फरक– १५ - Aksharang
  • २०७७ माघ ४ आइतबार

फरक– १५

सानु शर्मा

सानु शर्मा

बत्तीको झलमल्ल उज्यालोमा मैले देखेँ, त्यो वासु नै थियो । नाकबाट भलभल बगिरहेको रगत पुछ्ने प्रयास गर्दै ऊ करायो ‘साले… नाकै भेटिस् हिर्काउनलाई ? यसै पनि मेरो नाक कमजोर छ त्यसमाथि…।’
‘त तँ होस् यो सब उपद्रोको जिम्मेवार ?’ अविश्वास, आश्चर्य अनि तिव्र आघातले बहुलाउँदै म कराएँ– ‘केका लागि गरिस् वासु, यो सब ? केका लागि ? पैसाको लागि ? त्यो त म सधैँ तयार थिएँ तैँले मागेको भन्दा धेरै दिन, फेरि केका लागि ? एउटै थालमा खाएर, एउटै लुगा पालैपालो लगाएर, एउटै ओछ्यानमा सुतेर अनि तेरो आवश्यकताको बेला तेरो काँधमा काँध मिलाएर चट्टानजस्तै तेरो साथमा उभिएर जुन सम्मान मैले तँलाई दिएँ, के त्योभन्दा पनि ठूलो लाग्यो तँलाई मेरो सम्पत्ति ?’ अनायास मेरा आँखामा आँसु भरिए । मैले अवरूद्घ स्वरमा बिस्तारै भनेँ– ‘कहाँ म तँलाई भगवानभन्दा एक स्टेप तलको दर्जा दिइरहेँ अनि कहाँ तँ.. ठीकै भन्थी सुप्रिया–जुत्तालाई टाउकोमाथि राख्दैमा जुत्ताको औकात फेरिन्न…।’ मैले थाहा छैन कत्ति समयपछि हात उठाएर आफ्नो आँखामा भरिएको आँसु पुछेँ अनि उग्र स्वरमा कराएँ– ‘मेरो मित्रता, मेरो सम्मानलाई लत्याउन तँलाई अलिकति लाज नलागे पनि कमसेकम मेरो बुवाको स्नेहको त मान राखेको भए हुन्थ्यो ? कहाँ फरक गर्नुभयो उहाँले तँ र ममा ? एउटै स्कुल, एउटै कलेजमा पढाउनुभयो । मर्नुअघिसम्म तेरो काम, तेरो भविष्यको चिन्ता थियो उहाँलाई । एउटा ड्राइभरको छोरालाई माया, स्नेह मात्र होइन, आफ्नो सन्तानसरह पालन–पोषण गर्नुभयो उहाँले तर तँ ? तँ त…!’
‘प्रत्यूष ! तैँले, तेरो खानदान, परिवारले मलाई जे जति दियो त्यसको कुनै मूल्य म लगाउन सक्दिनँ । तेरो परिवारले, तैँले, बाबा र मेरा लागि जे जति गर्यौ, गरिरहेछौ, त्यो मलाई सधैँ याद छ र रहिरहने छ तर अहिले यतिबेला यो तुच्छ ड्राइभरको छोराले तँलाई जे दिएको छ त्यो पनि कम छैन…।’ उसले मेरो चिच्याउनुको कुनै पर्वाह नगर्दै स्थिर स्वरमा भन्यो ।
‘के मतलब ? के….के भनिस् तैँले…?’ मैले अलमल्ल पर्दै सोधेँ । उसले आफ्ना दुवै हात छातिमा बाँध्यो अनि आँखाको इसाराले मेरो खुट्टातिर देखायो । केही बेर म उसको रगत बगिरहेको नाकलाई अनि आफ्नो खुट्टालाई पालैपालो हेरिरहेँ तर मैले अझै केही बुझिनँ । अतः उस्तै रुखो स्वरमा भनेँ– ‘के, के दिइस् तैँ… ले…!’ अनायास मेरो अनुहारको रङ फेरियो ।
मैले आतिङ्कत भावमा टाउको झुकाएर आफ्नो शरीरलाई धानेर ठडिएका आफ्ना दुवै खुट्टालाई हेरेँ अनि हाहाकारपूर्ण स्वरमा भन्न कोसिस गरेँ ‘म..म..म…।’ असीम उत्तेजनाले म अगाडि बोल्न सकिनँ । रन्थनिएँ । खुट्टादेखि टाउकोसम्म हल्लिएँ । मेरा खुट्टाहरू लुला भए । म लड्न खोजेँ तर म लड्नुभन्दा पहिल्यै वासुले मलाई दह्रोसँग समाएर पुनः उभ्याउँदै कठोर स्वरमा भन्यो– ‘खबरदार..! फेरि घुँडा टेकिस् भने । आफ्नो नाकको बलि दिएर तँलाई उभ्याएको छु, त्यसमाथि…’ अनायासै उसको स्वर भारी भयो– ‘त्यसमाथि मुढोझैँ लडेर आँसु बगाइरहेको प्रत्यूषलाई हेर्नसक्ने साहस छैन मभित्र । उठ.. . उठेर अँगाल मलाई अनि यो भरोसा दिला कि आज पनि तँ मेरो साथमा छस् । प्रत्यूष, यत्रो ठूलो संसारमा तँबाहेक मेरो अर्को कोही छैन । त्यसैले तँलाई गुमाएर पाएको कुनै पनि भौतिक चीज मलाई मन्जुर छैन ।’
अन्तिम शब्द बोल्दासम्म उसको स्वर अवरूद्घ भयो । उसले कसेर मलाई अँगाल्यो । म भावशून्य, त्यसैत्यसै चिसिँदै गएँ ।

त्यसपछिको अर्को एक घन्टा ऊ मलाई सम्झाइरह्यो– मेरो घरमा लागेको आगो कुनै संयोग थिएन, षड्यन्त्र थियो । मेरो यो अपाहिज हुनु कुनै बिमारी थिएन, षड्यन्त्र नै थियो । किनभने मेरो रगतको स्याम्पल टेस्टका लागि उसले यौटा डाक्टर साथीमार्फत् दिल्लीसम्म पुर्याएको थियो र आउट अफ द वे गएर उसको शङ्काको आधारमा गरिएको त्यो स्लो प्वाइजन–भेनम टेस्टको लागि ऊ खुद डाक्टरको साथमा दिल्ली पुगेथ्यो, जहाँ उसले मेरो ल्याब रिपोर्टमा न्युरोटक्सिन–स्नेक या स्पाइडर भेनमको अंश भेटिएको थाहा पाएथ्यो । वासुका अनुसार न्युरोटक्सिनको सेवनले मानिसको शरीरलाई मात्र होइन अपितु दिमागलाई पनि निस्क्रिय बनाउँछ र अन्त्यमा मानिस मर्छ । तर मृत्युको लक्षण हृदयघातबाट भएको जस्तो देखिन्छ । मेरो रगतमा न्युरोटक्सिन भएको प्रस्टै देखिएको थियो । त्यही टेस्टका लागि दिल्ली र काठमाडौँको दौडधूपमा व्यस्त वासुले मलाई समय दिन नसकेको रहेछ । म भने उसको बारेमा नानाथरी सोचिरहेँ । उसको बारेमा गलत सोचेकोमा मेरो मनले नमज्जा मान्यो ।
‘म कसैलाई सुँइको दिन चाहन्नथेँ यो सब कुराका बारेमा । त्यसैले तँलाई पनि केही भनिन् । यौटा शङ्काको आधारमा गरेको टेस्टको के रिजल्ट निस्कन्थ्यो, त्योसँग म आफैँ अनभिज्ञ थिएँ त्यसैले…।’
‘तर यार, तँलाई यो टेस्ट गराउने आइडिया आयो कहाँबाट ?’ मैले आश्चर्यित हुँदै सोधेँ ।
‘तँलाई याद छ, तेरो डाक्टर साथी ? डाक्टर पाण्डे ?’ उसले सोध्यो । मैले सहमतिसूचक टाउको मात्रै हल्लाएँ ।
‘एकदिन अचानक उसैसँग पुतलीसडकमा भेट भाथ्यो । पोखराबाट भर्खर यता सरेको रहेछ । तेरो हालखवर सोध्याथ्यो उसले । मैले तँ बिरामी भएको कुरा भनेँ । उसले के बिरामी ? भनेर सोध्यो । बिमारी त हामीलाई पो कहाँ थाहा थियो र ? त्यसैले मैले तेरो स्थिति बताएँ । डाक्टरले सुनाएको निस्कर्ष सुनाएँ । सुनेर ऊ निक्कै बेर घोरियो । तेरा सबै रिपोर्टहरू लिएर उसको क्लिनिकमा आउन भन्यो । मैले लिएरगएँ,’ वासुले मतिर हेरेर भन्यो– ‘जे भए पनि वर्षौं विदेशमा काम गरेर, नाम कमाएको डाक्टर थियो, केही जोड–घटाउ निकालि पो हाल्थ्यो कि भन्ने सोचेको थिएँ तर मुलाले हप्ता दिन हल्लाएर, यहाँ–उहाँको पर्सनल कुराहरूबारे इन्क्वाइरी गरेर दिमागमा चुर्ना हालिदियो !’
