बिरामी बुबालाई बगरमा सुताउँदा - Aksharang
  • २०७७ कातिर्क १३ बिहीबार

बिरामी बुबालाई बगरमा सुताउँदा

भोजराज न्यौपाने

भोजराज न्यौपाने

त्यो शनिबारको दिन थियो ।
बिहानैदेखि छोराहरूसँग खेल्दै थिएँ । घरमा बसेको समयमा छोराहरूसँग खेल्न पाउनु कम्ति मस्ती हुँदैन । उनीहरूको कुरा सुन्नु । उनीहरूसँग घुलमिल हुनु असाध्य रमाइलो लाग्छ ।
दिउँसोको करिव १२ बजेको थियो ।
ठूलो छोराको ग्याजेटमा स्क्र्याच भएछ ।
‘बाबा यसमा स्टिकर टाँसौँ न’– उसले मतिर ट्याब्लेट सोझ्यायो ।
हामी दुवैजना बेडरुममा गयौँ ।
ट्याब्लेटमा स्टिकर टाँस्न थालेको मात्र थिएँ । अचानक घर हल्लियो । हतपत हामी दुवैजना अर्को कोठामा पुग्यौँ । कल्पना र सानो छोरा त्यहीँ थिए । बुबा विरामी हुनुहुन्थ्यो । आठ वर्षदेखि पार्किन्सन्सले थलिनुभएको उहाँ आराम गरिरहनुभएको थियो । तर, आमा देखिनु भएन ।
घर झन् जोडले हल्लियो । बच्चाहरू चिच्याउन लागे । कल्पना रुन थालिन् । ढोका यता र उता बज्रिरहेको थियो । मलाई आमाको चिन्ता भयो । कतै छतमा त पुग्नुभएन ? म चिच्याएँ– ‘आमा ! आमा !!’
यति नै बेला मेरो बेडरुममै रहेको बुक -याक ढल्यो । -याकको सिसा झ-यामझुरुम भएको आवाज वाहिरसम्म आयो ।
यसअघि २०४५ साल र ६६ सालको भूकम्पलाई झेलेभन्दा पनि यो एकदमै डरलाग्दो थियो । लगातार हल्लिरहेको थियो ।
अझै भुइँचालो रोकिने छाँट छैन ।
म असाध्यै आँत्तिएँ । अचानक ‘राम–राम !’ भन्नथालेँ । त्यति नै बेला आमा निर्धक्कसंँ भ¥याङबाट बिस्तारै नहतारिई सधैँजसो हाँस्दै तल झर्नु भयो । उहाँमा अलिकति पनि हडबडाहट थिएन । ‘केही हुँदैन, नआँत्तेओ । यस्तो त कति आउँछ, आउँछ ।’ आमाले ढुक्कसँग भन्नुभयो । आमालाई देखेर अलि भरोसा थपिएजस्तो भयो । त्यति ठूलो सङ्कटमा पनि निस्फक्री देखेँ उहाँलाई ।
ठूलो छोरा रुन लाग्यो । घर बाहिर जाउँ भन्थ्यो । कल्पना पनि आत्तिएर सबै जना जाऊँ बाहिर भन्दै थिइन् । मेरा नौ नाडी गले ।

