• २०८१ बैशाख १२ बुधबार

जे भयो, राम्रै भयो

 शार्दूल भट्टराई

शार्दूल भट्टराई

म पढ्दै थिएँ । पढाइको महत्व अलिअलि बुझे पनि पढाइ नै जीवनको सम्पूर्ण कुरा हो भन्ने लाग्दैनथ्यो । पढाइबाट ज्ञान प्राप्त हुने कुरा छँदैथियो । त्यसबाहेक पाठ्यपुस्तकबाहिरका ज्ञान, अनुभव र अनुभूतिका अनेक संसारलाई बुझ्दा पढाइलाई अझै मद्दत पुग्ने विचारमा म थिएँ । त्यसैले सामाजिक र मानवीय सरोकारका कुनै पनि नैतिक र नियमसम्मत विषयमा आफ्नो रुचिअनुसार म चासो राख्थेँ ।
जनकपुरको पढाइ, पढाइ मात्रमा सीमित रहेन । फिल्म हेर्ने बानी पनि जनकपुरमै बस्यो । सस्तै खाले उपन्यासहरू पढ्न थाले पनि किताबहरू पढ्ने बानी त्यहीँबाट बस्यो । देशको राजनीतिलाई बुझ्ने जिज्ञासा पनि जनकपुरमै बढ्यो । पञ्चायती शासनको निरङ्कुशता र दमनलाई नजिकैबाट अनुभूत गराउने काम पनि जनकपुरकै वातावरणले गरेको थियो ।
साहित्य के हो भनेर बुझ्नुअघि मेरो पढाइपछिको अर्को रुचि फिल्म हेर्नु थियो । फिल्म हेर्नु, आफूले हेरेका फिल्मको कथा अरूलाई सुनाउनु, गीतहरू कण्ठ गर्नु पनि रुचिका विषय बन्न पुगेका थिए । जनकपुरको त्यस बेलाको एक मात्र फिल्महल हनुमान टाकिजमा नयाँ फिल्म लागेपछि पहिलो दिन, त्यो पनि पहिलो सो हेर्नैपर्ने । अलि नचल्ने खालका फिल्म आठ–दस दिनमै फेरिन्थे भने अलि चल्ने खालका फिल्म त्यस्तै दस–पन्ध्र दिनमा फेरिन्थे । फिल्म हेर्नकै लागि पनि महिनामा दुई–तीन दिन कक्षा छुट्थ्यो तर पढाइ छुट्योजस्तो लाग्दैनथ्यो । पढाइ छुटेकामा कुनै दुःख पनि लाग्दैनथ्यो । बरु फिल्म हलमा पुगेर पनि टिकट नपाएर फर्किनु पर्दा साह्रै दुःख लाग्थ्यो ।
त्यो दिन त्यस्तै भयो । नयाँ फिल्म लागेको थियो– प्रेम नगर । राजेश खन्ना–हेमा मालिनीको त्यस बेलाको सुपरहिट फिल्म । फिल्म लागेकै दिन पहिलो सो हेर्नका लागि भनेर म बिहान ११ बजे नै हनुमान टाकिजमा पुगेको थिएँ तर टिकट पाइएन । टिकट लिन भीड लागेकाहरूबीच मारामार नै चलेको थियो । टिकटको कालोबजारी गर्नेहरू भने मालामाल बनेका थिए । काजोबजारमा टिकट खोजेको भए पाइन्थ्यो होला तर मैले त्यस्तो बजारलाई प्रोत्साहित गर्न चाहिनँ । टिकट नपाएकोमा म खिन्न भएँ ।
अब के गर्ने ? फिल्महल अगाडि उभिएर मैले आफैँलाई यो प्रश्न गरेँ । बीचमा स्कूल जाने कुरा पनि भएन । त्यसैले के गर्ने के भन्ने अनिश्चयका बीच दिउँसोको सो भए पनि फिल्म हेरेरै छाड्ने निश्चय मैले गरेँ । तर त्यसका लागि कम्तीमा दुई घण्टाको समय बिताउनै पथ्र्यो । कहाँ गएर बिताउने ? मेरो मनमा फेरि अर्को प्रश्न उठ्यो । मैले झल्याँस्स सम्झेँ – पुस्तक पसल ।
