मेरो रङ्गकर्मको चरैवेति - Aksharang
  • २०७७ मंसिर १९ शुक्रबार

मेरो रङ्गकर्मको चरैवेति

अशेष मल्ल

अशेष मल्ल

सानै थिएँ, सायद सात–आठ वर्षको हुदो हूँ । दौरा–सुरुवालमा ठाँटिएर उभिएको वा उभ्याइएको थिएँ अनि कम्मरमा भिरेको थिएँ सानो मादल । सयौँ दर्शकका सामु बजाएको थिएँ मादल । सायद मेरो त्यो पहिलो प्रस्तुति थियो ।

धनकुटाको टुँडिखेल । हाम्रो घरको एकदमै नजिक । अहिलेको जस्तो फेसबुक हुन्थ्यो भने भाइरल नै हुनेथियो होला ।

बाल्टी, बट्टा जे भेट्यो बजाइहाल्ने बानी देखेरै होला बुबाले काठमाडौँबाट ल्याइदिएका थिए सानो मादल । अझै सम्झना छ– मेरा कलिला औँलाहरू र मादलको घर्षण । हरेक वर्ष टुँडिखेलमा नाटक र सांस्कृतिक कार्यक्रमका लागि भव्य स्टेज बनाइन्थ्यो । भव्य अर्थात् ठूलो स्टेज । ठूल्ठूला पर्दा । एउटा हैन पर्दा माथि पर्दा । जङ्ल, कोठा, घर आदि दृश्यका बडेमा पर्दाहरू हुन्थे । कलकतामा लिन जान्थे

अग्रजहरू अनि ल्याउँथे रङ्ग, पर्दा आदि सामग्रीहरू । धरानबाट भरियाले बोकेर ल्याउँथे । न मोटर बाटो थियो, न बिजुली बत्ती । मेन्टोल जसलाई पेट्रोमेक्स भन्ने गरिन्थ्यो, बिजुली बत्ती जस्तो उज्यालो दिन्थे । त्यही राखिन्थे स्टेजका छेउमा र टुँडिखेलका चौरभरि बस्थे धनकुटाभरिका दर्शकहरू । सबभन्दा अचम्म त के भने त्यत्रात्यत्रा बडेमाका पर्दाका कपडाहरू कलकत्तादेखि कसरी ल्याउँथे होलान् । कति दिन लाग्थ्यो होला । ती सेता कपडामा रुख, घर, महलका चित्रहरू तेल रङले बनाउँथे, ठूल्ठूला क्यानभासमा बनाइएका पेन्टिङ्जस्ता । यस्तो र यति ठूलो पेन्टिङ् त अहिलेसम्म कतै देखेको पनि छैन ।

त्यस बेलाको धनकुटा । यातायातको सुविधा नभएको अवस्था । तेल रङ, ब्रस अनि त्यति विशाल कपडा । असम्भव जस्तै । नाताले मेरा हजुरबा नृपेन्द्रकुमार प्रधानाङ्ग राम्राराम्रा चित्र बनाउँथे । उनी र अन्य सहयोगीहरूले ती पर्दामा आफैँ त्यस्ता दृश्यचित्र बनाउँथे । कपडालाई क्यानभासको रूप दिनका लागि के प्रयोग गर्थे मलाई सम्झना छैन । तर उनीहरूको महिनौँको मिहिनेतले अहिले पनि मलाई अचम्भित बनाउनेगर्छ ।

पर्दामा चित्र बनाएर मात्र नपुग्ने । ती सुकेपछि ठूल्ठूला बाँसमा राखेर डोरीको सहायताले उघार्ने र बन्द गर्ने गरिन्थे । जङ्गलका दृश्य चाहिए डोरीले तानेर तत्अनुसारका पर्दा उघार्ने अनि महलको दृश्य चाहिँदा अघिको पर्दा तानेर तत्अनुकूलको पर्दा उघारिन्थ्यो । डोरी र बाँस । यो प्रविधि हाम्रा हजुरबाहरूले कसरी, कहाँबाट सिके होलान् ! ताज्जुब लाग्छ ।

यति मात्रै कहाँ हो र ! स्टेज पनि बाँसकै बनाइन्थ्यो । ठूल्ठूला बाँस, भाले बाँस । टाढा टाढाबाट बोकेर ल्याइन्थे । अनि स्टेजको खुट्टादेखि माथिका सम्पूर्ण भाग बाँसकै हुन्थ्यो । स्टेजको चारैतिर कपडाले बारिन्थे । अहिलेको क्याटरिङ्ले जस्तो । डोरीदेखि कपडासम्म कलकत्ताबाट ल्याउनुपथ्र्यो । मेरा हजुरबा व्यापारी, घरमा पसल थियो । उनी सामान लिन कलकता जान्थे । हाम्रो टोलमा कपडा पसलहरू थिए, तिनीहरू पनि उतै जान्थे । आफ्ना समानहरू ल्याउँदा स्टेजलाई चाहिने सामानहरू पनि ल्याउँथे । स्टेज बनाउनै महिनौँ लाग्थ्यो, अर्कोतिर नाटक, नाच, गायन आदिको तैयारी पनि चलिरहन्थ्यो ।

