फरक– २ - Aksharang
  • २०७७ मंसिर १९ शुक्रबार

फरक– २

सानु शर्मा

सानु शर्मा

गाडीले अमरसिंह चोक काटेपछि ऊ नसोधिरहन सकिनँ– ‘यता काहाँ जाने ?’

म केही बोलिनँ । ऊ उत्सुकतापूर्वक कहिले मलाई, कहिले बाटोतिर हेरिरही । बाहिर रात बाक्लिँदै थियो । बाक्लो सहर पछाडि छुट्दै गएपछि बत्तीको झिलिमिली पातलिँदै गयो ।

मैले गाडी फूलबारी रिसोर्टतिर मोडेपछि उसले सजग हुँदै भनी– ‘यता कता जान थालेको ? यो त एकदम महँगो रिसोर्ट हो, यहाँ त सिङ्गल बेडकै पनि एक रातको १५–२० हजार पर्छ रे, तिर्न सक्छौ त्यति ?’

म फेरि पनि केही नबोलेको देखेर उसैले अलि नरम स्वरमा भनी– ‘हेर, बेकारको सानमा यत्रो पैसा किन खेर फाल्छौ ? एकरात सुत्नै त हो । अन्तै कतै हिँड, हिँड्नूस् न, म…म त, यहाँ त मलाई छिर्न पनि दिन्नन् होला ।’

त्यति बेलासम्म मैले गाडी लगेर रिसोर्टको मेनडोरको अगाडि रोकिसकेको थिएँ ।

डोरम्यानले आएर तत्परताका साथ मेरो साइडको ढोका खोल्यो । मलाई देखेपछि उसको अनुहारमा पहिचानको साथै सम्मानको भाव झुल्कियो । उसले फुर्तिलो पाराले मलाई स्याल्यूट ठोक्यो । उसको स्याल्युटको जवाफमा टाउको हल्लाउँदै म गाडीबाट तल ओर्लिएँ । बिनी भने हिच्किचाउँदै गाडीमै बसिरही ।

मैले गाडीको साँचो डोरम्यानको हातमा दिएँ । ऊ अझै गाडीबाट ओर्लेकी थिइनँ ।

‘किन नओर्लिएको ?’ उसको साइडको ढोका खोलेर मैले उसलाई तल झर्ने इसारा गर्दै भनेँ ।

‘म… म त..हेर,..हेर्नूस्.. म पहिले कहिल्यै…।’

‘कम अन ।’ मैले उसको पाखुरा समातेर उसलाई बाहिर तानेँ ।

ऊ बडो अनिच्छापूर्वक तल ओर्लिई । डोरम्यानले अघि बढेर शिशाको ढोका खोल्यो । म भित्र पसेँ । ऊ पनि मेरो पछिपछि भित्र आई, तर उसका आँखा व्याकुलतापूर्वक यताउता घुमिरहे । उसका आँखाको भाव त्यतिबेला यस्तो थियो, मानौँ कुनै चोर अन्जानमै राजदरबारभित्र छिर्न पुगेको थियो । थाहा छैन किन त्यो पल मलाई उसमाथि दया जागेर आयो । रिसेप्सनमा पुग्न नपाउँदै रिसेप्सनिस्टले सम्मानपूर्वक भन्यो– ‘हलो सर, हाउ आर यु ?’

‘ठीकै छ भास्कर ! तिम्रो के छ ?’

‘यसपटक त निक्कै दिनपछि आउनुभयो सर, म ठीक छु सर । थ्याङ्क्यू !’

“अलि बिजी थिएँ त्यसैले । अमात्य छ कि….”

‘सर त परिवारसँग सिङ्गापुर जानुभएको छ । केही दिन लाग्छ होला सर…!’

‘ए ! त्यसो भए यसपटक पनि भेट हुँदैन उसँग ?’ म एकैछिन अडिएँ अनि घडी हेर्दै सोधेँ– ‘भास्कर, डिनर त ख्वाउँछौ नि होइन ? कि धेरै नै ढिलो भैसक्यो ?’

‘कहाँ सर, हजुरका लागि पनि ढिलो र चाँडोको नियम लागू हुन्छ र । बरू सर कटेज त्यही कि…!’ उसले सकभर मेरो पछाडि आफूलाई लुकाउने प्रयास गरिरहेकी बिनीतर्फ हेर्दै भन्यो । मैले उसका आँखाको अनुसरण गरेँ, अनि मेरो पछाडि छेकिन प्रयत्न गरिरहेकी बिनीको पाखुरा समातेर उसलाई आफ्नो छेउमा तान्दै भनेँ– ‘भास्कर, सी इज बिनी, माइ गेस्ट ।’

‘हलो म्याम, वेलकम टु द रिसोर्ट ।’ उसले अलिक टाउको झुकाएर भन्यो । बिनी केही बोल्न सकिन । केवल निरीह भावले मलाई पुलुक्क हेरी ।

‘भास्कर, द्याट कटेज विल बि फाइन । नाउ, क्यान आई गेट द की प्लिज !’

