अनुभूतिको तरङ्गमा ! - Aksharang
  • २०७७ माघ ४ आइतबार

अनुभूतिको तरङ्गमा !

विष्णुविभु घिमिरे

विष्णुविभु घिमिरे

चराहरू उडिरहेछन्, नदी वगिरहेछ, बादलहरू विभिन्न आकृतिमा विभाजित भइरहेछन् । आँखाको सिमानाभन्दा विशाल मैदानहरू छन्, त्यहीँ नजिकैबाट उठेका क्रमशः पहाडहरू छन् । अझ पहाडलाई पनि उछिनेर उठेका सेता स्निग्ध ध्यानमग्न महर्षि बसेझैँ हिमालहरू छन् । सम्पन्नता र सृष्टि सौन्दर्यलाई उद्बोध गर्दै लहलह बालाहरू झुलिरहेछन् । अँध्यारो फाट्ने वेलाको झिसमिसे बिहान, एकै साथ बजेका मन्दिरका घन्टहरूको समवेत ध्वनि । ठीक आमाको काखमा चलबल गरिरहेको, बामे सर्ने प्रयासमा छटपटाइरहेको बालकजस्तो । यस्तो अनुभूति हुन्छ–प्रत्येक बिहान झिसमिसे एउटा बालकजस्तो घामको स्पर्शमा ऊ तङ्गिँदै जान्छ । दिन एउटा किशोर, एउटा जवानबाट क्रमशः वृद्ध हुन्छ । रात यसरी नै सघन अन्धकारको व्याप्तिबाट क्रमशः खुम्चँदै उज्यालोमा टेक्न आइपुग्छ ।

दिउँसोको स्निग्ध, स्वच्छ सफा आकाश होस् अथवा पानी बोकिरहेको अजस्र बादलको घुम्टोभित्र लुकेको आकाश होस् अथवा रातमा आफ्नोवरिपरि तारा जडेर, चन्द्रमाको दुधिलो उज्यालोमा आफूलाई शोभायमान बनाउने आकाश होस्– ती सबै कति आनन्ददायक छन् । सृष्टिको रहस्य र सम्पूर्ण सौन्दर्यलाई चारैतिरबाट समेटेर– मानिसलाई कति कल्पनाका तरङ्ग र भावनाका फूलहरू वर्षाइरहेछन् । जता हे¥यो हेरिरहूँ लाग्ने, भावुकताको मातले छोएर संवेदनाको तरलतासम्म पुग्ने यस्ता क्षणहरू, यस्ता सौन्दर्यझङ्कृत प्रकृतिका उपहारहरू लाग्छ– त्यसैत्यसै अनुभूतिहीन मनहरूबाट नष्ट भइरहेछ । ऋतुऋतुमा हुने परिवर्तन र त्यस परिवर्तनबाट परिवर्तित मानवअनुभूति– शिशिरको पतझड, वसन्तको लहलह पालुवा, वर्षाको झमझम, शरदको स्निग्धता, स्वच्छता– हामीले कविशिरोमणिको ‘ऋतु–विचार’ र कवि मोहन कोइरालाको ‘ऋतु–निमन्त्रणा’ मात्र पनि रसस्वादन ग¥यौँ भने नवीन अनुभूतिको आलोक खुल्छ ।

जीवनको स्वाद प्रकृतिसँग सम्बद्ध छ । बाँच्नुको सार्थकता जीवनको स्वादमा आधारित छ । आज यन्त्रिकताको बढ्दो नियन्त्रीकरणभित्र मानिस घडीको दास हुँदै गइरहेछ । घडीको सुईसँगै नियमपूर्वक घुम्नुपर्ने आजको मान्छेको नियतिले ऊ क्रमशः मान्छेबाट रोबटमा अवतरण भइरहेछ । भावना, कल्पना र संवेदनहीन अवस्थामा बाँचेको मानिसलाई के भन्ने ? यो आफ्नो स्वतन्त्र मनविनाको मानिस र रोबटमा कति फरक होला ?

संसार सुन्दर छ, प्रकृतिको सृष्टि रहस्यमयी चमत्कारले भरिएको छ । सौन्दर्य र रहस्यको अनुपम इन्द्रेणी– यो विश्व–प्रकृति, नूतन सनातन– अजर र अमर छ । यही इन्दे्रणी हो– कविता, निरन्तर सिर्जना भइरहेछ । यही इन्द्रेणी हो सङगीत, निरन्तर बजिरहेछ र इन्दे्रणी हो सम्पूर्ण कला, जुन निरन्तर रचना भइरहेछ । यो सिर्जना भन्नु– कल्पनाका इन्द्रेणी, यो भावनाको इन्द्रेणीे र या संवेदनाको इन्द्रेणी ।

जगत् र जीवनको सृष्टिदेखि यो इन्द्रेणी उही छ, उस्तै छ । त्यत्तिकै सुन्दर र त्यत्तिकै रहस्यमयी छ । यो अनन्त इन्द्रेणी रहेसम्म कविता लेखिइरहन्छ, सङगीत बजिरहन्छ र सम्पूर्ण कलाहरू रचना भइरहन्छन् । कविताको आनन्द लिन पनि आफूसँग केही कविता त हुनैपर्छ । सङ्गीतको धुन सुनेर मगनमुग्ध हुन पनि आफूभित्र केही तरङ्ग त हुनैपर्छ । सात समुद्रपारिबाट आएका ती पर्यटकहरू कृष्णलाई चिन्दैनन्, तर पाटनको कृष्णमन्दिर देख्नेबित्तिकै सौन्दर्यले अभिभूत भई सम्झनाका लागि पचासौँ तस्बिर उतार्छन् । तर त्यही मन्दिरको पेटीमा बसेका हामीचाहिँ सायद, त्यत्ति सुन्दर देख्तैनौँ, किनभने सौन्दर्य पिउन पनि आफूभित्र सौन्दर्य हुनुपर्छ । यन्त्रणाबाट नियन्त्रित आजको मानिस– आफैँसँग निसास्सिएको छ । यत्रो विशाल धर्तीमा आउने अवसर पाएको मानिस यो विशाल धर्तीको विचित्रता र अनन्तता हेर्न त परै जाओस्, अब आफ्नै घर–आँगनमा फुल्ने गुलाफ र सयपत्रीको सौन्दर्यलाई पनि ऊ आफूमा आत्मसात् गर्ने संवेदना हराउँदै बाँचेको छ ।

०००
चराहरू उडिरहेछन्, नदी बगिरहेछ, फूलहरू फुलिरहेछन्… लहलह बाली झुलिरहेछन्… क्रमशः बिहान बालक बामे सर्दैछ, रात क्रमशः उज्यालोमा टुङ्गिदैछ… भावुकताको मातले छोएर संवेदनाको तरलतामा पु-याउने यस्ता क्षणहरू, अहा ! प्रकृतिका यी विहङ्गम रूप र अनुभूतिहरू !!

०००
–हामीलाई राजनीतिमा बाँडिदै फुर्सद छैन,
–हामीलाई साम्प्रदायिकतामा विभाजित हुँदै फुर्सद छैन,
–हामीलाई आफ्नोक् स्वार्थ, महत्वाकाङ्क्षा र भौतिक लिप्सामै निरन्तर टाँसिदै फुर्सद छैन ।

०००
भोक लाग्दैन– भोजनमा स्वाद छैन,
तिर्खा लाग्दैन– पानीमा धित छैन,
निन्द्रा लाग्दैन– मीठो सपना छैन
जीवन छ,
भन्छन् सबै बाँचेकै छ,
कल्पनाहीन, भावनाहीन– रोबट बाँचेकै छ ।