यो भावना हृदयबाट कहिल्यै नपुछियोस् ! - Aksharang
  • २०७८ कातिर्क १० बुधबार

यो भावना हृदयबाट कहिल्यै नपुछियोस् !

रमण घिमिरे

रमण घिमिरे

‘म विश्वप्रेम मातृभूमिमा सिक्तछु, न कि विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्व मेरा मगजका गिर्खागिर्खाहरू थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको अनन्त दूर कुनामा अहिले भएको भए ‘तँ को होस् ?’ भन्ने कुनै भ्रमणप्रिय गन्धर्वको प्रश्नलाई म उत्तर दिन्थेँ– ‘नेपाल’, मृत्यु स्वर्गबाट ओर्लंदा ‘तँ के चाहन्छस् ?’ को प्रश्नलाई पनि म प्रत्युत्तर दिन्थेँ, ‘नेपालको भलाइ !’

‘अरू मुक्ति खोजून्, स्वर्गपछि दौडून्, म खोज्छु नेपालको तर्फ अविरल शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरू देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हीरा कहाँ छ र उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन् तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक विशाल युगसम्म आध्यात्मिक पोषण पु-याउन सक्तछ । अरूका श्रीपेच शिरमा रहून्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ ।’

यो अंश नेपाली निबन्धका प्रणेता लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध निबन्ध ‘के नेपाल सानो छ ?’ बाट उद्धृत गरिएको हो ।

देवकोटाका यी पङ्क्तिहरू पढिसकेपछि नेपालबारे थप लेख्ने शब्द खोज्नै पर्दैन । अरू कुरामा हाम्रा आ–आफ्ना मान्यता र मतान्तरहरू होलान्, तर जब नेपालको प्रश्न आउँछ– हामी हरेकका हृदयमा ‘स्वदेशको श्रीपेज हृदयमा’ रहन्छ । अरूले काखी बजाऊन् या खुच्चिङ गरून् तर नेपाल हाम्रो हृदयमा बसेकै हुन्छ । यसलाई कसैले पनि झिक्न सक्तैन ।

आज कोरानाको कहरले वैश्विकरूपमा मानिसहरूबीच त्राहिमाम चलिरहेका वेला नेपाल आउन आतुर प्रवासीहरूको मनस्थितिको वर्णन यस निबन्धले गरेको छ । कामको सिलसिलामा गएका हुन् या त्यसै पर्यटन गर्ने वा छोरा–छोरीका नवजात स्याहार्न गएका हुन्– उनीहरूलाई त्यहाँको भौतिक सुखले पोल्न थालेको छ । तिनीहरूलाई डरल, पाउन्ड, रियाल, दिराम, दिनार र ओन बिझाउन थालेको छ । जुन कुरालाई सर्वस्व मानेर विदेश गएका थिए, त्यो आफ्नो मातृभूमिका तुलनामा केही होइन रहेछ भन्ने बोध भइरहेछ । त्यसैले देश फर्किरहेछन् र जसरी हुन्छ देश फर्किन कोसिस गरिरहेछन् । आपत् पर्दा आफ्नो देशभन्दा सुरक्षित ठाउँ अन्यत्र नहुँदो रहेछ ।

तर देवकोटाले ‘तँ के चाहन्छस् ?’ भनेर सोद्धा दिएको उत्तर– ‘नेपालको भलाइ !’ हामी कतिका ओठ या मनमा छ ? हामी कति यस भावनाबाट अभिप्रेरित हुन सकेका छौँ । हामी कति यसको मर्ममा समाहित भएर निस्किन सकेका छौँ ? र हामी कति म ‘नेपाल’ हुँ भनेर गौरव गर्न समर्थ छौँ ? आज यो प्रश्न हामीअघि तेर्सिएको छ । हो, मातृभूमिप्रतिको असीम माया र श्रद्धा हामी सबैको मनमा छ तर यो माया र श्रद्धा हामी कतिले अनुभूति गर्न पाएका छौँ ? र, देवकोटालाई जस्तै कसैले ‘तँ को होस ?’ भनेर कसैले प्रश्न ग¥यो भने हामी कतिलाई ‘नेपाल’ गौरवबोध हुनसक्ला ? यस प्रश्नमाथि देशव्यापी सर्वेक्षण हुनु जरुरी छ । हामीलाई नेपालप्रति कुनै अनास्था छैन तर देवकोटाले गर्व गरेको देश आज कति बाँकी छ ? जीवन खोज्न स्वदेश फर्किरहेका र फर्केर क्वारेन्टिनको भद्रगोलमा जीवन खोजिरहेका आजका नेपालीको हृदयमा नेपालप्रतिको त्यो अगाध श्रद्धा बाँकी छ, छैन ? छैन भने किन छैन ? यो पहिल्याउनु पनि देशभक्ति हो ।

