किशोर पहाडी - Aksharang
  • २०७७ माघ ४ आइतबार

किशोर पहाडी

राजेन्द्र शलभ

राजेन्द्र शलभ

मैले यस धरतीमा टेकेको
छ दशक नाघिसक्यो
तर सधैँ सोचेको जस्तो भएन
अनेक बाधा–सङ्कट आइरहे
खुसीहरू पनि आए
यसरी नै बितिरह्यो
र, बाँकी पनि यसरी नै बितोस् ।

०००
पहिले काठमाडौँको विजय मेमोरियल
त्यसपछि वीरगञ्जको
त्रिजुध्द बहुउद्देश्य हाइस्कुल
अनि फेरि काठमाडौँकै
फर्फिङ स्कुलमा पढेर
२०२९ सालमा एसएलसी पास गरेँ ।
पुल्चोक इन्जिनियरिङ् क्याम्पसबाट
सिभिल इन्जिनियरिङ्मा डिप्लोमा गरेँ ।
केही महिना हवाईविभाग
र केही वर्ष खानेपानी समितिमा काम गरेँ ।

०००
खानेपानीमै काम गर्दा
२०३६ सालको सडककविता–क्रान्तिमा
सक्रिय सहभागी हुनथालेँ
त्यो थाहा पाएर हाकिमले
स्पष्टीकरण मागे र हरेश गर्न थालेँ ।
जागिरभन्दा प्रजातन्त्र प्यारो
कविता र सिर्जना नै प्यारो
दस वर्षे जागिर छोडेर
व्यापार गर्न थालेँ ।
पहिले कोल्ड स्टोर थियो
पछि भिडियो क्यासेटको पसल
अन्त्यमा इटाको डिपो खोलेँ
तर कलाकार व्यापारी बन्न सक्तो रहेनछ
घाटा नै घाटाका अनुभव सँगालेर
त्यो सबै बन्द गरेँ ।

०००
नाटकमा त म (स्कुलमा छँदा नै)
सायद ८ कक्षामा पढ्दादेखि नै
अभिनय गर्नथालेँ
पछि झन्–झन् रस पस्न थाल्यो
म, अशेष मल्ल, गोविन्दसिंह रावत,
ओममणि शर्मा, रामकृष्ण निराला, बिष्णुविभुहरू–
सर्वनामको स्थापना ग-यौँ
लामो समय लागियो सर्वनाममा
सडकनाटक गथ्र्यौं त्यत्तिवेला
हो जब सडकमा थियो, सर्वनाम– म थिएँ
अहिले भवनमा छ– म छैन ।

०००
त्यत्तिवेला नेपाल टेलिभिजनमा
बालकार्यक्रम सञ्चालन गरियो
बालटेलिफिल्म बनाइयो
टेलिफिल्ममा अभिनय पनि गरियो
अहिले त्यो पाटो
एकादेशको कुरा भा’को छ ।
त्यसपछि
साहित्यिक गतिविधिमै लागेँ
त्यतिवेला अरू समाचार छापिने
तर साहित्यिक समाचार कतै नआउने भएर
‘सौरभ’ नामको साहित्य–समाचार पत्रिका
प्रकाशन गर्न थालियो ।
पछि सामाजिक सञ्जालको विकाससँगै
फेसबुकमा ग्रुप बनाएर
‘Pen Lovers in Nepal’ नामक ग्रुपको
माध्यमले साहित्यिक समाचार
संप्रेषण गर्न थालियो
नेपालीमा लेख्ने सुविधा नभएर
त्यो वेला अङ्ग्रेजीमा नाम राखियो
अहिले नेपालीमै लेख्न सजिलो भएर
‘शब्दपथ’ को सञ्चालन गर्दैछु
यसरी साहित्यमै समर्पित छु ।

०००
लेखनको कुरा गर्दा
कथा बढी लेख्छु–
‘घर र खण्डहर’, ‘विशु दाइ’
‘बाँच्नु र बाँचेकाहरू’, ‘सर्वज्ञ र सेक्स’
‘मुग्ध सिम्फोनी’ र ‘रोजा कथाहरू’
पुस्तकका रूपमा प्रकाशित छन् ।
यसबाहेक
‘कथाकोण’ –संयुक्त कथासङ्ग्रह
‘अध्याय’ –पहिलो लघुकथासङ्ग्रहको सम्पादन
‘किम्बदन्तीहरू’ –आफ्नै लघुकथासङ्ग्रह
‘सहरमा बत्ती निभेको बेला’ –कवितासङ्ग्रह
‘त्यो तलाको मालिक’ र ‘एकै साथ हाँसौँ’
विश्वकथासङ्ग्रह (अनुवाद)
अनि बालकथासङ्ग्रहहरू–
‘हाँस र फुच्ची केटी’
‘लम लम कि तम’
‘आ–आफ्नो भाग’
‘शनिबारको साथी’ गरी
करिब १६÷१७ वटा पुस्तक प्रकाशित छन् ।

०००
अहिले पनि लेखनबाहेक
केही साहित्यिक र केही सामाजिक संस्थाहरूमा
संलग्न छु– काम गर्दैछु ।
त्योभन्दा पनि मुख्य–
एउटा कथासङ्ग्रह र
एउटा लघुकथासङ्ग्रह छाप्ने तयारीमा छु
एउटा उपन्यास लेख्ने मन छ
केही टिपोटहरू गरेको छु ।

०००
मनकै कुरा गर्ने हो भने
गीत गाउन मन पर्छ
गीत गाउँछु र सामाजिक सञ्जालमा राख्छु
रमाउँछु–आफैँसँग ।