पिताको स्मृतिमा - Aksharang
  • २०७७ श्रावाण २७ मङ्गलबार

पिताको स्मृतिमा

रामप्रसाद पन्त

रामप्रसाद पन्त

जब पिताबारे प्रसङ्ग उठ्छ, त्यस वेला मलाई देवतुल्य आफ्नै पिताको सम्झना हुन्छ । यद्यपि पिता सबैका लागि बराबर हुन्छन् तर म यो कुरा ठोकुवासाथ भन्न सक्छु– सन्तानप्रति त्यति संवेदनशील पिता कमै हुन्छन्, जति म मेरा पितामा पाउँथेँ ।
‘पा संरक्षणे’ धातुबाट ‘पिता’ शब्द व्युत्पत्ति हुन्छ । जीवन दिने, संरक्षण गर्ने, शिक्षा दिने र पालन–पोषण गर्ने व्यक्ति नै यथार्थमा पिता हो । भनिन्छ नि– ‘माता शत्रु, पिता बैरी येन बालो न पाठित’ अर्थात् जसले सन्तानलाई पढाउँदैनन्, ती सन्तानका माता, शत्रु र पिता, बैरी हुन्छन् । यस कारण पिताको कर्तव्य हुन्छ, सन्तानलाई शिक्षा दिनु वा दिन लगाउनु ।
त्यस्तै पिताप्रति पुत्रको पनि कर्तव्य हुन्छ, पिताको सेवा र सम्मान गर्नु । हाम्रो उपजीव्य ग्रन्थ रामायण भन्छ–
न सत्यौ दान मानौ वा न यज्ञाश्चाप्त दक्षिणा
तथा बालकरा ः सीते यथा सेवा पितुर्हिता ।
अर्थात् पिताको सेवा र सम्मान गर्दा जति पुण्य प्राप्त हुन्छ, त्यति पुण्य जतिसुकै दानदक्षिणा वा तीर्थव्रत गर्दा पनि प्राप्त हुँदैन ।
हो, वास्तवमा पिताले पुत्रलाई दिने माया र पुत्रले पितालाई दिनुपर्ने सम्मानमा सन्तुलन भएन भने पितापुत्रको सम्बन्धमा तुषारापात हुन्छ ।
म अहिले पनि सम्झेर गम्भीर हुन्छु, ती दयासागर पिताले यो धरती छाडेको पनि २७ वर्ष भइसकेछ । म काठमाडौँ बस्दै गर्दा प्राप्त भएको शङ्कास्पद समाचार सुनेर जन्मथलो गुल्मीको दार्सिङबास पुग्दा र तगालोबाट भित्र छिर्दा मात्र थाहा पाएको थिएँ– दया र करुणाका सागर ती मेरा पिता यस धरतीमा रहनुभएन । मेरा पिताले मलाई छाडेर गएको तीन दिन भइसकेको रहेछ । त्यसपछि त मेरा बाँकी रहेका आँसु आँखाबाट एकैचोटि बर्बरी वर्षिएका थिए ।
शिक्षितै भए पनि मेरा पिताले मलाई पढाउनुभएन र गायत्री मन्त्र पनि सुनाउनुभएन । तर शिक्षा दिनुपर्छ भन्ने सन्दर्भमा घाम र जून बनेर मेरो जीवनमा उज्यालो छरिरहनुभयो मेरा पिताले ।
मेरा पिता सामन्ती संस्कारग्रसित समयको एउटा पात्र हुनुहुन्थ्यो तर उहाँभित्र सामन्ती संस्कार पटक्कै थिएन । त्यस संस्कारबाट उहाँ बिल्कुलै मुक्त हुनुहुन्थ्यो । म निःसङ्कोच भन्दैछु– मेरा पिताले चाहेको भए दुईतीनवटी श्रीमती भित्र्याउन पनि सक्नुहुन्थ्यो, त्यसो गर्नुभएन । त्यसै गरी समाजमा फाट्टफुट्ट चलेको महिनावारी ब्याज खाएर धनी बन्न पनि सक्नुहुन्थ्यो, त्यसो पनि गर्नुभएन । मानसिक समस्याग्रस्त तथा सन्तानविहीन प्रथम विवाहित श्रीमतीले घरै छाडेर बेपत्ता भएपछि भने उहाँले आफूभन्दा १५ वर्ष कान्छी दोस्री श्रीमती विवाह गर्न बाध्य हुनुभयो, जसको गर्भबाट मेरो जन्म भयो ।
