उपहार - Aksharang
  • २०७८ मंसिर १३ सोमबार

उपहार

सरिता अर्याल

सरिता अर्याल

माया कामको खोजीबाट फर्किएको तीन दिन बितिसकेको थियो । नयाँ कामको खोजीमा स्थानीय एजेन्सीमा पनि कत्ति धाउनु ? भर्खर मात्र ऊ पनि एजेन्सीबाट नै फर्किएकी हो । शुक्रबार र शनिबार सबैलाई बिदा हुने हुनाले अरू वेला सयजनाजतिको भीड हुने डेरामा यतिखेर ऊ मात्र एक्ली छ । अरू दिन पनि काम नहुनेहरू मात्र त्यस डेरामा बस्नुपर्ने हुन्थ्यो । त्यसैले ऊ मात्र डेरामा थिई । एक्लै भएकीले आज उसलाई भात खान पनि मन लागेन । घरभित्र त एसी भए पनि बाहिरको तालु फुट्ने गर्मीमा उसलाई कतै निस्कन मन लागेन । भोक मार्न पाउरोटी र चिया खाएपछि ऊ बिछ्यौनामा पल्टिएर एउटा किताब पल्टाएर पढ्न थाली ।
पल्टिएकी मात्र थिई, मूलढोका बेस्कन ढकढकियो । यस मध्यदिनमा को आयो होला भन्ने सोच्दै ऊ ढोका खोल्न गई । ढोका खोल्नासाथ उसकोे शरीर नै थर्र्र काम्यो । ऊ तर्सेर दुई पाइला पछि सरी । ढोकाको अगाडि दुई सय किलोजतिको देख्दैमा डरलाग्दो दन्त्यकथाको राक्षसजस्तो कालो अफ्रिकन उभिएको थियो । ‘ओहो, मानिस यतिसम्म नराम्रा पनि हँुदा रहेछन् । यस्तै मानिसलाई नै राक्षस भन्ने होला !’ त्यो कालेलाई देख्दा उसलाई धेरै डर लाग्नुको कारण उसको नाङ्गो जिउ पनि हो । बोसोले थलथल भएको कालो भँुडी । उफ्, कस्तो घिनलाग्दो ! त्यसमाथि एउटा हाफपाइन्ट मात्र लगाएको । त्यस कालेको छेउमा अर्को बीसबाइस वर्षको दुब्लो–पातलो केटो थियो । मैलो सर्ट र जिन्स लगाएको त्यस केटोले जिन्सकै एउटा ब्याग पनि बोकेको थियो । त्यो फुच्चे केटो र काले हिब्रूमा कुरा गरिरहेका थिए । माया इजरायल आएकी तीनचार महिना बितिसकेको भए पनि उसलाई हिब्रू भाषा बोल्न आउँदैनथियो । अरूले बोलेको पनि ऊ बुझ्दिनथिई । त्यसैले तिनीहरूले गरेको कुराको उसले कत्ति पनि भेउ पाइन । मायालाई देखेपछि फुच्चेकोे आँखामा एक प्रकारको चमक देखियो । फुच्चेले मायातिर फर्किएर केके भन्यो । मायाले केही नबुझेकाले ऊ टवाल्ल परी । सायद उसले हिब्रू नबुझेको अफ्रिकनले थाहा पायो होला । उसले मायालाई इसाराले ढोका बन्द गरेर बस भन्यो । मायाले कालेको मौन आदेशको पालना गर्दै ढोका बन्द गरी । बिस्तरामा आएर फेरि किताब पल्टाई । १० मिनेटपछाडि फेरि ढोका ढकढकियो । उसलाई त्यही कालेले फेरि ढोका ढकढक्यायो होला भन्ने लाग्यो । के जिस्काइरहेका होलान् ? अघि ढोका खोल्न र बन्द गर्न लगाए, अहिले फेरि ढङढङ ! मायालाई बिस्तराबाट उठ्नै मन थिएन, त्यसैले ढोका खोल्नुभन्दा पहिले को हो ? भनेर भित्रैबाट कराई । बाहिरबाट आवाज आयो– पुलिस । ओहो, पुलिस किन आयो ? उसले त पुलिस नै घरमा आउनुपर्ने केही नराम्रो काम त गरेकी थिइन । तैपनि ऊ डराई । उसले ढोका खोली, बाहिर त्यै अफ्रिकन र पुलिस कुरा गरिरहेका थिए । फुच्चे त्यहाँ थिएन । पुलिसले उसतिर हेरेर भन्यो– ‘तिमीले कसैलाई देख्यौ यहाँ केही समय अगाडि ?’ मायाले जवाफ नै दिन नपाई अफ्रिकनले भन्यो– ‘उनले ढोका खोलिनन् मैले मात्र देखेको हो ।’ काले र पुलिसले यसपल्ट अङ्ग्रेजीमा बोलेकाले मायालाई बुझ्न गाह्रो भएन । अफ्रिकनको कुरा सुनिसकेपछि पुलिसले ऊतिर हेर्दै भन्यो– ‘गुड, कसैले ढोका ढकढकायो भने सोधेर चिनेपछि मात्र खोल्नू है !’ पुलिस अफ्रिकनसित हात मिलाएर फर्कियो । ढोका नखोल्नु किन भनेको होला ? के कुरा भएछ ? किन सोध्यो पुलिसले ? मायाको मनमा अनेक प्रश्नहरू एकैसाथ आए । तर ऊ कसलाई सोधोस् ? काले देख्दैमा डरलाग्दो छ, त्यसैले सोध्न आँट गर्न पनि सकिन । ढोका लगाएर तुरुन्त भित्र पस्न पनि सकिन । के गरूँगरूँ भयो । आखिर पुलिस किन आयो ? कालेले उसलाई किन ढोका खोलिनँ भन्यो ? एकपल्ट त उसले ढोका खोलेकै थिई तर कालेले किन भनेर सोध्न पनि दिएन ? मायाले मन अलि दह्रो बनाई । बाहिरीरूपबाट कालेसित नडराई सोध्ने भनेर आँट गरी ।
