अन्त्यपछि - Aksharang
  • २०७७ मंसिर १९ शुक्रबार

अन्त्यपछि

 पवित्रा पौडेल

पवित्रा पौडेल

माथि बूढी थिइन् । बूढा थिए तल । बूढाले सोचे पहिले बूढी उठेर जाओस् अनि म उठूँला । सायद बूढीले पनि सोचिन् होली पहिला बूढा उठेर जाऊन् अनि मात्र म उठूँला । एकअर्कातिर मुन्टो फर्काएर एकनास हेरिरहने उनीहरूमा एउटा गहिरो स्पर्शको असीम न्यास्रो अब झन्झन् बढिरहेको थियो ।
गर्न नभ्याएका मनका धेरै कुराहरू अझै बाँकी थिए । देहभोगको खोपिल्टामा भरिएको जीवनको पानीमा छप्ल्याङछुप्लुङ गर्दै भित्रैदेखि चिसिन बाँकी थियो दुवैलाई । एकअर्काबाट पलभर पनि छुट्टिन चाहँदैन थिए उनीहरू तर सधैँझैँ क्रमशः त्यो कालो पर्दा उनीहरूको बीच खस्थ्यो र स्तब्ध हुन्थो त्यो दृश्य । तत्पश्चात् आ–आफ्नो शून्य ओछ्यानतिर लुरूलुरू जान्थे उनीहरू । यो हिजो, आज र अस्ति मात्रको कुरा थिएन, महिनौँ यसैगरी बितिसकेको थियो ।
धेरै वर्षअघि एउटा जवान ठिटो नयाँ सुटकेस बोकेर परदेसियो । अनि एउटी युवती गर्भमा चलमलाइरहेको बच्चोको अनुभूतिसँगै गृहस्थीको चुल्हो सल्काउन लागी, जुन गृहस्थीमा उनीहरूको जवानीभन्दा निकै बूढो भइसकेको थियो पुख्र्याैली ऋण ।
कठिन सङ्घर्ष गर्दागर्दै केही वर्षपछि जब त्यस ऋणबाट उनीहरूले एकदिन मुन्टो उठाए फेरि पनि सन्तानको भविष्यको सपना फैलियो, जीवनको मझेरीभरि । त्यही सपना सँगाल्दासँगाल्दै लामो समयपश्चात् लोग्ने घर फर्कंन्थ्यो । देख्थ्यो स्वास्नीको गालाको लालीको एकपत्र ओइलिसकेको हुन्थ्यो । स्वास्नी महसुस गर्थी लोग्ने परदेशी थकाइले लस्त थियो ।
जीवनको थोरै भेटमा नै चित्त बुझाउँदै बाँचेका उनीहरूले आफू बसेको त्यो जीर्ण घरलाई एक दिन नयाँ बनाए । ऋण धन जोड्दै अरू जग्गाहरू जोडे । अनि अर्को एउटा घर पनि थपे । दुई छोराहरूका लागि । यतिसम्म गर्न सकेकोमा उनीहरू निकै खुसी थिए स्वयम्को दुःखलाई बिर्सिएर ।
परदेश गएको जवान ठिटो अब बुढिँदै त्यही थोत्रो सुटकेस बोकेर सधैँका लागि घर फर्कियो तर अलिकति पनि साथ फर्किएन उसको त्यो जवानी । प्रौढता पिउँदैगरेकी स्वास्नीले अनेक बिमारीसँगै अब लामो श्वास फेरिन् ।
दिनचर्याको तानमा बुनिँदै उनीहरूको अर्ध बूढोपन पनि अब क्रमशः बुढिएर थला प-यो ।
पहिला परदेशी–बाको कमाइको लोभ थियो र पो घर मिलेको थियो । अब भने छोराबुहारीहरू अंश लगाउने हतारोमा थिए ।
बूढाबूढीको त्यो जीवनभरको दुःखको कमाइ र जोगाई अब अंशबन्डा बनेर तौलिन पुग्यो । सन्तानले त्यो अंशरूपी धरोलाई च्यात्न मिल्नेसम्म च्याते, टुक्य्राउन मिल्नेसम्म टुक्य्राएर तर पनि अझै हिसाब मिलेन । न बाबुआमाले, न छरछिमेकी, न नातागोता कसैले पनि ती दुई छोराहरूबीच अंश हिसाबको चित्त बुझाइदिन सकेनन् ।