मेरा पिता अत्यन्त शालीन भद्र र नरम स्वभावका हुनुहुन्थ्यो । उहाँ झर्कीफर्की गरेर कहिल्यै पनि परिवार माथि खनिनुभएन र समाजको अहितमा पनि कहिल्यै उभिनुभएन । उहाँ अघि लाग्नुपर्ने ठाउँमा अघि लाग्नुभयो, साथसाथै लाग्नुपर्ने ठाउँमा साथसाथै लाग्नुभयो र साथ दिने ठाउँमा साथ दिनुभयो ।
मेरा लागि त पिता देउतासरह नै हुनुहुन्थ्यो, जसको प्रमाण म स्वयम् छु । मेरो अक्षरारम्भ गाउँकै पिँढी पाठशालामा भए पनि मेरो कर्मकाण्डीय एवं औपचारिक शिक्षा मावलीमा भएको थियो । मलाई मावल पु¥याउन सुरूशस्ुरुमा त मातालगायत मेरा अग्रजहरू सबैले कठिन सङ्घर्ष गर्नुपरेको हो तर पछिल्लो चरणमा भने म पिताकै पछि लागेर मावल पुग्थेँ । कारण– मावल जाने बाटोमा वनजङ्गल र खोलानालाहरू भएकोले सातआठ वर्षको एउटा बालक एक्लै जानसक्ने स्थिति थिएन ।
बालापन यस्तो थियो, जहाँ बस्यो त्यहीँ रमाउने । कहिलेकाहीँ यस्तो हुन्थ्यो– मलाई मातापिताको माया, स्वतन्त्र विचरण र गाउँले साथीसङ्गातीहरूका क्रीडाकर्षणहरूले तान्थे । परिणाम यही हुन्थ्यो, मलाई मावलीघरमा छाडेर फर्कंदै गरेका मेरा पिताको आँखा छलेर म उहाँकै पछिपछि घर पुग्थेँ ।
मेरी मातालाई खपिनसक्नु हुन्थ्यो । गाली गर्नुहुन्थ्यो, गाउँछिमेक हँसाउने भइस् भनेर रुनुहुन्थ्यो तर पिताको पेटमा आगो बलेको भए पनि बाहिर प्रकट गर्नुहुन्नथ्यो । मलाई सम्झाउनुहुन्थ्यो– ‘बाबु ! पढ्नुपर्छ, फलानो फलानोजस्तो ठूलो र असल मान्छे हुनुपर्छ, गाउँ र समाजमा इज्जत राख्नुपर्छ ।’
त्यसपछि फेरि मावल पु¥याउने योजना बुन्नुहुन्थ्यो ।
घरमा बसेको वेला म मन लगाएर काम पनि गर्थें । ब्राह्मणले हलो जोत्नुहुन्नथ्यो । मगर समाजका राई र पचभैयाहरूले हलो जोत्थे । म मकैको बिउ सियोमा हाल्दै जान्थेँ । पिता र दाइभाउजूले माटो सम्याउँदै जानुहुन्थ्यो । माताले अर्नी (खाजा) बनाएर ल्याउनुहुन्थ्यो । फरक हुन्थ्यो, पढ्नेलेख्ने मान्छेले खाने अर्नी । कोदाको रोटी खानुहुँदैनथ्यो मैले । मकैको भात (आटो) पनि खान हुन्नथ्यो मैले, किनकि पढ्न आउँदैनथ्यो । ठूलो भारी बोक्न र अप्ठ्यारो काम गर्न पनि मिल्दैनथ्यो मैले, किनकि शरीर कमजोर हुन्थ्यो र पढाइमा बिघ्नबाधा पर्नसक्थ्यो ।
पिता ५० वर्ष हुँदा जन्मेको म । मैले जान्दा मेरा पिताको कपालमा कालो रौँ देखिनँ । ती पिताले खेतबारीमा काम गर्दा मलाई भन्नुहुन्थ्यो– ‘बाबु ! तँ थाकिस्, एकछिन आराम गर । बाबु ! तँ सक्तैनस्, तेरो भारी मलाई अलिकति थपिदे । बाबु ! तँलाई भोक लाग्यो होला, घर जा र आमासँग खानेकुरा मागेर खा ।’ पिताका यस्ता बोलीहरू सम्झँदा अहिले पनि म करुणार्द्र हुन्छु र एकछिन बेचैन पनि बन्छु– त्यस्ता पिता मैले के सात जन्ममा पनि पाउन सकूँला र ?
