पेट र शिक्षाको भोकले सन्न्यासी बनायो - Aksharang
  • २०७७ असार २४ बुधबार

पेट र शिक्षाको भोकले सन्न्यासी बनायो

रमण घिमिरे

रमण घिमिरे

हली काले राईदेखि स्वामी प्रपन्नाचार्यसम्मको कथा

फिदिम– ८ लालीखर्क, बरडाँडाको सडकसँगै जोडिएको घरअगाडि एउटा ठूलो सल्लाको रुख थियो । त्यसैले त्यसका घरमालिकलाई सल्लाघरे भनिन्थ्यो । धर्मदास राई, जसलाई गाउँले चलनअनुसार नाममा एकार लगाएर धम्बे राई भनेर पनि बोलाउँथे । त्यही धम्बे राई र दिलमायाको परिवारमा जन्मेका थिए– काले राई । हुन त उनको आफ्नै खाँट्टी नाम थियो न्वारानका पुरेतबाजेले राखिदिएको– सीताराम । तर जसरी उनका जिुजु हजुरबाउ अर्जुनदासबाट अडगोर, बाजे गोपालदासबाट गोठू र बाउ धर्मदासबाट धम्बे भए, त्यसरी नै सीतारामलाई गाउँले काले राई बनाए ।

कालान्तरमा यिनै काले राई डा. स्वामी प्रपन्नाचार्यका नामले प्रसिद्ध भए ।

स्वामीजी जीवनको उत्तरार्धमा अर्थात् विसं २०४५ देखि पशुपति, मृथस्थलीको चन्द्रेश्वर सत्तलमा बस्थे । पशुपति दर्शन गर्न जाँदा कहिलेकाहीँ उनी तल ओर्लिएका बखत भेट हुन्थ्यो । जीवनको पछिल्लो समय त उनी पशुपतिनाथ ओर्लेर मृगस्थली उक्लिन असमर्थ भएका थिए । अरूका लागि पाँच मिनेट लाग्ने उकालो उक्लिन उनलाई तीन घन्टा लाग्थ्यो । त्यसैले यो पङ्क्तिकार उनलाई भेट्न आफैँ मृगस्थलीको भ-याङ उक्लिन्थ्यो ।

बोलीमा अलि कडापन सुनिए पनि व्यवहारमा उनी सारै नम्र थिए । त्यसैले यो पङ्क्तिकार मानिसको लवज सुनेर मात्र उसको आद्योपान्त मूल्याङ्कन गर्नु हुँदैन भन्ने मान्यतामा पुगेको थियो । उनीसँग अनौपचारिक कुराकानी प्रशस्तै भए पनि लामो समय सँगै बसेर औपचारिक कुराकानी हुन पाएको थिएन । हुन त यसले उनका जीवनका उतार–चडाव, सङ्घर्षका कथा यदाकदा पढेको थियो । तर उनका जीवनका मुख्यमुख्य घटनाहरू उनकै वाणीमा रेकर्ड गर्न यसलाई असाध्य चौचौ भयो । अनि एक दिन यसले प्रसिद्ध तबलावादक सरिता मिश्रलाई फोन गरेर स्वामीजीसँग भेट्न जाने प्रस्ताव राख्यो ।

पङ्क्तिकार एक्लै गएको भए पनि हुन्थ्यो तर सरितासँगै जाँदाका दुइटा थिए– एक, सरिता स्वामीजीसँग धेरै नजिक थिइन् र अप्ठ्यारो प्रश्नमा पनि उनी सहजीकरण गरेर सरल बनाउन सक्तिनँ । र, अर्को स्वामीजी शास्त्रीय सङ्गीतका साधक पनि थिए । शास्त्रीय गायनमा बकाइदा अध्ययन गरेका थिए । विद्यार्थी छँदा रामलीलाहरूमा अभिनय पनि गरेको थिए । त्यसैले सरिताको तबला र स्वामीजीको हार्मोनियम वादनमा सङ्घुलित हुँदै निस्किने सुमधुर कण्ठध्वनि श्रवण गर्ने दिव्य अवसर पनि प्राप्त हुन्थ्यो । नभन्दै त्यस दिन उनले आफूले हार्मोनियम बजाउँदै र सरितालाई तबला बजाउन लगाउँदै दुई तीनवटा शास्त्रीय राग पनि सुनाए ।

