सन्दर्भ २०७ औँ भानुजयन्ती - Aksharang
  • २०७७ मंसिर १९ शुक्रबार

सन्दर्भ २०७ औँ भानुजयन्ती

डा. विष्णुविभु घिमिरे

डा. विष्णुविभु घिमिरे

यस्तो कोरोना–कहरको महामारीमा पनि आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती रोकिएन । देशभित्र र देशबाहिर जहाँजहाँ नेपालीहरू पुगेका छन्, त्यहाँत्यहाँ सधैँझै तामझामपूर्ण भेला भएर भानुजयन्ती मनाउन नसके पनि जुम, फेसबुक र अन्य सानातिना भेलाहरूमार्फत् भानुको सम्झना गर्ने, श्रद्धा दर्शाउने कार्यहरू भइ नै रहे । यस्तो विषम वेलामा पनि भानुलाई सम्झिएर, उनको कवित्व र कृतिगत विशेषताहरूलाई झल्काउन उनको सम्झनामा रामायण र अन्य कृतिहरूबाट श्लोकहरू पाठ गर्ने क्रम यथावत् रह्यो ।
हरेक वर्ष असार २९ गते भानुलाई सम्झन्छौँ र लाग्छ वर्षभर बिर्सन्छौँ । दसैँ–दसैँमा सम्झेजस्तो, तिहार–तिहारमै सम्झेजस्तो, बुद्धलाई– बुद्धपूर्णिमामै सम्झेजस्तो, आदिकवि भानुभक्तलाई पनि भानुजयन्तीकै दिन सम्झन्छौँ । मैले थाहा पाएदेखि अहिलेसम्म सम्झँदा म जतिवटा भानुजयन्तीमा सहभागी बनेँ, ती सबै पोहोर परार, जरारजस्तै, पहिले पनि अहिले पनि । सबै ठाउँ एउटै कुरा एउटैजस्तो प्रस्तुति । दसैँमा टीका लाएजस्तो, तिहारमा देउसी–भैली खेलेजस्तो, खोइ के–खोइ के ?
भानुमाथि जति बोले पनि बोली पूरा नहुने, जति लेखे पनि लेखाइ पूरा नहुने ? भानु र उनका कृतिहरूमाथि बोल्ने निश्चित मानिसहरू भएजस्तो । एउटै एउटै भाव र दृष्टिकोणमा बोल्दाबोल्दा पनि नथाक्ने विद्धान्हरू देख्दा अचम्म पनि लाग्छ । उहिले बोलिसकेको कुरा रिठ्ठो नबिराइ अहिलेसम्म हरेक भानुजयन्तीमा ज्यौँका त्यौँ सम्झिएर बोल्नसक्नु, प्रवचन दिनसक्नु सार्थक सोच हो कि निरर्थक अभ्यास, म कताकता अलमल्ल अनुभूति गरिरहेछु ।
भानुको मूल कृति रामायण नै हो । रामायणबाहेक उनका वधूशिक्षा, भक्तमाला, रामगीता, प्रश्नोत्तरी अनि फुटकर कविताहरूसँगै हामी भानुलाई सम्झन्छौँ । उनको रामायण संस्कृत आध्यात्म रामायणको अनुवाद हो तर उनले त्यहाँवाट कथा र पात्रहरू मात्र लिए, प्रस्तुति भने आफ्नै मौलिक संस्कृति र भावनाभित्र गहिरिएर दिए । यसलाई भावानुवाद भन्न मिल्छ । यही मौलिक सिर्जनाको विशेषताले उनलाई आदिकविको गरिमामयी आसनमा स्थापित गरायो । रामकथा त्यही हो, तर हुबहु जस्ताको तस्तै होइन । भानुभक्तीय रामायणमा भारतीय संस्कृतिको राम होइन, नेपाली संस्कृतिको राम छ । रामगाथा त्यही हो तर आफ्नै भिन्न परिवेशमा भानुले त्यसमा आफ्नोपन दिए । उनको सबैभन्दा ठूलो विशेषता मलाई लाग्छ सरल, सहज, झर्रो जनजिब्रोको भाषालाई साहित्य या उतार्नुमा प्रयोग गर्नु हो । यसले गर्दा उनले लेखेका