बेलुका खाना खाएर मजेरीमा बसेको वेला बाहेक मैले मेरा पितालाई काम नगरी चुपचाप बसेको देखिनँ । काम नगरे खान हुन्न, राई र रानाहरूजस्तै भइन्छ । काम गरेर सानो पनि भइन्नँ, काम गरेर रोगी पनि भइन्नँ र दुःख गरेर आयु पनि सकिन्नँ भन्ने शिक्षा पाउने गर्थें म पिताबाट ।
मेरा पिताले समयलाई सम्मान गर्न जान्नुहुन्थ्यो । आज र अहिले आएको समयले पर्खेर बस्दैन र फेरि फर्केर पनि आउँदैन भन्ने कुरामा मेरा पिता सचेत हुनुहुन्थ्यो । उहाँको भनाइ नै थियो– ‘पानी परेको वेलामा भल छोपिएन भने खेत बाँझै रहन्छ ।’ उहाँ काममा यसरी तल्लीन हुनुहुन्थ्यो, मानौँ एउटा मूर्तिकारले एकाग्र भएर मूर्ति कुँदिरहेको छ, एउटा चित्रकारले एकचित्त भएर चित्र कोरिरहेको छ, एउटा कलाकारले मनमस्तिष्क लगाएर क्यानभासमा रङ पोतिरहेको छ, एउटा कविले काव्यमा जीवन्त प्रकृति भरिरहेको छ ।
मेरा पिताका सपनाहरू माटोमा छरिएका हुन्थे । माटोको अधिकतम उपयोग गरेर अन्न उब्जाउनु र उत्पादन बिक्री गरेर केही पैसा आर्जन गरी पुनः माटो (जग्गा) किन्नु मेरा पिताको अर्जुनदृष्टि थियो, बाहिर गएर उद्योग–व्यापार गर्नु वा पैसा कमाउनु थिएन । उहाँको सपना छोराहरूलाई जागिरे बनाउनु पनि थिएन । दूर सपना केही थियो भने गाउँको स्वनामधन्य पण्डितका अतिरिक्त स्कुलको मास्टरसम्म बनाउने थियो ।
मेरा पिता मुस्किलले पाँच घन्टा सुत्नुहुन्थ्यो । भालेको डाकोसँगै वा अझ अगाडि उठ्नुहुन्थ्यो । नित्य कर्म सम्पन्न गरी पूजापाठ गरेर उज्यालो नहुँदै खेतबारी वा पल्लो गाउँ पुगिसक्नुहुन्थ्यो ।
पिताले गरेको दुःख सम्झेर त मलाई अत्यास लाग्थ्यो । एकजना मानिस एक दिनमा एक सय किलोमिटर हिँड्न सक्छ कि सक्तैन ? दस मिनेटको दरले प्रतिएक किलोमिटर हिँड्न सक्छ भनी मान्ने हो भने पनि एक हजार मिनेट । एक हजार मिनेटको अर्थ– साढेसोह्र घन्टाभन्दा बढी । समथर ठाउँमा पो प्रतिदस मिनेट एक मिलोमिटर हिँड्न सकिएला, पहाडका उकाली ओराली र जङ्घारहरू तर्नुपर्दा त कसरी सकिएला र ! केही बेर पसिना पुछेर चौतारीमा सुस्ताउनु पनि पर्ला ! भोकप्यास मेटाउन केही खानु पनि पर्ला र के कामले जानुपरेको हो, त्यो काम पनि त फत्ते गर्नुपर्ला ! बाटोमा बासा बस्न पाइँदैन, किनभने एकहाते भैँसी बिहान दुहेर जानुपर्छ र बेलुका (राति) दुहुन फर्कनुपर्छ । कति ठूलो सास्ती हो ! जुन काम मेरा पिताले गर्नुहुन्थ्यो, दैनिक होइन, महिना दिनमा ।