त्यस दिन स्वामीजीको आवासको ‘कुटी’ मा पुगेपछि एकछिन सामान्य भलाकुसारी र स्वामीजीको स्वास्थ्यबारे चर्चा भएपछि हामी मूल विषयमा प्रवेश ग¥यौँ । यो प्रवेश यति अद्भुत भयो– स्वामीजीले जीवनको आरम्भदेखि बनारसको ‘बनारस संस्कृत विश्वविद्यालय’ बाट आचार्य र दिल्ली राष्ट्रिय संस्थाबाट सन् १९७९ मा विधावारिधि गर्दासम्मका घटनाक्रमहरू अविराम गतिमा प्रवचनको शैलीमा हामीलाई सुनाए ।

०००
बाटैमा पर्ने भएकाले धम्बे राईको घरमा वास बस्न थरीथरीका मानिसहरू आइरहन्थे । एकपटक दामोदर दाहाल भन्ने व्राह्मण उनीहरूकहाँ वास माग्न आए । उनी बिरामी थिए । एक महिना उनीहरूकैमा बसेर वैदाङ्गी र अन्य घरेलु उपचार गरेर तिनी स्वस्थ भएर आफ्नो बाटो लागे । हो, यिनै दाहाल ब्राह्मणले उनको मनमा शिक्षाको पहिलो भोक जगाइदिएका हुन् ।
रातिराती घरधन्दा सकेर गाउँवरिपरिका सबैजना धम्बे राईका भरमा भेला हुन्थे र कुराकानी गर्थे । काले सानै थिए, कुरा अलिअलि मात्र बुझ्थे । तर आमाको काखमा घुस्रेर ननिदाएसम्म उनी सबैका कुरा चनाखो भएर सुन्थे । त्यस रात दाहाल बाजे आएका थिए । उनले अलिअलि धर्मशास्त्रका कुृरा गरे र ऋग्वेदको महत्व बताए । कुरा सकिन लागेपछि आमाले कालेलाई काखबाट अँगालोमा सार्दै दाहालबाजेसँग भनिन्– ‘लु गुरु बा यो कालेले पढेछ भने त्यो ऋग्वेद के रहेछ– म पनि हेरौँला, सुलौँला र बुझौँला ।’ त्यस अर्धनिर्दित अवस्थामा पनि कालेको बाल–मस्तिष्कको हार्डडिस्कमा यो कुरा रेकर्ड भयो । पछि तिनै मानिसबाट उनले गायत्री मन्त्र सिके र कण्ठ गरेर गुनगुनाउन थाले ।

उनको गाउँभन्दा अलि पर अधिकारी थरका ब्राह्मणको घर थियो । एकपटक कतै गएर फर्किंदा झमक्क साँझ प¥यो र बाउ–छोरा तिनै ब्राह्मणकहाँ वास बस्न पुगे । राती ढिँडो बनाएर खाइवरी उनीहरू सुतेका एकैचोटि बिहान मात्र ब्यूँझिए । काले बिहानबिहान घरमा दाहाल बाजेबाट सिकेको गायत्रीमन्त्र भट्ट्याउँथे । त्यस बिहान अधिकारीबाजेको घरमा पनि ब्यूँझेर मुख धुँदै गायत्री मन्त्र भन्न थाले । तर त्यहाँ अचम्म भयो । अधिकारी बाजेले कालेको मुखबाट गायत्री मन्त्र उच्चारण भएको सुन्ना साथ उनको सातो जाने गरी हप्काए– ‘तल्लो जातकाले यो मन्त्र उच्चारण गर्नु त परको कुरा सुन्नुसमेत हुँदैन । कसरी तैँले गायत्री भन्ने दुस्सहास गरिस् !’ ती ब्राह्मणको उग्रवाच्य सुनेपछि धम्बेले कालेको गालामा कस्सेर एक चड्याङ लगाए । विचरा काले ! रुनुबाहेक अरू के नै गर्न सक्थे र ! तर कालेको मनमा यो कुरा सुइरो भएर गढ्यो ।

