मामाको गीत गाउने बाकस - Aksharang
  • २०७७ फागुन १९ बुधबार

मामाको गीत गाउने बाकस

रमण घिमिरे

रमण घिमिरे

हाम्रो गाउँमा एक साँझ एउटा अचम्मको बाकस आयो । सानो चिटिक्क परेको त्यो बाकस आजको ल्यापटप जत्रै तर चारपाटे आकारको थियो । त्यो ल्याउने व्यक्ति थिए कान्छा खत्री । उनी गाउँमा यही नामले तिनिन्थे । गाउँमा प्राय हरेकको एउटा न एउटा उपनाम हुन्छ र गाउँमा त्यही नाम नै उसको चिनारी हुन्छ । खान्छा खत्रीलाई हामी कान्छा मामा भन्थ्यौँ । त्यस बेला यस्तै २०/२५ घरको हाम्रो एउटा सानो बस्ती थियो । कान्छा मामाले त्यो अचम्मको बाकस ल्याएको गाइँगुइँ एकै छिनमा एक कान, दुई कान, मैदान भइहाल्यो । किनभने त्यो चानचुने बाकस थिएन । त्यसले मानिसले जस्तै गाउँथ्यो । गाउँथ्यो मात्र होइन अनेकौँ बाजागाजा पनि त्यसले बजाउँथ्यो । त्यो बाकस हामीले त्यस बेला किताबमा पढेको जादुगर अलाउद्दिनको झोलाजस्तो हुनपुग्यो ।

हाम्रो घर गाउँको अलि पुछारमा थियो । खत्री मामाको घर गाउँको ठ्याक्कै सिरानमा । गाइँगुइँ सुन्ना साथ हामी केटाकेटीहरू बेत्तोडले कुदेर तिनको आगनमा पुग्यौँ । तिनले बाकस खोलिसकेका थिए । हामी बाकसका वरिपरि सेलरोटी जस्तो गोलाकार बनाएर थ्याच्च भुइँमा बस्यौँ । बासक भित्र एउटा गोलो थालजस्तो बस्तु थियो । त्यसको बीचमा माथितिर फर्केको धातुको एउटा सानो टुसो थियो । तिनले झोलाबाट बीचमा दुलो भएको एउटा कालो रिकापीजस्तो चीज झिके र कपडाले पुछपाछ पारेर त्यस टुसोमा थपक्क छिराए । त्यतिबेलाका जिपगाडी स्टार्ट गर्न घुसारेर हान्नेजस्तो बाकसको बाहिरतिर जोडिएको तर गाडीको भन्दा धेरै सानो ह्यान्डिलको आकारमा बाङ्गिएको एउटा बस्तु थियो । मामाले त्यसलाई घुमाएर दम दिन थाले । केही बेर दम दिएपछि त्यो कालो रिकापी फनन्न घुम्न थाल्यो । अनि तिनले त्यसको किनारमा एउटा सानो टाउको भएको यन्त्रमा लुगा सिलाउनेजस्तै मसिनो सिर्यो घुसाएर कसे र त्यसलाई अत्यन्त जतन साथ त्यस रिकापीको किनारमा राखे । अनि हामीलाई खपी नसक्नु आश्चर्य भयो । त्यसले त गाउन पो थाल्यो बा !
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
गम्केर बज खैजडी, झम्केर नाच मुजुरा
सगरमाथि चम्किने नेपाली तारा तेन्जिङलाई
छक्कै परी विश्वले स्याबासी दिन्छ हेर भाइ

यस आश्चर्यले हामीलाई निकै पछिसम्म पछ्याइरह्यो । त्यसमा अरू गीतहरू पनि थिए । तर खत्री मामाले ‘भो आजलाई पुग्यो, रात परिसक्यो अब जाओ आ–आफ्ना घर’ भनेर त्यस दिनको कार्यक्रम समाप्त भएको घोषणा गरे । अनि हामीलाई तेन्जिङ शेर्पाले हिमाल चढेको बढाइँमा लयमा सुसेल्दै हामी घर फर्कियौँ ।

