मलाई भोक, अभाव र पीडाको गहिरो अनुभूति छ - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

मलाई भोक, अभाव र पीडाको गहिरो अनुभूति छ

माया ठकुरी

वरिष्ठ कथाकार एवम् प्राज्ञ माया ठकुरीका सात कथा, एक अङ्ग्रेजीमा अनुभूति कथा र एक गीतसङ्ग्रह गरी हालसम्म नौवटा कृति प्रकाशित छन् । ठकुरीको जीवन, भोगाइ र सिर्जनामाथि केन्द्रित रही ‘अक्षरङ्ग’ का लागि रमण घिमिरेले लिएको अन्तरवार्ता :

तपाईंको बाल्यकाल धेरै कष्टसाध्य थियो भनेर तपाईंले कतै उल्लेख गर्नुभएको पढेको थिएँ । त्यो कस्तो कष्टसाध्य अवस्था थियो ?
हो, मेरो बाल्यकाल अत्यन्त कष्टका साथ बितेको हो । अभाव, दरिद्र्रता र पीडामा बिताउनु परेको थियो मैले मेरो बाल्यकाल । मीठो–मसिनो खानका लागि चाड–पर्व कुर्नु पथ्र्यो । अरूले दिएका जाड्यौरी लाएर, उनीहरूले दिएका वासी खानेकुरा खाएर बिताएकी थिएँ मैले आफ्नो बाल्यकाल । त्यसैले भोक, अभाव र पीडाको गहिरो अनुभूति छ मसँग ।

बुबा जीवित हुँदाहुँदै पनि तपाईं र तपाईंकी आमाले किन यति कष्ट व्यहोर्नु प-यो ?
मेरो बुबा पाल्पाको अर्घेलीमा जन्मिनुभएको हो र मुमा रुकुमकोटमा । मेरो बुबाले मेरी मुमालाई बिहे गर्दा बुबाको उमेर ३१–३२ वर्ष र मुमाको उमेर नौ वर्षको थियो अरे । भारतको लखनउमा मेरो जन्म भएको हो । बुबा त्यस बेला भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो । मेरो जन्मपछि बुबाको पोस्टिङ् भारतको सिलाङ भन्ने ठाउँमा भयो । त्यहाँ हामी सरकारी आवासमा बस्थ्यौँ । म सात वर्षकी हुँदा बुबाले जागिरबाट अवकाश पाउनुभयो ।
त्यसपछि हामीहरूलाई एउटा डेरामा सारेर उहाँ बेपत्ता हुनुभयो । पछि थाहा भयो, उहाँले अवकाशपछि प्राप्त भएको सारा रकम लिएर सिलाङदेखि टाढाको एउटा गाउँमा गएर खेतीपाती र पशुपालन गरेर बस्न थाल्नुभएछ ।

उहाँ त्यहाँ एक्लै जानुभयो कि कुनै अर्की महिला पनि थिइन् ?
उहाँकी एउटी महिला र बच्चा पनि रहेछन् ।
त्यसपछि नै हाम्रो दुःखको जीवन सुरु भएकोे हो । मेरी मुमा अन्त्यन्त सोझी । भगवानप्रति अगाध आस्था राख्ने । पूजा, व्रत, तीर्थ गर्न रमाउने अनि जति नै दुःख–कष्ट सहनु परे पनि पतिलाई परमेश्वर ठान्ने । त्यसैले मेरी मुमाले मलाई पनि सानैदेखि पूजा गर्न, व्रत बस्न लगाउनु हुन्थ्यो । उहाँ बिहान–बेलुका माटाको पालामा बत्ती बालेर घन्टी बजाउँदै ईश्वरको प्रार्थना गर्नुहुन्थ्यो ।

त्यो कस्तो अवस्था थियो ?
मैले बाल्यकालदेखि नै रोग, भोक र शोकको सामना गरेकी छु ।
भोकले आन्द्रा बटारिँदाको अनुभव, अरूले दया गरेर दिएको जड्यौरी लुगा लगाएर बस्नुपर्दाको पीडा, स–साना कुरामा पनि अरूले दत्कारेर, हेपेर रुनुपर्ने अवस्थामा पु-याएका ती हरेक क्षणहरूले मलाई अनन्त दुःखी र भावुक तुल्यााउँथे ।

