वर्तमान आजको सङ्गीत हो यसैमा बाँचौँ - Aksharang
  • २०७८ कातिर्क १० बुधबार

वर्तमान आजको सङ्गीत हो यसैमा बाँचौँ

जयदेव गौतम

जयदेव गौतम

मलाई वर्तमान औधी प्रिय लाग्छ किनभने म यसमै बाँचिरहेको हुन्छु, यसमै रमाइरहेको हुन्छु । भोलिसित भने म सधैँ डराउँछु, त्यसप्रति सशङ्कित भइरहन्छु किनभने त्यो अनिश्चित छ र त्यसबारे म केही पनि जान्दिनँ, केही भन्न पनि सक्दिनँ । तर विगतसित म डराउँदिनँ, झस्किन्नँ पनि किनभने त्यो विगत भनेको बितिसकेको कुरा हो र फेरि फर्किन सक्दैन ।
फेरि भोलि भएको छ । यो त हिजो पनि भएको थियो, भोलि फेरि पनि हुनेछ । फरक यति मात्र हो– यसलाई कसैले ‘भोलि’ भन्दैन, ‘आज’ नै भनिदिन्छन् । आज हिजो बनिदिन्छ, भोलि आज । समयको कालचक्र यसै गरी बित्दै जान्छ । हिजो अतीत हो जो व्यतीत भइसकेको छ । भोलि आगत हो, भविष्य हो जसको बारेमा केही थाहा हुँदैन । त्यसकारण जे छ सबै आजमा नै छ । आज भनेको वर्तमान हो । यही वर्तमानले विगतको जगमा उभिएर आगतको खाका बनाउने गर्दछ, किन्तु सत्य यत्ति हो– जीवन वर्तमानमा मात्र बाँच्दछ, वर्तमान मै मर्दछ ।
विगत–वर्तमान–भविष्य । यिनै तीन पलमा जीवन अल्झेको छ । धेरैले यसलाई हिजो–आज–भोलि पनि भन्छन् । हिजोका सम्झनाहरू शेष रहन्छन्, आज जिन्दगी बाँच्नुको नित्य सङ्घर्ष भइरहन्छ, भोलि कल्पना र सोचहरूको सङ्गम हुन्छ किनभने यसको रूपरेखा कसैलाई थाहा हुँदैन । तसर्थ, मानिसको कुरा गरे पनि, देशकै कुरा गरे पनि, हिजो अथवा विगतको गौरवमा रमाएर बाँच्न चाहनेहरूको वर्तमान वा भविष्य उज्ज्वल हुँदैन । पुर्खाले घिउ खाएको भनेर पछिल्लो पुस्ताले हात सुँघेर बस्नुको के अर्थ पो हुनसक्छ ? जसले समयअनुसार चल्न जानेन, जसले विकासका पदचाप पहिल्याउन र पछ्याउन सकेन, जसले संसारको परिवर्तनशीलतालाई आत्मसात् गरेर चलेन, जसले जगत्को रूपान्तरणशीलतालाई ग्रहण गरेन, ऊ त केवल विगतको दास हो र उसको नियति फगत सङ्कीर्णताको गर्तमा क्रमशः बिलाउँदै जानु हो ।
विगत कुनै कालखण्डमा संसारमा राज गरेका र आफ्नो प्रभुत्व कायम गरेर गौरव स्थापित गरेका मुलुकहरूको अवस्था वर्तमानमा जताततै देख्न सकिन्छ । युनान, रोम, मिश्र, अटोमनजस्ता साम्राज्यहरू अचेल इतिहासका विषय बनेर थन्किएका छन् । नयाँ उपलब्धिहरू हासिल गर्नुभन्दा ती सबै पर्यटक लोभ्याउने गन्तव्य बनेका छन् । मानौँ इतिहासले तिनीहरूको पालनपोषण गरिरहेको छ । नयाँ राष्ट्र–राज्यहरूको उदय भएको छ, ती जोसँग धेरै लामो विगत छैन र जसले वर्तमानलाई साक्षी राख्दै भावी पुस्ताका लागि भनेर आधारशिला मात्र होइन विकासको भव्यता हासिल गरेका