मनसा - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

मनसा

सञ्जु बजगाईं

सञ्जु बजगाईं

डिसेम्बर महिना चलिरहेको छ । दुई हप्ताका लागि युनिभर्सिटी छुट्टी भएर छोरीहरू घर आएका छन् । मचाहिँ बिरामी परेकी छु । अघिल्लो जुलाइमा पनि उनीहरू घर बसुन्जेल म बिरामी नै थिएँ । दिक्दारी मान्दै फर्किएका थिए त्यस वेला ! अहिले पनि उस्तै छ मेरो हाल । खै के भएर हो, केही समय यता छोरीहरू छुट्टी मनाउन घर आएका वेला म प्रायः बिरामी पर्छु ।
बिरामी भनेर कुनै खास रोग लागेको पनि छैन । बिहान–बेलुकै औषधी खानुपर्ने पनि होइन । मात्र आलस्यता बढेको छ । खान मन लाग्दैन । टाउको भारी भैरहन्छ । केही गर्ने जाँगर चल्दैन । कसैसँग बोल्न मन लाग्दैन । केहीको रहर छैन । आज त दिउँसोको खानासम्म खाएकी छैन ।
बेलायतमा डिसेम्बर महिनाका दिनहरू उसै पनि असाध्यै निराशाजनक लाग्छन् मलाई । कहाँको अँध्यारोमा रुमल्लिएर आउँछन् कुन्नि ? मान्छेको मनमै तुँवालो लगाई दिन्छन् । धुम्म, काला सधैँ धूँवाको मुस्लोले छोपिराखे जस्ता ! दिन र रात खासै फरक नहुने । शोकमा डुबेर उदाएजस्तो बिहानीबाट दैनिकी सुरु गर्नुपर्छ । आक्कल–झुक्कल झुल्किने घामको झुल्को पनि उदाउन नपाउँदै अस्ताउन हतारिएको हुन्छ । घरबाहिर केहीमा जीवन्तता देखिँदैन । कोठाको झ्यालबाट चिहाउँदा सेताम्मे हिउँ भर्खरै पग्लेर ओभाएका घरका ओसिला छानाहरू देखिन्छन् । पात झरेर नाङ्गा भएका रुखका जिङरिङ्ग परेका हाँगाहरू मात्र बाँकी छन् । रुखभरि बस्ने चराचरुङ्गीहरूको नामोनिसान केही छैन । वेलामौकामा एउटा–दुइटा लोखर्के पुच्छर ठड्याउँदै खुर्रखुर्र कुदेको देखिन्छ । सडक किनारा फुस्रा छन् । बोटबिरुवा, पोथ्रापोथ्री सबै विरक्त लाग्दा । साँच्चै भन्दा मेरो र प्रकृतिको एउटै हाल छ ।
उता छोरीहरू भने यस्ता काला दिनहरूमा पनि रमाएका छन् । झरिला–भरिला छन् अनुहार र जिउडाल । अँध्यारो, उज्यालो, झरी बादल केहीले तिनको हाँसोमा फरक पारेको छैन । दिल खोलेर हाँसेका छन् । रहर, खुसी, इच्छा, उमङ्ग जीवन्त देख्छु । मचाहिँ छोरीहरूको हाँसोमा पनि रमाउन सक्दिनँ । उनीहरूको खुसीमा खुसी मिलाएर हाँस्न पनि सक्दिनँ । हरेक मिनेटमा आफूलाई उनीहरूभन्दा फरक देख्छु अनि टाढिन्छु आफ्नै सन्तानको उपस्थितिसँग ।