म सरासर जानकीचोकतिर लागेँ । जानकी पुस्तक पसलमा पुगेँ, जहाँ म हिन्दीका सस्ता उपन्यासहरू र आफूलाई चाहिएका पाठ्यसामग्रीहरू किन्ने गर्थें । अरू समयमा बजार घुम्ने क्रममा पनि म त्यस पसलमा २०–३० मिनेट बिताउँथेँ । त्यस पसलमा छिर्नेबित्तिकै त्यहाँ आएका नयाँ पुस्तक, विशेष गरी सस्ता खाले हिन्दी उपन्यास र त्यस्तै खाले पत्रपत्रिकाप्रति मेरो चासो बढ्थ्यो । त्यसैले म पसलमा छिर्नेबित्तिकै सबैतिर नियाल्थेँ र आफूलाई इच्छा लागेको पुस्तक र पत्रिका मागेर हेर्थें । आफूलाई मनप¥यो र सस्तै रहेछ भने किन्थेँ पनि । हिन्दीका चालू र सस्ता खाले तिनै उपन्यासलाई मैले खास साहित्य मानेको थिएँ । त्यसैले तिनीहरूका नयाँ उपन्यास पसलमा देख्यो कि म किनिहाल्थेँ । कुशवाहा कान्तका लालरेखा, कुमकुम, गुलशन नन्दाका घाटका पत्थर, कटी पतङ्ग, पतिता, नीलकमल, प्यासा सावन, रानूका बन्द होंठ, जलते आँसु, पत्थरकी देवी, डुबते किनारे, एक पक्षी अकेला, सुरेन्द्रमोहन पाठकका अनोखी रात, लाल निशान, जीना यहाँ मरना यहाँ, आजाद पक्षी, वेदप्रकाश शर्माका पहली क्रान्ति, दुसरी क्रान्ति, क्रान्तिका देवताजस्ता धेरै उपन्यास मैले यही पसलबाट किनेर पढेको थिएँ । पुस्तक पसलका मालिकलाई म त्यहाँको नियमित ग्राहक हो भन्ने कुरा थाहा थियो । त्यसैले पसलअगाडि जति समय बसे पनि र जेजे हेरे पनि उनी केही भन्दैनथे ।
म पसलको अगाडि उभिएर पुस्तक र पत्रपत्रिकातिर नियाल्न थालेँ । मैले त्यहाँ हिन्दी भाषाको नयाँ खालको एउटा पत्रिका देखेँ । पत्रिका देख्दै राम्रो र आकर्षक लाग्यो । मेरा हात त्यतैतिर गए । मैले उत्सुकतासाथ त्यो पत्रिका टिपेँ र पाना पल्टाउन थालेँ ।
म साहित्यमा सामान्य रुचि त राख्थेँ तर खोजीखोजी साहित्यका पुस्तक वा पत्रिका पढ्ने इच्छा जागिसकेको थिएन । विद्यालयको पाठ्यपुस्तकमा रहेका कविता, कथाबाहेक अन्य साहित्यिक रचना खासै पढेको पनि थिइनँ । मैले साहित्य भनेको कविता नै हो भन्ने बुझेको थिएँ । साहित्यका अन्य विधाका बारेमा त्यति रुचि पनि थिएन र ती विधाका बारेमा धेरै जानकारी पनि थिएन । विद्यालयभित्र र बाहिरतिर हुने कवितागोष्ठीका कारण कविताप्रति म आकर्षित बनेको थिएँ र फाट्टफुट्ट लेख्न पनि थालेको थिएँ ।
जानकी पुस्तक पसलमा त्यस पत्रिकाका पाना पल्टाउन थालेँ । त्यो साहित्यिक रचनाहरूको पत्रिका रहेछ । त्यस किसिमको साहित्यिक पत्रिकालाई मेरो हातले पहिलोपटक स्पर्श गरेको थियो । त्यसमा साहित्यसम्बन्धी, विशेष गरी कथा र कथासम्बन्धी धेरै रचनाहरू थिए । मलाई त्यो पत्रिका हातमा लिनेबित्तिकै यस्तो पत्रिका पनि हुँदोरहेछ भन्ने लागेको थियो ।
