फरक– १२ - Aksharang
  • २०७७ माघ ११ आइतबार

फरक– १२

सानु शर्मा

सानु शर्मा

‘मद्दत ? कस्तो मद्दत ?’ उनको स्वर फेरि चर्को भयो– ‘हाम्रो के औकात कि हामी कसैलाई मद्दत गरौँ ? आँखा खोल बिनी । दुई महिना ग्राहकसँग नसुत्दैमा तँ
सम्भ्रान्त, संस्कारी र सभ्यमा गनिन्नस् । आज यो मान्छे लाचार छ, त्यसैले सद्घे छ, सभ्य देखिएको छ । तर जब भोलि ठीक भएर उठ्छ, त्यसपछि ऊ भित्रको पशुले तँलाई एउटी वेश्याबाहेक केही देख्ने छैन, जसलाई भोग्नु हरेक पुरुषको हक मान्छन् यिनीहरू । यस्ताका लागि तँ किन आफ्नो शरीरको चोक्टाचोक्टा बेचेर जम्मा गरेको पैसा खर्च…।’
‘शुऽऽऽस…।’ बिनीको एकदमै धीमा स्वर मसम्म आइपुग्यो– ‘बिस्तारै बोल्नूस् न, उसले सुन्यो भने के सोच्ला…!’
‘जेसुकै सोचोस् मलाई के मतलब ?’ दिदीको स्वर सानो भएन– ‘मेरा लागि लोग्नेमान्छेको जात र गिद्घको जातमा केही फरक छैन, दुवैलाई सिनोमा…।’
‘दिदी त्यसो नभन्नूस् । प्रत्यूष त्यस्तो छैन । मैले तपाईंलाई भनिसकेँ नि, पोखरामा बिताएका पाँच दिन र रातको बारेमा । ती पाँच दिन त म कहिल्यै बिर्सन सक्दिनँ दिदी । त्यही पाँच दिनले मलाई विश्वास दिलाएको थियो– यो सृष्टिमा यस्ता मान्छे अझै पनि बाँकी रहेछन्, जसलाई ‘मानिस’ भन्दा धक मान्नु पर्दैन, लजाउनु पर्दैन । यो मान्छे त्यस बेला पनि विश्वासयोग्य थियो र आज पनि छ मेरा लागि । अनि म यस विश्वासको बदलामा जे पनि गर्नसक्छु ।’ बिनीले दृढतापूर्वक भनी ।
मेरा आँखा रसाए ।
‘आफूलाई भद्रेको जिम्मा लगाउन पनि सक्छेस् होइन त…?’
‘दिदी !’
‘यत्रा वर्षदेखि हात धोएर तेरो पछि परेको त्यस राक्षसले तलाईं कुन सर्तमा मद्दत गयो होला, यो तैँले भनिरहनु पर्दैन मलाई ।’ सुभद्राले भनिन् ।
मलाई यस्तै केहीको शङ्का त थियो तर सुभद्राले भनेको सुनेर मेरो मन कहालियो । आँखाअघिल्तिर त्यो अजङ्गको कुरूप मान्छेको छवी प्रतिविम्बित भयो, जसको कल्पनाले नै मेरो शरीरका सबै रौँ ठडिएझैँ भए । के गरौँ म ? म असहाय भावले छततिर हेर्दै बडबडाएँ ।
भित्र बिनी केही नबोलेपछि फेरि सुभद्राले नै भनिन्– ‘यो के मूखर्ता हो तेरो ? यतिका लोग्नेमान्छेहरूले दिएको घाउ र चोटले पनि नचेतेर अर्को एउटा लोग्नेमान्छेको नाममा तँ आफूलाई त्यस राक्षसलाई सुम्पिन्छेस्, जसको छेउमा उभिन पनि मान्छेलाई डरलाग्छ । त्योसँग तँ कसरी…।’
‘मलाई केही पर्वाह छैन ।’ यसपटक बिनीले बिस्तारै भनी– ‘सुभद्रा दिदी, यो काँचो मासुको व्यापारमा मेरा लागि हरेक शरीर एउटा मासुको थुप्रोबाहेक अरू केही होइन । त्यसैले सुन्दर र कुरूपले मलाई केही फरक पर्दैन । तपाईं नै भन्नूस् अरू के गर्न सक्छु म यस स्थितिमा ? कहाँ लिएर जान्छु उसलाई ? तपाईंले बुझ्नुभएको छैन, कुन स्थितिमा छ ऊ अहिले ? जब मैले पहिलोपटक देखेथेँ उसलाई तब कस्तो थियो ऊ । अनि अहिले कस्तो र कुन अवस्थामा छ भन्ने कुरा म वर्णन गर्न सक्दिनँ । दिदी, प्रत्यूष त्यो मान्छे हो जसलाई आफ्नाहरूले साथ दिएका भए कुनै वेश्याको साथ र सहाराको आवश्यकता पर्ने थिएन । तर उसको भाग्य पनि मेरै जस्तो छ सायद जहाँ आफन्तहरूको दुत्कार र ठक्करबाहेक अरू केही लेखिएको छैन ।’
‘बिनी !’
‘मलाई आफ्नो कुनै पर्वाह छैन । एकपटक ऊ यो सारा झमेलाबाट मुक्त होस् । त्यसपछि ऊ आफ्नो बाटो, म आफ्नो बाटो । सोच्नेछु– शरीरभन्दा माथि उठेर मैले पनि कसैलाई साथ दिएँ । थोरै नै सही तर कमसेकम यो त अनुभूत गर्ने मौका दियो जिन्दगीले कि म वेश्याभन्दा पहिले एउटी स्त्री पनि हुँ, मान्छे पनि हुँ । जहाँसम्म पैसाको कुरा छ दिदी, त्यो त म भोलि फेरि कमाउन सक्छु तर अहिले, यतिबेला यस पैसाको आवश्यकता उसलाई छ, जोसँग कुबेरको खजाना छ । तर जसका अगाडि यतिबेला आफ्नो ज्यान जोगाउनलाई एउटी पेसेवर आइमाईले शरीर बेचेर कमाएको पैसा खर्च गर्नेबाहेक अर्को कुनै विकल्प छैन । अब तपाईं नै भन्नूस् योभन्दा कठिन समय अरू के हुनसक्छ उसका लागि ? मेरो त के ? म त पापको कमाइ पुण्यमा खर्च गरेँ भनेर सोच्नेछु र भोलि भगवानको दरबारमा गएर उभिँदा टाउको उठाएर भन्न सक्नेछु– म पनि क्षमाको लायक छु ।’
‘बिनी !’ सुभद्रा दिदीले यसपटक अलि सानो स्वरमा भनिन्– ‘कसले भन्छ तँलाई क्षमाको आवश्यकता छ ? तँ त त्यो पारस होस् बिनी जसलाई छोए मात्र भने पनि पापीहरू मुक्त हुन्छन् । नत्र के, कसैले एउटा अन्जानका मान्छेको लागि त्यो सब गर्छ, जो तँ गरिरहेकी छस् ? तर पनि एकपटक सोचेर हेर !’