कारण त पछि पो थाहा पाएँ मैले– जग्गा भागबन्डा बारे असन्तुष्टि देखाएर ज्येष्ठ पिताले पितामहमाथि मुद्दा हाल्नुभएछ । बूढा मानिस, तारेख धाउन गाह्रो भएपछि त्यसको वारिस मेरा पिताले लिनुभएछ अनि पो महिनाको एक दिन बीस कोस हिँडेर त्यस वेलाको अड्डा अर्घाखाँचीको धैरेनी जाइआइ गर्नुपरेको । यो त एउटा उदाहरण मात्र हो । मेरा पिताले आफ्नो जीवनावधिमा गरेका दुःखहरूको बयान गर्न थाल्ने हो भने त एउटा ठेली नै तयार हुन्छ, जुन अहिले सम्भव छैन । अहिले भन्न खोजिएको कुरा त पितृभक्तिको हो, जुन पितृधर्मको जिम्मेवारी मेरा पिताले वहन गर्नुभयो ।
यस्ता पितृभक्त पितासँग पितामह किन सँगै नबसेर कनिष्ठ पितासँग बस्नुभएको होला ? प्रश्न स्वाभाविक छ । यो सामान्य व्यक्तिले गर्ने तर्क नै हो र मेरो तर्क पनि यही हो । यसको कारण त म अलिकति ठूलो भएपछि पो बुझ्दै गएँ । कनिष्ठ पितासँग बस्नु पितामहको बाध्यता रहेछ ।
दैनिकजसो मेरा मातापितालाई भेट्ने र कहिलेकाहीँ लुकाइछिपाई फलफूलहरू पनि बोकेर आउने पितामहका गुनासाहरू सुनेर मेरो बालमस्तिष्क विदीर्ण हुनपुग्थ्यो । सोच्थेँ, के आफ्नै सन्तानले जन्मदाताप्रति वञ्चना र ताडना गर्न सक्छ ? हो, त्यसै भएर त पीडा पोखी मन हल्का पार्नका लागि दुई हातले दुईवटा लौरा टेकेर आउनुहुँदो रहेछ पितामह, मेरो घरमा । त्यस वेला मेरो मथिङ्गल झनझनाउन थाल्थ्यो र मेरा पिताले पितामहप्रति दर्शाएको आदर्शलाई ससम्मान शिरोधार्य गर्न प्रतिबद्ध बनाउँथ्यो । त्यस वेला म माइलो सन्तान भएर जन्मन पाएकोमा ईश्वरप्रति नतमस्तक हुन्थेँ र हुने गरेको छु– माइलाको पनाति, माइलाको नाति, माइलाको छोरो माइलो– दार्सिङबासे माइलो ।
म छिमेकी गाउँ थोर्गा गएर शिवकुमार गुरुकहाँ गुरुकुलीय शिक्षा आर्जन गर्दा र पल्लो गाउँ पाल्पा अर्चलेमा सञ्चालित थानेश्वर महाप्रभुको विद्यालयमा पढ्दाका करिब तीन वर्ष मात्र मातापिताको सन्निकट भएर बस्न सकेँ, अन्यथा मेरो बाल्यकाल मावलमा र युवावस्था बनारस–हृषिकेशमा बित्यो ।
मलाई सम्झना छ, म बनारसबाट स्नातक भएर घर फर्कंदा मेरा पिता हर्षले गद्गद हुनुभएको थियो । उहाँको परिकल्पना थियो, अब छोराले हामीलाई काममा सघाउनेछ । बुढेसकालको आधार बन्नेछ । गाउँमा अलग्गै प्रभाव जमाउने छ । कुलकै प्रतिष्ठा बढाउनेछ । शिक्षाको ज्योति फैलाएर गाउँको मुहारै फेर्नेछ । ठूलो स्वरमा र मूढे बलमा चलेको समाजलाई विधि र नियममा हिँडाउन प्रयास गर्नेछ ।
