँ अलि तल चहुरमा डन्डीबियो खेल्दै थिए । कृष्ण र म भने देउरालीनिरको ठूलो ढुङ्गामा बसेका थियौँ । म उसको बाँसुरी बजाउन सिक्दैथिएँ । ऊ भने मेरो कलम लिएर के–के चित्र कोर्न थाल्यो । हेर्दाहेर्दै उसको चित्रमा विद्यालय आयो । शिक्षक–विद्यार्थी आए र त्यहीँबाट रुँदै गोठाला जाँदैगरेको आपूm पनि आयो । तर त्यति सुन्दर चित्रमा प्रयोग भएको मनोभावना बुझ्ने त्यति वेला म भइसकेको थिइनँ हुँला । चित्रको तल उसले सुन्दर अक्षरमा आफ्नो नाम पनि लेख्यो– कृष्ण विरही । म उसका अक्षरले छक्क पर्दै सोधेँ– ‘कृष्ण ! तिमीले पनि स्कुल जान पायौ’ ?’ त्यति सुन्नेबित्तिकै उसले आफ्ना कुराहरू सुनाउन थाल्यो–
‘प्रमोद ! म साह्रै अभागी रहेछु । पाँच कक्षासम्म पढ्दा मेरा खुट्टाले जुत्ता चिनेका थिएनन् । सधैँझैँ वार्षिक परीक्षामा त्यस वर्ष पनि प्रथम भएपछि बाले मलाई एक दिन हरिया जुत्ता ल्याइदिनुभयो । त्यस दिन मलाई खुसीले बाको गलामै झुन्डिरहूँजस्तै लागेको थियो । उडेरै सँगीहरू भए ठाउँ पुगूँ–पुगूँ लागेको थियो । त्यस्तो लागेपछि म हावासँगै जीवनको घरतिर हिँडेको थिएँ । तर उसको घरमा नपुग्दै बाटामा मैले केही बिराना मानिसहरू देखेँ । नजिकै भेट भएपछि एउटाले भन्यो– ‘ए फुच्चे काँ जान लागिस् ?’ मैले डराइडराई ’उ…तल जीवनको घरमा’ भनँे । ‘तेरो घर कुन हो ?’ अर्काको प्रश्न थियो यो । मैले ‘उ… त्यो’ भनेर चोर औँला तेस्र्याइदिएँ । ‘हिँड् घरतिर’ भनेर उनीहरूले मलाई त्यहीँबाट फर्काइदिए । म लुरुलुरु उनीहरूसँगै घर आएँ । मलाई त्यस अवस्थामा देखेर बा मात्रै होइन, सानी बहिनी पनि अँधेरी भई । लुगा सिइरहनुभएका बाका हातहरू पनि जहाँको त्यहीँ रोकिए । हेर्दाहेर्दै उनीहरूले बासँग दह्रा हात मिलाए । पानी पिएपछि एउटाले सोध्यो– ‘अस्ति भर्खरै हाम्रा साथीहरूले झन्डा र ड्रेस सिलाएको यहीँ हो कमरेड ?’ बाले सुस्तरी ‘हो हजुर’ भन्नुभयो । अनि के–के कुरा गर्दागर्दै एउटाले आवेशमा आएर भन्यो– ‘ए केटा, ठोक् साले माओवादीलाई !’ गोली चल्यो भटटट…। त्यसपछि हामी चिच्याउन थाल्यौँ । बेहोसीमै पनि बा भन्दै हुनुहुन्थ्यो, ‘प्रभु…मैले केही बिराएको छैन । नमार्नूस् । मेरा बालबच्चाहरूको बिजोग हुन्छ…!’ तैपनि उनीहरूले सुनेनन् । बाकै अघि आमामाथि पनि अनेक अभद्र व्यवहार गरे र बाको बीभत्स हत्या गरे । त्यो रात हाम्रो घरमा सान्त्वना दिनसमेत कोही आउन सकेनन् । भोलिपल्ट कुन्नि के–के कुरा गरेपछि लासलाई खोलातिर लिएर गए अनि मलाई डराइडराई किरिया बसाले ।’

कुरा गर्दागर्दै कृष्णको गला अवरुद्ध भयो । मेरा आँखा रसाएर झरी बने । अलि सजिलो भएपछि ऊ पुनः अघि बढ्यो–
