फरक– १ - Aksharang
  • २०७७ कातिर्क १३ बिहीबार

फरक– १

सानु शर्मा

सानु शर्मा

म त्यतिखेर खैरेनीटार र विजयपुरको बिीचमा कतै थिएँ, जब मेरो सेलफोनको घन्टी बज्यो ।

प्रायः म ड्राइभ गर्दा फोनमा कुरा गर्दिनँ, त्यसैले मैले फोनतिर ध्याननदिई ड्राइभ गरिरहेँ ।

एकपटक, दुईपटक होइन, कैयौँपटक बजेपछि मैले आजित भएर फोन उठाएँ । मलाई थाहा थिया– मैले फोन नउठाएसम्म सुप्रियाले फोन बन्द गर्नेवाला थिइन ।

‘अँ, भन ?’ मैले दिक्दार मान्दै भनेँ ।

‘हैन कति ढिलो गरिसेको भन्या ? घर आउनेबेला भा’ छैन अझै ?’ उसले मेरो स्वरको दिक्दारीलाई उपेक्षा गर्दै भनी । उसको च्याँठिएको, दरखरिएको, अधिकारपूर्ण स्वर सुनेर मेरो बिग्रिएको मुड झन् बिग्रियो । कसरी मलाई यही स्वर सुरिलो लाग्नसक्यो कुनै दिन ? मेरो हियरिङ् पक्कै पनि बिग्रिएको हुनुपर्छ त्यसताका, जुनताका मलाई ‘यही स्वर ’सेक्सी’ लाग्थ्यो ।

‘म आज घर आउँदिन सुप्रिया ! मैले भनेकै थिएँ तिमीलाई, मलाई बैंकको ओपनिङ्मा पोखरा जानुछ भनेर ।’ मैले सकभर आफ्नो स्वरलाई नरम बनाउन कोसिस गरेँ । के फाइदा थियो नजितिने युद्धमा हतियार उठाएर ?

‘लौ ! कहिले भनिस्यो ?‘ उसको कर्कस स्वर मेरो कानमा बिझायो– ‘हो यस्तै गरिसिन्छ क्या हजुर…मेरा साथीभाइ, आफन्त भेला भयो कि हजुर अन्तरध्यान भैसिन्छ यौटा न यौटा बहाना बनाएर ।’

‘बाहाना बनाएर ? केको बाहाना बनाएर ?’ आफ्नो सहनशक्तिमाथि सधैँ गर्व गर्थें म । तर आजकल सुप्रियाका यस्ता कुराले भकभक उम्लन्थेँ । बस, पोखिन मात्रै सकेको थिइनँ ।

‘मैले त तिमीलाई पनि सँगै जाऊँ भनेथेँ, रिमेम्बर ? तर तिमी मेरो कुरामा ध्यानै कहाँ दिन्छ्यौ र ?’ म आफैँ आश्चर्यित थिएँ आफ्नो शान्त स्वर सुनेर ।

‘भयो, भयो, छोड्स्यो ! मेरा आफन्तहरूको अगाडि सधैँ मलाई यसरी नै निचा…!’

‘आफन्त ?’ साथ छोड्न खोजेको धैर्यको फेर थाम्दै मैले अझै सामान्य रहने कोसिस गर्दै भनेँ– ‘त्यो जमघटमा कोचाहिँ छ हँ तिम्रो आफन्त ? तिमी कसरी ती फ्रि लोडरहरूलाई आफन्त भन्न सक्छौ ? फोकटमा पाएको जाँड र खाने लोभमा जम्मा भएका ती पार्टी एनिमल्स हरू..’

‘मेरा साथीभाइ, आफन्तहरू सबै त्यस्तै त लाग्छन् नि हजुरलाई । तर हजुर आफू नि आफू ? कामको, बिजनेसको बहानामा यहाँ र उहाँ केटी लिएर घुमिरहँदा…’

‘सुप्रिया !’ यसपटक मेरो स्वर चर्को भयो– ‘होसमा त छौ तिमी ? कि तिमी पनि जाँडको असरमा छौ ? कहाँ देख्यौ तिमीले मलाई केटी लिएर हिँडेको ? कसरी सक्यौ तिमीले ममाथि यो वाइहात आरोप लगाउन ?’

‘केको वाइहात आरोप नि ? हजुरहरूजस्ता बिजÞनेस म्यानहरू घरबाट बाहिर निस्केपछि के के गर्छन्, कसलाई थाहा छैन र ? यो हजुरको घरमा टिक्दैनटिक्ने कारणको पछाडि के छ, बुझ्छु क्या म । हजुरले सोचेजति अबुझ, मूर्ख पनि छैन म बुझिस्यो ?’ उसको स्वर मेरोभन्दा कैयौँ गुणा चर्को थियो । साँच्चै भन्दछन् मान्छेहरू, झुटको स्वर सधैँ चर्को हुन्छ । तर सुप्रिया ममाथि यति घटिया आरोप कसरी लगाउन सक्छे ? यत्रा वर्षको साथ–सङ्गतपछि पनि उसको यो धारणा छ मप्रति ? म जो हरेक गलत कुरादेखि दस हात पर राख्छु आफूलाई, म जो धन–सम्पत्तिको थुप्रोमा उभिएर पनि सादा र सिम्पल जिन्दगी बिताउनमा विश्वास राख्छु, उसैको अर्धाङ्गीनीको यति विकृत धारणा ? धिक्कार !