तर पिताका यी सपनाहरूलाई भताभुङ्ग पारेर म एकाएक काठमाडौँ हान्निँदा पितामा एक प्रकारको नैराश्य छाएको थियो । हुन पनि तत्कालीन भाषामा ‘राजाको टीका’ नलगाएको अर्थात् जागिर नखाएको मेरो वंशपरम्परामा नेपाल (राजधानी) पुगेर जागिर खानु भनेको दार्सिङबास गाउँको पन्त कुलकै लागि नौलो घटना थियो । तर पिताले पछि बुझ्नुभयो, ‘सरकारको सिन्दुर’ लगाउनु भनेको चानचुने कुरा रहेनछ ।
म समय सन्दर्भलाई हेरी घर गइरहन्थेँ । खासगरी हाम्रो गाउँका दुई महान् कृषिपर्वहरूमा त म कहिल्यै अनुपस्थित हुन्नथेँ । परिवार मात्र होइन, गाउँले नै जुटेर सम्पन्न गर्नुपर्ने दुईवटा मुख्य कृषिपर्वहरू थिए हाम्रो गाउँका । एउटा थियो, रोपाइँ र अर्काे थियो, उखु पेल्ने काम । यी दुई पर्वहरूमा जनशक्तिको आवश्यक पथ्र्याे र यी पर्वहरू यथासमयमा सम्पन्न गर्नुपर्ने जरुरी पनि हुन्थ्यो ।
जब मेरा पिता पचासी नाघ्नुभयो, उहाँमा शारीरिक शिथिलता बढ्दै गयो । सँगसँगै अपच, अनिद्रा र लहरे खोकीले गाँज्दै गयो । दाइभाउजूले गोठ, खर्क सम्हाल्नुपर्ने अवस्थामा आमाबाट मात्र दैनिक कामका अतिरिक्त पिताको रेखदेख असम्भव प्रायः भएको थियो । त्यस वेला मेरो घर जाने र दिन बिताउने क्रम केही बढेको थियो तर त्यस वेलाको शाखा अधिकृत जस्तो दुर्लभ जागिर छाडेर घरमै बस्नसक्ने आँट वा दुस्साहस भने मैले गर्न सकिनँ । आखिर मेरा पिताले म नभएकै मौका पारेर भगवान्को वासस्थान रोज्नुभयो ।
अहिले म ती महान् पितालाई सम्झन्छु । सम्झँदासम्झँदै संस्कृतसाहित्यको एउटा नीतिश्लोक स्फुरण हुनथाल्छ–
लालयेत् पञ्चवर्षाणि दश वर्षाणि ताडयेत्
प्राप्ते तु षोडशे वर्षे पुत्रमित्रवदाचरेत् ।
अर्थात् पिताले पुत्रलाई पाँच वर्षसम्म माया गरोस्, १० वर्षसम्म पिटेर भए पनि सही मार्गमा हिँडाउन प्रयास गरोस् । जब पुत्र सोह्र वर्षको हुन्छ, तब मित्रसमान व्यवहार गरोस् ।
तर मेरो जीवनमा यस नैतिक दृष्टान्तले काम गरेन । जति उपद्रो गरे पनि मेरा पिताले न मलाई कुनै दिन प्याट्ट एक थप्पड हान्नुभयो, न मित्रसमान व्यवहार नै गर्नुभयो । उहाँले त मलाई सधैँ पाँच वर्षको शिशुजस्तै ठानेर माया मात्रै गर्नुभयो । सधैँ सानो बच्चा देख्नुभयो ।
