कोरोना एकालाप - Aksharang
  • २०७७ श्रावाण २७ मङ्गलबार

कोरोना एकालाप

धीरकुमार श्रेष्ठ

धीरकुमार श्रेष्ठ

‘तिमी को हौ ?’
‘… ।’
‘तिमीले नबोल्दैमा थाहा पाउँदैन भनेका ?’
‘… ।’
‘तिमरु दशकौँअघिदेखि जनावरबाट मानिसमा सर्दै आएका रे ?’
‘… ।’
‘आफ्ना बारेमा आफैँलाई थाहा नभए कसलाई थाहा हुन्छ ? मान्छेलाई ? मान्छेले मात्रै आफ्ना बारेमा राम्ररी जान्दछन् भनेको ?’
‘… ।’
‘मान्छेले मात्र मुखले एउटा, कामले अर्कै गर्छन् भनेको ? हामीले त्यसो गर्न जान्दैनौँ भनेको भन्ने एउटा र गर्ने अर्को हामीबाट हुँदैन भन्या !’
‘… ।’
‘मलाई के थाहा ! हाम्रा बारेमा तिमी मान्छेहरू अनुसन्धान गर्दै ौ । पत्ता लगाओ न भन्या ?’
‘… ।’
‘पत्ता लगाउने काम वैज्ञानिक र डाक्टरहरूको हो । म न वैज्ञानिक हुँ न डाक्टर हुँ ।’
‘… ।’
‘मलाई को हौ भनी सोधेको ? एउटा सामान्य मान्छे ।’
‘… ।’
‘ढाँट्दै छौ भन्या ? ढाँट्ने काम त तिमीहरूले गरिरहेका छौ एकपछि अर्को रूप फेर्दै ।’
‘… ।’
‘हामी ढाँट्न जान्दैनौ रे ? ढाँट्ने काम त मान्छेको हो रे ? साँचो र झुटो हुने भए पो साँचो बोल्नु वा ढाँट्नुपर्छ । हामीसँग साँचो पनि हुँदैन, झुटो पनि हुँदैन । यसैले हामीले साँचो बोल्नु पनि पर्दैन, ढाँट्नु पनि पर्दैन । एउटै बोली हुन्छ । त्यो साँचो पनि हुँदैन, झुटो पनि हुँदैन भन्या ?’
‘… ।’
‘अहो ! ठूलै विद्वान्ले जस्तो कुरो ग-यौ त !’
‘… ।’
‘हामीमा कोही मूर्ख पनि हुँदैनौँ, कोही विद्वान् पनि हुँदैनौँ भन्या ? सबै एउटै । सबै समान । असमान कोही होइन । साँचो साम्यवाद हामीमा लागू छ । मान्छेमा मात्र विभाजन छ भन्या ?’
‘… ।’
‘तिमीसँग त कुरो गर्न नसकिने भयो रे !’
‘… ।’
‘त्यस्तो होइन रे ?’
‘… ।’
‘त्यसो भए कस्तो हो त ?’
‘… ।’
‘कस्तो पनि होइन रे । हाम्रो धर्म तिमीहरूले भेउ पाइसक्यौ रे ?’
‘… ।’
‘तिमीहरू कहाँबाट आयौँ भन्ने ?’
‘… ।’
‘उहानबाट महामारीको रूप लिनुभन्दा निकै अघि मान्छेमा पसिसकेका थियौ भन्या ?’
‘… ।’
‘कसले भन्नु ! हामी मान्छे पत्रपत्रिका पढ्छौँ । पत्रपत्रिकामा अचेल तिमीहरूका बारेमा भन्दा अरू समाचार नै छापिन्न अनि थाहा हुन्न !’
‘… ।’
‘हो नि ! अमेरिका, बेलायत र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले तिमीहरूका पुर्खाका बारेमा गरेका अनुसन्धानबाट यो पत्ता लगाएका हुन् ।’
‘… ।’
‘कसले भन्छ भन्या ? हामी मान्छे पत्रपत्रिका पढ्छौँ भनेर अघि नै भनेको होइन !’
‘… ।’
‘तिमीहरू पत्रपत्रिकाबाट पनि सर्न सक्छौ भनेर छाप्न बन्द गरेको भन्या ?’
‘… ।’
‘त्यो त हो तर मान्छेसँग अनेक विकल्प छन् भन्ने तिमीलाई थाहा छैन ?’