ऊ अझै च्याँठिइरहेकी थिई– ‘म भने सबै पैसावालहरू यस्तै हुन्छन्, हजुर पनि त्यही सब गरिसिन्छ भने ठीकै छ, भनेर चित्त बुझाउँछु, कहिल्यै केही भन्दिनँ तर हजुरलाई भने मेरो यति पनि पर्वाह छैन । घरमा मेरा साथीहरू…’

अब ममा उसको कुरा सुनिरहने सामथ्र्य बाँकी रहेन । मैले मोबाइल बन्द गरेर पछाडिको सिटमा मिल्काएँ ।

फोन तुरुन्तै बज्यो तर मैले वास्ता गरिनँ ।

मेरो रिसको पारा यति हाई थियो– यदि सुप्रिया सामुन्ने भएकीभए कस्सेर दुई झापड त लगाई दिन्थेँ होला । जब कि महिलाहरूमाथि हात उठाउनुलाई अपराध नै मान्छु म ।

धेरै कम रिस उठेको छ मलाई यसरी । जसरी अहिले उठिरहेको थियो । रिसको आवेगमा गाडीको स्पिड यति हाई भयो– गाडी नराम्रोसँग डगमगायो र मैले कन्ट्रोल गर्ने कोसिस गर्दागर्दै सड़कबाट तल खेतमा हुर्रियोे ।

धन्न यो समथल बाटो थियो । बाटोमा गाडीको आवत–जावत त्यति थिएन । साँझको त्यो समय हाइवेमा मानिसहरू पनि देखिएनन् । त्यसैले कुनै ठूलो दुर्घटना घटेन । तर मेरो रिस अझै मरेको थिएन । किनभने यो मेरो बेदाग चरित्रमाथि उठेको पहिलो औँला थियो । मेरी अर्धाङ्गिनीको औँला । र सधैाँरण नै सही, यो मेरो जीवनको पहिलो दुर्घटना थियो गाडी चलाउन सुरू गरेदेखि ।

म गाडीको इन्जिन बन्द गरेर गाडीबाट ओर्लिएँ । गाडीको चारैतिर घुमेर हेरेँ । गाडी ठीकठाक देखिन्थ्यो । मैले लामो सास तानेँ । केही पर बेगनास चोकमा चहलपहल देखिन्थ्यो । यौटा बस र दुईवटा टिप्परलाई बाटो दिइसकेपछि मैले सावधानीपूर्वक बाटो काटेँ । एकछिन अडिएर आफ्नो चारैतिर हेरेँ । मधुरो उज्यालोमा अलि अगाडि सेतोमा रातोले अर्धौं लेखेको बोर्ड देखियो । म उतै लम्किएँ ।

सड़कछेउका पसल, रेस्टुरेन्टहरूमध्येमा अलि डिसेन्ट देखिने एउटा रेस्टुरेन्टमा छिरेँ अनि सास पनि नफेरी, कतै नहेरी भनेँ– ‘रक्सी छ ?’

मेरो सामुन्ने उभिएकी लुंगी र टिसर्टधारी अधबैँसे महिलाले विचित्रभावले मलाई तलदेखि माथिसम्म हेर्दै सोधिन्– ‘कुन ?’

अब बल्ल मैल काउन्टर पछाडिको ¥्याकमा भएका विभिन्न साइजÞ र ब्रान्डका बोतलहरूतिर आँखा डुलाएँ । मैले जाने सुनेका कुनै ब्राण्ड त्यहाँ थिएनन् ।

‘ऊ त्यो दिनूस् ।’ मैले यत्तिकै यौटा बोतलतिर औंल्याएँ ।

‘सिङ्गै ?’ झिलीमिली लुँगी, पहेँलो टाइट न टाइट टिसर्टधारी उनको स्वरमा आश्चर्य थियो । उनले मलाई फेरि तलदेखि माथिसम्म हेरिन् ।

‘हजुर !’ मैले भनेँ र त्यस बेला लगभग आधा भरिएको रेस्टुरेन्टको एकछेउको रित्तो टेबलतिर बढ़ेँ ।

कुर्सीमा बसिसकेपछि मेरा आँखाहरू नचाहँदानचाहँदै पनि पूरा रेस्टुरेन्टमा डुलेर फर्किए । त्यो एउटा सटरमा भएको साँघुरो ठाउँ थियो, जसमा भएका टेबलहरूमध्ये आधा भरिएका टेबलहरूमा कुनै पुरुष एक्लै थिएनन् । सिवाय म ।

‘दाइ ! योसँग के लिनुहुन्छ ?’