‘यस सर, स्योर सर !’ उसले साँचो झिकेर मेरो छेउमा उभिन आइपुगेको बेल ब्वाईतर्फ बढायो तर बेल ब्वाईले साँचो समात्नुभन्दा पहिल्यै मैले हात बढाएर भास्करको हातबाट साँचो लिँदैभनेँ– ‘इट्स ओके भास्कर, आई नो द वे, बरू डिनर अलि चाँडो गर्न भन न है !’

‘ओके सर । डिनर विल बि राइट अवे सर…!’ उसले तत्परताका साथ भन्यो ।

‘थ्याङ्स भास्कर…!’ मैले अघि बढ्दै भनेँ । बिनी पनि हतारिँदै मेरो पछि लागी ।

‘माई प्लेजर सर ! ह्याव अ गुड नाइट म्याम, गुडनाइट सर !’ भास्करले भन्यो । मैले उसतर्फ हात मात्र उठाएँ, केही बोलिनँ ।

कटेजको ढोका खोलेर भित्र पस्नेबित्तिकै बिनीले हतारिँदै ढोका यसरी बन्द गरी मानौँ ऊ त्यो कोठालाई त्यहाँको भव्यतासँग अलग गर्न चाहन्छे । बन्द ढोकामा पिठ्यूँ अढ्याएर छातीमा हात राख्दै पहिले त उसले ‘उऽऽऽफ’ गरेर लामो सास फेरी अनि मलाई लक्ष्य गर्दै भनी– ‘हेर त यो मान्छेले मलाई उल्लु बनाएको । पहिल्यै भन्नुपर्दैन कि.. कि तिमी…स तपाईं यति ठूलो मान्छे हुनुहुन्छ भनेर ?’

‘भनेको भए के गथ्र्यौ, आफ्नो रेट बढाएर भन्थ्यौ ?’ मैले ब्यङ्ग्यपूर्वक भनेँ ।

‘अरू भए त्यस्तै गर्थे होलान्…’ मेरो ब्यङ्ग्यलाई बेवास्ता गर्दै उसले सामान्य स्वरमा भनी– ‘तर म ? म वेश्यावृत्ति पनि इमानदारीपूर्वक गर्छु । म ग्राहकको होइन, आफ्नो औकात हेरेर पैसा लिन्छु । तपाईंको बारेमा पहिल्यै थाहा पाएको भए त म आउँदै आउँदिन थेँ होला सायद तपाईंसँग ।’

उसको सामान्य स्वरमा पनि यस्तो केही थियो, जसले मलाई भित्रैदेखि ‘सरी फिल’ गरायो तर त्यसबेला मैले केही भनिनँ ।

‘तपाईँ यति ठूलो मान्छे हुनुहुन्छ भन्ने कुरा पहिले नै थाहा भएको भए त म…।’

अनायास उसका आँखा ५८ इन्चको प्लाज्मा टीभी स्क्रिनमा परे । उसका आँखा आश्चर्यले चौडिए । उसले टीभीको नजिक जादैँ भनी– ‘के हो यो ? यो त…।’

‘टीभी पनि चिन्दिनौ कि क्या हो ?’

‘किन नचिन्नु नि ! तर यो त… हे ईश्वर ! यत्रो ठूलो टीभी ? यो त झन्डैझन्डै सिनेमाको पर्दा जत्रै छ त ।’ उसले आफ्नो थाप्लोमा हात राख्दै पुनः भनी– ‘अब बल्ल थाहा पाएँ मैले किन ठूलाबडाहरू सितिमिती हलमा सिनेमा हेर्न जाँदैनन् भन्ने कुरा । घरमै सिनेमा हल भएपछि को जाओस् बाहिर ?’ उसले गर्धन तन्काएर उत्सुकतापूर्वक टीभीको पछाडि हेर्ने कोसिस गरी ।

‘के हेरेको ?’ मैले सोधेँ ।

‘त्यो हुन्छ नि…!’ उसले दुवै हातले साइज अड्कलेर देखाउँदै भनी– ‘क्या त टीभीको पछाडि बाकस जस्तो, के पो भन्छन् त्यसलाई ? त्यो क्या…. हुन्छ नि …!’

