- Aksharang
  • २०७७ फागुन १९ बुधबार

दिनेशराज पुरी

दिनेशराज पुरी

गएकी थिएँ
एकाबिहानै बालुवा चाल्न
चूल्हो धुवाउँने निहुले
म गएपछि
छिरेछ सिङ्गै कर्णाली झुप्रोभित्र
बगाएछ– जेठी, माइली र कान्छो बलेलाई
लगेन मलाई
र मसँगै पुच्छर हल्लाउँदै गएकी
छाउरीलाई !
गरिबीजस्तै त र’छ नि
नाथे कर्णाली पनि
झुप्रोसँग मात्र
आफ्नो पाइन् देखाउने
केके न सोहोर्छु भनेर आउने
र, गरिबको सबथोक बगाएर लाने
वानेश्वर चोकबाट
थोरै बामे सर्छिन् माइल्दिदी
र एक्लै बर्बराउँछिन्–
‘गैहाले मलाई भित्र्याको आठ वर्ष नपुग्दै
‘स्यानी’ का बा लाले बूढा !
भित्रिँदा त म दशकी मात्रै थिएँ
‘सँगै जान पनि त नसकिँदो रैछ नि !’
एक फाँको रुन्चे हाँसो
फिस्स हावामा उडाइदिन्छिन्
‘ऊबेला कत्ति आएथे कति
जवानी किन्नेहरू
सोचेँ
‘जवानी बेचेर बुढ्यौलीले कसरी गरिखानू ?’
बेचिन !
केही भैहाल्थ्यो कि बेचेको भए ?’
अट्टाहस…
संसद् भवनको
गेटमा पुग्छिन् दिदी
‘सभासद् साहप् !
म सबथोक बेच्न तयार छु–
रहर छ
कान्छीलाई ‘बोडिङ्’ पढाउने !
साहेप,
बरु मलाई नोकर बनाउनूस्
र लगाउनूस्
जुत्ताको तलुवा चाट्न
हली बनाउनूस्
र जोताउनूस् सुख फल्ने मलिला खेतहरू
सभासद् साहेप् !
यी मेरा पिँडुलामा डाम हेर्नूस् त !
यही डाम एक दिन
सर्प भएर छिर्यो भने तपाईंको भव्य दरबारमा ?
पस्यो भने तपाईंको सिरानीको खोलभित्र ?
सबैले भन्छन्
तपाईं त धेरै धनी हुनुन्छ रे
साहेप !
किन्दिनूस् न
पाथी तिनेक् मेरा अभावहरू
तपाईं त सुखमा मोज गर्नुहुन्छ रे
बरु उधारैमा भए पनि
लैदिनूस् न
पाथी चारेक् मेरा दुखहरू
तपाईं त कुम्ल्याउनु पनि हुन्छ रे
राज्यको ढुकुटी
कुम्ल्याइदिनूस् न बरु
पाथी पाँचेक् मेरो गरिबी
साहप !
बेच्ने अरू केही छैन मसँग
कि मर्गौला बेचिदिनुहुन्छ त ?
अथवा यो जाली दुनियाँ देखाउने
पापी आँखा पो किन्नुहुन्छ कि ?
साहेप !
म पनि चाहन्छु–
अभाव बेचेर
स्यानीको आधापेट भर्न
दुख्ख बेचेर
एक चिम्टी अल्नो मुस्कुराउन
बिक्यो भने यो गरिबी
मेरी कान्छीलाई पनि
तपाईंभन्दा अलि राम्रो सभासद् बनाउन मन छ
तर साहेब
‘बेच्न खोजेका केही पनि नबेच्
तेरो अस्मिता बेच’ भनेपछि
म बहुलाएकी हुँ !
……………………………………………….
(दिनेश विगत डेढ दशकदेखि साहित्यविधामा कलम चलाउँदै आएका स्रष्टा हुन् ।)
dineshrajpuri@gmail.com