गितार बजाउँदै मञ्चमा गाउने पहिलो गायक - Aksharang
  • २०७७ मंसिर १९ शुक्रबार

गितार बजाउँदै मञ्चमा गाउने पहिलो गायक

रमण घिमिरे

रमण घिमिरे

समुधर गला, सरल, शिष्ट र सोझोपनसँगसँगै मैत्रीपूर्ण व्यवहारका कारण गायक प्रेमध्वज आज पनि पुराना र नयाँ सबै पुस्ताबीच समानरूपमा प्रिय छन् । र उनका लागि पनि सबै कलाकार–श्रोताहरू उत्तिकै प्रिय छन् । तर एकताका उनका लागि सबैभन्दा प्रिय चीज गिटार हुनपुगेको थियो, जुन आजपर्यन्त यो त्यति नै प्रिय छ ।
प्रेमध्वजमा कसरी बस्यो गिटारप्रतिको यति प्रगाढ मोह ? यसको पनि रोचक कथा छ ।
त्यतिखेर उनी कलेज पढ्दै अमेरिकी सूचना सेवा (युएसआइएस) को पुस्तकालयमा काम गर्थे । २०१६ सालतिरको कुरा हो, पाँच जना अमेरिकीहरूको एउटा साङ्गीतिक टोली काठमाडौँ आएको थियो– मञ्चीय प्रस्तुतिका लागि । अमेरिकी सूचना सेवाका कर्मचारी भएका नाताले त्यस साङ्गीतक टोलीलाई उनीहरूको प्रस्तुतिका लागि सहयोग गर्नु उनको कत्र्तव्य हुनआउँथ्यो र यसै क्रममा उनले त्यस टोलीको साङ्गीतिक प्रस्तुति हेर्ने र सुन्ने अवसर पनि पाए ।
कार्यक्रमको आयोजना भएको थियो त्यस बेलाको सानो टुडिखेल अर्थात् आजको दशरथ रङ्गशालामा । टोलीमा तीन जना गायक र दुई जना वाद्यवादक थिए । ती तीनजना गायकमध्ये एक जनाले यति मनमोहक पारामा गितार बजाउँदै गीत गाए, यो सुनेर अनि देखेर प्रेमध्वजलाई पनि गिटार बजाउने असीम मोह जाग्यो । तर त्यस बेला काठमाडौँमा यसरी सार्वजनिकरूपमा न गिटार बजाउने मानिस थिए, न त गिटार बेच्ने पसल नै । तर गिटारमोहले उनको निद्रासमेत बिथोल्न थाल्यो । ती अमेरिकी गायकले जस्तै गिटार बजाउँदै गाउन पाए कति आनन्ददायी हुन्थ्यो होला भन्ने कल्पनामा उनी चुर्लुम्म डुब्न थाले ।
ठीक त्यही बेला उनीसँगै त्यस कार्यालयमा काम गर्ने ईश्वरप्रसाद श्रेष्ठ अमेरिका–भ्रमण जाने भए । त्यस बेला हङकङ् हुँदै अमेरिका जानुपथ्र्यो । अनि प्रेमध्वजले अमेरिकाबाट फर्किंदा हङकङ्बाट एउटा गिटार जसरी पनि ल्याइदिनु होला भनेर ईश्वरप्रसादको हातमा त्यस बेलाको दुई सय रुपियाँ राखिदिए । नभन्दै फर्किंदा ईश्वरप्रसादले जर्मनीमा बनेको हफनर कम्पनीको एउटा गिटार ल्याइदिए । पहिलोपल्ट त्यो गिटार छुँदा उनलाई अर्कै रोमाञ्च र आनन्द भयो । तर उनलाई त गिटार बजाउन आउँदैनथ्यो । अनि उनले रामशरण दर्नाललाई यसका लागि गुरु थाले । त्यस बेला रामशरण गिटारलगायत भाइलिन, मेन्डोलियन आदि सबैजसो बाजा बजाउन पारङ्गत थिए । रामशरण रेडियो नेपालबाट प्रसारण हुने गीतहरूमा वाद्यवादकको काम गर्थे ।
अनि उनले उनै राशरणसँग गिटार सिक्न थाले । रामशरणले पनि झिँझो नमानी उनकै निवासमा आएर गिटार सिकाइदिए । नेपाली गीतमा आठ–दसवटा कर्ड सिके पुुग्थ्यो । राशरणसँग तीन महिना लगातार गिटार सिकेर प्रेमध्वज यी कर्डहरू बजाउन जान्ने भए । अनि रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गीत–गायन प्रतियोगिता राष्ट्रिय नाचघरमा पहिलोपटक यही गिटार बजाउँदै गाए– ‘गोरेटो त्यो गाउँको लौ न आज, खोजीखाजी थाकँे नि पहिल्याउन सकिनँ ।’ २० चैत २०२१ सालमा उनी यही गिटार बजाएर गाएको गीतमा त्यस वर्षको उत्कृष्ट गायक घोषित भई राजा महेन्द्रको हातबाट स्वर्ण पदक थाप्न सफल भए । अनि उनले सार्वजनिकरूपमा गिटार बजाएर गीत गाउने पहिलो नेपाली गायकको कीर्तिमान स्थापित गरे ।

