ऐ नानीहरू ! - Aksharang
  • २०७७ श्रावाण २७ मङ्गलबार

ऐ नानीहरू !

श्रवणकुमार ढुङ्गाना

श्रवणकुमार ढुङ्गाना

निस्क बाहिर !
उचालिएर आकाश छुन
बजारेर खुट्टा धर्तीमा
टेकेर चप्पलले होइन
पाइतालाले
उडाउँदै धूलो
आँधीमा उठेजस्तै क्षितिजमा बादल
उचालिनेछ धूलो
र खस्नेछ फेरि
निफन्दा नाङ्लोमा उचालिएको धान खसेजस्तै
घामपानीमा स्वर्गबाट इन्द्रको धनुष खसेजस्तै ।

हेर गोधूलिमा,
खेतबाट फर्किंदै गरेको गोरूजस्तै
फर्किंदै गरेको
आफ्नी प्रियतमाका लागि देखेको
अधुरो सपनाको
असफलताको दमित कथा लुकाउने बोझले
क्लान्त अनुहारका धर्साहरू
र तिम्रा लागि कलम
बोकेर
आउँदैगरेको एक अनुहार !
तिमी ती धर्साहरूमा नजाऊ
ती नसुल्झने उल्झन तिम्रा होइनन्
तिम्रा त ती अस्ताउँदै गरेका घाम हुन्
भोलि तिम्रै लागि
फगत् तिम्रै लागि
तिम्रो ओछ्यानसम्म
तिमीलाई उठाउन आइपुग्ने छन् ।

निस्क बाहिर ’
पातमा टल्किन नपाएर
धर्तीमा आँसुझैँ टप्केका शीतहरूका लागि
फूलहरूको हात उमार,
बोलाऊ लुप्त हुँदैगएका चराहरूलाई
चिरबिरचिरबिर गीत सुन तिनका
र सुनाऊ तिनका कथाहरू
यस माटोलाई
यस आकाशलाई
र यिनलाई निष्प्राण बनाउँदै गएका मानिसहरूलाई !

तस्बिरहरूमा होइन
चलायमान चित्रहरूमा होइन
जाऊ खोज्न
नाङ्गै खुट्टा
जान !
माटोको स्पर्श कस्तो हुन्छ ?
काँडाको बिझाइ कस्तो हुन्छ ?
हिउँको पोलाइ कस्तो हुन्छ ?
घामको अँगालो कस्तो हुन्छ ?

सोध !
फूलबारीका
पुतलीका हुल कहाँ गए ?
लहलहाउँदा गहुँखेतका
सुँगाका बथान कहाँ गए ?
चिच्याइचिच्याई सोध !
यो निर्जीवताको ध्वनिले भर्दैलगेको आकाशलाई
तिम्रा आवाजहरूले मुक्त बनाऊ !

निस्क बाहिर !
तिमी गीत गाऊ
तार चुँडिदैगएका नदीहरूलाई
फेरि सङ्गीत भर्न सिकाऊ
शुष्क टोलाउँदै गरेका पहाडहरूलाई
फेरि रसाउन सिकाऊ
फूलहरूसँग मुस्कुराऊ
गाऊ, तिमी गीत गाऊ
तालमा माछाहरूलाई नचाऊ
वागमा भँवराहरूलाई नचाऊ
आकाशमा चराहरूलाई नचाऊ
र माग !
तिमीलाई
छमछमी धितमर्ने गरी नाच्न पुग्ने धर्ती
तिम्रा पुर्खाहरूसँग !
…………………………………………………………………….
(ढुङ्गाना विगत तीन दशकदेखि काव्यसिर्जनामा कलम चलाउँदै आएका स्रष्टा हुन्)
yourshrawan@gmail.com