‘यो टीभीमा त्यस्तो केही हुँदैन….।’ मैले ओठमा ढकढक्याउन आएको मुस्कानलाई फिर्ता धकाल्न खोज्दै भनेँ ।

‘फेरि कसरी चल्छ त यो ?’ ऊ झनै आश्चर्यचकित भई । मैले छेउको टेबलबाट रिमोट टिपेर टीभी अन गर्दै भनेँ– ‘यी, यसरी… ।’

‘उसऽऽऽ’ एक्कासि ठूलो साउन्ड सुनेर ऊ छाती छाम्दै दुई कदम पछि सरी अनि दङ्गदास पर्दै भनी– ‘हेर त, यो त हलमा भन्दा पनि क्लियर देखिँदोरै’छ ।’ अनि ऊ हातको ब्यागस्याग सोफामा फालेर टीभीअगाडि कार्पेटमा पलेटी कसेर बसी ।

मैले केहीबेर त्यत्तिकै उसलाई हेरिरहेँ । उसको अनुहारमा एउटा अबोध शिशुउत्सुकता प्रतिविम्बित भइहरेको थियो । उसले ऊ किन यहाँ आएकी थिई भन्ने पनि बिर्सिसकेकी थिई ।

ढोकामा ढकढक गरेको सुनेर मैले ढोका खोलेँ । दुईजना केटाहरू अभिवादन गर्दै अनुमति मागेर भित्र पसे । एउटाले मेरो ब्रिफकेश र

एयर ब्याग बेडरुममा लगेर राख्यो । अर्कोले फलफूलको टोकरी टेबलमा र मिनरल वाटरका बोतलहरू, बियरका क्यानहरू कुनाको फ्रिजमा लगेर राख्यो । मैले टिप दिएर उनीहरूलाई बिदा गरेँ ।

ऊ अझै टीभीमै ब्यस्त थिई ।

मैले फोन उठाएर डिनरको सोधखोज गरेँ अनि बेडरुमभित्र पसेँ ।

म सुटकेस खोलेर लुगाहरू झिक्दै थिएँ, उसले भित्र आएर खेदपूर्वक भनी– ‘सरी, सरी….सरी ! यस्तै छु क्या म, टीभी हेर्न बसेँ भने सबै चीज बिर्सन्छु । तिमी, सरी तपाईंले नराम्रो मान्नुभएको त छैन नि ?’

‘नराम्रो किन मान्नु ?’ मैले भनेँ– ‘अनि यदि तिमीलाई मलाई ‘तपार्इं’ भन्न गाह्रो लाग्छ भने ‘तिमी’ नै भन्दा पनि हुन्छ, अड्किरहनु पर्दैन ।’

‘साँच्चै ?’ ऊ उत्साहित सुनिई– ‘अरूको इच्छा र इसाराअनुसार बोल्दाबोल्दै बानी नै यस्तो भैसक्यो कि मनले दिन चाहेको सम्बोधन र आफ्नोपन यत्तिकै अलमलिन्छ । तर तिमीप्रति भने…आई मिन तपाईंप्रति सम्मान…।’

‘केवल तपाईं हजुर भनेर मात्रै कसैको सम्मान हुँदैन ।’ मैले भनेँ– ‘मेरी धर्मपत्नी मलाई आइबक्स्योस् र गैबक्स्योस् भनेर सम्बोधन गर्छिन्, तर…।’

ढोकामा फेरि ढकढक गरेको सुनेर म बोल्दाबोल्दै रोकिएँ र ढोका खोल्न गएँ । यसपटक डिनर सर्व गर्न भास्कर पनि आएको थियो । केही बेर औपचारिक कुरासँगै टेबलमा डिनर व्यवस्थित गर्न लगाएर भास्कर गयो । साथमा रुम सर्भिसको मान्छे पनि । म बेडरुममा फर्किएँ ।

ऊ मेरा लुगाहरू झिकेर मिलाइरहेकी थिई । मलाई देखेर उसले भनी– ‘तपाईं केही भन्दै हुनुहुन्थ्यो…।’

‘केही होइन । तिमी बाहिर हिँड । खाना आइसकेको छ । म फ्रेस भएर निस्कन्छु अनि…।’ अचानक मेरो पेट यस्तरी उमठियो, म अगाडि बोल्न सकिनँ । मुखमा हात राखेर बान्ता रोक्ने कोसिस गर्दै म बाथरुमतिर दौडिएँ तर अचानक मेरा खुट्टा लत्रक्क परेर मोडिए । म घुँडा टेक्न पुगेँ ।

‘लौ न के भयो !’ उसले लम्केर मलाई समाती अनि भनी– ‘आम्मै नि ! तिमीलाई त बेस्सरी ज्वरो पो छ जस्तो छ…।’ उसले मलाई तानेर बाथरुमतिर लगी तर म बाथरुमसम्म पुग्न सकिनँ, त्यहीँ नै, उसको काँधको आड लागेर वाक्कब्याक्क गर्नथालेँ । ऊ मलाई थामेर चुपचाप उभिइरही । अरू केही त मेरो पेटमा भए पो निस्कन्थ्यो र ? तर जे जति अमिलो, तीतो झोल मेरो मुखबाट निस्केको थियो– त्यो मैले उसैमाथि विसर्जन गरिदिएँ ।

‘स..सरी…।’ मैले बडो मुस्किलले भन्न सकेँ, तर उसले त्यो सुन्दैसुनिन सायद । थरथर काँपिरहेको मेरो शरीरलाई सहारा दिएर मेरो निधारको पसिना पुछिदिँदै उसले चिन्तापूर्ण स्वरमा भनी– ‘तिमीलाई त धेरै नै सन्चो छैन जस्तो छ । यस्तो बिरामी मान्छेलाई घरबाट निस्कन कसरी दिए तिम्रा आफन्तहरूले ?’

