कहरको जहर - Aksharang
  • २०७७ फागुन १९ बुधबार

कहरको जहर

 भावना पराजुली

भावना पराजुली

‘सायद म तिमीलाई भेट्न सक्दिनँ होला, बिर्सिदेऊ मलाई अबदेखि’ फोनमा रुखो स्वर मेरो अघोषित प्रेमी पिटरको थियो ।
यति सुनेपछि मलाई एक्कासि बादलस“ग प्रतिस्पर्धामा उडिरहेको चरा जमिनमा पछारिएझैँ भएको थियो । के गरूँ, कसो गरूँ भयो । बाथरुममा निर्वस्त्र भएर चिसो पानीले नुहाएँ, अलिक होस आएझैँ भयो । शरीरको जलन कम भए पनि मन पोलिरह्यो ।
कसैले भनेको सही लाग्यो, ‘जीवनमा कसैले अरूको दिलमा सजिलै घर बनाउँछन्, जब बस्ने समय आउँछ तब उनीहरूले ठेगाना बदलिदिन्छन् ।’
नेपालमा कोरोना कहर देखिनुभन्दा केही दिनअगाडि पिटरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलाई चिनोस्वरूप अक्षय सामीप्यको सुगन्ध दिएर हात हल्लाउँदै विदा भएको थियो । यत्रो सँसार हल्लाउने विध्वँशकारी कोरोनाको त्रासमा विश्व रहँदा म भने प्रेममा परेको थिएँ, उसैको स्पर्शको उन्मादमा । मिलनको अलौकिक पलको व्यग्रता साथ प्रतीक्षारत थिए ।
अनायास फोनले विदेशीको मोह रोषमा परिणत भयो । मानव साँच्चि नै बहुतै स्वार्थी छ, जब आफ्नो अनुकूल हुँदैन तब ऊ अरूलाई दोष थुपारेर भाग्न चाहन्छ । तर मैले सम्पूर्ण कुरा नबुझी उसलाई दोष÷ रोष केही नपोख्ने निर्णय गरेँ ।
कसैको सम्बन्धको भ-याङमा बसेर अरूको बाटो छेक्ने प्रकृति मेरो थिएन । निर्णयका लागि समयको जिम्मा छोडेर साक्षी भावले हेरिरहेँ मनका आवेग, क्षोभ, ग्लानि, कुण्ठा आदि सबै ।
होनोलुलु एयरपोर्ट पुगेर उसले फोन गरेको थियो ।
फेसबुकमा पाँच हजार साथी हुनेहरू आफ्नो कुण्ठा ओकल्ने कोही नपाएर डिप्रेसनको सिकार भएका, अपरिचित साथीका सात पुस्ता चिन्ने आफ्नै परिवारका सदस्यको अनुहार बिर्सने भलाद्मीलाई देखेर विगत केही वर्षदेखि स्वार्थी फेसबुके भीडबाट म टाढिएकी थिएँ । त्यसैले मैले फेसबुकको सहायता लिएर आफैँ भित्र रहेको विश्वासिलो आत्मीय मित्रको चियो गरिनँ ।
अरूभन्दा फरक म एकलकाँटे म साँच्चै मानवका छद्मभेषी पाराबाट आजित भएकी थिएँ । बरु आफैसँग आफैँलाई खोज्ने निश्चयमा ढृढ थिए ।
मूलतः मेक्सिकन भए पनि पिटर अमेरिकाको पर्यटकीय स्थान होनोलुलुमा परिवारसहित बसाइँ सरेको थियो । आध्यात्मिक मानवताको चेत भरपूर भएको ऊ सबैलाई समान व्यवहार गर्ने, दाहिने गालामा डिम्पलसहितको आकर्षक हँसिलो अनुहारले जोकोहीलाई पनि मन्त्रमुग्ध बनाउँथ्यो । नेपालमा तीन महिना बुद्धसम्बन्धी ध्यानका लागि गुम्बामा बस्न सातसमुद्र पार गरेर आएको थियो ।
