अधिकांश लेखक नियुक्तिका लागि बालुवाटार धाउँछन् - Aksharang
  • २०७७ फागुन १७ सोमबार

अधिकांश लेखक नियुक्तिका लागि बालुवाटार धाउँछन्

(कुनै समयका चर्चित वामपन्थी राजनीतिज्ञ र अहिले पूर्णकालीन साहित्यसिर्जनामा लागेका प्रदीप नेपालसँग ‘अक्षरङ्ग’ का लागि रमण घिमिरेले समसामयिक विषयमा गरेको वार्ता)

 

बन्दाबन्दीमा सिर्जनशीलताको खेतीपाती कस्तो हुँदैछ ?
उदास र चिन्तायुक्त वातावरण, तनाव बढाउने खबरहरू, यस्तो अवस्थामा अक्षरको खेती गर्न मन लाग्दो रहेनछ । मैले केही लेखिनँ भन्दा पनि हुन्छ । पूर्वीय भौतिकवादी दर्शन थोरथार पढेँ । त्यसलाई परिपुष्ट गर्न, फेरि एकपल्ट पढ्नैपर्छ । त्यसैले कोरोना भाइरसले मेरो लेखनी खाइदियो भन्दा हुन्छ ।

भूमिगतकालमा सञ्जय थापाको नामले सशक्त सिर्जनाहरू गर्नुभयो, त्यस बेला साहित्यमा यही नामले प्रसिद्ध र स्थापित पनि हुनुभयो । तर प्रजातन्त्रकालपछि त्यस लेखकलाई मारेर प्रदीप नेपालमा मात्र बाँच्न चाहनुभयो, किन ?
भूमिगत कालपछि होइन, २०५७ सालमा साझा प्रकाशनले प्रकाशित गरेको ‘एक्काइसौँ शताव्दीकी सुम्निमा’ प्रदीप नेपालको नाममा प्रकाशित भएको हो । १० वर्ष भैसकेको थियो भूमिगत राजनीतिबाट बहिर आएको पनि । पारिवारिक इष्टमित्रको चर्को विरोध रह्यो सञ्जय थापामा । नामलाई मैले कहिल्यै महत्व दिइनँ । २०३३ सालको वागमती अञ्चलाधीशको कार्यालयको पक्राउ पुर्जीमा ‘सागर नेपाल, सिरोज भन्ने प्रदीप नेपाल’ नामकरण गरिएको थियो । बहुुनाम त छँदैथियो मेरो साहित्यमा । त्यसबाहेक ०३५–०३६ सालमा म काम गरिरहेको पार्टीमा, ‘लेख्नु भनेको निम्नपुँजीवादी महत्वाकाङ्क्षा हो’ भन्ने चिन्तन पनि थियो । म नेलेखी बस्नै नसक्ने । पुराना उपनामहरू सार्वजनिक भैसकेका थिए । एकदमै मैले ‘सञ्जय थापा मगर’ को नाम राखी काठमाडौँमा एउटा साहित्यिक टिप्पणी पठाएँ । रघु पन्त त्यतिबेला साहित्य र कलाको फाँट हेर्नुहुन्थ्यो । उहाँले मेरो अक्षर चिन्नु पनि हुन्थ्यो । त्यसैले ‘मगर’ झिकेर मलाई सञ्जय थापा बनाइ दिनुभएछ । पत्रिका मैले पनि पाएँ । मलाई पनि त्यही मनप-यो ।

तपाईंको उपन्यास ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’ प्रकाशित भएपति त्यसले त्यस वर्षको साझा पुरस्कार पाउँछ भन्ने धेरैको अनुमान थियो तर पाएन ? के थियो यथार्थ ?
‘एक्काइसौं शताब्दीकी सुम्निमा’ ले साझा पुरस्कार पाउँछ भन्ने सबैलाई लागेको थियो । त्यो उपन्यास छाप्न विष्णुविभु घिमिरेको विशेष प्रयत्न थियो । मेरो विचारमा उहाँलाई पनि ‘एक्काइसौं शताब्दीकी सुम्निमा’ पुरस्कृत हुन्छ भन्ने लागेको थियो होला । तर त्यसले पाएन । ‘नामले धोका दियो’ निराश स्वरमा उहाँले भन्नु भयो । योेभन्दा अगाडि बबिता बस्नेतले ‘साहित्यचाहिँ तपाईले सञ्जय थापाकै नाममा लेख्नुपथ्र्यो’ भन्नु भएको थियो ।

