फरक– ६ - Aksharang
  • २०७७ माघ ४ आइतबार

फरक– ६

सानु शर्मा

सानु शर्मा

काठमाडौँमा प्लेन ल्यान्ड गर्दा मौसम धुम्मिएको थियो । आकाशमा मडारिइरहेको कालोकालो बादलले कुनै पनि बेला वर्षने धम्की दिइरहेझैँ लाग्थ्यो । मैले आफ्नो सामान कलेक्ट गरेँ र बाहिर निस्किएँ ।
मेरो प्रतीक्षामा बसेको कमलले अघिबढेर मेरो हातमा भएको ब्रिफकेश र ब्याग थाम्यो ।

‘के छ कमल ?’ मैले ऊसँग हात मिलाएँ ।
‘ठीकै छ प्रत्यूष ! सरी, यसरी अचानक तपाईलाई डिस्टर्भ गरेँ…तर यो…।’
‘इट्स ओके…मलाई थाहा छ यहाँको काम जरुरी छ । यसै पनि बैङ्कको ओपनिङ्को काम त सकिएकै थियो ।’ मैले भनेँ ।
ड्राइभरले ब्याग र ब्रिफकेस गाडीमा राखेपछि म गएर पछाडिको सिटमा बसेँ । कमल अगाडि बस्यो ।
‘प्रत्यूष ! पहिले घर गएर फ्रेस हुने कि…!’
‘होइन कमल, पहिले अफिस नै जाउँ ।’
मेरो मनले मलाई त्यो घरमा फर्कन कहिल्यै उत्साहित गराउँथेन । खास गरी हजुरबुबा बितेपछि । यति बेला त झनै टाढा भाग्न चाहन्थ्यो मेरो मन त्यो बिरानोजस्तो लाग्ने घर, परिवारदेखि । यो बिमारी, काम र परिचितहरूभन्दा पर । सम्भव भएदेखि त यो सहरदेखि नै टाढा भाग्न चाहन्थ्यो मेरो मन ।
यो पहिलोपटक थियो, मलाई आफ्नो ‘प्रत्यूष हुनु’ कष्टकर लागेको । पहिलोपटक थियो, जिम्मेवारीको बोझले थिचिएर निसास्सिएको । र पहिलैपटक थियो मैले आफूलाई यति कमजोर अनुभूत गरेको पनि ।
म घर नगएर सीधै अफिस पुगेँ ।
दिनभरि अफिसमै अलमलिइरहेँ । साँझ घर जानुपर्ने कुरा सम्झनेबित्तिकै मन अमिलो भयो ।

हुन त पोखरा जानुअघिदेखि नै मैले आफूलाई थकित र अस्वस्थ अनुभूत गर्न थालेको थिएँ । अचानकै चढ्ने र ओर्लने ज्वरोले शरीर त आलस–तालस थियो नै मन पनि खिन्न भैराख्थ्यो । तर यतिखेर म आफूलाई एकदमै स्वस्थ्य महसुस गरिरहेथेँ ।
थाहा छैन केको असर थियो यो ? म आफूलाई एकदमै स्फूर्त अनुभूत गरिरहेथेँ ।
दिनभरि नै बिनीको मोहक मुस्कान मेरो स्मृतिपटलमा बिजुली चम्केझैँ चम्किरह्यो तथापि म यही कोसिस गरिरहेँ– पोखरामा बितेका ती पाँच दिन कुनै सपनाझैँ विस्मृत भइदिऊन् । तर यादहरूमाथि छेकबार लगाउन त्यति सजिलो कहाँ थियो र ? यी त शीतल हावाको झोँक्का जस्तै गरी आइरहे । मलाई स्पर्श गरेर रोमाञ्चित बनाइरहे । जब कि ती पलहरू याद आउनेबित्तिकै मनले कामना पनि गथ्र्यो– कति जाती हुनेथियो मेरो यादमा सुवास बनेर बसेको त्यो पाँच दिनलाई मस्तिष्कले नामनिसान बाँकी नरहने गरी बिर्सिदिए ! किन ? के म अपराधबोध अनुभूत गरिरहेथेँ ? सायद !
राती निक्कै ढिलो घरपुग्दा पनि फुपूबाहेक घरमा अरू कोही थिएनन् । मेरो मन फेरि बितृष्णाले भरियो । त्यसबेला मलाई आफ्नो घर, घरजस्तै नलागेर होटलजस्तो लाग्यो । जहाँ भरिभराउ मानिसहरू थिए तर आँखाअगाडि कोही थिएनन् ।मलाई देखेर फुपूले ढुक्कको सास फेर्दै भन्नुभयो ‘प्राति ! –फुपू मलाई सधैँ त्यसरी नै बोलाउनुहुन्थ्यो) कहाँ हराएको यत्रो दिन ?’
‘सरी फुपू ।’ मैले उहाँको सामु झुक्दै अफसोचपूर्ण स्वरमा भनेँ–‘त्यस्तै पर्यो, घर पस्नै भ्याइनँ ।’
‘कमसेकम भनेर निस्कने गर न बा, अलिकम चिन्ता हुन्छ, नत्र त मन त्यसैत्यसै आत्तिन्छ ।’ उहाँले मेरो टाउकोमा हात राख्दै सस्नेह भन्नुभयो ।
फुपूको स्नेहले लथपथ भिजेर मेरो मन भरी भयो तर ओठबाट शब्द छचल्किन सकेन । कहिलेकाहीँ अनुभूत गरेको कुरा शब्दमा पोख्न कति गाह्रो भैदिन्छ !