‘… ।’
‘थाहा छैन भने सुन ।’
‘… ।’
‘छापा पत्रिकाबाट तिमीहरू सर्न सक्छौ भनेर छाप्न बन्द गरेको ठीक हो तर अनलाइन पत्रिकालाई त तिमीहरूको डर हुन्न । त्यो प्रकाशित भइरहेछ । त्यसैमा पढेको ।’
‘… ।’
‘कुनचाहिँ अनलाइन पत्रिकामा भनेको ?’
‘… ।’
‘अहिले स्वदेशी विदेशी थुप्रै अनलाइन पत्रिकाहरू छन् । थुप्रै पढिसकेँ । कुनचाहिँको नाम लिऊँ । एउटाको नाम लिएँ भने अरू रिसाउँछन् । यसैले कसैको नाम लिन्नँ ।’
‘… ।’
‘हामीहरू बाठा छौँ अरे ! सञ्चारका थुप्रै विकल्पहरू खोजिसकेका छौँ भनेको ?’
‘… ।’
‘खोज्नुपरेन त !’
‘… ।’
‘अरू केके खोजेका छौँ भनेको ?’
‘… ।’
‘मैले खोजेको थोरै हो र !’
‘… ।’
‘कसले खोज्नु नि ? वैज्ञानिकहरूले !’
‘… ।’
‘हाम्रा वैज्ञानिकहरूले अरू केके खोजेका छन् भनेको ?’
‘… ।’
‘यसभन्दा अगाडिको भन्दा बेग्लै चरित्र भेटिएको छ रे तिमीहरूमा । तिमीहरूलाई बोकेर ल्याएका जनावरमा अहिले तिमीहरू त्यही रूपमा भेटिँदैनौ रे । हामीमा निरन्तर सङ्क्रमण भएपछि तिमीहरूले अहिलेको डरलाग्दो रूप विकास गरेका हुनसक्छौ अरे ।’
‘… ।’
‘अरे भन्छौँ भन्या ? सुनेका र पढेका कुरालाई अरे भन्नैप¥यो नि ।’
‘… ।’
‘हो नि ।’
‘… ।’
‘कसले भनेको भनेर सोधेको ?’
‘… ।’
‘क्यालिफोर्नियाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटका क्रिस्टिन एन्डर्सन, स्कटल्यान्डको युनिभर्सिटी अफ एडिनबराका एन्ड्रयु राम्बाउट, न्युयोर्कको कोलम्बिया युनिभर्सिटीका इयान लिप्किन, युनिभर्सिटी अफ सिड्नीका एडवार्ड होम्स र न्युओर्लियन्सस्थित तुलाने युनिभर्सिटीका रोबर्ट ग्यारीले ।’
‘… ।’
‘अहो ! कति धेरैजना धेरैतिरबाट अनुसन्धानमा संलग्न भएका भनेको ?’
‘… ।’
‘तब त मान्छे । एउटालाई परेका बेला धेरै संलग्न हुन्छन् नि ।’
‘… ।’
‘त्यो त देखिएकै हो भनेर हामी मान्छेको उपहास गरेको ?’
‘… ।’
‘किन पत्याएनौँ ?’
‘… ।’
‘पत्याएँ । सङ्कटकै बेला भित्तो पु¥याउने पनि मान्छे नै हुन् भनेको ?’
‘… ।’
‘सबै त्यस्ता हुँदैनन् । सयमा एकादुई त्यस्ता हुन्छन् ।’
‘… ।’
‘तिनैले मान्छेका नाममा कलङ्क लगाउँछन् भनेको ?’
‘… ।’
‘त्यसो भन्नुहुँदैन ।’
‘… ।’
‘त्यसो भए के भन्नु भनेको ?’
‘… ।’
‘एउटालाई पर्दा मद्दतका हातहरू अगाडि आउँछन् ।’
‘… ।’
‘ल भैगो छाड यी कुरा । तिम्रा अघिका वैज्ञानिकहरूले निकालेका निष्कर्षका बारेमा कसरी थाहा पायौ भनेर सोधेको ?’
‘… ।’
‘मार्च १७ को ‘नेचर मेडिसिन’ मा प्रकाशित छ रे ।’
‘… ।’
‘अरू क–कसले के–के भने भनेर सोधेको ?’
‘… ।’
‘युएस नेसनल इन्स्टिच्युट अफ हेल्थका निर्देशक डा. फ्रान्सिस कोलिन्सले यस्तै भनेका थिए रे ।’
‘… ।’
‘कस्तो भनेको ?’
‘… ।’
‘तिमीहरू निकै अघि जनावरबाट मानिसमा सरेका हुनसक्छौ अरे ।’
‘… ।’
‘अरू के–के भने भनेको ?’