छन् । तर यसो भन्नुको अर्थ के होइन भने अतीतलाई वास्तै गर्नु हुँदैन, विगतप्रति आँखा चिम्लिनु पर्दछ । वास्तवमा अतीतका असल कुराहरूमा गर्व गर्नुपर्दछ, विगतका सकारात्मक पक्षहरूप्रति गौरव गर्न सक्नुपर्दछ । अतीतलाई फगत सम्झिबसेर मात्र केही हुँदैन, अतीतको गौरवलाई जगेर्ना र त्यसको महिमामण्डन गर्नुपर्दछ । अतीतबाट यथोचित पाठ सिक्दै वर्तमानमा उभिएर भविष्यको उपयुक्त मार्गचित्र दिशा–निर्देश गर्नु नै जीवनको सुखद सार्थकता हो ।
मानिसहरू भन्छन्– कसैले तिमीलाई नराम्रो व्यवहार ग-यो भनेर दुःखी नबन किनभने सबैले आफ्नो औकातअनुसारको व्यवहार देखाउने हो । कागती निचोर्दा कागतीको रस आउँछ, सुन्तला निचोर्दा सुन्तलाकै रस । कसैसँग फूल छ भने उसले वरिपरि वास्ना नै छर्छ र कसैसँग काँडा छ भने उसले अरूलाई नोक्सान पु-याउने काम नै गर्नेछ । अर्थात्, जसको भित्र जे छ त्यही आउने हो, बाहिर त्यही निस्कने हो । जसलाई अतीतप्रति गौरव छ, वर्तमानप्रति मोह छ र भविष्यप्रति आस्था छ भने व्यवहारको राम्रो–नराम्रोपनका सन्दर्भमा उसको औकात माथिल्लो स्तरको हुन्छ । उसको अनुभवको उपादेयता बेग्लै हुन्छ ।
त्यसो त मनुष्यको जीवन के–कति नै पो हुन्छ र ? आखिर जीवन त घरमा भएको बेसाहाजस्तै निश्चित मात्रामा दिनहुँ सकिँदै गइरहेको हुन्छ । बेसाहा त जतिपटक सकिन्छ, किनेर त्यतिपटक ल्याउन सकिन्छ तर मानवजीवन कदापि किन्न सकिँदैन । जीवन सधैँभरि एकनासले सकिँदै गइरहेको हुन्छ । फरक कति मात्र हो भने कसैको जीवन छोटो हुन्छ, छिटो सकिन्छ भने कसैको जीवन लामो हुन्छ, ढिलो सकिन्छ ।
पाल्पा र स्याङ्जा जिल्लालाई जोड्न रामदी भन्ने ठाउँमा कालीगण्डकी नदीमााथि सिद्धार्थ राजमार्गमा साँघु बनाइएको छ । एकपटक ठूलो वर्षा भइरहेको बेला कालीगण्डकी नदीमा पानीको सतह निकै माथिमाथिसम्म आइरहेको थियो । त्यस्तोमा एकजना असल पौडीबाज स्थानीय किशोरले बाजी थापेर आफू नदीको त्यत्रो भेलमा पनि एक छेउबाट पौडी खेल्दै अर्को किनारमा निस्कन सक्ने आत्मविश्वास प्रकट ग¥यो । सबैले रोक्न खोज्दाखोज्दै पनि उसले मानेन र त्यही पुलबाट एकातिरको किनारमा हाम फाल्यो । केही समय ऊ पौडी खेल्दै मध्यभागतिर पुग्यो तर उसले गण्डकी नदीको तेज बहावलाई बाँकटे हानेर जित्न सकेन । हेर्दाहेर्दै ऊ कालीगण्डकीको भेल र भँगालाहरूमा कतै बिलाइगयो । अल्पायुमै एउटा जीवन सकियो ।