त्यो रात फुपूले आफ्नो रेखदेखमा मलाई खाना ख्वाउनुभयो ।
राती मध्यरातमा सुप्रिया घरमा भित्रन आई तर मलाई घरमा उपस्थित देखेर ढिलो आएकोमा खेद प्रकट गर्नुको सट्टा मैले ऊसँग कुनै छलफल नै नगरी पोखरा हिँडेको, उसको वास्ता नगरेको, उसलाई मान्छे नगनेको कथा सुनाउन सुरु गरी ।
म केही नबोली विरक्तिएसँग मन बेडरुमतिर लागेँ ।
त्यो रात ऊ घुर्की देखाएर बेडरुममा पस्दै पसिन । जब कि मलाई सधैँभन्दा धेरै उसको आवश्यकता थियो । आफ्नो बहकिन ठिक्क परेको मनलाई म उसको सामीप्यले कसेर बाँध्न चाहन्थेँ । ता कि यो फेरि चलमलाउन नसकोस् । मलाई जितेर अघिबढ्न नसकोस् । तर सुप्रियालाई म कहिले चाहिएको थिएँ र ? जे चाहिएको थियो त्यो पहुँचमा भएपछि उसले त यो पनि बिर्सिदिएकी थिई–सम्पतिको यो थुप्रोमा उसलाई उकाल्ने माध्यम म नै थिएँ !
त्यसपछि मेरो दिनचर्या पुरानै ढर्रामा चल्न थाल्यो । काम, घर अनि काम । सुप्रियाको किचकिच । श्रेयाको मनमानी । इन्द्रमामा, सुदर्शन र सुमन्तको सधैँको पैसाको डिमान्ड । मेरोसामु उनीहरूको पसारिएको हात । पहिलेपहिले म उनीहरूले पसारिएको हातमा कुनै सोधखोज नगरी मागेको रकम राखिदिन्थेँ तर अब म आजित भइसकेको थिएँ उनीहरूको कहिल्यै पूरा नहुने आवश्यकतासँग । त्यसमाथि उनीहरू पैसा यसरी माग्थे– मानौँ म उनीहरूको ऋणी हुँ । कृतज्ञता देखाउनु त परको कुरा, उनीहरू त यस्तो व्यवहार गर्थे– मानौँ मसँग पैसा लिएर ममाथि उपकार गरिरहेछन् उनीहरूले ।

‘केका लागि पैसा चाहियो ?’ भनेर मैले सोधेको प्रश्नमा उनीहरू जतिसुकै आश्चर्यचकित भएर देखाए पनि पैसा चाहिनुको कुनै खास कारण उनीहरूसँग थिएन र आइन्दा विनाआवश्यकता म उनीहरूलाई पैसा दिने पक्षमा थिइनँ ।
हद हुन्छ कुनै पनि कुराको । र त्यो हद अब सकिएको थियो ।
यसरी पहिलोपटक आफ्नो माग पूरा नहुँदा सुदर्शन र सुमन्तले मुखले केही नबोले पनि इन्द्रमामाले सुनाइहाल्नु भयो– ‘म…म….मेरो ..अ…आ…आफ्नो छ…छोरो भए आज यस्तै गथ्र्यो र ? दिदीको छ…छो…छोरोलाई जति नै अ…आ…आफ्नो सम्झे पनि ऊ आ…आफ्नो हुँदैन भनेर त…ति…तिमीले आज प्रमाणित गरिदियौ प…प्र…प्रत्यूष बाबु !’ अरू बेला सामान्य भए पनि उहाँ जब आवेशमा आउनुहुन्थ्यो, यसै गरी भकभकाउँदै बोल्नुहुन्थ्यो ।
‘मामा, मैले दिन्नँ त भनेको छैन नि ? तर पैसा केका लागि चाहियो, त्यसको कुनै कारण पनि त हुनपर्यो नि ? । दुई हप्ता पूरा भएको छैन तपाईंले पचास हजार लिएको ।’ मैले उहाँलाई सम्झाउने कोसिस गरेँ ।
‘पहिले त तिमी क… का..कारण सोध्दैनथ्यौ त ?’ उहाँको स्वरमा व्यङ्ग्य मिसियो– ‘क..क..कहीँ पोखराबाट वासुले सिकाइ–पढाइ ग..ग..गरेर त प…प…पठाएन तिमीलाई ?’
‘मामा !’ यसपटक नचाहँदानचाहँदै पनि मेरो स्वर कडा भयो– ‘आजसम्म तपाईंहरूले भनेको बेलामा, चाहेको जति रकम दिँदा म ठीक थिएँ तर आज मैले पैसा चाहिनुको कारण के सोधेँ, म बेठीक भएँ ? म केटाकेटी होइन, जसलाई कसैले सिकाउन, पढाउनलाई । बस, आँखा बन्द गरेको थिएँ मैले, तर अब आँखा खोलेर हेर्न चाहन्छु कि मेरो मेहनत र पसिनाको कमाइ कहाँ र केमा पोखिँदैछ ? म यो कदापि चाहन्नँ– तपाईंहरूको ऐयासी र आरामका लागि दुवै हातले पैसा लुटाउँदालुटाउँदै मेरो भावी सन्तानको आवश्यकता पनि पूरा गर्न नसकूँ । त्यसैले कुनै जायज र जरुरी कारण देखाउनुस्, पैसा लैजानुस्, अन्यथा म तपाईंहरूको जाँड र पार्टीको लागि पैसा दिन असमर्थ छु ।’

