फरक– १८ - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

फरक– १८

सानु शर्मा

सानु शर्मा

 

‘प्रत्यूष !’ फुपूले मानौँ मेरो अन्तरमन पढ्नुभयो । उहाँले चेतावनीपूर्ण स्वरमा भन्नुभयो– ‘कुनै मूर्खता नगरेस् । तँ चलमलाइस् मात्रै भने पनि म गोली चलाइदिन्छु । तँलाई त्यस कुर्सीमा बसाउनुको मतलब यही हो– म यहाँबाट तँलाई प्रस्ट देख्नसकूँ र तँभन्दा त्यति नै पर रहूँ, जहाँबाट म सजिलै निसाना ताक्न सकूँँ !’
मैले आफ्नो सुक्दैगएको ओठ–मुख थुकले भिजाउने प्रयत्न गरेँ । अहँ, म उहाँको धम्कीलाई हलुका मान्ने मूर्खता गर्न सक्दिनँ ।
मेरो अनुहार पढिरहनुभएकी फुपूले भन्नुभयो– ‘गुड ! अब मलाई तेरो प्रश्नको उत्तर दिन दे !’ उहाँले मेरो लाचारीको मजा लिएझैँ गरी भन्नुभयो– ‘अँ…म भन्दैथिएँ… त्यस दिन धनबहादुर मलाई छोडेर घिउ खोज्न निस्किएको निक्कै बेरपछि म पनि पूजाको बीचमा दूबो खोजेर ल्याउने बहाना गरेर त्यहाँबाट निस्किएँ अनि ट्याक्सी लिएर बालुवाटार पुगेँ । घरको साँचो मसँग छँदैथियो । मलाई त्यति वेला घरमा तँबाहेक अरू कोही हुने छैनन् भन्ने कुरा थाहा थियो । तैपनि म सतर्कतापूर्वक माथि उक्लिएँ । चालमारेर तेरो कोठामा पसेँ । तँ नाकबाट चर्को स्वर निकाल्दै, दोलाईं ओढेर भित्तातिर कोल्टे फर्केर मस्त निदाइरहेको थिइस् । तेरो ह्विलचेयर बेड साइडमा यथावत् थियो । मैले बिहान आफैँले घिउ पोख्न लगाएको ठाउँमा सलाई कोरेर सल्काइदिएँ । कार्पेट राम्ररी सल्कन सुरु गरेपछि म बाहिर निस्किएँ । अनि बाहिरबाट ढोकाको चुकुल बन्द गरिदिएँ ।’ उहाँले केही बेर अडिएर मेरो आतङ्कले नीलो हुँदैगएको अनुहारमा हेरेर भन्नुभयो– ‘हेर त मैले कति राम्रो घिउको, आगोको व्यवस्था गरिदिएको थिएँ तेरा लागि, तर तेरो दुर्भाग्य…! तँलाई यसरी नै मर्नु लेखेको रहेछ…।’ उहाँ गोली चलाउन तत्पर हुनुभयो तर फेरि केही याद गर्दै भन्नुभयो– ‘साँच्चि नै पुर्पुरो बलियै लिएर आएको रैछस् तैँले, नत्र मलाई त्यही बेला त्यहाँ सुतिरहेको व्यक्ति तँ थिइनस् भन्ने कुरा थाहा हुनुपर्ने । किनभने मेरो सोचाइमा तँलाई ओल्टेकोल्टे फर्काउने नर्स त्यो दिन छुट्टीमा थिई । अर्को कुरा, मलाई तेरो नयाँ ह्विलचेयरको बारेमा पनि थाहा थिएन । तेरो बेडको छेउमा फोल्ड गरेर राखेको ह्विलचेयरले तँ ओछ्यानमा भएको पुष्टि गथ्र्यो ।’
‘मेरो पुर्पुरोले होइन, मेरी नर्सले गर्दा बाँचेँ म त्यस दिन । तर चिन्ता नगर्नूस् फुपू, तपाईंले बन्दोबस्त गरेको घिउ खेर गएन । त्यो कमसेकम कसैको काममा त लाग्यो ।’ मैले आँखा बन्द गर्दै बिस्तारै भनेँ ।
‘क.. कसका लागि ?’ उहाँले उत्सुक स्वरमा सोध्नुभयो ।
‘सुदर्शनका लागि ! तपाईंले बन्दोबस्त गर्नुभएको घिउ उसको मुखाग्निमा त काम आएन तर कमसेकम जलेर खरानी बन्न सहयोगी त बन्यो ।’
‘प्रऽऽत्यूषऽऽऽ !’ फुपूले चीत्कार गर्नुभयो ।
‘फुपू ! तपाईंले मेरा लागि तयार गरेको चितामा आफ्नै छोरालाई जलाइ दिनुभयो, के यो पनि तपाईंको प्रतिशोध हो ? या प्रकृतिको प्रतिशोध ?’
‘झुट ! झुट..!’ फुपूले दाह्रा किट्दै भन्नुभयो– ‘तँ मर्दामर्दै पनि मलाई…!’
‘के आवश्यकता छ मलाई झुटो बोल्ने ? यदि मलाई यसरी नै मर्नुछ भने यसै सही । तर तपाईंको डरले म सत्य लुकाउन सक्दिनँ । फुपू, तपाईं जतिसुकै आफूलाई भिक्टिम र अरूलाई दोषी ठहर्याउनूस्, त्यसले तपाईंले गरेको जघन्य अपराधलाई जस्टिफाई गर्न सक्दैन ।’
‘प्रत्यूष…!’
‘साँच्चै भन्ने हो भने त तपाईंले कहिल्यै कसैलाई माया नै गर्नुभएन । त्यसैले तपाईंलाई थाहै छैन माया के हो ? हजुरबुबाले तपाईंलाई रोज्ने मौका त दिनुभएकैथ्यो नि ? तर तपाईंले नै तपाईंको ‘मदन सर’ लाई नरोजेर हजुरबुबाको नाम, पैसा र सम्पत्ति रोज्नुभयो !’
‘झुट…!’ फुपू चिच्याउनुभयो– ‘झुट…!’
‘नत्र किन तपाईं हजुरबुबाको सर्तअनुसार एकसरो लुगामा घरबाट निस्कनुभएन, किन फुपू ? मायामा त्यो सब कदापि गरिन्न, जुन तपाईंले गर्नुभयो । खासमा त तपाईंलाई थाहै छैन मायाको अर्थ । नत्र तपाईंलाई थाहा हुनुपर्ने, मायामा ज्यान लिने होइन, दिने गरिन्छ । जसरी मदन सरले दिनुभयो । जसरी सुदर्शनले दियो । तपाईंले त लिन अनि आहरिस गर्न मात्रै जान्नुभयो । नत्र आफ्नो जन्मदाता र यौटै गर्भ सेयर गरेर सँगै जन्मेको भाइलाई कसले मार्न सक्छ ? आफूलाई माया गर्ने, मान गर्नेहरूको त अहित पनि सोच्न सकिन्न भने, तपाईंले कसरी यतिका ज्यान लिनसक्नुभयो ?’ म रोएँ– ‘फुपू ! मेरा हजुरबुबा, बुबा, आमा र सुदर्शनको बुबाको मात्र होइन मदन सर र सुदर्शनको मृत्युको जिम्मेवार पनि तपाईं नै हुनुहुन्छ…!’