अनि किन म-यो त लेखक सञ्जय थापा ?
पछिल्लो समयमा म सञ्जय थापालाई सिध्याउने मानसिकतामा पुगेको थिएँ । मैले एउटा अन्तरवार्तामा भनेको पनि थिएँ, खुला राजनीतिमा आएपछि अब सञ्जय थापा म-यो । वाफ रे ! चौतर्फी विरोध भयो साहित्यका पाठकबाट । दयाराम श्रेष्ठ ‘संभव’ ले ‘तपाईं सञ्जय थापालाई मार्न पाउनु हुन्न’ भन्नु भएपछि मैले ‘राजनीति मेरो नागरिक दायित्व थियो । तर साहित्य त मेरो जीवन हो’ भन्ने निष्कर्ष निकालेर म साहित्यमा सधैँभरिका लागि सञ्जय थापा भएको छु ।

विश्वका ठूलठूला सर्जकहरू आजीवन आफ्नो उपनामले नै लेखेर बाँचेका उदाहरण छन् । तपाईंकै दाजु मञ्जुल पनि अहिलेसम्म भूमिगतकालको यही नामले कलम चलाइरहनु भएको छ । तपाईंलाई खासमा केले प्रेरित ग-यो प्रदीप नेपाल हुन र सञ्जय थापाको अवसान गराउन ?
मैले माथिल्लो प्रश्नमा यसको जवाफ दिइसकेको छु । नेपाल बाहुन, थापा क्षत्री भयो भन्ने सङ्कुचित सामाजिक परिवेश र जान्ने बुझ्नहरूले ‘विश्वेश्वरप्रसाद कोइराला, साहित्य र राजनीतिमा एउटै नामले परिचित हुनुहुन्छ’ भनेर दिएको सुझाव । जहाँसम्म मन्जुल दाइको कुरो हो उहाँ त राल्फा हुनुअघि नै मन्जुल भैसक्नु भएको थियो । राजनीतिमा उहाँको प्रवेश त्यसको झन्डै १० वर्षपछि भएको हो ।

अब राजनीतिबाट पूरै सन्यास लिएर पूर्णकालीन लेखक हुनभएको हो ?
नेपालमा पूर्णकालीन लेखक भएर बाँच्न सकिन्न भन्ने मेरो भोगाइ हो । साहित्यभन्दा अखबारहरूमा लेखेर मैले दसौँ गुना बढी कमाएको छु । त्यसैले म आफुलाई पूर्णकालीन साहित्यकार भन्न सक्दिनँ । महाकवि देवकोटाले त बाँच्न ट्युसन पढाउनु परेको यो मुलुकमा हामीजस्ता साहित्यकारले लेखेर बाँच्न सकिन्छ भनेर म कल्पना पनि गर्न सक्दिनँ । पाठ्यपुस्तक लेख्नेका लागि त्यो सम्भव होला । तर साहित्यकार । खै !

किन राजनीतिप्रति यति वितृष्णित हुनुभयो ?
मलाई लाग्छ मेरो राजनीतिक दायित्व सकियो । कति वर्ष काम गर्न सक्छ एउटा मानिसले ? ३०, ४०, ५० कति ? बूढो हुँदैगएपछि उसको शरीर गल्दैन ? मेरो त गल्छ । उहिले म १८ देखि २० घण्टासम्म काम गर्थें । अहिले म १० घन्टा काम गर्दानगर्दै थाक्छु ।

तपाईं कुनै समय अन्तर्वार्ता दिँदा पनि पारिश्रमिक लिने राजनीतिज्ञ भनेर चर्चित हुनुहुन्थ्यो ? आज भूमिगतजस्तो हुनुभएको छ ? कस्तो अनुभव गर्नुहुन्छ ?
सत्ताबाट बाहिरिएपछि नेपालमा मान्छेको काम हुँदैन । पत्रकारका लागि त झन् त्यो मान्छे बेकामे हुन्छ । अनि बेकामेलाई कसले वास्ता गर्छ र !

जीवनको यस वयमा आइपुग्दा राजनीति र साहित्यमा तपाईंले अनुभूत गरेको (कटु) यथार्थ के हो ?
मलाई त्यस्तो केही लाग्दैन । राजनीतभन्दा, लेखन माथि हो । यो मेरो निष्कर्ष हो । राजनीति गर्नुअघि पनि म लेख्थेँ । अहिले म सक्रिय राजनीतिमा छैन । तर लेखिरहेछु र लेखिरहनेछु । तर मलाई साह्रै दुःख लागेको कुराचाहिँ के हो भने हाम्रा अधिकांश लेखक नियुक्तिका लागि बालुवाटार धाउँछन् । राजनीति खराब खेल हो भने सााहित्य भनेको स्वाभिमानको सगरमाथा । तर हाम्रा अधिकांश साहित्यकारले किन आफ्नो स्वाभिमान बिर्सिएका हुन् भनेर पिरोलोचाहिँ लाग्छ ।
एउटा लेखकलाई बाँच्न सबैभन्दा ठूलो आधार के रहेछ ?
गाँस, बास र कपास ।