पुलिस फर्किएपछि माया र अफ्रिकनबीचमा मुस्कानको अभिवादन भयो । मायाको मनमा कौतुहल थियो । त्यसैले मायाले नै सोधी– ‘के भएको हो ?’ यसपल्ट कालेले सेता मोतीका दानाजस्ता दाँत देखाएर हाँस्दै भन्यो– ‘त्यो केटो, जो अघि आएको थियो चोर रहेछ ।’ चोरी गरेर भाग्न लाग्दा पुलिस पछि लागेकाले लुक्नका लागि हाम्रो घरभित्र पसेको रहेछ । कालेले कोठामा पस्न नदिएपछि केटोले नै मायाको ढोका ढकढक्याएको रहेछ । मायाले ढोका लगाएपछि फुच्चे फर्केछ । पुलिस त्यसैको खोजीमा आएको रहेछ । ए कुरा त त्यै केटाको पो रहेछ, बेकार माया डराई मात्र ।
त्यति कुरा भैसकेपछि अफ्रिकनले मायालाई सोध्यो– ‘इन्डियन ?’ उसले मुस्कुराउँदै जवाफ दिई– ‘नो नेपाली ।’ मायाको जवाफ सुन्नासाथ उसले जवाफ फर्काइहाल्यो– ‘आई एम प्रनोन फ्रम अफ्रिका । बट नाउ आई एम इजरायली सिटिजन ।’ उसकोे र मायाको गफ आ–आफ्नो ढोकाअगाडि उभिएर नै सुरु भयो । केहीबेर उभिएर गफ गरेपछि प्रनोनले मायालाई कफी–चियाको निम्तो दियो । मायाले पर्दैन भन्दाभन्दै– ‘म चिया बनाउँछु, तिमी तिम्रो ढोकामा ताल्चा लगाएर आऊ ल !’ भनेर आफ्नो कोठामा पस्यो । मायालाई अप्ठ्यारो प¥यो । ऊ अब अलमलमा परी । के गर्ने के नगर्ने ? केहीबेर सोचेर ऊ चियाको निम्ता स्व्ीाकार्दै कोठामा ताल्चा मारेर प्रनोनको कोठातिर पसी ।
माया मूलढोकाबाट पस्नासाथ उसले प्रनोनको फ्ल्याटमा रहेका तीनवटा कोठा सबै देखी । मूलढोका मात्र लगाइएको थियो । भित्री कोठाका ढोकाहरू सबै खुल्लै थिए । उसका तीनवटै कोठा लथालिङ्ग थिए । सबै कोठा नयाँ र पुराना कम्प्युटर, टीभी, फोनसेटहरू, रेडियो र घडीजस्ता सामानले भरिएका थिए । त्यसमाथि जताततै छरिएका उसका फोहोर कपडाहरूले कोठा भँडारकोठाजस्तो भएको थियो । प्रनोनको कोठा हेर्दै लाग्दथ्यो— यो घरमा आइमाई बस्नु त के पसेकी पनि छैन होला । इलेक्ट्रोनिक सामानले भरिएका कोठाहरूको हालत हेर्दा प्रनोन इलेक्ट्रिसियन रहेछ भनेर जान्न मायालाई कत्ति पनि बेर लागेन । प्रनोनले चिया र बिस्कुटले मायाको स्वागत गरेको थियो । चिया पिउँदै उनीहरू गफ गर्नथाले । प्रनोन मायाले सोचेजस्तो इलेक्ट्रिसियन होइन, होटलको सेफ पो रहेछ ।
मायालाई कम्प्युटर चलाउन आउँथ्यो । ऊ त्यहाँ पनि वेलावेलामा साइबरमा गएर आफ्ना मेलहरू हेर्दथी । कम्प्युटर देखेपछि उसकोे मनमा के लागेर हो, टेबुलमा राखेको कम्प्युटर देखाउँदै सोधी– ‘इन्टरनेट छ ?’ प्रनोनले घुम्रिएको कपालले गर्दा झन् ठूलो देखिएको टाउको बिस्तारै हल्लायो, छ । उसले मायालाई भन्यो– ‘तिमीलाई इन्टरनेट हेर्नुप¥यो भने आएर हेरे हुन्छ । साइबर गएर पैसा खर्च गरिरहनु पर्दैन । काम नपाउन्जेलसम्म, म काममा गएको वेला दिउँसो पनि आएर कम्प्युटर चलाउन र टीभी हेर्न सक्छ्यौ ।’ उसले मायालाई मूलढोकाको चाबी दियो । माया छक्क परी । चिनजान भएको घन्टा पनि भएको छैन, किन यो मान्छेले साँचो दियो ? कसरी गरेको होला यत्रो विश्वास ? अन्जान मानिसले साँचो दिनुमा कुनै नराम्रो नियत त छैन ? मायाको मनमा यस्ता धेरै प्रश्नहरू एकसाथ नै उठे । उसलाई लाग्यो साँचो लिनु हँुदैन । विदेशमा केही भइहाल्यो भने ? भो–भो लिनु त हुँदैहँुदैन । मायाको मनले साँचो नलिने सल्लाह दिएपछि उसले भनी– ‘भो–भो पर्दैन, मलाई इन्टरनेट हेर्नुप¥यो भने म तिमी भएको वेलामा आएर हेरूँला नि !’