बेलुकाबेलुका जब खत्री मामा फुर्सदमा हुन्थे उनी त्यही रिकापी बजाउँदै उपरखुट्टी लगाएर चुर बेरेर तान्दै निमग्न भएर सुन्थे । हामी भुराभुरी त्यही मौकाको फाइदा उठाएर रिकापीले बजाएको गीत सुन्थ्यौँ । तर त्यहाँ त्यो कालो रिकापीबाहेक केही थिएन । न गाउने गायक थियो, न यति धेरै बाजागाजा बजाउने मानिसहरू नै थिए । रेकर्डमा एउटा ठ्वाङे माइकको चित्र बनाइएको थियो । र त्यसैतिर फर्केर टाउको उठाइरहेको एउटा कुकुर पनि थियो । सुरुसुरुमा त यो कुकुर नै गीत गाउँछ कि क्या हो जस्तो पनि लाग्यो । तर कुकुर चित्रबाट कतै चलमल नगरेपछि कुकुरले होइन मानिसले नै गाउने रहेछने भन्नेसम्म बुझ्यौँ । तर धेरै दिनसम्म पनि हामीलाई त्यो भाँडो बजेकोको आश्चर्य पर्गेलिनसक्नु रहस्य भएर मथिङगलमा त्यही रिकापी घुमेजस्तो फन्को मारिरहेको थियो । तर त्यो सुनिरहँदाको सुखानुभूति र आनन्द यति पराकाष्टामा पुग्थ्यो– सुन्दासुन्दै हामी त्या भाँडोको अस्तित्व भुलेर गीतको लय–सुरमा डुब्थ्यौँ । तर दिनैपिच्छे सुन्दै जाँदा त्यसप्रतिको कौतूहल अझ धेरै मात्रामा जागृत हुँदैगयो । हामीले कोल्टिँदै त्यो भाँडोवरिपरि हे¥यौँ र त्यसमाथि आफूले जानेसम्म शोध–अनुसन्धान ग¥यौँ । मरिगए भेउ पाउन सकेनौँ । खत्री मामाले यति दामी बाकस केटाकेटीले छोएर बिनाबित्थामा बिगार्लान् भन्ने संशयले धेरैबेर छेउछाउमा ठिम्किन पनि दिँदैनथे । हामी परैबाट सुन्थ्यौँ । तर त्यसको रहस्य ती मामालाई पनि थाहा भएजस्तो हामीलाई लागेन । उनी गीत बजाइसकेपछि त्यो भाँडोलाई बट्टा बन्द गर्थे र बज्ने रिकापीलाई कपडाले पुछेर कुडको प्याकेटमा हाल्थे । अनि हामी जानेसम्म त्यो गाउँदै हिँड्न थाल्यौँ–
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
चुचुरामा बसेर खायो भाले कुखुरा

निकैपछि मात्र थाहा भयो– यो गीत जनकविकेशरी धर्मराज थापाले लेखेर आफैँले गाएका रहेछन् र गीतमा उनले तेन्जिङलाई भाले कुखुरा पनि खुवाएका होइन रहेछन् । मामासँग एउटै रिकापी थियो र बेलुका काम धन्दा सकेपछि त्यसैलाई ओल्टाइपल्टाइ बजाउँथे ।

अलि पछि हाम्रो गाउँमा एकजना मास्टर आएर । तिनी अलि दुनियाँ बुझेका मानिस रहेछन् । तिनैले यसको रहस्योद्घाटन गरिदिए । त्यो रहेछ ग्रामोफोन । हामी यसलाई फुनुबाजा भन्थ्यौँ । पनि शिाबटुलोहरूमा यस्ता बाजाहरू छ्यापछ्यप्ती भए र हाम्रा गाउँघर हिन्दी गीतले गुञ्जायमान हुनथाले ।
त्यसिखेर नेपाली गीतको रेकर्ड कोलकातामा हुन्थ्यो । रेडियो नेपाल त थियो तर त्यसले कलाकारहरूलाई स्टुडियोमा बोलाएर प्रत्यक्ष गाउन लगाउँदो रहेछ । आफूले गाएको गीत गायक–गायिकाले पनि सुन्न पाउँदैन थिए । उनीहरू आफूले गाएको गीतको प्रशंसा ती गीत रेडियोमा सुनेकाहरूको मुखबाट सुनेर मख्ख पर्थे । गायक–गायिकाहरू कोलकाताको एचएमभी (हिज मास्टर भ्वाइस) मा गएर गीत रेकर्ड गर्थे र त्यो लाहाको रेकर्डमा हिजोआजको सीडीमा जस्तो गीत भरेर ल्याउँथे र रेडियो नेपालबाट प्रसारण गराउँथे ।