‘मैले सबै सोचेर हेरिसकेँ ।’ बिनीले भनी– ‘अब म पछि हट्न सक्दिनँ दिदी । त्यसैले तपाईंलाई यहाँ बोलाएकी । म काठमाडौँ जान्छु । त्यहाँ यताउता घुमेर भित्री कुराहरू बुझ्ने कोसिस गर्छु । तर उसलाई यहाँ एक्लै छोड्न सक्दिनँ । तपाईं बसिदिन सक्नुहुन्छ अलिबेर ?’
मेरा आँखाबाट तपतप चुहिरहेका आँसुलाई म पुच्छ्न पनि सक्थिनँ । भित्र सुभद्रा दिदी भन्दैथिइन्– ‘तर बिनी, मैले त रमेशलाई केही भनेकी छैन । फोन गर्यो भने के भन्नु ? फेरि…फेरि वाणीलाई पनि त मोन्टेस्वरी …।’
‘ओह…!’ बिनीको निराश स्वर गुन्जियो ।
केही बेर मौनता छायो तर फेरि बिनीले नै आग्रहपूर्वक भनी– ‘वाणीलाई स्कुलबाट ल्याउने समयसम्म त बसिदिनूस् न दिदी । म छिट्टै फर्कने कोसिस गर्नेछु ।’
केही बेर फेरि मौनता छायो ।
‘मन त छैन । किनभने लोग्नेमान्छेहरूप्रति दयाभाव राख्ने मन उहिल्यै छिन्नभिन्न भैसकेको थियो तर तेरो आग्रह टार्न पनि सक्दिनँ । त्यसैले बसिदिन्छु ।’
एकछिन अडिएर दिदी बोलिन्– ‘ला, राख तेरो पैसा । तैँले त सहजै भनिदिन सकिस् ‘पापको कमाइको पैसा पुण्यमा खर्च गरिदिन्छु’ भनेर । तर मलाई जति कसलाई थाहा छ– पसिना होइन, रगत बेचेर कमाएको यस पैसाको महत्व कति छ हाम्रा लागि भनेर ? मलाई त कुनै पुरुषले यसको मोल कहिल्यै बुझ्न सक्नेछ भन्ने लाग्दा पनि लाग्दैन । चाहे त्यो पुरुष प्रत्यूष होस् या रमेश ।’
म बयान गर्न सक्दिनँ त्यसबेला मेरो हालत कस्तो थियो भनेर । रोक्न चाहँदाचाहँदै पनि अविरल आँसु झरिरहेथे । मलाई आफ्नो लाचारीमा भन्दा पनि उसको बाध्यतामाथि रुन आइरहेको थियो । आखिर बाध्यता नै त थिएँ म उसको ?
म बिनीलाई बाहिर निस्कनबाट रोक्न चाहन्थेँ तर कहाँ सक्षम थिएँ र म ? कराएर, हप्काएर, आग्रह गरेर ऊ रोकिनेवाला थिइन अनि उसलाई समातेर रोक्नसक्ने क्षमता ममा थिएन । विधाता ! के मभन्दा विवश पनि कोही होला र यो सृष्टिमा ?
सायद मेरो जिन्दगीकै सबैभन्दा लाचार अवस्थामा थिएँ म । के म कहिल्यै यो लाचारीबाट मुक्त हुनसक्नेछु– मर्नुभन्दा पहिल्यै ?

०००
बिनी बाहिर निस्केपछि सुभद्रा गएर चुपचाप झ्याल छेउको कुर्सीमा बसिन् । सुभद्रा बिनीजस्तै सुन्दर त थिइनन् तथापि उनको गम्भीर अनुहारमा अनौठो आकर्षण थियो । दुब्लीदुब्ली, अग्ली, कालीकाली तर हिस्सी परेकी । सुभद्रासँग म थुप्रै कुरा सोध्न चाहन्थेँ तर उनको मप्रतिको बेवास्ता र उपेक्षा देखेर मलाई उनीसँग बोल्ने हिम्मत भएन ।
तीनचार घन्टाका बीचमा उनले मलाई दुईपटक ‘बाथरुम लगौँ ? केही खानुहुन्छ ?’ भनेर सोधिन् तर मैले ‘नजाने’ ‘नखाने’ भनेपछि उनी फेरि झ्यालछेउमै गएर बसिरहिन् । झोक्राइरहिन् । सोचिरहिन् ।
बिनी आउनुभन्दा केहीबेर अघि मैले ‘खान्न खान्न’ भन्दाभन्दै तलबाट कफी ल्याएर मलाई पिउन कर गरिन् । त्यसपछि बिनी भित्र पस्नेबित्तिक्कै ‘मलाई ढिलो भयो’ भन्दै मतिर दृष्टिपात पनि नगरी बाहिर निस्किन् ।
बिनीले धेरथोर काठमाडौँबाट सुनेर आएको कुरा मलाई सुनाई । उसका अनुसार सुप्रियाले आफूलाई प्रधान खानदानको उत्तराधिकारी घोषित गरेर वासुलाई बाहिरको बाटो देखाइदिइसकेकी थिई । सुमन्त र सुदर्शनको कहीँ अत्तोपत्तो थिएन । कमलले मेरो वारिसनामाको बारेमा सबैसँग कुरा गरिसकेको भएर मामा र सुप्रियाका बीचमा झगडा मच्चिरहेको थियो अनि पुलिस मेरो रेखदेख गर्ने ‘नर्स’ लाई जहाँतहीँ खोजिरहेको थियो । किनभने उनीहरूले मेरो डाक्टरद्वारा यो कुरा थाहा पाइसकेका थिए– उनीहरूको तर्फबाट मेरा लागि कुनै नर्सको व्यवस्था गरिएको थिएन ।
