रामेश श्रेष्ठ - Aksharang
  • २०७७ चैत २९ आइतबार

रामेश श्रेष्ठ

राजेन्द्र शलभ

राजेन्द्र शलभ

म रामेश्वर श्रेष्ठबाट
रामेश हुनलाई
करिब २२ वर्ष लाग्यो ।
मेरो न्वारन
पारिजात दिदीले गर्नुभएको हो ।
राणाकालीन मालअड्डाका हाकिम
सुब्बा कर्णबहादुर श्रेष्ठ
र शिवलक्ष्मीका पाँचौँ सन्तानका रूपमा
तानसेन मेलधारामा जन्मेको हुँ ।
बुवाको सरूवा जहाँ–जहाँ भयो
त्यहीँ–त्यहीँ पढियो ।
१६ सालमा पद्मोदयबाट एसएलसी गरेँ ।
सङ्गीतको शिक्षा घरमै पाएँ
तर म सङ्गीतमा लाग्छु भनेर
सय मनमा एक मन पनि
सोचेको थिइनँ ।
तर सम्पूर्ण जीवन सङ्गीतमै बित्यो ।
सुरूमा शिक्षक भएँ, गाउँमै
तर पैसा छैन भनेर तलबै नदिने ।
त्यही गाउँका कार्यक्रमहरूमा
गीत गाउन थाल्यौँ
धरान, धनकुटा, तह्रथुम, चैनपुरतिर
गीत गाउन थाल्यौँ
त्यहीँबाट रेडियो नेपालमा
लोकगीत प्रतियोगितामा भाग लिन
काठमाडौँ आयौँ– म, रायन र अरिम ।
नातिकाजी दाइले हौसला दिनु भो
सघाउनु पनि भयो ।
तर लोकगीतलाई हेलाँ गर्ने
पाखेहरूले गाउने गीत भनेर
तर राजा महेन्द्रले भने
लोकगीतलाई बढावा दिए
लोकगीत नै नेपालको परिचय भनेर ।
जे होस्– एउटा गीतको दस रूपियाँ पारिश्रमिक
महिनामा तीनवटा गीतको ३० रूपियाँले
काठमाडौँमा चिउरा तरकारी खाएर
हामीले गुजारा ग-यौँ
तर गीत गाउन छोडेनौँ
अहिलेसम्म पनि गाइ नै रहेको छु ।
रेडियो नेपालको कथा पनि
गजबको छ–
जब हामीसँग केही थिएन
रेडियो नेपालले हामीलाई गाउन दियो
रेकर्ड निकाल्न इन्द्रेणी रेकर्डले
कलकत्तासम्म लग्यो
तर त्यही रेडियोका कर्मचारीले
हाम्रो पारिश्रमिक कीर्ते सही गरेर
आफूहरू नै खान्थे
यो कुरा पछि मञ्जुलबाट थाहा भयो
हामीले मुद्दा हाल्ने कुरा ग¥यौँ
तर उनीहरूले धम्क्याए
मार्नेसम्मको धम्की दिए– डरायौँ र चुप लाग्यौँ
ज्ञान उदासले हामीलाई
पारिजात दिदीसँग भेटाउनुभयो ।
उहाँले नै मञ्जुलसँग पनि भेटाउनुभयो
र पारिजातको सम्पर्कमा आएपछि नै
हामीले माक्र्सवाद, कम्युनिजम बुझ्यौँ
र उहाँले गर्दा नै
राल्फाको जन्म भयो ।
राल्फा एउटा आन्दोलन थियो
परिवर्तनका लागि
हामी गाउँदै हिँड्नथाल्यौँ
देशभित्र अनि बाहिर पनि
पञ्चायतका लागि हामी शत्रु भयौँ
हाम्रो खेदो खन्ने
र मार्नेसम्मका योजना बन्नथाले
तर क्याम्पसका साथीहरूले जोगाउने ।
हामीलाई यस्तो असुविधा र आक्रमणबाट
जोगाउने र खाने–बस्ने सबै व्यवस्था
पूर्वका कम्युनिस्टहरूले गरेका रहेछन् ।
हाम्रो आस्था र श्रद्धा पनि
कम्युनिजमतिर बढ्नथाल्यो
र हामी राजनीतिमा लाग्यौँ
तर हामी दुई गुटमा बाँडियौँ
म, मञ्जुल र अरिम एउटा गुटमा
पारिजात, रायन र निनु अर्को गुटमा
आपसमा शत्रुजस्तै भयौँ
१६ वर्षसम्म बोलचाल नै बन्द
४६ सालको आन्दोलनमा बग्गीखानामा
बल्ल म र रायनले हाथ मिलायौँ ।
यी राजनीतिमा लाग्नेहरूसँग इमान हुँदैन
सत्तामा पुग्ने मात्र ध्येय हुन्छ
जुनसुकै पार्टी भए पनि नाम मात्र फरक हो
कर्म एउटै हो– सबै पैसा कमाउने धन्दा ।
त्यही पार्टीमा लागेकै बेला हो
पार्टीका कार्यकर्तालाई लुकाउन
स्वर्णिम स्कुलको स्थापना भएको
तर पछि पार्टीले नै वास्ता गरेन
बन्द हुँदै, खुल्दै ग-यो
अहिलेका साथीहरूले जिम्मा नलिएका भए
उहिले नै बन्द भइसक्थ्यो
त्यही पार्टीमा नेताहरूको विरोध गर्दा
हामी पार्टीबाट निकालियौँ
…राम्रै भयो– फेरि सङ्गीतकर्ममा लाग्यौँ ।
अहिलेसम्म तीन–चार सय गीतहरू गाएँ
सयभन्दा बढी त लेखेँ पनि
बालगीतसमेत जोड्दा
१४ वटा त एल्बम मात्र प्रकाशित छन् ।
गीत भनेको लय मात्र होइन
शब्द पनि हुन्
शब्द मन परेनन् भने
म गीत गाउँदिन ।
गीत जनताका लागि
देशका लागि हुनुपर्छ
देश भनेकै जनता हुन्
माटो मात्र हाइन देश ।
मलाई कुनै लोभ छैन ।
चेतनशील भएर कुनै गल्ती गरेको छैन ।
अहिले पनि सङ्गीत गर्दैछु
नयाँ गीतहरू बनाउँदैछु ।
गर्नु धेरै छ,
समय थोरै छ ।