जीवनभरको दुःखको कमाइ अंशबन्डाको रमिता बनेर गृहकलह बढेको देख्दा ती वृद्धदम्पत्ती अब जिल्ल परे । टुङ्गो नलागेको झगडाको मूल कारण भने तिनै बाबुआमा नै थिए । बाबुआमा पाल्नेले धेरै जिउनी भाग खोज्यो । यस्तो हुँदा आफू ठगिने बहस ग-यो अर्कोले । यस्ता कैयौँ तर्कहरू बढ्दै गए अनि त्यही अंशे ढिकीजाँतोमा कुतर्कले निर्धक्क घान बढाउँदै गयो ।
यसरी अंशेविवाद मुछिएर गुज्रिँदै गरेका ती कैयौँ दिनहरूमध्येकै एक दिन आ–आफ्नो स्वार्थको एक त्यान्द्रो पनि खेर नजाने गरी ती छोराबुहारीहरूले आफ्नो हिसाब मिलाए । भाँडाकुँडा, घर, जग्गाको लालपुर्जासँगै बाबुआमाले पनि भागबन्डा हुनेभयो । एउटाको भागमा आमा परिन्, अर्कोको भागमा बाबु । त्यहाँ पनि अर्को सर्त जन्मियो– बाबुआमामध्ये जो पहिला मर्छन्, कुरो सकिगयो । जो पछिसम्म बाँच्छ उसको स्याहार एउटाले गर्ने र खर्च अर्कोले व्यहोर्ने । अन्त्यमा जिउनी भाग बराबरी खाने । दुवै छोराहरूमा त्यो सर्त हाँसीखुसी मञ्जुर भयो । कान्छो छोराबुहारीले बूढीआमालाई घिच्याउँदै अर्को घरतिर लगे । बूढाबाबु त्यही घरमै परे । जतिसुकै प्रतिकार गर्न खोजे पनि बल र प्रभुत्वहीन ती बाबुआमाको बुढेसकालमा छुट्टिनपर्नुको विवश पीडाको ध्वनि अब निरर्थक बिलायो ।
कैयौँ दिन र रातहरू बिते । ऋतु फेरियो । तर ती वृद्धवृद्धाहरूको जीवन फेरिएन । बिहानै उठेर माथि डाँडाघरको पिँढीको फलैँचामा बूढी बस्थिन् तल बँेसी घरको पिँढीमा बूढा बस्थे । टाढाबाट उनीहरू एक अर्कालाई हेरिरहेका हुन्थे । जुन दृश्य पनि अब घुमिल हुँदै गइरहेको थियो ।
हरेक साँझ बूढाले सोच्थे बूढी उठेरभित्र जाओस् अनि म उठूँला । सायद बूढीले पनि त्यही सोच्थिन् बूढा उठेर भित्र जाऊन् अनि म उठूँला ।
उनीहरूको भित्री मनलाई बुझिदिने कोही थिएन । मात्र परिवार त उनीहरूको बुढिँदै गएको बुढ्यौली देहको सिकसिकोमा भिजिरहेका थिए ।
देह कमजोर हुँदैगएका उनीहरूको एकअर्कालाई गएर भेट्ने सामथ्र्य भने क्षीण हुँदैगएको थियो ।
एक दिन बूढीको पुरानिएको चोलोको तुनामा झुन्डिरहेको मैलो थैलीको सानो पोको हातमा खेलाउँदै गर्दा सायद बूढाले यस्तै सोचे होलान् ।
जवानीमा त्यो घर धितो राखी अर्को जग्गा किनियो । त्यही जग्गा राखी अर्को घर बन्यो । एउटालाई धितो राख्दै अर्को समस्याको गाँठो फुकाउँदै व्यवहार मिलाए । सपना मिलाए । सायद अझै पनि एउटा अन्तिम सपना बाँकी थियो । त्यही सपनाका लागि बूढाले फेरि त्यो थैली बुहारीको हातमा धितो राखे आफ्नी बूढी स्वास्नीलाई एकपल्ट भेटाइदिने आशामा । त्यो थैली भित्र बूढीको भाँच्चिएको सुनको पुरानो बुलाकी थियो ।