प्रश्न मसँग सोधिएको थियो । मैले आफ्नो अगाडि उभिएकी मङ्गोलियन कट अनुहार भएकी युवती– युवती के, किशोरीतर्फ हेरेँ । उसले नीलो रङको जिन्स र गाढ़ा गुलाबी रङको टिसर्ट लगाएकी थिई । उसको हाउभाउ र शरीरको भाषा पटक्कै म्याच गरिरहेको थिएन । उसको पातलो ओठमा पोतिएको रगतजस्तो रातो लिपिस्टिक त्यो मधुरो उज्यालोमा आकर्षक नदेखिएर दिगमिगलाग्दो देखिएको थियो । मैले आफ्ना आँखा उसबाट हटाएर बिस्तारै भनेँ– ‘अरू केही चाहिन्न ।’

उसले ग्लास र बोतल टेवलमा राखी । मतिर हेरेर मुस्कुराई र मकिँदै भनी– ‘दाइ एक्लै हुनु’दो रै’छ, म साथी बसूँ ?‘

मेरो कानमा सुप्रियाले केही छिनअघि भनेका शब्दहरू फेरि प्रतिध्वनित भए ’सबै पैसावाल लोग्नेमान्छेहरू उस्तै त हुन्छन् नि ।’

मेरो शरीरको रगत एकपटक फेरि भुक्लुक्क उम्लियो । मैले बोतल उठाएर त्यसको बिर्को निमोठेर खोलेँ अनि बोतल मुखमा जोडेर त्यसमा भएकोमध्ये लगभग आधा रक्सी एकै सासमा निलेँ । बोतल मुखबाट हटाएपछि मलाई भाउन्न छुट्यो । यस्तो लाग्यो जिब्रो काटिएर मुखबाट बाहिर झर्नेछ । मैले भतभत पोलेको छाती थामेँ । बिहानदेखि खासै केही खाएको थिइनँ । खालिपेटमा परेको त्यो निट रक्सीले नराम्ररी छड्कायो मेरो पेट ।

‘लौ न ! यो दाइ त…’ मेरोसामुउ भिएकी केटीले बिस्मयपूर्वक भनी– ‘त्यसरी ’नि रौसी खान्छन् कि क्या हो ?’ उसले बडो अनुभवीले जस्तै गरी भनी– ‘पैलोपल्ट हो कि क्या हो रौसी खा’को ?’ ऊ मेरोनजिक आई । सायद ऊ मेरो ढाड सुमसुम्याउन चाहन्थी ।

‘गेट लस्ट !’ मैले दाह्रा किट्दै सानो स्वरमा भनेँ । मेरो मुख अझै चह¥याइरहेको थियो । त्यो टिन्चर आयोडिनको झोलजस्तो देखिने लोकल रक्सीले मेरो घाँटी, छाती अझै पोलिरहेको थियो ।

‘क्यारे ?’ ऊ जिल्ल परी । तर उसको हिम्मत भएन मतिर अर्को कÞदम बढाउने ।

मैले फेरि बोतल उठाएँ ।

‘दाइ त्यसरी नपिउनूस् । बिआरर्छ क्यारे !’ ऊ नभनी रहन सकिन ।

उसले भनेको सुनेको नसुन्यै गरी मैले फेरि बोतल मुखमा जोडेँ र एकै सासमा बोतलमा भएको लगभग सबै रक्सी सकेर छाती थामेँ । मेरो आँखाबाट आँसु, नाकबाट सिँगान र मुखबाट ¥याल निस्कन थाल्यो । मैले आफ्नो अगाडिको देख्दै दिगमिग लाग्न टेबलमा टाउको टेकाएँ । मेरो अगाडि उभिएकी केटी मेरो हालत देखी डराउँदै काउन्टरतिर लम्की ।

मैले मेरो आजसम्मको जीवनमा यस्तो दुस्साहास कहिल्यै गरेको थिइनँ । अल्कोहलसँग मलाई कुनै परहेजÞ थिएन तर मैले योसँग कहिल्यै तालमेल बसाउन सकिन । सोसलाइज गर्न कहिलेकाँही एकआध पेग पिएँ भने अर्को दिन मुखको स्वाद र मन दुवै बिग्रिरहन्थ्यो । त्यसैले म पिउँदिनथेँ । यसरी झन् त कहिल्यै पिउँदिनथेँ ।

०००
२५–२६ बर्षको उमेरमा बैवाहिक बन्धनमा बाँधिएँ । स्वेच्छाले । आफूले मनपराएकी केटीसँग बाँधिएको थिएँ त्यसैले मन कहिल्यै कतै बरालिएन । मेरो मनले दायाँ–बायाँ हुन नखोज्नुको अर्को कारण थियो– पैसा वा प्लेजरको लागि बिक्नसक्ने शरीर जतिसुकै सुन्दर र उत्तेजक भए पनि तिनले मलाई पटक्कै आकर्षित गर्दैनथे । मनले नछोएको, नस्विकारेको स्वास्नीमान्छे विश्वसुन्दरी नै भए पनि म उनीहरूतिर आकर्षित हुन्नथेँ । र अहिलेसम्म मेरो मनले स्विकारेको एउटी सुप्रिया मात्रै थिई । तर के सुप्रिया यो मानको मतलब बुझ्थी र ?