अब मलाई बिनीको झनै धेरै चिन्ता लाग्न थाल्यो । मैले उसलाई काठमाडौँ नजान भनेर बिन्ती भाउ गरेँ तर ऊ ‘यसरी लुकेर कोठामा बसेर के गर्ने ? कमसेकम म त कोसिस गर्नसक्छु कहीँ कुनै सुराक फेला पार्ने ?’ भन्दै सबेरै, सुभद्रा आउनुभन्दा पहिल्यै, मलाई बेडबाट ह्विलचेयरमा सारेर त्यहाँबाट निस्की । मलाई फेरि आफ्नो विवशतामाथि रुन आयो । म लाचार, चुपचाप रोइरहेँ ।
बिनी निस्केको लगभग एक घन्टापछि सुभद्रा ताल्चा खोलेर भित्र पसिन् । मेरा आँखा उनको अनुहारमा पर्नेबित्तिकै मैले आफ्ना सारा दुश्चिन्तता बिर्सेर अत्तालिँदै सोधेँ– ‘के भयो सुभद्रा ? त… तिमी ठीक त छ्यौ ? कसरी यतिबिधी चोट…।’ मैले अगाडि बोल्न कुनै शब्द भेटिनँ । उनी मलाई विचित्र भावले हेरिरहेकी थिइन् । मैले दृढतापूर्वक, उनका सुन्निएर लगभग बन्द हुनैलागेका आँखामा हेरिरहेँ । एकैक्षण मलाई यस्तो लाग्यो– उनी जवाफ नदिएर उपेक्षापूर्वक पिठ्यूँ मोडेर जानेछिन् तर फेरि के सोचेर हो उनी अडिइन् अनि मभन्दा पर कहीँ हेर्दै बिस्तारै भनिन्– ‘भर्याङबाट लडेर…।’
‘होइन ब्याल…।’ एउटा अबोध स्वर गुन्जियो त्यहाँ– ‘ममीले झुटो बोलेको… ललेर काँ हो ल ? तो त बाबाले पितेल पो त…।’
‘वाणी…!’ सुभद्राको स्वर अलि कडा भयो । मेरा आँखा सुभद्राको साडी समातेर उनको छेउमा, छेउमा के, उनको पछाडिबाट टाउको निकालेर मतिर हेरिरहेकी त्यस बच्चीमा परे, जसका आँखाबाट मानौँ कुनै विद्युतीय तरङ्ग निस्किरहेथ्यो । अनि त्यो तरङ्ग मेरो शरीरमा प्रविष्ट भएर मलाई हल्लाइरहेथ्यो ।
बच्चा–बच्चीको मलाई कुनै चाख थिएन । सायद त्यसैले नै होला म भित्र कहिले ‘बाउ’ बन्ने इच्छा जागृत भएन । केटाकेटीको साथको कल्पनाले नै झर्को लागेर आउँथ्यो मलाई । सुप्रिया त झन् मभन्दा तीन हात अगाडि थिई । उसलाई त झन् बच्चा–बच्चीसँग एलर्जी नै थियो । त्यही भएर होला हामीले पाँच वर्षको वैवाहिक जीवनमा झुक्किएर पनि सन्तानको बारेमा सोचेनौँ । तर त्यतिबेला जुन बच्ची मेरो सामुन्ने थिई, उसप्रतिको मेरो आर्कषणको वर्णन म गर्न सक्दिनँ । ऊ यति राम्री थिई– ऊजस्ती बच्ची मैले मेरो अहिलेसम्मको जीवनमा कुनै क्यालेन्डरमा, पोस्टरमा या सिनेमामा पनि देखेको थिइनँ । उसको गुलाबी अनुहार, गहिरा, काला, ठूल्ठूला आँखा, घुम्रिएका लामालामा परेला अनि वास्तविक नै नलाग्ने लामो न लामो कर्लीकर्ली कपाल । उसलाई देखेर खुलेको मेरो मुख बन्द हुनै सकेन । म सम्मोहनमा बाँधिएझैँ उसैलाई हेरिरहेँ । ऊ मतिरै हेरिरहेकी थिई । उसका आँखाको हिस्सीमा अनौठो उत्सुकता थियो मप्रति ।
‘केही खान्छौ ?’ सुभद्राले सोधेपछि मैले झस्कँदै सोधेँ– ‘क…के… रे.. के भन्यौ ?’
‘केही खान्छौ भनेर सोधेको ?’ सुभद्राले फेरि दोहोर्याइन् । मैले त्यस बच्चीबाट आँखा नहटाईकन सहमतिपूर्वक टाउको हल्लाएँ । सुभद्रा तल जान अघि बढिन् । फुच्ची पनि उनको साडी समातेर मुन्टो फर्काएर मलाई हेर्दै पछि लागी ।
‘वाणी, तँ यहीँ बस ! म अङ्कलका लागि खाना लिएर आउँछु ।’
‘नाइँ…।’ उसले टाउको हल्लाएर विरोध जनाई ।
‘एकै छिन बस न, म आइहाल्छु । त्यत्रो भर्याङ ओर्लन, उक्लन तँलाई एक घन्टा लाग्छ तँ…।’
‘वाणी ! यहाँ मेरोछेउमा बस्दै गर, ममी तिम्रा लागि पनि खाना लिएर आउनुहुन्छ ।’ मैले बिस्तारै भनेँ ।
‘आ..आइछिम पनि ?’ उसले सुभद्रातिर हेरी । सुभद्राले मतिर हेरिन् तर मैले उसले भनेको बुझ्दैनबुझेकाले अलमलमा परिरहेँ ।
‘आइसक्रिम कहाँबाट आउँछ यहाँ ? यहाँ त…!’