मेरो स्कुटर सर्भिसिङ्मा दिएकाले त्यस दिन म माइक्रो बसमा चढेर अफिसबाट घर चाबहिलतर्फ जाँदैथिए । मसँगै सिटमा रहेको गोरो छालासँग रेटभन्दा बढी भाडा कुम्ल्याउन खोजेको देखेर मेरो मनै थामिएन र सहचालकलाई मैले भनेँ– ‘भाइ हाम्रो पैसा लिऊ’ भनेर ३० रुपियाँ दिए ।
त्यसपछि विदेशीले मलाई ह्यान्डसेक गर्न खोज्यो । मैले नमस्कार गरे । ऊ मसँग कुरा गर्न थाल्यो । उसको नेपाल भ्रमण दोस्रोपटक रहेछ । म नजिक देखिएका ठाउँहरूको वर्णन गर्दैगएँ । रातोपुलमा केहीबेर जाम भएर बस्दा उसले मलाई भन्यो– ‘अहिले तिम्रो फुर्सद छ भने मलाई पशुपति मन्दिर लगिदेऊ न !’ मैले ‘हुन्छ’ भनँे ।
हामी पशुपतिनाथको मन्दिरतिर लाग्यौँ । किनकिन पाशुपतक्षेत्रमा पुग्नेबित्तिकै मलाई अलौकिक दिव्यताको आभाष हुन्छ । साँझको समय भएकाले आरतीका लागि मानव चहलपहल बढिरहेको थियो । मान्छे र बाँदर एकअर्काका लागि रमिता बनिरहेका थिए । म भने जीवनको रङ्गमञ्चमा पहिलोपल्ट विदेशीका लागि गाइडको अभिनय गरिरहेको थिएँ । हामी कुरा गर्दै गयौँ ।
‘शिवमा प्रत्येक धर्मको मर्म भेट्छु, बुद्धमा शिवत्व पाउँछु । दिव्य पाशुपतक्षेत्र नारोपा, तिलरोपा, गोरखनाथ, कपिलमुनिजस्ता विभिन्न ध्यानीहरूको आराध्यस्थल अनि सबै धर्म, सम्प्रदायको ऊर्जाको पुञ्ज परापूर्वकालदेखि र अहिलेसम्म, हरेक साधनाको तपोभूमि हो यो ।’ ऊ भन्दै थियो म सुन्दै थिएँ ।
लाग्थ्यो, मलाई भन्दा उसलाई धेरै कुराको ज्ञान रहेछ मैले सोचे– ‘हामी छिमेकीको चाहिँ चियो गर्छौ तर आफूभित्रको नाद सुन्न हामी गुरु खोज्दै हिँड्छौँ ।’
वाग्मती आरतीस्थलवरपरमा कोही पूजा–भाँडा माझ्दै, कोही वाद्यवादनमा सुर मिलाउँदै, कोही जीवन निस्सार भनेर वितृष्णी भावमा वाग्मतीको दूषित पानीसँग संवाद गर्दै, कोही सुसाइट नोट लेख्न लागेकोजस्तो, कोही भजनमा नाच्न कम्मर मर्काउँदै, कोही आफन्तको लासलाई डढाएर वियोगको पीडामा भावविह्वल हुँदै, पकेटमारहरू मोटो खल्ती खोज्दै, कोही लास पोलेर आफ्नो सन्तानको उज्ज्वल भविष्य–सपना सिँगार्दै, कोही जागिर/ सरुवा/बढुवा माग्दै, कोेही प्रेमबाट छुटकारा माग्दै, कोही नयाँ प्रेमिका माग्दै, कोही विदेशको यात्रा माग्दै, कोही विदेश गएकालाई फर्काइदिन कामना गर्दै, कोही सन्तान माग्दै, सन्तानका मनबाट निष्कासित बाआमाहरू आँसुमा डुबेर आफ्नै मुत्युको कामना गर्दै, कोही घरमा ढाँटेर आफन्त भेटिएलान् भनेर डराएर प्रेम गर्दै, कोही विदेशी नयाँ फोटो खिच्ने धुनमा व्यस्त हुँदै गरेका जस्ता मानवलीलालाई देखेर सोचेँ साँच्चै इन्द्रेणीझैँ लाग्छ, मलाई पाशुपतक्षेत्र ।
म आरतीमा मग्न भइरहदाँ पिटर आर्यघाटमा लास पोलेको फोटो खिच्दैथियो । ऊ भन्दैथियो–‘तिमीले मेरो जीवनको अर्थ बदलिदियौ । यस्तो जीवन्त दृश्य कहिले पनि देखेको थिइनँ । सुन न, तिमीलाई मृत्युदेखि डर लाग्छ ?’
