विभेदना - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

विभेदना

उषा शेरचन

उषा शेरचन

उसले राष्ट्रियरूपमै आफ्नो प्रतिष्ठा आर्जन गरेपछि एकदिन सञ्चार–माध्यममार्फत् सगर्व घोषणा गर्यो

‘विवाहपूर्व कुमारचाहिँ थिइनँ है म ! यो भरिसभामा उद्घोष गर्न कुनै सङ्कोच छैन मलाई कि मेरो पहिलो शारिरिक सम्बन्ध कुनै एउटी सर्वाधिक सुन्दरी यौनकर्मीसँग भएको थियो भनेर । त्यसपछि त जीवनमा कति जनासँग के–के गरियो, गरियो !’

उसले यसरी सगर्व बयान गरिरहँदा–गललल्ल..गललल्ल हाँसोले हलै थर्कियोे । कोही रातोपीरो हुँदै नजर झुकाए । कोही जिब्रो काढेर बसे । कोहीकोही आफू पनि उही ड्याङकै मुला न हो भन्दै मनमनै गर्व र ग्लानि एकैपटक अनुभूत गर्दै चुपचाप साधु–बिरालो भएर बसे । कोही उत्तेजित हुँदै बलेको आगोमा घिउ थपे । कोहीकोही अरूले थपेको घिउमा आफैँ घिउ भएर पग्लिरहे । मान्छेपिच्छेका रूप बेग्लाबेग्लै भएझैँ अनुभूति पनि बेग्लाबेग्लै गरे ।

कसैले भने– ‘वाह कति बोल्ड ? आफ्नो जीवनजस्तै खुला र उन्मुक्त विचार ।’

उसको कुरा भुइँमा झर्न नपाउँदै अर्को उपबुज््रुकले भन्यो– ‘हो त नि हगि कस्तो खुला किताबजस्तो मान्छे ?’
अर्काेले थप्यो– ‘ह.ह..ह .! यो हो नि त एक्काइसौँ शताब्दीको अत्याधुनिक मान्छेको विचार ।’ आजको मान्छे यत्तिको खुला त हुनैपर्छ ।
आदिआदि…!!

भोलिपल्ट भगेरोकोे टाउकोजस्तो अक्षरमा उसको खुला विचारको तारिफका पुल बाँघेर लेखिएका सबै पत्र–पत्रिकाहरूमा उसकी श्रीमतीको पनि नजर पर्यो । आफ्नो श्रीमानको खुला विचारका बारेमा खुलेर प्रशंसा गरेको पढेर श्रीमती रिसाइनन् । बरु उल्टै श्रीमानको तारिफमा उनले पनि धेरै शब्दहरू खर्च गरिन् ।

श्रीमती रिसाउनुको साटो उल्टै तारिफ गरेको सुनेर भित्रभित्रै मख्ख पर्दै श्रीमानले भन्न थाल्यो– ‘आफू त खुला किताबजस्तो मान्छे । खुला भएरै बाँचियो, हाँसियो, नाचियो र मोजमज्जा गरियो । हेर बूढी ! मरेर लानु केही छैन । दुई दिनको जीवन मस्तले बाँच्न जान्नुपर्छ । तिमीलाई बिहे गर्नुअघि नै कतिलाई भ्याइयो, भ्याइयो ? केलाई र, कसलाई ढाँट्नु पर्यो र यस्ता कुराहरू ! यसै पनि नाम र दाम दुवै कमाएकै छु । समाजमा प्रतिष्ठा पनि जमाएकै छु । मलाई त सङ्कुचित विचारधाराका मान्छेहरू पटक्कै मन पर्दैन । उहाँ भने एक्काइसौँ शताब्दीमा छौँ भनेर धाकधक्कु लाउँछन् मान्छेहरू । तर सोच र विचारमा भने उन्नाइसौँ शताब्दीका जस्ता । आफू त खुलेरै बोलिन्छ र बोलियो पनि । पत्र–पत्रिकाहरूले पनि खुलेरै लेखेछन् ।’

डाइनिङ् टेबलमा बे्रकफास्टका लागि चिया र खानेकुरा राख्दै श्रीमती पनि टेबलको पल्लो कुर्सी तानेर बस्दै भन्न थालिन्– ‘चिया चिसो भइसक्यो ? कति त्यही पत्रिका मात्रै मख्ख पर्दै पढिराख्नु भएको भन्या ?’