मेरो ध्यान बिजÞनेस र घरपरिवारबाहेक अन्त बरालिन्थेन । सायद त्यसैले मेरो साथीसर्कल ठूलो थिएन । अनौठै थिएँ म । या फेरि मूर्ख थिएँ म, मेरा परिचितहरूको नजरमा र मेरी अर्धाङ्गिनीको नजरमा पनि ।

म उठेँ । एकपटक नराम्रोसँग डगमगाएँ र टेबल थामेँ । एकै सासमा रित्याएको क्वार्टरको कमाल थियो सायद यो ।

काउन्टरमा उभिएर खासखुस कानेखुसी गरिरहेका लुङ्गी र जिन्सधारी दुवैले मलाई अनौठो पाराले हेरिरहे । म सकभर कÞदम जमाउने कोसिस गर्दै काउन्टरतिर बढेँ ।

‘पाँच सय पचास…!’

लुङ्गी–टिसर्टवालीको मुखबाट शब्दहरू पूरा नझरिसक्दै मैले सबै खल्ती छामेर बल्लतल्ल वालेट फेला पारेँ र त्यसबाट झिकेर हजारको नोट काउन्टरमा राखेँ अनि ढुनमुनिंँदै बाहिर निस्किँएँ । पछाडि ती महिलाले तीव्र स्वरमा केही भनी तर म त्यो सुन्न, बुझ्न त्यहाँ अडिइनँ ।

गाडीछेउमा के पुगेको थिएँ, मेरो पेटको सारा आन्द्रा बटारिएर आयो । म पेट थामेर त्यहीँ बसेँ र वाक्क र ब्याक्क गर्नथालेँ । हरे ! यो दिन पनि आउनुथियो मेरो जिन्दगीमा ? मेरो आँखामा आँसु आयो । मलाई सुप्रियासँग उत्पात रिस उठ्यो ! ’म तिमीलाई कहिल्यै माफÞ गर्ने छैन सुप्रिया !’ म बडबडाउँदै उठेँ र गाडीको ढोका खोलेर भित्र पसेँ ।

अब ? अब के ? मैले भनभनिएको टाउको स्टयेरिङ् ह्विलमा अड्याएर सोचेँ । वासुकहाँ त पुग्नै थियो मलाई जसरी पनि । तर मेरो आँखा तिरमि¥याइरहेको थियो, टाउको घुमाइरहेको थियो, कसरी पुग्थेँ म न्यूरोडसम्म ?

मैले पछाडिको सिटबाट बडो मुस्किलले मोबाइल टिपेँ र थरथराएको हातले वासुको नम्बर डायल गरेँ । सधैँैझैँ आज पनि उसको फोन उठेन । कैयौँपटक डायल गर्दा पनि फोन नउठेपछि मैले फोन थन्क्याएर गाडी स्टार्ट गर्ने कोसिस गरेँ ।

केही बेरको प्रयत्नमै ल्यान्डरोभरको शक्तिशाली इन्जिन गर्जियो । थ्याङ्क गड ! गाडी सलामत थियो ! तर ड्राइभरको हालत ठीक थिएन । जे भए पनि ठेगानामा त पुग्नै थियो कसै गरी ! बडो मेहनतले मैले गाडी रोडमा उकालेँ । र गाडीमा एसी अन हुँदाहुँदै पनि पसिनाले भिजेको शरीर, अर्धाङ्गिनीको कुराले छियाछिया भएको, उम्लिरहेको मन, लोकल रक्सीले बिगारेको मुखको स्वाद र फनफनी घुमाइरहेको दिमाग लिएर गाडी अगाडि बढ़ाएँ । अगाडि जे त होला…!

म बडो होसियारपूर्वक, सम्हालिएर गाडी चलाइरहेथेँ ।

यस क्रममा गाडी कतिपटक डगमगायो, कतिपटक सडकबाट उत्रिन खोज्यो भने कतिपटक त म गाडी साइड लगाएर रोक्न बाध्य भएँ । यत्रा वर्षदेखि ड्राइभ गरिरहेको थिएँ म, तर यो मेरो जीवनकै दुरूह ड्राइभिङ् सावित भैरहेको थियो । धन्न अहिलेसम्म कुनै अप्रिय घटना घटेको थिएन ।

म बिस्तारैबिस्तारै ड्राइभ गरिरहेँ ।

अचेल निक्कै दिनदेखि म आफूलाई अस्वास्थ्य अनुभव गरिरहेथेँ । कुनैकुनै बेला त यति कमजोरी अनुभव हुन्थ्यो– लाग्थ्यो, मेरो हातखुट्टाले काम गर्न छोडिदिनेछन् । पसिनाले भिजिरहन्थेँ । उत्ति नै खेर जाडोले लगलग काम्थेँ भने उत्तिनैखेर जरोले इन्तुन चिन्तु हुन्थेँ । एक त स्वस्थ्य ठीक थिएन, त्यसमाथि झोँकमा त्यति धेरै लोकल रक्सी धोकेँ । अब पछुताई रहेथेँ म । तर सुप्रियासँगको मेरो रिस भने अझै मरेको थिएन ।