आज दिउँसैदेखि आफ्नै कोठामा लम्पसार परेकी छु म । फर्सीको ओइलाएको मुन्टोझैँँ लल्याकलुलुक्क भएको छ शरीर । साँझ पर्न लाग्दासम्म भुइँतला ओर्लिन मन लागेन । भित्ताभरि झुन्ड्याएका तस्बिरहरूमा अलमलिएर कटाएँ निकै बेर ! विभिन्न समयको अन्तरमा खिचेर राखेका आफ्नै तस्बिरहरू आफैँलाई पराया लागे । केही तस्बिरहरूलाई त मनमनै अस्वीकार गरेँ । फ्रेमको चार दिवारभित्र कैद भएका मेरा तस्बिरहरू चितुवाझैँँ दगुर्ने समयका अघि ‘आउट डेटेड’ देखिएका थिए । यद्यपि मेरो सौन्दर्य भने फ्रेमभित्र तरुनी भई उभिएको थियो ।
‘धत् मेरो सौन्दर्य ! विश्वासै नलाग्ने ।’ आफ्नै तस्बिर हेर्दाहेर्दै म आफ्नै गाला सुमसुम्याउन थालेँ । स्याप्प सुकेका गालाका हड्डी मात्र छामिए । खोइ ! त्यो लोभलाग्दो सौन्दर्य ? के सबै मेरा छोरीहरूमा हस्तान्तरण भएको हो ? छोरीका नाममा आफैँलाई रित्याउने कस्तो मातृत्व निभाएँ मैले ? मातृत्वका नाममा आमाले आफ्नै आकृति लुटिएको आज छोरीहरूका तरुनी आँखाले देख्छन् कि देख्दैनन् होला ? ‘वान टु वान’ गरेर कसैलाई सोध्न नमिल्ने प्रश्नहरू मनभित्र बोकेर टोलाइरहेँ तस्बिरहरूमै ।

०००
झमक्क साँझ परेछ । कानै छेडूँला गरी डोरबेल बजेको मेरो कोठासम्म सुनियो । लोग्ने घर फर्कियो भन्ने मैले डोरबेलको आवाजबाटै थाहा पाएँ । लोग्नेस्वास्नीको सम्बन्ध जनाउन त्यो सानो जानकारी नै पर्याप्त थियो । जनाउ भयो । हतारिँदै लोग्नेको स्वागत गर्न ओर्लिने जाँगर भए पो ! म पनि झ्यालबाट हेर्दा पर देखिने छिप्पिएका जरा फैलिएको बूढो रुखजस्तै टसमस नभई सुतिरहेँ ।
बाबु र छोरीहरूको गफगाफ सुरु भयो । खास नजिकका त उनीहरू पो ! बाबुचाहिँलाई आफ्ना सन्तानले जे बोले, जे गरे पनि राम्रो लाग्ने । कस्तो बुझीनसक्नु ? आफ्ना छोरीहरूलाई संसारकै सबै खुसी मिलेको देख्न चाहने एउटा पुरुष, हुर्काइबढाई गरेर सुम्पेकी अर्को पुरुषकी छोरीलाई भने खुसी राख्न सधैँ कन्जुस गर्छ । के मेरो लोग्नेले उसका छोरीहरूमाथि पनि कुनै न कुनै पुरुषले आधिपत्य जमाउने छ भन्ने सोचेको होला ? मेरा बाबुले त सोचेका थिएनन् । बाबुछोरीको हल्लाखल्ला सुन्दासुन्दै आफ्नै बाबुको प्यारो अनुहार झलझली सम्झिन थालेँ म ।
‘डिनर टाइम !’ केही छिनमै भुइँतलाबाट आवाज आयो ।
म ओर्लिंदा डाइनिङ् टेबलमा प्लेटहरू तयार थिए । मैले पकाउन सकिनँ । त्यसैले भान्साको चुल्हो चिसो थियो । खाना बजारबाट झिकाइएको थियो । बेलायतमा जन्मेर हुर्किएका छोरीहरू खाना पकाउनमा खासै चासो राख्दैनन् । बाध्यता के छ र उनीहरूलाई ? उनीहरूको बाबुलाई पनि छोरीहरूले खाना नपकाएकोमा केही गुनासो छैन । आफ्ना छोरीको मायाप्रेम नै भिन्नै !