मामा झोक्किँदै बाहिर निस्कनुभयो ।
त्यो मेरो घरमा भएको पहिलो विस्फोट थियो ।
भोलिपल्ट पनि राती एघार बजिसक्दासम्म पनि घरमा कोही उपस्थित थिएनन् । आज जतिसुकै ढिलो घर भित्रिन आए पनि उनीहरूसँग कुरा गरेर मात्र सुत्ने निर्णयका साथ म डायनिङ् हल र लाउन्जमा ओहरदोहर गरेर समय बिताइरहेथेँ ।
समयसँगसँगै मेरो रिसको पारा पनि शनैशनै चढिरहेथ्यो ।
१२ बज्नुभन्दा केहीअघि घरमा पसेका सुप्रियाका दिदीबहिनीलाई झम्टँदै मैले सोधेँ– ‘सभ्य परिवारका छोरी–बुहारीको घरमा भित्रिने समय यही हो ?’ मेरो त्यो अप्रत्याशित झम्टाइले उनीहरूलाई एकै क्षण अक्क न बक्क बनाए पनि तुरुन्तै सम्हालिएर सुप्रियाले अमिलो मुख लगाउँदै भनी– ‘ह्वाट्स रङ् विथ यु ? पहिले त हजुरलाई कुनै समस्या थिएन, हाम्रो कहीँ आउनुजानुमा, तर पोखराबाट फर्केदेखि त हजुरले सबैलाई बाँच्न दुर्लभ बनाइराखिसेको छ । के नौलो, कहिल्यै नगरेको कुरा गरेका छौँ हामीले र किचकिच गरिसिन्छ…? के भा’छ हँ, हजुरलाई ?’
‘योभन्दा धेरै अरू के हुनुपर्छ सुप्रिया ? मलाई सन्चो छैन भन्ने थाहा हुँदाहुँदै पनि तिमी यस बेलासम्म घर बाहिर थियौ ।’ म जङ्गिएँ ।
‘थाहा भएर के गरौँ त ? म कुनै डाक्टर त होइन ? अनि म घरमै बसिरहेर हजुरलाई ठीक हुने पनि त होइन नि ? डाक्टरलाई देखाइस्यो, रेखदेखको लागि नर्स राखिस्यो भनेर त मैले भनेकै छु नि । त्यसमाथि पनि बाहिरफेर जाँदा त हजुरलाई केही हुँदैन । घरमै मात्र हजुरको पारा चढिरहन्छ । अब हजुरको खुसीका लागि हामी रित्तो घरमा थुनिएर जिन्दगी बिताउन त सक्दैनौँ नि !’ उसले रातो न रातो मुख लगाउँदै आक्रोशपूर्ण स्वरमा भनी ।
यो थिई मेरी अर्धाङ्गिनी, जसप्रति इमानदार रहने प्रयासमा म पोखरामा बिनीको साथमा बितेका ती पाँच दिनप्रति आत्मग्लानि अनुभूत गरिरहन्थेँ । हुन त बिनीको साथमा हुनुबाहेक मैले अरू केही गरिनँ तर पनि कुनैकुनै बेला त्यो ‘साथै हुनु’ पनि मेरो अन्तरआत्मामा बोझ बनिदिन्थ्यो ।
त्यतिखेर म अझै बेस्सरी कराउन चाहन्थेँ, हप्काउन चाहन्थेँ उसलाई तर उसको जवाफ, उसको प्रतिक्रियाले मलाई ऊसँग होइन आफैसँग रिस उठ्यो । के फाइदा थियो आफ्नो रगत डढाएर ? तैपनि मैले कठोर स्वरमा भनेँ– ‘आजदेखि जसजसलाई राती दसबजे भन्दापछि पनि बाहिर बस्नुपर्ने हुन्छ उसले आफ्नो सुत्ने व्यवस्था बाहिरै मिलाउनू । किनभने आज उपरान्त अत्यावश्यक कामका लागि बाहेक, राती दस बजेभन्दा पछि घर भित्रिन आउनेहरूका लागि ‘प्रधान मेन्सन’ को ढोका खोलिने छैन ।’
सुप्रियाले प्रतिक्रिया जनाउनै बिर्सी । तर श्रेयाले विचलित हुँदै भनी ‘जिजु…!’– ऊ मलाई सधैँ जिजु भनेर सम्बोधन गर्थी, जुन कि मलाई पटक्कै मन पर्दैनथ्यो, तर उसलाई ‘भिनाजु’ भनेर बोलाउन अप्ठ्यारो लाग्थ्यो– ‘के भनिसेको यस्तो ? पहिले त कहिल्यै पनि…।