म केही बोल्न सकिनँ । उसले मलाई जसरीतसरी तानेर बाथरुम पुर्याई । त्यहाँ मैले केहीबेर अरू वाक्कब्याक गरेँ । ऊ मेरो पिठ्यूँ सुमसुम्याइरही । मैले टाउको उठाएपछि रोक्दारोक्दै पनि उसले मेरो मुख पखालिदिई । टाबेल थुतेर मुख पुछिदिई । त्यसपछि उसले बडो मुस्किलले मलाई बेडरुममा पुर्याई ।

मलाई बेडमा पल्टाएर आफ्नो बढेको सास नियन्त्रित गर्दै भनी– ‘डाक्टर बोलाउन के गर्नुपर्छ ? भन, म…म बोलाउँछु ।’

म त्यतिबेला बोल्नसक्ने स्थितिमा थिइनँ । मलाई एकदमै गाह्रो भैरहेको थियो अतः अस्वीकृतिपूर्वक टाउको हल्लाएर मैले आँखा बन्द गरेँ ।

उसले मेरा जुत्ता, मोजा खोलिदिई । मलाई सजिलोसँग ओछ्यानमा पल्टाई । ओढ्ने ओढाइदिई अनि मेरो निधारमा हात राख्दै चिन्तापूर्ण स्वरमा भनी– ‘आगोको भुङग्रोजस्तो ज्वरो छ । मेरो कÞुरा मान क्या, यसरी त…!’

‘एग्जर्सनले हो, एकछिन आराम गरेपछि ठीक भैहाल्छ । यु डोन्ट वरी, टेबलमा खाना छ, गएर खाऊ, टीभी हेर्न मन लाग्छ भने हेर ! म केही बेर आराम गर्छु ।’ मैले क्षीण स्वरमा भनेँ । ऊ चिन्तापूर्ण भावले मलाई हेरिरही । त्यसपछि थाहा छैन म निदाएँ या बेहोस भएँ ।

म ब्यूँझदा कति समय भएको थियो कुन्नि, तर त्यसबेला म आफूलाई निक्कै हलुका महसुस गरिरहेको थिएँ ।

अनायास मलाई बिनीको याद आयो । मैले यताउता हेरेँ । ऊ एउटै डल्लो परेर, मेरो शरीरसँगै टाँसिएर निदाइरहेकी थिई । उसका लामालामा केश अनुहारवरिपरी फिँजिएका थिए । उसको अबोध अनुहार ती केशका माझमा कालो बादलबीचबाट चिहाइरहेको चन्द्रमाजस्तै प्रतीत भैरहेथ्यो । उसले आफ्ना दुवै हातलाई सिरानी बनाएर आफ्नो टाउकोमुनि अड्याएकी थिई । मतिर कोल्टे फर्किएर निदाएकी बिनीको अनुहारमा त्यतिबेला यति धेरै निश्छलता, अबोधता थियो– मैले उसको अनुहार बाट आँखा हटाउन सकिनँ । म मन्त्रमुग्ध भएर निकैबेर उसलाई निहारिरहेँ । बिस्तारै मेरो दृष्टि उसको अनुहारबाट हटेर उसको शरीरमा पर्यो । त्यसबेला उसको शरीरमा एउटा मर्दाना गन्जी– जुन मेरो थियो, बाहेक अरू केही थिएन । ‘ओहो ! कति सुन्दर अनुहार, कति सुन्दर शरीर अनि…!’ अगाडि मैले कल्पना गर्न सकिनँ । यो के गर्दैथिएँ म ? यसअघि योभन्दा सुन्दर अनुहार र शरीर मेरो आँखा अगाडिबाट नगुज्रिएको पक्कै पनि होइन । जुन क्लासको सोसाइटीमा उठबस थियो मेरो, त्यहाँ सुन्दरता, सहुलियत सबै थोक हुँदाहुँदै पनि मेरो आँखालाई रोक्ने र छेक्ने कुनै शरीर, कुनै सौन्दर्य यस्तो थिएन– जसले मेरो मन बहकाएको होस् । साँच्चै रहेछ– बहकिन पनि परिस्थितिले नै बाध्य बनाउँदोरहेछ । म हडबडाउँदै उठेर बसेँ, साथै ऊ पनि झस्केर उठी अनि गडबडाउँदै निद्रैमा भनी– ‘डाक्टर…म…डाक्टर बोलाऊँ ?’