श्रीमतीको कुराको जवाफ दिनुको साटो आफैँ मख्ख पर्दै भनिरह्यो– ‘मलाई त दोहोरो मानसिकता बोकेर हिँड्ने मान्छेहरू पटक्कै मन पर्दैन । आफू त एक्काइसौँ शताब्दीको आधुनिक मान्छे । विचार पनि आधुनिकै छ हेर बूढी ! आफू त बाहिर जे, भित्र पनि त्यही । केलाई लुकाउनु व्यर्थैमा होइन त ? खुलेरै बकिदिएँ सबैसबै !’

उनको श्रीमानले त्यसो भनिरहँदा उसकी श्रीमती रिसाउनुको साटो झन्–झन् खुसी देखिन्थी । आफ्नो श्रीमान्भन्दा पनि सायद धेरै खुसी । श्रीमती पनि उत्साहित हुँदै श्रीमान्को अनुहार हेरेर भन्न थाली– ‘तपाईसँग बिहे भएदेखि नै मेरो मनभित्र एउटा पीडाको गरुङ्गो पोकोलाई गाँठो पारेर राखेकी थिएँ । कतिपटक फुकाउने प्रयत्न गरेँ तर हिम्मतै गर्न सकिनँ । हुन त त्योे गाँठो खोल्नका निम्ति आजभन्दा राम्रो दिन अरू कुनै हुनै सक्दैनथ्यो होला !’

‘निर्धक्क भएर फुकाऊ श्रीमतीजी तिम्रो त्यो पीडाको गाँठोलाई ।’ हर्षित मुद्रामा भन्यो श्रीमतीलाई ।

‘म पनि त कुमारी कहाँ थिएँ र तपाईंसँग बिहे गर्दा !’

यत्ति कुरा सुन्न नपाउँदै अघिदेखि झलमल्ल घाम लागेको श्रीमानको अनुहारमा एकाएक कालो बादल मडारिएझैँ देखियो । अनि झस्कँदै कुरा नबुझेझैँ गरी फेरि सोध्यो— ‘के रे ? के रे ?’

‘के नि अब ! म पनि त कुमारी थिइनँ भनेको नि ? तर तपाई कुमार नहुनु र म कुमारी नहुनुका कारण भने ठीक उल्टो छ । तपाईं आफ्नै स्वेच्छाले कुमार रहनु भएन । म भने तपाईंजस्तै लोग्नेमान्छेको जबरजस्ती करणीमा परेका कारणले गर्दा कुमारी रहन पाइनँ ।’
यत्ति सुन्नु के थियो ? श्रीमानको अघिदेखिको फूर्ति त कता हरायो, कता !

श्रीमानको चुकघोप्टेजस्तो अँध्यारो अनुहार देखेपछि श्रीमतीले– ‘किन के भयो र ? अघि त घाम लागेको थियो अनुहारमा, एकाएक किन अस्तायो ? त्यो फूर्ति र गर्व कता हरायो ? एक्काइसौँ शताब्दीको आधुनिक मान्छेको आधुनिक विचारलाई के भयो भयो ? लौ भन्नुहोस् त श्रीमानजी ! म बलात्कृत हुनुमा मेरो गल्ती कहाँनेर छ ? नगरेको गल्तीको पीडा मनभरि बोकेर कतिञ्जेल बाँचूँ म ?

‘तपाईले चाहिँ आफ्ना अन्तरङ्ग कुरा ढोल पिटेरै त्यत्रो सञ्चार–माध्यमबाट फुक्न हुने ? अनि त्यसलाई मैले खुसी साथ स्वीकारिदिनुपर्ने । अनि मेरो जीवनमा घटेको एक पीडादायी क्षणचाहिँ तपाईंलाई खरो पर्ने ? ओहो यति गाह्रो तपाईंलाई ? तपाईं र ममा फरक के त ल भन्नुहोस् ?’

श्रीमान रिसले रातोपीरो हुँदै जुरुक्क उठ्दै भन्यो– ‘पुरुष प्रधान समाजमा लोग्नेमान्छे र स्वास्नीमान्छेको कुरामा पनि कहीँ एउटै हुन्छ ? फरक के छ रे अझ ! म भनेको लोग्नेमान्छे, तँ भनेको स्वास्नीमान्छे फरक त्यही छ नि, बुझिस् !’

…………………………………………..
(शेरचन स्थापित कवि एवं कथाकार हुन् ।)
ushadb55@gmail.com