‘… ।’
‘दशकौँअघिदेखि तिमीहरूले नयाँनयाँ स्वभाव विकास गर्दैगएका हुनसक्छौ अरे । यसैबाट तिमीहरूले मानिसबाट मानिसमा सरेर मृत्युसम्म गराउनसक्ने क्षमता हासिल गरेका हुनसक्छौ रे !’
‘… ।’
‘यतिसम्म पत्तो लगाइसकेकाहरूले उहानमा हामी आएको चाल पाएनौ त भनेको ?’
‘… ।’
‘किन नपाउनु ! पाएका थिए । गएको डिसेम्बरमा त्यहाँ एक्कासि धेरै मानिसहरू रहस्यपूर्ण निमोनियाबाट पीडित बन्न थालेको कुरो डाक्टरहरूले थाहा पाएका थिए । तिनले रुँघा वा मर्की हो कि भनेर परीक्षण गरे तर परिणाम नेगेटिभ आयो । त्यसपछि सबै चिन्तित भए । त्यसै बेला उहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट तिमीहरूको उत्पत्तिका बारेमा पत्ता लगाएको थियो । तिमीहरू चीन र म्यानमारको सिमानामा अवस्थित पहाडी गुफामा बस्ने चमेराबाट उत्पत्ति भएका हौ रे !’
‘… ।’
‘यति ठोकेर कसरी भन्न सक्छौ भनेको ?’
‘… ।’
‘तिमीहरूमा चमेराको ९६ प्रतिशत वंशाणुगत गुण फेला प-यो अरे नि त !’
‘… ।’
‘तिमीहरूले चमेरामा हामीलाई भेटेका हौ त भनेर सोधेको ?’
‘… ।’
‘होइन, त्यहाँ भेटिएका तिमीहरू मानिसमा सर्न सक्दैनौ रे ।’
‘… ।’
‘कारण सोधेको ?’
‘… ।’
‘कारण, मानिसका कोषले तिमीहरूलाई स्वीकार्न स्पाइक प्रोटिन चाहिन्छ जुन चमेरामा पाइएन । चमेरामा स्पाइक प्रोटिन नपाउनुको अर्थ हुन्छ, तिमीहरू चमेराबाट मानिसमा सरेका होइनौ । बरु यो प्रोटिन मलेसियाको सालकमा फेला प-यो अरे ।’
‘… ।’
‘भनेपछि हामी सालकबाट तिमी मान्छेमा स-यौ भनेर सोधेको भन्या ?’
‘… ।’
‘भन्न खोजेको त यही हो तर निश्चिन्ततापूर्वक भन्न सकिने स्थिति छैन ।’
‘… ।’
‘हामी मान्छे घुमाइफिराई कुरा गर्छौं । हामीलाई सोझो कुरो गर्न आउँदैन भन्या ?’
‘… ।’
‘आउँछ नि किन नआउनु, मजाले आउँछ ।’
‘… ।’
‘त्यसो भए किन सोझै हातले छुन सकिने नाक गर्धनपछाडि हात लगेर छोएको भन्या ?’
‘… ।’
‘त्यो त कहिलेकाहीँ अलिअलि भइहाल्छ नि ।’
‘… ।’
‘अलि अलि होइन, धेरै छ भन्या ? निश्चिन्ततापूर्वक भन्ननसक्नुको कारण सोधेको ?’
‘… ।’
‘ग्वाङ्जाउ र हङकङको एउटा टोलीेले गरेको अनुसन्धानअनुसार तिनै चमेरा र सालकमा पाइने गुणको संयोजित रूप तिमीहरूमा भेटिएको छ रे ।’
‘… ।’
‘अनि अघि हामीमा पाइने स्पाइक प्रोटिन चमेरमा पाइँदैन, त्यसैले हामी चमेराबाट मानिसमा सरेका होइनौँ भनेको होइन भन्या ?’
‘… ।’
‘चीन, फ्रान्स र अमेरिकाका अनुसन्धानकर्ताले एउटा छुट्टै अनुसन्धान गरे । उनीहरूको अध्ययनअनुसार परिवर्तित जिनले तिमीहरूमा फरक खाले ‘स्पाइक प्रोटिन’को संरचना बनाएको हुनसक्छ । यही कारण तिमीहरू मानिसमा सरेका हुनसक्छौ । एचआइभी र इबोलामा पाइने तिमीहरूका प्रजातिमा यस्तै खाले संरचना पाइएको थियो अरे ।’
‘… ।’
‘यति मात्र होइन, यसअघि श्वासप्रश्वाससम्बन्धी महामारीका रूपमा फैलिएको मार्स र मर्स पनि जनावरबाट मानिसमा सरेको थियो । यी कस्तूरी बिरालो र उँटबाट मानिसमा सरेको विश्वास गरिएको थियो । किनभने यी दुवैको जिनमा ९९ प्रतिशत समानता देखिएको थियो अरे ।’
‘…. ।’
‘तिमीहरू उत्पत्तिको अवस्थाबाट बारम्बार परिष्कृत र परिमार्जित हुँदै मान्छेका शरीरमा पसेका हुनसक्छौ । त्यसपछि नियन्त्रण गर्न हम्मेहम्मे पर्ने गरी तिमीहरू महामारीका रूपमा फैलियौ ।’
‘… ।’
‘अनि फ्रान्सको कुरो के हो भनेर सोधेको ?’
