यसरी बित्नुभयो आमा ! - Aksharang
  • २०७७ श्रावाण २७ मङ्गलबार

यसरी बित्नुभयो आमा !

 लक्ष्मी पुडासैनी

लक्ष्मी पुडासैनी

आमाको भुँडी बडेमानको थियो । हामी सात जना छोरी जन्माइसकेपछि यो आमाको आठौँ सन्तान थियो गर्भमा । स्वर्गको दैलो खोल्ने छोराको चाहनाले आठौँ सन्तान जन्माउने तयारीमा रहेकी मेरी आमाभन्दा बढी बा उत्सुक हुनुहुन्थ्यो । हामी जन्मी, हुर्की, बढेका सन्ततिभन्दा बालाई आमाको गर्भभित्रको त्यो सालनालसहितको शिशुप्रति बढीमोह थियो– सायद छोरो छ कि भनेर । समय बित्दैगयो । आमा यत्ति गल्नुभएको थियो कि म आमाको गर्भ हैन मृत्यु देख्थेँ । आमा घरिघरि ऐय्या मरेँ यो बुढेसकालमा… भनिरहनुहुन्थ्यो । मेरो बालसुलभता त्यति सबै कुरा बुझ्ने भइसकेको थिएन । आमाको पेट बढ्दैजाँदा आमालाई सुताइदिनुपर्ने, उठाइदिनुपर्ने गरी हालत बिगँ्रदै गयो । पैतालादेखि पिडुँलासम्म सुन्निएर टिलटिलती भइरहेका थिए । मुख पहेँलो थियो । त्यो आमाको हालत म शब्दमा व्यक्त गर्न सक्दिनँ । हुर्केकी दिदीको विवाह भएर छोरो जन्माइसकेकी थिइन् । उनी आमको गर्भ रहेकोे थाहा पाएपछि बा–आमासँग ‘फेरि बच्चा पाउने तिमीहरू लाज लाग्दैन, आमालाई मार्न आट्यौ’ भनी निक्कै झगडा गरिन् । उनी माइत आएर झगडा गरेको पहिलोपटक थियो । म कहिल्यै तिमीहरूको घरमा आउदिनँ भनेर रिसाएर आफ्नो छोरो र झोला बोकेर घर हिँडिन् । मलाई दिदीलाई एक्लै छोड्न मन लागेन । भर्खरै रोपाइँ गरेका खेतका आलीआली म आफूभन्दा ठूलो झोला बोकेर दिदी पुर्याउन गएँ । बाटामा दिदीले आमा कमजोर भइसक्नुभयो । हाम्रा बाबु नै पापी हुन् हेर् भनी धेरै रोइन् । म पनि दिदीसँगै धेरै रोएँ । त्यसपछि तीज, दसैँ, तिहारमा दिदी कहिल्यै माइत आइनन् ।

मभन्दा माथिकीदिदी (सरे)कान नसुन्ने हुनाले बोल्न पनि सक्दिनथी । कामचाहिँ खुब गर्थी मुढेबलले तर असाध्यै फोहोरी थिई । रिस उठ्यो भने जे पायो त्यही– पिर्का, हँसिया, आग्लोले हिर्काउँथी । मभन्दा साना दुई बहिनी थिए अरू बाँकी सबै मास छर्न गए रे । आमाले सधैँ मलाई डिले साना बाको घरमुनि माटो खन्न पठाउनुहुन्थ्यो । एक झोला माटो घरको बार्दलीमा सुकाएर आमा भातभन्दा धेरै माटो खानुहुन्थ्यो ।