म पनि उहाँको भावना बुझ्थेँ, मायाको लय पक्रन्थेँ र सकेसम्म साथ रहने प्रयास गर्थें । अहिले सम्झँदा हाँसो उठ्छ र गौरवबोध पनि हुन्छ– म एउटा विवाहित मान्छे, घर गएको वेला, सुत्ने वेलामा तेल लगाएर पिताको खुट्टा मिचिदिन्थेँ र उहाँसँगै ओछ्यानमा घुस्रिन्थेँ । बिहान म कहिले कुन ओछ्यानमा हुन्थेँ, कहिले कुन ओछ्यानमा । यो मैले पिताबाट पाएको अगाध प्रेम र वात्सल्यको प्रतीक थियो ।
सन्तान सुखका निम्ति पिताले जग्गा जोड्दै जानुभयो र टाढाको जग्गा साटफेर गरेर नजिक बनाउनुभयो तर गाउँ छाडेर बाहिर जाने सोच बनाउनुभएन । बनाएको भए आज म लेखक बनेर यति लेख्ने थिइनँ, अर्बपति उद्योगी वा व्यापारी बनेर केही बेरोजगारलाई रोजगारी दिने थिएँ ।
यति हुँदाहुँदै पनि मेरा पिताले सन्तानको टाउकोमा ऋण थोपरेर जानुभएन, बरु हामीलाई छोडेर जानुअघि नै उहाँले तमसुकका मुठा खोलेर तीन भाइको अगाडि फिजाउँदै भन्नुभयो– ‘यी ऋणका मुठा होइनन्, धनका मुठा हुन् । उठाउँछु भन्छौ भने पनि उठाउनू, गरीबगुरुबालाई नै छाडिदिन्छौँ भन्छौ भने पनि छाडिदिनू । तिमीहरूको ब्रह्मविवेकले जे भन्छ, त्यही गर्नू ।’
पिताले हामी तीन भाइको हातमा सुम्पेका ती तमसुकका मुठाहरू अहिले पनि बाकसमा सुरक्षित छन् । च्यातिएका पनि छैनन् र अनुदानमा परिणत गरिएका पनि छैनन् । यसबाट स्पष्ट भएकै छ– ‘ऋणकर्ता पिता शत्रु’ भन्ने नीतिले मेरा पितालाई छुँदै छोएन ।
आदर्शको रूपमा होस् या यथार्थको रूपमा, नैतिक शास्त्र भन्ने गर्छ– ‘सर्वत्र विजयम् इच्छेत् पुत्रात् इच्छेत् पराजयम्’ अर्थात् मानिसले सर्वत्र आफ्नै विजय चाहन्छ रे ! तर पुत्रबाट पराजयको कामना गर्छ रे ! पुत्रसँग शत्रुता साध्ने नगण्य पिताहरूलाई छाडेर यसलाई व्यावहारिक नै मान्न सकिन्छ, किनकि आफ्ना सन्तानका प्रगति नचाहन पिता को होला र ? सन्तानको प्रगति नहुनु भनेको समग्रमा विकासको गति अवरुद्ध हुनु वा उल्टो हिँड्नु पनि हो । यसैले पनि यो नीति सत्यकै पक्षमा उभिन्छ र मेरा पिताले सन्तानको उन्नतिका निम्ति दशनङ्ग्रा खियाउनुभयो भन्ने कुरा पनि सत्य नै ठहरिन्छ ।
शास्त्रोक्त वचन छ– ‘माता च पार्वती देवी पिता देवो महेश्वर’ । सौभाग्यले मेरो कुलका प्रथमपुरुष उपमन्यु ऋषि शिवजीका वरदपुत्र मानिनुहुन्छ । त्यसैले पनि हाम्रा कुलदेवता शिवपार्वती नै हुन् । यसै कारण पनि होला, शिवपार्वतीको वदनमा मैले मेरै मातापिताको प्रतिरूप देख्ने गर्छु र पुज्ने गर्छु ।
………………………..
(पन्त स्थापित स्रष्टा हुन्)
dayitwa44@gmail.com