यसरी महिनौँको लगन, सीप र मिहिनतपछि पछि प्रस्तुत गरिन्थ्यो सांस्कृतिक कार्यक्रम । विशेष नाटक नै हुन्थ्यो । तर नाटकको बीचबीचमा गीत, नृत्य, हास्य कमिक आदि देखाइन्थ्यो । मलाई अहिले सोच्दा अचम्म लाग्छ माइकविना नै कसरी आवाज दर्शकसम्म पुग्थ्यो होला ।

त्यति बेलासम्म माइकको चलन थिएन । धनकुटामा माइक आइसकेको थिएन । केही समयपछि धरानबाट ल्याइयो । पछिका नाटक र यस्तै सांस्कृतिक कार्यक्रमहरूमा माइक प्रयोग हुनथाले ।

टुँडिखेलमा हुने यस्ता नाट्य प्रस्तुति वर्षमा केवल एकपटक मात्र हुने गथ्र्यो । हुन पनि यसको तैयारीमा लाग्ने समय र व्यवस्थापन अहिले सोच्दा असभ्भव जस्तो । मेरा हजुरबा गजेन्द्रबहादुर प्रधानाङ्ग आफैँ पनि नाटक लेख्दथे, निर्देशन र अभिनय पनि गर्दथे । हुन त मैले उनका नाटक हेर्ने अवसर पाइनँ । आलेख खोज्दा पनि भेटिएन । उनको जीवनकालमा कुराकानीको सन्दर्भमा के कुराचाहिँ थाहा भयो भने धनकुटाबाट त्यो बेला पसलका सामानहरू लिन त्यसबेलाका साहू–महाजनहरू कलकत्ता जान्थे । तीमध्ये मेरा हजुरबा पनि एक थिए ।

त्यहाँ हजुरबाहरू नाटक पनि हेर्थे । म जन्मनुअघिका कुरा हो । भारतमा अङ्ग्रेजको शासन हुँदाको समय भारतमा पारसी नाटकहरूको प्रचलन थियो । मलाई लाग्छ ठूला पर्दा राख्ने, पर्दालाई क्यानभासको रूप दिएर चित्र बनाउने चलन त्यही पारसी थिएटरबाट हाम्रा हजुरबाहरूले देखेर धनकुटामा प्रयोग गरेको हुनुपर्छ ।

वास्तवमा यो त्यति सजिलो काम पटक्कै थिएन । त्यति टाढाबाट सामान ल्याउनु, बनाउनु अनि कुनै प्रविधिक सुविधा नभएको त्यस स्थितिमा पनि त्यसरी प्रयोग गरिनु आश्चार्यजनक विषय हो । धरानसम्म गाडीमा ल्याइए पनि धरानबाट धनकुटासम्म लान भरियाको प्रयोग गरिनु पथ्र्यो । समान्यतय हिँडेरै जान पनि दुई दिन लाग्थ्यो । भरियाहरूलाई कम्तीमा तीन वा चार दिन । बाटोमा पर्ने लेउती खोलामा पुल थिएन, कैयौँ मानिसहरू बगाएको खबर सुनिन्थ्यो । मूलघाटमा भने झोलुङ्गे पुल थियो । खासगरी वर्षादको समय सानासाना खोल्साहरूले पनि बाढीको रूप लिने गर्थे । यस्ता अनेक कठिनाइ पार गरेर सामान ल्याइपुर्याउनु पथ्र्यो । अहिले मेरो स्मरणमा जब त्यस स्टेजको चित्र आउँछ, कल्पना पनि गर्न सक्दिनँ, टुँटिखेलको खुलाचौरमा त्यो विशाल स्टेज । बाँसैबासबाट निर्मित । ठूल्ठूला पर्दा । रङ्गीन पर्दा । जङ्गल, महल, घर आदिका विशाल पेन्टिङ् । पर्दा तान्ने र बन्द गर्दा बिस्तारै बाँसमा बेरिँदै जाने प्रविधि । न विद्युतीय उपकरण, न कुनै साधन । ओहो ! कसरी सम्भव भयो होला । सबैभन्दा महŒवपूर्ण कुरा नाटकप्रतिको त्यो लगाव, त्यो समर्पण त्यो पनि सरकारी स्तरबाट हैन विल्कुल समुदायको

प्रयासबाट । मैले आफ्नो वाल्यकालालमा देखे–भोगेको त्यस अद्भुत घटनाले अहिले पनि रोमाञ्चित पार्नेगर्छ ।

