विधान आचार्य - Aksharang
  • २०७७ माघ ४ आइतबार

विधान आचार्य

राजेन्द्र शलभ

राजेन्द्र शलभ

जन्मेको त २०१६ सालमा हुँ
तर नागरिकतामा २०१४ साल छ
त्यसैले विश्वविधालयको जागिरबाट
अवकाश पनि पाइसकेँ ।
चुँदीकै चन्द्रावती हाइस्कुलपछि
प्राइभेट आईए सकाएँ
हेल्थ एसिस्टेन्ट पढ्दापढ्दै
पाटन क्याम्पसबाट
इकानोमिक्समा बीए गरेँ ।
२०३३ सालदेखि त्रिभुवन विश्वविधालयमा
प्रशासनतर्फ काम गर्न थालेँ
म मानविकी डीन अफिसमा थिएँ
पोखराबाट सरुवा भएर काठमाडौँ आएपछि
त्यहीँको स्मारिकामा लेखेको एउटा लेखले
हल्लिखल्ली मच्चायो
प्रशासनको मान्छेले एकेडेमिक कुरा गर्ने ?
र त्यही आलोचनाले मैले
२०४२ सालमा पोपुलेसनमा एमए गरेँ
र त्रिविमै प्रशासनबाट
शिक्षण सेवामा आएँ– २०४७ सालदेखि ।
यहीँ पढाउँदा–पढाउँदै
नेदरल्यान्ड र अमेरिकामा पनि
पढ्ने मौका पाएँ ।


प्रशासनमा हुँदा एक प्रकारको
बन्धन र बोझ हुन्थ्यो
शिक्षणमा विद्यार्थीको सन्तुष्टिमा रमाउँछु
जिम्मेवारी छ, तर स्वतन्त्र छु ।
हुन त प्रशासनमा हुँदा पनि
त्यस बखत अनुमति लिएर
साहित्य र पत्रकारिताको क्षेत्रमा
काम गरि नै रहेको थिएँ ।
संरचना, गोरखा एक्सप्रेस
गतिविधि, नयाँबाटो र
युगसंवादमा लामो समयसम्म
स्तम्भ लेखेको हिजोजस्तै लाग्छ ।
अझ अनावरण र दैनिक समालोचनाको
सम्पादन गरेका रोचक क्षणहरू
मानसपटलमा ताजै छन् ।
जीवन र शलभसँगको ‘डिजाइनराइटर’ का
ती सिर्जनात्मक दिनहरूले अझै
रोमाञ्चित बनाउँछन् ।


२०४२ मा ‘गोरूको काँध’
अनि २०६२ मा ‘पहाड उक्लेर, पहाड ओर्लेर’
२०७३ मा ‘नदीसित’ कविता–सङ्ग्रह प्रकाशित गरेपछि
२०७६ मा ‘भोक’ हिन्दी कविता–सङ्ग्रह र
‘कमाइ’ लघुकथा–सङ्ग्रह प्रकाशित भए ।
दुइटा कथा–सङ्ग्रह तयार छन्
खै ! कहिले प्रकाशित हुने हो थाहा छैन
तर अङ्ग्रेजीमा ‘द हिमालयन इफोनी’
यही साल प्रकाशित हुँदैछ ।
यिनै हुन् मेरा सम्पत्ति
मेरा सिर्जनात्मक सन्तानहरू ।


हो सन्तुष्ट नै छु
तर के हो सन्तुष्टि… थाहा छैन
अनुभव नै छैन
र असन्तुष्ट पनि छैन ।
प्रत्येक पल ठीक छ
प्राप्ति, अरूले दिएर हुँदैन
आफैँले पाउनुपर्छ ।
तिमीलाई मेरा कुरा
वैराग्य वा शून्यवादजस्ता लाग्लान्
तर जति माथि पुगियो
त्यत्ति लड्ने खतरा हुन्छ
जमिनमा बस्दा कुनै खतरा हुँदैन
हामी जहिले पनि धरातलमै बस्यौँ
बरु आफ्नै बलबुताले त्यो धरातललाई नै
माथि उठाएर, उठ्यौँ
अरूले उठाएर वा समातेर होइन ।


राजनीतिक विचारको बैसाखी टेकेर
कुनै पदमा बस्न रूचाइनँ
अर्थात् भनौँ अरूको हैकममा बस्न मन लागेन
म त त्रिविमा हुँदा पनि
पुस्तकालयका लागि किताब किन्दा
आएको कमिसनबाट किताब नै किन्ने मान्छे ।
खान–लाउन पुगेको छ

र यो कवि मन
कसैको अधीनमा बस्नै सक्दैन
अहिले पनि आफ्नै लेखन र अनुसन्धानमा
व्यस्त छु, मस्त छु, खुसी छु ।