रोक्दारोक्दै मेरो ओठमा अलिकति मुस्कान पोखियो । उसले सजग हुने प्रयास गरी । मुखबाट निस्केको ’हाई’ लाई दाहिने हातको पिँठ्यूले छेकी अनि निन्द्राले लठ्ठिएका आँखाले मतिर हेरेर सोधी– ‘अहिले कस्तो छ तिमीलाई, ठीक छौ नि ? ज्वरो त छैन नि ?’ त्यसपछि मेरो जवाफको प्रतीक्षा नै नगरी तन्केर मेरो निधारमा हात राखेर ढुक्कको सास फेर्दै भनी– ‘थ्याङ्क गड ! अहिले त ज्वरो रै’नछ…।’

मेरा आँखा नचाहँदानचाहँदै पनि फेरि उसको शरीरतिर उठे । गन्जीले ढाक्न नसकेको उसको केशर मिश्रित दूधजस्तो सेतो र गुलाबी शरीर मेरो एकदम नजिक थियो । म हडबडाएर अलि पर सरेँ ।

‘के भयो ?’ उसले अचम्म मान्दै सोधी ।

‘अरू केही भेटिनौ लगाउनका लागि ?’ मैले उसलाई हेर्नबाट बच्दै भनेँ ।

‘ओऽऽऽ…!’ उसले सबै कुरा बुझेझैँ गरी भनी– ‘मेरा लुगा त तिमीले लगाउनलायक नै छोडेनौ अनि तिम्रा लुगाहरू यति दामी थिए, मलाई हात लगाउन पनि डर लाग्यो । एउटा गन्जीचाहिँ यो सोचेर लगाएँ– यसलाई त तिमी माया मार्न पनि सक्छौ…।’

उसको भनाइमा भन्दा उसको अबोधतामा चुर्लुम्म डुबेर म एकैछिन उसैलाई हेरिरहेँ । तर फेरि सम्हालिएँ । रीस र रक्सीको झोँकमा गरेको यौटा सतही निर्णयलाई अझै अगाडि लैजाने मेरो नियत कदापि थिएन । अतः मैले कुराको प्रसङ्ग फेर्न खोज्दै भनेँ– ‘कति बज्यो , डिनर खायौ तिमीले ?’

‘डिनर ?’ ऊ स्वच्छभावले हाँसी– ‘कहाँ, कुन मुलुकको कुरा गर्दैछौ तिमी ? नेपालमा त सायद लन्चको समय भैसकेको छ होला अहिले ।’

‘लन्च ?’ म हडबडाएर उठ्न खोजेँ तर फेरि बेडमै बसेर ब्ल्याङ्केट आफ्नो नजिक तानेँ । ऊ मुन्टो घुमाएर हाँसी । मेरो अनुहार कानसम्म रातो भयो । त्यसबेला मेरो शरीरमा गन्जी र अन्डरवयरबाहेक अरू केही थिएन ।

‘हिजो राती तिम्रो हालत यस्तो थियो– तिमीले आजको सूर्य देख्छौ, देख्नसक्छौ भन्ने कुरामा शङ्कै लागेको थियो मलाई ।’ उसले गम्भीर हुँदै फेरि भनी– ‘आगोमा हालेको जिउँदो माछाजस्तो छटपटाइरहेथ्यौ तिमी, ज्वरोले बेहोस । सारा लुगा खोलेर, बरफपानीमा तौलिया भिजाएर पुछ्दा पनि तिम्रो शरीरबाट ताप नै निस्किरहेको थियो । डाक्टर बोलाउने मेरो हिम्मत भएन । त्यसैले सिङ्गै रात आफूले जानेबुझेको गर्दै आफैँ जुधिरहेँ म । बिहानीपख बल्ल तिम्रो ज्वरो ओर्लियो । तिम्रो अनुहारमा राहत झुल्केपछि मैले पनि राम्ररी सास फेर्न सम्झिएँ । नत्र त कम्ता डर त लागेको थिएन मलाई । त्यसपछि बल्ल फोनसोनको तार थुतेर म पनि आएर सुतेँ । मेरा लुगा मैले धोएर सुकाएकी छु । तिमी भन्छौ भने…।’

‘इट्स ओके ।’ मैले बिस्तारै भनेँ– ‘सरी अवाउट…।’

‘सरी किन ? कोही बिरामी भएकोमा पनि सरी भन्छन् कि क्या हो ? यो खैरेहरूको मति पनि, भन्नै छ भने धन्यवाद भन न बरू ।’ ऊ उठी– ‘म बाथरुम जान्छु….।’ उसले उठेर बेडबाट ओर्लँदै भनी ।

‘धन्यवाद…!’ मैले बिस्तारै भनेँ तर त्यो सुन्नुभन्दा पहिल्यै उसले बाथरुमको ढोका बन्द गरिसकेकी थिई ।