सबै थरी गलेनन् र बुढेसकालमा पनि स्वास्नी चाहिने ? बुहारीको तीव्र वाणी विकारको ओइरो लाग्दा बूढा आफ्नो अन्तिम आशा पनि मर्दैगएको देखेर झनै गले । त्यो बुलाकी भने बुहारीको मुठ्ठीभित्रै हरायो ।
अब कसलाई सुनाऊन् उनी कुन न्यास्रोको कथा ? देहस्पर्श, व्यवहार र कर्तव्यस्पर्श गर्दागर्दै हृदयगर्भभरि प्रेम थिग्रिएर बसेको त्यही अपनत्वको न्यास्रो थियो । अब जीवन निख्रिनै लाग्दा फेरिँदै जाने त्यो प्रत्येक सासको न्यास्रो थियो । उनले खाटा बसेको आफ्नो हत्केलालाई गहिरिएर हेरे । लाग्यो, त्यही जलजल परेका तिनै फोकाहरू पुनः दुख्न थाले । अझै दुखेको मनले एकतमास त्यो डाँडाघरतिर हेरे । अब त्यो घर पनि त्यही जलजल परेको फोकाझैँ देखियो । आफू बसेको घरलाई नियाले । अनायास ती दुवै घर तिनै फोकाहरूझैँ देखिए । त्यही जलजले फोकामा सन्तानका स्वार्थी अनुहारहरू चलमलायो । अनि त्यो आकृति पनि झन्झन् बढ्दै गयो र क्रमशः प्याट्टप्याट्ट गर्दै फुट्यो । अब त्यस पीडामा सबैभन्दा बढी दुख्यो भने बूढी स्वास्नीको माया ।
अब उधिँ्रदै गएका जीवनका कैयौँ कथाहरूलाई सँगाल्ने र सिलाउने फुसर्दिलो समय कहाँ बाँकी थियो र ? मात्र एक तमास हतारो थियो । त्यही छटपटीमा बूढा घरभित्र र बाहिर ओहोरदोहोर गरिरहे । सायद त्यसको गन्ती हुन्थ्यो होला तर मनभित्र आफ्नी बूढी स्वास्नीको प्रेममय सम्झना र भावुकताले कतिचोटि ओहोरदोहोर ग¥यो त्यो भने गन्तीहीन थियो ।
मध्याह्न ढल्किसकेको थियो । खुर्पा बोकेर बारीमा पुगेका उनी रूखको साना दुई हाँगाहरू ताछिरहेका थिए । त्यो ताछ्दै गरेको लट्ठी चिल्याउँदा उनका हात धेरैचोटि गले तर पनि उनले ती दुई लट्ठी तयार गरिछाडे ।
साँझसम्म बारीतिरै अल्झेका बूढाले आज माथि घरको पिँढीतिर एकतमास हेर्न भ्याएनन् । जतिबेला हेरे त्यहाँ अँध्यारो पोत्तिसकेको थियो । त्यो अँध्यारोभित्र पनि कुनै मीठो आशाले ती दुई लट्ठीतिर हेरेर उनी मुस्कुराए ।
अनिँदो रात त उनको जीवनमा धेरैचोटि आएर गयो तर आजको रातमा भने अटेरी परेलाहरू खुल्लै बसे । त्यो सानो आँखाको आकृतिमा अतीतको फराकिलो स्मृति भने निरन्तर कुदिरह्यो । आफ्नो छेवैको थोत्रो सुटकेसलाई उनले एकतमास हेरिरहे । त्यो निर्जीव वस्तु आफ्नो सुखदुःखको साक्षी थियो । लाग्थ्यो त्यो सुटकेसले पनि बूढालाई बडो सहानुभूतिका साथ हेरिरहेका थियो ।
परदेश जाँदा आफ्नो मात्र सामान राख्ने त्यो सुटकेसमा आज आफ्नी बूढीको पनि केही सामानहरू थपिएका थिए । बूढाले श्रद्धा र प्रेमले त्यस सुटकेसलाई फेरि सुमसुम्याए ।
बूढाको त्यस मनमा साहस भरिँदै थियो । उनले फेरि पनि पर कतै जाने विचार गरे । मात्र प्रतीक्षा थियो भने भोलि बिहानीको ।
त्यो बिहानी उनी लुसुक्क घरबाट निक्लेर हिँड्नेछन् लठ्ठीको सहारामा । अनि आफ्नी बूढी स्वास्नीलाई लिएर दुवै लट्ठी टेक्दै पर कतै अन्जान बस्तीतिर जानेछन् । स्वार्थी सन्तानभन्दा धेरै पर ।