‘होइन होइन तिमी डराएजस्ती छ्यौ । मसित नडराऊ, म हेर्दा नराम्रो भए पनि मेरो मन सफा छ । मेरो उद्देश्य तिमीले दुःख गरेर कमाएको पैसा साइबरमा खर्च गर्नु नपरोस् भन्ने मात्र हो ।’
प्रनोनको कुरा सुनेपछि मायाको कौतुहलतामा केही कमी त आयो तर पनि साँचो ! उसलाई काम नभएको वेलामा कम्प्युटरमा चलाउन पाए त दिन पनि कट्ने, राम्रै हुने थियो भन्ने पनि लागिरहेको थियो । जे होला–होला दिउँसो प्रनोन काममा गएको वेलामा मात्र आएर हेरे त भैहाल्छ नि भन्ने सोचेर मायाले प्रनोनसित साँचो लिई र प्रनोनलाई धन्यवाद दिँदै आफ्नो कोठातिर लागी ।
भोलिपल्ट खाना खाएर माया फेरि लागी कामको खोजीमा एजेन्सीतर्फ । धेरै एजेन्सीमा दौडिएपछि बल्ल एक ठाउँमा उसले काम पाउने छनक पाई । एजेन्सीले तीन दिनपछि आउने तारिख दिएपछि झिनो आशा लिएर ऊ कोठा फर्किई । कोठा आइपुगेपछि प्रनोनको कोठाअगाडि पुगेर ऊ टक्क अडिई । कोठामा पनि उसकोे कुनै खास काम थिएन । प्रनोनको कोठामा पस्न पनि उसलाई डर लागिरहेको थियो । त्यस समयमा प्रनोन काममा गएको थियो । उसकोे कोठामा ताला लागिरहेकाले अरू कोही हुने चान्स पनि भएन । त्यसैले हिम्मत गरेर उसले आफ्नो कोठाभन्दा पहिले प्रनोनको कोठा नै खोली । तैपनि उसकोे मनमा कताकता डर त थियो नै । सबै कोठा घुमेर हेरी । कोही थिएन । ताल्चा लागेको कोठामा कोही हुुने कुरा पनि त भएन, तैपनि मायाको मनको डर । उसले मूलढोकामा भित्रबाट ताल्चा मारी र सिधै गएर बसी कम्प्युटरको अगाडि ।
ऊ कम्प्युटर खोलेर इन्टरनेटमा डुबुल्की मार्न थालेकी मात्र के थिई, समय गएको त पत्तै पाइनछ । प्रनोन आएर बाहिरबाट ढोका खोल्दा पो साँझ परेको थाहा पाई । ऊ जानलाई उठेकी मात्र के थिई, प्रनोनले केहीबेर बस्न भन्यो र अर्को कोठामा पस्यो । प्रनोनको हातमा एउटा झोला थियो । अर्को कोठामा लुगा फेरेर ऊ निस्कियो । उसले अहिले पनि हातमा झोला बोकेकै थियो ।
ऊ मायाको अगाडि आएर बस्यो । प्रनोनले उसकोे होटलबाट खानेकुराहरू लिएर आएको रहेछ । त्यही खानका लागि उसले मायालाई रोकेको रहेछ । मायाले पनि खाजा खाएकी थिइन । तर उसलाई प्रनोनले ल्याएको खानेकुरा खान भने घिन लाग्यो । तर उसले सम्झेर ल्याएको खाजा नखानु पनि कसरी ? त्यो कालो मानिस कालो हात– ‘छिः छिः, कसरी खानू ?’ नखाने भन्ने पनि उससित कुनै बहाना भएन । त्यसैले उसले खाजा खान्नँ भन्न सकिन । दुवैले गफ गर्दै प्रनोनले ल्याएका तारेका कुखुराको साँप्रा, एक प्रकारको पाउरोटी र ग्रिन सलाद खाए । मायाले यसबीचमा प्रनोनका बारेमा धेरै कुरा थाहा पाई । ऊ इजरायली केटीसित विवाह गरेर त्यहाँको नागरिक भएको रहेछ । दुई सन्तानको बाबु भैसकेपछि श्रीमतीसित पारपाचुके गरेको रहेछ । कोठाभरि इलेक्ट्रोनिक सामानहरू फिँजाएर बनाउँदै बसेको प्रनोनले त तीन कक्षासम्म मात्र पढेको रहेछ । मायाको मनमा जिज्ञासा उठिहाल्यो र सोधिहाली– ‘अनि तिमी साक्षर मान्छे इलेक्ट्रिसियन कसरी भयौ त ?’