हाम्रो आर्थिक अवस्था धेरै राम्रो नभए पनि आँटो, पीठो गरी जेनतेन एक वर्षलाई खान पुग्थ्यो । बुबाको जागिर थिएन । खेती–किसानी नै हो । अलिअलि भैँसी व्यापार गर्नुहुन्थ्यो । आमाले छोरो पाउँछे लैनु भैँसी ल्याउनुपर्छ भनी आमा सुत्केरी हुने बेलातिर सिन्धुपाञ्चोक गएर माघे भाकामा लैनो भैँसी ल्याउनुहुन्थ्यो । यसपालि पनि लैनो भैँसी घरमा आइसकेको थियो । आमा ओछ्यानबाट उठ्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । उहाँले हामीलाई नजिकै राखेर यसपालि मलाई असाध्यै गार्हाे भइरहेछ भनी घरिघरि रुनुहुन्थ्यो। पल्ला घरकी काकीसँग आमाले ‘म त कान्छी मर्छु कि क्या हो ? गाह्रो भइरहन्छ । सास नै अड्केलाजस्तो हुन्छ । मलाई गाह्रो भयो भने अस्पताल लगिदेऊ है । म त्यही बूढाले थाहा नपाउने गरी परिवार नियोजन गर्छु’ भन्दै रूनुहुन्थ्यो । काकीले ‘दिदी उमेर धेरै हुनाले गाह्रो भएको हो नआत्त केही हुन्न’ भनी सम्झाउनुहुन्थ्यो । अरू बहिनीहरूका पालामा आमाले यसरी खुट्टा छोडेको मलाई थाहा नै थिएन ।

वैशाख २ गतेको अँधेरी रातमा आमालाई व्यथा लाग्यो । मैले सुडिनी आमालाई बोलाएर ल्याएँ । केही लोग्नेमान्छे बाहिर आगनमा बसेका थिए ।हामी केटाकेटीलाई माथिबाट तल नओर्लिनु भनेका थिए । आमा जोरजोरले चिच्याउँदै हुनुहुन्थ्यो । म साना बहिनीहरूलाई च्याप्दै माथि बसेँ ।

सानी बहिनीले‘आमालाई के भएको’ भनी सोधिरहन्थी । मलाई उत्तर दिन मनै नलागेर सुत्सुत् भनी थमथमाउँथे । जतिजति रात छिप्पिँदैगयो उतिउति आमा कराउँदै हुनुहुन्थ्यो । मलाई आमालाई अँगालो हालौँजस्तो भइरह्यो भने बासँग साह्रै रिस उठ्यो । आमाले कहिलेकाहीँ रिस उठेको बेलामा ‘तेरो बाउ पापी हो पापी’ भनेको सम्झेँ । आमा जति व्यथाले च्यापेर कराउनुहुन्थ्यो, म उतिउति डराउँथे र ओढ्ने मुखमा कोचेर रून्थेँ । तीन प्रहरको रात सकिनलागेको हुँदो हो आमा जोडजोडले कराउँदा आमालाई गाह्रो भइसकेको थियो । सुडिनी आमाले ‘सक्छुजस्तो छैन साइँलादाइ अस्पताल लैजानुपर्छ नत्र साइँली मर्छे । पानी सबै गइसक्दा पनि बच्चा फर्कन सकेन’ भनेर हतारिएको चर्किएको आवाजले सबैका कान ठाडा भए । म हत्तपत्त तल झरेँ । घरनजिकका सबै काकी, ठूलीआमा, भाउजू जम्मा भए । आमा रगतको आहालमा डुब्नुभएको रहेछ । मूलथाममा एउटा ठूलो गहुँले भरिएको धोक्रोमा आमालाई अडेस लगाएर राखिएको रहेछ। अँगेनुमा आगो बालिरहेको रहेछ । सुडिनी आमा तातो पानी डेक्चीमा राखेर खै आमाको पेटतिर केके गर्दैथिइन् । सरे र म आमाको नजिकै गयौँ र रून थाल्यौँ । हामीलाई ठूलीआमाले ठूलो स्वरमा भनिन्– ‘पर जाओ केही हुन्न आमालाई’ । म भर्याङमुनि डल्लो परेर भगवान पुकार्न थालेँ, सरेचाहिँ भर्याङमुनि राखिएको चुपी झिकेर बाहिर हतारिँदै बा, बा गरी बातिर झम्टी । सबै लोग्नेमान्छेले छेके तैपनि ऊ झम्टीझम्टी बातिर जान्थी । खै रिसले खुट्टा बजार्दै चोर औँलाले पखपख गरी थुँ थुँ गर्थी । ठूलीआमाले त्यसलाई इसारा गर्दै सम्झाइन् तर त्यो मानिरहेकी थिइन । त्यसलाई अघिपछि पनि यस्तै रिस उठ्थ्यो । आमा यो अभागीलाई धेरै रिस उठ्छ भन्नुहुन्थ्यो र सबैभन्दा बढी माया पनि त्यसैलाई गर्नुहुन्थ्यो । त्यसले गल्ती गरी भने ‘हुन्द्यौ त्यसको बोली छैन, कान सुन्दिनँ दैवले ठग्याmे त्यसलाई केही नभन’ मात्र भन्नुहुन्थ्यो । अरू बेला त्यो मैले भनेको खुब मान्थी तर आज मलाई उसलाई सम्झाउँन मनै लागेन । मैले गर्न नसकेको काम तैले गरिस् भनेझैँ लाग्यो । बाको छोराको चाहनाले आमाको त्यो मरणान्त अवस्था देख्दा म सहन नसकेर उसलाई अँगालो हाली जोडले रून थालेँ। ऊ पनि खुब रोई । शब्दले व्यक्त गर्न नसकेको भाव आँसुबाट पखालियो । आमाको स्वर मलिन हुँदैथियो । हामी दुई दिदीबहिनीको रूवाइले त्यो अन्धकार रातमा सबैका आँखा रसाए । कति जना हामीसँग अँगालोमा बाँधिए ।