‘प्रत्यूष ऽऽऽ !’ उहाँले एक्कासि गोली चलाउनुभयो । मैले बँच्ने कोसिस गर्दागर्दै पनि गोली मेरो शरीरमा कतै लाग्यो । गोलीको प्रहारले म कुर्सीबाट पर हुत्तिएँ । पीडाको अधिकताले मेरो दिमाग सुन्न भयो । फुपूले चलाएको अर्को गोली मभन्दा पछाडिको विशाल झ्यालको सिसामा लाग्यो । सिसा फुटेको चर्को आवाजसँगै मैले कलबेलको मधुरो आवाज सुनेँ । सिसा फुटेको झ्यालबाट पानीका एक भेल बाछिट्टा कोठा भित्रसम्म आइपुग्यो ।
त्यसपछि पनि दुईपटक लगालग गोली चल्यो । मेरो पाखुरामा कतै तातो गोली छिरेको अनुभूत भयो । शरीरमा लागेको गोलीको पीडा यति असह्य थियो– मलाई थाहा भएन त्यसपछि चलेको गोली केमा र कहाँ लाग्यो ? अन्तिमपटक फुपूको गर्जना मेरो चेतनामा ठोक्कियो– ‘यसपटक म कसैलाई आफूमाथि विजयी हुन दिन्नँ । मेरो जिन्दगीको निर्णय म अरूलाई गर्न दिन्नँ । गलत या सही, यो मेरो जिन्दगी हो । मैले जीवनभरि जित्ने, मुक्त हुने प्रयास गरिरहेँ तर सकिनँ, अब यो हार म कसै गरी पनि सहन गर्न सक्दिनँ । मैले जित्नै छ । म जितेरै छोड्छु । अनि तैँले भन्दैमा, चाहँदैमा मेरो सुदर्शनको अहित कदापि हुनेछैन । म हुन दिन्नँ ।’
त्यसपछि फेरि एकपटक गोली चलेको आवाज ! त्यसपछि मेरो चेतना लुप्तभयो ।

०००
होस आउँदा मैले आफूलाई अस्पतालमा पाएँ । वासु, कमल र धनबहादुर काका मेरो वरिपरि थिए । उनीहरूलाई देखेर मात्र मलाई आफू जीवित नै छु भन्ने कुरा विश्वास भयो ।

वासुले भनेअनुसार त्यस दिन मैले फुपूको घरबाट फोन गर्दा ऊ उसको एसएसपी साथीसँग आगलागीमा जलेर मरेको सुदर्शनको डीएनएको रिपोर्ट र प्राप्त भएका अरू जानकारीबारे गम्भीर डिस्कसनमा थियो । मेरो फोन सुनेर उसले थापाथली पुग्न हतार नगरेको होइन तर भीषण वर्षाका कारण रोडमा जताततै पानी भरिएकाले ड्राइभ गर्न कठिन थियो । झन् पुतलीसडकको पानी भरिएको रोडमा कमलको खटारा गाडी बन्द भएपछि त्यसलाई धकालधुकुल पारेर, किनारा लगाएर, कमलको साथमा असिना र पानीमा निर्घात चुटिँदै हिँडेर थापाथलीको घरको गेटमा पुग्दा गोलीको आवाज त होइन, सिसा फुटेको आवाज सुनेपछि बेस्सरी अत्तिएका थिए उनीहरू । कत्तिकै बेल बजाउँदा पनि ढोका नखुलेपछि उनीहरू पर्खाल नाघेर भित्र छिरेछन् । कति समय त पर्खाल नाघ्नै लागेछ । त्यसपछि अजङ्गो मूलढोका खोलेर भित्र पस्न नसकेपछि उनीहरू सिसा फुटेको झ्यालतिर दौडेछन् ! झ्यालबाहिर उनीहरूलाई देखेर नै फुपूले आफूलाई सुट गर्नुभएको रहेछ । त्यसपछि उनीहरू बडो सावधानीपूर्वक, अनेक जुगाड लगाएर भित्र छिरेछन् ।
जे होस् त्यस दिन ढिलै सही उनीहरू आइपुगे र म बाँचँे नत्र फुपूसँगै मेरो पनि काजक्रिया सकिन्थ्यो ! सोचेरै काहालीलाग्ने सत्य !
वासु, कमल र काकाले भनेर मैले थाहा पाएँ– म छ दिनपछि मात्र राम्ररी होसमा आएको रहेछु ।
त्यस दिन थापाथलीको घरमा भएको दुर्घटनालाई कमल र वासु मिलेर अर्कै स्वरूप दिएका थिए । पुलिस यही सोच्न बाध्य भयो– त्यो कुनै बाहिरी व्यक्तिको काम थियो– जसले मेरो अपहरण गरेर फुपूलाई र मलाई त्यहाँ बन्दी बनाएका थिए, जुन कुनै कारणवश त्यो गोली काण्डमा गएर टुङ्गियो । हत्यारा पिस्तोलका साथ भाग्न सफल भयो तर दुर्भाग्यवश मीरा राजभण्डारी (फुपू) को दुर्घटना स्थलमै मृत्यु भयो । प्रत्यूषमान प्रधान, जसलाई दुईवटा गोली– एउटा करङ्गको हड्डीमा अनि अर्को पाखुरामा लागेको थियो, अत्यधिक रक्तस्रावका कारण चिन्ताजनक अवस्थामा अस्पतालमा ल्याइएको थियो । पुलिसको अनुसार फुपूको ज्यान मलाई बचाउने कोसिसमा गएको थियो ।
पुलिसले जुनसुकै कहानी सुनाए पनि सत्य मलाई थाहा थियो । म पुलिसलाई त्यो सत्य सुनाउन चाहन्थेँ तर वासु र कमलले कडाइका साथ मलाई त्यसो गर्नबाट रोके । उनीहरूले एक स्वरमा भने– ‘के गर्छस् सत्य बयान गरेर ? उनीहरूले गाडेको मूर्दासमेत खोतल्छन् । के फाइदा बिनासित्ती बितिसकेको बीभत्सता उदङ्ग््याएर ? जे हुने त भैसक्यो । अब मरिसकेकी फुपूलाई उनीहरूले सजाय दिन त सक्दैनन्, उल्टै तेरो बाबुबाजेको नामसमेत बदनाम हुन्छ । पुलिस जे भनिरहेका छन्, जे सोचिरहेका छन्, त्यो उनीहरूलाई सुट गर्छ, तँलाई, हामीलाई पनि सुट गर्छ । अब जान दे, जे भयो त्यो गलत भयो । तर अब तैँले जे गरे पनि त्यो सही बन्न सक्दैन…।’
निक्कै सोचविचारपछि मैले उनीहरूको कुरा मानेर मौन रहने निर्णय गरेँ ।
म अझै आश्चर्यित थिएँ– फुपूले झ्यालबाहिर भएका कमल र वासुमाथि गोली नचलाएर आफूलाई किन सुट गर्नुभयो ? तर मेरो यो प्रश्नको जवाफ दिनसक्ने एक मात्र व्यक्ति, फुपू यो संसारमा हुनुहुन्थेन ! कति दुःखको कुरा– त्यति तीक्ष्ण बुद्धि र तीखो दिमाग लिएर जन्मनुभएकी फुपूको त्यति दुःखद अवशान भयो । कहीँ न कहीँ मेरा हजुरबुबा र बुबाहरू पनि त्यत्तिकै जिम्मेदार थिए सायद, फुपू त्यति फरक भएर निस्कनुमा । साँच्चै हो रहेछ– गलत ठाउँमा बाँध बाँध्नुले बहावलाई दिसा मात्र दिँदैन कहिलेकाहीँ विध्वंश पनि निम्त्याउँछ !