यस प्रतिकूलतामा आमाले कसरी तपाईंको लालनपालन गर्नुभयो ?
बुबाले हामीलाई बेसहारा छोडेर गएपछि मुमाले घरबाट खाजा बनाएर त्यहाँको एउटा हाइस्कुलमा लगेर बेच्न थाल्नुभयो । साथसाथै, ज्यालामा स्वेटर बुन्दै पनि केही रकम आम्दानी गरेर हाम्रो पालपोषण गर्नुभयो ।

छरछिमेकीहरूले तपाईंलाई लाञ्छना पनि लगाउँथे रे ! अहिले त्यस वेलाको अवस्थालाई कसरी अनुभूति गर्नुहुन्छ ?
मेरी मुमाले जति नै दुःख र कष्ट पाए पनि सहनुभयो । रात–दिन आँसु बगाएर उहाँले आफ्नो जीवन बिताउनुभयो । तर म भने अलि विद्रोही स्वभावकी थिएँ । अरूले मलाई अनहकमा लान्छना लगाउँदा, घृणा गर्दा, हेप्दा र कटु वचन बोल्दा म शब्दले भने पनि तिनको प्रतिकार गर्र्थें । त्यसैले छरछिमेकाहरूले मलाई मुखाले, घमण्डी भनेर लान्छना लगाउँथे ।
म त्यति सानो बेलामा पनि अन्याय सहन सक्तिनथेँ तर गरिब र निरुपाय भएका कारण मेरो आवाज त्यसै दबिन्थ्यो ।

“अरूले दया गरेर दिएको जड्यौरी लुगा लगाएर बस्नुपर्दाको पीडाले दुःखी र भावुक तुल्यााउँथे “

विद्यालय नै नगई तपाईं यति उच्च्कोटिको सर्जक कसरी हुनुभयो ? तपाईंलाई के र कसले साथ–सहयोग र प्रेरणा दियो ?
हो, मैले विद्यालय गएर अध्ययन गर्ने अवसर नै पाइनँ । विद्यालयमा पढ्ने क्रममा शिक्षक र विद्यार्थीहरूको सम्बन्ध कस्तो हुन्छ ? आफ्ना सहपाठीहरूसँगको सहकार्य र सङ्गतको अनुभव कस्तो हुन्छ र शिक्षा आर्जन गर्दाका समयावधिमा कक्षा उत्तीर्ण या अनुत्तीर्ण गर्दाका अनभूति कस्ता हुन्छन् र विद्यालयका कार्यक्रमहरूमा के–कस्ता रोमाञ्चक क्रियाकलाप हुन्छन् भन्ने यी यावत् अनुभवहरूबारे म पूर्णतः अनभिज्ञ छु ।

तर हाइस्कुलको पढाइ त पूरा गर्नुभयो नि, कसरी ?
पछि मलाई एक जना दयालु शिक्षकले दुई–साढे दुई वर्षजति निःशुल्क शिक्षा प्रदान गर्नुभयो र मैले प्राइभेट परीक्षा दिएर एसएलसी उत्तीर्ण गरेँ । हुन त मैले ती अवधिभरि सरका घरायसी काममा पनि त्यत्तिकै सघाएकी थिएँ तर पनि त्यसलाई मैले महत्वपूर्णरूपमा लिएकी छैन । मैले उहाँले मलाई निःशुल्क विद्यादान गर्नुुभएको नै ठानेकी छु ।