अनि उनले बाटोमा बाउसँग तर्क गरे– ‘बाउ तिमीले मलाई यति सानो कुरामा पनि यति सारो दुख्ने गरी किन चड्याङ् लगायौ ?’ बाउले अघि हिर्काएर रातो भएको छोराको गाला मायाले सुमसुम्याउँदै भने– ‘काले तँलाई मैले आज जानीजानी कुटेको होइन, ती बाहुनहरूलाई देखाउन मात्र कुटेको हुँ ।’ ‘किन बाउ ? देखाउन कसैले आफ्नो छोरो कुट्छ ?’ यस अवस्थामा आइपुग्दासम्म काले ठूलै, बुझ्ने भइसकेका थिए, उनले सोधे । बाउले भने– ‘हेर् काले ! उनीहरूको मन्त्र हामी राई, किरातीले भन्नु हुँदैन ।’
कालेलाई बाउको तर्कले फेरि पनि चित्त बुझाउन सकेन र सोधे– ‘बाउ ! बाहुन बाहुनमा पनि फकर हुन्छ र ?’

बाउले कालेको कुरा बुझेनन् र सोधे– ‘कस्तो फरकको कुरा गरेको केटा तैँले ? नियममा त सबै बाहुन बाबर हुन्छन् । सबै बाहुनको नियम एउटै हुन्छ । तल्ला जातिकाले गायत्री मन्त्र भन्न नहुने पनि यसै नियममा पर्छ ।’
उनलाई झन् चित्त बुझेन, फेरि सोधे– ‘तर बाउ ! उसो भए हाम्रा घरमा बसेका दाहालबाजेले पनि मैले गायत्री मन्त्र भन्दा गाली गर्नुपर्ने त ! उनले मलाई उल्टै गायत्री सिकाए त ?’ बाउ धम्बेसँग पनि यसको चित्तबुझ्दो उत्तर थिएन, केके भनेर थामथुम पारे ।

तर काले अलि बढी नै तर्कशील देखिए । एक दिन उनले दामोदर दाहालसँग पनि यसको उत्तर मागे । ‘गुरु तपाईं पनि बाहुन, ती अधिकारीहरू पनि बाहुन । तर ती बाहुनकहाँ तपाईसँग सिकेको गायत्री मन्त्र भन्दा मैले कुटाइ खाएँ ! यो कस्तो कुरा हो गुरु ?’ दामोदर पढेलेखेर रामानुज सम्प्रदायमा लागिसकेका विद्वान् थिए । उनले कालेको शिर थपथपाउँदै भने– ‘हेर् काले । नजान्ने, अज्ञानी मानिसहरू सुनेका भरमा नियम बनाउँछन्, जुन सत्य हुँदैन । त्यसैले गायत्री मन्त्र भन्दा ठूलो जात, सानो जात भनेर छेकबार छैन, तँ भन् !’
अझ उनलाई त गायत्री मन्त्रपाठ गर्ने मात्र होइन, आमालाई सुनाउन ऋग्वेद नै पढ्नुपर्ने थियो । यसबारे उनले ती गुरुसँग जिज्ञासा राखे । गुरुलेले भने– ‘ऋग्वेद तैँले छिचोल्न सक्तैनस् । सक्छस् भने तँ संस्कृत पढ्, संस्कृतमा पनि व्याकरण पढ्, अनि मात्र तैँले सारा शास्त्र बुझ्न सक्छस् ।’

त्यस बालखण्डको स्मरण गर्दै स्वामीजीले भने– ‘मलाई दाहाल गुरुले बाटो देखाइदिए पनि, मेरो प्रेरणाको मूल स्रोत मेरी आमा नै हुन् । उनले कालेका मुखबाट ऋग्वेद सुन्न चाहन्छु नभनेकी भए म सायद शिक्षाका लागि यति छटपटिने थिइनँ होला ।’