‘त्यसै दिनदेखि बेहोस हुनुभएकी आमाको होस कहिल्यै फर्किएन । पागल्नी भएर आमाले घर छोडेपछि बहिनी र म काकाको घरमा बस्न थाल्यौँ । निकै पछिसम्म पनि म सपनामा ती डरलाग्दा दानवहरूलाई देख्थेँ र चिच्याएर रुन्थेँ । काकीले साह्रै नराम्रो वचन लगाउँदै भन्नुहुन्थ्यो– ‘यो टोकाहा किन चिच्याउँछ हँ रातिहुँदी !’ उहाँको तिखो वचनले भित्र कतै चस्स दुख्थ्यो । अनि विपनामा पनि आँखाभरि आँसु र मन गह्रौँ भएको हुन्थ्यो । तर जे भए पनि काकाले गर्दा हामी कहीँ जान सकिनौँ । आजकाल त ठूला भयौँ । आपैmँ पनि गरिखान सक्छौँझैँ लाग्छ । तैपनि हामी गोठाला हिँड्दा र काकाका छोराछोरी स्कुल हिँडेको देख्दा साह्रै मन दुख्छ ।’
उसका कुराले मेरा आँखा थामिएका थिएनन् । मेरो अवस्था देखेर उसले सोध्यो– ‘प्रमोद के भएको छ र तिमीलाई ?’ मैले गला भारी बनाउँदै भनेँ– ‘मेरो पनि त आफ्नै कथा छ !’ त्यसपछि उसले पनि बुझ्यो, अब सुन्ने पालो हो मेरो । उसले साह्रै चासो राखेपछि म पनि आफ्नो अतीत सुनाउन विवश भएँ–
‘मेरा बुबा शिक्षक हुनुहुन्थ्यो । सबैलाई आँखा देखाउने । साह्रै स्वाभिमानी, निडर र दयालु पनि हुनुहुन्थ्यो । सायद त्यसैले होला, गाउँलेहरू पनि उहाँलाई औधी मन पराउँथे, पत्याउँथे । हामीलाई यस्तो लाग्थ्यो कि हाम्रो बुबा छइन्जेल यस संसारमा हामीलाई कसैले केही गर्न सक्दैन । तर त्यो विश्वासले एकरात साह्रै नराम्रो गरी धोका खायो । केही नयाँ र पुरानो गरी १०–१५ वटा अनुहारहरू त्यस रात हाम्रो घरमा देखिए । त्योभन्दा पहिले पनि माओवादीहरू हाम्रो घरमा त्यसरी नै आउनेजाने गर्थे । तर त्यसदिन भने उनीहरू भिन्नै स्वरूपमा आएका रहेछन् । कसैले घर घेरे अनि कोही भित्र पसेर बुबालाई अपमानित ढङ्गले बाहिर निकाले । बुबा भन्दै हुनुहुन्थ्यो– ‘तपाईंहरू सत्यतथ्य बुझेर मात्रै कसैलाई कारबाही गर्नुहोस् । तपाईंका भरौटेहरूले बोलेको जम्मै ठीक । तपाईंहरूले बोलेको सोह्रै आना साँचो । अरूले बोलेको जम्मै बेठीक, जम्मै झुटो ! यो कहाँको न्याय हो ? हेर्नूस्, म मानव हुँ । मानव हुनुको नाताले मैले कालोलाई कालो र सेतोलाई सेतो भन्नैपर्छ ।’…बुबा यसरी नै कराउँदै हुनुहुन्थ्यो । उनीहरू लछारपछार गर्दै थिए । सँगसँगै कराउनुभएकी मुमालाई पनि बुबासँगै लिएर गएपछि हामी आकाश खस्ने गरी रोयौँ तैपनि हाम्रो आँसु पुछ्न कोही आएनन् ।’
‘कृष्णका आँखाबाट अविरल मोतीका दानाहरू गुड्किरहेको देखेपछि मैलै यहाँभन्दा बढी केही भन्न सकिनँ । केही समय सुँकसुँकाएपछि उसले फेरि सोध्यो– ‘अनि त्यसपछि के भयो त भन न !’ मैले भनेँ– ‘अनि हाम्रो सुन्दर संसारमा एकाएक असह्य वज्र प¥यो । हामी सदाका लागि अनाथ भयौँ…। धेरैपछि थाहा भयो– उहाँहरूको बीभत्स हत्या भएछ । त्यहाँको क्रन्दनले त्यस रात स्कुल वरिपरिका मानिसहरू कोही पनि निदाउन सकेनछन्… ।’