रामायणका राम, सीता, लक्ष्मण, भरत, हनुमान, सुग्रीव, वालि, रावण सबै पात्रहरू दूरदराजका आफ्नै भूभागका आफ्नै स्वजाति जस्तो आत्मीय लाग्छन् । रामायण पढदा आफ्नोपनको एउटा गहिरो अनुभूति हुने विशेषता सायद यही हो । सीमित संस्कृतका जानकारहरूसँग मात्र ज्ञान भएको रामायणलाई उनले नेपाली भाषामा मौलिक अनुवाद गरेर, त्यसमा छुट्टै कला भरेर महान्कार्य गरेका छन् । जहाँबाट नेपाली भाषा र साहित्यको शुद्ध मूल फुट्योभन्दा अत्युक्ति नहोला । भानुअघि पनि काव्यसाहित्य लेख्नेहरू नभएका होइनन् तर भानुको जस्तो उच्च सिर्जना कसैले गर्न सकेका थिएनन् । भानुको कुरो आउँदा हामी उनका अन्य अनुयायी मोतीसाम भट्टलाई पनि बिर्सन सक्दैनौँ । जहाँ रामको नाउँ आउँछ, त्यहाँ हनुमानको नाउँ स्वतः नै आउँछ । हनुमानलाई सम्झनेले रामलाई स्वतः सम्झन पुग्छ । त्यसरी नै मोतीरामलाई सम्झँदा हामी भानुलाई पनि सँगसँगै सम्झँन्छौँ ।
‘भानुभक्तको जीवन चरित्र’ लेख्ने क्रममा मोतीरामले एक ठाउँ कविको स्वभाव र स्वरूपका बारेमा लेखेका छन्– ‘…कवि दुई प्रकारका हुन्छन् । पैल्हा स्वाभाविक अर्थात् सहज कवि, दोस्रो संसर्गी अथवा कृत्रिम कवि । स्वाभाविक कविको बराबर कृत्रिम कवि कदापि हुनसत्तैन । सहज कविको कविताका बराबर संसर्गी कविता कहिल्यै पनि हुन्न । सहज कवितामा अर्थ र शब्दको अलङ्कार सरासर देखिन्छ । जो सहज कवि छ, उसले कविता गर्दा लेख्न हुने, नहुने कुराको विचार राख्तैन अर्थात् कसैको पर्वाह मान्दैन । यस्तो कविता गरे ज्यान जाला भन्ने भय कति मनमा मान्दैन । यस्तो स्वभाव संसर्गी कविमा कदापि हुन्न ।’
मोतीरामको विचारमा भानुभक्त सहज र स्वाभाविक कवि थिए । यस प्रकारको कविबाट मात्र साहित्यमा नयाँ युग उदाउँछ । रामायणको प्रथम प्रकाशन कालदेखि अहिले अनेक संकरण प्रकाशित भइसकेको अवस्थामा पनि अहिले भानुको रामायण र अन्य कृतिहरू नेपाली जनमानसमा उत्तिकै लोकप्रिय छन् । भानुपछि मोतीराम, लेखनाथ, देवकोटा, सम, सिद्धिचरण, माधव घिमिरे, गोपालप्रसाद रिमाल, भूपि शेरचन, मोहन कोइराला, वासु शशी आदि हुँदै अहिले वैरागी काइँलासम्म आइपुग्दा पनि, अझ काइँलापछि अहिलेको समयका सम्पूर्ण कविहरूसम्म आइपुग्दा पनि लोकप्रिय काव्यका रूपमा भानुभक्तको रामायण पहिलो नम्बर मँ छ ।
रामायणमा के छ त्यो त एकपल्ट पढ्दा थाहा हुन्छ तर भानुले आजभन्दा दुई सय वर्षअघि कसरी त्यति सुन्दर काव्य लेखे, वास्तवमै उनको काव्यले यति धेरै लोकप्रियता पाउनुका पछि के कारण छ ? नयाँ पुस्ताका हरेक कविहरूले रामायण पढेर काव्य चमत्कार पत्ता लगाउन सके, उनीहरूको सिर्जनाशक्तिमा ठूलो प्रेरणा मिल्छ भन्ने मलाई लाग्छ । जय भानु !