हली, गोठालो, खेतालो गर्दै उनको उमेरले २९ को जस्केला उक्लेर ३० को भुइँमा पाइदा टेक्न लागेको थियो । त्यस वेला उनी एकजनाकहाँ हली बसेका थिए । एक दिन हली बसेको घरमा दार्जिलिङबाट पाँच क्लास पढेको कालेभन्दा कम उमेरको एउटा ठिटो आइपुग्यो । गाउँले क्लास भन्न नजानेर गिलास भन्थे । त्यो पाँच गिलास पढेको आफन्तलाई मीठोमीठो खान दिन्थे तर कालेलाई दिन्थे हलीकै खान्की ढिँडो । तर पनि ती दुवै सँगै बसेर खाए । खाना खाइसकेपछि घरमालिकले कालेलाई ‘यो नानीले खाएको थाल पनि तैँले नै माझ्नू !’ भनेर अह्राए । स्वामीजीले स्मृतिको त्यस निरीह भूमिमा फर्किएर भने– ‘म त्यस घरको हली भएपछि त, नोकर नै भएँ । तर मेरो मनमा खै के विचार आयो, मैले ‘म त्यसको थाल माझ्दिनँ’ भनेँ । अनि मलाई घरमालिकले आमाचकारी गाली गर्दै भने– ‘तँ गोरु होस्, तैँले त्यो थाल माझ्नैपर्छ ।’ ३० वर्ष पुग्न लागेका उनलाई यति कुरा बुझ्न गाह्रो थिएन । अनि कालेले पनि वचन फर्काए– ‘म घाँस खान्न, त्यसैले म गोरु होइन ।’ घरमालिक झन् जङ्गिए– ‘तैँले मुला, रायोको साग खाएको छस् कि छैनस् ?’ कालेले खाएका थिए, भने– ‘त्यो त खाएको छु ।’ अनि घरमालिकले भने– ‘हो, त्यसैले तँ गोरु होस् ।’

अनि उनलाई पनि झोँक चल्यो, भनिदिए– ‘मुला, रायोको साग त तिमी पनि खान्छौ नि, उसो भए तिमी पनि गोरु भयौ ।’ कुराले ठूलै झगडाको रूप लियो । घरमालिक्नीले आफ्ना पतिको बोलीमा लोली मिलाउँदै भनिन्– ‘खुरुक्क गएर त्यो थाल माझ् । किन माझ्दैनस् ?’ कालेले फेरि पनि प्रतिवाद गरे– ‘यो मभन्दा सानो छ, त्यसैले म आफूभन्दा सानोको जुठो भाँडा माझ्दिनँ ।’ अनि मालिक्नीलै चोर औँला तेस्र्याउँदै भनिन्– ‘ए गोरु, तँलाई थाहा छ ? यसले पाँच गिसाल पढेको छ । तँ त अनपढ मूर्ख होस्, बुझिस् !’ कालेले पनि झ्वाँकझ्वाँकमै भनिदिए– ‘अब त मैले १० गिलास गर्ने हो ।’

भाँडा त माझिदिए तर त्यसपछि उनलाई त्यस घरमा बस्नै मन लागेन । एउटा ठूलो काँसको गिलास थियो । त्यसमा उघाएर पाँच गिलास पानी घटघटी पिए । पानी उनको घाँटीघाँटीसम्म आयो । अनि सोचे पाँच गिलास पढ्नु भनेको त निकै हुँदोरहेछ । झन् १० गिलास त कता हो कता धेरै । त्यसपछि उनी त्यहाँबाट आफ्नो झोला, त्रिशूल र कमन्डलु बोकेर अर्का एकजना सज्जनको घरमा गए । त्यहाँ पनि उनले १० गिसाल नपढी नछोड्ने अठोट सुनाए । ती सज्जनले भने– ‘तँ ३० वर्षको लाठे भइसकिस्, अब केको गर्छस् १० गिलास पास ?’ तर काले राईको मनमा १० गिलास नपढी नछोड्ने सङ्कल्पले जरा गाडिसकेको थियो । त्यही बेला दामोदर खतिवडा नाम गरेका सन्त त्यहाँ आइपुगे । उनी त्यहाँ छ महिनासम्म बसे । उनी आफैँ फकाएर मीठोमसिनो एक छाक मात्र खान्थे । कालेचाहिँ हली भएर बिहान चार माना र बेलुका चार माना ढिँडो खान्थे । ती सन्तको भाँडा भने कालेले नै माझिदिए । ती सन्त जोसमनी सम्प्रदायका थिए । साकाहारी भोजन गर्थे । कालेको परिवारका चार पुस्तादेखि राई भएर पनि जोसमनी सम्प्रदाय लागेर साकाहारी भएका र घरमा सुँगुर त परै जाओस्, कुखुरा पनि पालिँदैनथ्यो ।