छोराहरू र कल्पनाले भनेजस्तै वाहिर जान चाहे पनि बुबालाई बोकेर लैजान सक्ने अवस्था थिएन । ओछ्यानमा छाडेर बाहिर जान मनले पटक्कै मानेन ।
न दौडेर कतै भाग्न सम्भव छ । न त चुपचाप बस्न नै । एकातिर बुबा–आमाको चिन्ता, अर्कोतिर छोराहरू र कल्पनाको ।
के गर्ने, कसो गर्ने ? दिमागमा केही उपाय आउँदो रहेनछ । भुइँचालो नरोकिएसम्म हामी घरभित्रै बस्यौँ ।
टोलभरि रुवावासी र भागदौड सुरु भयो । भूकम्प रोकिएपछि बुबा–आमालाई घरमै छाडेर हामी खुल्ला ठाउँतिर हिँड्यौँ । मैले कान्छो छोरालाई बोके । ठूलोको हातमा समातेँ ।
परकम्प गैरहेको थियो । बाहिर पुगे पनि जमिन हल्लिन छाडेन ।
घर सुरक्षित हुँदाहुँदै पनि लगातारको परकम्पले घरभित्र पस्ने आँटै आएन । कसैले गोङ्गबु, सीतापाइलाका घरहरू ढलेका तस्बिर फेसबुकमा सेयर गरेको देखेपछि आफ्नै घरमा बस्न पनि डर लाग्यो । छेउछेउका ठूला घरहरू ढलेर हाम्रो घरलाई थिच्यो भने ? आजको रात कसरी काट्ने भन्ने चिन्ताले नराम्रोसँग सतायो ।
बाहिर चौरमा बस्दै थाहा पायौँ धरहरा ढलेको । धेरै खाले हल्ला सुनियो । लाखौँ मान्छे मरेको खबर एकै छिन सर्वत्र फैलियो । तत्काल उद्धारको काममा लाग्न मन लाग्यो । तर, जान सक्ने स्थिति थिएन । घरमै विरामी बुबा, आमा र बाबुहरूलाई मेरो खाँचो थियो । त्यसैले उहाँहरूकै सेवामा लाग्ने विचार गरेँ ।
साँझ पर्न लाग्यो । झन् त्रास थपियो । राती पनि भूकम्प आयो भने ?
घरको ग्राउन्ड फ्लोरमा सिजेन केसी भाइको परिवार बस्थ्यो । त्यो रात हामीले पनि उनीहरूसँगै रुम सेयर गर्ने विचार गर्यौं । सीता बहिनी प्रेग्नेन्ट रहिछन् । यस्तो बेला होस राख्नुपर्छ भनेर सबैले भन्थे । उनी निकै तनावमा थिइन् । हामीलाई थप चिन्ता थियो उनको ।
प्रत्येक कम्पनले मुटु चुँडाएर लैजालाजस्तो हुन्थ्यो । कुनै सरसामान, पसल, पैसा केहीको पनि वास्ता लागेन । मात्र कसरी परिवारै जोगाऊँ भन्ने चिन्ता भैरह्यो ।
जसोजसो रात काटियो । पराकम्प आइरहेकै थियो ।
वैशाख १३ गते दिउँसो ठूलो धक्का आयो । यसले आतङ्कित बनायो । कति बेला के हुन्छ भन्ने टुङ्गो भएन । हामीले सल्लाह गर्यौं– अब घर छाडेर बाहिर जाने ।
कहाँ जाने ? तर हामीसँग यसको उत्तर पनि थिएन । सबै हुँदाहुँदै हामी सुकुम्वासीजस्तो ठान्न थालेका थियौँ आफैँलाई । कल्पनाले अर्जेन्ट सर सामान, कपडा, ओढ्ने ओछ्याउने र खानेकुरा पोको पारिन् । सुन र नगदको पनि छुट्टै पोको पारिन् । सबै सामान बोकेर गाडीमा राख्यौँ । र, हिँड्यौ खोलाको बगरतिर ।
मनोहरा खोलाको किनारमा मान्छेको भीड थियो । बिस्तारैबिस्तारै मानिसहरू किनारमा पाल टाँगेर बस्न थाले । हामीले पनि एउटा पाल टाँग्यौँ । सानो म्याट ओछ्यायौँ । सानो ओछ्यान लगायौँ । र, त्यही ओछ्यानमा बुबालाई सुतायौँ ।
वैशाखको महिना मौसमको के भर हुन्छ र ? एकैछिनमा हावा लाग्यो । हावाको वेगमा बालुवा उडाएर ह्वार्ररै बुबाको मुखसम्मै पुग्यो । सानो छोराको हाल पनि त्यस्तै भयो ।
मलाई भक्कानो छुट्यो । थलिनु भएको बुबालाई यस्तो अवस्थामा राख्नुपरेकोमा ग्लानि भयो । मैले तत्कालै निर्णय गरेँ– अब हामी यहाँबाट अन्तै जान्छौँ ।
त्यही बेला दिदीहरूसँग कुरा भैरहेको थियो । उर्मिला दिदीले उहाँको घरनजिकै खाली जमिन भएकाले त्यतै आउन भन्नुभयो । हामी सबै पेप्सीकोला टाउन प्लानिङ्मा गयौँ ।
रात पर्न लागेको थियो । भूकम्प गएको दोस्रो दिनसम्म पनि परकम्प अझै रोकिएको थिएन । हामीले दिदीको घरसँगैको चौरमा रात बिताउने निधो गर्यौं । दिदीको घरमा बस्ने बहिनीले खाना बनाइन् । हामी घरभित्र पस्न डराइरहेका थियौँ । हतारहतार खाना खाएर कारभित्रै सुत्यौँ । कारको झ्याल नखोली भएन । खोल्दा लामखुट्टेले कति टोक्यो टोक्यो । बुबा–आमालाई निकै गाह्रो भएको महसुस भयो । आधा रातमा उहाँहरूलाई दिदीको घरबाहिर कोरिडरमा सुताएँ । कल्पना, ऋत्विज , श्रुहित र म भने कारमैँ सुत्यौँ ।
रातभरि परकम्प गइरह्यो । यसो निदाउन खोज्यो फेरि परकम्पनले ब्यूँझिन्थेँ । कल्पना रातभर जागा बस्थिन् ।
पटकपटक गरेर हामीले चार रात गाडीमै बितायौँ । यो बेला मैले आफूलाई निकै निरीह ठानेँ । गाउँघरको खुब याद आयो । चरिकोटको खुल्ला ठाउँमा हुर्केको मलाई काठमाडौँको घरैघरको जङ्गलले आफैँलाई निलेको जस्तो लाग्यो । काठमाडौँको रङ्गीन सपनामा एउटा सानो घरभित्र कैद हुनुको पीडा कम्ति कहालीलाग्दो छैन । अहिले कोरानाले घरबाहिर नजा भनिरहेको बेला त्यस बेलाको भुइँचालो घरभित्र नपस भनेका सम्झनाबीच म यतिखेर रुमल्लिइरहेछु । ती दिनहरू कस्ता थिए र यी दिनहरू कस्ता भइरहेछन् । त्यस प्रलयले समाजलाई एउटै साङ्लोमा बाँधेको थियो, एउटै चउरमा सुताएको थियो, अहिलेका प्रलयले समाजलाई एक्लाएक्लै घरभित्र बन्धक बनाएको । र, एउटै सिक्काका दुई पाटा भिन्न हुन्छन् भन्ने उक्तिको यथार्थ के रहेछ ? सायद योभन्दा अकाट्य उदाहरण अरू के हुनसक्ला र ?