‘शरीर होइन, दिमाग अस्वस्थ्य भएजस्तो छ हजुरको ।’ श्रेयाको कुरा बीचमै काट्दै सुप्रिया च्याँठिई– ‘पहिले त हजुरलाई मेरा साथीभाइ घर आएको मन पर्दैनथ्यो तर अब त केही पनि मन पर्दैन । यस्तो पनि कहीँ हुन्छ ? आफू त कामको बहनामा कहिल्यै टाइममा घर आइसिन्न, हामीलाई भने दसवटा हुकुम चलाइसिन्छ । हजुर आफूले भने, जे गरे पनि हुने, हामीले भने घरबाट बाहिर निस्कन पनि नपाउने ? कसले मान्छ यस्तो तानाशाही हुकुम ? म त मान्दिनँ । म मात्र के, कसैले पनि मान्दैन । हजुर त…!’
‘सुप्रिया !’ मैले उसको च्याँठिएको स्वरसँग विरक्त भएर उसको कुरालाई बीचैमा काट्दै ऊतिर चोर औँला ठड्याएर शुष्क स्वरमा भनेँ– ‘सुप्रिया ! मेरो सहनशक्तिलाई चुनौती नदेउ m,अदरवाइज यु गन रिग्रेट फर द्याट ।’ म आफैँलाई थाहा छैन, त्यसबेला मेरो अनुहारको भाव कस्तो थियो तर सुप्रियाको फेरि बोली फुटेन । मेरो आफ्नै मन पनि आहत भयो । मैले सुप्रियासँग या अरू कसैसँग त्यसरी कहिल्यै बोलेको थिइनँ । बोल्न चाहेको पनि थिइनँ । तर अब समय आएको थियो या सायद ढिलो भैसकेको थियो– यो परिवारका सदस्यलाई ठेगान लगाउने !
सुप्रियाले चुपचाप मलाई आग्नेय दृष्टिले हेरिरही । श्रेयाले पनि केही भन्ने सहास गरिन ।
म अन्तिमपटक दुवैको अनुहारमा कठोर दृष्टि फ्याँकेर पिठ्यूँ मोडेर अघि बढेँ ।
भर्याङको पहिलो खुट्किलामा खुट्टा राख्नेबित्तिकै मलाई यस्तो लाग्यो–मेरा खुट्टा मेरो शरीरको बोझ धान्न सक्ने अवस्थामा छैनन् । मेरा खुट्टा लत्र्याकलुत्रुक भएर मोडिए । म भर्याङको रेलिङ्मा समाएर त्यहीँ डल्लो परेँ तर सुप्रिया मलाई सम्हाल्न अघि बढिनँ । बरू श्रेयाले मतिर बढ्दै चिन्तापूर्ण स्वरमा भनी– ‘जिजु ! आर यु अलराइट ?’ उसले मेरो पाखुरा समात्दै पुनः सोधी– ‘कहीँ हजुरले ड्रिङ्क त गरिसेको छैन ?’
मेरो मन वितृष्णाले भरियो । उनीहरूलाई थाहा छ– म ड्रिङ्क गर्दिनँ भनेर । मैले उसको हात झट्कारेर असहाय भावले सुप्रियातर्फ हेरेँ । ऊ जहाँको तहीँ उभिएर तटस्थ भावले मतिरै हेरिरहेकी थिई ।
मलाई अनायासै बिनीको याद आयो । मेरो मनले कामना गर्यो– हरे ! यतिखेर ऊ मात्र यहाँ हुँदी हो…!’
त्यसबेला नचाहँदानचाहँदै पनि मैले सुप्रियाको तुलना बिनीसँग नगरी रहन सकिनँ ।
मलाई लाग्यो– सभ्य घरकी, सुशिक्षित, संस्कारी, सम्भ्रान्त मेरी अर्धाङ्गिनीको निष्ठा र मायाभन्दा आफ्नो शरीर बेचेर जीविका गर्ने त्यो पेसेवर केटीले केही हजारको बदलामा दिएको साथ र निष्ठा कता हो कता माथि थियो । तर उसको त्यो निष्ठा मेरा लागि मात्र नभएर उसका हरेक ग्राहकका लागि थियो सायद । यो सम्झेर मेरो मन झन् खिन्न भयो ।
म, प्रत्यूषमान प्रधान ! परिवारको साथमा भएर, पैसा र पहुँचको सबैभन्दा माथिल्लो सिँढीमा उभिएर पनि कति एक्लो, कति असहाय ! मेरो घाँटी अवरूद्घ हुँदैआयो । म साहस जुटाएर भर्याङको रेलिङ् थाम्दै बल्लतल्ल आफ्नो बेडरुममा पुगेर डङ्रङ्ग पलङमा पछारिएँ ।
त्यो रात बुवाको, हजुरबुवाको अनि मेरो स्मृतिपटलमै नहुनु भएकी आमाको यादले सिङ्गै रात रुवाइरह्यो मलाई । जब कि मेरा आँखा कसैको मृत्युमा पनि रसाउन गाह्रो मान्थे । तर किन बर्सिरहेथे आँसुका यी बाछिटा आज ? मेरो शरीर अस्वस्थ्य थियो या मन ? मैले ठम्याउन सकिनँ । म चुपचाप रोइरहेँ ।
त्यस दिनदेखि सुप्रियाले एउटै बेडरुममा सुत्न त के, मसँग बोल्न पनि छोेडिदिई ।