कुरैकुरामा एक दिन खतिवडा बाजेले घरमालिकसँग आफू अब काशी–बनासर जाने र हृषीकेश, केदारनाथसम्म पुग्ने भने । कालेले काशी, बनासरको नाम सुनेका थिए र त्यहाँ पढ्न पाइन्छ भन्ने पनि थाहा पाएका थिए । खल्तीमा सुकोदाम नभए पनि उनलाई ती ब्राह्मणसँगै जाऊँजाऊँ लाग्यो । यता कालेको मनमा उनीसँगै बनासर जाने कुरा छड्किरहँदा घरमालिक चन्द्रदासले आफ्नो कान्छो छोरा उनीसँगै पठाउने कुरा निकाले । खतिवडाले हुन्छ पनि भनेका थिए तर आमाले मानिनन् । अनि घरमालिकले ठट्टा गरे– ‘उसो भए यो सीतारामे पो जान्छ कि गुरु ?’ कालेले अगाडि बढेर भने– ‘हो, म जान्छु ! बाजेको भारी बोकी दिन्छु,, उहाँले खान दिइहाल्नु हुन्छ ।’ यसरी बाले राईको बनारस जाने बाटो खुल्यो । घरमालिक सज्जन थिए, उनले बढो दया गरेर बाटो खर्च भनेर कालेको हातमा दुई रुपियाँ राखिदिए ।

त्यति बेला यातायातको कुनै साधन थिएन । उनीहरू हिँडेरै हेटौँडा हुँदै गोरखपुरबाट रेलमा बनासर जान निस्किए । हेटौँडा आउँदै गर्दा कालेले बाटाको एउटा दोकानमा एउटा घुमाउरो मिठाई देखे । दामोदर खतिवडाले यो जुलेबी हो, गुलियो, मीठो हुन्छ भनेर उनी अघि बढे तर कालेले त्यहीँ बसेर भकाभख माग्दै एक सेरजति जुलेबी खाए र दुई रुपियाँ दिएर हिँडे । खतिवडा अलि पर थिए, उनलाई कालेले कति पैसा दिए भन्ने थाहा भएन । पछि कालेलाई सोधे– ‘कतिको जुलेबी खाइस् ?’ कालेले भने– ‘दुई रुप्पे जम्मैको ।’ खतिवडाले हपारे– ‘त्यति जुलेबीको पनि कतै दुई रुप्पे पर्छ, तलाईं ठग्यो ।’ अब मिठाई पनि हजम भइसेकेको थियो, फेरि पैसा माग्ने कुरा भएन । ऊ लुरुलुरु उनलाई पछ्याउँदै हिँड्यो र उनीहरू गोरखपुर पुगे । त्यहाँ उनीहरूको ४१ जनाको समूह थियो, काशी जाने । सबैले उठाएर रेलको टिकट काट्न एकमुष्ठ दिएको दुई सय रुपियाँ हात पर्नासाथ टिकट काटिदिन्छु भन्ने भारतीय कता छड्क्यो कता ? उनीहरू बेखर्ची भएर गोरखपुरबाट हिँडेरै बनासर पुगे ।