‘आइसक्रिम पनि वाणी !’ मैले सुभद्रालाई उछिन्दै भनेँ– ‘अरू पनि तिमीलाई के चाहिन्छ ममीले ल्याउनुहुन्छ ।’
‘चलकेट पनि…?’ उसले मसँग सोधी तर मैले यसपटक पनि उसको कुरा नबुझेर सुभद्रातर्फ हेरेँ । सुभद्राले मलाई केही भन्नुको सट्टा वाणीलाई हप्काउँदै भनिन्– ‘वाणी, पराई मान्छेसँग त्यसो भन्नुहुँदैन । चक्लेट म भरे घर जाँदा किनिदिन्छु ।’
‘होइन होइन सुभद्रा…’ मैले त्यो फुच्चीको अनुहारमा निराशा उम्रिनुभन्दा पहिल्यै हतारिँदै भनेँ– ‘चक्लेट पनि ल्याइदेऊ न प्लिज ! उसका लागि ल्याउँदिनौ भने मेरै लागि भए पनि ल्याउन है…!’ सुभद्राले पालैपालो मलाई अनि वाणीलाई हेरिन् । अनि सहमतिपूर्वक टाउको हल्लाउँदै बाहिर निस्किन् । यसपटक वाणी उनको पछि लागिन । मैले टाउकोले उसलाई आफ्नो नजिक आउन इसारा गरेँ तर ऊ अस्वीकृतिपूर्वक टाउको हल्लाएर परै बसिरही । म सम्मोहित, आँखा पनि नझिम्क्याई उसैलाई हेरिरहेँ ।
‘त.. तिम्लो नाम के ?’ निक्कै बेरपछि अनायासै उसले सोधी ।
‘हँ ?’ म झस्केँ ।
‘नाम, नाम के तिम्लो, नाम ?’ उसले आफ्नो तोते बोलीलाई सकभर सानो बनाउँदै फेरि सोधी ।
‘प्रत्यूष ।’ मैले उस्तै सानो स्वरमा जवाफ दिएँ ।
‘प… पल… प… प… त…’ उसले उच्चारण गर्न सकिनँ ।
‘प्रत्यूष… ।’
‘प तु… पल… प…।’ उसले १० मिनेट लगाएर प्रयत्न गरी तर उसको तोतेबोलीमा त्यो नाम उच्चारण हुनैसकेन ।
‘प्र… त्यू… ष… ।’ मैले उसको सजिलोका लागि एकएक शब्द छुट्याएर बिस्तारै दोहोर्याएँ ।
‘पतु….प…..प.., छिः नलाम्लो नाम तिम्लो ।’ उसले आफ्ना स– साना हात हल्लाउँदै भनी– ‘म…म तिमीलाई पापा भनेल बोलाऊँ ?’
‘वाणी…!’ मैले जवाफ दिनुअघि भरखर भित्र पसेकी सुभद्रा कराइन्– ‘होइन के बोल्छे हँ यो ? मैले चुप लागेर बस भनेको होइन तँलाई ?’
‘मैले त उ..उछको न..नाम भनेको त हो नि !’ उसले रुन्चे स्वरमा भनी– ‘तिमी किन गाली गल्छ्यौ ?’
मेरो मन उसको रुन्चे स्वर सुनेर खल्लो भयो । मैले व्याकुल हुँदै भनेँ– ‘तिमीलाई जे राम्रो लाग्छ, तिमी त्यही भनेर बोलाऊ वाणी मलाई !’ म सुभद्रातिर फर्किएँ र उनलाई लक्ष्य गर्दै भनेँ– ‘होइन, सुभद्रा, बच्चीको मन किन दुःखाउँछ्यौ ? जुन शब्दको उसलाई अर्थसम्म थाहा छैन, त्यो शब्दले कसैलाई सम्बोधन गर्दैमा के फरक पर्छ भन त !’
‘तिमीलाई त थाहा छ नि, होइन…?’ उनले तटस्थ स्वरमा सोधिन् ।
‘उसको त्यो सम्बोधनले मलाई केही फरक पर्दैन ।’ मेरो मुखबाट निस्कियो । सुभद्राले अनौठो भावले मलाई हेरिरहिन् । उनको त्यो विचित्र हेराइको सामना गर्न नसकेर मैले टाउको मोडेँ ।
सुभद्राले वाणीलाई आइसक्रिम र चक्लेट थमाइन् र मलाई खाना ख्वाउन सुरू गरिन् ।
उनले मलाई चम्चाको साहायताले खाना ख्वाइरहेको एकनाससँग हेरिरहेकी वाणी अचानक सुभद्राको कानमा मुख जोड्न पुगी । बालसुलभ जिज्ञासापूर्ण स्वर उसको हिसाबले सानै भए पनि मैले प्रस्टै सुनेँ । ऊ सुभद्राको कानमा मुख जोडेर सोध्दै थिई– ‘ममी ! यत्लो ठूलो मान्सेले किन आफैँ नखाको ? तिमीले किन ख्वाइदेको ? …म त आफैँ खान्छु त !’ उसको प्रश्नको उत्तरमा सुभद्राले केही बोल्नुभन्दा पहिल्यै मैले सुभद्राका आँखामा हेरेर भावपूर्ण स्वरमा भनेँ– ‘आफ्नी आमाको त मलाई यादै छैन वाणी, तिम्री आमाको हात एकै छिन सापट मागेर आमाको अपनत्व अनुभूत गर्न चाहन्छु म । त्यसैले…।’ मेरो स्वर अवरुद्घ भयो । म अगाडि बोल्न सकिनँ तथापि मैले सुभद्राको चम्चा समातेको हात मात्र होइन उनको सम्पूर्ण शरीर थरथराएको प्रस्ट देखेँ । सुभद्रा हातको चम्चा प्लेटमा राखेर बाथरुमभित्र छिरेपछि, वाल्ल परेर मलाई हेरिरहेकी वाणीले फेरि सोधी– ‘तिमीलाई छन्चो छैन हो ? त्यछैले ममीले तिमीलाई खाना ख्वाएको ?’ मैले केवल टाउको हल्लाएर सहमति जनाएँ । सुभद्रा बाथरुमबाट अनुहार मात्र होइन, आँसु पनि पखालेर आइन् र चुपचाप मलाई खाना ख्वाउन थालिन् ।

त्यसपछि अनायासै सुभद्राको मप्रतिको व्यवहार फेरियो । उनी मसँग धेरथोर बोल्न थालिन् । मेरा प्रश्नहरूको उत्तर दिन थालिन् ।
त्यही दिन खाजा खाने बेलामा मैले हिचकिचाउँदै भनेँ– ‘सुभद्रा एउटा कुरा सोध्न चाहन्छु यदि तिमी अप्ठ्यारो मान्दिनौ भने ।’
‘के कुरा ?’
‘किन तिमी त्यो मान्छेको पिटाइ सहन्छ्यौ जो !’