मैले भने– ‘जन्म र मृत्यु मात्र जीवनका शाश्वत सत्य हुन्, तर पनि आजकल तिथिमिति हेराई विज्ञानको आडमा जन्म गराउने प्रविधि आइसके पनि मृत्यु भने कसैको हातमा आइसकेको छैन । फेरि मेरो जन्मसँगै मृत्यु पनि छायाँसरि मसँगै सुख–दुःखमा हिँडिरहेको छ किन डराउनु नि, मलाई त अभिन्न मित्रजस्तो पो लाग्छ ।’
ऊ मलाई सोध्दै थियो– ‘किन लासलाई घोच्दै बाहिर खुल्ला ठाउँमा पोलेको ? किन मरेको लासलाई तीनचोटि घुमाएको ? किन आफन्तहरू घुमेको ? मरेको मान्छेलाई किन पानी खुवाएको ?’
म भने आरतीको सङ्गीतसँगै ब्रह्मनाद महसुस गर्दैथिएँ । उसका प्रश्न सबै गौण लागे मलाई । मेरो निरुत्तरता देखेर वा किन हो ऊ मलाई समयसमयमा अङ्गालो हालिरहन्थ्यो । यसले सामीप्यको अनुभूति गराए पनि मान्छेका भीडमाझ हामी आँखो भइरह्यौँ । लगभग साढे आठ बजेतिर हामी छुट्टियौँ ।
घर पुग्नासाथ पिटरको मेसेज आयो– ‘आइ लभ यु ।’ यसको रिप्लाइमा ‘गुड नाइट’ मात्र भनेँ ।
भोलिपल्ट बिहान गुड मर्निङ्सँगै ‘डु यु लभ मी’ भन्ने आयो । मलाई झनन रिस उठ्यो । जाबो दुई घन्टासँगै बस्दा केटामान्छेहरू कति सजिलै प्रेमको नाटक रच्न सक्छन् होला । साँच्चै प्रेम किन यति सस्तो छ यस कलियुगमा । यही म्यासेज कति जनालाई फरवार्ड ग-यो होला । म मुरमुरिएँ ।
सायद यो पनि प्रकृतिको नियमित आकस्मिकता होला भनेर चुपचाप अफिस गएँ । अझै रिस शान्त भएको रहेनछ, एउटै सडकमा सँगै हुँइकिरहेको बाइकको सहयात्रीले तपार्इं साइडलाइट हेर्नु भन्दा म झल्यास्स भएँ । एउटा कारमा सवार विद्धान् भुतभुताउँदैँ थिए–‘केटीहरूको मन एकातिर, दिमाग अर्कातिर हुन्छ ।’ स्कुटरको लाइट र म विपरीत दिशामा हँुइकिरहेको रहेछु ।
अफिसको काम सकेर सडकमा पुग्दा पिटरले हात दिइरहेको रहेछ । यसले नछोड्ने भयो भनेर म आत्तिएँ । बेकार मैले अफिसको नाम भनेछु । स्कुटरमा पछाडि बस्न इसारा गरे । बच्चाझैँ चपक्क टाँसिएर बस्यो र मौनतालाई चिर्दै भन्यो– ‘नेपाली खाना खुवाउन लग है, मलाई धेरै भोक लागेको छ ।’ विकल्प थिएन । चुपचाप नेपाली थकाली भान्साघरतिर गुडिरहेँ ।
खाना अर्डर गरेपछि उसले मेरो हात समाउँदै भन्न थाल्यो– ‘म बुद्धिजम पढेको मान्छे हुँ । अमेरिकामा भए पनि अहिलेसम्म हामी संयुक्त परिवारमा नै छौँ । मेरो एकजना केट नामकी साथी थिई । एकदिन ऊ मूच्र्छा परेपछि मात्र थाहा भयो शरीरमा क्यान्सर रहेछ । हामी धेरै समय सँगै बस्न पाएनौँ । ऊ नभएपछि म विक्षिप्त भएँ । दुई वर्षसम्म उसको अशान्त आत्मा बोकेर भारत, नेपाल घुमेँ । विभिन्न आश्रम, गुम्बामा गएर बत्ती बालेँ । उसको आत्माले अझै