बाबु र छोरीहरू खान बसिसकेका थिए । म पनि कुर्सी तानेर बसेँ ।
“फिस एन्ड चिप्स !” ठूली छोरीले मुख मिठ्याउँदै तारेका माछा र तारेका आलुका सोइला प्लेटमा राख्न थाली ।
बाबु र छोरीहरू स्वाद मानेर खान थाले । मलाई मात्र स्वाद भएन केहीमा ।
‘जिन्दगी त यो तारेको माछाजस्तो रसिलो भएर बिताउनुपर्छ ।’ मेरो लोग्नेले मौका छोप्दै छोरीहरूका मुखमा हेरेर भन्यो ।
‘आफ्नो अस्तित्व मैदाको घोलभित्र डुबाएर अर्कालाई स्वाद जुटाउने यो तारेको माछालाई सोध्नु जिन्दगीको रस !’ मैले जबाफ फर्काएँ ।
‘नबोल्…चुप लाग् । माछाको इतिहास लेखिन्न, मान्छेको लेखिन्छ’ लोग्ने रिसाउँदै बोल्यो ।
‘इतिहास कसले खोज्छ यो डिजिटल जमानामा !’ सानी छोरीले कुरै नबुझी थपी ।
‘ठीकै भन्यौ । बुज्रुकहरूको स्थान ‘गुगल’ ले विस्थापन गरिसक्यो । तिमीहरूलाई पहिलेका कुरा सुनाउन हजुरबा र हजुरआमा नै चाहिन्छ र ? हामी पो थियौँ दन्तेकथामा मरिहत्ते गर्ने ।’ मैले कुरोलाई छोरीतिर जोड्दै तन्काएँ ।
बाबुछोरीहरू मेरो प्रतिक्रियामा मुखामुख गर्नलागे ।
‘संसार कहाँ पुगिसक्यो, तपाईं भने हजुरबाका दन्तेकथामै अलमलिरहनू ।’ ठूली छोरीले खाइसकेको रित्तो प्लेट एकातिर सार्दै भनी ।
‘हो, तिमीहरूको संसार त कति गतिशील कति ! खाना बजारबाट तैयार भएर टेबलसम्म आइपुग्यो । अब खाएको जुठो प्लेट पनि भाँडा माझ्ने मिसिनले टलक्क टल्काएर फुत्त बाहिर ल्याइदिजान्छ ।’ म झर्को मान्दै बोल्न थालेँ ।
मेरो प्लेटको खाना चिसो भैसकेको थियो तर रित्तिएको थिएन ।
‘भोलि बिगबेन घुम्न जाने । बाहिर निस्किएर संसार देखेपछि तपाईंलाई पनि अलिक सन्चो हुन्छ ?’ मेरो झर्कोपन देखेर सानीले प्रस्ताव अघिसारी ।
‘स्वास्थ्यमा ध्यान दिए पो छिटै सन्चो हुन्छ, घुमेर के होला !’ मेरो लोग्ने घुम्न जाने कुरामा खासै सहमत देखिएन ।
‘यो संसार समयमा देख्न पाएको भए बिराम नै लाग्ने थिएन; समय घर्कियो’ मैले लोग्नेतिर हेर्दै भनेँ ।
यस्तै टेडामेडा कुराहरू गर्दागर्दै बेलुकीको खाना खाइसक्यौँ हामीले । घुम्न जाने कुरामा छोरीहरूको जिद्दी भो । मैले टार्न सकिनँ । आमा र सन्तानबीचको सम्बन्ध राख्नका लागि बाध्य थिएँ म । उनीहरूकै लागि भोलिपल्ट घुम्न निस्कने निधो गरेर म सुत्ने कोठामा फर्किएँ ।

०००
मेरो लोग्नेको आफ्नै संसार छ । एउटै कोठाभित्र पनि ऊ उसकै सुरमा, म मेरै । एकअर्काको बारेमा हामी केही सोध्दैनौँ । उसले त मलाई थाती राख्न अह्राएका मेरा रहरहरू अहिले भुसुक्क बिर्सिसकेको होला । सम्झिए जस्तोसम्म गर्दैन । रहर थाती राख्न अह्राउन भने हरेक दिन सम्झन्थ्यो । सब थोक पछि पाउँछेस् भनेर ठोकुवा पनि गथ्र्यो । उसले देखेको भविष्यको अमूर्त समय–विन्दुलाई हप्काएर, धम्क्याएर र फुल्स्याएर विश्वास गर्न लगायो । मैले लोग्ने मानेर विश्वास गरेँ । अहिले थाहा भयो बराबरको जिन्दगीमा उसले जितेछ मैले पो हारिछु !