म पत्रिकाका पानाहरू पल्टाउँदै गएँ । त्यस पत्रिकामा रचना छापिएका कसैको नाम मैले सुनेको थिइनँ । पाना पल्टाउने सिलसिलामै ‘लघुकथा’ स्तम्भमा एउटा छोटो कथा देखियो । मैले ‘कथा’ भन्ने त सुनेको थिएँ, पाठ्यपुस्तकमा पढेको पनि थिएँ तर ‘लघुकथा’ भन्ने सुनेको पनि थिइनँ । देख्नु र पढ्नु त टाढाको कुरो । म जिज्ञासु बनेर त्यो लघुकथा पढ्न थालेँ । लघुकथाको शीर्षक थियो ‘मूर्ति’ । त्यसका लेखक थिए – खलिल जिब्रान । मैले न त यसअघि लघुकथा पढेको थिएँ, न त खलिल जिब्रानकै नाम सुनेको थिएँ । मैले एकैछिनमा त्यो लघुकथा पढेर सिध्याएँ । मेरो दिमागमा अहिलेसम्म रहेको त्यस कथाको सार यस्तो छ ः
पुरातात्विक विषयको एकजना अनुसन्धानकर्ता आफ्नो कामकै सिलसिलामा एउटा गाउँमा पुगेको थियो । गाउँको एउटा सामान्य घरको आँगनमा उसले एउटा मूर्ति फालिएको देख्यो । उसले त्यसलाई किन्न खोज्यो । तर गाउँलेले सित्तैमा लैजान भने । अनुसन्धानकर्ताले सित्तैमा लिन चाहेन । उसले एक रुपियाँमा त्यो मूर्ति किन्यो । गाउँले पनि आँगनमा त्यसै फालिएको बेक्कारको मूर्तिको पैसा पाउँदा खुसी नै भए ।
केही समयपछि ती गाउँले सहर पुगे । सहरको एक ठाउँमा उनले मानिसको भीड देखे । उनी पनि के रहेछ भनेर हेर्न त्यहाँ पुगे । त्यस ठाउँमा विशेष चीज रहेको र उक्त चीज हेर्न दुई रुपियाँको टिकट किन्नु पर्ने कुरा उनलाई बताइयो । उनी पनि दुई रुपियाँको टिकट लिएर त्यो विशेष चीज हेर्न भित्र पसे । त्यहाँ उनले देखे– उनको आँगनमा फालिएको उही मूर्ति, जसलाई अद्भुत र महत्वपूर्ण वस्तुका रूपमा प्रदर्शनीमा राखिएको थियो ।
यस लघुकथाले मलाई साँच्चिकै प्रभावित ग-यो । खलिल जिब्रानको उक्त लघुकथा पढिसकेपछि म फेरि त्यही पत्रिकाका पाना पल्टाउन थालेँ । अरू दुई–तीन पाना पल्टाएपछि मेरा आँखालाई आकर्षित गर्ने अर्को एउटा कथा देखेँ । म त्यस कथाको आरम्भको छोटो अंश पढ्न थालेँ । अर्का एकजना व्यक्ति मसँगै उभिएका थिए र मैले पत्रिकाका पानाहरू पल्टाएको हेरिरहेका थिए । मैले पढ्न थालेको कथातिर हेर्दै ती अपरिचितले भने– ‘ए, उसको कथा रहेछ । यो त बलराज साहनीको भाइ हो, राम्रो लेख्छ ।’
बलराज साहनीका भाइ ! ती अपरिचितको कुराले ममा एक्कासि हुटहुटी जगायो । मलाई त्यो पत्रिका किन्न प्रेरित ग-यो । बलराज साहनीका केही फिल्म मैले जनकपुरकै हनुमान टाकिजमा हेरेको थिएँ । वक्त, घर–घरकी कहानी, काबुलीवाला, दो विघा जमिन, लाजवन्ती, एक फूल दो मालीजस्ता फिल्ममा उनको प्रभावशाली अभिनयबाट म प्रभावित बनेको थिएँ । त्यसैले बलराज साहनीका भाइ पनि कथालेखनमा प्रभावशाली नै हुनुपर्छ भनेर मैले त्यो पत्रिका किन्ने विचार गरेँ ।