‘भन्दाभन्दै पनि बाँकी कुराहरू भन्न सकिनँ । नभने पनि हाम्रा आँखाहरू उसैगरी बगिरहेकै थिए । एउटा कुरा भने उसैको झन् बिझायो मलाई । बिचरा ! उसले त्यसपछि कापीकलमसँग कहिल्यै भेट गर्न पाएनछ । मलाई पनि त्यहाँबाट हाइस्कुल पढ्न मामाकहाँ पठाउँदा सरम्याडमहरू धेरै रुनुभएको थियो । मातापिताको मायाले म पनि धेरै पग्लिएको थिएँ । मलाई त्यति बेला त्यस नयाँ गाउँको न्यास्रो मेटाउने एक मात्र साथी उही कृष्ण भेटिएको थियो । उस्तै–उस्तै पीडा भएर होला त्यसपछि हाम्रो मित्रता झन् गहिरो हुँदैगएको थियो ।‘
‘कक्षा नौमा भर्ना भएदेखि नै मलाई गुरुहरूले पनि धेरै माया गर्नुहुन्थ्यो । साथीहरूले पनि राम्रै गर्थे । तैपनि मलाई कृष्णको मायाले शनिबार नै सर्वथा प्रिय लागिरहन्थ्यो । मनभरि कृष्ण बोकेर हलुङ्गो हुँदै गइरहेको मलाई पढाइमा भने औधी माया गर्ने साथी भेटिएकी थिइन् चन्द्रा । जिन्दगीको यात्रा रहरले मात्रै होइन, समयको दबाबले नै बढी तय गर्दाे रहेछ । मलाई आज पनि यही कुरा खट्किरहन्छ । नभए कसरी चन्द्रासँग पढाइसँगै जोडिएको नाता प्रेममा पुगेर जिन्दगी दुःखाइरहने घाउ हुन्थ्यो होला ! तर भयो नै त्यस्तै । हो, हामी आपसी निकटताले थाहै नपाई कहिल्यै छुट्टिन नसक्ने गरी गाँसिएछौँ । म कहिलेकाहीँ हार खाएर भन्थेँ, ‘चन्द्रा ! थाहै नपाई डुबिने प्रेमको सागरबाट थाहा पाएर पनि निस्किन सकिँदो रहेनछ ।’ उनी पनि आँखाभरि आँसु बनाउँदै भन्थिन्, ‘अब म पनि तिमीबाट छुट्टिएर बाँच्न सक्ने कल्पनासमेत गर्न नसक्ने भइसकेकी छु ।’… यस्ता अनेक अन्तरङ्गमा हामी कैयौँ एकान्तहरू काट्थ्यौँ । मनका भावनाहरू साटेर हलुङ्गा हुन्थ्यौँ । साह्रै भएपछि एकदिन भनेको थिएँ, ‘चन्द्रा ! माया नै गरे पनि मजस्तो घर न घाटको मान्छेलाई किन ग¥यौ यसरी !’ उनी त्यस दिन बेहोसै हुनेगरी रोएकी थिइन् । त्यसपछि मैले उनको चित्त जानी–जानी कहिल्यै दुःखाएको थिइनँ । आज पनि सम्झिँदा अचम्म लाग्छ, उनीभित्र के थियो होला त्यस्तो, जसले मलाई जुनीभरि रुवाइरहेको छ ।’
‘त्यति बेलाको त्यो हाम्रो रुमानी प्रेम अरूलाई ढाँटे पनि कृष्णलाई म ढाँट्न सक्दिनथेँ । तिनताका चन्द्रासँगको हेलमेलले ऊसँगको सम्बन्ध भने केही पातलिएकै हो । तैपनि हामी एकअर्काको मनको भारी बिसाउने चौतारी हुनबाट भने कहिल्यै वञ्चित भएनौँ ।’