‘नसहेर के गरौँ त ?’ उनले मेरो प्रश्न पूरा हुनुभन्दा पहिल्यै भनिन्– ‘कहाँ जाँऊ अन्त ? एउटा गिद्घले लुछ्नु र अनेक गिद्घले चोक्टाचोक्टा लुछ्नुको अन्तर केवल मलाई थाहा छ प्रत्यूष । त्यसैले म ‘घर’ को कथित सुरक्षाबाट निस्केर फेरि खुल्ला आकाशमुनि उभिने हिम्मत गर्न सक्दिनँ । बगरेले काटेर खसी– कुखुराको मासुको मोल तोकेझैँ म आफ्नो जिउँदो मासुको मोल लगाउन अब सक्दिनँ । म मात्र किन ? यो दुनियाँका कुनै पनि स्वास्नीमान्छेले स्वेच्छाले आफूलाई बेच्न सक्दैनन् । आफ्नो मर्जीले आफ्नो मोल तोक्न सक्दैनन् । चाहे रमेशजस्तै लोग्नेसँग हरेक रात बलात्कृत नै किन हुनुनपरोस् ।’ उनका एकएक शब्दले मलाई आहत बनायो । मैले उनीबाट यति कठोर उत्तरको अपेक्षा राखेको थिइनँ । केही बेर म स्तब्ध र अवाक् भएँ ।
‘तर सुभद्रा, सबैको सोच त तिम्रो जस्तै हुँदैन नि ?’ केही बेरपछि मैले हिम्मत गर्दै भनेँ– ‘आफ्नै राजीखुसीले यो सब गर्नेहरू पनि त छन् आखिर यो संसारमा !’
‘खै, कहाँ छन् ? मैल त कहिल्यै भेटिन त्यस्तो कोही, जो वेश्यावृत्ति पनि राजीखुसीले गर्दछन् । प्रत्यूष ! यो पेसामा मजस्तै बहकिएर, अन्जानमै लाग्नेहरू त होलान् तर राजीखुसी …!’
‘किन ? बिनी पनि त आफ्नै इच्छाले…।’
‘कसले भन्यो ?’ उनको स्वर तीव्र भयो । उनको स्वरको तीव्रताले अलि हच्किँदै, अकमकाउँदै मैले बिस्तारै भने– ‘बि… बिनीले, उसले स्वयम् भनेकी…!’ मेरो कुरा सुनेर निक्कै बेर सुभद्रा केही बोलिनन् ।
!यदि बिनीजस्ता स्वास्नीमान्छे स्वेच्छाले वेश्यावृत्तिमा संलग्न हुन्छन् भने प्रत्यूष, सम्झ कि यहाँ प्रलय आइसकेको छ । बस, यो सृष्टि तहसनहस हुन मात्र बाँकी छ ।’ मेरो आँखामा हेरेर उनले कठोर स्वरमा भनिन् ।
!सुभद्रा…!’
!तिमी सोच्न सक्छौ ? जुन स्त्री आफ्नो सुखका लागि आफ्नै शरीर बेच्न सक्छे, उसले शरीर बेचेर जम्मा गरेको त्यो पैसा तिमीजस्तो अपाहिज, जोसँग उसको कुनै लिनुदिनु छैन, जोसँग उसको कुनै अपेक्षा जोडिएको छैन, भविष्य गाँसिएको छैन, सपना बाँधिएको छैन– उसका लागि खर्च गर्न सक्छे ? यदि सक्छे भने प्रत्यूष ! मलाई त्यस स्त्रीको तस्बिर भगवान् रामसीताको तस्बिरसँगै राखेर पूजा गर्नमा कुनै आपत्ति छैन । चाहे फेरि त्यो वेश्या नै किन नहोस् ।’
!तर सुभद्रा, बिनी त…ऊ त…।’ म अकमकाएँ । बोल्नका लागि शब्द नै भेटिनँ । उनले केही बेर मेरो अनुहारमा आँखा गाडेर ध्यानपूर्वक हेरिन् अनि बिस्तारै भनिन्– ‘थाहा छैन त्यो पागल सबैलाई किन ती सब कुरा भन्छे जुन कि सत्य हुँदै होइनन् । मानिसहरू पनि कसरी पत्याउँछन्– कुनै स्वास्नीमान्छेले स्वेच्छाले आफूलाई बेच्न सक्छे भन्ने कुरा ।’
‘तर सुभद्रा, जब ऊ आफैँ त्यो सब भन्छे भने पत्याउनेको के दोष ?’ मैले बिस्तारै भनेँ ।
‘ठीकै भन्यौ तिमीले ।’ उनले केही बेर सोचेर उदास स्वरमा भनिन्– ‘नभनेरै त हजार कहानी उत्पन्न हुने हाम्रो समाजमा, आफैँ भन्दै हिँडेपछि कसले नपत्याउला ? तर प्रत्यूष, तिमी नै भन त, बिनीजस्ती केटीले कुनै बाध्यताविना,आफूखुसी शरीर बेच्दै हिँडन सक्ली ? त्यो पनि केवल आफ्नो सुखका लागि, राजीखुसीले !’
