हामी तपस्चर्यामा छौँ - Aksharang
  • २०७७ चैत २९ आइतबार

हामी तपस्चर्यामा छौँ

रमण घिमिरे

रमण घिमिरे

विचार पानीजस्तै हो । पानीको स्वभाव हो बग्नु । पानी सदैव बगिरहन्छ । मानिसको विचारलाई पानीसँग तुलना ग¥यो भने यसलाई बुझ्न अझ सहज र सरल हुन्छ । विचार बगिरह्यो भने खोलामा दिनहुँ नयाँनयाँ पानी थपिएझैँ विचारमा पनि नयाँनयाँ परिस्कारहरू हुँदै यो गन्तव्यतिर अभिमुख हुनपुग्छ । पानी बगिरह्यो भने सदा निर्मल, स्वच्छ र स्वस्थकर हुन्छ । विचार पनि प्रवाहित भइरह्यो भने त्यसले नयाँ सम्भावनाका ढोका खोल्छ र नवीननवीन आयामहरू प्रादुर्भाव हुन्छ । विचारले नै त दिशानिर्दिष्ट गर्ने हो नि समाज, राष्ट्र र दुनियाँजगत्लाई । प्रविधि त विचारको भ्रूणबाट जन्मिएको एउटा औजार मात्र हो ।
हो सधैँ जीवनलाई एकनास प्रवाहित गर्न सम्भव छैन । यात्रामा अनेकौँ बाधा–अड्चन र रोकावटहरू आउँछन् । अनि विचारहरू पनि मन्द हुनपुग्छन् । नदी पनि त सबै ठाउँमा सललल बग्न कहाँ पाउँछ र ? अनेकौँ बाँधहरूलाई नाघ्दै, छल्दै, धारहरूको बाटो बदल्दै बल्ल ऊ समुद्रमा विलय हुनपु्ग्छ । र यो पनि सत्य हो, सबै नदी समुद्रमा पुग्न सक्तैनन् ।
कहिलेकाहीँ नदीले धार बदल्छ । मानिसको जीवन पनि नदीजस्तै हो । समयले मानिसका विचारहरूलाई परिवर्तन गरिरहन्छ । किनभने सधैँ एउटै बाटो र गतिमा हिँड्न अवश्य नै सम्भव छैन । नयाँनयाँ विचारहरूको धारमा बग्नुपर्छ । कहिले चट्टानसँग ठोक्किएर आहत हुनुपर्छ, कहिले भिरालोमा रमाउँदै सुलुलुलु बग्नुपर्छ । तर जहाँ अवरोधहरू तेर्सिन्छन्, नयाँनयाँ बाधा–अड्चन र जटिलताहरू टाँगो तेस्र्याएर उभिएका हुन्छन्, त्यस बेला मानिसले आफ्नो बाटो बदल्नुपर्छ, अथवा ती सारा अवरोधहरूलाई नाघेर गन्तव्इमा टेक्नुपर्छ । नदीलेझैँ । यही नै बुद्धिमानी र विवेकपूर्ण निर्णय हो ।
नदीको गन्तव्य समुद्र हो । तर कुनै पनि नदी आफ्नो मूलबाट निस्केर एक्लै समुद्रसम्म पुग्न सक्तैन । उसले आफूजस्तै अन्यअन्य नदीहरूमा मिसिँदै र अरूलाई आफूमा मिसाउँदै, अझ विशाल र विस्तृत फैलावट बनाउँदै बगेर मात्र ऊ अन्ततः समुद्रमा पुग्छ । एक्लै बग्छु भन्ने हठ गर्ने खोलाखोल्छीहरू मुहानबाट निस्केको केही समयपछि कुनै तालमा गएर थुनिन्छन् अथवा बालुवामै विलीन हुनुपुग्छन्। मानिसमा पनि यही नियम लागू हुन्छ । ऊ एक्लै हिँडेर सफलताको किनारमा पुग्न सक्तैनन् । उसलाई गन्तव्यसम्म पु¥याउने अनेकौँ सहयोगी हातहरू हुन्छन्, थुप्रै सहायक काँधहरू हुन्छन् । यी हातहरू, यी काँधहरू पृष्ठभागमा हुन्छन् र दृश्यबाट प्रायः अलप नै हुन्छन् । तर मानिस आफूले यी काँध र हातहरूलाई भुल्नु हुँदैन । जुन दिन कसैले आफ्ना सहयोगी हात र काँधलाई भुलेर मैले एक्लो प्रयन्तमा गन्तव्य भेटेँ भन्ने दम्भ गर्दछ, त्यसपछि उसको विचार र विकास दुवै पानीविनाको मरुभूमि हुनपुग्छन् ।
मानिस जन्मेपछि वृत्ति र विकासको खोजीमा आफ्नो जन्मथलो छाडेर कहाँकहाँसम्म पुग्छ, टुङ्गै हुँदैन । तर संसारका सबै मानिसले पहिला उचाल्नेएउटै पाइलो हो । र, त्यो पाइलो भुइँमा टेकपछि स्वतः अर्को पाइलो उचालिन्छ । यसरी एउटा पाइलो उचाल्दै र अर्को पाइलो भुइँमा टेक्दै उसले जीवनको लामो यात्रा तय गर्छ । पाइला उचाल्नु भनेको खुट्टाका पैताला चाल्नु मात्र होइन । यी पाइलाहरूभन्दा सशक्त र गतिशील पाइला त मनका हुन्छन्, विचारका हुन्छन्, अवधारणाका हुन्छन् र उद्देश्यका हुन्छन् । यस्तै पाइलाहरूले नै मानिसलाई उचाइमा अवस्थित गराउने हो ।