‘… ।’
‘चीनमा देखिनुपूर्व नै तिमीहरू फ्रान्समा देखिइसकेका थियौ अरे । पेरिसस्थित एभिसेन एन्ड जिनकर्डियर अस्पतालका डाक्टर इवेन्स कोहेनले भने । उनले डिसेम्बर २७ मा एक जना निमोनियाका बिरामीबाट लिइएको स्वाबको परीक्षण गर्दा तिमीहरू पोजेटिभ देखिएका थियौ अरे । यसकारण तिमीहरू उहानमा देखिनुभन्दा अगाडि नै फ्रान्समा देखिइसकेका थियौ भन्ने पनि छ ।’
‘… ।’
‘अहिलेसम्म डिसेम्बर ३१, २०१९ मा हाम्रो उत्पत्ति उहानमा पहिलोपटक भएको भनेर विश्व स्वास्थ्य सङ्गठनले भनेको होइन भन्या ?’
‘… ।’
‘अनि, हामीलाई त चीनले प्रयोगशालामा बनाएको भनेर आरोप लगाउनेहरू पनि छन् भनेको ?’
‘… ।’
‘त्यो त हो, अनेक जिब्रा भएका ठाउँमा अनेक कुरा हुन्छन् नि ।’
‘… ।’
‘अनेक होइन अनगिन्ती भनेको ?’
‘… ।’
‘चीनले त्यसो ग¥यो भनेर अरूले भनेका हुन् । भन्नेले त चीनको प्रगति देख्न नसकेर अमेरिकाले इजरायलसँग मिलेर बनाएको पनि भने । चीन आफैँले पनि अमेरिकाले सैनिकमार्फत् उहानमा छाडेको पनि भन्यो ।’
‘… ।’
‘हामी मान्छेमा यस्ता आरोप–प्रत्यारोप भइरहन्छ भनेको ?’
‘… ।’
‘तब त मान्छे । मान्छे हुनुको जीवन्तता यही हो नि । द्वन्द्व नै विकासको मूल हो । होइन र ?’
‘… ।’
‘हामी मान्छे बुझ्न नसकिने जाति हौँ भन्या ?’
‘… ।’
‘त्यसो भनेर कहाँ हुन्छ । मान्छेकै कारण यतिबिधी प्रगति सम्भव भएको हो ।’
‘… ।’
‘त्यही प्रगतिले हामीलाई प्रयोगशालामा बनायौ भनेको ?’
‘… ।’
‘होइन । तिमीहरूलाई कसैले प्रयोगशालामा बनाएको भन्ने कुरा अध्ययनले गलत साबित भइसक्यो । मान्छेका लागि यति खतरनाक तिमीहरूलाई कुनै बायोइन्जिनियरले बनाएको हुनैसक्दैन ।’
‘… ।’
‘कसले भन्यो भनेर सोधेको ?’
‘… ।’
‘कोलिन्सले ।’
‘… ।’
‘को हो यो कोलिन्स भनेर सोधेको ?’
‘… ।’
‘वैज्ञानिक ।’
‘… ।’
‘तिमीहरूको सङ्क्रमणका विरुद्ध मान्छेको उपचारमा लागेका एक जना चिनियाँ डाक्टरका अनुसार गएको वर्ष थुप्रै देशमा रहस्यपूर्ण निमोनियाका बिरामीहरू भेटिएको थियो रे । तिनको उपचारसँग सम्बन्धित कागजातहरूको जाँच गर्ने हो भने थप रहस्य थाहा पाउन सकिन्छ भन्ने पनि छ ।’
‘… ।’
‘कुनै न कुनै दिन तिमीहरूको सारा इतिहासको पोल खुल्ने छ भन्नेमा वैज्ञानिकहरू लागेका छन् ।’
‘… ।’

…………………………………………………………………………….
(श्रेष्ठ लामो समयदेखि कथा विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् ।)
dhires@gmail.com