म एकैक्षण घोरिएँ । मेरा आँखा अगाडि बिनीसँग बितेका थुप्रै पलहरू फिल्मको रिलजस्तै फनफनी घुमे अनि मेरो टाउको आफसेआफ अस्वीकृति जनाउँदै हल्लियो ।
‘त्यही त…।’ उनले अपसोचपूर्ण स्वरमा भनिन्– ‘मजस्ती लहैलहैमा लागेर गलत बाटोमा लाग्नेहरूको भविष्य अन्धकारमय भए पनि उसको त त्यस्तो नहुनुपर्ने तर के गर्नु, हात चाहे होम गर्दा जलोस् वा पटाका पड्काउँदा । खत त दुवैको उस्तै बस्छ । त्यसको अन्तर त केवल जल्नेले नै जानेको हुन्छ । बाँकी अरूका लागि त त्यो एउटा सामान्य खतसिवाय अरू केही हुँदैन ।’
‘सुभद्रा ! आफूखुसी शरीर बेचेको घोषणा गर्ने बिनीको बाध्यता जान्नसक्छु म ? किन ऊ…।’
‘जानेर के गर्छौ प्रत्यूष ? उसले झैँ म पनि यो कदापि चाहन्न, कोही दया देखाएर, सहानुभूति दर्साएर उसलाई लुटोस् । धेरै लुटिइसकी ऊ तर अब सायद यही ठीक हुन्छ– यदि फोकटमै पनि ऊ कसैसँग सुत्छे भने स्वेच्छाले सुतोस् । ठगिएर, दबाव र त्रासमा वा ब्ल्याकमेल भएर होइन ।’ उनले भनन् । मेरो अनुहार रातो न रातो भयो, तथापि मैले उनका आँखामै हेरेर दृढतापूर्वक भनेँ– ‘दबाव दिएर केही प्राप्त गर्ने, लुट्ने प्रवृत्ति मेरो हात–खुट्टा चल्दा पनि थिएन भने आज त म यो अवस्थामा छु । म उसमाथि दया, सहानुभूति देखाउने अवस्थामा कहाँ छु र सुभद्रा ? जो मलाई बचाउन यो हदसम्म प्रयत्न गरिरहेकीछे, उसप्रति त म कृतज्ञता व्यक्त गर्नसक्छु, आभार प्रकट गर्नसक्छु अनि आजीवन उसको ऋणी…।’
‘सुन्दा जति नै राम्रो सुनिए पनि कृतज्ञ हुने, आभारी हुनेजस्तो प्रथा अब हाम्रो समाज र स्वभावबाट मेटिइसकेको छ सायद ।’ उनले मेरो कुरा बीचैमा काटेर भनिन्– ‘यदि यस्तो नहुँदो हो त विश्वनाथको कुलीन परिवारमा ‘बिन्ती’ भएर जन्मिएकी त्यस अभागिनीलाई हाम्रो समाजले ‘बिनी’ बनाएर बजारमा उभ्याउने थिएन । हरेक रात बिक्न बाध्य गराउने थिएन ।’
‘सुभद्रा !’ मेरो स्वरमा हलुका कम्पन मिसियो ।
उनले केहीबेर तटस्थभावले मलाई हेरिन् अनि फेरि बिस्तारै भनिन– ‘उसले तिमीसँग नभनेका उसका व्यक्तिगत कुरा मलाई भन्ने हक त छैन तर पनि भन्दैछु । कारण तिम्रो सहानुभूतिको आश पटक्कै होइन । आज ऊ जहाँ छे त्यहाँ कसैको सहानुभूतिले उसको केही सप्रने पनि छैन । तिमीलाई उसको कथा–ब्यथा सुनाउनुको कारण यति नै हो– कमसेकम तिमी उसको बारेमा जान्दैनजानी उसप्रति कुनै गलत धारणा कायम नगर ।’ उनी केही बेर चुप लागिन् ।
म भन्न चाहन्थेँ– जो मेरो यस अवस्थामा यौटा दह्रो साथ बनेर उभिएको छ उसका बारेमा गलत धारणा कसरी बनाउन सक्छु म चाहे ऊ कति नै गलत किन नहोस् ! असहाय भएका बेला काँडा भएको लठ्ठी पनि महत्वपूर्ण हुन्छ । तर म केही बोलिनँ । डराएँ– यदि मैले केही भने भनेँ उनले आफ्नो विचार बदलिने पो हुन कि भनेर !
सुभद्राले निक्कै लामो सुस्केरा हालेर भन्न थालिन्– ‘आँखामा राखे पनि नबिझाउने बिन्तीको सुन्दरताको मात्र होइन, उसको शीलस्वभावको पनि उत्तिकै चर्चा हुन्थ्यो उसका छरछिमेक र टोलमा । आमाबाबु दङ्ग पर्थे उसको प्रशंसा सुनेर । आफ्नो नामलाई सार्थक गर्ने उसको व्यवहार र स्वभाव थियो । विनीत, दयावान शत्रुका आँखामा आँसु देख्दा पनि भक्कानो छुट्ने संवेदनशीलता । अनि तेज दिमाग । उसका बाबु एकाउन्टेन्ट थिए विराटनगरको एउटा नाम चलेको प्राइभेट कम्पनीमा । आमा साधारण गृहिणी । दाजु इन्डियातिर पढ्दै थियो । ऊ पनि फस्र्ट डिभिजनमा एसएलसी पास गरेर एघार कक्षामा पढ्दै थिई ।
हुन त उसको बाबुको हैसियत छोरालाई बाहिर राखेर चार्टर एकाउन्टेन्ट पढाउनेजस्तो त थिएन तर सुन्दर भविष्यको अपेक्षामा आफ्नो सर्वस्व सम्पत्तिको नाममा भएको एउटा घर पनि बन्धक राखेर उनले छोरालाई पढाइरहेका थिए ।
बिन्तीको अघि–पछि लाग्नेहरूको कमी थिएन । यहाँसम्म कि घरमा आउने–जाने उसका बाबुका साथीहरू, जसलाई ऊ अङ्कल भनेर सम्बोधन गर्दथी, उनीहरूले पनि उसको गाला मुसारेर, पिठ्यूँमा धाप मार्ने बहानामा उसको शरीरको स्पर्श गर्दथे । बिन्ती सकभर त्यस्तो स्थितिबाट सधैँ बचेर भाग्थी ।
उसकी आमा उसको चिना ज्योतिषीलाई देखाएर थाक्दिन थिन् । ज्योतिषीहरूको ‘तिम्री छोरीले राज गर्नेछे, यसको चिनामा राजयोग परेको छ, यो एक दिन कहाँबाट कहाँ पुग्नेछे’ भन्ने फोस्रो आश्वासन सुनेर दङ्गदास पर्थिन् । तर बिन्तीलाई यो सबको केही मतलब थिएन । ऊ पढे–लेखेर इन्जिनियर बन्न चाहन्थी । बाबुआमालाई सुखले पाल्न चाहन्थी । अभाव र अनिश्चितताभन्दा पर ऊ आफ्नो यौटा छुट्टै संसार खडा गर्न चाहन्थी । यस्तैयस्तै अनेकानेक सपनाहरू देख्दै दाजुको तुलनामा आफ्नो भागमा जतिसुकै अभाव परे पनि खुसीका साथ स्वीकारेर बाँचिरहेकी बिन्तीको जीवनमा त्यसबेला वज्रपात नै भयो जब उसको बाबुको एक्सिडेन्टमा परेर दुवै खुट्टा काटिए ।’
सुभद्राका कुराले म मर्माहत भएँ । सुभद्राले निश्वास छोडिन् र केही बेर चुप लागिन् ।
‘त्यस बेला बिन्तीको कक्षा ११ को परीक्षा चलिरहेको थियो । उसको दाजुको चाहिँ अन्तिम वर्षको पढाइ बाँकी थियो ।’ सुभद्रा बोलिरहिन्– ‘कम्पनीले आँसु पुछाइस्वरूप दिएको केही पैसा बाबुको उपचारमा सकियो । दाजु एक वर्षका लागि सिङ्गो भविष्य बर्बाद गर्न तयार थिएन । न त उसका बाबु नै त्यस्तो चाहन्थे । उनको सोचअनुसार अब बिन्तीको दाजु विवेकले पढाइ पूरा गर्न झनै जरुरी थियो तर कसरी ?