राम्ररी होस आएपछि मैले बिन्तीलाई आफ्नो वरिपरि देखिनँ । एक–आधपटक वासुसँग सोध्दा उसले सोझो–सिधा जवाफ दिएन । यति मात्र भन्यो– ऊ सबै शङ्का र आरोपबाट मुक्त थिई । स्वतन्त्र थिई । मेरो लागि त्यति नै काफी थियो । तर ऊ यहाँ, मेरोछेउमा किन थिइन ?
पछि कमलले सुनायो– पाँच दिन र रात मेरो बेडको छेउबाट हलचल नगरेकी बिन्ती डाक्टहरूले मलाई होस् आएको घोषणा गरेपछि अस्पतालबाट बाहिर निस्केकी थिई । उसलाई थाहा थियो– होसमा आएपछि म उसलाई आफ्नो आँखाबाट ओझेल हुनदिने छैन । त्यसैले उसले त्यो स्थिति आउनुभन्दा पहिल्यै मेरो आँखाको परिधि नाघी ।
तर बिन्ती ! तिमीविना म निको हुनेछैन । घाउ भरिए पनि दुख्न छोड्ने छैन । मेरो मनले भनिरह्यो ।
म अस्पतालबाट डिस्चार्ज नहुँदै, एकदमै अपत्यारिलो लाग्ने गरी भद्रे मलाई भेट्न आयो । मैले आफ्नो आश्चर्य व्यक्त गर्न नपाउँदै उसले आफूले बोकेर ल्याएको फलफूलको टोकरी मेरो बेड साइडको टेबलमा राख्यो अनि कुनै भूमिका नबाँधीकन भन्यो– ‘मेरो होटेलको बिलभन्दा कैयौँ गुणा ठूलो रकम मैले लिन नमान्दानमान्दै उहाँले चुक्ता गरिदिनुभयो…’ उसले वासुतिर औँल्यायो– ‘त्यसैले अब हामीबीचमा कुनै लेनदेन बाँकी छैन ।’ ऊ एकछिन चुप लाग्यो । मैले उसलाई बस्न आग्रह गरेँ तर उसले सुनेको नसुनै गर्दै भन्यो– ‘बिनीसँगको हिसाबकिताब पनि मैले उसैको नाउँमा छोडिदिएँ,’ उसको स्वर कँपकँपायो– ‘किनभने मेरो जे हिसाबकिताब थियो त्यो बिनीसँग थियो, म त्यो बिन्तीसँग कसरी असुल्न सक्थें ?’
‘भद्रे दाइ !’ म उठ्न खोजेँ ।
‘होइन, होइन, तपाईं नउठ्नूस् !’ भद्रेले दुवै हातले मलाई पल्टिरहन सङ्केत गर्दै भन्यो– ‘तपाईंजस्तै कसैले उसलाई बिन्तीबाट बिनी बन्न बाध्य पारेको थियो एक दिन, तर तपाईंको साथले उसलाई फेरि बिन्ती बनाएको छ । म जतिसुकै ठूलो गुन्डा, बदमास भए पनि बिन्तीलाई जबरजस्ती बिनी बनाउन किमार्थ सक्दिन…। हाम्रो समाजमा एकदमै सजिलो छ कुनै बिन्तीलाई बिनी बन्न बाध्य पार्न तर कुनै बिनीलाई बिन्ती बनाउन एकदमै गाह्रो । तपाईंमा पक्कै पनि कुनै खुबी होला त्यसैले त उसले एकपटक फेरि बिन्ती भएर यो भ्रष्ट, निर्दयी दुनियाँ, समाजको सामना गर्न कम्मर कसी ।’ उसको स्वरमा भावनाको भेल मिसियो । उसले काँतर स्वरमा भन्यो– ‘उसलाई फेरि बिनी बन्नबाट जोगाउनुहोला सर ! नत्र फेरि कुनै बिनीले कुनै भद्र–भलाद्मीमाथि पटक्कै विश्वास गर्ने छैनन् । निःस्वार्थ उसको मद्दत गर्न कहिल्यै तयार हुने छैनन् ।’ उसले दाहिने हातको पिँठ्यूले दुवै आँखा पुछ्यो अनि आफ्नो स्वरमा कठोरता मिसाउँदै भन्यो– ‘अर्कोपटक यदि ऊ बिनीको रूपमा मेरो सामु परी भने म उसलाई यसरी आफ्नो बनाउनेछु– यो समाजका कुनै सभ्य, भलाद्मीलाई उसको सुइँको लाग्न दिनेछैन । साहेब ! यो यौटा बदनाम गुन्डाको वचन हो, जुन यो समाजका भद्र–भलाद्मी मान्छेको बोलीझैँ पटकपटक फेरिन्न !’
मेरोछेउमा बसेको वासु आक्रोशित हुँदै उठ्न खोज्यो तर मैले उसलाई हात समातेर रोकेँ । भद्रेले हामी दुवैलाई पालैपालो हेर्यो र बाहिर निस्कियो ।
कसले भन्छ मायामा ताकत हुँदैन ? मायामा भर्खरै यौटा ढुङ्गालाई तरल भएको देखेको थिएँ मैले ! बगेको देखेको थिएँ !