‘अर्को वर्ष फेरि आइपुग्यो दसैँ । आपूm जन्मिएको घरमा गएँ । वरिपरि झारपात उम्रिरिएर झन् बिरानो हुँदैरहेछ घर । तैपनि मुमाले दूधभात खुवाएर बुबाले प्यारसँग स्कुलतिर लिइहिँडेको सम्झना आइरह्यो । टीका लगाउँदा आँखा अनायासै रसाएपछि अङ्कलले भन्नुभयो– ‘लोग्नेमान्छे भएर पनि रुनु हुन्छ त केटा ! किन रोएको, हामी छैनौँ र ?’ अभैm पनि मन थामिएन । निन्याउरी बहिनीलाई देखेर झन् मन भारी भयो । बुबामुमाको काखमा छँदा बहिनी निहुँ खोज्थी, म यसलाई दाउ छोपी–छोपी रुवाउँथेँ तर आज हामी दुवैलाई दैवले रुवाउँदै छ भने भैmँ लागिरह्यो । केही समयपछि बहिनीलाई लिएर फेरि मामाको घरतिर लागेँ । बाटाभरि टीकाजमरा लगाएका मानिसहरू पिङ खेल्दै रमाउँदै गरेका भेटिन्थे । स–सानाहरू पनि आ–आफ्ना आमाबुबा र दौँतरीहरूसँगै खुसी देखिन्थे । तर हामी भने आँखामा मातापितालाई लिएर हिँड्दैथियौँ । त्यसपछि भने दुईचार दिन भए पनि बहिनी मसँगै मावलमा रमाउन पाएकी थिई । तर अभागीहरूको जीवनमा खुसी भन्ने कुरा कति दिन नै पो रहन्छ र ! पूर्णिमापछि एकदिन ‘तिहारमा आउँछु’ भन्दै बहिनीलाई फेरि पनि अङ्कलकहाँ नै छोडी फर्किएँ ।‘
‘दसैँ बिदाका केही दिन बाँकी नै थिए । कृष्ण र म सधैँ गोठाला जान्थ्यौँ । मन साटासाट गथ्र्यौँ र हलुका हुन्थ्यौँ । तर एउटा दिन यसरी आयो कि जसको सम्झनामा आज पनि म आपूmलाई समाल्न सक्दिनँ । त्यस दिन हामीले गाईबाख्रा सल्लाघारीतिर लगाएर नजिकैको ओडारमा बस्यौँ । आकाश धुम्मिएर पानी पर्ला–पर्ला जस्तै भएको थियो । मेरो मन भने खै किन हो, चन्द्राको सम्झनामा अलि बेसी नै बहकिएको थियो । त्यत्तिकैमा कृष्णले एक्कासि भने– ‘प्रमोद ! हेर त केका हुनन् यी आल्लै पाइला ?’ मैले हेर्दै भनेँ– ‘दुम्सीको रैछ । ए, यो दुलो त्यति लामो छैन, पसम् है ?’ त्यसपछि लाइटरको उज्यालो बाल्दै हामी भित्र पस्यौँ । नयाँ भकारीसम्म पुग्न नसकिएपछि म बाहिर आएँ । माली गाई अलि छुच्ची थिई । उसलाई ओरालो लागेको देखेपछि म फर्काउन गएँ । अरू गोठालाहरू पनि तल चहुरमा खेल्दै थिए । कृष्ण कराएको सुनेँ– ‘ए प्रमोद, मैले के भेट्टाएँ यार !’ त्यो आवाजले हतारिएर दौड्दै थिएँ, एक्कासि संसारै थर्किने गरी ठूलो विस्फोट भएको सुनेँ । त्यहाँ पुग्दा हातगोडा लगलग कामेर ठेगानमा थिएनन् । रगतपच्छे अवस्थामा छटपटाउँदै गरेको कृष्णलाई देखेर म एकोहोरो चिच्याएँ । गोठालाहरू जम्मा हुँदानहुँदै अन्तिम समयमा कृष्णलाई एक घुट्की पानी पनि दिन नसकी म रुँदै भागेँ । आज पनि मलाई त्यो पश्चात्तापले पोलिरहन्छ । डर, थकाइ र भोकले ग्रसित म कैयन् गल्छेडा र चिरेटाहरू काट्दै एउटा घट्टमा पुगेँ । घट्टाला बाजेले सोधे– ‘को हौ, काँबाट आयौ बाबु यसरी ?’ म डरले बोल्नै सकिनँ । उनले मेरो दुःख बुझेछन्, ‘किन डराएको ? नडराऊ, म पनि तिम्रै बुबासरहको मान्छे त हुँ नि । तिम्रो दुःख हटाउन नसके पनि भोकतिर्खा अवश्य देख्न सक्छु । बस, रोटी बनाउँदै छु, खाएर यहीँ सुतौला । भोलि उज्यालो भएपछि तिमीलाई छेक्दिनँ ।’ त्यस रात ती बाजे मलाई सच्चा भगवान्जस्तै लागे । बिहानै त्यहाँबाट हिँडेको म एघार बजे सुर्खेतबजार पुगेँ । निधारभरि टीका लगाएका केही मानिसहरूलाई देख्दा अलिकति आशाको मुना पलायो । नजिकै गएपछि एकजना नाइके जस्ताले सोधे– ‘काँ जानी हो कान्छा ?’ मैले मलिन हुँदै भनेँ– इन्ड्यातिर जान हिन्या हो । सँगीहरू छुटेर…।’ केही कुराकानी भएपछि उनले हातको एचएमटी कुइनर घडी बेचिदिए र नपुगेको गाडीभाडा उठाएर मलाई यहाँसम्म ल्याइदिए ।’
‘त्यसपछि पनि प्रदेशी जीवनका अनेक दुःखहरू नभोगिएको कहाँ हो र ! तर निष्ठुर मान्छे होइन, समय हुँदोरहेछ । दिन, महिना र वर्षहरू हुँदै त्यही समयले मलाई अररो बनाउँदै लगेको मैले पनि पत्तै पाइनछु । त्यो प्यारी बहिनी, मुटुमै बसिरहने चन्द्रा अनि गाउँघरको सम्झनामा छिप्पिएको दशकौँ भइसकेछ । कैयन् लतकुलतमा डुबेर जिन्दगी सकिँदैगरेको आज बल्ल बुझ्दैछु । यसका पनि अनेक कथा छन् । तर अहिल्यै भन्न सक्दिनँ । सुध्रिएको छु, कुनै दिन अवश्य नै सुनाउने छु । सङ्कटमा गाईबाख्राहरू जङ्गलबाट भागेर घर फर्किए जस्तै आज विश्वका धेरै ठाउँबाट नेपालीहरू पनि धमाधम आआफ्ना घर फर्किँदै छन् । तर म भने…!‘
आफ्नै कथा रहेछ भन्ने थाहा पाइसकेकी थिएँ । ठाउँठाउँमा रुँदै पढेँ । पढ्दापढ्दै अनेक ठाउँमा रोकिएँ । रातको १० बजिसकेको रहेछ । बुबामुमा रिसाउनुभएको थियो तैपनि चुपचाप खाएजस्तै गरेँ र निद्रा नलागे पनि सुतेँ । निद्रा नलागेको रात झन् धेरै लामो पो हुन्छ त । आजसम्मको मेरो प्रतीक्षाको घडीले बाजी मारेको क्षण थियो त्यो । कति वेला उज्यालो होला र भिडियो कल गरूँला भन्ने आशामा थिएँ । मलाई बूढीकन्या मिस भन्नेहरूको जवाफ अब मैले होइन, मेरो सिउँदोले दिनेछ भन्ने सम्झिएर म त्यस दिन घाम नउठ्दै उठेँ । तैपनि उनी सात बज्दासम्म पनि फेसबुकमा झुल्किएनन् । बरु घामसँगै गाउँमाथि लाखौँको सङ्ख्यामा सलहहरू झुल्किए । गाउँभरिका मान्छेहरू थाल, बाजा, जर्किन, डेग आदि बजाउन थाले । ठाउँठाउँमा आगो बाले तैपनि मेरो मनमा उनको हतारोले छोडेन । सोचेँ– ‘कोरोनालाई कालिका पुजेपछि हट्छ भन्ने चेतना बोकेको मेरो गाउँले अब यो सलहचाहिँ कसरी हट्छ भनी पत्याउला ! यस्ता कैयन् दुःख र अन्धविश्वासहरूमा गाउँ कहिलेसम्म हिँडिरहला !’ त्यति पनि एकैछिन झुल्किएको मात्र हो मनमा । फेरि पनि मन अडिएन बाहिर । कोठामै पसेर ल्यापटपमा लागेँ । लागे पनि समय झन् बेसी तन्किरहेको थियो । समयको तन्काइसँगै कथाभित्रको त्यो गहिरो व्यथाले मलाई झन् बढी छोइरहेको थियो ।
………………………….
(मल्ल स्थापित स्रष्टा हुन्)
mallaprem40@gmail.com