म बुद्धु वर्गमा परेकी आइमाई ! मेरा थाती रहेका रहरका के कुरा ? बिस्तरामा नपुग्दै उसको दिनभरको थकान मेरा रहरभन्दा बलियो भैदिन्छ । अनि ऊ घ्वार्रघ्वार्र घुर्न थाल्छ क्षणभरमै सेतो सिलिङ र चार दिवार मलाई एक्लै छोडेर । मलाई भने खाऊँखाऊँ, लाऊँलाऊँका अतृप्त रहरहरूले चिथोर्न र भुत्ल्याउन थाल्छन् । म एक्लो संवाद गर्छु । पश्चात्ताप गर्छु । मेरो असन्तोष भरिएको एक्लो संवाद केवल भित्ताहरूले मौन भएर सुनिदिन्छन्

०००
आधा रात बित्दासम्म मेरो लोग्ने घ्वार्रघ्वार्र घुरिरहेको थियो । म ओल्टो र कोल्टो फेरिरहेकी थिएँ । कुन प्रहरमा निदाएँ पत्तै भएन । मेरो एकोहोरो गनगन सुनेर रात रोकिएन । बिहान भैछाड्यो । म ब्यूँझँदा मभन्दा पहिले निदाएको मेरो लोग्ने उठिसकेको थियो । घुम्न जानुपर्ने करले उठेकी थिएँ म । जोस भने पटक्कै थिएन । दुई भिन्न समाजको प्रतिनिधित्व गर्ने म र मेरा छोरीहरूले एउटै सहर घुम्नुको औचित्यै थिएन । छोरी, बुहारी, भाउजू, स्वास्नी, आमा, कामदारजस्ता विभिन्न शीर्षकहरूमा प्रयोग भएर थोत्रिएकी छु म । निचोरेर फालेको कागतीको खोस्टोझैँँ भएकी छु । म भित्तामा टाँसेको स्विचबोर्ड ! आफ्नै छातीमा स्विच बटम बोकेर पनि आफूले चाहेको वेला अन–अफ हुन सकिनँ जीवनभर । मनभरि कुण्ठा बोकेर जति अग्ला टावर हेरे पनि मेरो जीवन शैली बदलिने होइन ।

छोरीहरूका लागि भनेर म मुस्किलले तयार भएँ । म भुइँतलामा ओर्लिंदा मेरो लोग्ने ब्रेकफास्ट सकेर कफी पिउँदै थियो । छोरीहरू तैयार भै टीभी हेर्न मस्त थिएँ । मैले आफ्ना लागि एक कप चिया बनाएँ र पिउन थालेँ ।
‘हाय स्विटिज…!, रेडी ?’ मेरो लोग्नेले कफीको कप रित्याउँदै छोरीहरूलाई सम्बोधन गर्यो ।
‘रेडी…!’ सानी छोरी पुलपुलिँदै बाबुको हात समाउन आइपुगी ।
‘ममीलाई आज कस्तो छ ?’ ठूली छोरी सोध्दै भित्र पसी ।
‘ठीक छ’ मैले भनेँ ।
छोरीहरू जाँगर चलाएर ठाँटिएका थिए । सुनौलो रङ हालेका केश, लाली भरिएका गाला, आत्मविश्वास भरिएका आँखाहरू, सलक्क परेका कलकलाउँदा हातखुट्टाहरू, हँसिला ओठ…! उनीहरूले के लगाए, के बोले, कसरी हाँसे, कसरी उभिए, कसरी हेरे जस्ता कुरासँग कसको के सरोकार ? सब थोक सुहाएको थियो । जन्मदै संसारलाई आफ्नो अधीनमा लिएर आएकाहरूलाई मैले केही भनिनँ । बाबु र छोरीहरूको ‘केमेस्ट्री’ खुब जमेको थियो । लोग्नेमान्छेले निःस्वार्थ प्रेम पोखेको एक मात्र पवित्र नाता उभिएको थियो मरो सामुन्ने । त्यही प्रेममा तानिएर मेरो लोग्नेले पन्ध्र मिनेट टाढाको रेल स्टेसनसम्म आफ्ना छोरीलाई ‘ड्रप’ गर्न खुसीसाथ तैयार भएको थियो ।