फुपूको काज–किरिया सकेपछि, म राम्ररी हिँडडुल गर्नसक्ने भएपछि, मेरो हातको स्लिङ नखोलिँदै, वासु र म सुभद्राको खोजीमा निस्कियौँ । तर सुभद्राले आफ्नो पुरानो डेरा छोडिसकेकी थिइन् । न उनले मलाई दिएको नम्बरमा फोन गर्दा फोन उठ्थ्यो । मैले बिन्तीलाई पनि लाखौँपटक फोन गरेँ तर उसको पनि फोन उठेन । म्यासेज छोडेँ तर जवाफ आएन । कहाँ गायब भएका थिए उनीहरू त्यसरी अचानक ?
वासु र कमलले तीव्र्र विरोध गर्दागर्दै म बिन्तीको खोजीमा पोखरा पनि पुगेँ । ड्राइभ त के, मेरो अवस्था लामो यात्राका लागि गाडीमा बसिरहन लायक पनि भैसकेको थिएन । त्यसैले जहाँ जाँदा पनि वासु र धनबहादुर काका मसँगसँगै हुन्थे ।
केही दिन पोखराको चक्कर लगाएर बिन्तीलाई फेला पार्न नसकेपछि म बिरामी मन लिएर काठमाडौँ फर्किएँ । शरीर त बिरामी छँदैथियो मेरो । त्यसैले अस्पतालको शरणमा विश्राम पाएँ ।
अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै कमल र वासुले विरोध गर्दागर्दै वासु र म फुपू र सुर्दशनको अस्तु लिएर काशी गयौँ । हुन त त्यो काम कमल या वासुले पनि गर्नसक्थे तथापि म फुपू र सुर्दशनको अस्तु आफ्नै हातले सेलाउन चाहन्थेँ ।
काशीमा विधिपूर्वक सबै खाले कर्मकाण्ड सकेर गङ्गामा फुपूको अस्तु सेलाउँदा मैले बिस्तारै भने– ‘जहाँ जाँदा पनि तपाईंको अपराध क्षमा गर्नलायक त छैन, तर तपाईंले जेजति झेल्नुभयो जीवनमा, त्यो सामान्य पनि थिएन । मलाई थाहा छैन मेरी आमाले, बुबाले, हजुरबुबाले, सुदर्शनले अनि तपाईंको मदन सरले तपाईंलाई माफ गर्न सक्छन् कि सक्दैनन्, तर म तपाईंलाई मनले माफ गरिदिन्छु । यस आशामा कि यहाँ नभए पनि त्यहाँ तपाईंले अलिकति चैन पाउन सक्नूस्, तपाईंको आत्माले शान्ति पाउन सकोस् । सायद यसरी नै सुदर्शनको मप्रतिको आफ्नोपनको सम्मान गर्नसक्नेछु म ।’
सुदर्शनको अस्तु सेलाउँदा मैले मन थाम्न सकिनँ– ‘यति कठोर, भयानक मृत्युको पट्क्कै हकदार थिएनौ तिमी । मेरा लागि आफ्नो मनमा त्यति धेरै कोमल भाव राख्ने तिम्रा लागि मैले केही पनि गर्न सकिनँ । सुदर्शन ! यदि मैले जान–अन्जानमा तिम्रो मन दुखाएको भए मलाई माफ गर प्लिज !’
मेरो आँसु थामिएन । वासु पनि मसँगसगै रोयो ।

०००
काशीबाट फर्केपछि एकपटक फेरि बिन्ती र सुभद्राको खोजीमा म र वासुले धुलिखेल र पोखराको चक्कर लगायौँ तर उनीहरू फेला परेनन् । म चिन्तित थिएँ । मलाई बिन्तीको भन्दा पनि धेरै चिन्ता वाणी र सुभद्राको थियो यतिखेर । जहाँसम्म मैले बिन्तीलाई चिनेको थिएँ– मलाई थाहा थियो ऊ जहाँ भए पनि कमसेकम सुरक्षित थिई तर सुभद्रा र वाणी गलत हातमा थिए । उनीहरूको कुनै अहित हुनुभन्दा पहिले म उनीहरूलाई भेट्न चाहन्थेँ । तर उनीहरू त यसरी गायब भएका थिए कि मैले फेला पर्न सकिरहेको थिइनँ ।
‘सायद उनीहरू यही चाहन्छन्– तँ उनीहरूलाई फेला नपार !’ उनीहरूको खोजीमा यता र उता दौडीदौडी लखतरान भएको वासुले भन्यो ।
‘म मान्छु– बिन्तीले त्यस्तै चाहेकी हुनसक्छे तर सुभद्राले त्यस्तो चाहनुको कुनै रिजन छैन । यार ! मैले उनलाई जसरी पनि खोज्नुछ । कुनै उपाय निकाल न प्लिज !’ मैले व्यग्र हुँदै भनेँ ।
‘पत्रिकामा विज्ञापन दिने त ?’ वासुले भन्यो ।
‘अहँ, सायद त्यो ठीक नहोला । जस्तो मान्छेको साथमा उनीहरू छन्, विज्ञापनले नराम्रो स्थिति निम्त्याउन सक्छ ।’ मैले चिन्तीत स्वरमा भनेँ ।
‘यार, तेरो हालत यति बिधी दौडधूप गर्नेलायक भैसकेकै छैन । हरेकपटक लामो यात्रापछि हस्पिटल भर्ना भैरहनुपरेको छ तँलाई । यसरी कसरी चल्छ भन त ?’ वासुको स्वरमा मप्रति अनगिन्ती चिन्ता थियो– ‘ड्रग्सको असर तेरो शरीरमा अझै बाँकी नै छ । त्यसमाथि त्यत्रो समय ह्विलचेयरमा थिइस् । त्यसपछि गोली–काण्ड । अब यो दौडधूप ! प्रत्यूष, यसरी त…!’