त्यतिबेला आजजस्तो युट्युबको त कल्पनै थिएन । क्यासेटको चलन पनि तीसको दशकको अन्त्यतिर रत्न रेकर्डिङ् संस्थाको उदय भएपश्चात् मात्र सुरु भएको हो । पछि निजी स्तरमा खुलेको म्युजिक नेपालले यसलाई जनजनसम्म पु¥याउने महायज्ञ नै ग¥यो भन्दा अत्युक्ति हुँदैन । सीडीको त झन् कुरै नगरौँ । यसको चलन सुरु भएको हिजोअस्ति जस्तो लाग्छ । तर राम्रोसँग बजारमा छाउनै नपाई गायब भयो ।

ग्रामोफोन रेकर्डका प्लेटमाथि मखमली रातो, नीलो या हरियो रङको कपडा ओछ्याइएको हुन्थ्यो । त्यसमा डिस्क हाल्नुहघि दम दिइन्थ्यो र त्यसैको छेउमा रहेको एउटा सानो स्विजलाई थिचेर घुम्न बन्द गरेपछि मात्र त्यसमाथि डिस्क राखिन्थ्यो । अनि स्विच थिचेर रेकर्ड घुम्न थालेपछि त्यसको किनारामा बिस्तारै यन्त्रजडित सुई राखिन्थ्यो । अनि बज्न थाल्थे गीतहरू । डिस्कमाथि सुई घुक्ने मसिना घेरा हुन्थे, त्यही घेरामा गीत भरिएका हुन्थे । ती घेराहरू बीचमा कतै नजोडिई क्रमशः ठूलो आकारबाट सानासाना हुँदै जान्थे । बीचमा कथम्कदाचित कुनै घेरो टुट्यो भने त्यो घेरामा भएको गीतको त्यति पङ्क्ति मात्र बज्थ्यो ।

यसको एउटा रमाइलो स्मरण छ । त्यतिखेर अलइन्डिया रेडियोको ‘आकाशवाणी’ ले बुधबार र शुक्रबार दिउँसो आधा घन्टा नेपाली गीत प्रसारण गथ्र्यो । फ्रिक्वेन्सीले नभ्याएर हामी पूर्वतिर रेडियो नेपालको प्रसारण त्यति सुन्न पाउँदैन थियौँ । तर आकाशवाणीको नेपाली प्रसारण रेडियो खर्साङले रिले गरिदिन्थ्यो र सजिलै सुन्न सक्थ्यौँ । हाम्रो घरमा रेडियो भित्रिसकेको थिएन । त्यसैले गाउँका एक जना रौसे मामाको घरमा पानासोनिक रेडियोमा हरेक बुधबार र शनिबार दिउँसो आकाशवाणीबाट प्रसारण हुने नेपाली गीत सुन्न धुइरो लाग्थ्यौँ । आकाशवाण्ीसँग रेडियो नेपालसँग जस्तो प्रशस्त गीत हुँदैनथे । किनभने उनले पनि रेडियो नेपालबाटै मागेर या किनेर गीत बजाउनु पथ्र्यो । त्यतिखेर दीप श्रेष्ठको ‘म पत्थरको देवता होइन, तोडिएर जोडिने’ बोलको गीत खुबै प्रसिद्ध थियो । त्यो गीत आकाशवाणीबाट नेपाली सेवा प्रसारण हुने दुइटै बार नबिराई बजाइन्थ्यो । सुरुसुरुमा त ठीकै थियो । तर अलिपछि त्यो गीतको एउटै हरफ ‘म पत्थरको दे’, ‘म पत्थरको दे’ मात्र बज्न थाल्यो । दुईतीनचोटि यसो भएपछि बल्ल पूरा गीत बज्थ्यो । पछि बुझ्दा त्यहाँनेरको घेरो टुटेर सुई त्यही घेरोमा मात्र घुम्दोरहेछ र यस्तो हुँदो रहेछ ।

त्यसबेलाका गीतहरू औसद तीन–सवा तीन मिनेटका हुन्थे । अहिलेका सीडी, डीभीडीमा जस्तो लामा र धेरै गीत अँटाउन सकिन्न्थ्यो । दुई किसिमका रेकर्ड हुन्थे– एलपी (लङ् प्लेयर) र इपी (एक्सेन्डेड प्लेयर) । एलपीमा बढीमा ४५ मिनेट र इपीमा बढीमा तीस मिनेटसम्म मात्र रेकर्ड गर्ने ठाउँ हुन्थ्यो । त्यतिबेलाका नेपाली गीतहरू छोटा हुनुको कारण यही थियो । तर कसरी हो उता हिन्दीमा मोहम्मद रफी र लगा मङ्गेशकहरूले गाएका लामा गीत पनि एउटै रेकर्डमा अटाउँथे । जब कि त्यस बेलाका प्रत्येक हिन्दी फिल्ममा छ–सातवटा गीत हुन्थे–हुन्थे ।