काले राईलाई त पेटको भन्दा धेरै भोक शिक्षाको थियो । त्यहाँ पुगेपछि सबै आ–आफ्नो गन्तव्यतिर लागे । खतिवडा बाजे पनि आफ्नो बाटो लागे । अब काले बनासरमा नितान्त एक्लो भयो । न भाषा बुझ्नू, न त्यहाँको रहनसहन । उनी नोकरी खोज्दै एक मुसलमानको दोकानमा पुगे । महिनावारी दुई रुपियाँमा काम पाए । तर दोकाने बातैपिच्छे कालेलाई साला भन्थ्यो । विचरा काले पहाडको दुर्गमबाट पहिलोचोटि यति ठूलो सहरमा आएका । उनले त ‘साला’ लाई स्नेह नै ठाने । तर उनको मनमा एउटा प्रश्न बारम्बार उठिरहन्थ्यो– ‘यसले मेरी दिदीलाई बिहा गरेको त होइन, अनि म कसरी यसको साला र यो मेरो भेना भयो ?’ उनलाई गाली गरिरहेको बेला एकजना गुरुङ त्यहाँ आइपुगे र उनलाई सालाको खास अर्थ बताइदिँदै त्यहाँबाट हिँड भने । त्यही वेला अर्का एकजना मानिस आए र हिन्दीमा त्यो दोकानेसँग केके बात मारे अनि यसको पैसा देऊ भने । स्थानीय मानिसका अघि त्यो मुसलमान दोकानेको पनि केही चलेन, उसले खुरुक्क पैसा दियो र ती मानिसले हिन्दूकै एउटा दोकानमा नोकरी खोजिदिए । उनको नोकरी भाँडा माझ्नु थियो, त्यहाँ पनि भाँडै माझ्न थाले । तर जसकहाँ भाँडा माझे पनि सबैलाई उनी पढ्न आएको नै भन्थे । पढाइको कुरा सुनेर त्यो हिन्दु दोकानेले पनि उनलाई मुसलमानले जस्तै भन्यो– ‘तु यहाँ पढेगा साला ?’ डा. स्वामी प्रपन्नाचार्यले त्यस दिन बढो दुःखी भावमा भनेका थिए– ‘मैले सोचेँ, जसले पनि आफूलाई भिनाजु भनाउने यो कस्तो ठाउँ रहेछ ?’

त्यहीँ काम गर्दैगर्दा एक दिन एकजना सुट लगाएका नेपाली आए र त्यहाँबाट निकालेर एकजना पढेलेखेका मानिसको घरमा नाकेरी लगाइदिए । तिनकी एक अविवाहित छोरी थिइन्– सरस्वती । सरस्वतीले नै उनलाई तीन महिना लगाएर साउँअक्षर र सामान्य शब्द लेख्न सिकाएकी थिइन् । तर तिनले पनि उनलाई साला नै भनिन् । यो त अति भयो भनेर कालेले ती महिलासँग सोधे– ‘तिमी आइमाईमान्छेको कसरी साला हुन्छ ?’ यो प्रसङ्ग उठाउँदै स्वामीजीले भनेका थिए– ‘भित्रबाट उनका बाउले कुरा सुनिरहेका रहेछन्, उनी हाँसे र आफ्नो भाषामा छोरीलाई मैले भनेको कुरा बुझाए र यसो नभन्नू भनेर सम्झाए । त्यसपछि उनले ‘साला’ त भनिनन् तर ‘सुँअर’ (सुँगुर) भन्नचाहिँ छोडिनन् । सुँअरको अर्थ मलाई थाहा थिएन, उनले मलाई ‘सुतिस्’ भनेको होला भनेर मैले उनी जतिपटक सुँअर भन्थिन् म त्यतिपटक ‘सुतेको छैन’ भन्थेँ ।’ अर्थ नबुझेपछि विचरा उनलाई नराम्रो गाली पनि राम्रै लागिरह्यो ।