यतिखेर साँझ बाक्लिसकेको थियो । बाटोमा पोललाइटहरू बल्न थालेको निक्कैबेर भैसकेको थियो ।

अमरसिंह चोक काट्नेबित्तिकै मैले देखेँ– एउटी केटी हात हल्लाएर गाडी रोक्न इसारा गरिरहेकी छ । सधैँैजस्तै म बेवास्तापूर्वक अघि बढेँ । तर आदतको विपरीत केही अगाडि गएर रोकिएँ । अघि पछि त्यस्तो स्थिति आउँदा म कहिल्यै गाडी रोक्दिनँथेँ, तर आज आफ्नो स्वभावविपरीत मैले गाडी रोकेर बिस्तारै ब्याक गरेँ । अन्धाधुन्ध पिएको रक्सीको करामत थियो कि सुप्रियाको अनुचित आरोपको, मैले दौडँदै गाडीतर्फ आइरहेकी केटीको छेउमा लगेर गाडी रोकेँ । ऊ घुमेर म भएतिरको झ्यालमा उभिन आई । मैले झ्याल खोलेँ । मैले केही बोल्नुअघि नै उसले भनी– ‘लिफ्ट पाइन्छ… ?’

नजिकैको पोललाइटबाट उसमाथि परिरहेको उज्यालोमा मैले उसलाई नियालेर हेरेँ । उसको हाउभाउ, उसको लवाइ, उसको बोलाइले प्रस्ट भनिरहेको थियो– ऊ कुन खालकी केटी हो भन्ने कुरा । उसको पूरै व्यक्तित्वबाट सस्तोपना झल्कन्थ्यो । तथापि उसको अनुहार यति सुन्दर थियो– एकपटक त्यो अनुहारमा आँखा टिकेपछि त्यहाँबाट उठ्न मान्थेनन् । विशेष गरी उसका आँखा नै यस्ता थिए जुन उसको सम्पूर्ण व्यक्तित्वभन्दा अलग प्रतीत हुन्थे । लामालामा, घुम्रिएका परेला जब झिम्काउँथी ऊ, तब यस्तो लाग्थ्यो मानौँ कुनै अबोध शिशु मतिर हेरिरहेछ । जीवनको चमकले भरिएका ती आँखामा हेर्दा यस्तो लाग्थ्यो– मानौँ कुनै उजाड, सुनसान मन्दिरमा दुईवटा दियो बलिरहेका छन् ।

‘….ट्याक्सी पनि भेटेको होइन, अघिदेखि कोसिस

गरिरा’छु तर…’ ऊ भनिरहेकी थिई– ‘मलाई लिफ्ट दिनुहुन्छ प्लिज ?’

‘क..ता…कहाँ जाने ?’ नचाहँदानचाहँदै पनि मेरो मुखबाट निस्कियो ।

‘तिमी, आइ मिन, तपाईंलाई सुविधा पर्ने ठाउँमा जहाँ छोडे पनि हुन्छ ।’ फेरि उसैले सोधी –‘तपाईं कहाँ जानुहुन्छ सर ?’

‘म ? म त न्युरोड ।’

‘मलाई पनि त्यतै कतै छोडिदिनस् न प्लिज !’

‘बस !’ मैले आफ्नो स्वभावविरूद्घ अगाडिको ढोका खोलिदिँदै भनेँ ।

‘थ्याङक्यू सर ! थ्याङ्क्स !’ ऊ दङ्ग पर्दै आएर अगाडिको सिटमा बसी ।

ऊ बसिसकेपछि मैले देखेँ– उसले एकदमै कस्सिएको,लो वेस्ट जिन्स लगाएकी थिई । मलाई आश्चर्य लाग्यो, त्यो कहाँ र केमा अडिएको थियो भनेर ? उसले लगाएको रातो रङको टिर्सट यति छोटो थियो– उसले हात यताउता चलाउँदा मात्रै पनि भित्र लगाएको कालो रङको भित्री वस्त्र देखिन्थ्यो । कानमा लगाएका लामालामा झुम्काहरू कुमसम्मै आइपुगेका थिए । कपाल स्ट्रेट र असाधारण लामो थियो, जुन अगाडिबाट छोटोछोटो गरी काटिएको थियो । अनुहारमा मेकअप थियो, थिएन म भन्न सक्तिनँ तर उसको शरीरको बनावट यस्तो थियो– त्यसको तुलना कुनै मूर्तिकारले बडो मेहनतले गढेर बनाएको सुन्दर मूर्तिसँग गर्न मिल्दथ्यो ।

‘राम्रो लाग्यो ? मनपर्यो ?’ ऊ सोध्दै थिई ।

‘के , के भनेको ?’ मैले हडबडाउँदै भनेँ ।

‘मनपर्यो भनेको ?’

‘के ?’ म अक्मकाएँ ।

‘जसलाई यति ध्यानपूर्वक हेरिरहनुभएको छ त्यही…।’ उसले आफ्नो शरीरतिर इसारा गर्दै भनी । मेरो अनुहार कानसम्मै रातो भयो । मैले गाडीको स्पिड बढाउँदै त्यतिकै सोधेँ– ‘यति राती कहाँबाट आएकी ?’

