बाँच्नेहरूसँग जीवनको आ–आफ्नै अर्थ छ - Aksharang
  • २०७७ असार २४ बुधबार

बाँच्नेहरूसँग जीवनको आ–आफ्नै अर्थ छ

विष्णुविभु घिमिरे

विष्णुविभु घिमिरे

जीवनको कुनै हिसाबकिताब हुँदैन । हिसाबकिताबको कुनै जीवन हुँदैन । हिसाबकिताब भन्नेबित्तिकै एउटा निश्चितताको अर्थ आउँछ, यो अर्थबोधभित्र सबै कुरा क्रमवद्धरूपमा मिल्दै आउनुपर्छ । त्यो क्रम कतै अलिकति मात्र विचलन भयो भने पनि उत्तर गलत निस्कन्छ । सायद अनिश्चितता नै जीवनको सार्वभौम स्वभाव हो । बाँचुञ्जेल हामी स्थिरता खोज्छौँ तर होस र चेतना सम्हालेदेखि नै निरन्तर एउटा अस्थिर मानसिकताभित्र बाँच्न बाध्य छौँ । जीवनको स्याहास्रेस्ता जति मिलाउन प्रयास गरे पनि त्यो कतै न कतै विचलन भइरहेकै हुन्छ । स्याहास्रेस्ताको क्रम र क्षेत्र निश्चित छ तर जीवनले भोग्नुपर्ने क्रम भने निश्चित छैन, त्यसरी नै जीवनले भोग्नुपर्ने क्षेत्र पनि एउटा निश्चित आकारमा सीमित छैन । असीमित, अनन्त भावना र विचारहरूको पुञ्ज यो जीवन– जति भोगे पनि मलाई लाग्छ, भोग्नुको अर्थमा सधैँ अपूर्ण छ ।

‘पढेरभन्दा परेर जानिन्छ’ भन्ने हाम्रो यो लोकोक्ति यस प्रसङ्गमा अति समयोचित लाग्छ । जीवनमा हामीले सोचेको जति व्यहोर्छौं, त्योभन्दा कैयौँ गुना धेरै नसोचेको व्यहोर्नुपर्छ । सोचेको व्यहोर्न हामी पहिलेदेखि नै तयार रहेका हुन्छौँ । तर नसोचेको व्यहोर्न हामी पूर्वतयारीमा रहेका हुँदैनौँ । यो त जहिले पनि अप्रत्याशित र अचानक हुन्छ । यस्तो घटनाक्रमले कहिले हामीलाई अलौकिक खुसी दिन्छ त कहिले मर्मान्तक पीडा । यही अप्रत्याशित अनुभूति र अनुभवले जीवनलाई नयाँनयाँ कुरा दिँदैजान्छ । बाँचुञ्जेल हामी सिकिरहेका हुन्छौँ, जीवन भोगाइको अनुभव र अनुभूति गरिरहेका हुन्छौँ । तैपनि सिक्ने कुरा र बुझ्ने जिज्ञासा अपूर्ण नै रहन्छ । जीवनले जगत्लाई भोग्ने लोभ बाँकी नै रहन्छ ।

तृष्णा, महत्वाकाङ्क्षा अथवा इच्छाहरूको अन्त्य छैन– यो जान्दाजान्दै पनि मानिसहरू पुस्ता दर पुस्ता, आदिदेखि अहिलेसम्म तिनको अन्त्यतिर पुग्ने प्रयासमा निरन्तर छन्् । यो प्रयास निरर्थक हो र पनि कुन अनौठो मोहले तानिएर हो, आरम्भदेखि अन्त्यसम्म जीवनका हरेक मोडहरूमा ऊ अन्धाधुन्ध दगुरिरहेछ । तैपनि मरणान्तमा जीवनभरको त्यो निरन्तर दौडबाट हात–शून्यता प्राप्त भएको अनुभव हुन्छ र सायद मृत्युशय्यामा सकीनसकी आफ्ना बाँकी इच्छा–आकाङ्क्षाहरू विभिन्न इसारा र सङ्केतबाट व्यक्त गरिरहेको हुन्छ । मैले त्यसैले भनेको हुँ– जीवनको कुनै हिसाबकिताब हुँदैन । हिसाबकिताबको कुनै जीवन हुँदैन । किनभने जति गरे पनि हिसाबको जस्तो सबैलाई चित्तबुझ्दो निश्चित उत्तर जीवनसँग हुँदैन । हिसाबमा जस्तो एउटा कुनै निश्चित फर्मुलाले जीवनका अनन्त अनुभूति र भावनाको हिसाबकिताब राख्न सकिँदैन । जीवनको स्वभाव जति निश्चित छ, त्योभन्दा कैयौँ गुणा बढी अनिश्चित स्वभावलाई उसले वरण गर्नुपर्ने हुन्छ ।

यसैले प्रत्येक जीवन भोग्नेहरूसँग जीवनको आफ्नै अर्थ छ । बाँच्नेहरू सबैको आफ्नै स्वभाव र आफ्नै अनुहार छ । मानिसलाई आफ्नो अनुहार जति सुन्दर र प्यारो लाग्छ, त्यक्तिकै आफ्नो स्वभाव र आफ्नो नाम पनि । जहिले पनि जसरी पनि– सबैभन्दा आफ्नो बनाउने मोह मानिसमा छ । आफ्नै लागि र आफन्तहरूकै लागि बाँच्ने मोह पनि मानिसमै छ । निःस्वार्थ र स्वार्थको फरक छुट्याउने विवेक पनि मानिसमा मात्रै छ । युगयुगदेखि ‘निःस्वार्थ बाँचौँ – अरूका लागि बाँचौँ’ भन्ने उदघोष गर्ने मानिस अहिलेसम्म सबैभन्दा धेरै आफ्नै स्वार्थका लागि बाँचिरहेको यथार्थ हेर्दा निकै अचम्म लाग्छ ।

मोहमा बाँच्दा जीवनको जुन स्वाद पाइन्छ, त्यो एकरस हुँदाहुँदा मलाई लाग्छ, त्यो नीरस पनि हुन्छ । मलाई लाग्छ, आफ्नोपनको मोहभन्दा कहिलेकाहीँ विमोह भएर सायद जीवनले अनेक स्वादको अनुभूति प्राप्त गर्छ । विमोहमा मोहको जस्तो पक्कै एउटा मात्रै रस हुँदैन, अनेक रस हुन्छन् । यसरी बाँच्दा सायद सार्थक बाँचिरहेको नवीन अनुभूति मिल्छ कि ? यही अनुभूति हो सायद जीवन । र, हामी जतिजति नयाँनयाँ अनुभूति सँगाल्न सक्छौँ, त्यही आधारमा नै हामी प्रत्येक दिन नित्य नवीन जीवन बाँचिरहेको जीवन्तता प्राप्त गर्न सक्छौँ ।