‘दिनभर रमाइलो गर्नू ।’ स्टेसनको कार पार्कमा कारबाट उत्रँदै गर्दा दुवै छोरीहरूका गालामा म्वाई खायो उसले ।
एकातिर मार्गरेट थ्याचरको देशमा जन्मिएका उसका छोरीहरू, अनि गरिबी, अभावसँग र अस्थिरतासँग पौँठेजोरी खेलेर बुढिएकी म स्वास्नीमा के समानता देखोस् उसले ? मलाई मेरो लोग्नेले रमाउनू, हाँस्नू, खुसी हुनू…केही भनेन । बरु छोरीहरूले चाहेको खर्च गरिदिनू भनेर अह्रायो ।
हामी ट्रेन चढ्यौँ । टे«नभरि मान्छेको खचाखच । बस्ने सिट खाली थिएनन् । छोरीहरूको बीचमा उभिएकी थिएँ म । काममा निस्किएका थुप्रै बेलायती तन्नेरीहरूका आँखा ठोक्किए उनीहरूको सौन्दर्यमाथि । म खुसी भइनँ । ईष्र्यालु भएँ ।
‘छि ! आमाहरू सन्तानको ईष्र्या गर्छन् कहीँ ?’ ट्रेनभित्रकै मान्छेहरूले मेरो सोचलाई गिज्याएको भान भयो । सर्तक भएँ म र आफूभित्रको पलाएको ईष्र्या र पापी मनलाई कस्सेर बाँधेँ ।
छोरीहरूकै जस्तो रहर, इच्छा र जोस भरिएका सपनाहरू थिए मेरा पनि । हरेक दिनजसो मेरो बाबुको घरको छतबाट नीलो आकाश नियाल्थँे र क्षितिजपारि लुकेको सुन्दर संसार पुग्ने कल्पना गर्थेँ । मेरा हरेक रहरहरू स्वतन्त्र लाग्थे मलाई त्यस वेला । यसर्थ, पूरै स्वतन्त्र ठान्थेँ आफूलाई । म घाँस हालेर पालिएको पाल्तु पशु हुन चाहन्नथेँ । आफ्नो जिन्दगी आफ्नै इच्छामा चलाउने मेरो कल्पना कल्पनामै सीमित भयो ।
छोरीमान्छे भएर जन्मिए बापत सिङ्गो सामाजकै ‘ब्ल्याकमेल’ मा परेकी मान्छे म । म जन्मिएको र उनीहरू जन्मिएको समाज नै भिन्नै ! अहिले आएर कोसँग के गुनासो गर्नु ? छोरीमान्छे भएर यो गर्ने, त्यो नगर्ने, यस्तो बोल्ने, उस्तो नबोल्ने, यो लाउने, त्यो नलाउने, यहाँ जाने, त्यहाँ नजाने, यसरी उभिने, त्यसरी नउभिने, उसरी हाँस्ने, त्यसरी नहाँस्ने आदि–इत्यादिले भरिएको महाकाव्य घोकेर सुरु भएको जिन्दगीको सिलसिला बुहारी, स्वास्नी र आमा हुँदासम्म टुङ्गिएको छैन । जबरजस्ती लम्ब्याएर लेखिएका प्याराग्राफजस्तो जिन्दगीको झिँझो कहानी कहिले टुङ्गिएला ?
ट्रेन कुद्नेभन्दा पनि घिस्रिरहेको थियो । स्टेसनैपिच्छे ट्राफिक सिग्नल पर्खिएर ढिलो भएको ट्रेनले बल्लतल्ल गन्तव्यमा ल्याइपुर्यायो । हामी स्टेसनभित्रको भीड छिचोलेर बाहिर निस्कियौँ । सलक्क परेका तरुनी छोरीहरू बिगबेनछेउको पुलमाथि हिँड्न थाले । म उनीहरूकै छेउमा थिएँ । मुटु छुने चिसो स्याँठले हाम्रा खुल्ला केशराशि उडाएर छरपस्ट पारिदिएको थियो । छरपस्ट कपालमा पनि उनीहरूको सुकोमल सौन्दर्यचाहिँ उस्तै सुमधुर देखिन्थ्यो । गोरो अनुहारमा छरिएका केशराशि दुवै सम्हालिँदै पन्छाउँथे तर पन्छाउन नभ्याउँदै हावाको झोँक्काले फेरि छरिदिन्थ्यो । गुनासो थिएन हावासँग उनीहरूको । धैर्य थिए । मलाई चाहिँ मेरै कपालको स्पर्श झर्को लाग्दो भयो ।