मैले उठेर वार्डरोवबाट एउटा टि–र्सट र पाइन्ट झिकेर भिरेँ ।

कमजोरी त महसुस भैरहेको थियो मलाई तथापि जीउ हलुको लाग्दै थियो ।

यताउता आफ्नो घडी खोजेँ । ड्रअरमा रहेछ । घडी झिकेर लगाएँ ।

दिउँसोको साढे एक बजिसकेको रहेछ । मैले हिजो बान्ता गरेको ठाउँ बिनीले धोइपखाली सफा गरिसकेकी थिई । म उठेर बाहिर लिविङ्रुममा आएँ । ऊ पनि बाथरुमबाट निस्केर त्यहीँ आई । त्यतिबेला उसले आफ्ना सबै केश समेटेर पछाडि जुरो बनाएकी थिई । अगाडिका छोटाछोटा केश अझै खुल्लै थिए । त्यसै सुन्दरी ऊ अहिले यति अबोध देखिएकी थिई, म विश्वास गर्न हिचकिचाइरहेको थिएँ–ऊ यौटी पेसेवर आइमाई हो भनेर । गन्जी उसको शरीरमा यथावत नै थियो । ऊ आएर डायनिङ् टेबलवरिपरिका दुईवटामध्ये एउटा कुर्सीमा बसी अनि भनी– ‘एकदम भोक लागेको छ, म यो खाना खाऊँ ?’

‘हिजोदेखिको खाना पनि खान्छन् ? त्यो पनि बाहिर त्यतिकै छ रातीदेखि…!’

‘अनि के गर्ने त यत्रो सारा खाना ?’

‘किन, हिजो तिमीले खाइनौ र ?’

‘तिम्रो हालत देखेर खाने होस् कसलाई थियो र ?’ उसले भनी ।

मलाई साँच्चै करुणा जागेर आयो उसप्रति । म उठेँ । फोन जोडेँ अनि जति सकेको चाँडो लन्च ल्याउन अर्डर दिएर म पनि गएर बिनी छेउको कुर्सीमा बसेँ ।

‘यस्तो हालतमा तिमी काठमाडौँदेखि ड्राइभ गरेर आयौ, अचम्म छ….।’ उसले मलाई ध्यानपूर्वक हेर्दै भनी ।

‘तिमीलाई कसले भन्यो म काठमाडौँबाट आएको हुँ भनेर ?’

‘मेरो कमनसेन्सले । भन, मैले गलत भनेँ ?’ उसले एउटा भाँडोबाट चिकेन पिस झिक्दै भनी । मैले केही नबोली उसको हातबाट त्यो चिकेन पिस लिएर भाँडामा फिर्ता राखेँ र भाँडा अलिपर सारेँ ।

‘एकदमै भोक लागेको छ, हिजैको त हो, के फरक पर्छ र प्लिज ।’ उसले बच्चाबच्चीको जस्तो अबोध आग्रहका साथ भनी । मेरो ओठमा मुस्कान आउन तत्पर भयो तर मैले त्यसलाई जबर्जस्ती रोक्दै भनेँ– ‘लन्च आउनैलागेको छ, एकैछिन पर्ख । ताजा खाना आउँदाआउँदै बासी किन खान्छ्यौ ?’

‘थाहा छैन कतिबेला आउँछ, म त भोकले मर्न…।’ ढोकामा ढकढक गरेको सुनेर ऊ बोल्दाबोल्दै चुप लागी । म उठेर ढोकातिर बढेँ, तर फेरि रोकिँदै भने– ‘तिमी भित्र जाऊ !’

‘किन…?’

‘किनभने म भनिरहेको छु ।’ मैले गम्भीरतापूर्वक भनेँ ।

‘किन ? उनीहरूले मलाई यस हालतमा यहाँ देखे भने तिम्रो इज्जत घट्छ ?’ उसले ढिठाइपूर्वक भनी ।

‘किनभने बाहिरको दुनियाँका लागि तिमी जे भए पनि, यहाँ यो कटेजभित्र मेरो कम्प्यानियन हौ, साथी हौ मेरो, अनि म यो कदापि चाहन्नँ कि अहिले केही मिनेट अघिसम्म मेरो ओछ्यानमा, मेरो नजिक सुतिरहेको शरीरलाई कसैले अपमानजनक नजरले हेरोस् ।’ मैले कठोर स्वरमा भनेँ ।

थाहा छैन त्यो पल उसको अनुहारमा जुन भाव उदायो, त्यसमा के थियो, तर उसले घुटुक्क थुक निलेको मैले प्रस्ट देखेँ । त्यसपछि ऊ दौडेर बेडरुमभित्र मात्र छिरिन, उसले बेडरुमको स्लाइडिङ्डोर पनि आफ्नो पछाडि तानेर बन्द गरी ।

खाना टेबलमा व्यवस्थित गरेर हिजोको खानाको साथमा ‘टिप’ लिएर उनीहरू गैसकेपछि पनि उसले ढोका नखोलेपछि मैले गएर बेडरुमको ढोका ढकढकाएँ । ऊ ढोका खोलेर बाहिर निस्की, तर केही बोलिन । हामीले चुपचाप खानाखान थाल्यौँ ।