रेडियो प्रसारणमा बजाउने गीतहरू सुन्नलाई त रेडियो नै चाहिन्थ्यो । त्यतिबेला घरमा रेडियो राख्नु आफैँमा महँगो विलासिताको कुरा थियो । त्यसैले गाउँघरमा पहाडतिर लाहुरेले घर फर्किंदा लगेका र मधेशतिर हुनेखाने एकाध जमिनदारका घरमा बाहेक अन्यत्र रेडियोले प्रवेश पाउन सक्तैन्थ्यो । अझ त्यसबेला हिजोआज सवारी साधनलाई जस्तै सरकारबाट लाइसेन्स लिएर मात्र घरमा रेडियो राख्न पाइन्थ्यो । त्यो रेडियो पनि बढेमानको बाकस जत्रै हुन्थ्यो । बोकेर यताउता राख्न पनि सकस हुने फिलिप्स कम्पनीको रेडियो सीमित सम्भान्त वर्गका घरहरूमा घन्किन्थे ।

तर बीसको दशकको अन्त्य र तीसको सुरुवाततिर जापानी पानासोनिक कम्पनीको चकलेटी रङको छालाको खोल भएको काँधमा भिर्ने सतङ्गो रेडियो बजारमा आयो । हिम्मत गरेर चार–पाँच मन धान या एक–दुई मन पाटा (सनपाट) बेच्दा किन्न सकिने सहुलियत प्राप्त भएपछि मानिसका काँधमा फाट्टफुट्ट रेडियो झुन्डिन थाले । तर अलि पछि त त्यो पानासोनिक रेडियो मानिसका काँधमा यसरी झुन्डिन थाले मानौँ त्यो उसको अङ्गरक्षक नै हो । हटिया जाँदा पनि काँधमा झुन्डेको छ । पिसाब फेर्न बाटाका छेउमा बस्दा पनि काँधमा त्यो झुन्डेकै छ । बिहान ब्यूँझेदेखि बेलुका ओछ्यानमा ननिदाएसम्म घन्केको छ, घन्केको छ । कतिपयका घरमा त सुन्दासुन्दै निदाएका मानिस रातभरि बजेको रेडियो बिहान ब्याट्री सिद्धिएर बज्न छोडेपछि हतारहतार ब्याट्री किन्न हटिया दौडेका दृश्यहरू पनि देखिन्थे ।

यसरी त्यस बखत पानासोनिक ट्रान्जिस्टर नामको रेडियो, रेडियो नहुनेहरूका अगाडि सान देखाउने एउटा गतिलै माध्यम बनेको थियो ।

यही सान देखाउने क्रममा मेरा एकजना छिमेकीले पनि दुई मन पाटा बेचेर एउटा पानासोनिक रेडियो किने । उनी गीत कति सुन्थे या समाचार कति बुझ्थे ? त्यो आफ्नो ठाउँमा छँदै छ । तर भालेको डाकदेखि नसुतेसम्म त्यो चकलेटी पानासोनिक उनको काँध पिङ खेल्दै गाइरहेको हुन्थ्यो । एक दिनको कुरा हो । झम्के साँझ परिसेको थियो । घरघरमा टुकी, लालटिन बन्ल थालिसकेका थिए । घरको घेउको झाडीबाट गीत बज्न थाल्यो । गीत बज्नु त्यति अस्वाभाविक थिएन । तर त्यतिबेला चोरडाकाको जगजगी हुने मधेशमा अँध्यारो झाडीबाट गीत बज्नु स्वाभाविक थिएन । अनि आठ–दस जना लाठेहरू हातमा लाठीमुग्री बोकर टर्चलाइट बाल्दै पसे झाडीमा । झाडी छिचोल्दै गीत बजेको ठाउँमा पुगेर त्यो जमात रोकियो, त्यहाँ सबै जना हतप्रभ भए । उनीहरू मुख छोपेर हाँस्दै झाडीबाट निस्के । भएछ के भने ती छिमेकीले काँधमै रेडियो भिरेर, बन्द नगरी शौच गरिरहेका रहेछन् । त्यतिबेलाका मानिसमा पानासोनिक रेडियोको यस कोटिको मोह थियो ।