‘के भन्यो ?’ मैले उत्सुकहुँदै सोधेँ ।
‘स्लो प्वाइजनको कुरा गर्याे !’ वासुले भन्यो– ‘पहिले त मैले उसको त्यो कुरा सुन्नै मानिनँ तर उसले आफूले गरेको रिसर्चको बारेमा सुनायो । तेरो रगतको स्याम्पल दिल्ली लिएर जान आफैँ कस्सियो अनि बल्ल म उसको कुरा सुन्न तयार भएँ । त्यति कहलिएको डाक्टर थियो– हावामा त केही किन भन्थ्यो र भन्ने लाग्यो । हाम्रो घरको वातावरणले पनि उसको कुरालाई हावामा नउडाउन वर्न गर्याे । त्यै भएर मैले उसको कुरामानेँ ।’ वासु बोलीरह्यो– ‘त्यसैले तेरो ब्लड स्याम्पल लिनका लागि उसले आफ्नै क्लिनिकबाट स्पेसल्ली क्वालिफाइड मान्छे पठाएको थियो । तँ त स्याम्पल दिन राजी नै थिइनस्, मैले कत्ति गरेर मनाएको थिएँ तँलाई । याद छ ?’
मैले सोचपूर्ण भावले टाउको हल्लाएँ ।
‘अहिलेसम्म यो टेस्टको बारेमा, रिजल्टको बारेमा र ड्रग्सको बारेमा, टेस्ट गर्ने डाक्टरहरूको टिमलाई, मलाई र अब तलाईंबाहेक उसलाई मात्रै थाहा छ, जसले तँलाई यो ड्रग ख्वाएको थियो ।’ बासुले भन्यो ।
‘तर कसरी, कसले ?’ मैले अन्योलपूर्वक भनेँ– ‘म त यो चीजको बारेमा पहिलोपटक सुन्दैछु भने प्रयोगको त कुरै भएन । वासु, कसले ख्वायो होला त्यो चीज मलाई जसको बारेमा म पहिलोपटक सुन्दैछु ? त्यो पनि यति धेरै कि…कि म…।’
‘यही त करोडौँको प्रश्न छ,’ वासुले भन्यो– ‘यति दुर्लभ र अनौठो ड्रगसम्म कसको पहुँच हुनसक्छ ? को जानकार हुनसक्छ यति खतरनाक ड्रग्सको ? इन्द्र मामा, सुप्रिया, श्रेया, सुमन्त, सुदर्शन या फुपू ?’
‘फुपू पनि ?’ मैले अविश्वासपूर्वक भनेँ ।
‘किन ? फुपू किन हुनसक्नु हुन्न ?’
‘वासु, कुनै पनि घटना हुनुको पछाडि कुनै न कुनै उद्देश्य पक्कै हुन्छ । तर…तर यहाँ उद्देश्य कहाँ छ ?’
‘किन छैन, तेरो मर्नुले त धेरैको उद्देश्य पूरा हुन्छ । उद्देश्य किन छैन ?’
‘मतलब, के भन्न चाहन्छस् तँ ?’
‘तेरो यो यत्रो सम्पत्ति, के यो उद्देश्य हुन सक्दैन ?’
‘तर वासु, त्यो त मैले तेरो नाउँमा लेखिदिएको थिएँ भने…।’
‘त्यो कुरा तँलाई र तेरो वकिललाई बाहेक अरू कसैलाई कसरी थाहा हुनसक्थ्यो, होइन र ?’
‘एस, मे बि यु आर राइट…।’ मैले केही बेर सोचेर भनेँ– ‘तर वासु, पैसा अरूको उद्देश्य भए पनि फुपूको हुन सक्दैन । किनभने हजुरबुवा, बुवाले जेजति उहाँका लागि दिनुभएको थियो, त्यो त उहाँले लिन मान्नु भएन, जबर्जस्ती मलाई नै फिर्ता गर्नुभयो भने सम्पत्तिका लागि उहाँले यो सब गर्ने त कुरै आउँदैन । अरूको त कुरै छोड, हजुरबुबाले उहाँलाई दिएको थापाथलीको घरको मात्र हिसाब गर्ने हो भने पनि दसौँं करोड पुग्छ । त्यसमाथि जस्तो उहाँ हुनुहुन्छ, उहाँलाई हेरेर कसले भन्न सक्छ कि यो सबको पछाडि उहाँ हुनुहुन्छ ?’
‘कुरा त ठीक हो तेरो, किनभने तेरो मृत्युको खबरले जति आघात उहाँलाई पुर्याएको देखिन्छ, त्यति अरू कसैलाई परेको देखिन्न । प्रत्यूष, उहाँ त बेहोस नै हुनुभएको थियो खबर सुनेर । एम्बुलेन्स बोलाएर हस्पिटल नै पुर्याउनुपरेको थियो उहाँलाई । तीन दिन हस्पिटलमा बस्दा उहाँको बिलौना सुनेर आँसु नचुहाउने कोही थिएन त्यहाँ । फर्केर पनि उहाँ कहीँ जान मान्नुभएको थिएन । ‘मेरो प्राति आउँछ अनि जहाँ जाने हो जान्छु’ भनेर त्यही कम्पाउन्डमै बसिरहनुभएको थियो । मैले बल्लतल्ल उहाँलाई थापाथलीको घरमा पुर्याएर आएको थिएँ । अहिले पनि उहाँको अवस्था खासै ठीकछैन …।’ वासुले बिस्तारै भन्यो । मेरा आँखा रसाए उहाँको दुर्दशा सुनेर ।
‘बाँकी अरू नि ?’ मैले सोधेँ ।
‘बाँकी अरू पनि रोए, कराए । बहुलाएर देखाउने कसरसम्म छोडेनन् । तर थाहा छैन किन मलाई उनीहरूको त्यो रुनु, कराउनु बनावटीसिवाय केही लागेन । दोस्रो दिनदेखि सुप्रिया आफू ‘प्रधान मेन्सन’ को सर्वेसर्वा भएको उद्घोष गर्नथाली भने इन्द्र मामा उसलाई झुटो सावित गर्न कम्मर कसेर लाग्नुभयो । कमलले सुप्रियाको उद्घोषको पुष्टि गरेपछि सुप्रियाले मामालाई घरबाट निकालिदिई । त्यसपछि बैरिस्टर कवीन्द्रराज कँडेलले आएर मानौँ बम फोडिदिनुभयो । सुप्रिया उहाँले ल्याएको वारिसनामा झुटो भएको दाबी गर्न थाली । अहिलेसम्म गर्दैछे । सुनेको छु मुद्दा हाल्दैछे रे ममाथि, अनि कमल पनि उसैलाई साथ दिइरहेको छ । उसको दाबी पनि यही छ कि ऊसँग भएको वारिसनामा नै तेरो अन्तिम र साँचो वारिसनामा हो । अँ, यो सबको बीचमा श्रेया एकदमै चुप छे, कसैसँग बोल्दिन, कसैको कुनै कुराको जवाफ पनि दिन्न । एक दिन मसँग केवल यत्ति नै भनीण्ज्ञछण् ‘दुनियाँ हाँक्ने खुबी भएको प्रत्यूषमान प्रधान के साँच्चै नै यति सहजै मर्न सक्छ ? तपाईंलाई विश्वास लाग्छ ?’