‘बिजनेस गर्न हिँडेकी..।’ उसले निर्धक्कसँग भनी– ‘अब यो नसोध, आइ मिन नसोध्नूस् कि के बिजनेस ? किन भने आजको दुनियाँमा नाक पुछ्न नजान्नेलाई पनि थाहा हुन्छ….।’

‘रातबिरात यसरी एक्लै हिँड्न डर लाग्दैन ?’ मैले उसको कुरा बीचैमा काटेर सोधेँ ।

‘सर, रातबिरात हिँड्न डराउनको लागि बाँकी नै के हुन्छ र हामीसँग ? मनपरि त पैसा तिर्ने सबैले गर्दछन्, हद भए कसैले फ्रिमा मनमानी गर्ला त्यति न हो…?’

मेरो अनुहार फेरि रातो भयो तर पनि बिषय परिवर्तन गर्ने उद्देश्यले सोधेँ– ‘कसरी, मेरो मतलब… कुन बाध्यताले यस्तो नराम्रो काममा लाग्यौ ?’

‘नराम्रो काम ?’ उसले उदेक मानेझैँ गरी भनी– ‘सर, यो नराम्रो काम कसरी हुनसक्छ ? भोकाएकाहरूलाई खाना खान दिँदा धर्म हुन्छ भनेर ठूलाबडाहरूले माग्नेहरूलाई, गरिबलाई श्राद्घ, बरखीमा खाना खान दिएको देख्नुभएको छैन कि क्या हो तपाईंले ? उनीहरू वर्षमा एकपटक भोकाएकाहरूलाई खाना ख्वाएर धर्म कमाउँछन् । हामी त्यस्ता शरीरका भोकाहरूलाई आफ्नो शरीर खान दिएर रातपिच्छे धर्म कमाउँछौ । फरक यत्ति हो कि हामी पैसा लिन्छौ बदलामा । तर फेरि तपाईं पेटको भोक शान्त गर्न होटलमा जानुभयो भने फ्रिमा त खान पाउनुहुन्न नि, होइन ? सम्झनूस् हामी पनि चल्ताफिर्ता होटल नै हौँ ! अनि तपाईंलाई कसले भन्यो कि यस पेसामा आउनेहरू जति सबै बाध्यतावश नै आउँछन् ? यदि आउँछन् भने पनि म त्यस श्रेणीमा पर्दिनँ । म आफ्नो खुसीले, पैसाको, मोजमस्तीका लागि यस पेसामा लागेकी हुँ । मेरो कुनै बाध्यता छैन, कुनै आँसुमा डुबेको कहानी पनि छैन । यो पेसामा लाग्नुको स्पष्टीकरणका लागि । मलाई हेरेर तपाईं नै भन्नूस्– मेरो कुनै त्यस्तो विवशता भएजस्तो देखिन्छ र ?’ उसले उल्टै सोधी । उसको स्वरमा कुनै खेद थिएन, कुनै पश्चात्ताप पनि थिएन, विवशता त झन् हुने कुरै आएन । मलाई मन लाग्यो– म गाडी रोकौँ अनि गलहत्याएर उसलाई गाडी बाट झारिदिऊँ । म त्यसै गर्थें पनि होला उसको अनुहारको भाव, उसको कुरा गराई सुनेर तर मैले त्यसो गर्नुभन्दा पहिले मेरा आँखा उसका आँखासँग अल्झिए निमेषभरका लागि । किनकिन मलाई यस्तो लाग्यो, ती बोलिरहेका ओठ अनि ती आँखाहरू पृथक हुन् । त्यसैले त जुन भाव उसको बोलाइ, उसको भनाइ र हाउभाउमा थियो, त्यो उसका आँखामा कहीँ थिएन ।

‘नाम के हो तिम्रो ?’ मैले सोधेँ ।

‘बिनी ।’

‘बिनी के ? पूरा नाम त होला नि ?’

‘किन ? किन चाहियो तपाईंलाई मेरो पूरा नाम ? चिठ्ठी लेख्ने विचार छ कि क्या हो फर्केर गएपछि ? नत्र कसैले नाम, ठेगाना किन सोध्छ कसैको ?’ ऊ हाँसी । गाडीभित्र अनौठ खनक गुञ्जियो ।

‘तिम्रो ठेगाना त सोधेको छैन नि मैले ।’

‘के बेर सोध्नलाई ?’ उसले चुइँगम चपाउँदै भनी ।

‘ओके, अब भन, कहाँ छोडौँ तिमीलाई ?’ मैले उसको हातमा भएको मोबाइलमा छिनछिनमा बजिरहेको म्यासेजको नोटिफिकेसनको टोनले दिक्क हुँदै भनेँ ।

‘सँगै लग्नु हुन्न ?’

‘किन ?’