मेरो आदेशअनुसार भोलिपल्टदेखि दस बज्दानबज्दै सबैजना घरमा भित्रिन त थाले तर उनीहरू कोही मेरोसामु पर्न चाहेनन् । अँ, श्रेया मलाई मनाउनका लागि लाडिएर मेरो काखैमा बस्न आई तर उसको त्यो घिनलाग्दो व्यवहारले मेरो रिसको पारा ओर्लनुको साटो झनै माथि चढ्यो ।
अब पैसा माग्ने उनीहरूको नयाँ बहाना थियो, पेट्रोल । हरेक दोस्रो तस्रो दिन उनीहरू मसँग पेट्रोलका लागि पैसा माग्दथे । त्यस घरमा बस्ने सबैसँग आ–आफ्नै सवारी साधन थिए । इन्द्रमामासँग सुजुकी जिप थियो । सुप्रियासँग टोयोटा कोरोला थियो । सुमन्तसँग बाइक थियो । सुदर्शनसँग स्यान्ट्रो थियो भने श्रेयासँग कोरियन कम्पनीको स्कुटी थियो । मसँग ल्यान्डरोभर थियो । साथमा एउटा स्पोटर््स् कार पनि ।
यसभन्दा पहिले उनीहरूले जहिले, जेका लागि भनेर मागे पनि मैले कुनै प्रश्न नगरी उनीहरूले मागेको रकम दिन्थेँ तर अहिले उनीहरूको व्यवहारले चिढिएर मैले पेट्रोलको लागि पनि पैसा दिन छोडेँ । प्रतिहप्ताको हिसाबले उनीहरूलाई पेट्रोलको कुपन उपलब्ध गराइदिने व्यवस्था मिलाइदिएँ र प्रत्येक महिना व्यक्तिगत खर्चको नाउँमा एक मुस्ट रकमबाहेक फुटेको कौडी नदिने आफ्नो निर्णय उनीहरूलाई सुनाएँ ।
मेरो यस निर्णयले बलिरहेको आगोमा पेट्रोल थप्ने काम गर्यो । सब एकजुट भएर मेरो विरुद्घमा लागे तर म आफ्नो निर्णयबाट डेग चलिनँ ।
कुनैकुनै बेला मलाई लाग्दथ्यो–सायद म पनि अति गरिरहेछु । अनि म आफैँ केही सजिलो, सहज भैदिने कोसिस गर्दथेँ । उदार भैदिने प्रयास गर्दथेँ तर फेरि उनीहरूकै व्यवहारबाट चिढिएर अझै कठोर हुन बाध्य हुन्थेँ ।
घरको वातावरण त पहिलेदेखि नै राम्रो थिएन तर यतिबेला त कुरै अर्को थियो । सबै अर्डर मात्र चलाउँथे । कोही उठेर एक ग्लास पानी पनि आफैँ लिएर पिउँदैनथे । न काम गर्नेहरूसँग सभ्य व्यवहार गर्थे । रिसका कडा इन्द्रमामा त झन् उनीहरूमाथि हातै उठाउन बेर लगाउनु हुन्थेन । त्यसैले घरमा काम गर्नेहरू पनि टिक्न मान्दैनथे । हिजो मात्रै सुप्रियाको कारणले घरमा वर्षौंदेखि काम गर्ने मान्छेले काम छोडेर गयो ।
पहिलेपहिले म घर पस्दा सबै बाहिर हुन्थे, त्यसैले घरमा शान्तिको अनुभव हुन्थ्यो तर अब घरमा घन्किएको लाउड म्युजिकले घर घरजस्तो नभएर नाइट क्लब प्रतीत हुन्थ्यो ।
म बिस्तारैबिस्तारै शरीरले मात्र होइन, मन र दिमागले पनि अस्वस्थ्य हुँदै गइरहेथेँ ।