तपाईंमा लेख्नुपर्छ भन्ने भावना कसरी पलायो ? तपाईंलाई आजकी माया ठकुरी केले बनायो ?
मैले पहिलो प्रेरणा त मेरी जन्मदात्री मुमाबाटै पाएकी हुँ । कारण, उहाँ प्रायःजसो साँझ हामीलाई धार्मिक कथाहरू सुनाउनुहुन्थ्यो । सीता, सावित्री, राधा आदि उहाँका आदर्श र प्रिय पात्राहरू थिए । अनि मैले मेरी मुमा र हजुरमुमा– जो हामी सिलाङ छँदा दुईपटक रुकुमबाट आउनुभएको थियो, उहाँबाट पनि हामीले धेरै लोककथा र तीजका गीतहरू सुन्ने अवसर पाएका थियौँ । यी सबै कुराले नै मलाई लेखनको मार्गतिर डो-याएका हुन् । त्यसपछि मेरो साहित्यिक यात्रामा मलाई कृष्णप्रसाद ज्ञवाली, डीआर सुब्बा मामा, गोपीकृष्ण प्रधान, के. गुरुङ दाजु, पद्मा सुनुवार दिदीहरूले पनि धेरै नै प्रोत्साहित गर्नुभएको हो । सायद यिनै व्यक्ति र परिस्थितिले मलाई यो माया ठकुरी बन्न सहयोग गरे ।

तीजका गीत गाएको कुरा गर्नुभयो । त्यस भेगका धेरै नेपालीहरू गायनमा पनि सक्रिय देखिन्छन् । तपाईंले यो रहर पूरा गर्नुभयो कि गर्नुभएन ?
किन नगर्नु ! म सानैदेखि लेघ्रो तानेर गाउन रुचाउँथेँ र जति बेला पनि गाइरहन्थेँ । पछि मैले अल इन्डिया रेडियो, गुवाहाटीको नेपाली कार्यक्रममा गीतहरू रेकर्ड गर्ने नै अवसर पनि पाएँ । यसका लागि म प्रसिद्ध साहित्यकार दाजु लीलबहादुर क्षत्रीलाई धन्यवाद दिन्छु । उहाँलाई मैले तिहारमा टीका पनि लगाइदिन्थेँ ।
पछि मैले रेडियो नेपालमा पनि गीत रेकर्ड गर्ने अवसर पाएकी थिएँ । मेरा थुप्रै गीत र कविताहरू अल इन्डिया रेडियो र रेडियो नेपालबाट प्रसारित भएका छन् । म रेडियो नेपालको ‘क’ श्रेणीकी गायिका पनि हुँ ।

फेरि प्रसङ्ग साहित्यिक यात्रातिर मोडौँ । विद्यालय नै नगई सिर्जनाको यो उचाइमा पुग्दा तपाईंलाई कस्तो अनुभव हुन्छ ?
आज मेरा कृतिहरू देश र विदेशका विश्वविद्यालयहरूमा पठनपाठन हुन्छन् । आफैँले पनि केही समय शिक्षण पेसामा बिताएँ । यो सम्झिँदा निश्चय नै मलाई अपार खुसी हुन्छ । एउटा सङ्घर्षपूर्ण बाटोमा हिँडेर यहाँसम्म आइपुग्नु निश्चय नै मेरा लागि कठिन यात्रा थियो, जुन मैले पूरा गरेँ भन्ठान्छु ।

अनि फेरि विद्यालय नै नगई सिर्जनामा लागेर आज प्रज्ञा–प्रतिष्ठानजस्तो प्रतिष्ठित निकायको प्राज्ञसम्मको यात्रा निर्धारण गर्दाको प्रसङ्ग नि !
यसअघि पनि म प्रज्ञासभा–सदस्यमा मनोनित भएकी थिएँ । त्यस वेला मैले आख्यान र अनुवाद विभागमा सम्पादन–मण्डलको अनुभव हासिल गर्ने सुअवसर पनि प्राप्त गरेकी हुँ । यसरी हिँड्दाहिँड्दै अनुभवहरू बटुल्दै यात्रा गर्ने क्रममा आज जीवनको यस उत्तरार्धमा म प्रज्ञापरिषद्–सदस्य भएर आफ्नो जिम्मेवारी वहन गरिरहेकी छु । चुनौती धेरै छन् तर म जीवनमा आफ्नो कत्र्तव्यबाट हार खाएर, रोएर बस्ने स्वभावको नभएकी हुनाले आफ्नो जिम्मेवारी पूर्ण सफलतापूर्वक सम्पन्न गर्नेछु भन्ने विश्वास लिएकी छु ।