कल्पनामा उड्ने मन - Aksharang
  • २०७७ मंसिर १९ शुक्रबार

कल्पनामा उड्ने मन

लक्ष्मी उप्रेती

लक्ष्मी उप्रेती

जबजब जहाजको यात्रा गर्ने योजना बन्छ, तबतब मन एक किसिमले तरङ्गित हुन्छ  । केही वर्षयता देश भित्रभन्दा देश बाहिर जहाजको यात्रा गर्ने सँजोग विशेष गरी छोराको कारणले जुरिरहेको छ  । यात्राको क्रममा प्रायः झ्यालतिरको सिट अनुरोध गरेर लिन्छु  । जहाजमा चढ्छु, मनमा आमुनेसामुने देखिने  हिमाली श्रृङ्खला आफूतल देखिने बादलु बैँस र प्रकृतिका अनेकौँ दृश्यहरू आँखामा दुरुस्त भएर सलबलाउछन्  । जब उड्छ, तब मसँग काँध मिलाउन केही बेर नलगाई ठोक्किन खोज्छन् उत्तरतिरबाट हिमालका सुन्दर कलेबरहरू  । आहा हिमाल, समुद्र, फूल, जून, इन्द्रेणी र सानो नानीको लीला आदिआदिले जीवनको लय कति सुन्दर बनाउँछ  । समयसमयको अनुभूति असरल्ल छ मेरो मनमा  । यिनको पदचाप मिलिन्जेल म निर्निमेष  हेरिरहन्छु यिनैलाई  । मलाई आनन्दको आलोकमा घुमाउने  खुसीका स्रोत यिनीहरू भए पनि म के देखेर बढी खुसी हुन्छु– ध्यान नै नगएर हो कि किन हो भेउ पाउन नै सकेकी छुइनँ  ।
जहाज आफ्नै गतिमा उडिरहेको छ  । हिमाल सुटुक्क हराएर बादलमाथि उडेकी हुन्छु  । अनि एकतमासले बादलका आकारसँग मिसिसकेकी हुन्छु  । कपासजस्ता कलकलाउँदा सेता बादलका अनेक आकृतिका अवयवहरूसँग उत्ताउँलिदै डुलिरहेको मन मभित्र स्वाट्ट आउँछ  । त्यसबेला बादलकै घुइँचो छिचोल्न जहाज कहिले बेजोडले उडेको हुन्छ  । बादलभित्र रूमलिएको जहाज उम्केर मेरो दृश्यबाट सरक्क हटेर मलाई फेरि अर्को दृश्यको कलेबरमा लगेर  कौतुहलताको अर्को सिँढी चढाउँछ  । प्रकृतिका पनि कतिकति अवयवहरू  । मरुभूमि, पहाड, हरियाली फाँट, नदीनाला र जलाशयले छचल्किने मैदान भनौँ  ।
कति समयमा कहाँ पुग्ने भन्ने लख काट्न एकपटकको यात्रापछि लगभग थाहा हुने भएकाले झ्यालबाटै हेर्नमा व्यस्त हुन्छु म  । जतिपटक यात्रा गर्यो त्यतिपटक नयाँनयाँ सौन्दर्यमा अवतरण गराउने दृश्य  । कहिले दिनको घमाइलो उज्यालोमा, कहिले दर्के भरीको गर्जनमा, कहिले बत्तीले झिलमिलाएको रातमा  ।  प्रायः एक्लै हुँदा मनमा अनेकन तरङ्ग उब्जन्छन्, चाहे आफ्नो भूगोलको उडानमा होस् वा आर्काको भूगोलमा  । जहाजको यात्रामा विशेष त भारतको मुम्बई, दिल्ली, चेन्नेई जाँदाको अनूभुतिहरू असरल्ल छन्  ।