‘मामाको प्रतिक्रया के छ नि ?’ मैले सोधेँ ।
‘दुई–चार दिन त खुब हल्लाखल्ला मच्याए राणाजीले । वकिलकहाँ पनि खुब धाए । तर कहीँ, कतैबाट पनि दिदीको सम्पत्तिमा दाबी गर्न मिल्ने समर्थन र आश्वासन नपाएपछि थाकेर चुप लागे । अस्ति एकपटक अफिसमा आएका थिए । तँ पत्याउँदैनस् यार, केही दिनमै उनको हालत कस्तोबाट कस्तो भएको छ । केही बेर छेउ न पुच्छरको कुरा गरे अनि ‘अलिकति पैसाको खाँचो भएको’ कुरा गरे । उनको पहिलेको व्यवहार र कुरा सुनेर त दिन मन थिएन तर अहिलेको अवस्था देखेर मन मानेन । त्यसैले २५ हजार रुपियाँ दिएर पठाएँ ।’ वासुले भन्यो । मेरो मन खल्लो भयो तथापि मैले प्रसङ्ग फेर्दै फेरि सोधेँ– ‘सुदर्शन र सुमन्त नि ! के छ उनीहरूको हालखबर ?’
‘थाहा छैन यार ! आगलागी भएको दिनदेखि नै उनीहरूलाई कसैले भेटेको, देखेको छैन । पुलिस पनि खोजिरहेको छ दुवैलाई, तर…।’
‘कहीँ यो उनीहरूकै मिलिभगत त होइन ? मैले पैसा दिन बन्द गरेदेखि सबैको व्यवहार मप्रति बिग्रिएको थियो । खुल्ला धम्की नै दिनथालेका थिए पछिपछि त । के भन्न सकिन्छ– कसले आफ्नो धम्की पूरा गरेर देखायो ? तर…तर तँ…, तेरो प्रतिक्रिया के थियो मेरो मृत्युको खबर सुनेर ?’
‘मेरो कुनै प्रतिक्रिया नै थिएन ।’
‘ह्वाट ? किन… ?’
‘किनभने मेरो प्रत्यूष त्यसरी कुनै कीरा–फट्याङ्ग्राको जस्तो मृत्यु मर्न सक्दैन भन्ने मलाई विश्वास थियो । त्यसमाथि बिनीको गायब हुनुले पनि तेरो जीवित हुनुलाई पुष्टि गर्दथ्यो । त्यसैले त मैले त्यति सजिलै तेरो सम्पत्तिको मालिक हुन स्वीकार गरेँ नि ! तेरो मृत्युको हल्ला सुनेर पनि कुनै विरोध नगरी चुपचाप बसेँ । मलाई लाग्यो– तँ पनि त्यही चाहन्छस् । त्यसैले तँ गायब छस् । नत्र त म देश नभए पनि सहर त हल्लाउन सक्थेँ, तेरोबारेमा सत्यतथ्य पत्ता लगाउन भनेर !’
उसले मेरो फेरि भिज्नथालेको आँखामा हेर्याे अनि भन्यो– ‘अँ यदि बिनी पनि तँसँगै जलेको खबर भएको भए वा बिनी नै प्रकट भएर तँ नरहेको कुरा भनेकी भए सायद…।’ उसको स्वर भारी भयो । ऊ कुरा अधुरै छोडेर चुप लाग्यो । म पनि निक्कैबेर केही बोलिनँ ।
‘अनि यो सब मलाई मार्ने नाटक किन गरिस् त ?” निक्कै बेरपछि मैले सोधेँ ।
‘यार, अझै पनि यो प्रश्न सोध्न जरूरी छ र ?’ उसले भन्यो– ‘अफकोर्स, तँलाई आफ्नो खुट्टामा उभ्याउन ।’ उसले मेरो हात थाम्यो– ‘याद छ तँलाई डाक्टरहरूले भनेको कुरा ?’ उसले मतिर हेर्याे– ‘तेरो इच्छाशक्ति औषधीभन्दा बढी सहयोगी हुने कुरा यहाँका डाक्टरहरूले मात्र होइन, दिल्लीका डाक्टरहरूले पनि त्यही भनिरहेपछि मैले सोचेँ– तँलाई यस्तरी उत्तेजित बनाऊँ कि तँ जिउज्यान लगाएर आफ्नो खुट्टामा उभिन प्रयास गर ।’
‘सात्तो उडाइदिस् यार, एक्कै छिन त लाग्यो–अन्तिम समय आईपुग्यो…।’
‘नचाहिने कुरा नगर,’ वासुले भन्यो– ‘जे भयो, राम्रै भयो । अब छोड यो कुरा ।’
एकछिन म केही बोलिनँ ।
‘तर…तर कमल किन सुप्रियाको साथ दिइरहेको छ मैले बुझ्न सकिनँ…।’ निक्कै बेरपछि मैले भनेँ ।
‘साँच्चै भन्ने हो भने मलाई पनि सबैभन्दा धेरै शङ्का यी दुईमाथि नै छ…।’ वासुले भन्यो– ‘यो षड्यन्त्र कुनै लर्तरो दिमागको उपज पक्कै पनि होइन । अनि वकिलको दिमाग सामान्य मानिसको दिमागभन्दा त्यसै पनि बढ्तै चल्छ ।’
मेरा आँखाअगाडि कमलको अनुहार उदायो, मेरो मनले मान्न चाहेन– मेरो मृत्युको जिम्मेवार म उसलाई मानूँ तर फेरि सुप्रियासँगको उसको घनिष्ठतालाई पनि मैले बेवास्ता गर्न सकिनँ । त्यसैले मैले भनेँ– ‘त्यसलाई नै समात्नुपर्छ सायद सुरुवातका लागि । तर…तर वासु तैँले कसरी थाहा पाइस् म यहाँ छु भनेर ?’
‘त्यो पनि कुनै सोध्ने कुरा हो ?’
‘बिनीले भनेकी ? तर तैँले उसलाई कसरी भेटिस् ?’ मैले सोधेँ ।
‘थानामा ।’ उसले भन्यो– ‘मलाई विश्वास थियो– तँ जहाँ भए पनि उसको साथमा सुरक्षित छस् । जब हिजो उसलाई पुलिसले समात्यो, म चुप बस्न सकिनँ । बडो मुस्किलले आज उसलाई भेट्न सफल भएँ । तर ऊसँग तेरो ठेगाना पत्ता लगाउन, उसलाई भेट्नभन्दा पनि मुस्किल थियो । पुलिसको धम्की, हप्कीदप्कीले उसको मुखबाट एक शब्द निकाल्न सकेको छैन । तर मैले जसोतसो उसबाट तेरो ठेगाना फुत्काएँ । दाँतबाट पसिना निस्कियो उसलाई यो विश्वास दिलाउन कि म तेरो भलाइका लागि तँसँग भेट्न चाहन्छु भनेर । तँ यदि सक्षम भएको भए, मेरो मतलब तेरा हातखुट्टा मात्र चल्ने भए पनि उसले मलाई समेत तेरो ठेगाना दिने थिइन सायद । तर ऊ चिन्तित थिई । आफू समातिएको, थानामा भएकोमा होइन बरू एक्लै, लाचार मुढोझैँ बन्द कोठाभित्र लडिरहेको तेरो अवस्थाको चिन्ताले उसलाई बाध्य बनायो सायद ममाथि विश्वास गर्न…।’ उसले मलाई हेर्याे, मैले टाउको झुकाएँ ।
‘भोकी, प्यासी, लखतरान त्यस केटीलाई आफ्नो अवस्था, स्थितिको होइन, तेरो चिन्ता धेरै छ । प्रत्यूष, तँ अनुमान गर्न सक्छस् यसको के मतलब हुनसक्छ ?’