मलाई कथा पढ्ने हतारो थियो । त्यसैले किन्नुभन्दा अगाडि नै पसलमै बसेर कथा पढ्न थालिहालेँ । जति पढ्यो त्यति प्रभावशाली । कहिल्यै नाम नसुनेका लेखकको पहिलोपटक नाम सुनेकै दिन, पहिलो रचनाबाटै म ठूलो प्रशंसक बन्न पुगेँ । त्यस्तो बन्नुमा उक्त कथाको शक्ति नै प्रमुख कारण थियो । अहिले पनि त्यस कथाको प्रभाव मेरो मस्तिष्कमा उत्तिकै छ । मेरो मस्तिष्कले टिपेको त्यस कथाको सारांशलाई यहाँ उद्धृत गर्नु मलाई उचित लागेको छ । कथाको सारांश यस्तो छ ः
धेरै वर्षसम्म हुकुमी शासन चलाएर देश–विदेशमा आफ्नो विजयको दुन्दुभी बजाइसकेपछि बादशाह उदय गिरीलाई धर्मकर्मतिर लाग्न मन लाग्यो । सुरुमा उनी एउटा सामान्य धर्मानुयायीको रूपमा राजपाठको समेत वास्ता नगरी कमण्डलु हातमा लिएर हिँड्न थालेका थिए तर त्यसो गर्नु उनैलाई ठीक लागेन । जनतामा बादशाहको जस्तो प्रभाव अरू कुराको नहुने ठानी उनी बिहान धर्मकर्म गर्ने र दिउँसो राज्यको शासन चलाउने गर्न थाले । दैनिक बिहान उनी पीताम्बर धारण गरी हातमाथि उठाएर ‘धर्म चर’, ‘अहिंसा परमो धर्म’ जस्ता मन्त्रोच्चारण गर्दै धार्मिक क्रियाकलापमा लाग्थे । दिउँसो दरबारमा गएर रत्नजडित मुकुट धारण गर्थे, राजसी पोसाक पहिरिन्थे र सिंहासनमा आसिन भई राज्य सञ्चालन गर्थे । साँझमा प्रवचन सुन्ने, सत्सङ्ग गर्ने, धार्मिक गतिविधिबारे जानकारी दिने आदि काम गर्थे ।
यसरी धर्म परायणतामा दिन बितिरहेकै बेला एकदिन बादशाहलाई एकजना पदाधिकारीले सुनायो– ‘महाराज आज पुरातनपन्थीहरू आफ्नो प्रथाअनुसार बलि चढाउन अगाडि बढिरहेका छन् ।’ यस कुराले बादशाह अत्यन्तै स्तब्ध भए । उनलाई लाग्यो– राजा स्वयम् हिंसाको विरुद्धमा रहेको बेला जनतामा पशुको बलि दिने आँट कसरी आयो ?
नगरका धेरैजसो मानिस आफ्नो सामाजिक–सांस्कृतिक उत्सवका अवसरमा खुबै सजिएर ढोल, मुजुरा र शङ्ख बजाउँदै बलिको बोको लिएर शोभायात्रासहित मन्दिरतिर अगाडि बढिरहेका थिए । अघिअघि सिँगारिएको बलिको बोको र पछिपछि नागरिकहरूको लस्कर । यो देखेपछि राजा हडबडाए । उनी उत्तेजित भए । उनले पदाधिकारीलाई आदेश दिए– बलिको बोकोलाई बचाउनैपर्छ । जसरी हुन्छ पशु बलिलाई रोक्नैपर्छ ।
यस्तो आदेश दिएर बादशाह दरबारबाट निस्किए । उनी पनि त्यही मन्दिरको नजिकै पुगे जहाँ नागरिकहरू बोकाको बलि दिन शोभायात्रासहित आउँदै थिए । उनी कसैले नदेख्ने गरी एउटा रुखमा लुकेर मन्दिरतिर हेर्नथाले । रङ्गीचङ्गी ध्वजापताका र बाजागाजासहितको नागरिकहरूको शोभायात्रा अगाडि–अगाडि बोकोलाई डो¥याउँदै मन्दिरभित्र पस्न खोज्यो । राजाका सेनाहरूले उनीहरूलाई बोकोसहित मन्दिरभित्र पस्न नदिन अनेक प्रयत्न गरे तर सकेनन् । नागरिकहरू बोकोसहित जबर्जस्ती मन्दिरभित्र पसे । सँगसँगै राजाका सेनाहरू पनि मन्दिरभित्र पसे ।
