किनकिन ? मलाई यस्तो लागिरहेछ ! - Aksharang
  • २०७७ माघ ४ आइतबार

किनकिन ? मलाई यस्तो लागिरहेछ !

डा. विष्णुविभु घिमिरे

डा. विष्णुविभु घिमिरे

शाश्वत सिर्जना समयको निरन्तर प्रवाहमा कहिले पनि समाप्त हुँदैन । हजारौँहजार वर्षअघिको सिर्जना किन नहोस्, त्यो आज पनि त्यत्तिकै अर्थपूर्ण लाग्छ । जुन कालखण्ड र जुन परिस्थितिमाथि त्यो रचना सिर्जना भएको होस्– समयको निरन्तर इतिहासमा मेटिनुको सट्टा झन्झन् माँझिदै, अझ लोकप्रिय बन्दै जान्छ । यस्ता कैयौँ लोककथा र लोकोत्तिहरू छन्, हामी बाल्यकालमा अगेनाको डिलवरिपरि बसेर बाजे, बजू, आमा, बाबाट सुन्थ्यौँ । त्यस बेला पढाउने शिक्षकहरूले पनि यस्ता कथाहरू खुब भन्थे । धेरै समयपछि किनकिन आफ्नो मुलुकको आजको परिस्थितिमा यस्ता कथाहरू समझन पुगेँ । हाम्रो मुलुकको स्थितिसँग यी कथाहरूको कताकता आज तादम्यता देख्दा आश्चर्य पनि लागेको छ । कालजयी कला–साहित्यको एउटा सानो अंशले पनि कसरी आफूमा युगयुग बोक्न सक्दोरहेछ । यसको सानो उदाहरणको रूपमा पनि यी कथाहरू मैले मानेको छु ।
पहिलो कथा मलेसियामा प्रचलित लोककथा हो । कथा अनुसार– आफ्ना भक्तहरूको इच्छा, प्रार्थना ईश्वरले पूर्ण गर्ने अवसरका रूपमा हेमन्त ऋतुमा एउटा रात आउँथ्यो । त्यस रात जसले जुन कुराको इच्छा राखेर प्रार्थना ग-यो भगवानले प्रार्थनाअनुसारका सबै कुरा पूरा गर्छन् भन्ने जनविश्वास थियो । त्यस्तै रात आउने दिन बिहान एउटा कलन्दर (बाँदर नचाउने मान्छे) आफ्नो गधा, कुकुर र बाँदरलाई लिएर यात्रामा हिँडिरहेको थियो । हिँडदाहिँडदै बाटोमै रात प-यो । उनीहरू त्यहीँ वास बसे । दिनभरिको यात्राको थकाइले कुकुरबाहेक सबै सुते । आधा रातमा आकाश उज्यालो देखेर कुकुरले सबैलाई उठायो । सबै मिलेर आ–आफ्नो इच्छा पूरा गर्न ईश्वरको प्रार्थना गरे । प्रार्थना सकिएपछि कलन्दरले बाँदर, गधा र कुकुरसँग ‘तिमीहरूले भगवानसँग के मागेर प्रार्थना ग-यौ’ भनेर सोध्यो ।
बाँदरले भन्यो– ‘मैले म धर्मगुरु बन्न पाऊँ भनेर प्रार्थना गरेँ ।’
गधाले भन्यो– ‘मैले म ठूलो नेता हुन पाऊँ भनेर प्रार्थना गरेँ ।’
कुकुरले भन्यो– ‘मैले, म त प्रधानमन्त्री हुन पाऊँ भनेर प्रार्थना गरेँ ।’
यी तीनवटैको कुरा सुनेपछि कलन्दरले आकाशतिर फर्केर भावविह्वल हुँदै प्रार्थना ग¥यो– ‘प्रभु मलाई अन्धो बनाइदेऊ, मैले यस्तो सरकार देख्न नपरोस् ।’ अहिले मलाई त्यो अभागी कलन्दर कोही नभएर किनकिन आफैँजस्तो लागिरहेछ ।
दोस्रो कथा । यो पनि मैले धेरै वर्षअघि सुनेको कथा हो । धनी झन् धनी, गरिब झन् गरिब बन्दैगएको आजको अवस्था हाम्रो यथार्थ हो । कथा यस्तो छ– पृथ्वीमा आएको बेला नारदजीलाई एउटा कुराले बडो चिन्तित बनायो । उनले पृथ्वीमा देखे जुन मानिस गरिब छ, त्यो कालान्तरमा अझ धनी, झन् धनी हुँदै गइरहेछ । यो देख्दा नारदले साचे– हरे ! यो कस्तो अन्याय, गरिब झन्झन् गरिब, धनी झन्झन् धनी ।
नारद तुरुन्त विष्णुलोक पुगी प्राणीपालक भगवान विष्णुलाई यो अन्यायबारे जानकारी गराए । विष्णुले नारदको प्रतिउत्तरमा भने– ‘तिमी पृथ्वीमा गएर सातवटा इँटा लिएर आऊ ।’ नारदजी तत्कालै फेरि पृथ्वीमा आए । पृथ्वीमा उनले इँटा खोज्दै जाँदा एक ठाउँ सँगसँगै उभिएका दुई मन्दिरहरू देखे । ती मन्दिरमध्ये एउटा जताजतै भत्किएर खण्डहरजस्तो र अर्को भव्य, आकर्षक एवं त्यत्तिकै बलियो मन्दिर देखे । नारदले सोचे– भव्य मन्दिरबाट इँटा निकालूँ धेरै क्षति हुने, इँटा निकाल्नै पनि अप्ठ्यारो । अनि झट्पट् सजिलै त्यही खण्डहर–मन्दिरबाट सातवटा इँटाहरू लिएर उनी विष्णुलोक पुगी आफूले ल्याएको इँटा विष्णुको चरणमा राखे । इँटा देखेपछि भगवानले भने– ‘नारदजी तिमीले यी इँटाहरू झिकेर त्यो खण्डहर–मन्दिरलाई झन् अझ खण्डहर बनायौ । त्यही नियम गरिबहरूमा पनि लागू हुन्छ । यदि उनीहरू आफ्नो पुरुषार्थ र साहसले सम्पन्न बन्ने, धनी बन्ने प्रयत्न गर्दैैनन् भने म पनि विवश छु । पुरुषार्थले नै मानिसलाई सामथ्र्यशाली बनाउँछ । सामथ्र्यले नै मानिसलाई समृद्घपूर्ण, सम्पत्तिको मालिक बनाउँछ । पुरुषार्थ र कर्महीन मानिस सधैँ दरिद्रको दरिद्र नै रहन्छ ।’
यतिबेला मलाई त्यो खण्डहर–मन्दिर किनकिन हाम्रै राष्ट्रियता, संस्कृति र लोकतन्त्रको भावनाविम्ब जस्तै लागिरहेछ ।