यसरी उनले ३६ वर्षको उमेरमा प्राथमिक तहको अध्ययन पूरा गरे । यति उमेर खाएको मानिस सानो कक्षामा पढ्न जानु उनीहरूका लागि आश्चर्यको कुरा थियो तर उनलाई कुनै अप्ठ्यारो लागेन । पहिला अङ्ग्रेजी विद्यालयमा भर्ना भएका थिए तर त्यहाँ उनको धेरै खिल्ली उठाएपछि उनी संस्कृत विद्यालयमा भर्ना भए । तर, त्यहाँ पनि ब्राह्मण विद्यार्थीहरूलाई मात्र खान, बस्न निःशुल्क थियो । उनी राईका छोरा भएकाले यस सुविधाबाट वञ्चित हुनपुगे ।

सन् १९६५ सम्म उनले यस्तै रनभुल्लमा बनारसका गल्ली–गल्छेडाहरू छिचोल्दै विभिन्न विद्यालयको चक्कर लगाइरहे । उनी भिक्षा मागेर खान्थे । तर यस्तो हट्टाकट्टा जवानलाई कसले भिक्षा दिने ? जहाँ गए पनि ‘इतने हट्टेकट्टे होकर भी भीख मागने में शर्म नही आता !’ भनेर हकारेर पठाइदिन्थे । तर हरेक समस्याको उपाय हुन्छ भनेजस्तै एक दिन एक व्यक्तिले उनलाई आफ्नो घरमा लगे र दिनहुँ भिक्षामा अलिकति चामल दिनथाले । उनी खोलाको किनारामा गएर त्यो चामल लोटामा पकाएर खान्थे र रुद्रप्रयागमा पढ्न जान्थे । पछिपछि उनको बानी–व्यवहारले त्यहाँका प्रधानाचार्य र प्रबन्धकहरू पनि रिझिएपछि बल्ल ब्राह्मण विद्यार्थीहरूसरह सुविधा प्राप्त गरे ।

यसरी १० गिलास पढ्न घरबाट बेखर्ची निस्किएका काले राईले शिक्षाप्रतिको एकलव्य साधनाले बनारस संस्कृत विश्वविद्यालयबाट आचार्य गरे अनि दिल्ली राष्ट्रिय संस्थाबाट शिक्षाको सबैभन्दा माथिल्लो तह– विद्यावारिधि नै गरे । त्यो पनि आफ्नी आमाले कुनै बेला बुझ्ने इच्छा गरेको वेदमै गरे ।

त्यस दिन, सन्न्यास लिएर स्वामी प्रपन्नाचार्य भएका उनीसँग कुराकानीको बिट मार्दामार्दै यस पङ्क्तिकारले एउटा जिज्ञासा राखेको थियो– ‘तपाईंको जीवनमा कहिल्यै कुनै स्त्रीले आकर्षण गरेनन् ?’ उनले भनेका थिए– ‘त्यस बेला अघाउँजी भुँडी भरेर पढ्न पाउनु नै मेरा लागि पर्याप्त थियो । बैँस पनि खान–लाउन पुगिसरी आएपछि मात्र आउँदो रहेछ । मलाई त्यो बैँस आउनै पाएन । गरिबलाई बैँस आउँदैन । आएकै थाहा हुँदैन ।’ यसरी पेट र शिक्षाको भोकले उनलाई सन्न्यासी बनायो ।

राईको छोरा भएर पनि कुनै बेला गायत्री मन्त्र पाठ गरेर विद्रोह गरेका कालेले ब्राह्मणबाहेकका अरू जातिले स्पर्शसम्म पनि गर्नु हुँदैन भनेर प्रतिवन्ध लगाएको वेदान्त–शास्त्रकै अध्ययन गरेर पछि वेदको व्याख्या गरेर पुस्तक नै लेखिदिए– ‘वेदमा के छ ?’ । अनि सच्चा ब्राह्मण जन्मले होइन, अध्ययन र साधनाले भइन्छ भन्ने प्रमाणित गरिदिए । र, सन्न्यास लिएर स्वामी प्रपन्नाचार्यको प्रतिष्ठित उपाधि धारण गरे ।

तस्बिर : रमण घिमिरे