अर्कोतिर अस्सी–नब्बे वर्ष पुगिसकेका कतिपय व्यक्तिहरू सक्रिय जीवन बिताइरहेका छन् । उनीहरू सामाजिक सेवामा सक्रिय छन्, कोही साहित्यिक–सांस्कृतिक फाँटमा आफ्नो अनुभवको ज्ञानको बाँडिरहेका छन् । वास्तवमा हेर्ने हो भने अस्सी वर्ष नाघेको बुढ्यौली त– जस्तो गाउँघर, नगर र सहरहरूमा अक्सर देख्न पाइन्छ– नातिनातिनासँग खेल्ने, उनीहरूलाई कथा–कुथुङ्ग्री सुनाउने र सकिन्छ भने नजिकको स्कुल अथवा स्कुलको गाडी चढ्ने ठाउँसम्म पु¥याउन र लिने जाने गर्ने बेला हो । यो गर्न सकिँदैन भने घरको पिँढीमा अथवा एउटा कुनामा बस्ने र आफ्नै बालापन अनि रहरालु बैंशका रमाइला नरमाइला प्रसङ्गहरू मनभरि खेलाउँदै बस्दै समय बिताउने गर्ने बेला हो ।
त्यसकारण भन्नुपर्छ, अस्सी–नब्बे वर्षको उमेर पार गरिसकेर पनि सामाजिक–सांस्कृतिक–साहित्यिक सेवामा सक्रियता साथ संलग्न भइरहेकाहरू तिनीहरू हुन्, जसले विगत र आगतलाई जितिसकेका छन्, भूत र भविष्यमाथि विजय प्राप्त गरिसकेका छन् र वर्तमानमा बाँच्न अभ्यस्त भइसकेका छन् । उनीहरूको अन्तरमनले नै बुझिसकेको छ– हिजो इतिहास भइसकेको छ, भोलि भनेको फगत एक रहस्य हो । बरु जे छ त्यो आजमै छ किनभने यो आज ईश्वरको वरदान हो, यसैले गर्दा नै यसलाई वर्तमान भनिएको छ ।
जिन्दगी बुझ्न चाहने हो भने विगतमा टेक्नै पर्दछ, इतिहासमा विचरण गर्नै पर्दछ, बितेको समयका पदचापहरूलाई छामछाम–छुमछुम गर्नै पर्दछ । यसले वर्तमानमा बाँच्न सिकाउँछ र भावी जीवन बिताउने दृष्टि प्रदान गर्दछ । विगतलाई बदल्न सकिँदैन । यो वर्तमानमा ‘फिट’ पनि हुँदैन । त्यसकारण विगतको फेरो समातेर बस्नुको कुनै उपादेयता हुँदैन । जीवन पोखरीको जलसरह एकै ठाउँ स्थिर भएर रहँदैन, जीवनको नियति भनेकै निरन्तर बहिरहनु हो, एकनास अगाडि बढिरहनु हो । एकजना पश्चिमेली विद्धान् ज्याकक्यानफिल्डले भनेका छन्– सफल मानिसहरू आफ्नो वरिपरि के भइरहेको छ भन्नेतिर उतिसारो ध्यान दिँदैनन् बरु जीवनप्रति सकारात्मक ध्यान केन्द्रित गर्दछन् । उनीहरू आफ्नो विगतका सफलताहरूमाथि ध्यान केन्द्रित गर्दछन्, असफलताहरूमा होइन, र बाटो बिराउन सघाउने कुराहरूभन्दा आफ्ना सकारात्मक लक्ष्य हासिल गर्न सहयोगी हुने कुराहरूमा बढी केन्द्रीकृत भएर लाग्दछन् ।
हिजो, आज र भोलिको सङ्गममा यसरी नै मानवजीवन अगाडि बढ्दै जान्छ ।
मेरो पनि विगत छ । वर्तमान छ (जबसम्म म छु) । भविष्य पनि छ (मलाई लाग्छ) । मेरो हिजो थियो । म अहिले बाँचिरहेको हुनाले मेरो आज छ र यसैकारण (रहस्यको गर्भमा लुकेको भए पनि) मेरो भविष्य पनि छ । घरिघरि लाग्छ, म विगतको उपज हुँ । तर कुन विगत ? त्यो विगत जसलाई मैले हिजो विदा गरेको थिएँ, त्यो विगत जो अहिलेसम्म मबाट धेरै टाढा पुगिसकेको छ र त्यो विगत जो मैले जस्तो छाडेको थिएँ अब त्यस्तो पनि छैन । उसो भए विगतले ममाथि के छाप छोड्यो त ?