लोग्नेमान्छे इष्टचार खोज्ने व्यवस्था गर्नतिर लागे । आमा लखतरान हुनुहुन्थ्यो । बीचबीचमा कराउन बन्द गर्दा काकीले मिस्रीको काँडा खुवाउँथिन् । जति गाह्रो भएपनि आमाले बाको नाम एकपल्ट पनि लिनुभएन बरू आफ्नी मरिसकेकी आमालाई ‘मलाई पनि लैजाऊ तिमीसँग अब म भार खेप्न सक्दिनँ, सक्दिनँनि सक्दिनँ’ भनिरहनुहुन्थ्यो । देवदेवीका भाकल गरेर धेरै गाह्रो भएको हो कि भनेर ठूलीआमाले राता, पहेँला दुवै अक्षता र धूप पनि पन्छाइन् ।

आमा जोडले कराउनुभयो ।सुडिनी आमाले भैगो इष्टचार ल्याउनु पर्दैन जन्मियो जन्मियो भनेर कराइन ।बच्चा त जन्मियो।सबैको कौतुहलता थियो ।बाको स्वर्गको ढोका खोल्ने जन्मियो कि ढोका बन्द गर्ने?जन्मियो भनेको निक्कै बेरसम्म आमाले अहँअहँ पछि बच्चाको आवाज सुनियो च्याहाँ–च्याहाँ…। सुडिनी आमाले बच्चा ओल्टाइन्पल्टाइन् भनिन् ‘अभागिनी फेरि अर्काे दुःख पाउने भइस्, छोरी जन्मी …!’ बाको मुख कस्तो भयो मैले हेर्न पाइनँ, आमाको मुख कालोनीलो भयो । आमालाई छोरोको आसभन्दा पनि छोरो जन्मियो भने फेरि यो मृत्युको मुखमा पुग्नु पर्दैनथ्यो भन्ने मात्रै आस थियो । हत्तपत्त आमाले ओठ कमाउँदै भन्नुभयो– ‘हेरौँ त दिदी खै देखाउनुहोस् । दाहिने कोखमा पो थियो त …!’ सुडिनी आमाले बच्चा आमातिर फर्काइदिइन् । आमाले बच्चाको पहिला लिङ्ग र पछि मुख हेर्नुभयो र मुन्टो उता फर्काउनु भयो अनि आकाशतिर हेरेर ‘थुक्क भगवान मलाई अहिले पनि छोरी दिइस्, अब मलाई पनि लैजा, म अझै दुःख खेप्न सक्दिनँ’ भनेर मुड्कीले छातीमा र भुइँमा हिर्काउँदै अलापविलाप गर्दै रूनुभयो । सम्झाउनेको कमी थिएन त्यहाँ । हामी पनि सँगै रोयौँ । मलाई बहिनी जन्मिएको कुनै दुःख लागेन । आमा बाँच्नुभयो भन्ने खुसी मात्र लागिरह्यो । ‘आठौँ सन्तान जन्माउन साह्रै गार्हाे हुन्छ बा ! बाँचे सुत्केरी मरे काल’ भनेर पल्ला घरकी आमैले आमालाई भनिरहन्थिन् । त्यही शब्द कानमा गुञ्जिरहेको थियो ।आमा त्यसरी रुँदा बाले केही भनेर सान्त्वना दिनुभएन । आमा रुँदारुँदै फुस्रा आँखा पल्टाएर ढल्नुभयो । सबैले कमजोर भएर बेहोस भएकी हो भन्दै सुमसुमाए । बाआमा ढलेपछि टोपीले आँसु पुस्दै भित्र पस्नुभयो । आमा निकैबेरसम्म होसमा आउनुभएन । अस्पताल लैजानुपर्छ भन्न लागे । सबै हतारमा गर्नथाले । इष्टचार ल्याइयो । रगतको आहालमा डुबेकी मेरी आमाको साल अझै खसेको थिएन । मानिसहरू खासखुस गर्न थाले । उज्यालो हुन, हुन लागेको थियो । ठूलाबाको छोरोले वैद्यबालाई बोलाएर ल्याए । वैद्यबाले आमाको नाडी छाम्दै आफ्नो नाडीको घडी हेरे । एक मिनेट नाडी छामिसकेपछि आमाको नाक तल हात लगे र घाँटीमा छामे र टाउकोको टोपी फुकाल्दै भने ‘छैन नाडी, अस्पताल लान पर्दैन गई साइँली राम! राम!बाहिर लैजालो’ भनी कराए । हामी सबै कोकोहोलो गर्दै‘आमा ! आमा !’ भनी रून थाल्यौँ । आज पनि त्यो दिनको सम्झना गर्दा मेरो जिउ सिरिङ्ग गर्छ जिउ फुल्छ । आज कत्ति हिम्मतका साथ यो लेख लेख्दा मेरो आँखाबाट त्यतिबेलाको भन्दा धेरै आँसु झर्दै छन् ।