प्रनोनकी श्रीमती पढेलेखेकी महिला थिई रे । उः सरकारी अफिसमा काम गर्दथी रे । उसले घरमा एउटा कम्प्युटर किनेर ल्याइछ । प्रनोनले त्यो कम्प्युटर चलाएछ । प्रनोनले कम्प्युटर चलाइरहेको देखेर श्रीमती उःसित रिसाइछ र दुर्वचन पनि बोलिछ । कम्प्युटर चलाएको निहँुले उठेको झगडाले ठूलो रूप लिएछ । जसको नतिजा– प्रेमविवाहबाट सुरु भएको उनीहरूको दाम्पत्य जीवनको अन्त्य पारपाचुकेमा पुगेछ । कम्प्युटर के हो यस्तो चीज जसले मेरो घर, श्रीमती, बच्चा, सबैलाई मैले गुमाउनुप¥यो भनेर उसलाई ज्यादै नरमाइलो लाग्यो रे । अनि उसले चोरबजारमा गएर दुइटा थोत्रा कम्प्युटर किनेर ल्याएछ । दुवैका पाटपुर्जा खोलेर बनाउँदै गएछ । दुइटा कम्प्युटरका सामान जोडेर उसले एउटा कम्प्युटर बनाएछ । कम्प्युटर चलाउँदा बिग्रन्छ भनेर छुन नदिएको निहुँबाट पारपाचुकेमा पुगेको प्रनोनले बिग्रिएको कम्प्युटर नै बनाइदिएछ । ‘त्यो मेरो जिन्दगीकै पहिलो सफलता लागेको थियो ।’ प्रनोनले आँखाभरि आसु पार्दै मायालाई सुनाएको थियो ।
एउटा कम्प्युटर बनाएर चलाएपछि उसमा हौसला बढेछ । उसले बिग्रिएका कम्प्युटर ल्याउँदै, बनाउँदै बेच्न थालेछ । दुई कम्प्युटरबाट एक कम्प्युटर राम्रो बनाएर इलेक्ट्रोनिक दुनियाँमा हात हालेको प्रनोन बिस्तारै टीभी, रेडियो, मोबाइल, घडी सबै बनाउन सक्ने भएछ । ‘बिग्रेका सामान बनाइदिएर एकातिर मेरो आम्दानीको स्रोत बढ्यो भने म यस दुनियाँमा पनि परिचित हँुदैगएँ । यसबाट राम्रो आम्दानी भए पनि मैले मेरो पुरानो पेसा छोडेको छैनँ ।’ प्रनोनले मुस्कुराउँदै सुनायो मायालाई ।
पुरुषको सफलतामा महिलाको ठूलो हात हुन्छ भन्छन् । प्रनोनको सफलतामा पनि उसकी श्रीमतीकै हात रहेछ । तर कस्तो हात हो ! अलि उल्टै परेजस्तो । श्रीमतीकै कारणले ऊ पनि इलेक्ट्रिसियन त बन्यो नि !
तीनदिन पछि माया फेरि पुगी एजेन्सीमा । हिब्रू मात्र बोल्न वा बुझ्न सक्ने हँुदी हो त उसलाई काम पाउन कुनै गाह्रो थिएन । भाषाको समस्याले गर्दा उसलाई काम पाउन गाह्रो भइरहेको थियो । तैपनि एजेन्सीले उसलाई काम पनि खोजिदियो– उसकोे चाहनाअनुरूप अङ्ग्रेजी बोल्ने परिवारमा । काम गर्न जानुपर्ने ठाउँको ठेगाना र फोन नम्बर दिएर एजेन्सीले मायालाई भन्यो– ‘तिम्रो इन्टरभ्यु लिने भनेका छन्, तिमी कहिले जान्छ्यौ ? भन, म फोन गरिदिन्छु ।’ मायाले एजेन्सीले दिएको कागज हेरी, त्यसमा लेखिएको ठाउँको त यसअघि उसले नाम पनि सुनेकी थिइन । प्रनोनले सहायता गर्ला कि भन्ने सोचेर भोलिपल्ट बिहान मात्र जाने बताई उसले एजेन्सीको मानिसलाई । त्यो मानिसले त्यहीँबाट फोन गरिदियो । ऊ घर फर्किई । घर आएर फेरि कम्प्युटरकै अगाडि पुगी । त्यो दिन प्रनोन दिउँसै घर फर्कियो ।
‘किन चाँडो आएको कामबाट ? के भयो ?’ मायाले प्रश्न गरी ।
‘काम छोडिदिएँ आजदेखि ।’
‘लौ, के भयो ? किन त ?’
‘साहूसित झगडा भयो । मजस्तो पुरानो कामदारको पनि विश्वास गरेन उसले । जहाँ विश्वास हँुदैन, त्यहाँ काम गर्न गाह्रो हुन्छ, त्यसैले छोडिदिएँ ।’
‘तिम्रो काम के भयो त ?’ प्रनोनले प्रश्न ग¥यो । मायाले प्रनोनलाई एजेन्सीले दिएको कागज देखाउँदै भनी– ‘मलाई भोलि यो ठेगानामा जानुछ । तर मलाई थाहा छैन, कहाँ हो कसरी जाने हो ? के तिमी मलाई पु¥याइदिन सक्छौ ?’ प्रनोनले किन सोधेकी होलाजस्तो ग¥यो र मुस्कुरायो मात्र, केही जवाफ दिएन ।
भोलिपल्ट उसैले मायालाई पु¥याइदियो इन्टरभ्यु दिनुपर्ने घरमा । बीस मिनेटजतिको अन्तर्वार्तापछि उसले काम पाउने भई । काम थियो बिहान आठ बजेदेखि बेलुका छ बजेसम्मको । उसले यो काम गरेमा रातमा सधैँ एक्लै डेरामा बस्नुपर्ने हुन्थ्यो । तर पनि अङ्ग्रेजी बोल्ने परिवार भएकाले मायाले नाइँ पनि भन्न चाहिन ।