यस्तो बेलामा बिन्तीको बाबुले काम गर्ने कम्पनीको मालिकले बिन्तीलाई कम्पनीमा बाबुकै सरहको तलब–सुविधासहित काम दिने प्रस्ताव राखेर आफ्नो उदारता देखायो । उसको उदारताले बिन्तीका बाबुआमा धन्य भए । उनीहरूले हाकिमको उदारतालाई अन्यथा सोचेनन् वा सोच्न चाहेनन्– त्यो उनीहरू नै जानून् । उसको दाजुले पनि ढुक्कको सास फेर्यो तर बिन्ती त्यस कामका लागि तयार थिइन । किनभने एक त उसलाई त्यो मान्छे ठीक लाग्दैनथ्यो, अर्को ऊ पढाइ छोड्न चाहँदैनथी । तर उसको विरोध त्यसबेला टिक्न सकेन जब उसको बाबुले उसको अगाडि हात जोडेर भने– ‘बिन्ती ! छोरा र छोरीमा यही फरक हुन्छ– बाबुको कमजोर पलको सहारा सधैँ छोरा नै बन्छ । तर हामीले त तँ छोरी नै भए पनि तँलाई विवेकसरहकै व्यवहार गरेर हुर्कायौँ । आज विवेक पढाइ छोड्ने स्थितिमा छैन अनि म काम गर्नसक्ने स्थितिमा छैन । अब हाम्रो अपेक्षा तँमाथि छ । तैँले चाहिस् भने उसको पढाइ पनि पूरा हुन्छ, घर पनि चल्छ । एक वर्षकै कुरा त हो, अर्को वर्षदेखि तँ फेरि आफ्नो पढाइ सुरु गर्न सक्छेस् । बिन्ती, आफ्नो सुख र सजिलो त सबैले हेर्छन् । तैँले पनि आफ्नै सजिलो मात्र हेरिस् भने के फरक रहन्छ अरूमा र तँमा ? फेरि आज तैँले यस परिवारका लागि आफ्नो एक वर्षको पढाइ छोडिस् भने जीवनभरिका लागि तेरा कत्रो मान रहन्छ सबैको मनमा ? केवल एकै वर्षका लागि मेरो खुट्टा बनी दे बिन्ती, बाँकीको सारा जीवन हामी तेरो खुट्टा पखालेर पिउने छौँ ।’
केहिबेर अडिएर सुभद्राले भनिन्– “ बिन्तीले हार्न सकिन । मनमा डर लिएर, अनिच्छापूर्वक नै, परीक्षा सकिनासाथ उसले काम सुरु गरी ।
पहिलो दिन नै काम सिक्न भनेर उसको बाउको हाकिमले उसलाई ढिलासम्म अफिसमै रोक्यो । अफिसका अरू स्टाफहरू बिस्तारैबिस्तारै बिदा भए । हाकिमले नै उसको घरमा फोन गरेर उसले बिन्तीलाई ‘काम सिकाउन’ अफिसमा रोकेको जानकारी दियो । केही बेर कामको कुरा सम्झाएपछि हाकिम गएर आफू र बिन्तीको लागि चिया लिएर आयो ।
बिन्ती उसले सिकाएका कुराहरू ध्यानपूर्वक बुझ्ने कोसिस गर्दैथिई । अचानक उसको टाउको भारी हुँदैआयो । उसलाई आँखा उघार्न मुस्किल हुनथाल्यो । उसले आफ्नो रित्तो चियाको कपलाई हेरी अनि दुवै हातले टाउको थामेर त्यहीँ ढली ।

होस आउँदा उसले आफूलाई भुइँमा अस्तव्यस्त हालतमा पाई ।
१६ वर्षकी बिन्ती त्यति अबुझ पनि थिइन्– आफ्नो त्यस अवस्थाको अर्थ नबुझोस् । आफ्नै रगतको टाटो गलैँचामा देखेर ऊ डाँको छोडेर रोई । उसको बाबुको हाकिम पानीको ग्लास लिएर आयो जसलाई देखेर ऊ झन् बेस्सरी रोई । विक्षिप्तझैँ चिच्याई । तर हाकिम शान्त थियो । उसले शान्त स्वरमा बिन्तीलाई सम्झाउँदै भन्यो– ‘तिम्रो दाइको एक बर्षको पढाइको खर्च, तिम्रो बुबाको औषधिको खर्च र तिम्रो घर खर्चको बदलामा मैले तिमीसँग कुनै त्यस्तो चीज लिएको छैन, जसको तिमीले यत्रो अपसोच गर्नु परोस् । तिम्रा बाबुआमालाई पनि थाहा छ– कसैले तिमीजस्ती कम उमेरकी, पढाइ नपुगेकी केटीलाई त्यत्रो पैसा दिएर काममा राख्नुको के अर्थ हुन्छ ? त्यसैले त तिमी यस बेलासम्म घर नपुग्दा पनि कुनै खोजखबर नगरी ढुक्कसँग बसेका छन् । उनीहरू त ढुक्कसँग बसेका छन् भने तिमी किन अपसोच गछ्र्यौ ? उठ, लुगा लगाऊ, कपाल मिलाऊ, म तिमीलाई तिम्रो घर नजिक छोड्दै आफ्नो घर जान्छु ।’ उसले भनेका एकएक शब्द बिन्तीको आत्मामा झीर बनेर रोपिए । उसले छेउको पानीको ग्लास टिपेर हाकिमलाई झटारो हानी ।