गाउँघर, वरपर, टोलछिमेक सबै हेर्न आए । आमालाई बाहिर लगे। आमाको देह तुलसीको मठमा पराल ओछ्याएर राखिएको थियो । नजिकै गिद्दले सिनोलाई हेरेजस्तै हामी सबै छोरीहरू आमाको शरीर हेर्दै उमेरअनुसारका फरकफरक चित्कार गर्दैथियौँ ।कसैको आँखा ओभानो थिएनन् । एकै छिनमा आमाको मुख छोपियो । हाम्रो भने सँसार छोपियो । बा घुँडामा टाउको राखी पिँढीमा रुँदै भएपनि बाको नजिकै गएर बा भन्न मनै लागेन ।आमाको हत्याराले नाटक गरी रोइरहेकोजस्तो लाग्यो ।

एकै छिनमा खै केके जम्मा पारे । आँगनभरि मान्छे थिए । हामीलाई हेर्थे ‘नरोओे अभागी हो !’ भन्थे। भर्खरै जन्मिएकी बहिनी भोकले रुँदै थिई । त्यसलाई के थाहा आफ्नो जन्मसँगै आमाको मृत्यु । ठूलीआमाले गाउँकी सुत्केरी भाउजूलाई दूध खुवाउन लगाइन् । अब त्यसको रूवाइ बन्द भयो । मलाई त्यसको कुनै माया लागेन बरू आफू त्यसको ठाउँमा भएको भए यो पीडा त भोग्नु पर्दैनथ्यो भन्नेचाहिँ लागिरह्यो ।

सबैले त्यो बहिनीलाई ‘अलच्छिना, आमा खान जन्मिएकी हेर कस्ती राम्री रहिछे । छोरो भएको भए पनि हुन्थ्यो नि । त्यही छोरी देखेर आमा मुटु फुटेर मरी’ भनेर भीडबाट आवाज आइरहन्थ्यो ।जसले जे भने पनि हाम्रो संसार अन्धकार भएको थियो । हाम्रो घरको बत्ती निभेको, मियो भाँचिएको थियो । आकाश खसेको, धर्ती भाँसिएको थियो । आशा, भरोसा गन्तव्यहीन भएका थिए ।