मैले देखेँ ऊ बडो सहजताका साथ, बिस्तारैबिस्तारै खाना खाइरहेकी थिई । मलाई अनायास सुप्रियाको याद आयो । सुप्रियासँग बसेर खाना खानु हिम्मतकै काम थियो मेरा लागि । खाँदा मुखबाट आवाज निकाल्ने व्यक्ति, पूरै मुख खोलेर कच्याककच्याक चपाएर खाने व्यक्तिसँग बसेर म कहिल्यै भरपेट खान सक्तिनँ । सुप्रियामा यी दुवै खराबी थिए । म उसलाई सम्झाएर हैरान भैसकेथेँ । ऊ कोसिस पनि गर्थी तर उसको त्यो आदत छुट्न सकेको थिएन । त्यसैले प्रायःजसो म ऊसँग बसेर खान तर्किन्थेँ र भोको पेटमै उठ्थेँ ।

मैले फेरि उसलाई हेरेँ । ऊ हातैले खाना खाइरहेकी थिई । म चम्चा काँटाले । ऊ यति सफासँग खाना खाइरहेकी थिई– उसका चारवटा औँलाको टुप्पामा मुस्किलले खाना लागेको देख्न सकिन्थ्यो । मैले हात बढाएर चिकनकरी आफ्नो प्लेटमा हाल्नखोजेँ तर उसले मेरो हात थामेर रोक्न खोज्दै बिस्तारै भनी– ‘भन्ने हक त छैन, तथापि तिम्रो अघिको ‘साथी’ शब्दले हौसिएर भन्दैछुस हेर, तिमीलाई धेरै नै सन्चो छैन जस्तो छ । थाहा छैन यस्तो भीषण ज्वरो केको हो ? त्यसैले हुनसक्छ भने यो यति धेरै चिल्लो भएका तरकारीहरू नखाऊ, तिम्रो स्वास्थ्यका लागि ठीक हुँदैन । प्लिज !’

अनायास मेरो नाक पीरो भयो । मेरी अर्धाङ्गिनीले पनि कहिले यति आग्रहपूर्वक नभनेको कुरा एउटी पेसेवर आइमाईले भनिरहेकी थिई, मेरा लागि । उसको स्वरमा यति विनम्रता, यति आग्रह थियो कि म के गरौँ, के नगरौँ भएर उसलाई हेरिरहेँ ।

‘दालसँग खाऊ न, यो पनि त मीठो छ ।’ उसले फेरि भनी । मैले समातेको चम्चा छोडेँ अनि चुपचाप दाल र भात मात्र खाइरहेँ । मलाई अरू तरकारी छुने इच्छा पनि भएन । त्यसै पनि म एकैपटक धेरै खान सक्तिनथेँ, त्यसमाथि अहिले त सन्चो थिएन । म ऊसँग अनुमति मागेर टेबलबाट उठ्न खोजेँ ।

‘आम्मै नि ! त्यतिले नै पुग्यो ?’ उसले आश्चर्यपूर्वक भनी– ‘तिमीले त चार चम्चा पनि खाएका छैनौ, यसरी त मलाई तिमीसँग बसेर खान लाज पो हुन्छ त…!’

‘होइन होइन….।’ मैले फेरि बस्दै भनेँ– ‘तिमी खाऊ न ! तिमीले त हिजो पनि केही खाएकी छैनौ ।’
‘तिमीले पो कहाँ खायौ र ? बस न प्लिज, मलाई साथ दिनै सही, अरू दुई–चार चम्चा खाएर त हेर….
!’

मैले उसको आग्रह टार्न सकिनँ । उसले मेरो प्लेटमा खाना राखिदिई । म बिस्तारैबिस्तारै खाना खाँदै उसका कुरा सुनिरहेँ ।

खाना सकेर उठ्ने बेलामा जब उसले हात लम्काएर मेरो प्लेट उठाउन खोजी, मैले देखेँ, उसको हातको नाडीमा एउटा नाम कुँदिएको थियो, जसलाई क्रसको चिन्हले बिगार्न खोजे जस्तो खतले अधुरो बनाइदिएको थियो । मैले उसको त्यो नाडी समातेर भनेँ– ‘ए ! यो पो हो तिम्रो असली नाम ?’

उसले जबर्जस्ती मेरो हातबाट आफ्नो हात छुटाउँदै भनी– ‘यही त हो । बिनी नै त लेखिएको छ…।’

‘यो कहाँ ‘नि’ हो र ? यो त.., कतै बिन्ती त होइन…?’

‘यो बिनी नै हो…।’ यसपटक उसले रुखो स्वरमा भनी– ‘र यसलाई बिनी नै रहनदिनूस् प्लिज !’

उसको स्वरको रुखोपनालाई अनूभूत गरेपछि मैले केही भन्न सकिनँ । भाँडाहरू समेटेर टेबलमा राखेर ऊ बाथरुममा पसी । म उसैका बारेमा सोचिरहेँ । के थियो उसमा त्यस्तो जसले मलाई उसको बारेमा सोच्न बाध्य बनाइरहेको थियो ?