‘ब… वासु… !’
‘हेर प्रत्यूष तँ…।’ अचानक ढोकामा ढकढकको आवाज सुनेर ऊ चुप लाग्यो । म खाटमा पल्टिएँ । वासुले भुइँमा भएको युरिनको ब्यागलाई खुट्टाले खाटमुनि धकेल्यो । युरिन ब्यागबाट पोखिएको युरिनमाथि दुई–तिनवटा तौलिया राखिदियो । मलाई ओढ्ने ओढायो । अनि गएर बेडको अर्कोछेउको कुनामा भएको कुर्सीमा बस्यो । हामी दुवै ढोकातिरै हेरिरह्यौँ ।
ढोका खोलेर भद्रे भित्र पस्यो । उसले आफू भित्र पसेपछि फर्केर कोठाको ढोका बन्द गर्याे अनि नाक खुम्च्याएर यताउता हेर्याे । उसले नाक खुम्च्याएपछि बल्ल आफ्नो जटिल समस्यामा अल्झिएका हामीले कोठामा फिजिएको पिसाबको तीव्र दुर्गन्ध महसुस गर्याैं ।
भद्रे हामीतिर फर्कियो । उसले पालैपालो हामीलाई हेर्याे अनि त्यहीँबाट सोध्यो– ‘तिमी को ?’
‘तँ को हास्…!’ वासुले बसेको ठाउँबाट उठ्दै उल्टै उसैलाई सोध्यो ।
‘वासु ! ऊ भद्रे दाइ, बिनीको सहयोगी । उहाँको मद्दतले बिनीले मलाई यहाँ लिएर आएकी थिई ।’ मैले हतारिँदै भनेँ ।
‘ओह !’ वासु फिर्ता कुर्सीमा बस्यो अनि अलि नम्र स्वरमा सोध्यो– ‘तर… तर तिमी यति बेला यहाँ किन…?’
भद्रे एकैछिन अलमल्ल पर्याे । त्यसपछि चिढिँदै भन्यो– ‘मेरो खुसी ! यो मेरो होटल हो । म जतिबेला चाहन्छु, यहाँ आउनसक्छु । तिमी.., त…तपाईं को हो मलाई यो प्रश्न सोध्ने ?’
वासुले कठोर स्वरमा भन्यो– ‘होटल तिम्रो भए पनि यसरी आधा रातमा गेस्टको रुममा पसेर डिस्टर्ब…!’
‘गेस्ट ?’ भद्रे वासुको कुरा बीचैमा काटेर च्याँठियो– ‘को गेस्ट ? कस्तो गेस्ट ? पैसा तिरेर बस्नेहरूलाई त मैले चाहेको बेला रुम खाली गर्न लगाउनसक्छु भने यो को हो ? यसलाई त मैले बिनीको मुख हेरेर यहाँ आश्रय दिएको, नत्र यो जत्रोसुकै ठूलो मान्छे भए पनि होटेलको कोठामा बसेको भाडा तिर्न सक्दैन भने मेरो निम्ति यो फाल्तु हो ।’
वासुको अनुहार आक्रोशले रातो न रातो भयो तर उसले केही बोल्नुभन्दा पहिल्यै मैले विनयशील स्वरमा भनेँ– ‘भद्रे दाइ, यदि भोलि मैले तपाईंको होटलको यस कोठाको भाडामा १० गुणा जोडेर तपाईंलाई तिरेँ भने पनि म तपाईंको उपकारको मोल चुकाउन सक्दिनँ । आपत् परेको बेला जसरी तपाईंले मलाई यहाँ आश्रय दिनुभयो त्यो मलाई आजीवन याद रहनेछ । तपाईंले आफ्नो सबै हिसाबको बिल उसलाई (मैले वासुतर्फ इसारा गरेँ) अहिले नै दिनुभयो भने भोलि बिहान फस्र्ट आवरमा उसले चुक्ता गरिदिनेछ ।’
भद्रेले आश्चर्यपूर्वक पहिले मलाई अनि वासुलाई हेर्याे । उसको अनुहारको भाव बिस्तारै फेरियो ।
यसपटक बोल्दा उसको स्वर अलि नम्र थियो– ‘म…म पैसाको कुरा गर्न आएको होइन अहिले । त्यो त मैले बिनीका नाउँमा छोडिसकेँ ।’ ऊ एकक्षण अड्कियो अनि पुनः निडर स्वरमा भन्यो– ‘हिजो म यहाँ थिइनँ । त्यसैले बिनीलाई पुलिसले समातेको खबर ढिलोढिलो थाहा पाएँ । ढिलै भए पनि सहर गएको थिएँ तर पुलिसले मलाई ऊसँग भेट्न दिएन । कोसिस गर्दागर्दै आधा रात त्यहीँ बित्यो । पुलिसले मलाई समेत समातेर थुन्न नखोजेको भए म बिनीलाई नभेटी फर्कने थिइनँ । मसँग विकल्प त थियो त…तपाईंको नामको, तर पुलिसलाई केही भन्नुभन्दा पहिले ति…मी.. त… तपाईंलाई पहिले खबर गरिहालौँ भनेर फर्केर आएँ । अब म फेरि सहर जान्छु र तपाईं यहाँ भएको खबर पुलिसलाई दिएर बिनीलाई छुटाउँछु । किनभने बिनीको तुलनामा मेरा लागि तपाईंको कुनै अस्तित्व छैन । त्यसैले एउटा अस्तित्वहीन चीजलाई बचाउन म बिनीलाई जेलमा सड्न दिन सक्दिनँ ।’
वासु र मैले आश्चर्यपूर्वक उसलाई हेर्याैं । उसले केही अप्ठ्यारो मानेझैँ गरी टाउको झुकायो अनि भन्यो– ‘म…म तपाईंलाई चिन्दछु (उसको इसारा मतर्फ थियो) त्यसैले मलाई थाहा छ– आफ्नो इज्जत बचाउन तपाईंहरू पक्कै पनि आफ्नो नाम यस मामिलामा आउन दिनुहुने छैन । थानामा गएर उसलाई छुटाउनु त परै जाओस्, तपाईंहरू त उसलाई चिन्नसमेत अस्वीकार गरिदिनु हुनेछ । त्यसैले अब जे गर्नुछ, मैले नै गर्नुछ, म…।’
‘कसले भन्यो तपाईंलाई हामी त्यस्तो गर्छौं भनेर ?’ मैले उसलाई उछिन्दै भनेँ– ‘भद्रे दाइ, धन्यवाद छ तपाईंलाई । तपाईंले पुलिसकोमा गएर यो सबकुरा भन्नुपहिले होटेलमा आएर हामीलाई भन्नुभयो । धेरैधेरै धन्यवाद छ तपाईंलाई, यो सारा सृष्टिमा जहाँ सभ्य, सम्भ्रान्त र उसका आफन्तहरूले बिनीलाई चोक्टाचोक्टामा विभाजित गरेर बेच्ने कसर छोडेनन्, त्यहीँ तपाईंले उसलाई सहारा दिनुभयो, मद्दत गर्नुभयो । कमसेकम तपाईंको मनमा त उसप्रति यति धेरै आफ्नोपन रहेछ । विश्वास गर्नूस्, मेरो कारणले यो सब झमेलामा फसेकी बिनीलाई मै मुक्त गर्छु ।’
‘तर….!’ भद्रेले तीव्र आपत्तिका साथ भन्न खोज्यो । तर मैले उसलाई बोल्ने मौकै नदिईकन भनेँ– ‘मलाई भोलि साँझसम्मको समय दिनूस्, म….।’
‘भोलि ? भोलिसम्म ऊ थानामै बस्नुपर्ने ? तर…तर म त…!’