‘आ’म अभाइलेभल फर कम्पनी ।’

‘आ’म म्यारिड अलरेडी ।’

‘किन ? घरमा भात पाक्नेहरू होटेलमा खाना खाँदैनन् र ? फेरि स्वास्नी त माया गर्नलाई हो, सजाउनलाई हो, साथमा राख्नलाई हो, समाजमा देखाउनका लागि हो, मान र प्रतिष्ठाका लागि हो । ऊसँग कसरी मनमानी गर्न सकिन्छ ? आफ्नो पौरुष देखाउन, आफूभित्रको जनावरलाई चिथोर्न, कोपर्न, टोक्ने मौका दिनकै लागि झन् विवाहित पुरुषहरू हामीजस्ता खोज्दै आउँछन् । किनभने स्वास्नी त आधा अङ्गमा गनिन्छे । उसको अगाडि सारा भद्रता त्यागेर सम्पूर्ण नाङ्गिन कसरी सक्छन् र पुरुषहरू ? अझ तपाईंहरूजस्ता भद्र–भलाद्मीहरू त दोहोरो जीवन बाँच्नमा निपुण हुन्छन् । माइन्ड नगर्नुहोला, तर हात्तीका दुईवटा दाँत, खाने एउटा, देखाउने एउटा भनेझैँ तपाईंहरूका पनि दुईवटा व्यक्तित्व हुन्छन्, एउटा समाज र स्वास्नीको अगाडि देखाउने, एउटा हामीहरू जस्ताको अगाडि देखाउने । तपाईंमा के फरक छ ?’ यसपटक उसको स्वरमा कहीँ केही थियो जसले मेरो मन चिसो बनायो, तथापि मैले आफूलाई सम्हाल्दै भनेँ– ‘म त्यस्तो खालको लोग्नेमान्छे होइन । त्यसमाथि पनि म यहाँ साथीकोमा आएको, त्यसैले म…।’

‘ओऽऽऽ त्यसैले पो…!’ उसले यसरी भनी मानौँ उसले सबै कुरा बुझी– ‘पहिलेदेखि ‘बुक’ भएर पो…।’

‘ह्वाट डु यु मिन बुक ? ऊ मजस्तै केटा मान्छे हो ।’ मैले रोसपूर्वक भनेँ ।

‘हत्तेरिका…!’ उसले देब्रे हातले आफ्नो टाउको ठोक्दै भनी–‘अघिदेखि गलत मान्छेसँग दिमाग खपाइरा’ रै’छु म…।’ उसले मतिर हेरी– ‘अघि नै भन्नुपर्दैन म ‘त्यस खालको’ मान्छे हुँ भनेर ? बेक्कारमा म यहाँसम्म आएँ…।’

‘त्यस खालको ? के त्यस खालको ?’ म अकमकाएँ ।

‘त्यही क्या त, जो केटासँग नै…।’

उसको कुरा पूरा नहुँदै मैले गाडी रोकेँ अनि तीव्र स्वरमा भनेँ– ‘ओर्ल ! ओर्लिहाल गाडीबाट, म तिम्रो यो सब वाहियात बकबास सुन्न चाहन्नँ…।’

‘मैले के भनेँ र त्यस्तो ?’ ऊ छक्क परी ।

‘मलाई तिम्रो आवश्यकता छैन, यसको मतलब त्यो पनि होइन जुन तिमी सोचिरहेकी छ्यौ ।’ म आक्रोशपूर्वक कराएँ ।

‘सरी, सरी, सरी !’ उसले आफ्ना दुवै कान समात्दै भनी ‘साँच्चै नै म गलत मान्छेलाई गलत चीज भनिरहेको रहेछु । प्लिज मलाई माफ गर्नूस् ।’ ऊ आफ्नो ह्यान्डब्याग मिलाउँदै बडबडाई– ‘थाहा छैन उठ्नेबित्तिकै कसको अनुहार देखेकी थिएँ । एक त बोहनी भएन, अर्को, अब अझै भौँतारिँदै कहाँसम्म पुग्नुपर्ने हो…।’ उसले ढोका खोली अनि मतिर फर्केर भनी– ‘साँच्चै, तपाईंको मुडअफ गर्ने उद्देश्य थिएन मेरो, बट…।’

‘ढोका बन्द गर…. !’ मैले ढोका खोलेर ओर्लिनै आँटेकी उसतर्फ लक्ष्य गरेर बिस्तारै भनेँ ।

‘हजुर, के भन्नुभयो ?’ ऊ मतिर फर्की ।

‘बस भनेको । दुई तीन घर पर मेरो साथीको डेरा छ म उसलाई लिन्छु अनि तिमी जहाँ भन्छ्यौ त्यहीँ छोडेर आउँला ।’ मैले भनेँ । पहिले त ऊ हिच्किचाई तर फेरि सिटमा बसेर ढोका बन्द गरी । मैले गाडी अगाडि बढाएँ ।

त्यसपछि हामी दुवै केही बोलेनौँ ।

उसको मोबाइल छिनछिनमा बजिरह्यो तर ऊ त्यसप्रति बेवास्ता दर्शाउँदै चुइंगम चपाइरही ।

त्यतिखेर म आफूलाई एकदमै अस्वस्थ महसुस गरिरहेको थिएँ । खलखल पसिना आइरहेको थियो । बान्ता होला–होला जस्तो भैरहेको थियो । जिउ तातेर आगोको भुँग्रो भएको थियो तर म सकभर आफूलाई सामान्य देखाउने कोसिस गरिरहेथेँ ।