त्यसरी यात्रामा एक्लिएकी हुँदा चराहरूसँगै आकासिँदै उडेको मन पराउँछु  । समुद्रको छालसँग उफ्रिँदाको कल्पनामा डुबेर हराउँदै रमाउँछु  । आकाशका अनेक अवयवहरूसँग चल्दै उमङ्गका पखेटा लगाई उड्छु  । आफूतल आफुमाथि बटारिएका बादलका आकृतिसँग आनन्दले रूमलिन्छु  । इन्द्रेणी  सरोबर अँगालेर छल्किन्छु  । नदीको पानीमा बग्दै सतह छुन्छु  । झरनाका जलराशिमा मिसिएर पोखिन चुलबुलाउँछु  । अस्ताउँदो सूर्यास्तको कलेवरमा भरिन्छु  । हिमालका टाकुरामा उभिन खोज्छु  । पहाडका डाँडामा अग्लिन रहर गर्छु  । डाँफे, मुनाल र लालीगुराँसका रङमा सजिएर उन्मुक्त खुसी  खोज्छु  । आखिरमा मनै त हो, क्षणभरमा मेरा साराका सारा रहरहरू पुर्याएर सुटुक्क मभित्र बस्न आइहहाल्छ  । प्रकृतिका अनुपम सौन्दर्यमहरूमा एकाकार भएर फर्कंदाको आनन्द आहा ! रातको जून–तारा र दिनको सूर्यको त कुरै नगरौँ  । मन चुलबुल, चन्चल खै केके हो केके हो ! अझ मनपर्नेको साथमा घुम्न पाउँदा रमाइलोसँगै अरू धेरै कुरा हाता लाग्ने गरेको अनुभवका अनुभूतिलाई सुटुक्क ल्याउँछु  ।
यो मनले कति कुरा गर्न सक्ने बा  । कति छिटो जहाँ पनि पुग्ने र पुगेको ठाउँको अड्कल गरेर त्यहीको शिविर बनाउन सक्ने  । यस्तो चमत्कारले अचम्म लाग्दैन तपाईंहरूलाई  । म त कहिले कहि आजित हुन्छु आफ्नै मन सम्झेर । यी प्रकृतिका लय हुन् भने म पनि यही लयभित्रको एउटा अंश भएर विचरण गरेँ त के बिराएँ हैन र ? के मैले चैँ प्रकृतिसँग काँध जोडेर आफ्नो जीवनको लय मिसाउन नहुने हो र ? कहिलेकाहीँ त जीवनलाई नितान्त निजात्मक बनाएर सुन्दर रङहरूसँग खेल्न मन लाग्छ ।
उफ ! यही वेला गोपाल योन्जनको मीठो गीत सम्झनामा आयो एकाएक
……
संसारसँगै त घुम्दै जा
अनि सारा संसार तेरै हो ।
उड्दै, उड्दै, उड्दै छुन सकिस् भने
जून–तारासम्म तेरै हो…
प्रकृतिको प्रेमिलयात्रा मनले मात्र नभई कतिपटक जीवनले पनि अनुभव गरेको छु । पटकपटक सपनामा पनि यस्तो अवसरका खुसी जुरिरहन्छन् । चरा भई कावा खाँदै उडेकी छु । माछाहरूसँग पौडिखेलेर लखतरान भएकी छु । प्रकृतिका अनेकन अवयवहरू मसँग निर्लज्ज उदाङ्गो बनेर मलाई जिस्क्याउँदा पनि मैले सहस्र स्वीकार्छु !