पछि धर्मराज थापासँग ठेगाना लिएर कोलकातामा आफ्ना गीत रेकर्ड गराउन जाँदा पनि उनले यो गिटार सँगै लिएर गए र हिन्दुस्तान रेकर्डिङ् कम्पनीको स्टुडियोमा यही गिटार बजाएर केही गीतहरू रेकर्ड गराए ।
त्यसपछि उनले यही गिटार बजाएर भारतको मुम्बईमा १३ वटा कार्यक्रममा गाए । त्यसमध्ये एक प्रमुख कार्यक्रम थियो, सन् १९७० को फिल्म फेयर अवार्ड नाइट । उनी कार्यालयबाट एक वर्षको विदा लिएर सङ्गीत–गायनसम्बन्धी अध्ययनका लागि त्यहाँ गएका थिए । भारतीय विद्याभवनका शिक्षकले उनको गायन सुनेपछि ‘तिमीले सिक्नै पर्दैन’ भनेपछि उनी त्यहाँ आयोजना हुने विभिन्न कार्यक्रमहरू हेर्दै, गाउँदै र त्यहाँका स्टुडियोहरूले कसरी स्तरीय गीत–सङ्गीत रेकर्ड गर्दा रहेछन् भनेर अवलोकन गर्दै समय व्यतीत गरिरहेका थिए । त्यही बेला उनलाई त्यस वर्षको फिल्म फेयर अवार्ड नाइटमा गाउने अवसर प्राप्त भएको थियो । त्यहाँ उनले त्यही हफनर गिटार बजाएर एउटा हिन्दी गीत– ‘तुम बिन जाऊँ कहाँ’ र आफैँले गाएको नेपाली गीत– ‘घुम्तीमा नआऊः है !’ गाए । दर्शक दीर्घामा रहेका प्रसिद्ध कलाकारहरू धर्मेन्द्र, तनुजा, सञ्जीवकुमारलगायत सारा पाँच हजार फिल्मी र गैरफिल्मी दर्शकले उनको गायनबाट मुग्ध भएर ताली बजाएर प्रशंसा गरे । त्यसपछि उनले काठमाडौँकै धेरैवटा कोठेगायनमा पनि यही गिटार बजाएर गीत गाए ।
अहिले पनि उनीसँग गिटार छ, बेलाबेला मुड चलेका बखत त्यसका तारहरू झङ्क्रित गर्दै गाउँछन् । तर त्यो गिटार भने अब उनीसँग छैन । एकपटक मुम्बईमा गीत रेकर्ड गर्न जाँदा त्यो गिटार भाँचियो । त्यसपछि उनको त्यो प्रिय हफनर गिटारसँगको साथ सदाका लागि छुट्यो । तर त्यसप्रतिको प्रेम र आत्मीयता आज पनि उनको स्मृतिमा ताजै छ । आज पनि उनी अरू गितार समाउँदा ईश्वरप्रसादले हङकङ्बाट दुई सय रुपियाँमा ल्याइदिएको त्यही प्रिय हफनर गिटार सुमसुम्याएको अनुभूति गर्छन् ।