‘मेरो विश्वास गर्नूस्, मेरो बाध्यता नभएको भए म अहिल्यै गएर उसलाई छुटाउँथेँ तर मैले उसलाई छुटाउनुभन्दा पहिले एक–दुईवटा कुरा पत्ता लगाउन एकदमै आवश्यक छ । हुन त यो दुई दिन पनि एकदम कम छ, तर भोलि साँझसम्म नभए पनि पर्सि बिहान त कुनै पनि हालतमा ऊ बाहिर हुनेछे । मेरो विश्वास गर्नूस् । यदि पर्सि बिहानसम्म ऊ छुटिन भने तपाईं आफूले चाहेको गर्न स्वतन्त्र हुनुहुन्छ । प्लिज भद्रे दाइ, अन्तिमपटक यति मद्दत गरिदिनूस् । मेरा लागि होइन, बिनीकै लागि भन्ने सम्झेर ।’
निक्क ैबेर ऊ केही बोलेन । वासुले मतर्फ हेर्याे । मैले आश्वासनपूर्ण भावमा टाउको हल्लाएँ ।
‘ठीकै छ ।’ निक्कै बेरपछि भद्रेले अन्यमनष्कतापूर्वक बिस्तारै भन्यो– ‘म भोलिको एक दिन कुरिदिन्छु तर…।’
‘धन्यवाद !’ मैले उसलाई उछिन्दै कृतज्ञतापूर्वक भनेँ– ‘विश्वास गर्नूस्, पर्सिको रात उसले थानामा बिताउनुपर्ने छैन ।’
केहीबेर ऊ मलाई अनि वासुलाई हेर्दै त्यहीँ उभिइरह्यो त्यसपछि बिस्तारै ढोका खोलेर बाहिर निस्कियो र आफ्नो पछाडि कोठाको ढोका बन्द गरिदियो ।
‘को हो यो मान्छे ?’ ऊ निस्कनेबित्तिकै वासुले सोध्यो– ‘यस होटेलको मालिक हुनुको अलावा ?’
‘यो त्यो मान्छे हो, जसले मलाई गाडीबाट उठाएर यस कोठासम्म ल्याइपुर्याएको थियो बिनीको आग्रहमा । अब तँ यो नसोध कि त्यो… त्यो मात्र आग्रह थियो या कुनै सम्झौता ।’
‘बास्टर्ड…!’ वासु बिस्तारै बड्बडायो ।
‘म… ?’ म उठेर बसेँ ।
‘अरे…।’ वासुले हडबडाउँदै भन्यो– ‘तँ किन ? म त यो छ्याके हात्तीलाई भनिरहेछु ।’
‘त्यसलाई पनि किन ?’
‘देखिनस् सालेको तुजुक, यसले के मद्दत गर्याे होला बिनीलाई ? बिचरीको बाध्यताको फाइदा नउठाएर कहाँ त्यसै छोड्यो होला र त्यसले ? थाहा छैन कुन जायज–नाजायज फाइदा उठायो होला । आपत्को बेला आफ्नाले त साथ दिँदैनन् भने यो गुण्डा–बदमासले विनास्वार्थ के मद्दत गर्छ ?’
‘यही गुण्डा–बदमासले सबैभन्दा ठूलो मद्दत गरेको थियो बिनीलाई । आश्रय दिएको थियो उसलाई परेको बेलामा । जे–जति मैले सुनेँ, त्यसबाट त मलाई यही लाग्यो– माया पनि गुण्डा–बदमासले नै इमानदारीपूर्वक गर्ने रहेछन् आजकल ।’ मैले खिन्नहुँदै भनेँ ।
‘के भन्छ यो ?’ वासु जिल्लियो ।
‘माया गर्छ र त जबर्जस्ती गर्दैन ? नत्र यसको अगाडि त्यो असहाय बिनीको के जोर चल्थ्यो ?’
‘मैले तेरो कुरा अझै बुझिनँ ?’ वासुले भन्यो । मेरा आँखामा त्यो पल झुल्कियो, जब उसले मलाई यो ओछ्यानमा ल्याएर राखेपछि बिनीलाई भनेको थियो । ‘आफ्नो लागि त आफ्नो लागि, के मेरो लागि पनि बिनीले यो मान्छेको हातमा आफूलाई बेचिदिई होला त ?’ मैले आफैँसँग प्रश्न गरेँ । मेरो मन विचलित भएर आयो ।
‘प्रभो, यो सत्य नहोस् !’ मैले हृदयदेखि कामना गरेँ ।
‘अब…?’ वासुले सोध्यो– ‘अब के गर्ने विचार छ तेरो ?’
‘हिँड्, पहिले कमलकोमै जाऊँ ।’ मैले भनेँ–‘उज्यालो हुन अझै बाँकी छ । त्यसको घरमा गएर केही पत्ता लगाउन सकिन्छ कि ?’
‘तर त्यसको घरमा पस्ने कसरी ? फेरि तँ भरखर उठेकोछस्, तँ सक्छस् के, यसरी…।’
‘हामीसँग समय छँदैछैन वासु ! यसै पनि धेरै ढिलो भैसकेकोछ । अब अरू समय खेर फाल्न अफोर्ड गर्दिनँ म ।’ मैले उठेर हात खुट्टा चलाएर, तन्क्याएर हेरेँ– ‘कमजोरी त फिल भएको छ, हेरौँ ।’ मैले भनेँ– ‘पहिले यहाँबाट त निस्कौँ त्यसपछि देखा जाएगा…।’
वासुले एकैक्षण चिन्तित भावले मलाई हेर्याे अनि भन्यो– ‘हिँड ! धेरै दिन भयो हात बाँधेर बसेको । अब सायद रहस्यको कम्बल ओढेर चुपचाप बसेको सहरलाई हल्लाएर हेर्ने समय आएका ेछ ।’ उसले मेरो हात दह्रोसँग थाम्यो । । मैले पटकपटक हातखुट्टा तन्काएर हेरेँ । मलाई म आफ्नै खुट्टामा उभिएको छु भनेर अझै पूर्णविश्वास भैसकेको थिएन ।
‘थ्याङ्स् यार !’ मैले अपार कृतज्ञतापूर्वक भनेँ ।
‘थ्याङ्स् टु यु…!’ वासुले मलाई अँगाल्दै भन्यो– ‘धन्य तैँले नाक मात्रै भाचिदिइस् टाउको फुटाइदिइनस् मेरो !’

०००
कमलको घरको सानो गेट नाघेर हामी भित्र त पस्यौँ तर घरभित्र छिर्ने समस्याको समाधान हामीसँग थिएन । वासु मलाई त्यहीँ ढोकाछेउ उभ्याएर घरपछाडिको अँध्यारोमा कतै गायब भयो ।
धेरै दिनपछि खुट्टा टेकेको भएर होला, खुट्टा फतक्क गलेको अनुभव भइरहेको थियो । म थरथराइरहेको, कमजोर अनूभूत भैरहेको हात खुट्टा हल्लाएर, चलाएर, त्यहीँ भित्तामा आड लागेर जाने सम्झेको एक्सरसाइज गर्दै वासुलाई कुरिरहेँ ।

निक्कै बेरपछि मेरो छेउको ढोका बिस्तारै भित्रबाट खुल्यो । म सजग भएँ ।
‘ए… यता…!’ वासुले बाहिर टाउको निकालेर सानो स्वरमा भन्यो– ‘भित्र ।’
‘तँ कहाँबाट भित्र पसिस् ?’ मैले पनि उस्तै स्वरमा सोधेँ ।
‘माथिको एउटा झ्याल खुल्ला थियो ।’ उसले मेरो हात समातेर मलाई भित्र तान्दै भन्यो– ‘बाउको विवाह देखियो झ्यालसम्म पुग्दा । यार, हामी चोरलाई सराप्छौँ तर चोरको काम पनि कहाँ सजिलो रहेछ र ?’