‘वासु ! मैले जसरी पनि उनीहरूलाई खोज्नुछ । उनीहरू नभेटिएसम्म म हलचल नगरी बस्न सक्दिनँ ।’
वासुले असहाय भावले मलाई हेर्यो ।
‘ओके, तपाईं अफिसमा बसेर यहाँको सबै कामकुरा मिलाउनूस्, वासु र म बिन्ती र सुभद्राको खोजीमा लाग्छौँ । हुन्न ?’ कमलले सजेस्ट गर्यो ।
‘यार, अब त मान न प्लिज !’ वासुले विनीत स्वरमा भन्यो– ‘यहाँ पनि सबै लथालिङ्गै छ । तँ आरामले अफिसमा बसिस् भने हामीलाई ढुक्क हुन्छ । दौडधूप हामी गरिहाल्छौं ।’
मलाई थाहा थियो– उनीहरू मेरो खस्किँदै गएको स्वास्थ्यप्रति चिन्तित थिए । पटकपटक अस्पताल भर्ना हुनुपरेको कारणले म पनि अफिसलाई राम्ररी हेर्न पाइराथिइनँ अतः मैले उनीहरूको कुरा मान्ने निर्णय गरेँ ।
त्यसपछि म अफिस र अरू व्यवहार मिलाउनमा यति व्यस्त भएँ– सास फेर्नेसम्म फुर्सद भएन । अफिसमा थुप्रै हेरफेर गरेँ । सुप्रिया र सुमन्त साख्यै हुनआए, आ–आफ्नो अभद्रताका लागि माफी मागे । तर म उनीहरूको चिप्लो कुरा गराइ अनि आँसुमा चिप्लिनँ । सुप्रियाका थुप्रै आग्रह र धम्कीलाई बेवास्ता गर्दै मैले उसलाई विपिनसँग बिहे गर्ने सल्लाहका साथ चार करोड रुपियाँ र साथमा डिबोर्स दिएँ । श्रेयालाई सम्झाइबुझाइ कमलसँग बिहे गर्न राजी गरेँ अनि उसले नमान्दानमान्दै, नयाँ जिन्दगी सुरु गर्न भनेर दुई करोड रुपियाँ उसको बैङ्क अकाउन्टमा हालिदिएँ ।
इन्द्र मामाले सानोतिनो भए पनि काम गर्ने इच्छा व्यक्त गर्नुभयो– मैले उहाँका लागि त्यो व्यवस्था पनि गरिदिएँ । समयको मारले बल्ल यो उमेरमा उहाँलाई चेत आएको थियो । कंशमामा, बल्ल साख्यै मामा हुनुभएको थियो । हजुरबुबा, बुबा, आमा र सुदर्शनको नाममा यौटा च्यारिटी ट्रस्ट खडा गरेर त्यसमा दस करोड़ रुपियाँ जम्मा गरेँ जसले जबरस्ती वेश्यावृत्तिमा लाग्न बाध्य परिएका किशोरीहरूलाई सहयोग र व्यवस्थापन गर्ने काममा मद्दत गथ्र्यो ।
वासुलाई मसँगै मिलेर काम गर्न आग्रह गरेँ । सधैँ अनेक बहाना बनाएर उम्कने वासुले थाहा छैन किन यसपटक मेरो आग्रह खुरुक्क मान्यो ।
धनबहादुर काका छायाँजस्तै मेरोपछि लागिरहन्थे ।
उनीबाटै मैले थाहा पाएँ– आगलागी भएको त्यो दिन फुपूलाई भक्तपुर छोडेर मेरो चिन्तामा पाकिरहेका धनबहादुर काका घिउ खोज्न जानुअघि एक्कै छिनका लागि बालुवाटार फर्केका थिए । उनीसँग घरको साँचो थियो । उनी ढोका खोलेर भित्र पस्दापस्दै सुदर्शन पनि उनको पछिपछि भित्र पस्यो । काकाले भनेअनुसार त्यसबेला उसको हालत यति खराब थियो– सहाराविना आफैँ उभिनसक्ने अवस्था थिएन उसको । काकाले नै समाएर भित्र पुर्याएका थिए उसलाई । ऊ मसँग कुरा गर्न चाहन्थ्यो, अति महत्वपूर्ण अनि गोप्य कुरा । पहिले त काकाले उसको कुरा सुन्दै सुनेनन् तर उसको हालत अनि जिद्दी देखेर उनले बडो मुस्किलका साथ उसलाई मेरो कोठामा लगे । मलाई त्यहाँ नभेटेपछि काकाले उसलाई तल लग्न खोजे तर ऊ मसँग कुरा नगरेसम्म त्यहाँबाट नउठ्ने अड्डी कसेर त्यहीँ, बेडछेउको कुर्सीमा बस्यो । आजित भएर काका उसलाई त्यहीँ छोडेर बाहिर निस्किए । काका त्यहाँबाट निस्कँदा सुदर्शन दोलाईं लपेटेर मेरो बेडमा लम्पसार परिसकेको थियो । उसका आँखा बन्द थिए अनि ऊ नाकबाट अनौठो आवाज निकाल्दै घुर्न थालिसकेको थियो । काका सुदर्शनलाई त्यस हालतमा त्यहाँ छोडेर जान चाहँदैनथे । तर उनलाई ढिलो भैसकेको थियो । सुदर्शन कुरा बुझ्ने, कुरा सुन्ने त के हलचल गर्नसक्ने स्थितिमा पनि थिएन । अतः उनी बाध्यतावश सुदर्शनलाई मेरो कोठामा, मेरो बेडमा छोडेर, मूलढोका र मेनगेटमा पूर्ववत् ताल्चा मारेर निस्किएका थिए ।
पछि पूजा सकेर फुपूलाई लिएर फर्कंदा घरमा आगो लागेको देखेर अनि त्यो आगोमा म जलेर मरेको सुनेर काकालाई सबैभन्दा पहिले अर्धबेहोस सुदर्शनको ख्याल मात्रै आएन, अपितु त्यो आगो दुर्घटना नभएर षडयन्त्र भएको ख्याल पनि आयो । त्यसैले उनी गायब भैदिए, किनभने उनी पुलिसलाई सुदर्शनका बारेमा भनेर मेरो लागि अझै समस्या बढाउन चाहँदैनथे । उनलाई विश्वास थियो– म जीवित थिएँ । कसरी ? किनभने बिनी गायब थिई । उनको भनाइअनुसार त्यहाँ जलेका शरीर दुई या तीनवटा भएका भए उनी सायद मेरो अनिष्ट सोच्न सक्थे तर केवल एउटा मात्र शरीर जलेको भन्ने कुरा भएपछि उनलाई त्यो म हुनै सक्दैनथेँ भन्ने लाग्यो– । अर्को कुरा, बिनीको रेखदेख र साथमा मलाई केही हुनै सक्दैनथ्यो । यो उनको सोच होइन, विश्वास थियो । अनि कति सही थियो उनको विश्वास ?