यो बन्दाबन्दीमा मानिसका शारीरिक पाइलाहरू अवश्य रोकिएका छन् र जमेको ताल–तलाउ हुनपुगेका छन् । तर मनका पाइला अर्थात् विचार त कहिल्यै जम्दैनन् । जमेका छैनन् पनि । बन्द कोठामाबसेर आज मानिसहरू आफूभित्र नयाँनयाँ सोच र भावना उमार्न सक्षम भएका छन् । यसअघि, बाहिर निस्केर जीवनवृत्तिको भागदौडमा अविराम वर्षौं ओहोर–दोहोर गर्दा मानिसले आफूतिर फर्केर हेर्नै पाएको थिएन । उसले आफू खासमा के हुँ भन्ने बुझ्ने अवसर नै पाएको थिएन । जीवन र जगत्को कोलाहलमा भौँतारिँदाभौतारिँदै मानिसले ‘स्वभाव’ लाई पल्र्गेल्ने मौकै पाएको थिएन । बाहिरी दुनियाँको रमझमलाई हेर्दाहेर्दा आफूभित्रको स्वत्वलाई चिन्नै सकेको थियो । तर अहिले मानिस आफ्नो लागि ‘मानिस’ भएको छ । ‘म को हुँ, मैले विगतमा के गरेँ र भावी दिनमा के गर्नुपर्छ’– यति बेला हरेक मानिसलाई समयले यो सोच्ने सुनौलो अवसर दिएको छ । यसको उत्तर खोज्ने सजिलो बाटो देखाएको छ । यो ध्यानको समय हो । अहिले हामी तपस्चर्यामा छौँ । आफूलाई बोध गरिरहेछौँ ।यति बुझ्यो भने मानिसले ‘स्वत्व’ पहिल्याउन सक्छ ।
यस अवस्थामा चिन्ता, पीर, उच्चाट या उकुसमुकुसजस्ता कुराहरूलाई पन्छाएर आत्मबोध गर्ने प्रयत्न ग-यो भने भोलिका दिनमा उसले धेरै कुरा पाउनेछ । चामलबाट केलाएर घुन फ्याँकेझैँ हिजोका गल्ती, कमीकमजोरीलाई निफनेर फ्याल्दै निर्मल मनले भोलिका लक्ष्य, योजना र गन्तव्यको खाका बुन्यो भने यो समयभविष्यका लागि उपलब्धिपूर्ण हुनसक्छ । यतिखेर हाम्रा खुट्टाहरू मात्र बन्धक भएका हुन् तर विचार र परिकल्पनाका बाटाहरू त क्षितिजभन्दा फराकिला भएका छन् । हिजोका दिनमा ज्ञात–अज्ञातमा कसैलाई बिझाएको भए, त्यसलाई आत्मालोचना गरेर क्षमायाचना गर्ने योभन्दा अर्को सुयोग प्राप्त हुँदैन । सायद वर्षौंं पुराना कटुतालाई अहिले एक फोनको भरमा समधुर बनाउन सकिन्छ ।
आज परिस्थितिले मानिस–मानिसबीचका सारा विभेदहरूको अन्त्य गरिदिएको छ । मानिस–मानिसबीचको कथित दुर्लङ्घ्य सीमाहरू सारा भत्किएका छन् । र, यतिखेर सबै मानिसले आत्मबोध गरेका छन्– मानिस–मानिसबीच कोही पनि ठूला–सानो हुँदैन । त्यसैले हिजोसम्मको ठूलो ओहोदाधारी पनि आज बन्द कोठामै थुनिन बाध्य छ । उसको भागमा पनि झ्यालबाहिरको त्यही सीमित आकाश मात्र परेको छ । सुनकै जुत्ता भए पनि अहिले तिनले खुट्टा पाउन सक्तैनन् । जति नै महँगा गहना र पोसाक भए पनि तिनले सजिन शरीर पाउँदैनन् । आज त मान्छे ‘फगत मान्छे’ भएको छ । हिजो जति नै शक्तिशाली छु भनेर आत्मरति गर्ने मानिसले पनि आज प्रकृतिभन्दा अर्को ठूलो शक्ति हुँदोरहेनछ भन्ने ज्ञान पाइरहेछ । र, सद्विचार र सहिष्णुताभन्दा ठूलो अस्त्रअर्को केही रहेनछ भन्ने सत्यसँग पनि ऊ साक्षात्कार गर्नथालेको छ । यस प्रतिकूल र शून्य समयमा बोध गरेका यी केही कुरालाई मानिसले आफ्नो जीवन–मन्त्र बनाएर हिँड्यो भने र आफ्नो स्वभावलाई बुझ्न सक्यो भने भोलिका दिनमा उसका लागि यस तपस्याकालबाट प्राप्त गरेको सबैभन्दा महान् वरदानयही नै हुनसक्छ ।