केही समयपछि ढोल, मुजुरा र घण्टहरूको आवाजसँगै नागरिकहरूको सामूहिक मन्त्रोच्चारणले मन्दिरक्षेत्र गुञ्जायमान भयो । मन्दिरभित्रबाट आएको आवाज यति ठूलो थियो कि अरू कुनै आवाज सुन्न सकिएको थिएन ।
एकैछिनमा मन्दिरभित्रको आवाज एक्कासि बन्द भयो । बादशाह आश्चर्यमा परे । केही बेरमा त्यहाँको नालीमा मन्दिरभित्रैदेखि रगतको कुलो बग्न थाल्यो । बादशाह स्तब्ध भए । ठीक त्यसैबेला मन्दिरको मूलढोका खुल्यो । राजाका विश्वासिला सेनापति नागरिकले बलिको लागि लगेको बोकोलाई जिउँदै डो¥याउँदै मन्दिरको मूलढोकाबाट बाहिर निस्कियो । बादशाह खुसीले गद्गद् भए । उनका केही मान्छे ‘महाराजको जय होस्’ भनेर कराउन थाले । मन्दिरभित्र पसेका नागरिकहरू कोही पनि बाहिर निस्कन पाएनन् । न पुजारी, न त शङ्खवादक नै । मन्दिरक्षेत्र एकदमै सुनसान र चकमन्न देखियो । उता मन्दिरको नालीमा रगतको कुलो भने बगिरहेको थियो ।
सारांशका रूपमा प्रस्तुत यो कथा हो भारतका सुप्रसिद्ध साहित्यकार भीष्म साहनीको हो । कथाको शीर्षक हो ‘शोभायात्रा’ । मलाई पछि मात्र थाहा भयो यो कथा साहनीको लोकप्रिय रचनामध्येको रहेछ । यो कथा भारतीय साहित्यकै लोकप्रिय कथामध्येमा पनि पर्ने रहेछ ।
भीष्म साहनीको कथा पनि पढिसकेपछि मलाई लाग्यो– यो पत्रिका त किन्नै पर्छ । मैले पत्रिकाको मूल्य सोधेँ र खल्तीमा हेरेँ । खल्तीमा जम्मा दुई रुपियाँ थियो । थर्डक्लासको टिकटमा फिल्म हेर्नका लागि सत्तरी–पचहत्तर पैसा भए पुग्थ्यो । तर त्यो पत्रिकालाई नै एक रुपियाँ साठी पैसा पर्ने रहेछ । पत्रिका किने फिल्म हेर्न पैसा नपुग्ने, फिल्म हेरे पत्रिका किन्न नपुग्ने । पत्रिका किन्ने पनि मन छ, फिल्म हेर्ने पनि मन छ । के चाहिँ गर्ने होला, पत्रिका किनूँ कि फिल्म हेरूँ ? म गम्भीर द्विविधामा परेँ ।
अन्ततः पत्रिका भोलिपल्ट किन्ने विचारका साथ म फिल्म हेर्ने निर्णयमा पुगेँ । फिल्म हेर्न गएँ । साथीभाइको सहयोगमा बल्लतल्ल टिकट पाइयो । फिल्मको टिकट पाउनु पनि ठूलै युद्ध जितेजस्तो भयो । खलिल जिब्रानको लघुकथा र भीष्म साहनीको कथाको प्रभावलाई दिमागमा बोकेर म फिल्महलभित्र छिरेँ । भित्र फिल्म सुरु हुनुअघि ‘झुम बराबर झुम शराबी…’ भन्ने गीत बजिरहेको थियो ।
फिल्म सुरु भयो । त्यसैलाई खुसीको कुरा मानेर धेरैले ताली बजाए तर मैले बजाइनँ । अरू पनि केही थिए ताली नबजाउने । फिल्मको बीचबीचमा पनि ताली बजिरह्यो । हिरो देखिए पनि ताली, राम्रो गीत आए पनि ताली, राम्रो दृश्य आए पनि ताली, राम्रो संवाद आए पनि ताली । कति ताली कति । मैले बुझ्न सकिरहेको थिइनँ । मान्छेको रुचिलाई बुझ्न नसकेर पनि होला । फिल्ममा ‘ये लाल रङ्ग …’ गीत आइरहेको थियो । अधिकांश दर्शकहरू राजेश खन्नासँगसँगै त्यसैमा झुमिरहेझैँ देखिन्थे । म भने फेरि पनि खलिल जिब्रानको लघुकथा र भीष्म साहनीको कथा सम्झिन पुगेको थिएँ ।