‘ए छोरी लौ चामल लेले, तामाका पैसा, सुपारी’ केके ठूलाबाले माग्नुहुन्थ्यो म आँसु पुस्दै दिन्थेँ । खै बाँस, डोरी केके तयार पारे र आमालाई बाँसमा बाँधेर हामीलाई फूल, अबिर छर्किन लगाए । बालाई अबिर,फूल छर्कन दुईजनाले समातेर ल्याए । बा मलाई नि लैजा अब, म किन बाँच्नु, यी लालाबालालाई कसरी सम्हालौँ म के गरूँ हे भगवान !आज कस्तो दिन देखाइस्’ भनी छाती पिटिपिटी, पुर्पुरोमा हान्दै हुनुहुन्थ्यो । सम्झाउनेको ठूलै जमात थियो । ठूलाबाका छोराहरूले आमालाई बोके । सबै लोग्नेमान्छे पछिपछि लागे । हामी काकी, ठूलीआमाहरूसँग खुब रोयौँ । हामीलाई नरोऊ भन्न कसैले सकेनन्, बरू सबैसँगै रोए । त्यही दिनदेखि हाम्रो खुसी खोसियो । मनमा डढेलो लाग्यो ।

सरे आफूले आफैँलाई पिट्दै रुँदै थिई । सायद, बोल्न सक्ने भए मजस्तै कराएर हृदयका भाव पोख्थी ।आवाज नभएर आँखाबाट झरेका आँसुले त्यसको छियाछिया भएको छाती पखाल्न धेरै समय लाग्यो ।
दिउँसो १२ बजेतिर खोलाबाट मलामीहरू फर्किए। बा कपाल खौरिएर सेतो कपडा बेरेर आउनुभयो र पिँढीका भित्तामा टुक्रुक्क बसी घुडामाथि टाउको राखेर रुदै हुनुहुन्थ्यो । हाम्रा आँखाका आँसु सकिएर मन रुँदै थियो, बाको त आँसु नै बाकी रहेछन् ।एकैछिनपछि बाले हाम्रा मुखमा पुलुपुलु हेर्नुभयो । आँखा जुधे शब्द निस्केनन् । मौन रहेरै हजारौँ पीडा छताछुल्ल पोखियो ।मलामी खोलाबाट नआउँदै काकीहरूले हामीलाई खल्को हाल्न लगाएका थिए। मलाई जेठी दिदीको सम्झना आयो । उसले भनेका शब्द झलझली सम्झेँ । ठूलीआमाले दिदीलाई खबर पठाएको छ भनिन् । भोलिपल्ट नौ बजेतिर दिदीलाई लिएर भिनाजु आउनुभयो । दिदीलाई आमा बिरामी मात्र भनेर भिनाजुले ल्याउनुभएको रहेछ । पिँढीमा बा किरिया बसेको देखेर उनी रुँदै, कराउँदै घरभित्र पसिन्। आमाले अन्तिम सास छोडेको मूलथाममा समातेर बसिन् र ‘आमा मेरी आमा’ भन्दै बेहोस भइन् ।मैले पानी छर्किएँ । लालाबाला छोडेर गएकी आमा सम्झेर दिदी खुब रोइन् ।अब तिमीहरू मर भनेर हामीलाई देखाउँथिन् ।हामी पनि दिदीसँग बाँधियौँ । पीडा उस्तै, भाव उस्तै, हृदयको घाउ उस्तै चरचर चर्याउने ।एकैछिनमा दिदीले ‘हाम्री आमालाई मार्ने हाम्रो बाउ हो ।त्यसले हामीलाई कहिल्यै आफ्नो सन्तान मानेन्, सधैँ छोरो, छोरो भनिरह्यो,अब खा बडो भाग,मेरी आमालाई खाइस्, अब हामीलाई पनि खा !’ भनी साह्रै कराउँदै रोइन् । ‘हाम्रो पो संसार सकियो त यसलाई के भएको छ र फेरि स्वास्नी ल्याइहाल्छ,बिजोक त हाम्रो पो भयो ।संसार त हाम्रो सकियो, आमा,आमा !’ भनी रोइन् र सँगै सबैलाई रुवाइन ।हामीले जीवनभर भन्न नसक्ने कुरा उनले क्षणभरमा भनिन् ।उनका कुरा नर्कान सकेनौँ । हाम्रा बिलौना हेर्न धेरै आउथे सँगै रुन्थे आमाको गुनगान गाउँथे हामीलाई रुवाउँथे र जान्थे ।