बूढाको त्यो कल्पना एकपटक फेरि मुस्कुरायो । उनले सोचे जब म बूढीको छेउमा पुगूँला यो लट्ठी उसलाई दिँदै हामी कहिल्यै नछुट्ने गरी सँगै बस्नेछौँ भन्दा त्यो पल ऊ कति खुसी होली ।
बिहानीपख उनी झकाएछन् । जतिबेला ब्यूँझेर बाहिर हेरे कलिलो घाम पाखाभरि पोखिसकेको थियो । घर सुनसान थियो । उनले पिँढीमा उभिएर माथि घरतिर हेरे । उनले जसलाई खोजिरहेका थिए त्यो आकृति त्यहाँ देखिएन । मात्र मान्छेको एक लर्को तल बेँसीतिर झरिरहेको थियो ।
उनी छेवैमा आइपुगेको त्यो लर्कोले अडिँदै भन्यो– ‘ल, अन्तिमपटक मुख हेर्नूस्् !’ सायद बूढीस्वास्नी उनलाई भेट्न त्यहीँ आँगनको बाटो हुँदै आइपुगेकी थिइन् । उनको अनुहार दुलहीझैँ राताम्मे थियो ।
जीवनभर सङ्घर्ष गर्दा कहिल्यै नथाकेको हात आज बूढीको अनुहारछेउ पुग्दा शिथिल भएर काँपिरहेको थियो । भावुक भएर उनले त्यो अनुहार हेरे ।
वषौँपहिले जुन देहलाई पहिलोचोटि छामेका थिए, जीवनका लागि आज त्यही देहलाई अन्तिमपटक छुँदैथिए बिदाइका लागि । पहिलो स्पर्शमा जुन खुसी मिसिएको थियो, अब त्यो अन्तिम स्पर्शमा मात्र आँसु निरन्तर झरिरहेको थियो ।
मलामीको लर्को घाटतिर पुगिसकेको थियो । बूढाले दैलोमा अड्याएको सुटकेस खोलेर हेरे । बूढीका पुराना लुगाहरू आफ्नो लुगासँगै टाँसिएको थियो । हिजो तयार गरेको एक जोडी लट्ठी आँगनमा अलपत्र लडिरहेका थिए । निर्जीव भएर पनि सायद थोत्रो सुटकेस सबै कथा जान्दथ्यो । त्यही सुटकेसमा अडेस लागेका बूढा पर घाटमाथि उडिरहेको धूवाँलाई एकतमास हेर्दैथिए ।
त्यो धूवाँ कालो रङमा फिँजारिँदै उड्दै थियो । बूढाको देहभित्रको रङ्गहीन श्वासेधूवाँ पनि अब त्यो धूवाँसँगै मिसिएर उडिरहेको थियो । ती दुवैका त्यो मृत्युधूवाँ भने सायद अब स्वतन्त्र भएर उडिरहेका थियो ।
अन्त्यपछि यदि उनीहरूको भेट भयो भने अनन्त जाने त्यो ठाडो बाटोमा उनीहरूले के के बात मार्दै गए होलान् ? त्यो पर पुगेर के ती बूढाले आफ्नो जवानी र पसिना पोखिएको त्यो पराईभूमिलाई एकपल्ट फर्केर हेरे होलान् ? जीवनको मझेरीभरि गृहस्थी सम्हाल्दासम्हाल्दै ओइलाएर झरेको त्यो आफ्नो जीवनको रूपलाई ती वृद्धाले कसरी फर्केर हेरिन् होला ?
साँच्चै त्यो अन्त्यपछि उनीहरूको भेट भयो भने उनीहरूले यो धरालाई कसरी हेरे होलान् ? अनि जीवनको भाषालाई कसरी बुझे होलान् ? उनीहरू साथै थिए भने अब कस्तो अनुभूति गरे होलान् ?
यदि साँच्चै जीवन सपना बुन्ने औजार हो भने मृत्युपर्यन्त पनि के त्यो औजार चलिरहँदो होला ?
………………………………………………………………..
(पौडेल विगत एक दशकदेखि सिर्जनाक्षेत्रमा सक्रिय स्रष्टा हुन्।)
pabitraadhikarip@gmail.com