मान्छे जन्मेको वेला र मरेर चितामा राखिँदा निर्वस्त्र हुन्छ, पारिन्छ तर सृष्टिका सहस्र दुनियाँ र हरेक जीवजन्तुहरू निवस्त्र, सधैँ निर्वस्त्र । यो वस्त्रको उपयोग गर्ने मानवसभ्यता जङ्गली युगबाट नै सुरु भयो र अनन्तसम्म यस सभ्यताका उपज मानिस हुन् सायद ।
तर किन आजको समय आधुनिकताको जलपमा पाश्चात्य संस्कृतिलाई अनुसरण गरेर रमाइरहेछ  । त्यो परिस्थिति जहाँ पनि व्याप्त भइरहेको छ । प्रकृतिमा भएर पनि अप्रकृतिको कायामा तरङ्गित छन्  । के अब प्रकृतिको सौन्दर्यलाई भुल्दै गएका हुन् त मानिसहरूले ? के यही कारणले हो त मानिसहरू खुसी हराएको सङ्कटमा मर्दैछन् र बाँच्नेहरू पनि मरिरहेर बाँचेझैँ भएका छन्  । स्वार्थले होला, समय दिन प्रतिदिन जटिल बन्दै गइरहेको छ ।
दुखकष्टहरू त कसलाई हुन्न र ? यो चराचर जगत् नै सुखभन्दा दुःखको भारीले थङ्थिलो भएको छ । हरेक मान्छेमा बोझिलो जीवनका अनगिन्ती दुःखद कथाका भारी छन् । यस संसारका र मान्छेका जीवन–भोगाइका अनेक दुःखका कथा कति छन् कति  । मानिसले खुसीसँगै पीरमा पनि मुस्कुराउने उपाय खोज्नु छ  । क्याकटसले पनि कति राम्रो फूल फुलाउनसक्छ । त्यही त हो जीवन पनि ।
प्रकृतिले आफ्नो  नियमको कलेवरमा सबै कुरा एकनासले खन्याइरहेको छ  ।  जन्म–मरण, सुख–दुःख, मिलन–बिछोड, उपलब्धि, व्यथका आशा–निराशा साराका सारा कुरा मानिसले अघिपछि पाएकै हुन्छन् । यो समयचक्र हो जगत्ले यी सारा कुराहरू सबैलाई दिन्छ र त जीवन छ । जीवनका लागि घामले उज्यालो, जूनले शीतलता,  पानीका अनेकौँ मुहानले,  हावाका झोक्काले जीवन्तता आदिआदि अनगिन्ती तरङ्ग दिरहेको छ । नत्र त के हो हो नि कसलाई थाह र ? ।
दक्ष कलाकारले पेन्टिङ् गरेजस्तै मिल्नु नि जीवनका हरेक रङहरू । जहाँ अलिकति अँध्यारो भए पनि धेरैधैरै उज्यालैउज्यालो होस् ।  आकाशझैँ फराकिलो जीवनको आयम होस् र जगत्को लयमा गुनगुनाउदै आफूलाई मनपर्ने रङले पोत्न पाइयोस् । शून्यताभित्र पनि जीवनका आकार बनाएर भर्ने आफ्नै साम्राज्य होस् । मन तरलतरल भएर बग्दा पनि पानीको अंश बनेर निरन्तर  जीवनको लयमा बगिरहोस् । प्रेमको लय भनेर वासनाको स्वार्थीपनमा नअलझियोस्  । हुन त जहाँ प्रेम छ, त्यहाँ वासना हुनुको मापन कसैले गर्न त सक्दैनन् । तर प्रेम गर्नेले नै जीवन देखेको हुन्छ, जीवन भेटेको हुन्छ । प्रेमिल धुन जीवनबाट नै बज्यो भने सुन्दरसुन्दर हुन्छ ।
यो प्रेमको शाश्वत भाव कसले निर्माण गरेर संसारमा चमत्कार गर्यो होला  ।  हुन त प्रेमको सौन्दर्यमा भगवान्का पनि विभिन्न आयामहरू छन् । त्यस्तै प्रकृति–प्रेमका पनि अनेकौँ आयतनहरू छन् । हरेक जीवजन्तुहरू पनि प्रेमको भाव र सौन्दर्यमा जीवनवादी बनेका हुन्छन् । यिनीहरू नीतिनियमविना पनि नियमितरूपमा गति लिएर प्रेम प्रकट गरिरहन्छन् । प्रेम मौन प्रदर्शन गरेर पनि  पूर्ण बनेका छन् । हो नि ! प्रेमको भाषा मौनतामै सुन्दर हुन्छ । अनेकौँ दुखकष्टहरू र उराठउराठ परिवेशबीच प्रेमको आभासले मात्र पनि सहज बनाउन सक्छ त । त्यसैले त प्रेमलाई सिर्जनाको उत्कृष्ट सौन्दर्य मानेर मापन गरिन्छ र सुन्दर अवयवहरूकै उत्सर्गमा अर्पित गरिन्छ । जहाँ प्रेमको सुगन्धले जीवनमा नयाँ क्षितिज एकाकार गराउँछ । निराशाभित्र पनि आशाका अनगिन्ती फूल फुलाउन सक्ने  प्रेम नहुनु हो त यो संसार कस्तो हुन्थ्यो होला ? म मनमनै गुनिरहन्छु  । मानवतादी  प्रेम, भगवान्–प्रेम, प्रकृत–प्रेम । यसमा पनि  मानव–प्रेमका लय अनगिन्ती छन् ।  