घरको इन्स्योरेन्स क्लेम गर्न, आर्किटेक्चरहरूद्वारा नयाँ नक्सा तयार गरेर त्यही ठाउँमा भव्य ‘प्रधान मेन्सन’ खडा गर्न ठेक्का दिएर, अफिसका स्टाफहरूको र यत्रतत्रको समस्या सुल्झाउँदै आफू स्वस्थ्य हुन मलाई निक्कै समय लाग्यो । यसबीच सबै ‘ठीक’ गर्ने पागलपनमा मैले अन्त कतै ध्यान दिन सकिनँ । एकपटक सबै चीजलाई सही दिशा दिएर सकेको मात्र थिएँ– वासु र कमलले सुभद्राको नयाँ डेराको ठेगाना पत्ता लगाएको कुरा सुनाएर मानौँ ममा प्राण भरिदिए । म सारा चीज यत्तिकै छोडेर सुभद्राको डेराको ढोका ढकढक्याउन पुगेँ । ड्राइभर बनेर साथमा गएको वासुलाई मैले बहिर गाडीमै छोडेँ ।

००००
निक्कै बेर ढकढक्याउँदा पनि ढोका नखुलेपछि म निराश भएर फर्कन लागेको थिएँ, त्यही बेला ढोका अलिकति खुल्यो । साथै सुभद्राको सानो स्वर मेरो कानमा ठोक्कियो– ‘कसलाई खोज्नुभएको ?’
म खुसी हुँदै ढोकातिर फर्किएँ तर ढोकामा देखिएको सुभद्राको अनुहार– जति पनि ढोकाको कापबाट देखिन्थ्यो, त्यो देखेर मेरो अनुहारको रङ फेरियो । चोटैचोटले भरिएको उनको अनुहारले पनि धेरैवटा रङ फेर्यो । निक्कै बेर हामी दुवै केही बोल्न सकेनौँ ।
‘कसलाई खोज्नुभयो ?’ अन्त्यमा उनैले तटस्थ स्वरमा सोधिन् । उनको अनुहारमा झुल्किएको परिचयको भाव अचानक मेटिएको देखेर मैले जिल्ल पर्दै भनेँ– ‘सुभद्रा, चिनिनौ मलाई ? म क्या, प्रत्यूष !’
‘किन ?’ उनले वितृष्णापूर्वक भनिन्– ‘किन कुनै प्रत्यूषलाई मैले चिन्नु जरुरी छ ?’
मैले आहतभावले उनलाई हेरेँ । उनले ढोका बन्द गर्न खोजिन् तर मैले ढोकाको ग्यापमा हात राखेर त्यसलाई पछाडि धकेल्दै बिस्तारै भनेँ– ‘दैलोसम्म आएको माइतीलाई त चिन्न जरुरी छ नि !’
उनको अनुहारमा एकै क्षण बडो दयनीय भाव उदायो । उनले घुटुक्क थुक निलिन् अनि बिस्तारै भनिन्– ‘यति बेला मैले कसैलाई चिन्न जरुरी छैन, तपाईं जानूस् यहाँबाट…!’
‘यति बेला नै सायद तिमीलाई कोही आफ्नोको सधैँभन्दा बढी आवश्यकता छ सुभद्रा !’ मैले उनको चिउँडोबाट तपतप चुहिरहेको रगतलाई हात बढाएर पुछिदिँदै भनेँ– ‘कोही यस्तो, जसले तिमीलाई सहारा होइन साहस देओस्, साथ होइन हात देओस् । अनि सुभद्रा यो एउटा दाजुले बाहेक अरू कसले गर्नसक्छ भन त ?’
उनी तर्किएर अलिकति पछि सरिन् । यस्तो लाग्यो– अब उनको भक्कानो छुट्ने छ तर फेरि उनी सम्हालिइन् । आँखामा आएको आँसुलाई झर्न नदिने कोसिसमा दुई–तीनपटक आँखा कसेर बन्द गरिन् र खोलिन् अनि मसँग आँखा जुधाउनबाट जोगिँदै निरीह स्वरमा भनिन्– ‘यो सही समय होइन, प्रत्यूष, तिमी…’
‘कुन यारसँग साउती मारिरहेकी छेस् ए रन्डी !’ बोल्दैगरेकी सुभद्राको पछाडिबाट उनलाई जगल्ट्याउँदै रमेश उग्र स्वरमा करायो । सुभद्रा पछाडि तानिइन् । उनको हातबाट ढोका छुट्यो, जसलाई धकेलेर म भित्र पसेँ ।
‘म त्यसै भन्छु र ?’ रमेश सुभद्रालाई जगल्ट्याउँदै, पिट्दै र लछार्दै करायो– ‘रन्डीको जातको भरोसा हुँदैन भनेर ? आज फेला पारेँ मैले पर्मान । अब दोहोलो काट्छु म तेरो पनि, तेरो यारको पनि ।’ उसले यसपटक उठाएको हातलाई मैले सुभद्राको शरीरमा ठोक्किनुभन्दा पहिल्यै च्याप्प समातेँ अनि कठोर स्वरमा भनेँ– ‘एक सेकेन्डमा सुभद्राको कपालबाट हात झिकिनस् भने सम्झी– तैँलै खुट्टा टेकेर उभिएको यो अन्तिमपटक हुनेछ तेरो जीवनमा । किनभने त्यसपछि तँसँग तेरो यो शरीर धानेर उभिनका लागि यी खुट्टा नै रहने छैनन् ।’ मेरो कठोर स्वर सुनेर उसले हडबडाउँदै मतिर हेर्यो । अनायास उसको हात सुभद्राको कपालबाट छुट्यो । मैले पनि उसको हात छोडिदिएँ । रक्सीले मातेको आफ्नो शरीरलाई डगमगाउनबाट रोक्ने कोसिस गर्दै, आफ्नो स्वरलाई भरसक सन्तुलित बनाउने प्रयत्न गर्दै उसले सोध्यो– ‘को होस् तँ ? अर्काको घरमा आएर अर्काकी स्वास्नीलाई हात हाल्ने हिम्मत गर्ने को होस् तँ ? पख, अहिल्यै पुलिस बोलाउँछु म ।’ मोबाइलको खोजीमा उसले यताउता आँखा डुलायो ।
‘बोला…!’ म उसको अगाडि, उसको एकदम नजिक गएर उभिएँ अनि कठोर स्वरमा भनेँ– ‘दुई जिउ भएको जनावरले त विराम गर्यो भने मान्छेले त्यसरी चुट्दैनन् भने यो त मान्छे हो । यसलाई रगतपच्छे, मर्लान्त पिट्ने साले, नामर्द ! तँ मलाई पुलिस बोलाउने धम्की दिन्छस् ! बोला पुलिस । बाँकीको तेरो सारा जीवन जेलमा सडाउन सकिनँ भने मेरो पनि नाम प्रत्यूषमान प्रधान होइन ।’
‘प्र.. प्रत्यूषमान प्रधान ?’ उसको रक्सीको नसाले पहिल्यैदेखि लरबराइरहेको स्वर झनै लरबरायो । उसको अनुहारको भाव देखेर मलाई विश्वास भयो– मेरो नाम उसका लागि अपरिचित थिएन ।
‘हो, प्रत्यूषमान प्रधान !’ म सुभद्राको छेउमा उभिन गएँ अनि आफ्नो एकहातले उनलाई आफ्नो नजिक टाँस्दै अधिकारपूर्ण स्वरमा भनेँ– ‘आजउप्रान्त, सुभद्राको माइती, मावली, इष्टमित्र र परिवार– सबै म । यदि हिम्मत छ भने कसैले हात होइन, कुदृष्टि मात्रै हालोस् उनीमाथि, त्यसपछि त्यो व्यक्तिले पछुताउने मौका पनि पाउने छैन ।’
रमेशको अनुहार कालो–नीलो भयो । सुभद्राका आँखा साउन–भदौझैँ बर्सिन सुरू गरे ।
‘…मेरी स्वास्नी हो…’ रमेशले हिम्मत गर्दै भन्यो ।
‘अहिले बल्ल याद आयो ?’ मैले व्यङ्ग्यपूर्वक भनेँ– ‘त्यस बेला याद आउँदैन जब यिनीमाथि हात उठाउँछस् ? यिनलाई मर्लान्त पिट्दा यो याद आउँदैन– यो त्यो औतार हो, जो आफ्नो गर्भमा एउटा जीवन बोकेर तँजस्तो पशुलाई बाबु बन्ने शुभअवसर दिन जाँदैछिन् !’