अर्को एउटा कुरा यस्तो थियो जसलाई लिएर म चिन्तित त होइन, असुविधा महसुस गरिरहेको थिएँ । त्यो थियो सुप्रियाको कमलसँगको हेलमेल । पहिले त सुप्रिया उसलाई देखेर नाक खुम्च्याउँथी तर अचेल उसलाई चिया, कफी मात्र होइन लन्च, डिनरका लागि पनि सोध्दथी । मीठो–मीठो बोल्थी । कतिपटक म उनीहरूको अगाडि पर्दा उनीहरूले कुराको विषय अन्तै मोडेको सुनेर त मेरो मनमा झनै खुल्दुली हुन्थ्यो । उनीहरूको कुराको मुख्य विषय के हुन्थ्यो आखिर ?
यो पनि होइन– म सुप्रियाको चरित्रमाथि शङ्का गर्थें । पूर्ण विश्वास गरेको थिएँ त्यसैले उसलाई जीवन सङ्गिनी बनाएको थिएँ । उसमा सयौँ खोट देख्ने मैले उसमाथि विश्वास गर्न भने अझै छोडेको थिइनँ । सायद त्यही विश्वासले नै ऊसँग बाँधिराखेको थियो मलाई आजसम्म पनि । तथापि मेरो लिगल एडभाइजरसँगको उसको हेलमेल असुविधाजनक लागिरहेको थियो मलाई । गलत थियो– तर विनाकुनै ठोस आधार म कमलमाथि पूर्ण विश्वास गर्न हिचकिचाउन थालेको थिएँ ।

वासु हरेकपटक घर आउँदा मलाई जँचाउन लैजाने प्रयास गर्दथ्यो तर म सधैँ बहाना बनाएर टार्दथेँ ।
एक–दुईपटक अति भएर जँचाउन जाँदाको सयौँ टेस्ट, यो र त्योसँग वाक्क भएपछि मलाई जँचाउन जान मन लाग्दैनथ्यो । जँचायो, रगत, पिसाब, दिसा, खकार, यो र त्यो सबै टेस्ट गरायो नतिजा के ? रोग त सायद डाक्टरहरूले पनि थाहा पाउन सक्दैनथे । तर उनीहरूले प्रेस्क्राइव गरेको एन्टिबायोटिक्स र भिटामिन्सको रासले मलाई झन् बिरामी बनाउँथ्यो । तर यसपटक म शारीरिक मात्रै होइन, मानसिक हेल्थलाई लिएर पनि चिन्तित थिएँ । त्यसैले मैले जँचाउन जाने व्यवस्था मिलाएको थिएँ ।
सोमबार म चेकअपका लागि दिल्ली मेडिकल इस्टिच्युटको लागि उड्दै थिएँ । वासुको साथमा ।
त्यहाँ मेरा दुईचार जना परिचितहरू थिए, जसको कारण मैले धेरै समय कुर्नुपर्ने थिएन ।
सोमबार दिल्लीका लागि उड्ने भएकाले शनिबार रातीको डिनरमा मैले परिवारका सबै जनालाई सम्मिलित हुन आग्रह गरेथेँ तर मेरो आग्रहलाई पनि आदेश मानेर उनीहरूले मलाई घोचपेच सुनाउन छोडेनन् । अनिच्छापूर्वक, ममाथि उपकार गरेझैं गरी डिनरका लागि डाइनिङ् टेबलमा सबैजना देखापर्न आए ।
सबैभन्दा पहिले आउनेमा सुदर्शन थियो अनि सबैभन्दा पछि आउनेमा सुप्रिया ।

म चाहन्थेँ सुप्रिया पनि मसँगै दिल्ली जाओस् तर स्वेच्छाले त छोडौँ, मेरो प्रस्ताव सुनेर उसले उपेक्षापूर्ण स्वरमा भनी– ‘मलाई अस्पतालको वातावरणमा सास फेर्न पनि गाह्रो लाग्छ । हजुरलाई थाहै छ । ममी (उसैकी ममी) को पालोमा पनि मैलेभन्दा धेरै हजुरले नै अस्पतालको चक्कर लगाइसेको थियो । त्यसमाथि पनि हजुरको साख्खै त जाँदैछ नि, हजुरसँग । ऊबाहेक अरू कोही चाहिन्छ र हजुरलाई ?’
‘म जाऊँ जिजु ?’ बरु श्रेया अघिसरी– ‘हजुरसँग दिल्ली ?’
‘पर्दैन !’ मैले रुखो स्वरमा भनेँ ।
‘उ, मैले भने नि, लैजाने नियत हो र भन्या ! खालि हामीलाई नजाती देखाउनका लागि मात्रै हो… नत्र श्रेयाले जान्छु भन्दाभन्दै वासुसँग किन जानपर्यो ?’
मेरो अनुहारमा दयनीय भाव झुल्कियो । मेरो बाध्यता– म भन्न पनि सक्थिनँ, किन म श्रेयालाई आफ्नो छेउछाउमा पर्नदिन चाहन्थिनँ !