म बिस्तारै हाँसेँ मात्र, केही बोलिनँ ।
‘राम्ररी आइज है !’ उसले फेरि भन्यो– ‘यो भान्सा रहेछ । कमलको कोठा माथि हो क्यारे । तर… तर प्रत्यूष, हामी के खोज्न आएको यहाँ ?’ उसको स्वरमा अन्यौल मिसिएको थियो ।
त्यो त मलाई पनि थाहा थिएन, त्यसैले म पनि एकैक्षण अलमलमा परेँ तर फेरि अँध्यारोमा बिस्तारै अघि बढ्ने कोसिस गर्दै भनेँ– ‘केही त भेटिएला । कुनै कागज पत्र, कुनै…।’ थाहा छैन मेरो हात केसँग ठोक्कियो तर रातको त्यो चकमन्न वातावरणमा तीव्र आवाज गर्दै कुनै वजनदार चीज भुइँमा खस्यो ।
‘सत्यानाश…!’ वासु उतिर्सिंदै बडबडायो– ‘झन्डै हार्टअट्याक भएको, साले…!’
‘शुऽऽऽ शऽऽऽ !’ म उसलाई तान्दै छेवैको खुल्ला ढोकाभित्र पसेँ किनभने माथि कसैले बत्ती बालेको उज्यालो तलसम्मन् आइपुग्यो ।
‘छिः यो त ट्वाइलेट पो हो । साले, अरू कुनै ठाउँ भेटिनस् पस्न ?’ वासु नाक थुन्दै गनगनायो ।
‘फर गड सेक वासु, चुप बस् केही क्षण ।’ मैले एक सासमा भनेँ । कोही भर्याङबाट ओर्लेको आवाज आयो । केही बेर हामी सास रोकेर बस्यौँ । निक्कै बेरपछि कोही माथि उक्लेको अनि कुनै ढोका बन्द भएको आवाज आयो । हामी बिस्तारै बाहिर निस्कियौँ ।
‘अब ?’ मैले सोधेँ ।
‘तेरो टाउको अब…।’ वासु गनगनायो– ‘यो उटपट्याङ हाम्रो वशको काम होइन । कमललाई त हामी भोलि उज्यालोमा, अफिसमा पनि थाम्न सक्छौँ । त्यसैले अब हिँड् यहाँबाट नत्र कमलले घरमा कोही पसेको सुइँको पाएर पुलिसलाई फोन गर्याे भने हामी जुन कुरालाई गोप्य राख्न चाहन्छौँ त्यो भोलि होइन, अहिल्यै सारा संसारले थाहा पाउने छ ।’
पहिले यतिका दिनपछि आफ्नो खुट्टामा उभिनसकेको जोसमा जेसुकै सोचेर यहाँ आए पनि अहिले त्यसरी अर्काको घरमा पस्नु मलाई पनि मूर्खता सिवाय केही लागिरहेको थिएन । त्यसमाथि त्यत्रो समय ह्विलचेयरमा थन्किएको मेरो शरीर उठेर हिँडिहाल्ने अवस्थामा थिएन सायद । कमजोरी फिल त भएकै थियो, हात–खुट्टा नराम्रोसँग थरथराइरहेका थिए । अतः मैले मुखले केही नबोली भान्सातिर कदम बढाएर आफ्नो सहमति व्यक्त गरेँ ।
‘राम्ररी हिँड् है…!’ वासुले बिस्तारै भन्यो– ‘अबचाहिँ कहीँ केही नखसाल ।’
हामी दुवै एक–अर्काको हात समातेर भान्सातिरबाट अघि भित्र पसेको ढोकासम्म पुग्यौँ । मैले ढोकाको ह्यान्डल समातेर आफूतिर तानेँ । अचानक त्यहाँ झलमल्ल उज्यालो फैलियो । मैले ढोकाको ह्यान्डल यसरी छोडेँ– मानौ बिजुलीको नाङ्गो तार समातेको थिएँ । मेरो पछाडि उभिएको वासु बडबडायो– ‘सत्यानाश !’
‘खबरदार !’ हाम्रो पछाडि कमलको स्वर गुन्जियो– ‘तिमीहरूको भाग्ने कोसिस अब सफल हुने छैन । किनभने गेटमा पुलिस छ ।’ स्लो मोसनमा ऊतर्फ घुमेको वासुको अनुहारमा आँखा पर्नेबित्तिकै ऊ आश्चर्यपूर्वक करायो– ‘वासु…त..तँ…?’ तबसम्म म पनि ऊतर्फ घुमिसकेथेँ । मेरो अनुहारमा आँखा पर्नेबित्तिकै उसको अनुहारको रङ उड्यो । आँखा च्यातिएर यति ठूला भए कि मलाई डरलाग्यो, कहीँ उसका आँखाका डल्ला बाहिरै निस्कने त होइनन् ?
‘हे ईश्वर…! हे भगवान !’ उसले थरथराउँदै भन्यो– ‘प्र.. प्र…प्रत्यूष…?’
‘साक्षात् !’ वासुले भन्यो । मैले खिन्न भावले केवल टाउको हल्लाएँ ।
‘हे परमेश्वर..! कहीँ म सपना त देखिरहेको छैन ?’ ऊ ममाथि आँखा गाडेर आफैँमा बडबडायो तर फेरि उसको त्यो हेराइमा अन्योल मिसियो । उसले सोध्यो– ‘त..तर…तर…यहाँ किन ? यति राती लुकीलुकी मेरो घरमा…?’ अनायासै उसको अनुहार विवर्ण भयो । ऊ लडखडाउँदै केही कदम पछि सरेर भित्ताको सहारा लिन पुग्यो अनि हाहाकारपूर्ण स्वरमा भन्यो– ‘… हे मेरो परमात्मा…! कहीँ, कहीँ तिमीहरू ममाथि शङ्का गरेर मेरो चियो गर्न यहाँ…, हे ईश्वर..! म….म…।’
उसको पूरा कुरा, उसको सफाइ सुन्नुभन्दा पहिल्यै, केवल उसको अनुहारको भाव देखेर नै मेरो मनले भन्यो– मेरो शङ्का निरर्थक मात्र होइन, मेरो मूर्खता थियो । मेरो मन आत्मग्लानिले भरियो तर पनि मैले बिस्तारै भनेँ– ‘सरी कमल ! तर हरेक शङ्काको कुनै कारण पनि हुन्छ ।’
‘ममाथि शङ्का गर्नुको के कारण थियो तपाईंसँग ?’ उसले काँतर स्वरमा सोध्यो ।
‘पहिले म बसिहालौँ, किनभने मेरो शरीर अझै…।’
‘यता…।’ मैले बोलेर नसक्दै कमलले हामीलाई बैठक देखायो । म त्यहाँको यौटा सोफामा गएर बसिसकेपछि उसले चुपचाप गएर एक गिलास पानी लिएर आएर मेरो हातमा थमायो । मैले कृतज्ञ हुँदै एक सासमा त्यो ग्लास रित्याएँ । वासु आएर मेरोछेउमा बस्यो । तर कमल हाम्रोसामु उभिइरह्यो । मैले हातको खाली गिलास राख्न यताउता ठाउँ खोजेपछि उसले हात बढाएर त्यो रित्तो गिलास थाम्यो । अनि सोध्यो– ‘मेरो प्रश्नको के जवाफ छ तपाईंसँग…?’