रमेशले बोल्न खोज्यो तर फेरि नजाने के सोचेर मुख बन्द गर्यो र नसाले ढलमलाइरहेको शरीरलाई भित्तामा राम्ररी अड्याएर निरीहभावले सुभद्रातर्फ हेर्यो । सुभद्रा अझै टाउको झुकाएर चुपचाप रोइरहेकी थिइन् ।
‘म अहिल्यै सुभद्रालाई यहाँबाट लिएर जाँदैछु, सधैँका लागि । हिम्मत छ भने रोकेर देखा !’ मैले भनेँ ।
‘मेरो स्वास्नीलाई मेरो इच्छा विपरीत…’
‘तेरो औकात छ यिनको लेग्ने हुने ?’ मैले उसको कुरा काटेर कठोर स्वरमा भनेँ– ‘एक झुत्तो पोते र एक डिब्बा सिन्दुर दिएर शरीरको मात्र होइन, ज्यान–प्राणको मालिक हुन चाहने तँजस्तै पुरुषका कारण ‘लोग्नेमान्छे हुँ’ भन्न लाज लाग्ने समय आएकोछ । तर आजदेखि उनलाई यस समाजमा टाउको उठाएर बाँच्नका लागि न तँजस्तो नामर्दको कुनै आवश्यकता छ, न उनको गर्भको सन्तानलाई तेरो नामको आवश्यकता छ ।’ मैले सुभद्राको हात थामेर दृढ स्वरमा भनेँ– ‘हिँड सुभद्रा !’
‘तर… तर प्रत्यूष…!’ प्रतिवाद गर्नैलागेको रमेशलाई उछिन्दै बोलेकी सुभद्रालाई मैले अगाडि बोल्नै नदिई भनेँ– ‘सुभद्रा ! जो मान्छे तिम्रो नोकर बन्न पनि लायक छैन त्यसको बेइज्जती, अपमान र शारीरिक यातना सहनुभन्दा त बरु तिमीले स्वेच्छाले शरीर बेचिरहेकी भए नै ठीक हुन्थ्यो सायद । आफूलाई हेर अनि त्यसलाई हेर, के छ ऊ तिम्रो तुलनामा ? यदि तिमी जुन पेसामा थियौ, त्यसमा नभएकी भए तिमीजस्ती युवतीको कल्पना यो जस्ताले सात जन्ममा गर्नसक्ने थिएन । केवल ‘स्वास्नी’ बनाएको आश्वासनको भरमा ऊ तिमीलाई भोगि मात्र रहेको छैन, अपमान र बेइज्जती पनि गरिरहेको छ ।’ म एकै क्षण अडिएँ अनि भने– ‘कसुरवार तिमी पनि हौ किनभने तिमीले उसलाई अत्याचार गर्ने छुट दियौ । आफ्नो अतीतलाई लज्जाजनक मानेर तिमी उसको सामु झुकिरह्यौ, यो तिम्रो गल्ती हो ! अब भन, यही गल्ती बाँकीको सारा जीवन गरिरहन्छ्यौ ? या चेत्छौ ! सुभद्रा, अन्याय, अत्याचार सहेर चुप बस्नु शरीर बेच्नुभन्दा पनि ठूलो अभिशाप हो । तिमी के आफूले जन्म दिएको सन्तानलाई पनि यो अभिशप्त जीवन बाँच्न बाध्य बनाउँछ्यौ ?’
‘प… प्रत्यूष !’ सुभद्राको अनुहारमा डर पोतियो ।
‘के सोच्याछ्यौ, तिमीसँग यस्तो गएगुज्रिएको व्यवहार गर्नेले तिम्रो कोखबाट जन्मिएको सन्तानसँग फरक व्यवहार गर्ला ?’ मैले भनेँ– ‘यदि यो पशुले तिम्रो गर्भको शिशुलाई जन्मन दियो भने !’
‘त्यसो नभन, प्रत्यूष ! बिन्ती !’ सुभद्राले हात जोडेर काँतर स्वरमा भनिन् ।
‘म…म…’ बोल्न खोजेको रमेशलाई उछिन्दै मैले भनेँ– ‘सुभद्रा ! एकतर्फी विश्वास र आस्थाको आयु लामो हुँदैन– मेरो विश्वास गर !’ मैले उनको हात थामेँ– ‘मैले भोगेर आएको यथार्थ हो यो, त्यसैले भन्दैछु । म भन्दिनँ, आस्था, विश्वास र सम्झौता नराम्रो कुरा हो भनेर तर त्यो दोहोरो भएन भने कुनै कामलाग्ने हुँदैन । तिमीले यो मान्छेलाई आफ्नो जीवनको अमूल्य तीन वर्षको निष्ठाले बाँध्न सकिनौ भने, मेरो विश्वास गर, बाँकीको तिम्रो जीवनभरको कोसिस पनि काम लाग्नेछैन !’