मायाले काम सुरु गरी । माया दिनभर काममा जान्थी भने प्रनोन कामको खोजीमा । घरमा बस्ने तला एउटै माथिल्लो तला भएकाले उनीहरू प्रायः घरबाट निस्कँदा र पस्दा सँगसँगै हुन्थे । कामबाट फर्किएपछि जो पहिले घर पुग्दथ्यो, अर्को आउने समयको जानकारी फोनबाट लिएर चिया बनाउँथ्यो र अर्को साथीको प्रतीक्षा गर्दथ्यो । अनि चिया पिएर प्रनोनकै गाडीमा उनीहरू घुम्न निस्कन्थे । इजरायल सानो देश भएकाले एउटा छेउबाट अर्को छेउको सिमानासम्म पुग्न छ घन्टाको ड्राइभिङ् गरे पुग्ने । प्रायः सातदेखि १० बजेसम्म ती दुई घुमि नै रहेका हुन्थे । हप्तामा दुई दिन मायाको बिदा हुन्थ्यो, एक दिन त डेरामा सबै साथीहरू बस्न आउने हुनाले डेरा नै रमाइलो हुन्थ्यो । ऊ त्यो दिन डेरामै बस्न रुचाउँथी । अर्को दिन प्रनोन र ऊ टाढाटाढाका सहर घुम्न निस्किन्थे । माया बेलुका चाँडै घर फर्कने, प्रनोन काम नपाएको बेगारी । प्रनोनले मायालाई त्यस समयमा इजरायलका सबै सहर, गाउँ, प्रख्यात ठाउँ, कल–कारखानादेखि किबुज (खेतीगर्ने ठाउँ) सबै देखाइदियो । मायाले इजरायलमा नदेखेको कुनै सहर या कुनै क्षेत्र रहेन । प्रनोन अङ्ग्रेजी राम्ररी बोल्दथ्यो तर लेख्न उसलाई एबीसीडी पनि नआउने । ऊ मायालाई हिब्रू बोल्न सिकाउँथ्यो भने मायाले उसलाई अङ्ग्रेजी लेख्न । ती दुई एकअर्काको गुरु पनि बनेका थिए, त्यस वेला ।
पहिलो दिन प्रनोनलाई देख्दा डराएर माया पछाडि सरेकी थिई भने बोल्न पनि अति डर लागेको थियो ! अरू नेपालीहरू त सायद नै प्रनोनसित बोल्थे होलान् । तर प्रनोन यत्ति चाँडो मायाको निकट मित्र बन्न पुग्यो कि ऊ त्यसलाई बयान गर्न नसक्ने अवस्थामा पुगी । उनीहरूका बीचमा धेरैजसो गफ इलेक्ट्रोनिक्सका विषयमा हुन्थ्यो भने आ–आफ्नो देश, संस्कृति, संस्कार, राजनीतिका बारेमा पनि कुरा चल्दथ्ये । गफको कुनै अन्त्य थिएन ।
माया उसकोे अपार्टमेन्टमा एक्लै, ऊ आफ्नोे अपार्टमेन्टमा एक्लै । प्रनोन मायासित त्यति नजिक हँुदा पनि उसले मायालाई जहिले पनि आदर नै गरेको मायाले महसुस गरेकी थिई । प्रनोन एउटा पुरुष, त्यो पनि पारपाचुके, माया एक्ली ऊभन्दा त राम्री पनि थिई । सबै थाहा भएर पनि उसले नराम्रो नियत राखेको मायाले कहिल्यै महसुस गरिन । त्यसैले पनि प्रनोन दिन–प्रतिदिन मायाको असल मित्र बन्दै गयो ।
माया आफ्नो देशमा धनी परिवारकी सदस्य । विदेश जाने चाहनाले उसलाई इजरायल पु¥याएको थियो । परिवारका सबै सदस्यहरूले नजा न भन्दाभन्दै विदेश जाने रहरमा ऊ पुगेकी थिई इजरायल । तर त्यहाँको काम त ओहो ! मायाले कल्पना पनि गर्न नसक्ने निम्नस्तरको काम । छिः छिः चर्पी सफा गर्ने, दिसा–पिसाब गरेको सफा गरिदिनुपर्ने । यस्ता काम गर्न त ऊ विदेशिएकी थिइन । कामको स्वरूपले गर्दा पनि इजरायलको काममा माया एड्जस्ट हुन सकिरहेकी थिइन । प्रनोनकै अनुभव, सल्लाह र सुझावले मायामा आत्मबल जगाइदिएको थियो । उसले पनि रेष्टुरेन्टको भाँडा माझ्ने कामबाट आफ्नो इजरायलको बसाइ सुरु गरेको थियो ।
रूपले प्रनोन जति नराम्रो थियो, उसको आत्मा ठीक विपरीत थियोे । अरूले उसलाई बाहिरी रूप र शारीरिक बनोटका कारण नराम्रो देखेका थिए भने मायाले उसकोे भित्री मन राम्रो देखेकी थिई ।
एक दिन प्रनोनले केही भन्नु छ भन्दै मायालाई कोठामा बोलायो । केही बेरपछि माया प्रनोनको कोठामा गई । प्रनोन मनको कुरा भन्न धक मानिरहेको थियो । केही भन्न भनेर बोलाएको अनि बोल्न धक मानेको देख्दा मायाको मनमा चिसो पस्यो । ‘लौ मा¥यो, यसले मसित के पो भन्न लाग्यो’ भनेर ऊ अलि डराई पनि । मायाले धेरै कर गरेर सोधेपछि उसले भन्यो– ‘केही समय पहिले अशोकाको फोन आएको थियो । म त्यही बारेमा तिमीसित कुरा गर्न चाहन्थँे ।’ मायाले सन्तोषको सास लिँदै भनी–‘को अशोका ?’