मेरोवरिपरि जे–जस्तो परिवेश थियो, जे–जस्तो वातावरण थियो, त्यसले मेरो चेतना निर्धारण गरेको थियो । मलाई कसैले केही सिकाए, केही आफ्नै चेतनाले मैले ग्रहण गर्न सकेँ । एवंरीतले जीवन–जगतप्रति, भविष्यप्रति र अरू मानिसहरूप्रति हेर्ने दृष्टिकोण विकसित हुँदैगयो । मलाई के लाग्यो भने विगतले मलाई संस्कार सिकायो र संस्कारले जीवन बाँच्ने कला ।
त्यही जीवन बाँच्ने कला जसलाई म वर्तमानमा सिँगार्ने प्रयास गरिरहेको छु, त्यही कला जसलाई म त्यसको सम्पूर्ण गहिराइमा गएर जिउने प्रयत्नमाा लागिरहेको छु र त्यही कला जसको धरातलमा उभिएर म अनिश्चित भविष्यको योजना बुन्ने कोसिस गरिरहेको हुन्छु ।
जति जमर्को गरूँ, विगतलाई चटक्कै बिर्सेर म वर्तमानमा बाँच्न सक्तिनँ । म त्यसलाई भुलेको अभिनय गर्न सक्छु तर जीवनका हरेक घुम्तीमा विगतमा बिते–बिताएका पलहरू एक वा अर्को रूप धारण गरेर वर्तमानलाई अँगाल्न आइरहेकै हुन्छन् । विगतले हामीलाई पछ्याउन छाड्दैन । विगत राम्रो छ भने सुमधुर स्मृतिहरू बनेर हृदय तरङ्गित पार्न आइरहन्छ । विगत नराम्रो छ, खराब छ भने कहिले तुष, कहिले खिल बनेर बारम्बार मन–मन्दिरमा डस्न आइपुग्दछ । क्षणिक समयका लागि भागे पनि मानिस विगतबाट सुदूरसम्म भाग्न सक्तैन । यो मानवको प्रकृति–प्रदत्त नियति हो ।
विगत र भविष्य पृथक् भए पनि दुवैमा केही सामञ्जस्य पनि झल्किन्छ । विगत बितिसक्यो, फेरि त्यसैमा पुग्छु भनेर, उसै गरी त्यसलाई उपभोग गर्छु भनेर सकिँदैन । भविष्य अथाह छ । यो सरल रेखा भएर आउँछ अथवा बाङ्गोटिङ्गो भएर, कसैले जान्दैन तापनि मानिस अक्सर आशावादी हुन्छ । भविष्यवादी हुन्छ । मानिस भविष्यलाई लिएर आशावादी हुन्छ । सांसारिकता निर्वाह गर्ने क्रममा मानिसले आफ्ना सारा योजना भविष्यमुखी भएर तयार पार्दछ । अनिश्चित भविष्यका लागि सञ्चिति, परिवारको हेरचाह– पेसा, व्यवसाय, जागिरको व्यवस्थापन, बालबच्चाको हुर्काइ, पढाइ, खेलकुद, भ्रमण, सामाजिक–सांस्कृतिक गतिविधि–मतदानसमेतका नागरिक दायित्वको निर्वाह आदि यावत् कुराहरू भविष्यमुखी हुन् । यी सबैको आधार वर्तमानको जगमा उभिएर तयार पारिएका हुन्छन् ।
भविष्य नहँुदो हो त जीवन नै हुने थिएन । विगत र वर्तमान कुनै बेला भविष्य थिए, कालान्तरमा ती नामको स्वरूपमा रूपान्तरित हुनपुगेका हुन् । अर्थात्, विगत–वर्तमान–आगत एक प्राकृतिक चक्र हो, जुन सृष्टिको अनादिकालदेखि चल्दैआएको छ र संसारको अस्तित्व रहेसम्म चलिरहने छ । यही कारण पनि हो, जसले गर्दा मानिसले सुन्दर भविष्यको परिकल्पना गर्दछ, स्वर्गिक जीवनको प्रेमिल सपना बुन्ने गर्दछ र लवलीन जीवनको रहरलाग्दा तानाबाना उन्ने गर्दछ ।