‘सुप्रियासँगको तिम्रो हेलमेल ।’ मैले निसङ्कोच भनेँ– ‘अनि मेरो वारिसनामालाई लिएर तिम्रो हस्तक्षेप । केही दिन अघिसम्म सुप्रियाको नजरमा तिमी महत्वहीन थियौ, तर अचानकै तिमी उसका लागि यति महत्वपूर्ण कसरी बन्न पुग्यौ कि ब्रेकफास्टदेखि डिनरसम्मका लागि तिमी प्रधान मेन्सनमा आमन्त्रित हुन थाल्यौ ?’
‘त… त्यसको छुट्टै कारण छ ।’ ऊ यति बिस्तारै बडबडायो, मैले मुस्किलले सुन्न सकेँ ।
‘म त्यो कारण जान्न चाहन्छु ।’ मैले कठोर स्वरमा भनेँ । उसले असहायभावले वासुतर्फ हेर्याे अनि फेरि टाउको झुकाउँदै बिस्तारै भन्यो– ‘मेरो ईश्वर साक्षी छ प्रत्यूष, तपाईंको वारिसनामामा हस्तक्षेप गर्नुको पछाडि मेरो कुनै गलत उद्देश्य थिएन । हस्तक्षेप यसकारण गरिरहेथेँ किनभने मलाई एक थोपा विश्वास थिएन, एकपटक मसँग वारेसनामा बनाइसकेपछि तपाईं अरू कसैमार्फत् अर्को नयाँ वारेसनामा बनाउनु हुनेछ भनेर । त्यसैले तपाईंले मद्वारा तयार गरेको वारिसनामालाई नै मैले वास्तविक र लिगल साबित गर्ने कोसिस गरेको हुँ । रह्यो कुरा सुप्रियालाई साथ दिनुको, यसमा मेरो आफ्नै स्वार्थ थियो ।’ ऊ एकैक्षण अडियो, हामी दुवैलाई पालैपालो हेर्याे अनि लामो सास फेर्दै भन्यो– ‘सुप्रियाको इन्टेन्सन जेसुकै भए पनि म…मेरो स्वार्थ यति नै थियो कि…कि म श्रेयालाई मन पराउँछु । माया गर्छु । अनि सुप्रियाको सहयोग र सहमतिमा ऊसँग विवाह गर्न चाहन्छु । त्यसैले म सुप्रियालाई ‘इम्प्रेस’ गर्ने कोसिसमा…।’ ऊ चुप लाग्यो तर टाउको उठाएन । वासु र मैले मुखामुख गर्याैँ ।
‘त….तर केवल यत्तिकै भरमा तपाईंको विश्वास कसरी उठ्यो मबाट ?’ उसले अचानक टाउको उठाएर मलाई हेर्दै सोध्यो– ‘यति नै रिजन त काफी हुँदैन कसैमाथि यति ठूलो शङ्का गर्नका लागि ? कुनै ठोस आधारविना यो कसरी सोच्न सकिन्छ कि कसैले कसैको ज्यान लिन्छ भनेर ?’
मैले केही भन्न नसकेर मद्दत मागेझैँ गरी वासुतर्फ हेरेँ । उसले ‘अँ’ ‘अँ’ गरेर असुविधापूर्वक घाँटी सफा गरेझैँ गर्याे अनि बिस्तारै भन्यो– ‘अर्को कुनै ठोस आधारका लागि प्रत्यूष यत्ति नै भन्न सक्छ– त्यो काम तैँले बदलाको भावनाले गरेका हुनसक्छस् ।’
‘बदला, कस्तो बदला ?’ उसले आश्चर्यपूर्वक सोध्यो ।
‘यार, तैँ भन्दे…!’ वासुले अप्ठ्यारो मानेर मतिर हेर्दै भन्यो ।
‘कमल…।’ मैले केही हिचकिचाउँदै भनेँ– ‘मेरा हजुरबुवा, बुवा र मैले तिम्रो परिवारको जति नै मद्दत गरे पनि यो सत्य आफ्नै ठाउँमा छ कि तिम्रा बुबाको मृत्यु मेरो बुवाको गाडीले किचेर…।’
‘ओह गड !’ कमलले अपसोचपूर्ण स्वरमा भन्यो– ‘त यो हो तपाईंको ममाथि शङ्का गर्नुको मेन कारण ? तर…तर प्रत्यूष, यदि मलाई बदलै लिनुथियो भने म तपाईंलाई होइन, वासुलाई मार्ने थिएँ किनभने गाडी जसको भए पनि ड्राइभर त वासुका बुबा नै थिए होइन र…?’
‘तर…तर कमल…!’
‘मेरो यत्रो वर्षको निष्ठा र इमानदारीबाट त मैले तपाईंको विश्वास जित्न सकिनँ भने अब म त्यो कसरी जित्न सकौँला र ? तर पनि यत्तिचाहिँ अवश्य भन्न चाहन्छु– जुन बाबुको मसँग कुनै सुखद् याद पनि बाँकी छैन, उसको मृत्युको बदला लिन म किन प्रद्युम्नमानको वंश नास्ने काम गर्थें ? जाँडले होस हराएर, कुनै भुस्याहा कुकुरजस्तै आफ्नो गाडी मुन्तिर किचिन आउने व्यक्तिको विधवा र सन्तानलाई जसले जीवनभर आफ्नो जिम्मेवारी मानेर साथ दिए उनको यति कदर त मलाई पक्कै छ कि म, म…।’ उसको गला अवरुद्घ भयो । ऊ अगाडि बोल्न सकेन ।
‘सरी कमल म…।’ मेरो ‘सरी’ लाई बेवास्ता गर्दै उसैले बोल्न सुरु गर्याे– ‘देख्ने सुन्ने सबैलाई थाहा छ– त्यो दुर्घटनामा शतप्रतिशत गल्ती मेरै बाउको थियो तर पनि प्रधान बुबा (कमल, कमलकी बहिनी र वासु बुवालाई यसरी नै सम्बोधन गर्थे) ले हामीलाई त्यत्रो सहारा दिनुभयो । नत्र के हुन्थ्यो हाम्रो भविष्य ? बाबु जीवित हुँदा पनि जाँड खानेबाहेक अरू केही काम गर्दैनथे । आमाले अर्काको घरधन्दा गरेर कमाएको पैसा पनि जबर्जस्ती खोसेर लैजान्थे । दिएन भने मर्लान्त हुने गरी पिट्थे । न गाँसको ठेगान थियो न बासको । गल्लीको कुकुरभन्दा गएगुज्रेको जिन्दगी बिताइरहेका थियौँ हामी । बाउ जिउँदो हुनु र मर्नुले हाम्रो जीवनमा खासै फरक पर्ने थिएन तर प्रधान बुबा भगवान बनेर हाम्रो जीवनमा आउनुभयो । आज मेरी बहिनी पढेलेखेर सम्पन्न घरमा शिक्षित पतिका साथ सुखपूर्ण जीवन बिताइरहेकी छे । मेरी आमाको बुढेसकाल सुखपूर्वक बितिरहेको छ । कसले गरेर ?’ ऊ एकछिन अडियो अनि फेरि भन्यो– ‘आफूलाई जन्म दिने बाउ त्यसरी मर्दा कसलाई अफसोच नहोला ? हामीलाई पनि छ । साथसाथै हाम्रो परिवारका कसैले पनि उनी जीवित हुँदा उनले हामीलाई दिएको सास्ती बिर्सेका छैनौँ । खास गरी मेरी आमाले ! उहाँ सधैँ भन्ने गर्नुहुन्छ– ‘कमल, हामीले अर्को सात जन्मसम्मन् उनीहरूको सेवा गर्याैं भने पनि प्रधानजीको उपकारको मोल चुकाउन सक्दैनौँ, त्यसैले उनीहरूका लागि ज्यान दिन परे पनि पछि नपर्नु ! नत्र फेरि कुनै प्रधान खलक हामीजस्ताको मद्दतका लागि अगाडि आउने छैनन् ।’
म र वासु स्तब्ध उसैलाई हेरिरह्यौँ, बोल्न केही सकेनौँ । कमल बिस्तारै मेरो नजिक आएर उभियो । अनि मेरा आँखामा हेरेर दृढ स्वरमा भन्यो– ‘प्रत्यूष, तपाईं चाहे विश्वास गर्नूस्, चाहे नगर्नूस्, तर म ज्यान लिन त होइन तर यदि परिआयो भने प्रधान परिवारका लागि ज्यान दिन अवश्य सक्छु । तपाईं खालि मागेर मात्रै हेर्नूस् !’