हरेक अर्थ  महत्व र स्वार्थका साथ मानव–प्रेम आविष्कार भएको छ ।
आफ्नो धरती, आफ्नो माटोको विनासर्त प्रेमको सर्वोच्च शिखर आरोहण गराइरहेको हुन्छ । जति नै देश–देशान्तरको सयर गरे पनि मलाई आफ्नो जन्मभूमि नै प्यारो छ । जति नै वैभवताको कलेवरमा सजिएका सुन्दर र समृद्ध तामझाम भए पनि आफ्नै हाङपाङको उकाली–ओरालीको सौन्दर्य आँखामा टाँसिएको छ । जहाँ मैले पहिले आवाज निकालेथेँ ‘आमा !’ भनेर । जुन माटोले मलाई काख दिएथ्यो, उन्मुक्त उडान भर्नका लागि । जुन माटोमा मेरी आमा मिसिएर सुगन्धित भयो । त्यस माटाको स्वाद आहा ! हाङपाङमा लगभग पाँच वर्ष बिताएर म म भएँ । रूप्सिला गुरुङ्सिनी धाईआमाको गन्ध मिसिएको दौराको फेर चुसेर रसपान गरेको स्वाद  । कलकल बग्ने च्वाँ खोलामा बुरूक्कबुरूक्क उफ्रिएर निथ्रुक्क भिजेर पानीपानी भएको परिवेश ।  हजारौँ रहस्यका तानावानामा जेलिएको मेरो प्रियतमलाई म कसरी बिर्सन सक्थे र  ?
बाल्यकालको एक परख नै सही त्यो ठाउँ त मेरो जीवनको अपार आनन्दको अनुपम सर्ग । आमा नै मिसिएर हो कि खै किन हो, मलाई मेरो जन्मभूमि आमाजत्तिकै न्यानो र निश्छल लाग्छ ।  त्यहीँबाट ताते गरेर हिँड्न थालेँ । आफ्नोपन र परायपनबीच फरक छुट्याउने, फूल र काँडा, त्यहीँबाट देख्न थालेँ  । अनि त म शब्द र भावसँग खेल्न जान्ने भएँजस्तै लाग्छ ।
बग्छ, बगिरहेछ नरोकिई धूमिल सम्झनामा आफूले हारेर पनि जित मानेको माटोका रङ्गीन चित्रहरू । त्यो पानीको घट्ट, तेल पेल्ने कोल, उखु पेलेर खुदो निकाल्ने कोल, घाँस–दाउरा गर्ने डोका नाम्लाहरू, मेलापात, ढिकी, जाँतो, ओख्ली, मतान, घर, गोठ, बिस्कुन सुकाउने आगन, चुलो, अगेनो, पानीका गाग्री खाख्ने गाग्रेटो, मकैका घार, पराल र खोसेलाका गुन्द्री, पिरा कति हो कति भनेर के सक्नु र ? ताजा अनेक स्वादका स्वास्थ्य मीठा खानेकुराहरू  सिस्नोको तिउन, घ्वारघुर गरेर काठको ठेकीमा काठको मदानीले मोही पारेर निकालेको नौनीको स्वाद आहा ! कर्कलाको छाता, घामपानीको मजा, धूलोमाटोको स्वाद, थकाइ लागेर पनि नथाक्ने शरीर आदिआदि अब कहाँ पाउनु बरै । पहाड पनि अब त सहर हुन खोज्दैछ रे ।
उही आँखामा टाँसिएको पहाडको मादकता पिएर गाउनुछ, अब जीवनका गीत । लेख्नुछ अब सम्झनाका तरलतरल उही समय खोतल्दै आनन्दका सर्गहरू । प्रकृतिको न्यनोपनमा मिसिएर स्वतन्त्र भावको एउटा अनुपम कृति लेख्नुछ । त्यो कृति प्रेमको रङ भरेर नै सही पृथक बनाएर जीवन प्राप्तिको उपहार छाड्नुछ ।
………………………………………………………………………………………………………………..
(उप्रेती स्थापित साहित्यकार तथा साहित्यिक पत्रकार हुन् । उनका हालसम्म करिब तीन दर्जन ग्रन्थहरू प्रकाशित छन् ।)
lakshmiuprety@gmail.com