छोडेन । हिजो तिमीसँग पशुपतिमा रहँदा उसको आत्मा पनि खुसी भएको अनुभूत गरेँ । उसैको आत्मादीप तिमीमा गएर विलीन भयो, तिमीमा अदृश्य दैवीशक्ति छ । त्यसैले मैले तिमीलाई धेरैपटक अङ्कमाल गरेँ । तिमीले मलाई जीवनको सम्पूर्ण खुसी दियौ । हिजोको रात म वर्षांैपछि पूर्णरूपमा सुतेँ । तिमीसँग बिताएका क्षण अमूल्य छन् मेरा लागि । तिम्रो इच्छा के छ, त्यो म जान्दिनँ तर म तिमीलाई सास छऊञ्जेल प्रेम गरिरहनेछु । तिम्रो जीवनमा मेरो हक त छैन तैपनि मेरा लागि एकपटक सोचिदेऊ ।’ म मौन बसिरहेँ । उसका कुरामा छलकपट थियो कि थिएन म जान्दिनँ तर उसका आँखाका पानीले आफैँसँग आफैँलाई बयान दिन गीता छुनुपर्छ र भन्दै सत्यताको वकालत गरिरहेको थियो । खाना खाएर हामी छुट्टियौँ ।
भोलिपल्ट बिहान नित्यकर्म सकेपछि फोन खोलेर हेर्दा उसको म्यासेज आएको रहेछ –‘म आजदेखि तीन महिनाका लागि गुम्बामा ध्यानमा जान्छु मलाई भेट्दिनौँ ।’ तल ठेगाना दिएको थियो ।
म अनायास कपडा लगाउन थालेछु । उसले दिएको होटल मेरियट, नक्सालतिर मोडियो मेरो स्कुटर । रिसेप्सनकी राम्री केटीले मलाई नमस्कार गरिन् । मैले उसको नाम दिई बोलाइदिन आग्रह गरे ।
ऊ जिम गरेको शरीरको पसिना पुस्दै आयो । प्रफुल्ल मुद्रामा मलाई अङ्गालो हाल्दै उसको कोठातिर लिएर गयो ।
बाहिरको पूरै स्विमिङ्पुलको दृश्य देखिने सूर्यको किरण ओछ्यानमा उठाउन आउने अनि चन्द्रमा आफैँ उसका लागि निदरीको गीत गाउने साह्रै लोभलाग्दो कोठा थियो । मैले उसलाई सोधेँ– ‘यस्तो महङ्गो होटलमा बसेर माइक्रोमा त्यो दिन किन हिँडेको तिमी ?’
उसले मलाई देखाउँदै रेडिमेट उत्तर दियो– ‘मेरो खुसी तिमीसँग भेट्न अनि मलाई सार्वजनिक यातायातका मान्छेको मनोविज्ञान पढ्न साह्रै मनपर्छ ।’
बाहिर पोखरीमा युवती आफ्ना अङ्गहरूद्वारा नीलो पानीलाई नुहाउँदै थिइन् । मेरो आँखा त्यही छताछुल्ल पोखिएको यौवन टिप्नमा व्यस्त भइरह्यो । साँच्चि नारीसौन्दर्य रहस्यकी खानी हो । म नारी भएर नारी सौन्दर्यमै मोहित थिएँ सायद प्रकृतिको विपरीत । मनमा ‘आहा’ को धुन बजिरह्यो ।
हामी ब्रेकफास्ट खाँदै गफ गर्दैथियौँ । ऊ मलाई स्यान्डविच खुवाउँदै आफू औँला चुस्दैथियो । म भने मनबाहिर कानभित्र राखेर बसेको थिएँ । मेरो ध्यानलाई ऊतिर आकर्षित गराउन बीचैमा उठेर उसले फिल्मी स्टाइलमा घुँडा टेकेर फूलदानीको फूल दिदैँ ‘आइ लभ यु’ भन्न थाल्यो । म भागिरहेको माछो जालमा परेझैँ भए तर पनि पहाडको चट्टानझैँ निर्भय, मौन बसिरहेँ । उसले भन्यो– ‘तिमीले नभनेसम्म यत्तिकै बसिरहन्छु ।’