उसका कुराले मेरो मात्र होइन वासुका आँखा समेत रसाए । मैले जुरुक्क उठेर उसलाई अँगालेर भनेँ– ‘सरी कमल !’

त्यसपछि घरमा चोर पसेको आशङ्कामा आफैँले फोन गरेर बोलाएको पुलिसलाई बडो मुस्किलले सम्झाइबुझाई फिर्ता पठायो उसले । हामी देखा परेनौँ ।
पुलिस गैसकेपछि हामी फेरि बैठकमा आएर बस्यौँ । हाम्रो समस्या अझै विकट बन्दै थियो, जसलाई सुल्झाउन हामीसँग धेरै समय पनि थिएन । अब बाहिर उज्यालो फैलिन थालेको थियो । कमलले कफी बनाएर ल्यायो । उसले कफीको मग हामीलाई दिँदै भन्यो– ‘आमा हुनुहुन्न घरमा । साथीहरूको ग्रुपसँग हृषीकेश, हरिद्वार जानुभएको छ । त्यसैले तपाईं निर्धक्क यहीँ बस्नुभए हुन्छ ।’
म केही बोलिनँ । एकाएक कमल आश्चर्य चकित, क्र्वाक्वार्ती मलाई हेर्नथाल्यो । म उसको त्यो हेराइले आफैँमा खुम्चिएँ भने वासुले पनि नसोधिरहन सकेन– ‘के भयो ? किन त्यसरी हेरेको ?’
‘त..तपाईं त ह्विलचेयरमा हुनुहुन्थ्यो ! त…तपाईं कसरी…!’
‘बल्ल ख्याल आयो ?’ वासु हाँस्यो ।
‘क…कतै त्यो पनि नाटक त…!’
‘होइन ! त्यो सत्य थियो । भर्खरै मात्र आफ्नो खुट्टामा उभिएको हुँ म !’ मैले गम्भीर स्वरमा भनेँ ।
‘क…कसरी ? कारण के थियो ? के भएको…!’
‘लामो कथा छ कमल !’ मैले भनेँ– ‘त्यसबारेमा पछि कुरा गरौँला । अहिले त त्योभन्दा जरूरी मुद्दा सल्ट्याउनु छ ।”
‘तँलाई कोमाथि शङ्का लाग्छ कमल ?’ वासुले प्रसङ्ग फेर्दै सोध्यो ।
‘साँच्चै भन्ने हो भने मलाई त अझैसम्म पत्याउन गाह्रो परिरहेछ कि त्यो कुनै दुर्घटना नभएर षड्यन्त्र थियो । किन कसैले प्रत्यूषलाई मार्ने कोसिस गर्छ ? कुन फाइदाका लागि ? म त कुनै कारण देख्दिनँ तर…।’ ऊ केही हिचकिचायो अनि मतिर हेर्दै भन्यो– ‘जब तपाईं यति विश्वासका साथ भन्नुहुन्छ भने नमानेर सुख पनि छैन । जहाँसम्म शङ्काको कुरा छ…।’ उसले पुलुक्क मलाई हेर्याे । केही बेर हिचकिचायो अनि भन्यो– ‘त्यस घरमा यदि कसैमाथि शङ्कै गर्नपर्याे भने सुप्रियाभन्दा ठूलो सस्पेक्ट त म अरू कोही देख्दिनँ । स…सरी प्रत्यूष ।’
‘द्याट्स अलराइट कमल…!’ मैले बिस्तारै भनेँ– ‘तर…तर सुप्रियामाथि शङ्का गर्नुको कुनै विशेष कारणछ ?’
ऊ केही बोलेन, केवल चिन्तापूर्ण भावमा घोरिइरह्यो । मैले दोहोर्याइतेहर्याई सोधेपछि बल्ल उसले अप्ठ्यारो मान्दै भन्यो– ‘घरको कुरा हो प्रत्यूष, साधारण स्थितिमा म यो कदापि भन्न चाहने थिइनँ तर…तर अहिले स्थिति भिन्दै छ, त्यसैले बाध्य भएर भन्दैछु । मलाई सुप्रियाको त्यस जगल्टेसँगको हेलमेल कहिल्यै मन परेन । त्यसमाथि प्रत्यूषको वारिसनामाको बारेमा जान्ने सबैभन्दा धेरै उत्सुकता पनि उसैलाई थियो । त्यसैले नै सुप्रियाजस्ती नाकमा झिँगा अड्न नदिने मान्छेले मजस्तो स्तरहीन मान्छेलाई आफ्नो डाइनिङ् टेबलमा खाना खाने अवसर दिएकी थिइन् ।’
वासुले टाउको उठाएन । न त म नै केही बोल्न सकेँ ।
‘त्यसको अलावा,’ यसपटक उसले केही दबेको स्वरमा भन्यो– ‘सुप्रियाले बितेका दुई–तीन महिनामा खर्च गरेको पैसाको कुनै लेखाजोखा छैन ।’
‘तर त्यो कसरी हुनसक्छ ?’ मैले उत्तेजित हुँदै भनेँ– ‘मैले त अकाउन्टेन्टलाई मेरो अनुमतिविना कसैलाई फुटेको कौडी नदिन कडा आदेश दिएथेँ ।’
‘सरी टु से प्रत्यूष, …तर, तर यस्ता अरू पनि थुप्रै चीज तपाईंको आदेश र इच्छाविरुद्घ भएका छन् ।’
‘मतलब ?’
‘अफिस जान थालेपछि तपाईं आफैँले थाहा पाउनुहुनेछ ।’ उसले बिस्तारै भन्यो । मैले वासुतर्फ हेरेँ । उसले सहमतिपूर्वक टाउको हल्लायो ।
कसैले कति सही कुरा भनेको थियो– सुतेको बाघलाई श्यालले पनि छकाउँछ ! म थला के परेँ, मेरो आश्रयमा रहनेहरूले मलाई किनारा लगाएर मनमानी गर्न सुरु गरिसकेछन् । म भने यही सोचिरहेँ– सबै ठीकठाक चलिरहेको छ । सबै मेरो अधीनमा छ । कति गलत रहेछु म ? मैले किन यो सोचिनँ कि मालीविनाको बगैँचाका फलफूल कहिल्यै सुरक्षित रहँदैनन् । यहाँ त मौका मिल्नुपर्छ, कमिला पनि हात्तीमाथि चढेर नाच्छ । तर केही छैन, अब ठेगान लगाउँछु म सबैलाई । अब खबर लिन्छु म एकएक चीजको । मैले दृढतापूर्वक सोचेँ अनि प्रत्यक्षमा भनेँ– ‘अरू केही कमल ?’
‘अरू ? अरू त, अँ, धनबहादुर काका गायब छन् ।’
क्रमशः
………………………………………………………………………………………………………………
(विगत डेढ दशकदेखि उपन्यास र कथा विधामा निरन्तर कलम चलाउँदै आएकी स्रष्टा हुन् सानु शर्मा । हालसम्म उनका पाँचवटा कृतिहरू प्रकाशित छन् । उनको आख्यान–श्रृङ्खला– ‘फरक’ रहेक सोमबार र शुक्रबार नियमितरूपमा प्रकाशित हुनेछ ।)
sanu.sharmaa@gmail.com