केही बेरमा ऊ हिजोको आफ्नो लुगा लगाएर बाथरुमबाट निस्की । सोफा बाट ह्यान्डब्याग टिपेर सेन्टर टेबलमा राखी अनि मेरो छेउको सोफामा बस्दै भनी– ‘रातभरिलाई भनेर आएको तर अब त दिन पनि आधाभन्दा धेरै बितिसक्यो । अब म जान्छु है !’

मैले हडबडाएर उसलाई हेरेँ । मलाई त उसले फर्किनु पनि पर्छ भन्ने यादै थिएन । थाहा छैन किन मेरो मन एकाएक खल्लो भएर आयो । मैले व्यग्र स्वरमा भनेँ– ‘आज बस न.. म…!’

‘अहँ, मैले जानैपर्छ…।’ उसले दृढतापूर्वक भनी, अनि मलाई हेरेर ठट्टालु पारामा थपी– ‘फेरि बसेर पनि के काम ? तिमी बिरामी मान्छे । भो, पैसामात्र खेर जान्छ । बरू मलाई तलसम्म पुर्याइदेऊ न है ! मलाई त यहाँ देखापर्न पनि डरलाग्छ…।’

‘यु सेड, यु आर अभाइलेबल फर कम्पनी, सो प्लिज मेरो कम्पनीकै लागि भए पनि बस न ! हिजो पो त म बिरामी थिएँ, आज हुनसक्छ म तन्दुरुस्त पो भैहाल्छु कि, त्यसैले…।’

‘तन्दुरुस्तै भए पनि मलाई लाग्दैन– तिमी त्यस खालका मान्छे हौ जसलाई वेश्याको सन्सर्गले मजा दिन्छ ।’

‘बिनी ! प्लिज !!’

‘सही त हो ? म एउटी…।’

‘सत्य जेसुकै होस् तर अहिले यतिबेला तिमी मेरो गेस्ट हौ । के यही एउटा रिजन काफी छैन तिमीलाई यहाँ रोक्न ? हिजो रीसको झोँकमा, जाँडको नसामा मैले तिमीलाई यहाँ लिएर आएको थिएँ तर आज पूरा होसहवासमा, म चाहन्छु तिमी यहीँ बस । आज मात्र किन ? म चाहन्छु तिमी तबसम्म यहीँ बस, जबसम्म म पोखरामा हुन्छु । अनि बिनी, यसका लागि म तिमीले मागेको रकम दिन तयार छु….।’

एकैछिन उसले मलाई आहतभावले हेरी तर फेरि उसको अनुहारमा उही प्रोफेसनलपना उत्रियो ।

‘मलाई रोक्नलाई जत्रोसुकै ठूलो रिजन दिए पनि रकमको कुरा गरेर मेरो औकात बताइदिएका छौ तिमीले । अब, जब तिमीले नै सुरु गरिसक्यौ भने म बिजनेसको कुरा गर्न किन हिच्किचाऊँ ? टेन थाउजेन्ड इन्क्ल्युड डिनर एन्ड ड्रिङ्क…।’ उसले तटस्थ स्वरमा भनी ।
‘सरी, तर.. दस हजार…?’

‘एक दिन एक रातको, आइमिन फर ट्वान्टीफोर आवर्स…।’

‘ओ के, डन…।’

‘दस हजार एड्भान्स…।’

‘तर बिनी, अहिलेसम्म त यही डिसाइड भएको छैन कि तिमी…।’

‘मञ्जुर छ भने भन, नत्र म गएँ…।’ उसले धम्कीपूर्ण स्वरमा भनी ।

‘ओके, ओके बाबा दस हजार एडभान्स, चाहे म भोलि फर्कूं या एकहप्तामा…।’ मैले उठेर बेडरुमतिर जाँदै भनेँ । फर्केर आएर उसको हातमा हजार–हजारका दसवटा नोट राख्दै मैले भनेँ– ‘तर यो याद राख, म यहाँ हुन्जेल तिमी कहीँ निस्कन पाउने छैनौ । मोबाइलको ब्यान्ड यथावत रहनेछ । अब भन…।’

‘मञ्जुर !’

मैले बोलेर नसक्दै उसले भनी ।

मलाई किनकिन अनौठो खुसीको अनूभूित भयो । म बेडरुमतिर जान उठेँ तर ढोकामा ढकढक गरेको सुनेर म अडिएँ । बिनीले उठेर ढोका खोली ।

‘ओई…आएको खबर त…।’ अन्धाधुन्द कराउँदै अघि बढेको वासु बिनीलाई देखेर अडियो अनि अकमकाउँदै भन्यो– ‘सरी, मिस.. म…मैले सोचेँ…मेरो साथी.. सरी…।’

उसले मुन्टो फर्काउनुभन्दा पहिल्यै बिनीले आश्चर्यपूर्वक भनी– ‘त…तपाईं..?’

क्रमशः
(यो श्रृङ्खला प्रत्येक सोमबार र शु्क्रबार प्रकाशति हुनेछ ।)