आमा बितेको तेस्रो दिन एक जना गाउँले काकाले नयाँ मान्छे ल्याउनुभयो । खै के कुरा गरे भोलिपल्ट गाविस–अध्यक्ष,प्रहरी र गाउँका जान्नेबुझ्ने आए बाको हस्ताक्षर गरेर भर्खरै जन्मिएकी बहिनीलाई धर्मपुत्री बनाएर त्यो नयाँ मान्छेले लैजान लागेका रहेछन् । ठूलीआमाले राम्ररी पाल्नुहोस् है भनी त्यो नयाँ मान्छेको हातमा राखिदिइन् र भित्र रुँदै छिरिन् ।
तेहौँ दिनको काम सकियो । दिदी एकपल्ट पनि बासँग नबोलीकन घर गइन् । हिजोसम्म आँगन पिँढीमा मान्छेहरू हुन्थे ।आजदेखि हामी मात्र भयौँ । हाम्रो घर–आँगन रित्तो भयो ।संसार उजाड भयो ।हिजोसम्म हामी रुँदा नरोऊभन्ने धेरै भए पनि आजदेखि मन खोलेर जति रोए पनि नरो भन्ने कोही भएनन् ।

यो सबै भएको पनि दिव्य तीन दशक भइसक्यो तैपनि आमा सम्झिँदा झसङ्ग, झसङ्ग झस्किन्छु । खुलेर आमाको कुरा कसैसँग गर्न सक्दिनँ ।आमाको स्वर्गवास प्रसवपीडाबाट भयो कि हृदयघातबाट मैले अझसम्म कहिल्यै कसैलाई सोध्न सकिनँ ।अझै पनि कोही गर्भिणी महिला देख्यो कि मृत्युशय्यामा सुतेकोझैँ मान्छु। यही डरबाट भाग्दाभाग्दै बाले धेरै कर गर्दा पनि मैले बिहे गरिनँ ।बालाई पनि अर्काे बिहे गर केटी खोजिदिन्छु भने तर बाले पनि मन गर्नु भएन। सरेको सिन्धुपाल्चोकमा विवाह भयो । अहिले ऊ तीन नसन्तानकी आमा भएर गृहस्थी जीवन बिताइरहेकी छे। मभन्दा सानी बहिनी दुई सन्तानकी आमा भएर आफ्नो परिवारसँग नुवाकोटमा बस्छे । कान्छी बहिनीको पोहोर साल विवाह गरियो ।यसै वर्ष आमा बन्दै छे ।मलाई डर लागिरहेछ ।ऊ अस्पताल र प्रविधिको कुरा गर्छे तैपनि अगुल्टाले हानेकी म बिजुली चम्कँदा तर्सिन्छु ।

म ८२ वर्षीय बासँगै बस्छु । बाले अहिले मलाई आफ्नो छोरो मान्नुहुन्छ ।छोराको चाहनाले धेरै सन्तान जन्माउँदा आमा गुमाएको पीडा पोख्नुहुन्छ ।बा निरोगी देख्दा आमाले पनि त्यो अकालमा ज्यान गुमाउन नपरेको भए मेरा साथमा बा–आमा दुवै हुनुहुन्थ्योजस्तो लागिरहन्छ । यस जन्ममा आमाको दूधको भारा तिर्न सकिनँ । आमाको काखमा मनको धूलो टकटकाउन सकिनँ । मेरी आमाको अमृत रूपी वचन स्वर्गीय झङ्कार कानमा गुञ्जायमान हुँदा म भगवान् सँग यत्ति माग्छु– आमाविना कसैको घर नहोस्– हाम्रो जस्तो रित्तो,अन्धकार…।
………………………………………..
(पुडासैनी विगत एक दशकदेखि गद्य र पद्य दुवै विधामा कलम चलाउँदै आएकी स्रष्टा हुन् ।)
laxmipudsaini984@gmail.com