खाना खाँदाखाँदै मैले सुदर्शन र सुमन्तलाई एक–दुइटा काम अह्राएँ, जुन मेरो अनुपस्थितिमा हुनु जरुरी थियो ।
सुदर्शनले त केही भनेन तर सुमन्तले अनकनाउँदै भन्यो– ‘जिजु, म त भ्याउँदिनँ होला, मेरो त साथीहरूसँग गोरखा, मनकामना घुम्न जाने प्रोग्राम फिक्स भैसकेको छ । त्यसैले…!’
‘सुमन्त, यो काम हुनु जरुरी छ । तिम्रो घुम्न जाने प्रोग्राम पछि पनि बन्न सक्छ तर…।’
‘किन ?’ सुप्रियाले हस्तक्षेप गर्दै भनी– ‘अरू पनि त छन् यस घरमा, जसले हजुरको काम गर्न सक्छन् । मेरै भाइले किन जरुरी छ बनेको प्रोग्राम क्यान्सिल गर्न ?’ उसले इन्द्रमामातिर हेरी । इन्द्रमामाको अनुहार आक्रोशले तातियो ।
‘तिम्रो ई…ई…इसारा मैले नबुझ्ने होइन स…स…सुप्रिया, तर मतिर अ…अ…औँला उठाउनुअघि यो न…न…नबिर्स, म यस घ…घ…घरमा सबैभन्दा सिनियर हुँ फ…फ…फुपूपछि । त्यसैले त…त…तिमी त के प्रत्यूष भान्जालाई पनि ह…ह…हक छैन मेरो अ…अ…अपमान गर्ने ।’ इन्द्रमामा झोँक्किए ।
सुप्रियाले बेवास्तापूर्वक ओठ लेप्राउँदै भनी– ‘सिनियर उँ..हुँ…हु…।’
‘द…दे…देख्यौ भान्जाबाबु, त…ति… तिम्री स्वास्नीले म…म…मसँग गर्ने ब्यवहार ? त…ति…तिम्रोअगाडि त यो स…स…सब गर्नेले तिम्रो प…प…पछाडि केसम्म गर्छे होला, त…ति.. तिमी आफैँ सोच ।’ इन्द्रमामा च्याँठिनु भयो– ‘तिम्रो म…मा…माया–मोहले मात्र म यस घ…घ…घरमा टिकिरहेको छु, अन्यथा ब…ब…विनावास र विनागाँसको मान्छे म प…प…पनि होइन ।’
‘जानेर खुसी लाग्यो ।’ सुप्रियाले व्यङ्ग्यात्मक भावमा भनी– ‘नत्र त मैले यही सोचेथेँ ‘प्रधान मेन्सन’ को अलावा…।’