हजुरबाहरूले थालनी गरेको त्यो नाट्य परम्परा पछिसम्म अर्थात मेरो बाल्यकालसम्म पनि मेरा अग्रजहरूले धानिरहेका थिए । मैले आफ्नो बाल्यकालमा सायद तीन पटकसम्म त्यो भव्य स्टेज निर्माणको दृश्य देखेँ । त्यसपछिका पुस्ताले त्यसलाई निरन्तरता दिन सकेन । हुन त त्यही कालखण्डमा पुलिसहरूले पनि आफ्नो कार्यालय परिसरको चौरमा स्टेज बनाएर नाटक देखाउँथे । विशेष गरी दसैँमा हुने त्यस्ता नाटकका लागि बनाइने स्टेजमाथि उल्लेख गरेझैँ विशाल हुन्थेन । स्टेजमा पर्दाको प्रयोग हुन्थे तर माथि उल्लेख गरिएझैँ चित्रहरूको प्रयोग हुँदैन थे । सरकारी स्तरबाट हुने त्यस्तो नाट्य प्रस्तुति पनि रोचक हुने गथ्र्यो ।

मेरा छिमेकी थिए– जय दाइ, पूरा नाम थियो जय भुजेल । सायद जय नै हुनुपर्छ उनको नाम । उनकै लेखन र निर्देशनमा पुलिसहरूका नाटक हुन्थे । जय दाइ आफैँ पनि अभिनय गर्थे । उनको एउटा हास्य नृत्य म अहिले पनि सम्झन्छु । गीत गाउन पनि सिपालु । उनी आफैँ गीत गाउँदै नाच्थे । काँधमा बाँसको टोड्का बोक्थे अनि नाच्थे । गीतको बोल थियो (यो हैन रक्सी, यो हैन जाँड, गुन्द्रुकको झोल झोल झोल !!! चाहे जुनसुकै कार्यक्रम होस्, उनको यो नृत्य देख्न पाइन्थ्यो ।

उनै जय दाइ नाटक लेख्थे र उनकै निर्देशनमा पुलिसहरूको अभिनयमा हरेक वर्ष नाटक देखाइन्थ्यो । अहिले सम्झना भएको आधारमा भन्नुपर्दा ती विशुद्ध सामाजिक विषयवस्तुमा आधारित हुन्थे ।

जय दाइ पढेलेखेका मानिस थिएनन् । तर पनि नाटक लेख्थे । नाटकको प्रारम्भमा स्टेज अघिल्तिर उभिएर उद्घोष गर्थे र भन्थे– ‘यस नाटकको लेखक–निर्देशक म स्वयम् जय भुजेल ।’ उनको देवानन्दीय स्टाइल अहिले पनि सम्झन्छु । सामान्य परिवारका यिनको आर्थिक स्थिति राम्रो थिएन । मलाई बारम्बार लागिरहन्छ यिनी र यिनीजस्ता कैयौँ प्रतिभाहरू खोज्ने हो भने मुलुकभरि नै भेटिन्छन् । तर यिनीहरूको बारे न कुनै इतिहासमा लेखिन्छ न कतै अभिलेख नै । सबभन्दा दुःखलाग्दो कुरा त के भने नेपाली साहित्य, कला, रङ्गमञ्च आदिको इतिहास राजधानीमै सीमित रह्यो । नाटकको इतिहासकै कुरा गर्दा पनि थानकोट नाघेर बाहिर अझै जान नसकेको स्थिति छ ।

मेरो वाल्यकालभरि धनकुटामा समृद्ध सांस्कृतिक गतिविधि देखेँ । तिनै गतिविधिमध्ये टुँडिखेलमा बाँसको स्टेज बनाएर गरिने नाटकको सन्दर्भ कोट्याएँ । यो त केवल एउटा पाटो मात्र हो । वास्तवमा यस्तो भव्य स्टेज बनाएर गरिने नाट्य प्रस्तुति क्रमशः हराउँदै गयो । हराउनुको मूल कारण भनेको यसको व्यवस्थापनको कठिनाइ नै हुनुपर्छ । तैपनि महŒवपूर्ण कुराचाहिँ के हो भने यस्तै नभए पनि धनकुटाको सांस्कृतिक गतिविधि खासगरी नाट्यमञ्चनको गति त्यो समय रोकिदैरोकिएन । कुनै न कुनै रूपमा यसको निरन्तरता भने भइ नै रह्यो ।

आफ्नो बाल्यकाल फर्केर हेर्दा म पनि त्यो गतिविधिमा कतै न कतै सामेल हुँदैगएछु । ती मेरा प्रारम्भिक दिनहरू थिए । धनकुटामा वितेका मेरा ती दिनहरू मेरो नाट्ययात्राको प्राथमिक पाठशाला थिए । अग्रजहरूको यस्तै

प्रयासहरू हेर्दै, अनुभव गर्दै र सिक्दै हुर्किएँ । काठमाण्डौ मेरो लागि सपनाको सहर थियो । अत्यन्तै सामान्य स्कुलमा पढ्दै अनि सामाजिक रूपमा यस्तै सांस्कृतिक गतिविधि हेर्दै, भोग्दै मेरो रङ्गकर्म यहाँसम्म आइपुगेको छ । मैले बुझेको यही हो चरैवेति ! चरैवेति !!