सुभद्राले पुलुक्क रमेशतर्फ हेरिन् ।
‘म…म…मैले किन मानेको छैन ?’ रमेशले हडबडाउँदै भन्यो ।
‘यदि मानेको भए सुभद्राको गर्भमा भएको अस्तित्वमाथि शङ्का किन गर्थिस् ?’ मैले व्यङ्ग्यपूर्वक भनेँ– ‘यो गर्भवती स्वास्नीमाथि अत्याचार किन गर्थिस् ?’ त्यसपछि मैले सुभद्रालाई लक्ष गर्दै भनेँ– ‘सुभद्रा, जहाँ सम्बन्धलाई मानिन्छ, त्यहाँ सम्बन्धप्रति आदर, विश्वास र आस्था पनि हुन्छ । म मान्छु– तिमी आफ्नो तर्फबाट निष्ठावान छ्यौ । उसलाई लोग्ने मानेर तिमी ऊद्वारा आफ्नो सबैखाले दुर्गति झेलिरहेकी छ्यौ, झेल्ने छ्यौ । तर के तिम्रो सम्पूर्ण निष्ठाले यस मान्छेलाई तिमीप्रति विश्वासिलो, प्रेमपूर्ण र संरक्षक बनाउला ? मलाई त लाग्दैन । गर्भको बच्चालाई आज त तिमीले ‘उसैको’ हो भनेर उसलाई विश्वास दिलाउन मरिमेटेर कोसिस गरिरहनुपरेको छ भने भोलि के गर्छ्यौ ? तिमी आजीवन यसै गरेर बाँचिरहन सक्छ्यौ भन त ? सक्दिनौ भने के फाइदा यो मान्छेको हातबाट आफ्नो दुर्गति गराएर ? जन्मँदैनजन्मेको बच्चाको अपमान गराएर ? मेरो नजरमा यो मान्छे कतैबाट पनि तिमीलायक छैन । न नै तिमीलाई यस मान्छेको दया र नामको कुनै आवश्यकता छ । साँच्चै भन्ने हो भने एउटा सन्तानलाई आमाको छत्रछायाँ र सही पालनपोषणको जति आवश्यक हुन्छ, त्यति अरू केहीको पनि हुँदैन । त्यसमाथि पनि, तिम्रो सन्तानको पालनपोषणमा मद्दतका लागि म एउटा अभिभावकको रूपमा तिमीसँगै हुनेछु । बाँकी निर्णय तिम्रो हातमा छ सुभद्रा !’
निक्कै बेरसम्म सुभद्राले टाउको झुकाएर सोचिरहिन् । रमेश अनुहारमा व्यग्रताको भाव बोकेर उनैलाई हेरिरह्यो । म तटस्थ, सुभद्राको छेउमै उभिइरहेँ ।
जब सुभद्राले टाउको उठाइन्, उनको अनुहारको भाव देखेर नै रमेशको हंसले ठाउँ छोड्यो । उसले लडखडाउँदै आएर सुभद्रालाई थाम्ने कोसिस गर्दै भन्यो– ‘सुभद्रा ! यो मान्छेको कुरा नसुन्, धनले मातेको मान्छेको नियत ठीक हुँदैन । तेरो र मेरोबीचमा फाटो पारेर यो मान्छे आफ्नो स्वार्थ…’ उसका बाँकीका शब्दहरू पूरा हुन पाएनन् । सुभद्राको हात उठ्यो अनि रमेशको गालामा बज्रियो ।
‘सुभद्रा…!’
उनको त्यो एक थप्पडले रमेशको सारा नशा उतार्यो । उसले सुभद्राको थप्पड परेको गालामा हात राखेर आश्चर्य र अविश्वासपूर्वक सुभद्रातर्फ हेरिरह्यो ।
‘यो थप्पड मेरो बेइज्जती, अपमान वा शारीरिक यातनाका लागि होइन । यो थप्पड त त्यो अबोध वाणी र यो दुनियाँ नै नदेखेको शिशुको अपमानका लागि हो । म, एउटी वेश्यावृत्तिमा लागेकी केटी तिमीजस्तो नरपिसाचलाई लोग्नेको रूपमा झेलेर पनि अपसोच गर्ने थिइनँ । आफ्नो कर्मको फल मानेर सारा जीवन तिम्रो अत्याचार सहने थिएँ । तर अढाई–तीन वर्ष मेरो शरीरलाई मनपरी भोगेर पनि गर्भको शिशु अरू कसैको हो भनेर सोच्नसक्ने अधमलाई म कसरी मेरो सन्तानको बाबु मानेर झेलौँ ?’
‘सुभद्रा…!’
‘म लाख खराब सही, तर ईश्वरले मलाई पनि सभ्य र शिक्षित परिवारमै जन्माएका थिए । त्यो त मेरै भाग्य फुटेको थियो र आमाबाबु, दाजु र दिदीहरूको अनुशासन, सही मार्गदर्शनलाई बाधक मानेर १५– १६ वर्षकै उमेरमा अरूको लहैलहैमा ‘फ्रिडम’ को नाममा गरेको विद्रोहले नै मलाई पतनको बाटोतिर डोर्यायो । नत्र आज म पनि मेरा दिदीहरूझैँ कुनै इज्जतदार पुरुषकी स्वास्नी अनि कुनै सभ्य घरकी बुहारी हुनेथिएँ होला ।’ सुभद्राको गला अवरूद्घ भयो । उनले आफ्ना बर्सिरहेका आँखा सलले पुछ्दै बिस्तारै भनिन्– ‘तिमीजत्तिको मान्छे आज पनि मेरो बुबाको घरमा कामदार छन् । तैपनि आफ्नो गल्तीको सजाय मानेर, मजस्ती वेश्यावृत्तिमा लागेकी स्वास्नीमानिसलाई ‘स्वास्नि’को दर्जा दिएको उपकारको बदलामा, म बाँचुन्जेल तिम्रो पिटाइ खाइरहन सक्थेँ । अपमान सहिरहन सक्थेँ तर यही सजाय म मेरो गर्भको सन्तानलाई पनि भोग्न किन बाध्य पारूँ ?’ उनले आँसु पुछिन् । मलाई हेरिन् । अनि रमेशतिर फर्केर दृढ स्वरमा भनिन्– ‘प्रायः आफूले गरेका सबै निर्णय गलत भएकाले म यो निर्णय गर्नबाट डराइरहेथेँ । तर लाग्छ अब यो अपमान र यातनाबाट आफू र आफ्नो सन्तानलाई सदाका लागि मुक्त गर्ने समय आएको छ…’ उनी मतिर फर्किन् अनि भनिन्– ‘एकैछिन मसँग आऊ त प्रत्यूष, म वाणीलाई लिएर आउँछु ।’ उनी अघि बढिन् । म उनको पछि लागेँ ।
वाणी भित्र ओछ्यानमा थिइन ।
क्रमशः
………………………………………………………………………………………………………………
(विगत डेढ दशकदेखि उपन्यास र कथा विधामा निरन्तर कलम चलाउँदै आएकी स्रष्टा हुन् सानु शर्मा । हालसम्म उनका पाँचवटा कृतिहरू प्रकाशित छन् । उनको आख्यान–श्रृङ्खला– ‘फरक’ हरेक सोमबार र शुक्रबार नियमितरूपमा प्रकाशित हुनेछ ।)

sanu.sharmaa@gmail.com