उसको त्यो जिद्दीपनले म होसमा पनि बेहोस भई उसकै प्रेमिल शब्द दोहो¥याउन पुगेछु । त्यसपछि उसको अनुहारको कान्तिले मलाई समेत उजिल्याएको थियो । हड्डीसम्म स्पर्श हुनेगरी बाहुपाशमा राखी मलाई फूल बनाएर ऊ निर्वाधरूपमा भमरा बन्न थाल्यो । ‘म पनि शिरीषको फूलकी साकम्बरी हुन्छु, छोडिदेऊ मलाई !’ म चिच्याइरहेँ अन्र्तमनमा ।
तर म त भित्रैदेखि ऊर्जावान बन्दै गइरहेकी थिएँ । झ्याल बाहिर सुन्दर कान्तिपुर सहर मेरा लागि लजाएझैँ घुम्टो ओढिरहेको थियो । सायद प्रेमको साँचो अर्थ यही होला– आफू रित्तिएर अरूलाई खुसी दिनु । प्रेमको शाब्दिक अर्थ पत्ता लगाउन नसकेकी मैले यसैलाई प्रेमको श्रीपेच पहि¥याइदिएँ ।
ऊ जिस्किदैँथियो– ‘अब मलाई ध्यानमा बस्न गाह्रो हुन्छ तिमीलाई सम्झिँदा, कि नजाऊँ ?’
‘तिमी जाऊ म कुरिरहनेछु’ मैले भनेँ ।
उसले तुरुन्तै भावुक हुँदै भन्यो– ‘तिमी मेरा लागि भए पनि अमेरिकाको भिसा आवेदन देऊ न है प्लिज ।’ मैले स्वीकृतिमा टाउको हल्लाएँ । हामी भेट्ने वाचासहित छुट्टियौँ । ऊ फर्कने दिन फेब्रुबरी १० को रिमाइन्डर राखेँ ।
जीवनमा म पहिलोपल्ट उसैको लागि अमेरिकाको भिसा आवेदन दिन गएँ । लगभग एक हप्तामा अन्तरवार्ता भयो । नेपाल फर्कने कुनै ठोस आधार नभएको भन्दै म अस्वीकृत भएँ । कारणहरू उल्लेख गरेको सेतो कागज बोक्दै म बाहिरिएँ ।
नभन्दै त्यो दिन आइपुग्यो जसलाई मैले दिनरात एक गरेर व्यग्रताका साथ उसैको तस्बिर नियालेर पर्खिबसेकी थिएँ । ध्यान सकेर आउनेबित्तिकै उसले मलाई फोन ग-यो र भन्यो– ‘मेरो देश तुरुन्तै जानुपर्ने भयो, अफिसियल कामले त्यसैले तिमीलाई भोलि भेट्छु है ।’ उसको स्वर समस्यामा दबेझैँ थियो ।
मसँग बिदा भएर फेब्रुबरी ११ का दिन ऊ कोरिया ट्रान्जिट हुँदै हवाईको होनोलुलुका लागि उड्यो ।
उसको एक हप्तापछि अर्को फोन फेरि आयो । लगातार फोन आइरहँदा म उठाउन बाध्य भएँ । पिटरले भन्यो– ‘सरी बेबी तिमीलाई दुःख दिएँ ।’
मैले झर्कदैँ भने– ‘किन फोन गरेको, नगर ! तिमीले बिर्सिन भनेको होइन । मलाई अब तिमीसँग कुरा गर्नु छैन ।’
बोल्न गाह्रो भएको आवाजमा ऊ भन्दै थियो–‘म करिब एक महिनादेखि बिरामी छु ।’
उसको आवाजले मेरो प्रेम उम्लेर आयो र भनेँ– ‘के भयो तिमीलाई ?’ म रुन थालेछु ।
उसले सास रोकिन लागेझैँ बिस्तारै भन्नथाल्यो– ‘पहिले घरमै आइसोलेसनमा बसेँ तर एक्कासि गाह्रो भएर अहिले अस्पतालमा छु । डाक्टरले पनि हार खाइसके । मलाई कोरोना पोजेटिभ देखियो । तन नभए पनि यो आत्मा तिमीसँगै रहनेछ । गुडबा…..ई…ई ।’
…………………………………
(पराजुली नवोदित स्रष्टा हुन्)
bhawanaparajuli29@gmail.com