छेउछाउ सिङ्गोे संसार थियो । मान्छेको रङ र रूप हेर्दा संसार हेर्न हरेक देश पुग्नैनपर्ने । बिगबेनअगाडि आएर उभिए हुने । यहाँ अफ्रिकन थिए, गोरा थिए, जापानिज, चाइनिज, इन्डियन, पाकिस्तानी, बङ्गाली, रसियन, अरबी, ल्याटिन अमेरिकी…! सबै हिँडिरहेका थिए पुलमाथि । अरू त अरू ! आइरिस जिप्सी र रोमेनियन जिप्सीहरू सुन भरेका दाँत टल्काएर हाँसिरहेका देखिन्थे । अङ्ग्रेजी, फ्रेन्च, स्पेनिस, चाइनिज, हिन्दी, उर्दू, जापानिज, इटालियन भाषाको एकमुष्ट हल्लाले आकाश ढाकेको थियो । संसार रमाएको ठाउँमा पनि मचाहिँ रमाउन सकेकी थिइनँ । त्यत्रो भीडमा मैले आफू मात्र अर्काले खटाएर दिएको जिन्दगी बाँच्ने अभागी देखेँ ।
विश्व प्रसिद्ध बिगबेन ! छेवैको पुलमुनि बगेको थेम्स नदी । पुलमाथि चाहिँ मान्छेको सागर । पुलमुनि चिसो सूर्यको किरणको स्पर्शमा टल्किएको थेम्स नदीको पानी । मान्छेहरूलाई नौकाविहार गराउन उँधो र उँभो गरिरहेका रङ–रङका पानीजहाजहरू कस्ता बेफुर्सदी ! पुलमास्तिर ‘लन्डन आइ’ को मधुरो चाल । टुप्पोमा पुगेर अडिएको ‘लन्डन आइ’ को डल्लोलाई हेरेँ मैले । मान्छेहरू टम्म उभिएका थिए । के–के देखे होलान् तिनीहरूले ? सूर्य उदाउने विन्दुदेखि सूर्य अस्ताउने विन्दुुसम्म साम्राज्य फैलाउन सक्ने बेलायती शक्तिको मुहान देखे कि ? कि ‘वेस्ट मिनिस्टर ऐबी’ भित्रका चिहानहरू देखे ? ‘न्युटन’ र ‘डार्बिन’ का चिहान छन् रे त्यहाँ । अङ्ग्रेजी साहित्यका पिता मानिने ‘जेफ्री चौसर’ को चिहान छ रे त्यहाँ ।
संसारलाई सब थोक दिन सामथ्र्यहरूले त आखिर मृत्युसँग हार खानु परेछ । हामी त सामान्य मान्छे ! मलाई लोभ्याउन सकेन कुनै दृश्यले । म शून्यप्रायः भएर हिँडिरहेँ ।
‘ममी, रिभर क्रुज जाने हो ?’ तल र माथि कुदिरहेका पानीजहाज देखाउँदै ठूली छोरीले सोधी ।
‘नजाने मलाई पानीसँग डर लाग्छ’ मैले मानिनँ ।
‘उसोभए लन्डन आइ चढ्ने’ सानी छोरीले भनी ।
‘त्यो झन् नचढ्ने । मलाई उचाइसँग डर लाग्छ ।’ म परै ततर्किएँ ।
‘जाडो पनि भएको छ, उसोभए जौँ क्याफेमा बसेर हट चक्लेट पिऔँ’ ठूलीले भनी ।
‘म पिउँदिनँ । तिमीहरूले पिउनू ।’ मैले इन्कारेँ ।
‘तपाईं त कस्तो ‘ओल्ड फैसन’ की मान्छे…! केही पनि नहुने ।’ सानी छोरी रिसाउँदै बोली ।
‘म ‘ओल्ड फैसन’ कै मान्छे हुँ ।’ ठुस्किँदै बोलेँ म पनि ।
‘केही त होला नि त तपाईंलाई मनपर्ने ?’ हातमा बोकेको क्यामेरा ब्यागभित्र राख्दै ठूलीले सोधी ।
‘मलाई म आफैँ मन पर्दिनँ, अरू थोकको के कुरा ।’ जबाफ फर्काएँ मैले ।
‘तपाईंको समस्या के हो ?’ सानीचाहिँ निमोठिँदै बोली ।