जीवनलाई विगत अथवा आगतमा होइन, वर्तमानमा बाँच्नुपर्छ भन्ने प्रसङ्गमा एउटा अमेरिकी फिल्मको सम्झना हुन्छ । सन् १९८९ मा प्रदर्शनीमा आएको त्यो अमेरिकी फिल्म थियो, ‘डेड पोयट्स सोसाइटी’ । त्यस फिल्मका एक प्रमुख पात्र जोन किटिङ् (अभिनेता रोबिन विलियम्स) हुन् जसले अङ्ग्रेजी शिक्षकको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनले भनेको एउटा सम्वाद कालजयी बन्नपुग्यो र अमेरिकी सिनेमाहरूभित्रको सर्वाधिक रुचाइएका सम्वादहरूमध्येको एक हुनपुग्यो । उनले फिल्ममा भनेका छन्, ‘कार्पे डियम । सिज द डे, ब्यायज । मेक योअर लाइभ्स एक्स्ट्राअर्डिनरी ।’ (यसको स्वतन्त्र भावानुवाद हुन्छ ः ‘कार्पे डियम । वर्तमानमा बाँच र जीवनलाई सुन्दर बनाऊ ।’ (ल्याटिन शब्द कार्पे डियमको ठ्याक्कै अनुवाद छैन । यो शब्द यही रूपमै प्रचलित छ । त्यसो त नोर्डिक मुलुक नर्वेमा दुईजना गायक– म्याग्दी ओमार अब्दुलमाजिद र चिराग रश्मिकान्त पटेल– मिलेर ‘कार्पे डियम’ नाम राखी एउटा लोकप्रिय ¥यापर जोडी नै पनि चलाएका छन् । त्यसलाई संक्षेपमा ‘कार्पे’ मात्र पनि भनिन्छ ।)
यसकारण मलाई भन्न मन लाग्छ– जीवन एक कार्पे डियम हो । आज हो । वर्तमान हो । गीत हो । सङ्गीत हो । आफू बाँचिरहेको क्षण र समयलाई सर्वोत्कृष्ट बनाउनु हो ।
जिन्दगीको पदचाप् वर्तमान भए पनि मलाई थाहा छ– म विगतमा जन्मेँ, हुर्कें, बढेँ । वर्तमानमा बाँचिरहेको छु र भविष्यमा रमाउन चाहन्छु । वर्तमानमा बाँचेर मात्र मलाई पुग्दैन यद्यपि बाँच्ने वर्तमानमै हो तर भविष्य आफ्ना दुवै पाखुरा फिँजाएर मलाई नित्य स्वागत गर्न तम्तयार छ, लालायित छ । त्यसैले पनि, म भविष्यको अँगालोमा बाँधिन चाहन्छु ।
जसको भविष्य छैन, ऊ मरेतुल्य हो किनभने भोलिको त कुरै छाडौँ भरे एक छिनपछि नै के हुन्छ भन्ने कसलाई के थाहा ? भविष्यसम्बन्धी जुन यो अनिश्चितता छ, यही नै मानवजीवनको सुन्दरता हो, यसले नै जीवनलाई जीवनमय बनाइराख्दछ । भलै हामी विगतका उत्पादन हौँ तर हामी त्यो विगतको बन्दी हुन सक्दैनौँ ।
विगत– बितिसकेका दिनहरू– बारे कुरा गरेर समय बिताउनुभन्दा बरु वर्तमानमा रमाइरमाई बाँचेर आज आइनपुगेको भविष्यमा आफ्नो समय लगानी गर्नु उत्तम हुन्छ ।
मलाई यस्तै लाग्छ । किन पनि भने, मलाई सम्झना छ, कुनै उर्दूभाषी कविले भनेका छन्–
गुजरी जिन्दगी को याद न कर,
तकदीर में जो न लिखा है
उसकी फरियाद न कर ।
जो होना है वो होकर रहेगा,
कल की फिक्र में आज की खुशी
बरबाद न कर ।।
यही कारण त हो, मलाई लागिरहन्छ, मानिसले विगतको फेर समातेर बसिराख्नु हुँदैन । विगत जतिसुकै गौरवशाली भए पनि त्यसले वर्तमानलाई उज्यालो पारिरहन सक्दैन । बरु हामीले त वर्तमानमा टेकेर आफ्नै भविष्यको आर्किटेक्ट बन्नुपर्दछ किनभने केवल यही वर्तमान मात्र हो आफ्नो भन्न मिल्ने । भोलिका लागि त सम्भावनाहरू खोज्ने हो । उसै पनि, परिवर्तन जीवनको नियम हो । जे आज छ, भोलि नहुन सक्छ । विगत पछाडि छुटिसक्यो, भविष्य त अगाडि आउनै बाँकी छ तर वर्तमान यहीँ छ, हामीसितै छ, त्यसकारण वर्तमानमा बाँचौं । वर्तमानलाई बाँचौं ।

jdgautam@hotmail.com