मैले त्यसै बेला अनुभूत गरेँ– साहित्यको प्रभाव बेग्लै हुँदोरहेछ । गम्भीर साहित्यको प्रभावशाली शक्तिका अगाडि फिल्मको प्रभाव निष्प्रभावी बन्ने रहेछ ।
पहिला गम्भीर साहित्यको अध्ययनमा म खासै चासो राख्दिन थेँ । तर यस घटनाले नयाँ कुराको बोध गरायो । मैले देश–विदेशका साहित्यको अध्ययनलाई अनिवार्य ठानेँ ।
भोलिपल्ट म उक्त पत्रिका किन्न भनेर जानकी पुस्तक पसलमा पुगेँ तर पसल बन्द थियो । म अघिल्लो दिन फिल्मको टिकट नपाएर फर्किंदा जति निराश थिएँ, त्योभन्दा बढी निराश हुन पुगेँ । छिमेकी पसलमा सोधेँ । ती छिमेकी पसलेले दुईचार दिन पुस्तक पसल नखुल्ने कुरा बताए । म अझै निराश बनेँ । अचानक आइपरेको कुनै दुःखद् घटनाका कारण केही दिनका लागि पुस्तक पसल बन्द गरिएको रहेछ ।
त्यो पत्रिका किन्ने मेरो धोको त्यत्तिकै तुहियो । तर प्रभावशाली साहित्यिक रचनाहरू भएको त्यस पत्रिकाको नाम के थियो ? मैले त्यतिखेर पत्रिकाको नाममा खासै ध्यान दिएको जस्तो लागेन । पछि, आफूमा साहित्यिक समझ बढ्दै गएपछि त्यस पत्रिकाको नाम सम्झिन खोजेँ । त्यो पत्रिका ‘हंस’ हो वा ‘सारिका’, अथवा अरू नै कुनै हो, अहिले यकिनका साथ भन्ने क्षमता म राख्दिनँ । त्यसको नाम सम्झिने प्रयत्नमा म आफूले आफैँलाई असक्षम ठहर गरेको छु । जनकपुरमा त्यसवेला ‘हंस’ र ‘सारिका’ जस्ता पत्रिका पाइन्थे जस्तो चाहिँ लाग्दैन । तर पनि त्यस पत्रिकाको स्तर भने ‘हंस’ र ‘सारिका’ कै जस्तो थियो । त्यसको नाम ‘नयी कहानियाँ’ हो कि जस्तो पनि लाग्छ जसको सम्पादनमा कुनै समय भीष्म साहनी आफैँ पनि संलग्न थिए ।
म त्यही पत्रिकामा प्रकाशित दुई रचनाको अध्ययनको प्रभावमा म खलिल जिब्रान र भीष्म साहनीका रचना मात्र होइन, साहित्यका अरू किताबहरू पनि खोजीखोजी पढ्न थालेँ । खलिल जिब्रानको ‘दि प्रोफेट’ र अन्य कथाहरू पनि त्यत्तिकै प्रभावपूर्ण लागे । अलि पछि भीष्म साहनीको ‘तमस’ उपन्यास पढेको थिएँ । त्यस्तै, उनका कथाकृति वांगचू र भाग्यरेखा तथा नाट्यकृति कबीरा खडा बजारमे, माधवी र हनूश पनि त्यत्तिकै प्रभावशाली लागे ।
जीवनमा यतिधेरै प्रभाव पार्ने रचना भएको त्यो पत्रिकाको नामचाहिँ के होला ? अहिले पनि वेलावेलामा यस प्रश्नले मलाई घोत्लिन बाध्य पार्छ । तर म आफूलाई पत्रिकाको नाम सम्झिन असक्षम ठहर गरिरहेको छु । पत्रिकाको नाम सम्झिन नसकेपनि त्यसको तत्कालको प्रभावलाई म कहिल्यै बिर्सन सक्दिन । अहिले सोच्दा लाग्छ – त्यसवेला जे भयो, वास्तवमै राम्रै भयो ।