‘एकजना श्रीलङ्कन महिला ।’ उसले तुरुन्त जवाफ दियो । प्रनोन र अशोकाको भेट काम गर्ने ठाउँमा भएको रे । अशोका वेटर्स, ऊ सेफ । अशोकाले उसलाई काममा सघाइदिने, उसले खाए–नखाएको विचार गर्ने गर्दिरहिछ । पछि अशोका जेरुसेलम गइछ, राम्रो काम पाएर । त्यसपछि पनि उनीहरूबीचमा फोनवार्ता भने भइरहेको रहेछ । प्रनोनले अशोकासँग प्रेम–प्रस्ताव राख्न चाहेको धेरै भइसकेको रहेछ । तर आफ्नो शारीरिक बनोट, रूप र दुई बच्चाको बाबु भनेर नाइँ भनी भने के गर्ने ? भएको एउटा मित्र पनि गुम्छे भनेर उसले भन्न आँट गर्न सकेको रहेनछ । प्रनोनले आफ्नो मनका कुरा सबै मायाका अगाडि पोख्यो । ‘अशोकाको मनमा के छ तिमीले बुझ्न सकेनौ त ?’ उसले प्रनोनलाई प्रश्न गरी ।
‘माया, तिमीले चाह्यौ भने अशोकासम्म मेरो कुरा पुराइदिन सक्छ्यौ । उसकोे मनमा के छ, तिमीलाई बुझ्न सजिलो पनि हुन्छ । एक महिलाले नै महिलासित नै खुलेर कुरा गर्न सक्छे । त्यसै कारण कृपया मलाई यत्ति सहयोग गरिदेऊ न !’ मायालाई प्रनोनले उसलाई लगाएको गुन तिर्ने वेला आएजस्तो लाग्यो र ऊ सहयोग गर्न तयार भई ।
मायाको बिदाको दिन अशोकालाई भेट्न जाने व्यवस्था मिलायो प्रनोनले । उनीहरू भनेकै दिन अशोकाकहाँ पुगे । एउटा घरअगाडि पुगेर प्रनोनले गाडी रोक्यो । पुरानो तीनतले घर । उनीहरू सरासर घरको माथिल्लो तलामा पुगे । ढोकाअगाडि उभिएर प्रनोनले डोरबेल बजायो । एउटी सानी, काली महिलाले ढोका खोलिन् । उनले लगाएको हाफपाइन्ट र भेस्टले उनलाई झन् सानो देखाउन मद्दत गरिरहेको थियो । फुच्चीले प्रनोनलाई देख्नासाथ मुस्कुराई र हाई भनी । प्रनोनले मायातिर हेर्दै भन्यो– ‘अशोका ।’ ओहो, अशोका ! माया छक्क परी । प्रनोन र अशोकाको जोडी नमिल्नेजस्तो देखी मायाले । ऊ मोटो अग्लो, अशोका सानी दुब्ली फुच्ची । उसले ढोकामा उभिएरै माया र अशोकाबीच परिचय गरायो । अशोकाले भित्र आउन अनुरोध गरी । तीनैजना भित्र पसे । एउटा कोठा, छेउमा बारेर बनाइएको भान्सा, अर्को छेउमा बाथरूम । एकजना मात्र सुत्ने बेड । एउटा सोफा र छेउमा सानो डाइनिङ् टेबुल । कोठा सफा थियो । अशोकाले भान्साको छेउमा भएको सानो फ्रिजबाट तीनवटा कोक निकाली । अशोका पनि कामबाट बिदा लिएर बसेकी रहिछ । माया घरि प्रनोनलाई त घरि अशोकालाई हेर्दै अमिताभ बच्चनको फिल्म लावारिसको गाना सम्झिन पुगी—
जिसकी बीबी छोटी, उसका भी बडा नाम है,
गोदी मे बिठालो, बच्चे का क्या काम है …
अशोकाको शरीरभन्दा प्रनोनको शरीर बीस दोब्बर ठूलो थियो होला । कसरी कुरा गर्ने ? माया त चिन्तित भई । बिस्तारै ऊ अशोकासित कुरा गर्न थाली, अरू नै विषयमा । मायामा मान्छेसित कुरा गरेर तान्न सक्ने खुबी थियो । त्यहीअनुरूप अशोका पनि एक दुई घन्टामै मायासित खुलेर कुरा गर्ने भइसकेकी थिई । उनीहरूको गफ सुन्दा लाग्दथ्यो बर्सांैपछि दुई साथी भेटिएका छन् । अब माया अशोकासित कुरा गर्नसक्ने अवस्थामा पुगी । उसले निहुँ पारेर प्रनोनलाई तरकारी लिन पठाई । प्रनोन बाहिर निस्किएपछि मायाले अशोकासित प्रनोनका बारेमा कुरा सुरु गरी । अशोकाले प्रनोनको धेरै नै तारिफ गरी । अब मायाको पालो थियो । उसले अनेक भूमिका बाँधेर अशोकालाई प्रनोनको विचार सुनाई । अशोकाले के भन्ली भनेर धेरै नै हिचकिचाउँदै उसले डराउँदै कुरा राखेकी थिई । अशोका अलि लजाउँदै, अलि मुस्कुराउँदै राजी भई । खाना खाएर उनीहरू निस्किए जेरुसेलम घुम्न । अशोका र प्रनोनले पूरै जेरुसेलम देखाए मायालाई । चार बजेतिर आफ्नो सहर तेलभिव फर्किएका थिए तीनैजना त्यो दिन । मायालाई प्रनोनले उसकै घरमा खाने निमन्त्रणा दियो । त्यो रात अशोकाले विरियानी पकाएकी थिई । प्रनोनले त केके हो केके ! त्यो रात धेरै रमाइला गफहरू भए ।

०००