मैले वासुको घरको कम्पाउन्डमा लगेर गाडी रोकेँ । गाडीबाट ओर्लदाओर्लंदै म लडखडाएर लड्नपुगेँ ।

‘ल, ल….’ ऊ हडबडाउँदै गाडीबाट ओर्लेर मतिर आउँदै कराई– ‘यस्तरी ड्रिङ्क गरेको मान्छेले यहाँसम्म कसरी ड्राइभ गर्न सक्या होला ?’ उसले आएर मलाई समाती अनि फेरि तुरुन्तै भनी– ‘तिमीलाई त सन्चो छैन जस्तो छ, हेर त के विधि पसिना आएको ?’

म जबरजस्ती उसको हात पन्छाएर सम्हालिँदै उठेर अघि बढेँ ।

निकैबेर बजाएको कलबेलको कुनै प्रतिक्रिया सामुन्ने नआएपछि मैले बेल बजाइउन छोडेर ढोका ढकढक्याउन थालेँ । ढोका खुलेन । म अधैर्य भएर झनै बेसरी ढोका ढकढक्याउन थालेँ ।

‘ताल्चा बन्द छ ।’ मेरो छेवैमा आएर उभिएकी उसले भनी । मैले झस्केर पहिले ऊतिर हेरेँ अनि फेरि ढोकातिर । ढोकामा साँच्च ैनै ताल्चा झुन्डिएको थियो । मैले लामो सास फेरेँ ।

“अब…?” उसले प्रश्नवाचक दृष्टिले मलाई हेरी ।

म केही नबोली गाडीमा गएर बसेँ । उसले गाडीभित्र पसेर ढोका बन्द गर्न नपाउँदै मैले भनेँ– ‘एक रातको कति चार्ज गछ्र्यौ ?’

उसले अकमकाएर मलाई हेरी । मैले ऊतिर हेर्न नसकेर टाउको झुकाएँ । उसको ओठमा एउटा क्षीण मुस्कान उदायो ।

‘तर तिमी… हैन, तपाईं त सायद बिरामी हुनुहुन्छ, तपाईंको त अनुहार पनि…’

‘तिमीलाई पैसासँग मतलब छ कि…’

‘ओके, ओके । बस्ने ठाउँ तपाईंको, ड्रिङ्क, डिनर तपाईंको भए छ हजार, नत्र आठ हजार तर…’

‘ओके, डन…तर यो मोबाइल…’ मैले अघिदेखि उसले हातमा खेलाइरहेको मोबाइलतर्फ इसारा गरेँ– ‘स्विच अफ हुनुपर्छ ।’

‘तर यो त…’

‘जुन चीजको म मूल्य चुकाउन जाँदैछु त्यो पूरा मेरो हुनुपर्छ, यसै पनि आधाअधुरो, बाँडिएको चीजको म सौखिन छैन…।’

‘तर यसरी त मेरो बिजनेस चल्दैन…त्यति पैसा तिरेर तपाई ममाथि हक जमाउन पाउनुहुन्न ।’ उसले विरोध गरी ।

‘म जमाउन पनि चाहन्न । म त मैले पे गरेको तिम्रो समयको कुरा गर्दैछु । मन्जुर छ भने भन नत्र गाडीबाट ओर्ल ।’

उसले एकैछिन अप्रसन्न भावले मतिर हेरी । मलाई लाग्यो ऊ गाडीबाट ओर्लिदिन्छे । तर फेरि उसले अनिच्छापूर्वक मोबाइलको स्विचअफ गरेर ब्यागमा राखी ।

मैले गाडी स्टार्ट गरेर अगाडि बढाएँ ।

‘कहाँ जाने ?’

मैले गाडी अगाडि बढाएपछि उसले सोधी ।

‘हेरौँ !’ मैले छोटो उत्तर दिएँ ।

‘मलाई केही ठाउँ थाहा छ जहाँ…’

मेरो टाउको अस्वीकृतिपूर्वक हल्लेको देखेर ऊ बोल्दाबोल्दै चुप लागी । म चुपचाप ड्राइभ गरिरहेँ ।

त्यतिबेला मलाई यति धेरै कमजोरी अनुभव भैरहेको थियो–मेरा लागि ड्राइभ गर्न कठिन भइरहेको थियो । तर म दाँत बाँधेर ड्राइभ गरिरहेँ ।

म जे गरिरहेको थिएँ त्यो सही थियो ? यतिबेला यही प्रश्न बारम्बार मेरो चेतनामा बजिरहेको थियो ।

‘अक्षरङ्ग’ यस शुक्रबारदेखि सोमबार र शुक्रबार हप्ताको दुईपटक प्रसिद्ध आख्यानकार सानु शर्माको अप्रकाशित उपन्यास ‘फरक’ लाई शृङ्खलावद्धरूपमा प्रकाशित गर्नेछ ।