बँच्ने कोसिस गर्दागर्दै पनि ग्लास उसको निधारमा बज्य्रो । उसले रिसले आँखा देखेन । बिन्तीको लामो कपाल जगल्ट्याउँदै उसले बिन्तीलाई दुई–चार थप्पड हान्यो र उग्र स्वरमा करायो– ‘के सोच्छेस् तँ आफूलाई ? के मभन्दा बाहिर गएर तिमीहरू टिक्न सक्छौ यो ठाउँमा ? कसले सुन्छ तेरो कहानी ? पुलिस मेरो पक्षमा, पावर मेरो हातमा । एकपटक चोरी औँला उठाएँ भने बोर्डर काटेर कतिबेला बम्बैको वेश्यालयमा पुग्छेस् तँलाई नै थाहा हुने छैन । तेरो दाइको पढाइ खर्चका लागि मसँग घर धितो राखेको छ तेरो बाउले । भोलि कोर्टबाट पुर्जी लगेर घरमा टाँस्न लगाई तिमीहरू सबैलाई गलहत्याएर निकालिदिन्छु । तेरो दाइको नेपाल छिर्ने बाटो बन्द गरिदिन सक्छु । आजीवन इन्डियाको कुनै जेलमा सडाउन सक्छु उसलाई, के गर्छेस् तैँले ? के गर्नसक्छेस् ? तेरो अपाहिज बाउले के हल्लाउन सक्छ मेरो ? अँ, तेरो रोइकराइले धेरथोर बदनामी होला मेरो, त्यति न हो ? तर मसँग यति पैसा छ, पावर छ कि तँजस्ता हजारौँ मिलेर पनि मेरो रौँ झार्न सक्दैनौ । त्यसैले चुपचाप मैले भनेको मान् । म तेरो, तेरो परिवारको ख्याल राख्ने छु । होइन भने तँलाई बम्बैको कोठीमा पुर्याउन अनि तेरा बाबुआमालाई मागेर खान बाध्य पार्न मलाई दुई दिन लाग्ने छैन ।’
उसको पिटाइसँग होइन, उसको धम्कीसँग बिन्ती असाध्यै डराई । डरले आँसु नथामिए पनि बिलौना थामियो । उसले सकीनसकी पर मिल्किएका आफ्ना लुगाहरू बटुलेर लगाई । उभिने प्रयास गर्दा फेरि एकपटक उसको डाँको छुट्यो । हाकिमले उसलाई बाथरुम देखाएर हातमुख धुन भन्यो । ऐनामा आफूलाई देखेर ऊ फेरि कल्पीकल्पी रोई । मन, आत्मा र शरीरमा केको दुःखाइ बढी थियो उसले त्यसबेला छुट्याउन सकिन । घाँटीमा जताततै टोकेका र चिथोरेका डामहरू थिए । ओठको किनार फुटेर रगत बगिरहेको थियो । उसलाई आफ्नै शरीरसँग यति घृणा लागिरहेको थियो, यदि मिल्ने भए ऊ त्यहीँ आफ्नो शरीरलाई जलाएर खरानी बनाइदिने थिई । तर घरमा उसको बाटो हेरेर बसेका लाचार बाबु र असहाय आमा सम्झेर उसले त्यसो गर्न सकिन ।
घाँटीवरिपरि सल बेरेर, सुन्निएका आँखा र अनुहारमा थाकुन्जेल पानी छ्यापेर ऊ बाहिर निस्की । हाकिमले उसका हातमा पैसाको एउटा बिटो राखिदियो । बिन्ती केही बोलिन ।’
सुभद्राले छेउको ग्लास उठाएर अलिकति पानी पिइन् । बाथरूम पसेर आइन् । म शरीरले यसै लाचार थिएँ । उनको कुरा सुनेर त मानौँ ढुङ्गामा परिणत भएको थिएँ । कुनैकुनै सत्य कति बीभत्स ! कति क्रूर ! मैले कुनै प्रतिक्रिया जनाउन सकिनँ ।
मेरोछेउमा बसेर सुभद्राले फेरि भन्न सुरूगरिन्– ‘बाटोभरि हाकिम उसलाई सम्झाइरह्यो, धम्काइरह्यो, फकाइरह्यो तर ऊ प्रतिक्रियाविहीन त्यतिकै बसिरही । घरभन्दा केही पर उसलाई ओरालेर हाकिमको गाडी अघि बढ्यो । बिन्तीको घर जाने इच्छा थिएन तर फेरि बाबुआमालाई शरीरको देखाउन नसके पनि आफ्नो हृदयको घाउ खोलेर देखाउने अठोट गर्दै उसले ढोका ढकढकाई ।
घरमा सायद बिजुली थिएन । लाल्टिनको मधुरो प्रकाशमा ढोका खोलेर आमा देखा परिन् । बिन्तीले मुख खोल्नुअघि नै उनका आँखा बिन्तीले अझसम्म हातमा समातिरहेको पैसाको बिटोमा पर्यो । उनको अनुहारमा अनौठो चमक उत्पन्न भयो । उनले हात बढाएर त्यो पैसा थाम्दै भनिन्– ‘जा…नानु… हातखुट्टा धोएर आइहाल । म खाना पस्कन्छु…।’
‘त…तर आमा…!’ बिन्तीले भक्कानिएर भन्न खोजी तर उसकी आमाले भान्सातिर जाँदै भनिन्– ‘विवेकको बुबा, हेर्नूस् त हाकिम साहेबले नानीको हात पैसा दिएर पठाउनुभएछ । अब विवेकको फिसको पैसाको चिन्ता गर्न परेन । जय होस् बिचराको । लु, गन्नूस् त कति रै’छ ?’
बिन्तीका आँखामा फेरि आँसु उम्लियो । उसलाई लाग्यो– उसको मन, उसको शरीर र उसको कौमार्यको भन्दा पनि पैसाको बढी महत्व, आवश्यकता थियो सायद त्यस परिवारलाई । ठीकै भन्थ्यो सायद उसको हाकिम– उसका बाबुआमाले सबै बुझेर पनि उसलाई काममा पठाए । नत्र के, आफ्नी छोरीको पीडा, उसको आँसु लुक्न सक्थ्यो उसकी जन्मदातृका आँखाबाट ? बिन्ती चुपचाप भित्र पसी । उसका बाबुआमा पैसा गन्न थाले । बिचरी बिन्ती !

क्रमशः
विगत डेढ दशकदेखि उपन्यास र कथाका विधामा निरन्तर कलम चलाउँदै आएकी स्रष्टा हुन् सानु शर्मा । हालसम्म उनका पाँच कृति प्रकाशित छन् । उनको आख्यान–शृङ्खला– ‘फरक’ हरेक सोमबार र शुक्रबार नियमितरूपमा प्रकाशित हुनेछ ।

sanu.sharmaa@gmail.com