एक दिन शुक्रबार प्रनोनकोे टीभीमा इन्डियन प्रोग्राम आएछ । उसले मायालाई देखाउनुप¥यो भनेर दौडँदै आएर मायाको अपार्टमेन्टको बेल बजाएछ । मायालाई खोजेछ, ऊ बाथरूममा नुहाउन पसेकीले फर्किएछ । माया बाथरूमबाट बाहिर निस्किएपछि साथीहरूले कालेले खाज्दै आएको खबर गरे । ‘किन रे ?’ मायाले साथीहरूसित प्रश्न गरी । उनीहरु कसैले पनि प्रनोनसित किन भनेर सोधेका थिएनन् । माया चिसै कपालले प्रनोनको कोठामा गई । काले त झन् कालोनीलो भएर निनाउरो मुख पारेर बसेको थियो । ‘तिमीलाई आज के भयो बिसन्चो भएको जस्तो अनुहार छ नि ?’ मायाले प्रनोनलाई सोधेकी मात्र के थिई, उसले केही जवाफ नै नदिई मायालाई कुर्सीमा बस्ने इसारा ग¥यो । ‘तिमीलाई भेटेको पहिलो दिन नै मैले मेरो कोठाको चाबी किन दिएँ भनेर तिमीलाई अचम्म लागेको थियो नि, त्यसको जवाफ म आज दिन्छु ।’ ऊ मौन भएर प्रनोनको कुरा सुन्न थाली ।
‘म विगत तीन वर्षदेखि यस अपार्टमेन्टमा बस्दै आएकोछु । पाँचतले यस घरको सबभन्दा माथिल्लो तलामा हामी बस्दछाँै । म काममा जाँदा र आउँदा भ¥याङमा मेरो भेट नेपाल, इन्डिया, श्रीलङ्का, फिलिपिनलगायत विभिन्न देशका मानिससँग हुन्थ्यो । हाम्रो घरमा लिफ्ट नभएकाले धेरै मानिस काममा जानुपर्ने समयमा र आउँदाको समयमा भ¥याङ्मा भेट हुनु स्वभाविक पनि हो । सधैँ भेट हुने हुनाले म उनीहरूलाई हाई, हेलो गुडमर्निङ् भनेर अभिवादन गर्दथेँ । हामी बसेको यस घरमा पाँच सयभन्दा बढी मान्छे होलान् । मैले तीमध्ये धेरैलाई अभिवादन गरँे तर आजसम्म मलाई कसैले पनि मेरो अभिवादनको जवाफ दिएका थिएनन् । एकै समयमा आउने–जाने गर्दा प्रायः सबै मानिससित मेरो भेट हुने हुनाले नबोले तापनि मेरा लागि भने धेरै अनुहार अपरिचित पनि थिएनन् । तर ती परिचित अनुहार पनि मलाई देख्दा– कि फर्केर कोठा भित्रै पस्दथे कि अर्कोतिर मुख फर्काएर मलाई नदेखेजस्तो गरेर हिँड्दथे । यस घरमा यत्तिका मान्छे बस्ने भए तापनि मसित बोल्ने मान्छे मैले एकजना पनि पाएको थिइनँ, यो तीन वर्षमा । अरूबाट सधैँ त्यस्तो व्यवहार पाएपछि ‘म मात्र किन अभिवादन गरिरहने ? यो घरमा पस्दा या निस्कँदा म एक्लै छु, यो घरभरिमा’ भन्ने सोचेर हिँड्न थालिसकेको थिएँ । यस्तो वेलामा तिमीले मलाई प्रश्न गरेकी थियौ– ‘ह्वाट ह्यापेन्ड ?’ मैले तिम्रो प्रश्नको जवाफ दिन सकेको थिइनँ त्यो वेला । मेरो मन एकैपटक अचम्म र खुसी भएको थियो । तिमी मसित बोल्यौ भनेर । तिमी पुलिस देखेर डराएर मलाई के भयो भनेर सोधेकी थियौ होला । तर मेरा लागि त तिम्रो आवाज नै पहिलो आवाज थियो यस घरमा । तिमी तर्किनौ मसित बोल्यौ । तिमीले मसित हँसिलो अनुहारले निडर भएर कुरा गरेको अनुभव गरेँ मैले । तिमीले ढोकामा उभिएर पहिलो दिन मसित गफ गर्दाको तिम्रो त्यो अनुहार म मेरो जिन्दगीको अन्तिम घडीसम्म पनि बिर्सन सक्दिनँ । त्यत्ति मात्र कहाँ हो र ! तिमीले त मैले पकाएको चिया पनि पियौ, म त्यस समयमा कत्ति खुसी थिएँ । तिमी मसित चिया पिउँदै गफ गरिरहेकी थियौ तर म कल्पनाको अर्कै संसारमा थिएँ । यस घरमा पनि मसित बोल्ने कोही मान्छे छ, यो मान्छेसित मित्रता गर्न पाए पनि हुनेथियो भन्ने मेरो मनमा लागिरहेको थियो । त्यही वेला तिमीले इन्टरनेटका बारेमा सोध्यौ । म तिमीसित फेरि पनि बोल्न पाऊँ, यो घरमा कोही मानिस मसित पनि बोल्ने छ है भन्ने मेरो मनमा परिरहोस्, म यही चाहन्थँे । तिम्रो हाँसेर बोल्ने त्यो बानी र मसितको व्यवहार मलाई असाध्यै मन परेको थियो । मित्रता त म चाहन्थेँ तर कसरी भनौँ ? भनिनँ भने फेरि भेट होला नहोला ! फेरि भेट भइहाल्यो भने पनि आजको जस्तो बोलिनौ भने ? यस्तै कुरा मनमा खेलिरहेको वेला इन्टरनेटको कुरा तिमीले झिक्यौ । म त्यो मौका किन गुमाउन चाहन्थँे र ? इन्टरनेटको लोभमा