विश्वेश्वरप्रसाद कोइरालाले एक प्रसङ्गमा भनेका थिए– ‘आपत् पर्दा भागेर जाने मेरो ठाउँ नेपालबाहेक अन्यत्र कहीँ छैन ।’ अहिले यो भनाइ सार्थक भएको छ । नेपालीहरू धमाधम घर फर्किरहेछन्. । वास्तवमा देश भनेको भूगोल मात्र होइन । यद्यपि भूगोलविना देश हुन सक्तैन । तर साँचो अर्थमा वास्तविक देश भनेको सबैप्रतिको सद्भाव, सहिष्णु, भातृत्व र निष्ठापूर्ण सहभागिता हो । विपत्मा काँध थापिदिने र अरू वेला जनताको सुखको मार्ग प्रशस्त गरिदिने राज्य–व्यवस्था पनि देश हो । अहिले जनताले यस्तो देशको कति प्रतिशत अनुभूति गरिरहेछन् ? यो पनि राज्यले बुझ्नुपर्ने कत्र्तव्य हो । हामी जाति, वर्ण, लिङ्ग, धर्म र संस्कृति जे–जस्तो रूपमा प्रस्तुत होऊँ, अन्ततः नेपाली नै हामी सबैको एउटै परिचय हो । अहिले यसको बोध झन् तडकारो रूपमा भइरहेको छ ।

कुनै वेला नेपाली भन्नेबित्तिकै एउटा सहासी, इमानदार र भद्र जनताको नाम आउँथ्यो । समय र परिस्थितिले गर्दा यसमा धेरै विचलन आएका होलान् तर आज पनि नेपाली शाश्वत स्वतन्त्र एउटा जातिको नामले विश्वभरि चिनिएकै छ ।

बुद्धको जन्मथलो, भृकुटीको माइती या सगरमाथाको देश भनेपछि विश्वको कुनै कुनामा आज पनि नेपालीले थप परिचय दिन आवश्यक छैन । बडामहाराज पृथ्वीनारायण शाहले एकीकरण गरेको त्यही नेपालको अस्तित्व र गौरव हाम्रो परिचयको गौरवशाली इतिहासमा अभिलेखवद्ध भएर नेपालीका मनमनमा शिलालेखजस्तै अमिट बाँचिरहेको छ । हामी भूगोलसँगै भावनाले पनि त्यति नै महान् छौँ । हामी जनसङ्ख्याले भन्दा जनहितले महान् छौँ । हिमाल, पहाड र तराईसम्म तरेली पर्दै फिँजिएको विविध भाषा, पहिरन र संस्कृतिले महान् छौँ । विसं २०६८ सालको जनगणनाअनुसार यहाँ एक सय ३८ भन्दा बढी भाषाहरू बोलिन्छन् । एक सय तीनभन्दा बढी जातजाति यहाँ बसोवास गर्छन् । यस्तो विविधता अन्यत्र कुन देशमा होला ? सायद यस प्रश्नको उत्तर छैन । यति बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक समाज भएको देश हो नेपाल ।

हामी नेपाललाई असाध्य प्रेम गर्छौं, सम्मान र पूजा गर्छौंं । र, नेपालको भलाइ चाहन्छौँ । यो भावना हाम्रो हृदयबाट कहिल्यै नपुछियोस् । हामी यही नेपाल बाँच्न चाहन्छौँ– ‘सुन्दर, शान्त, विशाल’ ।