‘तिमीहरू ।’ म पनि रिसाइदिएँ ।
‘हामीले के गर्यौ ?’ ठूलीले छक्क पर्दै सोधी ।
‘मेरो सब थोक लुटेर लग्यौ ।’ म प्रतिद्वन्द्वी भएर बोलेँ ।
‘कसरी…?’ बेलायती चरित्र बढी हावी भएकी सानी तर्क गर्न अघिसरी ।
‘कसरी ? हेर न, देख्दैनौ मसँग के बाँकी छ ?’ म एकोहोरिएकी थिएँ ।
‘के भन्नुभएको त्यस्तो ।’ ठूली छोरी भावुक हुँदै बोली ।
‘केही होइन ।’ त्यतिमै रोकिएँ म ।
दुई वर्षभन्दा बढी भयो मैले आफूलाई छोरीहरूसँग दाँज्न थालेकी । तरुनी छोरीहरूलाई देखेर म उनीहरूकै आमा हुँ भन्ने सत्यलाई सर्लक्क बिर्सिन्छु । उनीहरूले जे पाए, मैले त्यो किन पाइनँ ? उनीहरूले जस्तो उन्मुक्त हाँसो हाँस्न किन पाइनँ ? जीवनभर सम्झौता किन गर्नुपर्यो ? पर्खालैपर्खालले घेरिएको धरालतमा किन खुम्चिएर बाँचँे ? छोरीहरूका सिमाना खोई ? मेरा छोरीहरू जुन उमेर बाँच्दैछन्, मैले त्यो उमेर किन बाँच्न पाइनँ ? उनीहरूका ठाउँमा आफूलाई पाए कस्तो हुने थियो होला ? यस्तै–यस्तै सोचले तर्साउन थालेको छ मलाई । आफ्नै सन्तानको सुन्दरता, हाँसो र खुसीले पनि चिथोर्न थालेको छ मलाई ।
सन्तानलाई सर्वस्व सुम्पिने आमाहरूको इतिहासमा अटाउन नसक्ने विचित्रकी आमा भएर मेरा तरुनी छोरीहरूको पछि हिँडिरहेकी छु थेम्स नदीको किनारैकिनार म अहिले । मेरो छेवैबाट आफ्नो छातीभरि पानीजहाजका मेकानिकल खुट्टाहरूको खस्रो घर्षण खपेर थेम्स नदी बगिरहेको छ । तर म थेम्स नदी हुन सक्दिनँ कदापि ।
असन्तुुिष्ट पोखेर हिँड्दा–हिँड्दै थेम्स नदीमाथिको पुल कटिसकेको थियो । मलाई केहीसँग रमाउनु थिएन । कुनै गन्तव्यमा पुग्नु पनि थिएन । न त कुनै उद्देश्य पूरा गर्नुथियो । म बेपरबाह हिँडिरहेकी थिएँ ।
‘अब के ?’ अलमल परेर हिँडिरहेकी सानी छोरी धैर्य टुटेर एकातिर उभिँदै सोधी ।
‘म घर फर्किन्छु तिमीहरू घुमेर आउनू ।’ हिँड्दै आएको बाटोतिर फरक्क फर्किंदै बोलेँ म ।
मलाई छोरीहरूको मायाले रोकेन यस वेला । पत्याउन नसक्ने गरी मेरो स्नेहको मूलमा खडेरी परेको थियो । म ढुङ्गा बराबर भएकी थिएँ । पछाडि छोडिएका उनीहरूलाई एक फर्को फर्केर नहेरी फटाफट ट्रेन स्टेसनको बाटो लागेँ । स्टेसनमा पुगेर लामो श्वास फेरेँ । आज जीवनमै पहिलोपटक इज्जत र जिम्मेवारीसँग निर्लज्ज भएर सम्झौता तोडेकोमा पश्चात्ताप बिल्कुल थिएन । म निश्चित भएर ट्रेन चढेँ । ट्रेन आफ्नै गतिमा कुद्न थाल्यो । ट्रेनभित्रको तातोपनले मेरा आँखा झपक्क हुनपुगे ।
‘दिस ट्रेन टर्मिनेट्स हियर…!’
कैयौँपटकको ‘प्यासेन्जर एनाउन्समेन्ट’ सुनेर म झल्याँस्स ब्युँझिएँ । मेरो गन्तव्यबाट धेरै टाढाको नौलो स्टेसनमा पुगेर ट्रेन रोकिएको थियो ।