परेर साँचो लियौ भने त तिमी मेरो कोठामा आइरहने भयौ । अनि त मैले तिमीसित बोल्न पनि पाउने भएँ नै । मात्र तिमीसित बोल्नका लागि कर गरेर तिमीलाई मैले साँचो थमाएको थिएँ । आज म मेरो टीभीमा चलिरहेको कार्यक्रम तिम्रो देशको जस्तो लागेर तिमीलाई बोलाउन गएँ । मैले बेल बजाएपछि त्यहाँ ढोका त खुल्यो तर मैले तिम्रो बारेमा सोध्दा कोही पनि मसित बोल्न पनि चाहेनन् । सबजना ढोकाको छेउमा आए र फर्किए । तिमीजस्तो त अरू नेपाली पनि हँुदारहेनछन् । आज म फेरि अतीतमा नै पुगेर तिम्रो ढोकाबाट फर्किएँ । तिमी जति दिन इजरायलमा हुन्छ्यौ मसित बोल्न नछोड्नू है !’ प्रनोनको आँखा रसाएको थियो । उसको स्वर भारी भएको मायाले परैबाट थाहा पाइसकेकी थिई ।
ओहो, मान्छेले मान्छेलाई गर्ने व्यवहारमा यत्रो भिन्नता ? माया पनि विचलित हुन पुगी, प्रनोनको कुरा सुनेपछि । मायाले धेरै आकाश–पाताल देखाएर उसलाई सम्झाएपछि ऊ अलि नर्मल भयो । माया आफ्नो कोठातिर लागी ।
प्रनोनको सल्लाहअनुसार काम गर्दै गएपछि एक दिन मायाले अमेरिकाको भिसा पनि पाई । भिसा कसरी पाउने भनेर मायालाई सिकाउने व्यक्ति पनि प्रनोन नै थियो । भिसा पाएको राती प्रनोन र अशोकाले मायालाई रात्रिभोजका लागि एउटा होटलमा लिएर गएका थिए । खाना खाँदैगर्दा अशोकाले मायालाई सोधेकी थिई–
‘दिदी, अमेरिका जाँदा हामीबाट के चाहनुहुन्छ ? के उपहार दिऊँ तपाईलाई ?’
‘म जे माग्छु दुवै जनासित माग्छु, दुवैले दिनुपर्छ । दिन्छौ ?’
‘के ? के ?’ दुवैबाट एकैसाथ प्रश्न आयो ।
‘तिमीहरूको विवाह हेर्न चाहन्छु म । त्यो नै मेरा लागि मतना (हिबू्र भाषामा उपहार) हुनेछ । म तिमीहरूको विवाहको साक्षी बस्न चाहन्छु ।’
क्या अचम्म दुई सहरमा बस्ने, दुईतिर काम गर्ने मानिसले केके सल्लाह गरे– भोलिपल्ट नै कोर्टम्यारिजका लागि निवेदन दिन दुवै लागे श्रीलङ्कातिर । दुई–तीन दिनपछि प्रनोन फर्कियो । अशोका उतै बसी । केही समयपछि प्रनोन फेरि गयो र अशोकालाई श्रीमती बनाएर मायाको सामु लिएर आयो । मायालाई खुसीखुसी बिदा गर्नका लागि अशोका गरिरहेको काम छोडिदिएर श्रीलङ्का गएकी रहिछ । कहाँकहाँको मानिस प्रनोन र अशोका मायालाई कत्ति माया गर्ने भइसकेका थिए ।
इजरायलबाट अमेरिका जाने वेलामा मायालाई एयरपोर्टसम्म छोड्न आउने कोही नेपाली साथी थिएनन् । ती नवदम्पत्ती नै मायालाई बिदा गर्न आएका थिए । मायाको इमिग्रेसन भैसकेपछि भित्र पस्ने वेलामा प्रनोनले भन्यो– ‘तिम्रो भलो होस् । तर माया, आज मलाई मैले एउटा असल मित्र गुमाएजस्तो लागेको छ ।’ मायाले प्रनोनको आँखामा छचल्किएका आँसु देखिसकेकी थिई । अशोका त अघिदेखि रोइरहेकी थिई । भेट्नु रमाइलो हुन्छ, बिछोडिनु गाह्रो । मायालाई पनि गाह्रो भइरहेको थियो । तर पनि मायाले आपूmलाई सम्हाल्दै भनी– ‘भो भो प्रनोन, त्यसो नभन, म तिमीलाई कहिल्यै बिर्सन्नँ । मेरो जीवनमा तिमीहरूलाई बिर्सनु असम्भव हुनेछ । मित्रताका लागि नजिक नै हुनुपर्छ भन्ने छैन । टाढाबाट पनि गहिरो मित्रता कायम हुन्छ ।’

०००
आज धेरै दिनपछि प्रनोेनलाई च्याटमा भेटी मायाले । ऊ इन्टरनेट सञ्जाललाई धन्यवाद नदिइरहन सक्दिन । जसले उसका धेरै साथीहरूलाई च्याटमार्पmत् नजिक बनाइदिएको छ । इन्टरनेट नभए पनि उसले पत्रमार्फत् मात्र प्रनोन र अशोकाको खबर पाउँथी होली । तर पनि छिटो होइन । अनलाइनमा प्रनोन बोल्न आयो । ‘किन ? कता हराएको ?’ मायाले उसलाई सोधेकी मात्र के थिई । प्रनोनले एक छिन ल भनेर अशोकालाई बोलायो । अशोका आई । उसकोे काखमा सानो बच्चा थियो । अशोका र प्रनोनले मायालाई उनीहरूको सात दिनको छोरो देखाउँदै भनेका थिए– ‘माया लिऊ तिम्रो मतना ।’
…………………………………………
(सरिताका दुई बथासङ्ग्रह प्रकाशित छन्)
sarita.aryal@gmail.com