सटअप ! खतम गर यो वादविवाद । मलाई कसैको मद्दत चाहिँदैन । कसैले मेरो काम गर्नु पर्दैन । हे भगवान !’ मैले छततिर हेर्दै काँतर स्वरमा भनेँ– ‘के परिवार यसैलाई भन्छन् ? आफन्तहरू यस्तै हुन्छन् ? यदि हुन्छन् भने मलाई चाहिएन यो परिवार र यी आफन्तहरू !’ मैले आफ्नो अघिल्तिरको खानाको प्लेट पन्छाएर उनीहरूतिर हेर्दै पुनः भनेँ– ‘म बिरामी भएर उपचार गराउन जाँदैछु तर मेरो परिवारमा कोही यस्तो शुभचिन्तक छैनन्, जो मसँगै जान जिद्दी गरोस् । चिन्तै व्यक्त गरेर देखाओस्– मेरो अस्वस्थताप्रति । तर होइन, मेरी धर्मपत्नी जसलाई मैले सारा समाजको अगाडि वरण गरेँ, जीवनभर सँगै बाँच्ने सँगै मर्ने कसम खाएँ, ऊ यसकारण मसँग जान चाहन्न कि अस्पतालको वातावरणमा सास फेर्न गाह्रो हुन्छ उसलाई । अनि जब मेरी अर्धाङ्गिनी, मेरो आधा अङ्गलाई नै मेरो कुनै पर्वाह छैन भने अरूहरूबाट म के अपेक्षा राख्न सक्छु ?’
सबैजना चुपचाप मलाई हेरिरहे, केही बोल्न सकेनन् । केवल इन्द्रमामाले बिस्तारै भन्नुभयो– ‘तर…तर भान्जा बाबु, म…म त…।’ तर मैले उहाँको कुरा पूरा नहुँदै गम्भीरतापूर्वक भनेँ– ‘मामा, केवल सम्बन्ध जोडेर र हक देखाएर मात्र कोही आफ्नो हुँदैन । आफ्नो हुनका लागि, आफ्नो बन्नका लागि त साथ दिन र साथमा हुन सक्नुपर्छ । सुखमा मात्र होइन, दुःखमा पनि । हाँसोमा मात्र होइन, पीडा र आँसुमा पनि…।’ म उठेँ तर रिँगटा लागेकोले अघि बढ्न नसकेर ढुनमुनिन लागेपछि कुर्सी समाएँ ।
सुदर्शनले मलाई सम्हाल्न खोज्दै चिन्तित स्वरमा सोध्यो– ‘आर यु अलराइट ?’
तर उसको प्रश्नको उत्तर दिनुभन्दा पहिल्यै, उसले मलाई राम्ररी थाम्नुभन्दा पहिल्यै मेरा हातखुट्टा लत्र्याकलुत्रुक भैसकेका थिए । म कुर्सिसँगै भुइँमा पछारिएँ ।
चेतना हराउनुभन्दा पहिल्यै मैले देखेँ– वासु डाइनिङ् हलको ढोकाबाट भित्र छिर्दैथियो ।
होस आउँदा मैले आफूलाई अस्पतालमा पाएँ ।
मेरो परिवारका सबैजना त्यहीँ भेला भएका थिए ।
‘प्रत्यूष..!’ वासुले मेरो निधारमा हात राख्दै भन्यो– ‘कस्तो छ अहिले तँलाई, ठीक त छस् ?’
‘म..म.. कहाँ छु ?’ मैले सोधेँ ।
‘हस्पिटलमा, अन्त कहाँ ? यार तैँले त सात्तो लिइदिइस् सबको । के भयो तँलाई अचानक यसरी ?’
‘थाहा छैन ।’ मैले उठ्न खोज्दै भनेँ । अचानक मेरो अनुहारको भाव फेरियो । मेरो अनुहारको हाहाकारी भाव देखेर वासुले चिन्तापूर्ण स्वरमा सोध्यो– ‘ओई ! के भयो ?’

‘वासु…!’ मेरो स्वर थरथरायो– ‘व..वासु, मेरो…मेरो शरीर किन यति गरुङ्गो भएको ? किन… किन यो उठिरहेको छैन ?’
‘हैन, के भन्छ यो ?’ वासुले आत्तिएर मेरो हात समायो ।
‘के कुरा गरिसेको ?’ यसपटक सुप्रियाले पनि अलि चिन्तापूर्ण स्वरमा भनी– ‘कमजोरीले होला । खै हजुर उठ्न कोसिस गरिस्योस् त, म हजुरलाई सहारा दिन्छु ।’ उसले मलाई उठाउन खोजी तर मेरो गर्दनभन्दा तलको सम्पूर्ण भाग यसरी लत्रियो मानौँ मेरो शरीरमा ज्यानै छैन । खैलाबैला मच्चियो । डाक्टरहरू जम्मा भए । सयौँ टेस्ट, सिटी स्क्यान, एमआरआई सबै गरेर हेरियो तर कुनै निष्कर्ष निस्केन । मेरा सबै टेस्ट क्लियर थिए । अन्त्यमा डक्टरहरूको फौजले आफ्नो अनविज्ञतालाई हाइपर टेन्सन र उत्तेजनाको खोल ओढाइदिए । मैल सफाइ दिएर थाकेँ– अपसेट अवश्य थिएँ तर यत्रो आघात पर्ने गरी टेन्स र उत्तेजनामा म कदापि थिइनँ भनेर । हुन त उनीहरूसँग अर्को विकल्प पनि थियो । र त्यो विकल्प थियो– औषधीको रियाक्सन । वासुले मलाई बाहिर लैजाने कुरा गर्यो तर मलाई चेक गर्ने जति सबै डाक्टरहरूको एउटै मत थियो– जहाँ लगे पनि मेरो कुनै उपचार थिएन । यदि यो कुनै औषधीको रियाक्सन थियो भने सही ट्रिटमेन्टपछि म कुनै पनि बेला उठेर हिँड्नसक्थेँ । यदि यो कमजोरी थियो भने सही रेखदेख र आरामले म ठीक हुनसक्थेँ । अनि यदि यो पर्मानेन्ट प्यारालाइसिस् थियो भने त मेरो भगवान नै मालिक थियो । तथापि एउटा कुरा यस्तो थियो जसले मलाई अलिकति भने पनि आशावादी बनायो । त्यो थियो औषधोपचारभन्दा पनि मेरो इच्छाशक्ति नै बढी सहयोगी हुने आश्वासन ।
लगभग एक हप्ता अस्पताल बसेर असहाय, असन्तुलित म, ह्विलचेयरमा घर फर्किएँ ।
क्रमशः